सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आमाबुबा हो—छोराछोरीलाई ‘उद्धारको लागि बुद्धि हासिल गर्न’ मदत दिनुहोस्‌!

आमाबुबा हो—छोराछोरीलाई ‘उद्धारको लागि बुद्धि हासिल गर्न’ मदत दिनुहोस्‌!

“तिमीलाई शैशवकालदेखि नै पवित्र लेखोटहरू पनि थाह छ, जसबाट हासिल हुने बुद्धिले . . . तिम्रो उद्धार गर्नेछ।”—२ तिमो. ३:१५.

गीत: १४१, १३४

१, २. छोराछोरीले समर्पण अनि बप्तिस्मा गर्ने इच्छा व्यक्‍त गर्दा केही आमाबुबालाई किन चिन्ता लाग्न सक्छ?

हरेक वर्ष हजारौं बाइबल विद्यार्थी यहोवालाई आफ्नो जीवन समर्पण गर्छन्‌ अनि बप्तिस्मा गर्छन्‌। तीमध्ये थुप्रैचाहिं केटाकेटी हुन्‌, जसले आमाबुबाबाट सत्य सिकेर जीवन बिताउने सबैभन्दा उत्तम मार्गमा चल्ने निर्णय गरेका छन्‌। (भज. १:१-३) तपाईं ख्रीष्टियन आमाबुबा हुनुहुन्छ भने आफ्नो छोरा वा छोरीले बप्तिस्मा गर्ने दिनको पक्कै प्रतीक्षा गर्दै हुनुहुन्छ होला।—३ यूह. ४ तुलना गर्नुहोस्‌।

तर तपाईंको मनमा केही चिन्ता पनि छन्‌ होला। केही केटाकेटीले बप्तिस्मा त गरेको तर पछि गएर भने यहोवाको स्तरअनुसार जीवन बिताउनु बुद्धिमानी हो कि होइन भनेर शङ्‌का गरेको तपाईंले देख्नुभएको होला। कतिपय चाहिं सत्यको मार्गमा चल्नै छोडेका छन्‌। त्यसैले आफ्नो छोरा वा छोरीले पनि यहोवाको सेवा गर्न सुरु गर्ला तर पछि गएर उसको पनि पहिलाको प्रेम सेलाएर जाने हो कि भनेर तपाईंलाई चिन्ता लाग्न सक्छ। तपाईंको छोरा वा छोरी प्रथम शताब्दीको एफिससका ख्रीष्टियनहरूजस्तै हुन सक्छन्‌, जसबारे येशूले यसो भन्‍नुभयो: “तिमीसित पहिले जुन प्रेम थियो, अहिले त्यो छैन।” (प्रका. २:४) यस्तो हुन नदिन अनि आफ्ना छोराछोरीलाई “उद्धार पाउनका लागि बढ्‌दै जान” कसरी मदत दिन सक्नुहुन्छ? (१ पत्रु. २:२) त्यसको जवाफ पाउन आउनुहोस्‌, तिमोथीको उदाहरण विचार गरौं।

‘तिमीलाई पवित्र लेखोटहरू थाह छ’

३. (क) तिमोथी कसरी ख्रीष्टियन भए? आफूले सिकेको कुराहरूलाई तिनले के गरे? (ख) पावलले तिमोथीलाई कुन तीन वटा कुरा बताए?

