सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“मलाई थाह छ, . . . ऊ ब्यूँतनेछ”

“मलाई थाह छ, . . . ऊ ब्यूँतनेछ”

“हाम्रा मित्र . . . सुतेका छन्‌ तर म त्यहाँ तिनलाई निद्राबाट ब्यूँझाउन जाँदैछु।”—यूह. ११:११.

गीत: १४२, १२९

१. आफ्नो भाइलाई के हुनेछ भनेर मार्था पक्का थिइन्‌? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

मार्था शोकमा परेकी थिइन्‌। उनी येशूको घनिष्ठ मित्र अनि चेला थिइन्‌। उनको भाइ लाजरसको मृत्यु भएको थियो। के उनको पीडा कम गर्न सक्ने कुनै कुरा थियो? थियो। येशूले उनलाई यस्तो आश्‍वासन दिनुभयो: “तिम्रो भाइ ब्यूँतनेछ।” हुन त येशूको कुरा सुन्‍नेबित्तिकै उनको मनको पीडा हटेन होला। तर उनले येशूको कुरा मानिलिइन्‌ र यसो भनिन्‌: “मलाई थाह छ, अन्तको दिनमा पुनर्जीवित हुँदा ऊ ब्यूँतनेछ।” (यूह. ११:२०-२४) भविष्यमा आफ्नो भाइ ब्युँतनेछ भनेर उनी पक्का थिइन्‌। तब येशूले एउटा चमत्कार गर्नुभयो। उहाँले लाजरसलाई त्यही दिन ब्युँताउनुभयो।

२. तपाईं किन मार्थाजस्तै विश्‍वस्त हुन चाहनुहुन्छ?

येशू वा उहाँको बुबाले मरेकाहरूलाई अहिले नै ब्युँताउनुहुन्छ भनेर हामी आशा गर्न सक्दैनौं। तर के तपाईं आफ्नो प्रियजन भविष्यमा पुनर्जीवित हुनेछन्‌ भन्‍ने कुरामा मार्थाजस्तै पक्का हुनुहुन्छ? हुन सक्छ तपाईंले आफ्नो पति/पत्नी, आमा, बुबा अथवा प्यारो हजुरबुबा/हजुरआमा गुमाउनुभएको छ। अथवा तपाईंको छोरा वा छोरीको मृत्यु भएकोमा शोक गर्दै हुनुहुन्छ होला। तपाईं आफूले गुमाएको प्रियजनलाई अङ्‌गालो हाल्न, तिनीसित कुरा गर्न अनि तिनीसँगै हाँस्न चाहनुहुन्छ होला। खुसीको कुरा, मार्थाजस्तै तपाईंसित पनि यसो भन्‍न सक्ने कारण छ, ‘मलाई थाह छ, मेरो प्रियजन पुनर्जीवित हुनेछन्‌।’ हामी किन यसरी पक्का विश्‍वास राख्न सक्छौं, त्यसबारे विचार गर्दा हामी सबैलाई फाइदा हुन्छ।

३, ४. येशूले भर्खरै गर्नुभएको चमत्कारले गर्दा मार्थाको विश्‍वास कसरी बलियो भएको हुनुपर्छ?

