सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईँ यहोवालाई नूह, दानियल र अय्यूबले जस्तै राम्ररी चिन्‍नुहुन्छ?

के तपाईँ यहोवालाई नूह, दानियल र अय्यूबले जस्तै राम्ररी चिन्‍नुहुन्छ?

“दुष्ट मानिसहरूले न्याय के हो भनी जान्दैनन्‌, तर परमप्रभुलाई खोज्नेहरूले सबै असल कुरा जान्दछन्‌।”—हितो. २८:५.

गीत: १२६, १५०

१-३. (क) अहिले अन्तको दिनमा परमेश्‍वरप्रति विश्‍वासी रहिरहन हामीलाई केले मदत गर्नेछ? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?

अहिले हामी अन्तको दिनको पनि अन्तिम घडीमा बाँचिरहेका छौँ र ‘दुष्टहरू घाँसझैँ बढिरहेका छन्‌।’ (भज. ९२:७) थुप्रै मानिसको नैतिक स्तर एकदमै खस्किरहेको देख्दा हामी छक्क पर्दैनौँ। यस्तो अवस्थामा हामी कसरी “खराबीमा बालकहरू” तर “समझशक्‍तिमा पूरा बढेका मानिस” हुन सक्छौँ?—१ कोरि. १४:२०.

यसको जवाफ हामी यस लेखको मुख्य पदमा पाउँछौँ। त्यहाँ यस्तो लेखिएको छ: “परमप्रभुलाई खोज्नेहरूले सबै असल कुरा जान्दछन्‌।” (हितो. २८:५) यसको अर्थ हो, यहोवालाई खुसी बनाउन जान्‍नुपर्ने सबै कुरा तिनीहरूले बुझ्नेछन्‌। यसैसित मिल्दोजुदो कुरा हितोपदेश २:६, ९ मा यसरी व्यक्‍त गरिएको छ: “बुद्धि दिने परमप्रभुनै हुनुहुन्छ।” उहाँले दिनुहुने बुद्धि हासिल गरेका मानिसहरूले ‘जे ठीक र न्यायसंगत छ, सो बुझ्नेछन्‌ र तिनीहरू असल बाटोमा हिँड्‌नेछन्‌।’

नूह, दानियल र अय्यूबले त्यस्तै बुद्धि हासिल गरेका थिए। (इज. १४:१४) आज परमेश्‍वरका जनहरूले पनि त्यस्तै बुद्धि हासिल गरेका छन्‌। तपाईँले नि? के तपाईँले यहोवालाई खुसी बनाउन चाहिने ‘सबै कुरा जान्‍नुभएको छ?’ उहाँलाई राम्ररी चिन्‍न उहाँबारे सही ज्ञान लिनुपर्छ। त्यसैले यस लेखमा हामी यी कुराहरू छलफल गर्नेछौँ: (१) नूह, दानियल र अय्यूबले कसरी परमेश्‍वरलाई चिन्‍न सके? (२) उहाँबारे सही ज्ञान हासिल गरेपछि तिनीहरूले कस्तो लाभ उठाए? (३) तिनीहरूको जस्तै विश्‍वास विकास गर्न हामी के गर्न सक्छौँ?

नूह—दुष्ट संसारमा तिनी परमेश्‍वरसितै हिँडे

४. नूहले यहोवालाई कसरी चिन्‍न सके? तिनले उहाँबारे सही ज्ञान हासिल गर्दा परिणाम कस्तो भयो?

नूहले यहोवालाई कसरी चिन्‍न सके? मानव इतिहासको सुरुदेखि नै विश्‍वासी पुरुष तथा स्त्रीले खासगरि तीन तरिकामा परमेश्‍वरलाई चिनेका छन्‌। ती हुन्‌: (१) उहाँको सृष्टिलाई नियालेर (२) परमेश्‍वरको डर मान्‍ने व्यक्‍तिहरूबाट उहाँबारे सुनेर (३) परमेश्‍वरको सही स्तर तथा सिद्धान्तअनुसार जीवन बिताउँदा पाइने आशिष्‌हरू अनुभव गरेर। (यशै. ४८:१८) सृष्टिलाई नियाल्दा नूहले परमेश्‍वर हुनुहुन्छ भन्‍ने थुप्रै प्रमाण पाए होलान्‌। साथै तिनले “उहाँको अनन्त शक्‍ति र ईश्‍वरत्व”-जस्ता अदृश्‍य गुणहरूबारे पनि बुझे होलान्‌। (रोमी १:२०) त्यसकारण नूहले परमेश्‍वर हुनुहुन्छ भनेर थाह मात्र पाएनन्‌, उहाँमाथि बलियो विश्‍वास पनि राख्न सके।

५. मानिसहरूका लागि परमेश्‍वरले राख्नुभएको उद्देश्‍यबारे नूहले कसरी थाह पाए?

