सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नयाँ व्यक्तित्व धारण गर्नुहोस् र त्यसलाई कायम राख्नुहोस्

नयाँ व्यक्तित्व धारण गर्नुहोस् र त्यसलाई कायम राख्नुहोस्

“नयाँ व्यक्तित्व धारण गर।”—कल. ३:१०.

गीत: ४३, १०६

१, २. (क) के हामी आफूमा नयाँ व्यक्तित्व विकास गर्न सक्छौं? किन? (ख) कलस्सी ३:१०-१४ मा नयाँ व्यक्तित्वका कस्ता पक्षबारे बताइएको छ?

“नयाँ व्यक्तित्व।” पवित्र बाइबल—नयाँ संसार अनुवाद-मा यो अभिव्यक्ति दुई पटक प्रयोग गरिएको छ। (एफि. ४:२४; कल. ३:१०) यस अभिव्यक्तिले परमेश्वरको “इच्छाअनुसार सृष्टि भएको” व्यक्तित्वलाई बुझाउँछ। के हामी आफूमा नयाँ व्यक्तित्व विकास गर्न सक्छौं? पक्कै सक्छौं। किनभने यहोवाले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभएको थियो। त्यसैले हामीसित उहाँका सुन्दर गुणहरू झल्काउन सक्ने क्षमता छ।—उत्प. १:२६, २७; एफि. ५:१.

जन्मजातै त्रुटिपूर्ण भएकोले हाम्रो मनमा अनेक कुइच्छा आउँछन्‌। अनि वरपरको वातावरणले पनि हाम्रो व्यक्तित्वमा धेरै असर गरिरहेको हुन्छ। तर यहोवाको मदत पाएर हामी उहाँले चाहेको जस्तो व्यक्ति बन्न सक्छौं। यस्तो व्यक्ति बन्न हामी के गर्न सक्छौं? आउनुहोस्, नयाँ व्यक्तित्वका केही पक्षबारे प्रेषित पावलले के लेखे, विचार गरौं। (कलस्सी ३:१०-१४ पढ्‌नुहोस्) अनि ती कुरा कसरी प्रचारकार्यमा लागू गर्न सक्छौं, त्यो पनि विचार गरौं।

“तिमीहरू सबै . . . एक हौ”

३. नयाँ व्यक्तित्वको एउटा पक्ष के हो?

नयाँ व्यक्तित्व धारण गर्नू भनेर सल्लाह दिएपछि पावलले त्यसमा पक्षपाती नहुनु पनि समावेश छ भनेर बताए। तिनले यसो भने: “[नयाँ व्यक्तित्वमा] न कोही ग्रीक हुन्छ, न कोही यहूदी, न खतनावाल, न बेखतना, न विदेशी, न सिथियन, न दास, न स्वतन्त्र मानिस।” * मण्डलीमा जात, वर्ण, राष्ट्र, सामाजिक ओहदा वा आर्थिक स्तरको आधारमा भेदभाव हुनु हुँदैन। किन? किनभने ख्रीष्टका साँचो अनुयायीहरू ‘सबै एक हुन्‌।’—कल. ३:११; गला. ३:२८.

४. (क) यहोवाका सेवकहरूले अरूसित कस्तो व्यवहार गर्नुपर्छ? (ख) कस्तो कुराले ख्रीष्टियन एकतालाई कमजोर बनाउन सक्छ?

नयाँ व्यक्तित्व धारण गरेका व्यक्तिले सङ्‌गी दाजुभाइ दिदीबहिनी र गैर-साक्षीहरूसित आदरपूर्वक व्यवहार गर्छन्‌, चाहे तिनीहरू जुनसुकै जात, वर्ण वा सामाजिक ओहदाका किन नहोऊन्‌। (रोमी २:११) तर संसारको कुनै-कुनै ठाउँमा एकतामा रहन चुनौतीपूर्ण हुन सक्छ। जस्तै: कुनै बेला दक्षिण अफ्रिकामा त्यहाँको सरकारले मानिसहरूको लागि वर्णअनुसार बस्ने इलाका तोकिदिएको थियो। त्यसैले गोरा जाति अनि काला जातिका मानिसहरू बस्ने ठाउँ फरक-फरक थियो। कतिपय यहोवाका साक्षीहरू अहिले पनि यस्ता इलाकामा बसिरहेका छन्‌। त्यहाँका दाजुभाइ दिदीबहिनीलाई “ठूलो मन”-को हुन प्रोत्साहन मिलोस् भनेर सन्‌ २०१३ अक्टोबरमा परिचालक निकायले एउटा विशेष प्रबन्ध सुरु गर्न अनुमति दियो। यस प्रबन्धले गर्दा फरक-फरक वर्णका साक्षीहरूले एकअर्कालाई राम्ररी चिन्न मदत पाउने थिए। (२ कोरि. ६:१३) त्यो प्रबन्ध कस्तो थियो?