मार्था यरूशलेमनजिकै बस्ने भएकोले येशूले गालीलको नाइन सहरनजिकै बस्ने विधवाको छोरालाई पुनर्जीवित पार्नुभएको सायद उनले देखेकी थिइनन्‌। तर सायद उनले यसबारे सुनेकी थिइन्‌। अनि येशूले याइरसकी छोरीलाई फेरि जीवित पार्नुभएको कुरा पनि सायद उनले सुनेकी थिइन्‌। त्यहाँ भएकाहरूलाई “केटी मरिसकेकी छे भनेर . . . थाह थियो।” तर येशूले त्यो मरेकी केटीको हात समातेर यसो भन्‍नुभयो: “नानु, उठ!” अनि ऊ तुरुन्तै उठी। (लूका ७:११-१७; ८:४१, ४२, ४९-५५) येशू रोग निको पार्न सक्नुहुन्छ भनेर मार्था र उनकी बहिनी मरियमलाई थाह थियो। त्यसैले लाजरस बिरामी छँदा येशू त्यहाँ हुनुभएको भए तिनी मर्ने थिएनन्‌ भन्‍ने उनीहरूलाई लागेको थियो। तर येशूका प्रिय मित्र लाजरस मरिसकेकोले तिनको लागि के आशा थियो? याद गर्नुहोस्‌, मार्थाले लाजरस भविष्यमा, “अन्तको दिनमा” फेरि जीवित हुनेबारे कुरा गर्दै थिइन्‌। उनी यस आशाबारे कसरी पक्का हुन सकिन्‌? अनि तपाईंका प्रियजनहरू पनि भविष्यमा पुनर्जीवित हुनेछन्‌ भन्‍ने कुरामा तपाईं कसरी विश्‍वस्त हुन सक्नुहुन्छ?

पुनर्जीवनको आशामा विश्‍वस्त हुन सक्ने थुप्रै कारण छन्‌। तीमध्ये केही कारण हामी यस लेखमा छलफल गर्नेछौं। त्यसरी छलफल गर्दा तपाईंले केही यस्ता कुरा याद गर्नुहुनेछ, जसलाई पुनर्जीवनको आशासित जोडेर पहिला विचार गर्नुभएको थिएन होला। ती कुरा विचार गर्दा आफ्ना प्रियजनलाई फेरि भेट्‌ने कुरामा तपाईं अझ विश्‍वस्त हुन सक्नुहुनेछ।

आशा जगाउने घटनाहरू!

५. लाजरस पुनर्जीवित हुनेछन्‌ भनेर मार्था विश्‍वस्त हुन सक्नुको कारण के थियो?

याद गर्नुहोस्‌, मार्थाले आफ्नो भाइबारे ‘मलाई आशा छ, ऊ ब्यूँतनेछ’ भनिनन्‌। उनले “मलाई थाह छ, . . . ऊ ब्यूँतनेछ” भनिन्‌। उनी किन विश्‍वस्त हुन सकिन्‌? किनभने उनलाई विगतमा भएका पुनर्जीवनसम्बन्धी विवरण थाह थियो। उनले यी चमत्कारहरूबारे आफू सानो छँदा घरमा र सभाघरहरूमा सुनेकी हुनुपर्छ। आउनुहोस्‌, बाइबलमा रेकर्ड गरिएका पुनर्जीवनसम्बन्धी विवरणमध्ये तीन वटा केलाऔं।

६. मार्थाले कुन चमत्कारबारे पक्कै सुनेकी थिइन्‌?

यहोवाले भविष्यवक्‍ता एलियालाई चमत्कारहरू गर्ने शक्‍ति दिनुभएको थियो। उहाँको मदत पाएर तिनले एउटी गरिब विधवाकी छोरालाई पुनर्जीवित गरेका थिए। मरेकाहरूलाई पुनर्जीवित गरिएको बाइबल विवरणमध्ये यो पहिलो हो। फोनिसियाली सहर सारपतकी एक गरिब विधवाले भविष्यवक्‍ता एलियालाई अतिथिसत्कार गरेकी थिइन्‌। उनी र उनको छोरा भोकभोकै मर्न नपरोस्‌ भनेर परमेश्‍वरले चमत्कारपूर्ण ढङ्‌गमा उनको भाँडोमा पीठो र तेल सिद्धिन दिनुभएन। (१ राजा १७:८-१६) पछि, उनको छोरा बिरामी परेर मऱ्‍यो। यस्तो दुःख आइपर्दा एलियाले उनलाई मदत गरे। त्यस बालकमाथि लमतन्‍न परेर एलियाले यसरी प्रार्थना गरे: “परमेश्‍वर, बिन्ती छ, जीवनको सास फेरि यस बालकको शरीरमा फर्कोस्‌।” अनि त्यस्तै भयो! परमेश्‍वरले एलियाको बिन्ती सुन्‍नुभयो र त्यो केटो फेरि जीवित भयो। बाइबलमा उल्लेख गरिएको पुनर्जीवनको घटना यो नै पहिलो थियो। (१ राजा १७:१७-२४ पढ्‌नुहोस्‌) मार्थाले यो रोचक घटनाबारे पक्कै सुनेकी थिइन्‌।

