सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आध्यात्मिक व्यक्‍ति हुनु भनेको के हो?

आध्यात्मिक व्यक्‍ति हुनु भनेको के हो?

“परमेश्‍वरले तिमीहरू सबैलाई ख्रीष्ट येशूको जस्तै मनोभाव देऊन्‌।”—रोमी १५:५.

गीत: १७, १३

१, २. (क) थुप्रै भाइबहिनीले आध्यात्मिकताबारे के भनेका छन्‌? (ख) आध्यात्मिकताबारे हामी कस्ता महत्त्वपूर्ण प्रश्‍नहरू विचार गर्नेछौँ?

क्यानाडाकी एउटी बहिनी भन्छिन्‌, “आध्यात्मिक व्यक्‍ति बनेकोले म अझै खुसी हुन सकेकी छु अनि दिनदिनै आइपर्ने गाह्रो अवस्थाहरू अझै राम्ररी सामना गर्न सकेकी छु। ब्राजिलका एक भाइ यसो भन्छन्‌, “हामीले विवाह गरेको २३ वर्ष भइसक्यो। आध्यात्मिक व्यक्‍ति बन्‍न प्रयास गरेकोले गर्दा हाम्रा यी वर्षहरू सुखसित बिते।” फिलिपिन्सका अर्का एक भाइ भन्छन्‌, “आध्यात्मिक व्यक्‍ति बनेकोले मैले मनोशान्ति पाएको छु। अनि विभिन्‍न पृष्ठभूमिका भाइबहिनीसित राम्ररी व्यवहार गर्न सकेको छु।”

यी भनाइहरूले आध्यात्मिक व्यक्‍ति बन्दा हामी धेरै लाभ उठाउन सक्छौँ भनेर देखाउँछन्‌। यो कुरा विचार गर्दा सायद हाम्रो मनमा यस्तो प्रश्‍न आउँछ होला, ‘म पनि कसरी आध्यात्मिक व्यक्‍ति बन्‍न र ती भाइबहिनीले जस्तै लाभ उठाउन सक्छु?’ यस प्रश्‍नको जवाफ पाउनुअघि बाइबलले आध्यात्मिक व्यक्‍ति अर्थात्‌ आध्यात्मिक झुकाव भएको व्यक्‍तिबारे के बताउँछ, हामीले त्यो बुझ्नुपर्छ। यस लेखमा हामी खासगरि यी तीन वटा महत्त्वपूर्ण प्रश्‍नको जवाफ पाउनेछौँ: (१) आध्यात्मिक व्यक्‍ति हुनु भनेको के हो? (२) हाम्रो आध्यात्मिकतालाई बढाउन कस्ता उदाहरणहरूले मदत गर्छ? (३) “ख्रीष्टको सोचाइ” हासिल गर्न प्रयत्न गर्दा हामी कसरी आध्यात्मिक व्यक्‍ति बन्‍न मदत पाउँछौँ?

आध्यात्मिक व्यक्‍ति हुनु भनेको के हो?

३. बाइबलले बताएअनुसार सांसारिक मानिस र आध्यात्मिक मानिसबीच कस्ता भिन्‍नताहरू हुन्छन्‌?

प्रेषित पावलले “परमेश्‍वरको पवित्र शक्‍तिको निर्देशनबमोजिम चल्ने मानिस” र “सांसारिक सोचाइ राख्ने मानिस”-बीचको भिन्‍नता प्रस्ट पारेका छन्‌। त्यसबाट हामी आध्यात्मिक व्यक्‍ति हुनु भनेको के हो भनी बुझ्न सक्छौँ। (१ कोरिन्थी २:१४-१६ पढ्‌नुहोस्‌) “सांसारिक सोचाइ राख्ने मानिसले परमेश्‍वरको पवित्र शक्‍तिबाट आउने कुराहरू स्वीकार्दैन, किनकि ती कुराहरू उसको लागि मूर्खता हो अनि उसले ती कुरा बुझ्न सक्दैन।” अर्कोतर्फ, “परमेश्‍वरको पवित्र शक्‍तिको निर्देशनबमोजिम चल्ने मानिसले सबै कुरा जाँच्छ” र तिनीसित “ख्रीष्टको सोचाइ” हुन्छ। पावल हामीलाई आध्यात्मिक व्यक्‍ति बन्‍न प्रोत्साहन दिन्छन्‌। सांसारिक मानिस र आध्यात्मिक मानिसबीच अरू के-कस्ता भिन्‍नता हुन्छन्‌?

४, ५. हामी सांसारिक मानिसलाई कसरी चिन्‍न सक्छौँ?

