सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“मैले पनि परमेश्‍वरमा आशा राखेको छु”

“मैले पनि परमेश्‍वरमा आशा राखेको छु”

“अन्तिम आदमचाहिं जीवन दिने व्यक्‍ति भए।”—१ कोरि. १५:४५.

गीत: १५१, १४७

१-३. (क) हामीले अनमोल ठान्‍ने शिक्षाहरूमध्ये एउटा के हो? (ख) पुनर्जीवनको शिक्षा किन एकदमै महत्त्वपूर्ण छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

मानौं, कसैले तपाईंलाई यस्तो प्रश्‍न सोध्यो, ‘तपाईं वास्तवमा के विश्‍वास गर्नुहुन्छ?’ तपाईं कस्तो जवाफ दिनुहुन्छ? यहोवा हाम्रो सृष्टिकर्ता र जीवनदाता हुनुहुन्छ भनेर पक्कै बताउनुहुन्छ होला। येशू ख्रीष्टमाथि विश्‍वास गर्छु भनेर पनि बताउनुहुन्छ होला, जसले हाम्रो लागि फिरौतीको बलिदान दिनुभयो। अनि भविष्यमा यो पृथ्वी सुन्दर प्रमोदवन बन्‍नेछ र त्यहाँ परमेश्‍वरका जनहरू सधैंभरि बाँच्नेछन्‌ भनेर खुसीसित बताउनुहुन्छ होला। तर पुनर्जीवनको आशाबारे नि? यो आशा पनि आफूले एकदम अनमोल ठानेको एउटा शिक्षा हो भनेर के तपाईं बताउनुहुन्छ?

हुन त तपाईंले जिउँदै महासङ्‌कष्ट पार गरेर पृथ्वीमा सधैंभरि बाँच्ने आशा राख्नुभएको होला। तैपनि पुनर्जीवनको आशालाई हाम्रो मुख्य शिक्षामा समावेश गर्ने ठोस कारण छ। प्रेषित पावलले पुनर्जीवनको आशा हाम्रो विश्‍वासको अत्यन्तै महत्त्वपूर्ण भाग हो भन्‍ने कुरालाई जोड दिंदै यसो भने: “निस्सन्देह, यदि मरेकाहरू पुनर्जीवित हुँदैनन्‌ भने ख्रीष्ट पनि ब्यूँताइनुभएको छैन।” ख्रीष्ट नब्युँताइनुभएको भए उहाँले राजाको रूपमा अहिले शासन गरिरहनुभएको हुने थिएन। अनि ख्रीष्टको शासनबारे प्रचार गर्नु पनि बेकार हुनेथियो। (१ कोरिन्थी १५:१२-१९ पढ्‌नुहोस्‌) तर येशू पुनर्जीवित हुनुभयो भनेर हामीलाई थाह छ। हाम्रो यो विश्‍वास येशूको समयका सदुकीहरूको भन्दा एकदमै भिन्‍न छ। किनभने सदुकीहरू मरेकाहरू पुनर्जीवित हुन्छन्‌ भन्‍ने कुरा पटक्कै मान्दैनथे। हामीले मरेकाहरू पुनर्जीवित हुनेछन्‌ भनेर विश्‍वास गरेकोमा अनेकन्‌ खिसीट्युरी सहनु परे तापनि यसमा विश्‍वास गर्न छोड्‌दैनौं।—मर्कू. १२:१८; प्रेषि. ४:२, ३; १७:३२; २३:६-८.

पावलले “ख्रीष्टसम्बन्धी प्राथमिक सिद्धान्त”-बारे बताउँदा “मरेकाहरू पुनर्जीवित हुने . . . शिक्षा”-बारे उल्लेख गरे। (हिब्रू ६:१, २) मरेकाहरू पुनर्जीवित हुनेछन्‌ भनेर आशा राखेको कुरा पनि पावलले बताए। (प्रेषि. २४:१०, १५, २४, २५) हुन त पुनर्जीवनको शिक्षालाई “परमेश्‍वरका पवित्र सन्देशका आधारभूत कुराहरू”-मा समावेश गरिएको छ। (हिब्रू ५:१२) त्यसो भन्दैमा यो शिक्षा हाम्रो लागि एकदम मामुली कुरा हो भन्‍न चाहिं मिल्दैन। किन?