७, ८. (क) एलीशाले एउटी स्त्रीको पीडा मेटाउन के गरे? (ख) एलीशाले गरेको चमत्कारले यहोवासित कस्तो क्षमता छ भन्‍ने प्रमाण दिन्छ?

एलियाका उत्तराधिकारी भविष्यवक्‍ता एलीशाले पनि मरेका व्यक्‍तिलाई पुनर्जीवित गरेका थिए। बाइबलमा उल्लेख गरिएको पुनर्जीवनको दोस्रो घटना यही हो। शुनैमकी एउटी धनी इस्राएली स्त्रीले एलीशालाई एकदमै राम्रो अतिथिसत्कार गरिन्‌। परमेश्‍वरले भविष्यवक्‍ता एलीशामार्फत्‌ प्रतिज्ञा गर्नुभएजस्तै यस स्त्रीलाई आशिष्‌ दिनुभयो। उनी र उनको वृद्ध पतिको कुनै सन्तान थिएन। परमेश्‍वरको आशिष्‌ले गर्दा उनले एउटा छोरा जन्माइन्‌। तर त्यसको केही वर्षपछि त्यो छोरा मऱ्‍यो। त्यतिबेला त्यस स्त्रीलाई कस्तो असह्‍य पीडा भयो होला, कल्पना गर्नुहोस्‌ त! त्यसैले एलीशालाई भेट्‌न उनी लगभग ३० किलोमिटर यात्रा गरेर कर्मेल डाँडासम्म गइन्‌। एलीशाले आफ्नो सहयोगी गेहजीलाई शुनैम जाँदै गर्नू भने। गेहजीले त्यस मरेको केटोलाई ब्युँताउन सकेनन्‌। पछि, छोराको मृत्युले गर्दा शोकमा डुबेकी त्यस स्त्री र एलीशा शुनैम आइपुगे।—२ राजा ४:८-३१.

त्यहाँ पुगेपछि एलीशाले केटोको शव नजिकै बसेर प्रार्थना गरे। त्यसपछि चमत्कारपूर्ण ढङ्‌गमा त्यस केटो जीवित भयो। मरेको छोरा जीवित हुँदा त्यस स्त्री कत्ति खुसी भइन्‌ होली! (२ राजा ४:३२-३७ पढ्‌नुहोस्‌) उनले पहिला बाँझी भएकी हन्‍नाले गरेको प्रार्थना सम्झेकी हुनुपर्छ। शमूएललाई बासस्थानमा ल्याउँदा हन्‍नाले यसरी प्रार्थना गरेकी थिइन्‌: “परमप्रभुले . . . चिहानमा पठाउनुहुन्छ र मरेकाहरूलाई जीवित पार्नुहुन्छ।” (१ शमू. २:६, NRV) हो, परमेश्‍वरले शुनैमको त्यस केटोलाई जीवित पार्नुभयो। यसले उहाँसित मानिसहरूलाई पुनर्जीवित गर्ने क्षमता छ भन्‍ने प्रमाण दिन्छ।

९. बाइबलमा उल्लेख गरिएको पुनर्जीवनको तेस्रो घटना एलीशासित कसरी सम्बन्धित छ, बताउनुहोस्‌।