तिमोथीले इस्वी संवत्‌ ४७ तिर पावल पहिलो पटक लिस्त्रा आउँदा येशूको शिक्षाबारे सुनेको हुनुपर्छ। त्यतिबेला तिनी किशोरावस्थामै थिए होलान्‌ तैपनि तिनले आफूले सिकेको कुरा जीवनमा लागू गरे। त्यसको दुई वर्षपछि तिनी पावलसँगै मिसनरी यात्रामा जान थाले। त्यसको करिब १६ वर्षपछि पावलले तिमोथीलाई यस्तो लेखे: “तिमी भने आफूले सिकेका र तिमीलाई विश्‍वस्त पारिएका कुराहरूमा लागिरह। तिमीले यी कुराहरू कसबाट सिकेका हौ, तिमीलाई थाहै छ अनि तिमीलाई शैशवकालदेखि नै पवित्र लेखोटहरू [अर्थात्‌ हिब्रू धर्मशास्त्र] पनि थाह छ, जसबाट हासिल हुने बुद्धिले ख्रीष्ट येशूमाथिको विश्‍वासद्वारा तिम्रो उद्धार गर्नेछ।” (२ तिमो. ३:१४, १५) यी पदमा पावलले तिमोथीलाई (१) पवित्र लेखोटहरू थाह छ, (२) तिनी आफूले सिकेका कुराहरूमा विश्‍वस्त पारिएका छन्‌ र (३) तिनले ख्रीष्ट येशूमाथिको विश्‍वासद्वारा उद्धारको लागि बुद्धि हासिल गरेका छन्‌ भनेर उल्लेख गरे।

४. तपाईंले साना छोराछोरीलाई बाइबलको कुरा सिकाउन कस्ता सामग्रीहरू प्रभावकारी पाउनुभएको छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

ख्रीष्टियन आमाबुबा भएकोले तपाईं आफ्नो छोरा वा छोरीले पवित्र लेखोटहरू थाह पाएको चाहनुहुन्छ। ती लेखोटमा अहिले हिब्रू धर्मशास्त्रका साथै ख्रीष्टियन ग्रीक धर्मशास्त्र पनि पर्छ। साना केटाकेटीले समेत बाइबलका पात्र अनि घटनाहरूबारे सिक्न सक्छन्‌। छोराछोरीलाई सिकाउन यहोवाको सङ्‌गठनले आमाबुबाको लागि विभिन्‍न सामग्रीहरू उपलब्ध गराएको छ। तपाईंको भाषामा कस्ता सामग्रीहरू उपलब्ध छन्‌? यहोवासित बलियो सम्बन्ध विकास गर्न धर्मशास्त्रको राम्रो ज्ञान हुनु नितान्त जरुरी छ भनेर नबिर्सनुहोस्‌।

“विश्‍वस्त पारिएका”

५. (क) ‘विश्‍वस्त पारिनु’ भनेको के हो? (ख) येशूबारे आफूले सिकेको कुरामा तिमोथी विश्‍वस्त थिए भनेर किन भन्‍न सक्छौं?

पवित्र लेखोटको राम्रो ज्ञान हुनु महत्त्वपूर्ण छ। तर छोराछोरीको मनमा आध्यात्मिक कुराहरू भर्न बाइबलका पात्र अनि घटनाबारे सिकाएर मात्र पुग्दैन। तिमोथी आफूलाई सिकाइएका कुराहरूमा “विश्‍वस्त पारिएका” थिए। मौलिक भाषामा त्यस अभिव्यक्‍तिको अर्थ “पक्का हुनु” वा “कुनै कुरा सत्य हो भनेर विश्‍वास गर्नु र त्यसमा शङ्‌का नगर्नु” भन्‍ने हो। तिमोथीले शैशवकालदेखि नै हिब्रू धर्मशास्त्रबाट सिकेका थिए। पछि गएर तिनले येशू नै मसीह हुनुहुन्छ भन्‍ने कुराको पक्का प्रमाण पनि पाए। अर्को शब्दमा भन्‍नुपर्दा, आफूले जे सिकेका थिए, ती सही हुन्‌ भनेर तिनी विश्‍वस्त हुन सके। येशूबारे आफूले सिकेको कुरामा तिमोथी यत्ति विश्‍वस्त भए कि तिनले बप्तिस्मा गरे अनि पावललाई मिसनरी कार्यमा साथ दिए।

६. परमेश्‍वरको वचनबाट सिकेका कुराहरूमा विश्‍वस्त हुन छोराछोरीलाई तपाईं कसरी मदत दिन सक्नुहुन्छ?