“वचन सुनेपछि विश्‍वास पलाउँछ।” (रोमी १०:१७) नूहले कसरी यहोवाबारे सुने? तिनले आफ्ना नातेदारहरूबाट यहोवाबारे धेरै कुरा सुनेको हुनुपर्छ। तिनको बुबा लेमेक पनि परमेश्‍वरप्रति विश्‍वासी थिए र लेमेक आदमको मृत्यु हुनुभन्दा अघि जन्मिसकेका थिए। (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) नूहले आफ्नो हजुरबुबा मतूशेलहबाट पनि परमेश्‍वरबारे सुनेको हुनुपर्छ। अनि मतूशेलहका हजुरबुबा येरेद नूह जन्मेको ३६६ वर्षपछि मरेका थिए। * (लूका ३:३६, ३७) सायद यी पुरुषहरू र उनीहरूका पत्नीबाट नूहले परमेश्‍वरले मानिसहरूका लागि सुरुमा राख्नुभएको उद्देश्‍यबारे थाह पाएको हुनुपर्छ। उहाँले आज्ञाकारी मानिसहरूले पृथ्वी भरिऊन्‌ भन्‍ने चाहनुभएको तर आदम र हव्वा अनाज्ञाकारी भएको कुरा तिनले सुनेको हुनुपर्छ। अनि उनीहरू अनाज्ञाकारी हुँदा आइपरेको दुःखद परिणाम नूह आफैले देखेका थिए। (उत्प. १:२८; ३:१६-१९, २४) जे होस्‌, नूहले जे-जति सुने, त्यसले तिनको मन छोयो अनि तिनी परमेश्‍वरको सेवा गर्न उत्प्रेरित भए।—उत्प. ६:९.

६, ७. आशाले कसरी नूहको विश्‍वासलाई बलियो बनायो?

आशाले विश्‍वासलाई बलियो बनाउँछ। नूहको नामको अर्थ “विश्राम; सान्त्वना” हो। आफ्नो नाममा आशाको भाव मुछिएको छ भनेर थाह पाउँदा तिनले कस्तो महसुस गरे होलान्‌, कल्पना गर्नुहोस्‌ त! परमेश्‍वरको प्रेरणा पाएर लेमेकले यसो भनेका थिए: “परमप्रभुले श्राप दिनुभएको भूमिको हाम्रो काम र परिश्रमबाट यसले [अर्थात्‌ नूहले] हामीलाई शान्ति दिनेछ।” (उत्प. ५:२९) परमेश्‍वरले पृथ्वीको अवस्था सुधार्नुहुनेछ भनेर नूहले आशा राखेका थिए। आफूअघिका हाबिल र हनोकले जस्तै तिनले पनि सर्पको शिर कुच्याउने “सन्तान” आउनेछ भनेर विश्‍वास गरेका थिए।—उत्प. ३:१५.

हुनत नूहले उत्पत्ति ३:१५ मा लेखिएको भविष्यवाणीको पूरा अर्थ बुझेका थिएनन्‌ होला। तर तिनले दुःखकष्टबाट छुटकारा पाउने आशा भने पक्कै राखेका थिए। साथै अदनको बगैँचामा गरिएको त्यस प्रतिज्ञासित मिल्दोजुल्दो सन्देश हनोकले पनि घोषणा गरेका थिए। तिनले दुष्टहरूले सजाय भोग्नेबारे भविष्यवाणी गरेका थिए। (यहू. १४, १५) हनोकले घोषणा गरेको सन्देश आरमागेडोनमा पूर्णतया पूरा हुनेछ। तैपनि त्यो सन्देशले नूहको विश्‍वास र आशालाई पक्कै बलियो बनाएको हुनुपर्छ।

८. परमेश्‍वरको सही ज्ञानले नूहलाई के-कस्ता कुराबाट जोगायो?