५, ६. (क) अफ्रिकाका दाजुभाइ दिदीबहिनीको एकता बलियो बनाउन कस्तो प्रबन्ध मिलाइयो? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्) (ख) नतिजा कस्तो हुँदै छ?

त्यहाँका भाइहरूले दुई-दुई वटा मण्डली गरेर भाइबहिनीलाई केही सप्ताहन्तमा सरसङ्‌गति गर्ने प्रबन्ध मिलाए। बेग्लाबेग्लै वर्ण अनि भाषाका ती दाजुभाइ दिदीबहिनी सँगै प्रचार गए, सभामा उपस्थित भए र एकअर्कालाई अतिथिसत्कार गरे। यस प्रबन्धमा सयौं मण्डली सहभागी भए। पछि त्यहाँका साक्षीहरूले थुप्रै राम्रा-राम्रा अनुभव शाखा कार्यालयलाई पठाए। त्यस प्रबन्धले बाहिरका मानिसहरूमा समेत राम्रो प्रभाव पाऱ्यो। उदाहरणको लागि, एक जना धार्मिक सेवकले यसो भने, “हुन त म यहोवाको साक्षी होइन तर तपाईंहरूलाई मान्नै पर्छ। तपाईंहरूको प्रचारकार्य एकदमै व्यवस्थित छ। वर्ण फरक-फरक भए पनि तपाईंहरूबीच एकता छ।” त्यस प्रबन्धले साक्षीहरूमा कस्तो प्रभाव पाऱ्यो?

खोसा भाषा बोल्ने नोमा बहिनीलाई सुरुमा त अङ्‌ग्रेजी भाषा मण्डलीका गोरा भाइबहिनीलाई आफ्नो सानो घरमा बोलाउन अप्ठ्‌यारो लागेको थियो। तर तिनीहरूसँगै प्रचारकार्यमा भाग लिएपछि अनि तिनीहरूको घरमा सरसङ्‌गत गरेपछि तिनले यसो भनिन्‌, “उहाँहरू पनि हामीजस्तै साधारण मानिसहरू हुनुहुँदो रहेछ।” पछि खोसा भाषा मण्डलीको अतिथिसत्कार गर्ने पालो आउँदा ती बहिनीले पनि केही भाइबहिनीलाई आफ्नो घरमा खाना खान बोलाइन्‌। तिनीहरूमध्ये एक जना गोरा एल्डर थिए। नोमा बहिनीले भनिन्‌: “उहाँ होचो प्लास्टिकको क्रेटमा बस्नुभएको देखेर म त छक्कै परें।” त्यस प्रबन्धले गर्दा थुप्रै दाजुभाइ दिदीबहिनीले नयाँ-नयाँ साथी बनाउन सकेका छन्‌ र ठूलो मनको हुँदै एकअर्कासित नजिक भइरहेका छन्‌।

“कोमल करुणा, दया”

७. हामीले किन अरूलाई करुणा देखाइरहनुपर्छ?

सैतानको संसार अन्त नहोउन्जेल विभिन्न परीक्षा आइरहनेछन्‌। जस्तै: बेरोजगारी, गम्भीर रोग, खेदो र प्राकृतिक प्रकोप। साथै आपराधिक गतिविधिले गर्दा धनसम्पत्ति गुमाउनुपर्ने हुन सक्छ वा अन्य कठिनाइको सामना गर्नुपर्ने हुन सक्छ। हामीसित करुणा भन्ने गुण छ भने दुःखको बेला एकअर्कालाई साथ दिन सक्छौं। कोमल करुणाले अरूलाई दया देखाउन उत्प्रेरित गर्छ। (एफि. ४:३२) नयाँ व्यक्तित्वका यी पक्षले हामीलाई परमेश्वरको अनुकरण गर्न र अरूलाई सान्त्वना दिन मदत गर्छ।—२ कोरि. १:३, ४.