आफ्नो छोराछोरीको विश्‍वास पनि तिमोथीको जस्तै बलियो बनाउन तपाईं तिनीहरूलाई कसरी मदत दिन सक्नुहुन्छ? सर्वप्रथम, धीरजी हुनुहोस्‌। विश्‍वास रातारात विकास हुने कुरा होइन अनि आफूले सिकेको कुरामा तपाईं विश्‍वस्त हुनुहुन्छ भन्दैमा तपाईंको छोराछोरी पनि विश्‍वस्त हुनेछन्‌ भन्‍ने छैन। हरेक केटाकेटीले “आफ्नो सोचविचार गर्ने क्षमता” चलाएर बाइबल सत्यमा बलियो विश्‍वास विकास गर्नुपर्छ। (रोमी १२:१ पढ्‌नुहोस्‌) त्यसको लागि तपाईं आमाबुबाले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ, अझ विशेषगरि छोराछोरीले प्रश्‍नहरू सोध्दा। एउटा उदाहरण विचार गरौं।

७, ८. (क) छोरीलाई सिकाउँदा एक बुबा कसरी धीरज देखाउँछन्‌? (ख) छोराछोरीलाई सिकाउन तपाईंले पनि कस्तो अवस्थामा धीरज देखाउनुपरेको छ?

एघार वर्षीया छोरीका बुबा थोमस यसो भन्छन्‌, “छोरीले कहिलेकाहीं यस्तो प्रश्‍न गर्छिन्‌, ‘पृथ्वीमा विभिन्‍न जीवहरू बनाउन यहोवाले क्रमविकास पो प्रयोग गर्नुभएको थियो कि?’ वा ‘हामी समाज सुधारको लागि किन चुनावजस्ता कुराहरूमा भाग लिंदैनौं?’ कहिलेकाहीं तोकेरै ‘हो, होइन’ या ‘हुन्छ, हुँदैन’ भनेर जवाफ दिऊँ जस्तो लाग्छ तर मुखसम्म आइसकेको कुरा पनि रोक्नुपर्ने हुन्छ। मलाई थाह छ, एउटा सत्य बताइदिंदैमा छोराछोरीले विश्‍वास गरिहाल्दैनन्‌। किनभने विश्‍वास भनेको स-साना प्रमाणहरूको आधारमा बढ्‌दै जाने कुरा हो।”

छोरीलाई सिकाउन धीरज चाहिन्छ भनेर थोमसलाई थाह छ। वास्तवमा सबै ख्रीष्टियन धीरजी हुनुपर्छ। (कल. ३:१२) छोरीलाई सिकाउन समय लाग्न सक्छ अनि थुप्रै पटक कुराकानी गर्नुपर्ने हुन सक्छ भनेर थोमसले बुझेका छन्‌। छोरीले बाइबलबाट सिकेको कुरामा विश्‍वास बढाउँदै लैजान सकोस्‌ भनेर थोमस विभिन्‍न तर्क चलाएर बुझाउँछन्‌। तिनी भन्छन्‌, “खासगरि महत्त्वपूर्ण विषयहरूमा कुरा गर्दा छोरीले साँच्चै त्यो कुरामा विश्‍वास गर्छिन्‌ कि गर्दिनन्‌ अनि त्यो कुरा उसलाई चित्त बुझ्छ कि बुझ्दैन भनेर म र मेरी श्रीमती जान्‍न चाहन्छौं। छोरीले प्रश्‍न सोध्दा खुसी लाग्छ। साँच्चै भन्‍नुपर्दा, मलाई छोरीले केही प्रश्‍न नसोधी मेरो कुरा खुरुखुरु पत्याइन्‌ भने चाहिं चिन्ता लाग्छ।”

९. परमेश्‍वरको वचन छोराछोरीको मनमा ठप्प बसाल्न तपाईं के गर्न सक्नुहुन्छ?