४. पुनर्जीवनको शिक्षाबारे कस्ता प्रश्‍न उठ्‌न सक्छन्‌?

बाइबल अध्ययन गर्दै जाँदा धेरैजसोले विगतमा भएको पुनर्जीवनका घटनाहरूबारे थाह पाउँछन्‌। जस्तै, लाजरस पुनर्जीवित भएको घटना। साथै, मरेकाहरू भविष्यमा ब्युँतने कुरामा अब्राहाम, अय्यूब र दानियल विश्‍वस्त थिए भनेर पनि थाह पाउँछन्‌। तर सयौं वर्षअघि गरिएका पुनर्जीवनसम्बन्धी प्रतिज्ञाहरूमा अहिले पनि विश्‍वास गर्न सकिने प्रमाण के छ भनेर कसैले सोधेमा तपाईं कस्तो जवाफ दिनुहुन्छ? अनि मरेकाहरू कहिले पुनर्जीवित हुनेछन्‌ भनेर बाइबलले बताएको छ त? यी प्रश्‍नको जवाफले हाम्रो विश्‍वासलाई असर गर्छ। त्यसैले धर्मशास्त्र के भन्छ, आउनुहोस्‌ विचार गरौं।

एक व्यक्‍ति पुनर्जीवित हुनेछन्‌ भनेर  धेरैअघि भविष्यवाणी गरिएको थियो

५. पुनर्जीवनबारे हामी कुन कुरा विचार गर्नेछौं?

भर्खरै मरेको व्यक्‍तिलाई ब्युँताउने कुरा पत्याउन त्यति गाह्रो नहोला। (यूह. ११:११; प्रेषि. २०:९, १०) तर मरेकाहरू वर्षौंपछि पुनर्जीवित हुनेछन्‌ भनेर गरिएको प्रतिज्ञा नि? यसरी भविष्यमा ब्युँताइनेछ भनेर गरिएको प्रतिज्ञा, चाहे भर्खरै मरेको व्यक्‍ति होस्‌ या धेरैअघि मरेको व्यक्‍ति, सबैलाई लागू हुन्छ भनेर के तपाईं विश्‍वास गर्न सक्नुहुन्छ? वास्तवमा, एक जना व्यक्‍ति पुनर्जीवित हुनेछन्‌ भनेर धेरै वर्षअघि गरिएको प्रतिज्ञा साँच्चै पूरा भयो र तपाईं त्यसमा विश्‍वास गर्नुहुन्छ। तपाईंले किन विश्‍वास गर्न सक्नुभयो? अनि त्यसलाई आधार मानेर भविष्यमा हुने पुनर्जीवनबारे तपाईं के आशा गर्न सक्नुहुन्छ?

६. भजन ११८ को पूर्ति कसरी येशूसित सम्बन्धित छ?

पुनर्जीवनबारे धेरैअघि गरिएको भविष्यवाणीको सन्दर्भमा भजन ११८ लाई विचार गरौं। कसै-कसैको विचारमा यो भजन दाऊदले लेखेका हुन्‌। त्यस भजनमा तिनले यसो भनेका छन्‌: “हे परमप्रभु, हामी आग्रहपूर्वक बिन्ती गर्दछौं, अब उद्धार गर्नुहोस्‌। . . . परमप्रभुको नाउँमा आउने धन्यको हो।” सायद तपाईंलाई याद छ होला, आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि येशू नीसान ९ मा यरूशलेम प्रवेश गर्नुहुँदा मानिसहरूले मसीहबारे भजनको यही अंश उद्धरण गरेका थिए। (भज. ११८:२५, २६; मत्ती २१:७-९) तर भजन ११८ ले धेरै वर्षपछि भविष्यमा हुने पुनर्जीवनलाई कसरी सङ्‌केत गऱ्‍यो? त्यस भविष्यसूचक भजनमा अर्को कुन कुरा पनि बताइएको छ, याद गर्नुहोस्‌: “जुन ढुङ्‌गालाई डकर्मीहरूले रद्दी गरे, त्यहीचाहिं कुनाको शिर-ढुङ्‌गा भयो।”—भज. ११८:२२.

“डकर्मीहरूले” मसीहलाई तिरस्कार गरे (अनुच्छेद ७ हेर्नुहोस्‌)

७. यहूदीहरूले कुन हदसम्म येशूलाई तिरस्कार गरे?