परमेश्‍वरको सही ज्ञानले नूहलाई कस्तो लाभ पुऱ्‍यायो? नूहले सही ज्ञान लिएको हुँदा तिनले यहोवामाथि विश्‍वास राख्न सके र उहाँले दिनुहुने बुद्धि हासिल गरे। यस्तो विश्‍वास र बुद्धिले गर्दा तिनी खासगरि आध्यात्मिक हानिबाट जोगिए। उदाहरणको लागि, नूह साँचो “परमेश्‍वरको साथै हिंड्‌ने” भएकोले तिनी दुष्ट मानिसहरूसित हिँडेनन्‌, उनीहरूसित सरसङ्‌गत गरेनन्‌। त्यतिबेला मानव रूप धारण गरेका दुष्ट स्वर्गदूतहरूको असाधारण शक्‍ति देखेर परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरू बहकिए। उनीहरू ती स्वर्गदूतहरूको उपासना गर्नतिर समेत लागेका हुन सक्छन्‌। तर नूह भने ती स्वर्गदूतहरू देखेर बहकिएनन्‌। (उत्प. ६:१-४, ९) साथै, छोराछोरी जन्माएर पृथ्वी भर्नू भन्‍ने आज्ञा परमेश्‍वरले मानिसहरूलाई दिनुभएको हो भनेर पनि नूहलाई थाह थियो। (उत्प. १:२७, २८) त्यसैले मानव स्त्री र मानव रूप धारण गरेका स्वर्गदूतहरूबीचको यौनसम्बन्ध अप्राकृतिक र गलत हो भन्‍ने कुरा नूहले राम्ररी बुझेको हुनुपर्छ। यो साँच्चै गलत थियो भन्‍ने कुरा तिनीहरूबाट जन्मिएका असाधारण सन्तानले गर्दा झनै प्रस्ट भयो। पछि परमेश्‍वरले पृथ्वीमा जलप्रलय ल्याउनेछु र सबै दुष्ट मानिसलाई नाश गर्नेछु भनी नूहलाई बताउनुभयो। यहोवाले भन्‍नुभएको कुरामा पूरा विश्‍वास राखेकोले तिनी जहाज बनाउन अग्रसर भए। यसरी तिनले आफ्नो पूरै परिवारलाई बचाउन सके।—हिब्रू ११:७.

९, १०. हामी कसरी नूहको विश्‍वास अनुकरण गर्न सक्छौँ?

हामी कसरी नूहको जस्तै विश्‍वास विकास गर्न सक्छौँ? यसको लागि परमेश्‍वरको वचन राम्ररी अध्ययन गर्नु, आफूले सिकेको कुरालाई प्रेम गर्नु अनि त्यस ज्ञानअनुसार आफ्नो जीवनमा परिवर्तन गरेर त्यसैअनुसार चल्नु महत्त्वपूर्ण छ। (१ पत्रु. १:१३-१५) यसो गऱ्‍यौँ भने विश्‍वास र परमेश्‍वरले दिनुहुने बुद्धिले हामीलाई सैतानका युक्‍तिहरू र यस संसारको दुष्ट मनोभावबाट जोगाउनेछ। (२ कोरि. २:११) सैतानको संसारको मनोभावले हिंसा र अनैतिकतालाई प्रेम गर्न लगाउँछ। त्यस्तो मनोभावले मानिसहरूलाई शरीरका अभिलाषाहरू पूरा गर्न उक्साउँछ। (१ यूह. २:१५, १६) अनि आध्यात्मिक तवरमा कमजोरहरूलाई परमेश्‍वरको भयानक दिन नजिकै छ भन्‍ने प्रमाणलाई समेत बेवास्ता गर्न लगाउन सक्छ। यो कुरा याद गर्नुहोस्‌, येशूले हाम्रो समयलाई नूहको दिनसित तुलना गर्नुहुँदा उहाँले हिंसा वा अनैतिकता व्याप्त हुने कुरामा जोड दिनुभएन बरु आध्यात्मिक कुरालाई बेवास्ता गर्नुको खतराबारे बताउनुभयो।मत्ती २४:३६-३९ पढ्‌नुहोस्‌।

१० आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘के मेरो जीवनशैलीले म साँच्चै यहोवालाई चिन्छु भनेर देखाउँछ? के मेरो विश्‍वासले मलाई यहोवाको असल स्तरअनुसार जिउन मात्र नभई त्यसबारे अरूलाई बताउन पनि झकझकाउँछ?’ तपाईँको जवाफले तपाईँ पनि साँचो “परमेश्‍वरको साथै हिँड्‌ने” व्यक्‍ति हुनुहुन्छ भनेर देखाओस्‌।

दानियल—बेबिलोनमा छँदा तिनले परमेश्‍वरले दिनुहुने बुद्धि देखाए

११. (क) जवान छँदा दानियलले परमेश्‍वरप्रति देखाएको भक्‍तिबाट तिनको आमाबुबाबारे के थाह पाउँछौँ? (ख) तपाईँ दानियलका कस्ता गुणहरू अनुकरण गर्न चाहनुहुन्छ?

११ दानियलले यहोवालाई कसरी चिन्‍न सके? दानियललाई तिनका आमाबुबाले यहोवालाई र उहाँको वचनलाई प्रेम गर्न सिकाएको हुनुपर्छ। अनि दानियलले जिन्दगीभर त्यसै गरे। वृद्ध भइसक्दा पनि तिनी धर्मशास्त्रको गहिरो अध्ययन गर्थे। (दानि. ९:१, २) दानियलसित परमेश्‍वरबारे गहिरो ज्ञान थियो र परमेश्‍वरले इस्राएलीहरूसित कस्तो व्यवहार गर्नुभयो भनेर तिनले राम्ररी बुझेका थिए। यो कुरा दानियलले आफू र आफ्ना मानिसहरूको गल्ती स्विकार्दै मनैदेखि गरेको प्रार्थनाबाट थाह पाउन सक्छौँ। तिनको त्यो प्रार्थना दानियल ९:३-१९ मा पाइन्छ। तिनको प्रार्थना पढ्‌न र त्यसबारे मनन गर्न केही समय निकाल्नुभए कसो होला? अनि त्यस प्रार्थनाले दानियल कस्ता व्यक्‍ति थिए भनी देखाउँछ, राम्ररी विचार गर्नुहोस्‌।

१२-१४. (क) परमेश्‍वरले दिनुहुने बुद्धि हासिल गरेको कुरा दानियलले कसरी देखाए? (ख) दानियल साहसी भई यहोवाप्रति वफादार हुँदा नतिजा कस्तो भयो?

१२ परमेश्‍वरको सही ज्ञानले दानियललाई कस्तो लाभ पुऱ्‍यायो? यहोवाप्रति वफादार यहूदीहरूलाई मूर्तिपूजाले भरिएको बेबिलोन सहरमा जीवन बिताउन गाह्रो थियो। उदाहरणको लागि, यहोवाले यहूदीहरूलाई यसो भन्‍नुभएको थियो: “मैले तिमीहरूलाई कैदमा पठाएको शहरको भलो चिताऊ।” (यर्मि. २९:७) अर्कोतर्फ, यहूदीहरूले यहोवाको मात्र उपासना गरेको उहाँ चाहनुहुन्थ्यो। (प्रस्थ. ३४:१४) दानियलले यी दुवै आज्ञा कसरी पालन गर्न सक्थे? परमेश्‍वरले दिनुहुने बुद्धिले गर्दा तिनले अख्तियारवालाहरूको अधीनमा बस्नुको अर्थ के हो भनेर बुझेका थिए। मतलब, सर्वप्रथम तिनी यहोवाप्रति आज्ञाकारी हुनुपर्थ्यो। यसको सयौँ वर्षपछि येशूले पनि आफ्ना चेलाहरूलाई यही आज्ञा पालन गर्न सिकाउनुभयो।—लूका २०:२५.