आमाबुबाले धीरजी हुँदै सिकाउँदा छोराछोरीले बिस्तारै विश्‍वासको “चौडाइ, लम्बाइ, उचाइ र गहिराइ” थाह पाउन सक्नेछन्‌। (एफि. ३:१८) हामीले छोराछोरीको उमेर अनि क्षमतालाई ध्यानमा राख्दै सिकाउनुपर्छ। आफूले सिकेको कुरामा विश्‍वस्त भएपछि तिनीहरू आफ्नो विश्‍वासबारे स्कुलका साथी र अरूलाई बताउन सक्षम हुँदै जानेछन्‌। (१ पत्रु. ३:१५) उदाहरणको लागि, के तपाईंको छोरा वा छोरीले मान्छे मरेपछि के हुन्छ भनेर बाइबलबाट बुझाउन सक्छ? त्यसबारे बाइबलले बताउने कुरा उसलाई चित्त बुझ्छ? * हो, परमेश्‍वरको वचन छोराछोरीको मनमा ठप्प बसाल्न धीरज चाहिन्छ तर तपाईंको प्रयास खेर जानेछैन।—व्यव. ६:६, ७.

१०. छोराछोरीलाई सिकाउनुमा के पनि समावेश छ?

१० छोराछोरीलाई विश्‍वास विकास गर्न मदत दिन तपाईं आमाबुबाले राम्रो उदाहरण बसाल्नु पनि महत्त्वपूर्ण छ। तीन छोरीकी आमा स्टेफनी यसो भन्छिन्‌, “छोरीहरू सानै छँदादेखि म सधैं आफूलाई यस्तो प्रश्‍न सोध्थें, ‘यहोवाको अस्तित्व र उहाँको प्रेमबारे विश्‍वस्त हुनुको कारण अनि उहाँको मार्ग सही छ भनेर विश्‍वास गर्नुको कारणबारे के छोरीहरूलाई बताउने गर्छु? यहोवालाई साँच्चै प्रेम गर्छु भनेर के छोरीहरूले स्पष्टसित देखिरहेका छन्‌?’ आफूले सिकेको कुरामा आफै विश्‍वस्त छैन भने छोरीहरू विश्‍वस्त हुन्छन्‌ भनेर आस गर्नै मिल्दैन।”

‘उद्धारको लागि बुद्धि हासिल गरेका’

११, १२. बुद्धि भनेको के हो? कोही व्यक्‍ति कत्तिको परिपक्व छ भनेर उसको उमेरले मात्र निर्धारण गर्दैन भनेर किन भन्‍न सक्छौं?

११ अहिलेसम्मको छलफलबाट हामीले थाह पायौं, तिमोथीले (१) पवित्र लेखोटहरू थाह पाएका थिए अनि (२) तिनी आफूले सिकेका कुराहरूमा विश्‍वस्त पारिएका थिए। तर पावलले पवित्र लेखोटले तिमोथीलाई ‘उद्धारको लागि बुद्धि हासिल गर्न’ मदत गर्नेछ भन्‍नुको अर्थ के थियो?

१२ धर्मशास्त्रमा अन्तर्दृष्टि (अङ्‌ग्रेजी), खण्ड २ मा बाइबलले बताउने बुद्धिबारे यसो भनिएको छ, “बुद्धि भनेको समस्याहरू समाधान गर्न, खतराबाट जोगिन, कुनै लक्ष्य हासिल गर्न वा अरूलाई त्यसो गर्न सल्लाह दिन ज्ञान र समझशक्‍तिलाई ठीकसित प्रयोग गर्ने क्षमता हो। बुद्धि मूर्खताको उल्टो हो।” बाइबलले बताएअनुसार “बालकको हृदयभित्र मूर्खता गाडिएको हुन्छ।” (हितो. २२:१५) त्यसैले बुद्धि हासिल गर्नु भनेको परिपक्वताको एउटा चिनारी हो। कोही व्यक्‍ति आध्यात्मिक रूपमा परिपक्व छ कि छैन भनेर उमेरले होइन बरु त्यो व्यक्‍ति यहोवाको डर मान्छ कि मान्दैन अनि उहाँको आज्ञा पालन गर्छ कि गर्दैन, त्यसले निर्धारण गर्छ।भजन १११:१० पढ्‌नुहोस्‌।

१३. उद्धारको लागि बुद्धि हासिल गरेको केटाकेटीले कसरी देखाउन सक्छन्‌?

