सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ईश्‍वरले छिट्टै सबै दुःखकष्ट हटाउनुहुनेछ

ईश्‍वरले छिट्टै सबै दुःखकष्ट हटाउनुहुनेछ

“हे यहोवा, म कतिन्जेल तपाईँलाई गुहारूँ र कतिन्जेल तपाईँ सुन्‍नुहुन्‍न? हिंसाबाट जोगाउनुहोस्‌ भनेर म कतिन्जेल तपाईँलाई पुकारूँ र कतिन्जेल तपाईँ बचाउनुहुन्‍न?” (हबकुक १:२, ३) यी शब्दहरू ईश्‍वरको अनुमोदन पाएका हबकुक भन्‍ने असल व्यक्‍तिका हुन्‌। के उनको यो बिन्तीमा विश्‍वासको कमी देखिन्छ? त्यस्तो त पक्कै होइन। सबै दुःखकष्ट हटाउने समय तोकिएको छ भनेर ईश्‍वरले हबकुकलाई आश्‍वासन दिनुभयो।—हबकुक २:२, ३.

तपाईँ वा तपाईँले माया गर्नुहुने व्यक्‍तिले दुःख पाउँदा ईश्‍वरले अहिलेसम्म त केही गर्नुपर्ने हो, उहाँ कदम चाल्न असाध्यै ढिला गर्नुहुन्छ भन्‍ने निष्कर्षमा पुग्नुहुन्छ होला। तर यस विषयमा बाइबलले यस्तो आश्‍वासन दिन्छ: “केही मानिसले सोचेजस्तो यहोवा परमेश्‍वर आफ्नो प्रतिज्ञा पूरा गर्न ढिला गर्नुहुन्‍न तर उहाँ तिमीहरूप्रति धीरजी हुनुहुन्छ किनकि उहाँ कोही पनि नाश नहोस्‌ बरु सबैले पश्‍चात्ताप गरून्‌ भन्‍ने चाहनुहुन्छ।”—२ पत्रुस ३:९.

ईश्‍वरले कहिले कदम चाल्नुहुनेछ?

छिट्टै! एउटा विशेष पुस्ताले विभिन्‍न घटनाहरू देख्नेछ, जुन “यस युगको आखिरी समय”-को चिन्ह हुनेछ भनेर येसुले प्रस्ट पार्नुभयो। (मत्ति २४:३-४२) येसुले गर्नुभएको भविष्यवाणीको पूर्ति अहिले हाम्रै समयमा भइरहेको छ। यसले मानिसको गतिविधिमा ईश्‍वरले हस्तक्षेप गर्नुहुने समय नजिकै छ भन्‍ने सङ्‌केत दिन्छ। *

तर ईश्‍वरले कसरी दुःखकष्ट हटाउनुहुनेछ? येसु पृथ्वीमा हुनुहुँदा ईश्‍वरको शक्‍ति चलाएर मानिसहरूको दुःख हटाउनुभयो। केही उदाहरणहरू विचार गर्नुहोस्‌।

प्राकृतिक प्रकोप: येसु र उहाँका चेलाहरू गालिल समुद्रमा यात्रा गरिरहनुहुँदा अचानक ठूलो बतास चल्यो र डुङ्‌गालाई डुबाउन लाग्यो। तर येसु र उहाँको बुबाले प्रकृतिलाई पनि वशमा राख्न सक्नुहुन्छ भनेर उहाँले देखाउनुभयो। (कलस्सी १:१५, १६) उहाँले भन्‍नुभयो: “चुप लाग्‌! शान्त भइजा!” नतिजा? “तब आँधी थामियो अनि समुद्र पूरै शान्त भयो।”—मर्कुस ४:३५-३९.

रोगबिमार: अन्धा र लङ्‌गडाहरूलाई निको पार्ने व्यक्‍तिको रूपमा येसु प्रख्यात हुनुहुन्थ्यो। साथै छारेरोग, कुष्ठरोग र अरू अशक्‍ततालाई पनि उहाँले निको पार्नुभयो। “उहाँले मानिसहरूका हरप्रकारका रोगबिमार पनि निको पार्नुभयो।”—मत्ति ४:२३, २४; ८:१६; ११:२-५.

खानेकुराको अभाव: येसुले आफ्नो बुबाले दिनुभएको शक्‍ति चलाएर थोरै खानेकुरालाई धेरै बनाउनुभयो। आफ्नो सेवाको दौडान उहाँले दुई चोटि हजारौँ मानिसलाई खुवाउनुभयो भनी बाइबलमा उल्लेख गरिएको छ।—मत्ति १४:१४-२१; १५:३२-३८.

मृत्यु: येसुले मरेकाहरूलाई जीवित पार्नुभएको तीन वटा घटनाले यहोवासित मृत्युलाई सदाको लागि हटाउने शक्‍ति छ भनेर स्पष्ट पार्छ। तिनीहरूमध्ये एक जनालाई त येसुले मरेको चार दिनपछि ब्युँताउनुभएको थियो।—मर्कुस ५:३५-४२; लुका ७:११-१६; युहन्‍ना ११:३-४४.

^ अनु. 5 आखिरी समयको बारेमा थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको पाठ ३२ हेर्नुहोस्‌। यो किताब www.pr418.com/ne बाट निश्‍शुल्क डाउनलोड गर्न सकिन्छ।