एलीशासित सम्बन्धित चमत्कार यो मात्रै थिएन। तिनले भविष्यवक्‍ताको रूपमा ५० वर्षभन्दा लामो समय सेवा गरेका थिए। त्यसपछि तिनी “बिरामी भएर मृत्यु-शैय्यामा परे।” पछि, एलीशाको शरीर कुहिएर चिहानमा उनका हड्डीहरू मात्र बाँकी रह्‍यो। एक दिनको कुरा हो, केही इस्राएली एउटा लास गाड्‌न गइरहेका थिए। बाटोमा जाँदै गर्दा उनीहरूले शत्रुहरू आइरहेको देखे। ती शत्रुहरूबाट बच्न उनीहरूले त्यस लासलाई एलीशाका हड्डीहरू भएको चिहानमा फ्याँकिदिए। त्यसपछि भएको घटनाबारे बाइबल यसो भन्छ: “त्यस लाशले ती अगमवक्‍ताका हड्डीहरू छुनेबित्तिकै त्यो मानिस जीवित भएर आफ्नो खुट्टामा उभियो।” (२ राजा १३:१४, २०, २१) पुनर्जीवनसम्बन्धी यस्ता विवरणहरू सुन्दा मार्थामा कस्तो प्रभाव पऱ्‍यो होला, सोच्नुहोस्‌ त! परमेश्‍वर मृत्युमाथि विजयी हुन सक्नुहुन्छ। यी विवरणहरूले तपाईंमा कस्तो प्रभाव पार्नुपर्ने हो, विचार गर्नुहोस्‌। यी घटनाहरूबाट परमेश्‍वरसित अथाह शक्‍ति छ र उहाँको शक्‍तिको कुनै सीमा छैन भनेर तपाईं पनि विश्‍वस्त हुन सक्नुहुन्छ।

प्रथम शताब्दीका घटनाहरू

१०. तबीतालाई के भयो र पत्रुसले के गरे?

१० परमेश्‍वरका वफादार सेवकहरूले मरेकाहरूलाई पुनर्जीवित गरेको विवरण हामी ख्रीष्टियन ग्रीक धर्मशास्त्रमा पनि पाउँछौं। येशूले नाइन सहरबाहिर एउटी विधवाको छोरालाई र याइरसको घरमा उनकी छोरीलाई पुनर्जीवित गर्नुभएको विवरण हामीले थाह पाइसक्यौं। प्रेषित पत्रुसले पनि एउटी ख्रीष्टियन स्त्री तबीतालाई पुनर्जीवित गरेका थिए। पत्रुस त्यस स्त्रीको शव राखिएको ठाउँमा आए र शवनजिकै बसेर प्रार्थना गरे। त्यसपछि तिनले भने: “तबीता, उठ!” त्यस स्त्री तुरुन्तै उठिन्‌ र पत्रुसले “जीवित भइसकेकी तबीता”-लाई सङ्‌गी ख्रीष्टियनहरूको जिम्मा लगाए। यो घटनाले मानिसहरूमा यत्ति प्रभाव पाऱ्‍यो कि “धेरै जनाले प्रभुमा विश्‍वास गर्न थाले।” उनीहरूले येशूबारे र मरेकाहरूलाई पुनर्जीवित गर्न सक्नुहुने यहोवाको क्षमताबारे अरूलाई बताउन सके।—प्रेषि. ९:३६-४२.

११. डाक्टर लूकाले युटाइकसलाई के भयो भनेर बताए अनि त्यतिबेला भएको घटनाले अरूमा कस्तो असर पऱ्‍यो?

११ प्रत्यक्षदर्शीहरूको अगाडि पुनर्जीवित गरिएको अर्को एउटा घटना विचार गरौं। एक पटक, त्रोआसमा छँदा प्रेषित पावल एउटा घरको माथिल्लो तल्लामा मध्यरातसम्म भाषण दिंदै थिए। त्रोआस हाल टर्कीको उत्तर-पश्‍चिममा पर्छ। युटाइकस नाम गरेको ठिटो पनि झ्यालमा बसेर त्यो भाषण सुनिरहेको थियो। तर ऊ भुसुक्कै निदायो अनि तीन तला माथिबाट खस्यो। सायद डाक्टर लूका युटाइकसकहाँ सबैभन्दा पहिला पुगेका हुन सक्छन्‌। लूकासित डाक्टरी ज्ञान भएकोले उनले युटाइकस घाइते भएर बेहोस भएको मात्र नभई मरिसकेको कुरा बताए। तब पावल तल ओर्ले र युटाइकसलाई अङ्‌गालो हालेर भने: “ऊ फेरि जिउँदो भइसकेको छ।” यो सुन्दा त्यहाँ भएकाहरू कत्ति छक्क परे होलान्‌ र उनीहरूमा कस्तो गहिरो असर पऱ्‍यो होला, कल्पना गर्नुहोस्‌ त! यसरी युटाइकसलाई पुनर्जीवित गरिंदा “उनीहरूले धेरै सान्त्वना पाए।”—प्रेषि. २०:७-१२.