१३ अनि ३० दिनसम्म राजाबाहेक कुनै देवता वा मानिसलाई प्रार्थना गर्न पाइँदैन भनेर शाही उर्दी जारी गरिँदा दानियलले के गरे, सम्झनुहोस्‌ त। (दानियल ६:७-१० पढ्‌नुहोस्‌) दानियलले “जम्मा ३० दिनको कुरा त हो नि!” भनेर सम्झौता गर्ने बहाना बनाउन सक्थे। तर शाही उर्दी पालन गर्न तिनले परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरेनन्‌। आफ्नो दिनहुँ प्रार्थना गर्ने बानीबारे सबैलाई थाह छ भनेर दानियलले बुझेका थिए। त्यसैले तिनले अरूले नदेख्नेगरि प्रार्थना गर्न सक्थे। किनभने अरूले देख्ने गरी दिनहुँ प्रार्थना गर्दा तिनको ज्यानसमेत जान सक्थ्यो। तर आफूले यहोवाको उपासना गर्न छोडेको जस्तो भानसमेत नपार्ने तिनले निर्णय गरे।

१४ यहोवाको आज्ञा पालन गर्न दानियलले निकै सोचविचार गरेर साहसी निर्णय गरे। अनि यहोवाले पनि तिनलाई क्रूर मृत्यु भोग्नदेखि चमत्कारपूर्ण ढङ्‌गमा जोगाउनुभयो। यसले गर्दा मादी-फारसी साम्राज्यको कुना-कुनासम्म यहोवाको नाम फैलियो।—दानि. ६:२५-२७.

१५. हामी कसरी दानियलको जस्तै विश्‍वास विकास गर्न सक्छौँ?

१५ हामी कसरी दानियलको जस्तै विश्‍वास विकास गर्न सक्छौँ? विश्‍वास बलियो बनाउन हामीले परमेश्‍वरको वचन पढेर मात्र पुग्दैन, ‘त्यसको अर्थ बुझ्नु’ पनि महत्त्वपूर्ण छ। (मत्ती १३:२३) हामी यहोवाको सोचाइ जान्‍न चाहन्छौँ; त्यसको लागि हामीले बाइबलमा दिइएका सिद्धान्तहरू बुझ्नु जरुरी छ। त्यसैले आफूले पढेको कुरामा मनन गर्नुपर्छ। साथै नियमित तवरमा मनैदेखि प्रार्थना गर्नुपर्छ, खासगरि परीक्षाहरू आइपर्दा वा कठिन अवस्था सामना गर्नुपर्दा। यहोवामाथि विश्‍वास राख्दै बुद्धि र बलको लागि प्रार्थना गऱ्‍यौँ भने उहाँले “उदारचित्तले दिनुहुन्छ।”—याकू. १:५.

अय्यूब—तिनी सुखमा पनि दुःखमा पनि परमेश्‍वरका सिद्धान्तअनुसार चले

१६, १७. अय्यूबले कसरी परमेश्‍वरबारे सही ज्ञान पाए?

१६ अय्यूबले यहोवालाई कसरी चिन्‍न सके? अय्यूब इस्राएली थिएनन्‌। तर तिनी अब्राहाम, इसहाक र याकूबका टाढाका नातेदार पर्थे। अनि यहोवाले ती पुरुषहरूलाई आफूबारे र मानिसहरूको लागि आफ्नो उद्देश्‍यबारे बताउनुभएको थियो। त्यसैले कुनै न कुनै तरिकामा अय्यूबले परमेश्‍वरबारे ती अनमोल सत्यहरू थाह पाएका थिए। (अय्यू. २३:१२) तिनले यसो भने: “मेरा कानहरूले तपाईँका बारेमा सुनेका . . . थिए।” (अय्यू. ४२:५, NRV) साथै अय्यूबले यहोवाबारे भनेको कुरा साँचो हो भनेर उहाँ आफैले बताउनुभयो।—अय्यू. ४२:७, ८.

परमेश्‍वरको सृष्टिमा देखिने उहाँका अदृश्‍य गुणहरू विचार गऱ्‍यौँ भने हाम्रो विश्‍वास बलियो हुनेछ (अनुच्छेद १७ हेर्नुहोस्‌)

१७ सृष्टिलाई नियाल्दा अय्यूबले परमेश्‍वरका थुप्रै अदृश्‍य गुणबारे थाह पाएका थिए। (अय्यू. १२:७-९, १३) एलीहू र यहोवा दुवैले सृष्टिमा भएका कुराहरूलाई चलाएर परमेश्‍वरको तुलनामा मानिस एकदमै नगण्य छ भनी अय्यूबलाई सम्झाएको विवरण हामी बाइबलमा पाउँछौँ। (अय्यू. ३७:१४; ३८:१-४) यहोवाका शब्दहरूले अय्यूबको मन छोयो किनभने नम्र हुँदै तिनले उहाँलाई यसो भने: “तपाईँ सबै कुरा गर्नसक्नुहुन्छ भनी म जान्दछु, औ कुनै काम पनि तपाईँको शक्‍तिको बाहिर छैन। . . . म धूलो र खरानीमा बसेर पश्‍चाताप गर्दछु।”—अय्यू. ४२:२, ६.