१३ आध्यात्मिक रूपमा केही हदसम्म परिपक्व भएका केटाकेटी ‘हरकिसिमका शिक्षा, मानिसहरूको छल र धूर्ततापूर्वक रचिएका झूटहरूको छालले उछालपछार गरेर यताउता हुर्रिंदैनन्‌।’ (एफि. ४:१४) बरु तिनीहरू ‘आफ्नो सोच्ने-बुझ्ने क्षमता चलाएर त्यसलाई सही र गलत छुट्ट्याउन तालिम दिएर’ आध्यात्मिक रूपमा प्रगति गरिरहेका हुन्छन्‌। (हिब्रू ५:१४) तिनीहरू बुद्धिमानी निर्णयहरू गरेर आफू आध्यात्मिक रूपमा परिपक्व हुँदै गएको देखाउँछन्‌, अझ विशेषगरि आमाबुबा वा अरू ठूला मान्छेहरू वरपर नभएको बेला। (फिलि. २:१२) हो, उद्धारको लागि त्यस्तै बुद्धि हासिल गर्नु आवश्‍यक छ। (हितोपदेश २४:१४ पढ्‌नुहोस्‌) त्यस्तो बुद्धि हासिल गर्न तपाईं छोराछोरीलाई कसरी मदत दिन सक्नुहुन्छ? सर्वप्रथम, तपाईं बाइबलका कस्ता मूल्यमान्यताअनुसार जीवन बिताउनुहुन्छ, त्यसबारे छोराछोरीलाई स्पष्टसित बताउनुहोस्‌। अनि त्यसैअनुसार जीवन बिताएको कुरा छोराछोरीले तपाईंको बोली र व्यवहारबाट देख्न सकून्‌।—रोमी २:२१-२३.

छोराछोरीलाई सिकाउन आमाबुबाले निरन्तर प्रयास गर्नु किन महत्त्वपूर्ण छ? (अनुच्छेद १४-१८ हेर्नुहोस्‌)

१४, १५. (क) बप्तिस्मा गर्नेबारे सोचिरहेका केटाकेटीले कस्ता गम्भीर कुराहरूमा विचार पुऱ्‍याउनुपर्छ? (ख) यहोवाको स्तरअनुसार चल्दा आशिष्‌ पाइन्छ भनेर गहिरिएर सोच्न तपाईं छोराछोरीलाई कसरी मदत दिन सक्नुहुन्छ?

१४ छोराछोरीलाई के सही अनि के गलत भनेर बताएर मात्र पुग्दैन। तिनीहरूलाई यस्ता प्रश्‍नहरू विचार गर्न मदत दिनुहोस्‌, जस्तै: ‘आफूलाई गरूँ-गरूँ जस्तो लाग्ने कुनै-कुनै कुरा बाइबलले किन निषेध गर्छ? बाइबलको स्तरअनुसार चल्दा सधैं मेरै फाइदा हुन्छ भनेर म किन विश्‍वस्त छु?’—यशै. ४८:१७, १८.