“डकर्मीहरू” अर्थात्‌ यहूदी नेताहरूले मसीहलाई तिरस्कार गरे। तिनीहरूले येशूको कुरालाई वास्ता गरेनन्‌ अनि उहाँलाई ख्रीष्टको रूपमा स्विकारेनन्‌। त्यति मात्र होइन, धेरैजसो यहूदीले उहाँलाई मृत्युदण्ड दिइनुपर्छ भनेर चर्को स्वरमा नाराबाजी गरे। (लूका २३:१८-२३) हो, येशूको मृत्युको लागि तिनीहरू पनि दोषी थिए।

येशू पुनर्जीवित भएर “कुनाको शिरढुङ्‌गो” बन्‍नुभयो (अनुच्छेद ८, ९ हेर्नुहोस्‌)

८. येशू कसरी “कुनाको शिरढुङ्‌गो” बन्‍नुभयो?

मानिसहरूले येशूलाई तिरस्कार गरे अनि उहाँलाई मारे। त्यसो हो भने उहाँ कसरी “कुनाको शिरढुङ्‌गो” बन्‍नुहुने थियो त? त्यसको लागि उहाँ पुनर्जीवित हुनु आवश्‍यक थियो। येशू आफैले यो कुरा प्रस्ट पार्नुभयो। उहाँले दाखबारीको मालिकबारे एउटा दृष्टान्त सुनाउनुभयो। त्यस दाखबारीका मोहीहरूले मालिकले पठाएका दासहरूसित दुर्व्यवहार गरे। इस्राएलीहरूले पनि परमेश्‍वरले पठाउनुभएका भविष्यवक्‍ताहरूसित त्यसरी नै दुर्व्यवहार गरेका थिए। अन्तमा दाखबारीका मालिकले आफ्नो प्यारो छोरालाई पठाए, जो हकवाला पनि थिए। के मोहीहरूले छोरासित राम्रो व्यवहार गरे? अहँ, गरेनन्‌। तिनीहरू मालिकका छोरालाई मार्नसमेत पछि परेनन्‌। येशूले यो दृष्टान्त बताउनुभएपछि भजन ११८:२२ मा पाइने भविष्यसूचक वाक्य उद्धरण गर्नुभयो। (लूका २०:९-१७) प्रेषित पत्रुसले पनि “यरूशलेममा यहूदीहरूका शासक, धर्म-गुरु अनि शास्त्रीहरू”-लाई सम्बोधन गर्दा भजनको त्यही पद चलाए। तिनले यसो भने: “नासरी येशू ख्रीष्ट, जसलाई तपाईंहरूले खम्बामा टाँग्नुभयो तर परमेश्‍वरले मृत्युबाट ब्यूँताउनुभयो।” त्यसपछि पत्रुसले स्पष्टसित यसो भने: “जुन ढुङ्‌गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने, त्यही ढुङ्‌गो नै कुनाको शिरढुङ्‌गो बनेको छ।”—प्रेषि. ३:१५; ४:५-११; १ पत्रु. २:५-७.

९. भजन ११८:२२ ले सङ्‌केत गरेअनुसार कस्तो उल्लेखनीय घटना हुने थियो?

सयौं वर्षअघि भजन ११८:२२ मा गरिएको भविष्यसूचक विवरणअनुसार एक जना व्यक्‍ति पक्कै पुनर्जीवित हुने थिए। हो, मानिसहरूले मसीहलाई तिरस्कार गर्ने थिए र उहाँलाई मार्ने थिए। तर उहाँ मृत्युबाट ब्युँताइनुहुने थियो र कुनाको शिरढुङ्‌गो बन्‍नुहुने थियो। पुनर्जीवित हुनुभएपछि येशू मात्र त्यस्तो व्यक्‍ति बन्‍नुभयो, जसको “नाम लिएर हामीले उद्धार पाउन सक्छौं।”—प्रेषि. ४:१२; एफि. १:२०.

१०. (क) भजन १६:१० मा कस्तो भविष्यवाणी गरिएको छ? (ख) भजन १६:१० दाऊदमा पूरा भएन भनेर हामी किन भन्‍न सक्छौं?