१८, १९. यहोवालाई साँच्चै चिनेको कुरा अय्यूबले कसरी देखाए?

१८ परमेश्‍वरको सही ज्ञानले अय्यूबलाई कस्तो लाभ पुऱ्‍यायो? परमेश्‍वरले दिनुभएका सिद्धान्तहरू अय्यूबले एकदम राम्रोसित बुझेका थिए। तिनले यहोवालाई साँच्चै चिनेका थिए अनि तिनी त्यही ज्ञानअनुसार चले। यो कुरा विचार गर्नुहोस्‌: सङ्‌गी मानिसहरूप्रति कुनै दयामाया देखाउँदैनौँ भने परमेश्‍वरलाई प्रेम गरेको दाबी गर्न मिल्दैन भनेर अय्यूबलाई थाह थियो। (अय्यू. ६:१४, NW) तिनले आफूलाई अरूभन्दा श्रेष्ठ ठानेनन्‌ बरु धनी होस्‌ या गरिब, सबैलाई आफ्नो परिवारलाई जस्तै माया गरे। तिनले भने: “गर्भमा मलाई रच्नुहुनेले तिनीहरूलाई पनि रच्नुभएको होइन र?” (अय्यू. ३१:१३-२२) कुरा स्पष्ट छ, आफ्नो धनसम्पत्ति अनि मानमर्यादाले गर्दा तिनी घमन्डी भएनन्‌ अनि अरूलाई तुच्छ दृष्टिकोणले हेरेनन्‌। अहिलेको संसारका शक्‍तिशाली र धनी व्यक्‍तिहरूभन्दा कत्ति भिन्‍न!

१९ अय्यूबले परमेश्‍वरबाहेक अरू कसैको वा कुनै कुराको भक्‍ति गरेनन्‌। तिनले मनमनै समेत त्यसो गरेनन्‌। कुनै पनि प्रकारको झूटो उपासना गर्नु वा भौतिक चीजबीचलाई प्रेम गर्नु भनेको “स्वर्गमा हुनुहुने परमेश्‍वरको विरुद्धमा अविश्‍वासी” हुनुसरह हो भनेर तिनलाई थाह थियो। (अय्यूब ३१:२४-२८ पढ्‌नुहोस्‌) तिनले विवाहलाई पुरुष र स्त्रीबीचको पवित्र बन्धन ठानेका थिए। तिनले कन्ये केटीलाई कुइच्छाले नहेर्न आफ्नो आँखासित वाचासमेत बाँधेका थिए। (अय्यू. ३१:१, NRV) यो कुरा उल्लेखनीय छ किनभने त्यतिबेला परमेश्‍वरले बहुविवाह गर्न अनुमति दिनुभएको थियो। त्यसैले चाहेका भए अय्यूबले पनि दोस्रो पत्नी ल्याउन सक्थे। * तर परमेश्‍वरले अदनको बगैँचामा पहिलो विवाह गराइदिनुहुँदा एक जना पुरुषलाई एक जना स्त्री दिनुभएको कुरा तिनले राम्ररी बुझेको हुनुपर्छ। (उत्प. २:१८, २४) अय्यूबको समयभन्दा लगभग १६ सय वर्षपछि येशू ख्रीष्टले विवाह र यौनबारे परमेश्‍वरको यही सिद्धान्त पालन गर्न सिकाउनुभयो।—मत्ती ५:२८; १९:४, ५.

२०. यहोवाको र उहाँले तोक्नुभएका स्तरहरूको सही ज्ञानले हामीलाई असल सङ्‌गत र उचित मनोरञ्जन छान्‍न कसरी मदत गर्छ?