१५ बप्तिस्मा गर्ने इच्छा व्यक्‍त गरेका केटाकेटीलाई ख्रीष्टियन बनेपछि आइपर्ने जिम्मेवारीबारे पनि गम्भीरतापूर्वक सोच्न मदत दिनुपर्छ। जस्तै: ख्रीष्टियन हुँदाको फाइदा के-के हुन्‌? तिनले के-के कुरा गुमाउनुपर्ने हुन्छ? तर गुमाउनुपर्ने कुराहरूको तुलनामा फाइदाहरू किन धेरै छन्‌? (मर्कू. १०:२९, ३०) बप्तिस्मा गर्नुअघि यस्ता गम्भीर विषयहरूमा राम्ररी सोचविचार गर्नु महत्त्वपूर्ण छ। यहोवाको आज्ञा पालन गर्दा कस्ता आशिष्‌ पाउँछौं अनि ती उल्लङ्‌घन गर्दा कस्तो नतिजा भोग्नुपर्नेछ भनेर छोराछोरीलाई गहिरिएर सोच्न मदत दिंदा तिनीहरू यस कुरामा विश्‍वस्त हुन सक्नेछन्‌: बाइबल स्तरअनुसार चल्दा सधैं तिनीहरूकै भलाइ हुन्छ।—व्यव. ३०:१९, २०.

बप्तिस्मा गरिसकेका युवायुवतीले शङ्‌का गर्न थाल्दा

१६. बप्तिस्मा गरिसकेको छोरा वा छोरीले शङ्‌का व्यक्‍त गर्न थाल्यो भने आमाबुबाले के गर्नुपर्छ?

१६ तपाईंको छोरा वा छोरीले बप्तिस्मा गरिसकेको छ तर पछि उसले बाइबलको कुरामा शङ्‌का व्यक्‍त गर्न थाल्यो भने नि? उदाहरणको लागि, बप्तिस्मा गरिसकेका केही युवायुवती संसारले दिने कुराहरूप्रति आकर्षित हुन सक्छन्‌ वा बाइबलको सिद्धान्तअनुसारै जीवन बिताउनु बुद्धिमानी हो भन्‍ने कुरामा शङ्‌का गर्न सक्छन्‌। (भज. ७३:१-३, १२, १३) यो कुरा नबिर्सनुहोस्‌, छोराछोरीको मनमा यस्ता शङ्‌का-उपशङ्‌का आउँदा तपाईंले देखाउने प्रतिक्रियाले ठूलो फरक पार्छ। त्यसले छोराछोरीलाई यहोवाको सेवा गरिरहन प्रोत्साहन दिन पनि सक्छ वा उहाँको सेवादेखि तर्काउन पनि सक्छ। तपाईंको छोरा वा छोरी केटाकेटी होऊन्‌ वा किशोरकिशोरी, यस्तो मामिलामा उनीहरूसित कुरा गर्दा भनाभन नगर्नुहोस्‌। तपाईंको लक्ष्य उनीहरूलाई मायालु तरिकाले सम्झाउने अनि मदत गर्ने हुनुपर्छ।

१७, १८. छोराछोरीको मनमा शङ्‌का-उपशङ्‌का आउँदा आमाबुबाले कसरी मदत दिन सक्छन्‌?

१७ बप्तिस्मा गरेका युवायुवतीले यहोवासित गम्भीर वाचा बाँधेका हुन्छन्‌। तिनीहरूले यहोवालाई आफ्नो जीवन समर्पण गर्दा उहाँलाई प्रेम गर्ने अनि कुनै पनि कुरालाई भन्दा यहोवाको इच्छालाई जीवनमा पहिलो स्थान दिने वाचा गरेका हुन्छन्‌। (मर्कूस १२:३० पढ्‌नुहोस्‌) यहोवा त्यस्तो वाचालाई हल्कासित लिनुहुन्‍न अनि त्यसरी वाचा गर्ने जोसुकैले पनि त्यसलाई हल्कासित लिनु हुँदैन। (उप. ५:४, ५) यो कुरा आफ्ना छोराछोरीलाई उपयुक्‍त समयमा अनि मायालु तरिकामा सम्झाउनुहोस्‌। तर त्यसो गर्नुअघि आमाबुबाको लागि यहोवाको सङ्‌गठनले तयार पारेको विभिन्‍न सामग्रीहरूको पुरापुर सदुपयोग गर्नुहोस्‌। त्यसो गर्दा छोराछोरीलाई यहोवामा जीवन समर्पण गर्नु अनि बप्तिस्मा गर्नु कत्तिको गम्भीर कुरा हो अनि यसो गर्दा यहोवाबाट कत्ति धेरै आशिष्‌ पाइन्छ भनेर सम्झाउन तपाईंले मदत पाउनुहुनेछ।