एउटा पक्का आशा

१२, १३. यस लेखमा छलफल गरिएका पुनर्जीवनसम्बन्धी विवरणहरू पढ्‌दा कस्ता प्रश्‍नहरू उठ्‌न सक्छन्‌?

१२ माथि उल्लेख गरिएका विवरणहरूले मार्थालाई जस्तै तपाईंलाई पनि विश्‍वस्त पार्नुपर्ने हो। कुन कुरामा? हाम्रा परमेश्‍वर र जीवनदातासित मरेका व्यक्‍तिहरूलाई फेरि जीवित बनाउने क्षमता छ भन्‍ने कुरामा। हुन त विगतमा यहोवाले मरेकाहरूलाई पुनर्जीवित पार्नुहुँदा प्रत्येक पटक एलिया, येशू र पत्रुसजस्ता विश्‍वासी सेवकहरूलाई चलाउनुभएको थियो। तर अरू थुप्रै वफादार पुरुष तथा स्त्रीको जीवनकालमा भने परमेश्‍वरले मरेकाहरूलाई पुनर्जीवित पार्नुभएन। त्यसोभए ती सेवकहरूले चाहिं परमेश्‍वरले मरेकाहरूलाई भविष्यमा पुनर्जीवित पार्नुहुनेछ भनेर कसरी आशा गर्न सक्थे? के उनीहरू पनि मार्थाजस्तै यो कुरामा ढुक्क हुन सक्थे, जसले आफ्नो भाइबारे यसो भनिन्‌: “मलाई थाह छ, अन्तको दिनमा पुनर्जीवित हुँदा ऊ ब्यूँतनेछ”? त्यसो हुनेछ भनेर मार्था पक्का हुन सक्नुको कारण के थियो? तपाईं पनि किन पक्का हुन सक्नुहुन्छ?

१३ यहोवाका वफादार जनहरूलाई मरेकाहरू भविष्यमा पुनर्जीवित हुनेछन्‌ भनेर थाह थियो भनी देखाउने विवरणहरू परमेश्‍वरको वचन बाइबलमा पाउँछौं। आउनुहोस्‌, तीमध्ये केही विचार गरौं।

१४. मरेकाहरू पुनर्जीवित हुनेबारे हामी अब्राहामको विवरणबाट के थाह पाउन सक्छौं?