२० हामी कसरी अय्यूबको जस्तै विश्‍वास विकास गर्न सक्छौँ? अघि पनि छलफल गरेजस्तै यहोवाको सही ज्ञान लियौँ र जीवनको हरेक पक्षमा त्यही ज्ञानअनुसार चल्यौँ भने हाम्रो विश्‍वास बलियो हुनेछ। उदाहरणको लागि, यहोवा “हिंसा रुचाउनेहरूलाई . . . घृणा गर्नुहुन्छ” भनी भजनहार दाऊदले लेखे। तिनले “छली मानिसहरूसँग” सङ्‌गत नगर्न पनि चेतावनी दिए। (भजन ११:५; २६:४, NRV पढ्‌नुहोस्‌) यी शास्त्रपदहरूबाट तपाईँ परमेश्‍वरको सोचाइबारे के बुझ्न सक्नुहुन्छ? जीवनमा प्राथमिकता तय गर्ने, इन्टरनेट प्रयोग गर्ने, साथीसङ्‌गत र मनोरञ्जन छान्‍ने सन्दर्भमा त्यसले कस्तो प्रभाव पार्नुपर्ने हो? तपाईँको जवाफले तपाईँ यहोवालाई कत्तिको राम्ररी चिन्‍नुहुन्छ भनेर जाँच्न मदत गर्नेछ। अहिलेको यो गन्जागोल अनि दुष्ट संसारमा निष्खोट रहन हामीले आफ्नो “सोच्ने-बुझ्ने क्षमता” तिखार्दै लैजानुपर्छ। त्यसो गऱ्‍यौँ भने हामीले के सही हो र के गलत हो भन्‍ने मात्र होइन, के गर्नु बुद्धिमानी हो र के गर्नु बुद्धिमानी होइन, त्यो पनि छुट्ट्याउन सक्नेछौँ।—हिब्रू ५:१४; एफि. ५:१५.

२१. हामी कसरी स्वर्गमा हुनुहुने हाम्रो बुबालाई खुसी बनाउन चाहिने ‘सबै कुरा जान्‍न’ सक्छौँ?

२१ नूह, दानियल र अय्यूबले आफ्नो सारा हृदयले यहोवालाई खोजे। त्यसैले तिनीहरूले उहाँलाई भेट्टाउन सके। उहाँलाई खुसी बनाउन चाहिने ‘सबै कुरा जान्‍न’ उहाँले तिनीहरूलाई मदत गर्नुभयो। यसरी तिनीहरू धार्मिकताको उदाहरण बने र तिनीहरूले साँचो अर्थमा सफल जीवन बिताए। (भज. १:१-३) त्यसैले आफैलाई सोध्नुहोस्‌, ‘के म यहोवालाई नूह, दानियल र अय्यूबले जत्तिकै राम्ररी चिन्छु?’ वास्तवमा भन्‍ने हो भने, अहिले आध्यात्मिक ज्योति झन्‌झनै चहकिलो भएकोले हामी यहोवालाई ती पुरुषहरूले भन्दा पनि अझै राम्रोसँग चिन्‍न सक्छौँ। (हितो. ४:१८) त्यसैले परमेश्‍वरको वचनको गहिरो अध्ययन गर्नुहोस्‌। त्यसमा मनन गर्नुहोस्‌। अनि पवित्र शक्‍ति पाउन प्रार्थना गर्नुहोस्‌। त्यसो गर्नुभयो भने तपाईँ स्वर्गमा बस्नुहुने आफ्नो बुबासित पहिलेभन्दा अझ नजिक हुनुहुनेछ। अनि अहिलेको दुष्ट संसारमा पनि तपाईँ अन्तर्दृष्टि र बुद्धि देखाउँदै जीवन बिताउन सक्नुहुनेछ।—हितो. २:४-७.

^ अनु. 5 नूहका जिज्यूबुबा हनोक “परमेश्‍वरका साथसाथ हिंड्‌थे।” तर नूह जन्मिनुभन्दा लगभग ६९ वर्षअघि “परमेश्‍वरले तिनलाई उठाइलानुभयो।”—उत्प. ५:२३, २४.

^ अनु. 19 नूहले पनि दोस्रो पत्नी ल्याएनन्‌। अदनको बगैँचामा आदम र हव्वा परमेश्‍वरप्रति अनाज्ञाकारी भएलगत्तै बहुविवाह गर्ने प्रचलन सुरु भए तापनि नूहको एउटी मात्र पत्नी थिइन्‌।—उत्प. ४:१९.