१० एक जना व्यक्‍ति पुनर्जीवित हुने कुरालाई सङ्‌केत गर्ने अर्को बाइबल पद पनि विचार गरौं। यो भविष्यवाणी एक हजार वर्षभन्दा पछि पूरा हुनेथियो। त्यसैले मरेको व्यक्‍ति पुनर्जीवित हुनेबारे धेरैअघि गरिएको भविष्यवाणी वा प्रतिज्ञा साँच्चै पूरा हुनेछ भनेर तपाईं पनि विश्‍वस्त हुन सक्नुहुन्छ। भजन १६ का लेखक दाऊदले यसो भने: “तपाईंले मेरो प्राणलाई चिहानमा छोड्‌नुहुनेछैन, नता तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ।” (भज. १६: १०, NRV) दाऊदले यस पदमा आफू कहिल्यै मर्नेछैन वा चिहानमा जानेछैन भन्‍न खोजेका थिएनन्‌। समय बित्दै जाँदा दाऊद बूढो भए भनी बाइबल बताउँछ। दाऊद मरेपछि तिनी “आफ्ना पित्रहरूसित सुते, र दाऊदको शहरको चिहानमा राखिए।” (१ राजा २:१, १०) त्यसोभए भजन १६:१० ले भन्‍न खोजेको कुरा के हो?

११. भजन १६:१० को अर्थबारे पत्रुसले कहिले बताए?

११ यस बाइबल पदको अर्थबारे हामी अन्योलमा छैनौं। त्यस भजन लेखिएको हजार वर्षभन्दा पछि अनि येशू मारिएर ब्युँताइनुभएको केही हप्तापछि पत्रुसले भजन १६:१० को अर्थबारे हजारौं यहूदी र धर्मपरिवर्तन गरेर यहूदी मत स्विकारेकाहरूलाई बताए। (प्रेषित २:२९-३२ पढ्‌नुहोस्‌) तिनले दाऊदको मृत्यु भएको र चिहानमा गाडिएको कुरा उल्लेख गरे। यो कुरा पत्रुसको भाषण सुनिरहेकाहरूलाई पनि थाह थियो। ‘पछि हुने कुरा पहिल्यै थाह पाएर दाऊदले ख्रीष्ट पुनर्जीवित हुने विषयमा’ बताए भनेर पत्रुसले भाषणमा उल्लेख गरे। तिनको यो भनाइलाई कसैले खण्डन गरेको विवरण हामी बाइबलमा पाउँदैनौं।

१२. भजन १६:१० कसरी पूरा भयो? यसले मरेको व्यक्‍ति पुनर्जीवित हुनेबारे कुन कुरा प्रमाणित गऱ्‍यो?

१२ आफ्नो तर्कलाई अझ पुष्टि गर्न पत्रुसले भजन ११०:१ मा पाइने दाऊदको भनाइ उद्धरण गरे। (प्रेषित २:३३-३६ पढ्‌नुहोस्‌) पत्रुसले धर्मशास्त्रमा लेखिएका कुराहरू चलाएरै तर्क गरे। यसले गर्दा येशू “प्रभु र ख्रीष्ट दुवै” हुनुहुन्छ भन्‍ने कुरामा त्यस विशाल भीड पक्का भयो। अब फेरि भजन १६:१० लाई विचार गरौं। येशू पुनर्जीवित हुनुभएपछि भजन १६:१० पूरा भयो भनेर पत्रुसको भाषण सुनिरहेका मानिसहरूले मानिलिए। पछि, प्रेषित पावलले पनि यही जोडदार तर्क चलाएर पिसिदियाको एन्टिओकमा भएका यहूदीहरूसित कुरा गरे। तिनको तर्क मानिसहरूलाई चित्त बुझ्यो र तिनीहरू अझ धेरै कुरा सुन्‍न इच्छुक भए। (प्रेषित १३:३२-३७, ४२ पढ्‌नुहोस्‌) येशू पुनर्जीवित हुनुहुनेछ भनेर सयौं वर्षअघि भविष्यवाणी गरिएको थियो र पछि उहाँ साँच्चै पुनर्जीवित हुनुभयो। त्यसैले मरेको व्यक्‍ति भविष्यमा पुनर्जीवित हुनेछ भन्‍ने ती बाइबल भविष्यवाणीहरू भरपर्दा थिए भन्‍ने कुरामा हामी पक्का हुन सक्छौं।

मरेकाहरू कहिले पुनर्जीवित हुनेछन्‌?

१३. मरेकाहरू पुनर्जीवित हुनेबारे कस्ता प्रश्‍नहरू उठ्‌न सक्छन्‌?