१४ इसहाकको जन्म हुन अब्राहामले लामो समय पर्खनुपरेको थियो। तर यहोवाले अब्राहामलाई के भन्‍नुभयो, विचार गर्नुहोस्‌ त। उहाँले यसो भन्‍नुभयो: “तेरो छोरो, अर्थात्‌ तैंले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर . . . होमबलि गर्‌।” (उत्प. २२:२) त्यस्तो आज्ञा पाउँदा अब्राहामको मनमा कस्ता कुराहरू खेले होलान्‌, कल्पना गर्नुहोस्‌। अब्राहामको सन्तानद्वारा सबै जातिले आशिष्‌ पाउनेछन्‌ भनेर यहोवाले प्रतिज्ञा गर्नुभएको थियो। (उत्प. १३:१४-१६; १८:१८; रोमी ४:१७, १८) त्यो सन्तान “इसहाकबाट” नै आउनेछ भनेर पनि उहाँले बताउनुभयो। (उत्प. २१:१२) तर इसहाकलाई बलिदानको रूपमा चढाउने हो भने त्यो प्रतिज्ञा कसरी पूरा हुन सक्थ्यो र? परमेश्‍वरले इसहाकलाई मृत्युबाट ब्युँताउन सक्नुहुन्छ भन्‍ने कुरामा अब्राहाम विश्‍वस्त थिए भनी पावलले परमेश्‍वरबाट प्रेरणा पाएर लेखे। (हिब्रू ११:१७-१९ पढ्‌नुहोस्‌) परमेश्‍वरको आज्ञा मानेर इसहाकलाई बलि चढाएको खण्डमा उनी केही घण्टापछि, एक दिनपछि वा एक हप्तापछि नै पुनर्जीवित हुनेछन्‌ जस्तो अब्राहामलाई लागेको थियो भनी बाइबल बताउँदैन। अब्राहामलाई आफ्नो छोरा कहिले पुनर्जीवित हुन्छ भनेर थाह थिएन। तर यहोवाले इसहाकलाई पक्कै पुनर्जीवित गर्नुहुनेछ भन्‍ने कुरामा चाहिं अब्राहाम विश्‍वस्त थिए।

१५. कुलपिता अय्यूबले कस्तो आशा राखेका थिए?

१५ कुलपिता अय्यूबलाई पनि मरेकाहरू भविष्यमा पुनर्जीवित हुनेछन्‌ भनेर थाह थियो। एउटा रूख काट्यो भने त्यो फेरि पलाउने आशा हुन्छ र त्यो कलिलो बोटझैं पलाएर आउँछ भनी तिनले बताए। तर मानिसको सन्दर्भमा भने त्यसो हुँदैन। (अय्यू. १४:७-१२; १९:२५-२७) कोही मानिस मऱ्‍यो भने ऊ आफै चिहानबाट उठ्‌न र फेरि जीवित हुन सक्दैन। (२ शमू. १२:२३; भज. ८९:४८) यसको मतलब परमेश्‍वरले मानिसहरूलाई पुनर्जीवित गर्न सक्नुहुन्‍न भन्‍नेचाहिं होइन। बरु यहोवाले भविष्यमा आफूलाई सम्झनुहुनेछ भन्‍ने कुरामा अय्यूब विश्‍वस्त थिए। (अय्यूब १४:१३-१५, NRV पढ्‌नुहोस्‌) अय्यूबलाई त्यो समय कहिले आउनेछ भनेर थाह थिएन। तर अय्यूब यो कुरामा भने विश्‍वस्त थिए: मानिसलाई सृष्टि गर्नुहुनेले तिनलाई सम्झन र पुनर्जीवित गर्न सक्नुहुन्छ अनि त्यसो गर्नु पनि हुनेछ।

१६. एक जना स्वर्गदूतले भविष्यवक्‍ता दानियललाई कस्तो प्रोत्साहन दिए?

१६ हिब्रू धर्मशास्त्रमा उल्लेख गरिएका अर्का व्यक्‍ति दानियलबारे पनि विचार गर्नुहोस्‌। तिनले दशकौंसम्म वफादार भई यहोवाको सेवा गरे अनि उहाँले तिनलाई साथ दिनुभयो। एक चोटि एक जना स्वर्गदूतले ती “अति प्रिय मानिस” दानियललाई यसो भने: “तिमीलाई राम्रै हुनेछ। बलियो होऊ।”—दानि. ९:२२, २३; १०:११, १८, १९.

१७, १८. परमेश्‍वरले दानियलसित कस्तो प्रतिज्ञा गर्नुभयो?