१८ उदाहरणको लागि, युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ (अङ्‌ग्रेजी) किताबको खण्ड १ मा भएको अतिरिक्‍त लेखको “आमाबुबाले सोध्ने प्रश्‍न” विषयअन्तर्गत यस्तो लेखिएको छ: “तपाईंको छोराछोरीले सत्यलाई त्यागे भन्‍ने निष्कर्षमा नपुगिहाल्नुहोस्‌। धेरैजसो अवस्थामा त्यसको खास कारण अर्कै हुन सक्छ।” सायद साथीहरूको दबाबले गर्दा तिनीहरूलाई गाह्रो भइरहेको हुन सक्छ। अथवा एक्लो महसुस गरिरहेको वा आफूले भन्दा अरू युवाहरूले नै राम्रो आध्यात्मिक प्रगति गरिरहेका छन्‌ जस्तो लागेको हुन सक्छ। त्यस अतिरिक्‍त लेखमा यसो पनि भनिएको छ, “यसो भन्दैमा तपाईंले विश्‍वास गर्ने कुराहरूमा तपाईंको छोरा वा छोरी सहमत छैन भनिहाल्न मिल्दैन। बरु अहिले भोगिरहेको अवस्थाले गर्दा उसलाई आफ्नो विश्‍वासअनुसार चल्न गाह्रो भइरहेको हुन सक्छ।” साथै त्यसमा बाइबलको कुरामा शङ्‌का गर्न थालेका छोराछोरीलाई मदत गर्न ख्रीष्टियन आमाबुबालाई उपयोगी हुने विभिन्‍न सल्लाह दिइएको छ।

१९. ‘उद्धारको लागि बुद्धि हासिल गर्न’ आमाबुबाले छोराछोरीलाई कसरी मदत दिन सक्छन्‌?

१९ तपाईं आमाबुबाले एउटा गहन जिम्मेवारी अनि सुअवसर पाउनुभएको छ। त्यो हो, आफ्ना छोराछोरीलाई “यहोवाको डोऱ्‍याइबमोजिम अनुशासन अनि चेतावनी दिएर” हुर्काउने। (एफि. ६:४) त्यसको लागि छोराछोरीलाई बाइबलको कुरा सिकाएर मात्र पुग्दैन, बरु तिनीहरूलाई आफूले सिकेको कुरामा विश्‍वास बढाउँदै लैजान मदत दिनुपर्छ भनेर यस लेखमा सिक्यौं। हो, छोराछोरीले आफ्नो विश्‍वास बलियो बनाउनुपर्छ। त्यसरी विश्‍वास बलियो भएमा तिनीहरू यहोवालाई जीवन समर्पण गर्न र उहाँलाई तन-मनको सेवा चढाउन उत्प्रेरित हुनेछन्‌। यहोवाको वचन, उहाँको पवित्र शक्‍ति अनि तपाईं आमाबुबाको प्रयासले गर्दा छोराछोरीले ‘उद्धारको लागि बुद्धि हासिल’ गर्न सकून्‌।

^ अनु. 9 बाइबलका कुराहरू बुझ्न साना केटाकेटीका साथै हुर्किसकेका व्यक्‍तिहरूले “बाइबलले वास्तवमा के सिकाउँछ?” अध्ययन निर्देशिकाबाट धेरै मदत पाउन सक्छन्‌। ती अध्ययन निर्देशिका jw.org मा धेरै भाषामा उपलब्ध छ। बाइबलको शिक्षाअन्तर्गत बाइबल अध्ययन सामग्री भन्‍ने खण्ड हेर्नुहोस्‌।