१३ मरेको व्यक्‍ति पुनर्जीवित हुनेछ भनेर सयौं वर्षअघि गरिएको भविष्यवाणी पूरा भएको देख्दा हामी पनि आशावादी हुन सक्छौं। तैपनि कसै-कसैको मनमा यस्ता प्रश्‍न उठ्‌न सक्छन्‌: ‘मेरो प्रियजन पुनर्जीवित भएको हेर्न मैले धेरै समय पर्खनुपर्ने हो कि? मरेकाहरू पुनर्जीवित हुनेछन्‌ भन्‍ने मेरो आशा कहिले पूरा हुनेछ?’ येशूले आफ्ना प्रेषितहरूलाई थाह नभएको र तिनीहरूले थाह पाउन नसक्ने कुराहरू पनि छन्‌ भनेर बताउनुभयो। कतिपय कुराहरू “कहिले हुन्छ, त्यो तोक्ने अधिकार बुबासित मात्र छ” भनेर उहाँले बताउनुभयो। (प्रेषि. १:६, ७; यूह. १६:१२) तर यसको मतलब मरेकाहरू कहिले पुनर्जीवित हुनेछन्‌ भन्‍नेबारे हामीलाई केही पनि थाह छैन भन्‍ने चाहिं होइन।

१४. येशूको पुनर्जीवन अरू मानिसहरूको पुनर्जीवनभन्दा कसरी फरक थियो?

१४ यो कुरा बुझ्न बाइबलले को-को पुनर्जीवित हुनेछन्‌ भनेर भविष्यवाणी गरेको छ, विचार गरौं। तीमध्ये सबैभन्दा महत्त्वपूर्ण चाहिं येशू पुनर्जीवित हुनुभएको घटना हो। उहाँ मृत्युबाट नब्युँताइनुभएको भए हामीमध्ये कसैले पनि आफ्ना प्रियजनहरू पुनर्जीवित हुने आशा राख्न सक्ने थिएनौं। येशूको समयभन्दा अघिका एलिया र एलिशाजस्ता व्यक्‍तिहरूले पनि मरेकाहरूलाई ब्युँताएका थिए। तर ती व्यक्‍तिहरू सधैंभरि बाँचेनन्‌। तिनीहरू पछि फेरि मरे अनि चिहानमा कुहिए। तर येशू भने फरक हुनुहुन्थ्यो किनभने उहाँको शरीर चिहानमा कुहिएन। “मृत्युबाट ब्यूँतिसकेको हुनाले उहाँ फेरि मर्नुहुन्‍न; उहाँमाथि अब मृत्युको प्रभुत्व छैन।” उहाँ अहिले स्वर्गमा हुनुहुन्छ र “सधैंका लागि जीवित” हुनुहुन्छ।—रोमी ६:९; प्रका. १:५, १८; कल. १:१८; १ पत्रु. ३:१८.

१५. येशू “अगौटे फल” हुनु किन अर्थपूर्ण छ?

१५ पुनर्जीवित हुनुभएपछि येशूले जुन जीवन पाउनुभयो, त्यस्तो जीवन पहिला अरू कसैले पाएका थिएनन्‌। अनि उहाँले त्यस्तो जीवन पाउनु एकदमै अर्थपूर्ण थियो। (प्रेषि. २६:२३) तर पुनर्जीवित भएर स्वर्गमा जाने व्यक्‍ति उहाँ मात्र होइन, अरू पनि हुनेछन्‌ भनेर प्रतिज्ञा गरिएको थियो। आफ्ना वफादार प्रेषितहरूले स्वर्गमा आफूसँगै शासन गर्नेछन्‌ भनेर येशूले आश्‍वासन दिनुभयो। (लूका २२:२८-३०) यस्तो इनाम पाउन पहिला तिनीहरूको मृत्यु हुनु आवश्‍यक थियो। पछि तिनीहरू ख्रीष्टजस्तै अदृश्‍य शरीरमा पुनर्जीवित हुनेथिए। पावलले लेखे: “ख्रीष्ट मरेकाहरूबाट ब्यूँताइनुभएको छ, जो मृत्युको चिर निद्रामा परेकाहरूमध्ये अगौटे फल हुनुहुन्छ।” तिनले पुनर्जीवित भएर स्वर्गमा जानेहरू अरू पनि हुनेछन्‌ भनेर बताए। तिनले यसो भने: “हरेकको आ-आफ्नै क्रमअनुसार: अगौटे फलको रूपमा ख्रीष्टलाई, त्यसपछि जो ख्रीष्टका हुन्‌, तिनीहरूलाई उहाँको उपस्थितिको दौडान जीवित पारिनेछ।”—१ कोरि. १५:२०, २३.