१७ दानियल १०० वर्ष पुग्न लागिसकेका थिए अनि जीवनको अन्तिम घडीतिर आइपुगेका थिए। भविष्यमा आफूलाई के हुनेछ भनेर सायद तिनी सोचिरहेका थिए। के तिनी फेरि जीवित हुने थिए? पक्कै हुने थिए। दानियलको पुस्तकको अन्ततिर परमेश्‍वरले तिनलाई यस्तो आश्‍वासन दिनुभएको पाउँछौं: “अन्तसम्मै आफ्नो बाटो लाग। तिमीले विश्राम गर्नेछौ।” (दानि. १२:१३, NRV) वृद्ध भइसकेका दानियललाई मरेकाहरू विश्राम गर्दै छन्‌ र “चिहानमा . . . न योजना गर्ने, न ज्ञान, न बुद्धि नै हुन्छ” भनेर थाह थियो। (उप. ९:१०, NRV) दानियल पनि छिट्टै चिहानमा जाने थिए। तर त्यो नै तिनको अन्त हुने थिएन। तिनी भविष्यमा पुनर्जीवित हुने थिए।

१८ भविष्यवक्‍ता दानियललाई दिइएको सन्देशमा अझै यसो भनिएको थियो: “तोकिएको उत्तराधिकार प्राप्त गर्नलाई तिमी दिनहरूको अन्तमा खडा हुनेछौ।” दानियललाई त्यो कहिले हुनेछ भनेर थाह थिएन। दानियलको मृत्यु हुने थियो र तिनले विश्राम गर्ने थिए अर्थात्‌ चिर निद्रामा पर्ने थिए। तर ‘तोकिएको उत्तराधिकार प्राप्त गर्न खडा हुनेछौ’ भन्‍ने प्रतिज्ञा सुनेपछि दानियलले आफू भविष्यमा पुनर्जीवित हुनेछु भन्‍ने कुरा बुझे। आफू मरेको लामो समयपछि अर्थात्‌ “दिनहरूको अन्तमा” तिनी पुनर्जीवित हुने थिए। दानियलसित गरिएको प्रतिज्ञा पवित्र बाइबल-मा (ERV) यसरी अनुवाद गरिएको छ: “अन्तमा तिमी आफ्नो भाग प्राप्त गर्नको निम्ति मृत्युबाट फेरि उठेर आऊ।”

मरेकाहरू भविष्यमा पुनर्जीवित हुनेछन्‌ भनेर मार्थाजस्तै तपाईं पनि विश्‍वस्त हुन सक्नुहुन्छ (अनुच्छेद १९, २० हेर्नुहोस्‌)

१९, २०. (क) मार्थाले येशूलाई दिएको जवाफ र यस लेखमा छलफल गरिएका कुराबीच कस्तो सम्बन्ध छ? (ख) अर्को लेखमा के छलफल गर्नेछौं?

१९ आफ्नो वफादार भाइ लाजरस ‘अन्तको दिनमा पुनर्जीवित हुँदा ब्युँतनेछ’ भनेर विश्‍वस्त हुन मार्थासित ठोस कारण थियो। दानियलसित गरिएको प्रतिज्ञाले र मार्थाले येशूलाई दिएको जवाफले आज ख्रीष्टियनहरूलाई पनि विश्‍वस्त पार्नुपर्ने हो। मरेकाहरू पक्कै पुनर्जीवित हुनेछन्‌।

२० मरेकाहरू पुनर्जीवित हुन साँच्चै सम्भव छ भनेर देखाउने विभिन्‍न प्रमाण हामीले विगतका वास्तविक घटनाहरूबाट थाह पायौं। मरेकाहरू भविष्यमा पुनर्जीवित हुनेछन्‌ भनेर परमेश्‍वरका सेवकहरू विश्‍वस्त थिए। तर मरेकाहरू पुनर्जीवित हुनेछन्‌ भनेर प्रतिज्ञा गरिएको लामो समय बितिसकेपछि पनि त्यो प्रतिज्ञा पूरा हुनेछ भन्‍ने कुराको के कुनै प्रमाण छ? छ भने त्यसले पनि हामीलाई मरेकाहरू भविष्यमा पुनर्जीवित हुनेछन्‌ भनेर मार्थाले जस्तै आशा गर्न थप कारण दिन्छ। तर मरेकाहरू कहिले पुनर्जीवित हुनेछन्‌? यसबारे अर्को लेखमा छलफल गर्नेछौं।