८. दाजुभाइ दिदीबहिनीलाई दया देखाउँदा नतिजा कस्तो हुन्छ? एउटा अनुभव बताउनुहोस्।

आर्थिक रूपमा कमजोर वा विदेशी दाजुभाइ दिदीबहिनीप्रति विचारशील भएको कसरी देखाउन सक्छौं? हामी तिनीहरूलाई आफ्नो साथी बनाउन सक्छौं र तिनीहरू मण्डलीको बहुमूल्य सदस्य हुन्‌ भन्ने महसुस गराउन सक्छौं। (१ कोरि. १२:२२, २५) फिलिपिन्सबाट जापानमा बसाइँ सरेका ड्‌यानिकार्ललाई विचार गर्नुहोस्। काम गर्ने ठाउँका मानिसहरूले तिनलाई अरू स्थानीय कामदारलाई जस्तो राम्रो व्यवहार गरेनन्‌। पछि तिनी यहोवाका साक्षीहरूको सभामा गए। ड्‌यानिकार्ल भन्छन्‌: “प्रायजसो सबै जना जापानी थिए तैपनि उहाँहरूले मलाई पहिल्यैदेखि चिनेको साथीलाई जस्तै न्यानो स्वागत गर्नुभयो।” मण्डलीका दाजुभाइ दिदीबहिनीको दयालु व्यवहारले तिनलाई यहोवासित नजिक हुन मदत गऱ्यो। तिनले बप्तिस्मा गरे अनि अहिले तिनी एल्डरको रूपमा सेवा गर्दै छन्‌। सङ्‌गी एल्डरहरू ड्‌यानिकार्ल र तिनकी पत्नी जेनिफरलाई मण्डलीको लागि आशिष्‌को रूपमा लिन्छन्‌। ती एल्डरहरू यसो भन्छन्‌: “उहाँहरू सरल जीवन बिताउँदै अग्रगामी सेवा गर्दै हुनुहुन्छ। परमेश्वरको राज्यलाई पहिलो स्थान दिने सन्दर्भमा उहाँहरूले राम्रो उदाहरण बसाल्नुभएको छ।”—लूका १२:३१.

९, १०. प्रचारकार्यमा मानिसहरूलाई करुणा देखाउँदा कस्ता आशिष्‌ पाइन्छन्‌, अनुभवहरू बताउनुहोस्।

अरूलाई सुसमाचार सुनाउँदा हामी “सबैको भलाइ” गरिरहेका हुन्छौं। (गला. ६:१०) आप्रवासीहरूप्रतिको माया अनि करुणाले गर्दा थुप्रै साक्षीले नयाँ भाषा सिक्ने कोसिस गरेका छन्‌। (१ कोरि. ९:२३) यस्तो कोसिसले गर्दा थुप्रै राम्रा नतिजा हासिल भएका छन्‌। उदाहरणको लागि, अस्ट्रेलियाकी अग्रगामी बहिनी टिफेनीलाई विचार गर्नुहोस्। तिनले ब्रिज्बेन सहरको स्वाहिली भाषाको मण्डलीलाई मदत गर्न स्वाहिली भाषा सिकिन्‌। हुन त भाषा सिक्न गाह्रो थियो तर तिनको जीवन अझ अर्थपूर्ण भएको छ। तिनी भन्छिन्‌: “यदि तपाईं प्रचारकार्यमा रमाउन चाहनुहुन्छ भने विदेशी भाषाको मण्डलीमा सेवा गर्नुहोस्। यस्तो सेवा गर्न तपाईं विदेशमा जानुपर्दैन। तपाईंले एउटै मण्डलीमा विश्वव्यापी भाइचाराको अनुभव गर्न सक्नुहुन्छ। विभिन्न पृष्ठभूमिका दाजुभाइ दिदीबहिनीहरू कसरी एकतामा रहिरहेका छन्‌, आफ्नै आँखाले देख्न सक्नुहुन्छ।”