१६. स्वर्गमा जानेहरू पुनर्जीवित हुने समयबारे हामी कस्तो सङ्‌केत पाउँछौं?

१६ हामी पावलका शब्दहरूबाट स्वर्गमा जानेहरू कहिले पुनर्जीवित हुनेछन्‌ भन्‍नेबारे केही सङ्‌केत पाउँछौं। यो “उहाँको उपस्थितिको दौडान” हुने थियो। धर्मशास्त्रलाई केलाएर हेर्दा सन्‌ १९१४ देखि हामी येशूको “उपस्थितिको दौडान” बाँचिरहेका छौं भनेर यहोवाका साक्षीहरूले धेरै पहिलेदेखि भन्दै आएका छन्‌। “उहाँको उपस्थिति” अहिले पनि चलिरहेको छ र अब चाँडै यस दुष्ट युगको अन्त हुनेछ।

१७, १८. ख्रीष्टको उपस्थितिको दौडान केही अभिषिक्‍त जनलाई के हुनेछ?

१७ पुनर्जीवित भएर स्वर्गमा जानेहरूबारे बाइबलमा यस्तो जानकारी पनि पाउँछौं: “तिमीहरू मृत्युको चिर निद्रामा परेकाहरूको विषयमा अजान रहो भन्‍ने हामी चाहँदैनौं . . . येशू मर्नुभयो र फेरि ब्यूँतनुभयो भनी हामी विश्‍वास गर्छौं भने जो-जो येशूको चेलाको रूपमा मरे, तिनीहरू उहाँसँगै होऊन्‌ भनेर परमेश्‍वरले तिनीहरूलाई ब्यूँताउनुहुनेछ भन्‍ने कुरामा पनि हामी विश्‍वास गर्छौं। . . . हामीमध्ये जो-जो प्रभुको उपस्थितिको दौडान बाँचिरहेका हुनेछौं, मृत्युको चिर निद्रामा परिसकेकाहरूलाई हामीले कुनै हालतमा उछिन्‍नेछैनौं, किनभने प्रभु स्वयम्‌ ठूलो सोर[ले] . . . स्वर्गबाट ओर्लनुहुनेछ र ख्रीष्टको चेलाको रूपमा मर्नेहरू पहिला ब्यूँतनेछन्‌। त्यसपछि, हामी जो जिउँदा छौं र जो बचेका छौं, हामी उठाइनेछौं र बादलहरूमा लगिनेछौं अनि तिनीहरूसित हुनेछौं र प्रभुलाई आकाशमा भेट्‌नेछौं। यसरी हामी सधैंभरि प्रभुसँगै हुनेछौं।”—१ थिस्स. ४:१३-१७.

१८ स्वर्गमा जानेहरू ख्रीष्टको उपस्थिति सुरु भएको केही समयपछि पुनर्जीवित हुने थिए। अनि महासङ्‌कष्टको दौडान जीवित अभिषिक्‍त जनहरू ‘बादलहरूमा लगिनेछन्‌।’ (मत्ती २४:३१) यसरी ‘बादलहरूमा लगिनेहरू’ ‘मृत्युको चिर निद्रामा पर्नेछैनन्‌।’ भन्‍नुको मतलब, तिनीहरूले पुनर्जीवित हुन लामो समय पर्खनुपर्ने छैन। तिनीहरू “एकै क्षणमा, आँखाको एक निमेषमा, बिगुलको अन्तिम आवाजको दौडान . . . परिवर्तन” हुनेछन्‌।—१ कोरि. १५:५१, ५२.

१९. भविष्यमा पुनर्जीवित हुनेहरूले कस्तो “उत्तम जीवन” पाउनेछन्‌?