सांसारिक मानिसले कस्तो सोचाइ राख्छ, पहिला त्यो विचार गरौँ। संसारमा अहिले जताततै शारीरिक सोचाइ राख्ने मानिसहरूको बिगबिगी छ। त्यस्तो मनोभावले “अहिले अनाज्ञाकारी सन्तानहरूमा काम गरिरहेको छ” भनी पावल बताउँछन्‌। (एफि. २:२) यस्तो मनोभावको असरले गर्दा धेरैजसो मानिस अरूले जे गऱ्‍यो, त्यही गर्ने अर्थात्‌ भीडको पछि लाग्ने गर्छन्‌। तिनीहरूको ध्यान शारीरिक कुरामै केन्द्रित हुन्छ। त्यसले गर्दा अधिकांश मानिस आफूलाई जे ठीक लाग्छ, त्यही गर्छन्‌ अनि परमेश्‍वरको स्तरअनुसार जीवन बिताउन कुनै प्रयास गर्दैनन्‌। सांसारिक अर्थात्‌ शारीरिक झुकाव राख्ने मानिस अक्सर मानसम्मान, धनसम्पत्ति वा आफ्नो अधिकारलाई असाध्यै महत्त्वपूर्ण ठान्छन्‌।

सांसारिक मानिसलाई चिनाउने अरू कुरा के-के हुन्‌? “शरीरका कामहरू”-मा लाग्ने मानिसहरू सांसारिक मानिसहरू हुन्‌। (गला. ५:१९-२१) कोरिन्थको मण्डलीलाई लेखेको पहिलो पत्रमा पावलले सांसारिक मानिसहरूले देखाउने विभिन्‍न स्वभावबारे बताएका छन्‌। ती हुन्‌: फूट गराउने, कसैको पक्ष लिने, गुटबन्दी गराउने, अरूविरुद्ध मुद्दा हाल्ने, शिरत्वको प्रबन्धको कदर नगर्ने अनि खानपिनमा लग्गू हुने। साथै, सांसारिक मानिसले कुनै प्रलोभन आइपर्दा त्यसको प्रतिरोध गर्न खोज्दैन बरु प्रलोभनमा फस्छ। (हितो. ७:२१, २२) तिनीहरू आफूसित ‘परमेश्‍वरको पवित्र शक्‍ति नहुने’ हदसम्म खस्कनेछन्‌ भनी यहूदाले लेखे।—यहू. १८, १९.

६. आध्यात्मिक व्यक्‍ति हुनु भनेको के हो?

त्यसो भए आध्यात्मिक व्यक्‍ति हुनु भनेको के हो? आध्यात्मिक व्यक्‍तिको झुकाव परमेश्‍वरतर्फ हुन्छ तर सांसारिक मानिसको झुकाव त्यस्तो हुँदैन। आध्यात्मिक झुकाव राख्ने व्यक्‍तिहरू ‘परमेश्‍वरको देखासिकी गर्न’ प्रयास गर्छन्‌। (एफि. ५:१) यसको मतलब हो, तिनीहरू हरेक कुरामा यहोवाको सोचाइ बुझ्ने अनि त्यसलाई उहाँको दृष्टिकोणबाट हेर्ने प्रयास गर्छन्‌। तिनीहरूलाई परमेश्‍वर एकदम वास्तविक लाग्छ। तिनीहरू आफ्नो सबै कामकुरा यहोवाको स्तरअनुसार गर्न प्रयास गर्छन्‌, जुन कुरा सांसारिक झुकाव राख्ने मानिसहरूले पटक्कै गर्दैनन्‌। (भज. ११९:३३; १४३:१०) सांसारिक झुकाव राख्ने मानिसहरू शारीरिक कुराहरूमा ध्यान दिन्छन्‌ तर आध्यात्मिक मानिसहरू “पवित्र शक्‍तिको फल” विकास गर्न कोसिस गर्छन्‌। (गला. ५:२२, २३) आध्यात्मिक झुकाव राख्नुको अर्थ अझ प्रस्टसित बुझ्न यो कुरा विचार गर्नुहोस्‌: सकारात्मक कुराहरूमा ध्यान दिने व्यक्‍तिलाई हामी सकारात्मक सोच भएको व्यक्‍ति भन्छौँ। त्यसरी नै आध्यात्मिक वा धार्मिक कुराहरूमा चासो राख्ने व्यक्‍तिलाई हामी आध्यात्मिक झुकाव भएको व्यक्‍ति भन्छौँ।

७. आध्यात्मिक झुकाव राख्ने मानिसहरूबारे बाइबल के भन्छ?