आप्रवासीहरूलाई मदत गर्न हामीलाई केले उत्प्रेरित गर्छ? (अनुच्छेद १० हेर्नुहोस्)

१० जापानको एउटा परिवारको अनुभव पनि विचार गर्नुहोस्। त्यस परिवारकी छोरी साकिको यसो भन्छिन्‌: “सन्‌ १९९० को दशकको कुरा हो, हामी प्रचारकार्यमा प्रायजसो ब्राजिलका आप्रवासीहरू भेट्‌ज्थ्यौं। उनीहरूसँग भएको पोर्चुगिज बाइबलबाट प्रकाश २१:३, ४ वा भजन ३७:१०, ११, २९ देखाउँदा तिनीहरू ध्यान दिएर सुन्थे। कोही-कोही त सुन्दा सुन्दै आँसु नै झार्थे।” ती आप्रवासीहरूलाई मदत गर्न त्यो परिवारले अरू के गऱ्यो? साकिको भन्छिन्‌: “उनीहरू आध्यात्मिक रूपमा भोको भएको देख्दा हामी पोर्चुगिज भाषा सिक्न उत्प्रेरित भयौं।” पछि त्यो परिवारले पोर्चुगिज भाषा मण्डली स्थापना गर्न मदत गऱ्यो। वर्षौंको दौडान तिनीहरूले थुप्रै आप्रवासीलाई यहोवाको सेवक बन्न मदत गरे। साकिको अझै भन्छिन्‌: “हुन त पोर्चुगिज भाषा सिक्न निकै मेहनत गर्नुपऱ्यो तर हामीले अझ धेरै आशिष्‌ पायौं। यसको लागि हामी यहोवाप्रति निकै आभारी छौं।”प्रेषित १०:३४, ३५ पढ्‌नुहोस्।

“विनम्रता . . . धारण गर”

११, १२. (क) हामीले कस्तो मनसायले नयाँ व्यक्तित्व धारण गर्नुपर्छ? (ख) नम्र हुन केले मदत गर्छ?

११ हामी मानिसको वाहवाही पाउन होइन, यहोवाको महिमा गर्न नयाँ व्यक्तित्व धारण गर्न चाहन्छौं। याद गर्नुहोस्, घमन्डी भएको कारण एक जना त्रुटिरहित स्वर्गदूतसमेत पाप गर्न पुगेका थिए। (इजकिएल २८:१७ तुलना गर्नुहोस्) त्रुटिरहित स्वर्गदूत त घमन्डी हुन सक्छन्‌ भने झन्‌ हामी त्रुटिपूर्ण मानिस घमन्डी नहोऔंला भन्न सक्छौं र? तर विनम्र हुन असम्भव भने छैन। हामी कसरी विनम्र हुन सक्छौं?

१२ नम्र हुन दिनहुँ परमेश्वरको वचन पढ्‌नुपर्छ र त्यसमा मनन गर्नुपर्छ। (व्यव. १७:१८-२०) विशेषगरि, येशूको शिक्षा र उहाँले बसाल्नुभएको नम्रताको उदाहरणमा मनन गर्नु बेस हुन्छ। (मत्ती २०:२८) येशूले आफ्ना प्रेषितहरूको खुट्टासमेत धुनुभएको थियो। (यूह. १३:१२-१७) आफूलाई अरूभन्दा श्रेष्ठ ठान्ने झुकावसित लड्‌न हामीले यहोवालाई बारम्बार प्रार्थना पनि गर्नुपर्छ।—गला. ६:३, ४; फिलि. २:३.

१३. नम्र हुँदा कस्ता आशिष्‌ पाउन सक्छौं?

१३ हितोपदेश २२:४ पढ्‌नुहोस्। यहोवा आफ्ना उपासकहरू नम्र भएको चाहनुहुन्छ। नम्रहरूलाई उहाँ प्रशस्त आशिष्‌ दिनुहुन्छ। हामी नम्र हुँदा मण्डलीमा शान्ति र एकता छाउँछ। हामीले आफूमा नम्रता विकास गर्दा परमेश्वरबाट असीम अनुग्रह पनि पाउन सक्छौं। प्रेषित पत्रुसले यसो भने: “एक-अर्कासित व्यवहार गर्दा तिमीहरू सबै विनम्र होओ, किनकि परमेश्वरले अहङ्‌कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ।”—१ पत्रु. ५:५.