१९ अहिलेका अधिकांश वफादार ख्रीष्टियनहरू अभिषिक्‍त जन होइनन्‌ र तिनीहरूले स्वर्गमा ख्रीष्टसित शासन गर्ने बोलावट पाएका छैनन्‌। तिनीहरू “यहोवाको दिन”-मा यस दुष्ट युगको अन्त हुने समयको प्रतीक्षा गर्दै छन्‌। त्यो समय ठ्याक्कै कहिले आउनेछ भनेर कसैले थाह पाउन सक्दैन तर अन्त नजिकै छ भनेर प्रमाणहरूले देखाउँछ। (१ थिस्स. ५:१-३) त्यसपछि, मरेका थुप्रै व्यक्‍ति सुन्दर पृथ्वीमा बस्न पुनर्जीवित हुनेछन्‌। यसरी पुनर्जीवित हुनेहरू पछि त्रुटिरहित अवस्थामा पुग्नेछन्‌ र तिनीहरू फेरि कहिल्यै मर्नुपर्ने छैन। विगतमा कतिपय “स्त्रीहरूले मरिसकेका आफ्ना मानिसहरू पुनर्जीवित भएको पाए।” तर उनीहरू केही समयपछि फेरि मरे। भविष्यमा पुनर्जीवित हुनेहरू भने पृथ्वीमा सधैंभरि बाँच्न सक्नेछन्‌ र त्यो साँच्चै “उत्तम जीवन” हुनेछ।—हिब्रू ११:३५.

२०. मरेकाहरू भविष्यमा क्रमैसित पुनर्जीवित हुनेछन्‌ भनेर हामी किन विश्‍वस्त हुन सक्छौं?

२० पुनर्जीवित भएर स्वर्गमा जानेहरू “आ-आफ्नै क्रमअनुसार” जीवित पारिनेछन्‌ भनी बाइबल बताउँछ। (१ कोरि. १५:२३) त्यसैगरि, पृथ्वीमा जीवन बिताउनको लागि पुनर्जीवित हुनेहरू पनि क्रमैसित ब्युँताइनेछन्‌। कस्तो रोचक आशा! के हालै मरेकाहरूलाई ख्रीष्टको हजार वर्षीय शासनको सुरुतिर पुनर्जीवित गरिनेछ र आफूले चिनेका प्रियजनहरूले तिनीहरूलाई स्वागत गर्नेछन्‌? के नयाँ संसारमा परमेश्‍वरका जनहरूलाई व्यवस्थित पार्न पुरातन समयका नेतृत्व लिन सिपालु पुरुषहरू सुरुतिरै पुनर्जीवित हुनेछन्‌? यहोवाको कहिल्यै उपासना नगरेका मानिसहरू नि? तिनीहरू कहिले अनि कहाँ पुनर्जीवित हुनेछन्‌? यस्तै विभिन्‍न प्रश्‍न हाम्रो मनमा आउन सक्छ। तर साँच्चै भन्‍ने हो भने, यी प्रश्‍नहरूबारे अहिल्यै विचार गरिरहनु आवश्‍यक छ र? पछि हुने कुरा पर्खेर बस्नु नै बेस होइन र? यी कुराहरू यहोवाले कसरी गर्नुहुनेछ भनेर आफैले हेर्न पाउनु साँच्चै रोमाञ्चकारी हुनेछ भन्‍ने कुरामा हामी विश्‍वस्त हुन सक्छौं।

२१. तपाईंले कस्तो आशा राख्नुभएको छ?

२१ त्यो समय नआउन्जेल यहोवामाथिको आफ्नो विश्‍वास बढाइरहौं। किनभने परमेश्‍वरको सम्झनामा हुनेहरू पुनर्जीवित हुनेछन्‌ भनेर उहाँले येशू ख्रीष्टमार्फत हामीलाई आश्‍वासन दिनुभएको छ। (यूह. ५:२८, २९; ११:२३) येशूले एक चोटि अब्राहाम, इसहाक र याकूब यहोवाको नजरमा “जीवित छन्‌” भन्‍नुभयो। येशूको यस भनाइबाट यहोवा मरेकाहरूलाई पुनर्जीवित गर्न सक्षम हुनुहुन्छ भन्‍ने प्रमाणित हुन्छ। (लूका २०:३७, ३८) त्यतिन्जेल हामीसित पनि पावलले जस्तै यसो भन्‍न सक्ने ठोस कारण छ: मरेकाहरू “पुनर्जीवित हुनेछन्‌ भनेर . . . मैले पनि परमेश्‍वरमा आशा राखेको छु।”—प्रेषि. २४:१५.