“कोमलता र धीरज धारण गर”

१४. कोमलता र धीरज देखाउने सन्दर्भमा उत्कृष्ट उदाहरण को हुनुहुन्छ?

१४ आजको संसारमा कोमल अनि धीरजी मानिसलाई कमजोर ठानिन्छ। तर यो कुरा साँचो होइन। यी सुन्दर गुणका स्रोत ब्रह्माण्डका सर्वशक्तिमान्‌ परमेश्वर यहोवा हुनुहुन्छ। कोमलता धीरज देखाउने सन्दर्भमा यहोवा उत्कृष्ट उदाहरण हुनुहुन्छ। (२ पत्रु. ३:९) जस्तै: अब्राहाम र लूतले यहोवालाई प्रश्न सोध्दा उहाँले स्वर्गदूतहरूमार्फत कसरी जवाफ दिनुभएको थियो, विचार गर्नुहोस्। (उत्प. १८:२२-३३; १९:१८-२१) साथै १,५०० भन्दा धेरै वर्षसम्म यहोवाले अनाज्ञाकारी इस्राएलीहरूलाई कसरी सहनुभयो, त्यो पनि याद गर्नुहोस्।—इज. ३३:११.

१५. कोमल र धीरजी हुने सन्दर्भमा येशूले कस्तो उदाहरण बसाल्नुभयो?

१५ येशू “कोमल स्वभाव”-को हुनुहुन्थ्यो। (मत्ती ११:२९) आफ्ना चेलाहरूले गल्ती गर्दा उहाँले धैर्य गर्दै सहनुभयो। विरोधीहरूले झूटो आरोप लगाउँदा उहाँले सहनुभयो। उहाँलाई अन्यायपूर्ण तरिकामा मृत्युदण्डको सजाय सुनाइयो। तैपनि उहाँ मृत्युको घडीसम्मै कोमल र धीरजी हुनुभयो। यातनाको खम्बामा असह्य पीडा भोगिरहेको बेला उहाँले मृत्युदण्ड दिने मानिसहरूको लागि यसरी प्रार्थना गर्नुभयो: “हे बुबा, यिनीहरूलाई क्षमा गर्नुहोस्। किनकि तिनीहरू जे गर्दैछन्‌, त्यो तिनीहरू जान्दैनन्‌।” (लूका २३:३४) पीडाले छटपटिरहेको बेला र त्यस्तो तनावपूर्ण अवस्थामा समेत येशूले कोमलता र धीरज देखाइरहनुभयो। हाम्रो लागि कत्ति राम्रो उदाहरण!१ पत्रुस २:२१-२३ पढ्‌नुहोस्।

१६. हामी कसरी कोमलता र धीरज देखाउन सक्छौं?

१६ हामी कसरी कोमलता र धीरज देखाउन सक्छौं? एउटा तरिकाबारे पावलले सङ्‌गी ख्रीष्टियनहरूलाई यसो भने: “यदि कसैसित केही गुनासो छ भने एक-अर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो। यहोवाले तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि क्षमा गर।” (कल. ३:१३) हो, यो आज्ञा पालन गर्न हामी कोमल अनि धीरजी हुनै पर्छ। एकअर्कालाई क्षमा गर्दा हामीले मण्डलीको एकतालाई बढावा दिइरहेका हुन्छौं र यसलाई बलियो बनाइरहेका हुन्छौं।

१७. कोमल र धीरजी हुनु किन महत्त्वपूर्ण छ?

१७ ख्रीष्टियनहरू कोमल र धीरजी हुनै पर्छ; यसको कुनै विकल्प छैन। यी गुण हाम्रो उद्धारको लागि अपरिहार्य छन्‌। (मत्ती ५:५; याकू. १:२१) अनि अझ महत्त्वपूर्ण कुरा, हामीले यी गुण आफ्नो व्यवहारमा देखायौं भने त्यसले यहोवाको आदर गर्छ र अरूलाई बाइबलको सल्लाह लागू गर्न मदत गर्छ।—गला. ६:१; २ तिमो. २:२४, २५.

“प्रेम धारण गर”

१८. प्रेम र निष्पक्षताबीच कस्तो सम्बन्ध छ?

१८ अहिलेसम्म छलफल गरिएका गुणहरू प्रेमसित सम्बन्धित छन्‌। उदाहरणको लागि, मण्डलीका भाइहरूले धनीसित एउटा व्यवहार अनि गरिबसित अर्कै व्यवहार गरिरहेकोले याकूबले तिनीहरूलाई सल्लाह दिनुपरेको थियो। त्यस्तो भेदभावले “तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू” भन्ने शाही व्यवस्था उल्लङ्‌घन गर्छ भनेर तिनले बताए। तिनले अझै यसो भने: “यदि तिमीहरू भेदभाव गरिरहन्छौ भने तिमीहरूले पाप गरिरहेका हुन्छौ।” (याकू. २:८, ९) हामी दाजुभाइ दिदीबहिनीलाई माया गर्छौं भने शिक्षा, जात, वर्ण, आर्थिक अवस्था वा सामाजिक ओहदाको आधारमा भेदभाव गर्नेछैनौं। हो, हाम्रो निष्पक्षता देखावटी हुनु हुँदैन बरु हाम्रो व्यक्तित्वको अभिन्न भाग हुनुपर्छ।

१९. प्रेम धारण गर्नु किन महत्त्वपूर्ण छ?

१९ “प्रेम धीरजी र दयालु हुन्छ। प्रेम . . . घमन्डले फुल्दैन।” (१ कोरि. १३:४) राज्यको सुसमाचार सुनाउने काममा निरन्तर लागिरहन धीरजी, दयालु र नम्र हुनु आवश्यक छ। (मत्ती २८:१९) मण्डलीका सबै दाजुभाइ दिदीबहिनीसित राम्रो सम्बन्ध बनाइराख्न यी गुणले मदत गर्छ। यस्तो प्रेम देखाउँदा यहोवाको महिमा हुन्छ र मण्डलीको एकता बलियो हुन्छ। साथै नयाँ मानिसहरू सङ्‌गठनतर्फ आकर्षित हुन्छन्‌। त्यसैले नयाँ व्यक्तित्वबारे विभिन्न कुरा बताएपछि पावलले अन्तमा यसो भन्नु उपयुक्त थियो: “यी कुराहरू गर्नुको अलावा प्रेम धारण गर, किनकि यो मानिसहरूलाई पूर्ण एकतामा गाँस्ने बन्धन हो।”—कल. ३:१४.

‘आफ्नो दिमागलाई नयाँ मनोभावद्वारा उत्प्रेरित गरिरहनुहोस्’

२०. (क) हामीले आफैलाई कस्ता प्रश्न सोध्नुपर्छ? किन? (ख) हामी कस्तो समयको प्रतीक्षा गर्दै छौं?

२० हामी प्रत्येकले आफूलाई यस्तो प्रश्न सोध्नुपर्छ: ‘आफ्नो पुरानो व्यक्तित्व फुकाल्न र त्यसदेखि अलग रहन अझ थप के गर्न सक्छु?’ परमेश्वरको राज्यको हकदार हुनदेखि रोक्ने कुनै पनि मनोवृत्ति वा आचरण त्याग्न कडा मेहनत गर्नुपर्छ। अनि मदतको लागि यहोवालाई निरन्तर प्रार्थना गर्नुपर्छ। (गला. ५:१९-२१) साथै यस्तो प्रश्न पनि सोध्नुपर्छ: ‘के म आफ्नो दिमागलाई नयाँ मनोभावद्वारा उत्प्रेरित गरिरहेको छु?’ (एफि. ४:२३, २४) नयाँ संसारमा सबै मानिसको व्यक्तित्व पूरै नयाँ हुँदा हाम्रो जीवन कस्तो होला, कल्पना गर्नुहोस्। त्यतिन्जेल नयाँ व्यक्तित्वका गुणहरू विकास गर्न कोसिस गरिरहौं।

^ अनु. 3 बाइबलकालीन समयमा सिथियाका मानिसहरूलाई तुच्छ अनि असभ्य ठानिन्थ्यो।