बाइबलले आध्यात्मिक झुकाव राख्ने मानिसहरूको तारिफ गर्छ। मत्ती ५:३ यसो भन्छ: “आनन्दित हुन्‌ ती मानिसहरू, जसले परमेश्‍वरको मार्गनिर्देशनको खाँचो महसुस गर्छन्‌, किनकि स्वर्गको राज्य तिनीहरूकै हो।” आध्यात्मिक झुकाव राख्नुको फाइदाबारे रोमी ८:६ यसो भन्छ: “शारीरिक इच्छाहरूमा मन लगाउनुको अर्थ मृत्यु हो, तर परमेश्‍वरका कुराहरूमा मन लगाउनुको अर्थचाहिं जीवन अनि शान्ति हो।” आध्यात्मिक कुराहरूमा ध्यान दिँदा अहिले हामी परमेश्‍वरसित शान्तिमा रहन र मनोशान्ति पाउन सक्छौँ। साथै भविष्यमा सधेँभरि बाँच्ने आशा पाउँछौँ।

८. आध्यात्मिकता बढाउन र त्यसलाई जोगाइराख्न किन प्रयास गर्नुपर्छ?

अहिले हामी डरलाग्दो संसारमा बाँचिरहेका छौँ। जताततै सांसारिक झुकाव राख्ने मानिसहरू व्याप्त छन्‌। त्यसैले आध्यात्मिकता विकास गर्न र त्यसलाई जोगाइराख्न निकै प्रयास गर्नुपर्छ। कसैले आफ्नो आध्यात्मिकता गुमायो भने उसको मनमा परमेश्‍वरका कुराहरू हुँदैन अनि यस संसारको दूषित “हावा” उसको दिमागमा छिर्छ। यसो हुन नदिन हामी के गर्न सक्छौँ? आफ्नो आध्यात्मिकता बलियो बनाउन हामी के गर्न सक्छौँ?

हाम्रो लागि राम्रा उदाहरणहरू

९. (क) आध्यात्मिक रूपमा बढ्‌न हामी के गर्न सक्छौँ? (ख) हामी क-कसको उदाहरण विचार गर्नेछौँ?

आमाबुबालाई नियालेर अनि तिनीहरूको राम्रो उदाहरण नक्कल गरेर बच्चाहरू परिपक्व बन्दै जान्छन्‌। त्यसरी नै आध्यात्मिक रूपमा बलिया व्यक्‍तिहरूलाई नियाल्दा र तिनीहरूको राम्रो उदाहरण देखासिकी गर्दा हामी पनि आध्यात्मिक रूपमा बढ्‌न सक्छौँ। अर्कोतर्फ, सांसारिक झुकाव राख्ने व्यक्‍तिहरूलाई हेर्दा आफूले के-के गर्न नहुने रहेछ भनेर सिक्न सक्छौँ। (१ कोरि. ३:१-४) बाइबलमा राम्रो-नराम्रो दुवै प्रकारका उदाहरण छन्‌। तर हाम्रो लक्ष्य आध्यात्मिक मानिस बन्‍नु हो। त्यसैले हामीले देखासिकी गर्न सक्ने केही राम्रा उदाहरणहरू विचार गरौँ। आउनुहोस्‌, याकूब, मरियम र येशूको उदाहरणबाट सिकौँ।

याकूबको उदाहरणबाट हामी के सिक्न सक्छौँ? (अनुच्छेद १० हेर्नुहोस्‌)

१०. याकूबले आफू आध्यात्मिक व्यक्‍ति भएको कसरी देखाए?

१० सुरुमा याकूबको उदाहरण विचार गरौँ। आज हामीमध्ये धेरैजसोको जीवन सजिलो नभएजस्तै याकूबको जीवन पनि सजिलो थिएन। सांसारिक झुकाव भएका दाइ एसावले गर्दा याकूबले अनेकन्‌ दुःखकष्ट झेल्नुपऱ्‍यो। एसाव याकूबलाई मार्न चाहन्थे। त्यति मात्र होइन, याकूबको ससुराले पनि तिनलाई पटक-पटक झुक्याए र ठग्न खोजे। चारैतिर “सांसारिक” झुकाव राख्ने मानिसहरू भए तापनि याकूब भने आध्यात्मिक व्यक्‍ति थिए। यहोवाले अब्राहामसित गर्नुभएको प्रतिज्ञामा याकूबले विश्‍वास राखेका थिए। यहोवाको उद्देश्‍य पूरा गर्न आफ्नो परिवारले विशेष भूमिका खेल्नेछ भनेर थाह भएको हुँदा तिनले आफ्नो परिवारको राम्रो हेरचाह गरे। (उत्प. २८:१०-१५) याकूबको बोली-व्यवहारबाट तिनलाई यहोवाको स्तर र इच्छाबारे राम्ररी थाह थियो भन्‍ने देखिन्छ। उदाहरणको लागि, एसावले ज्यान लिन सक्ने खतरा आइपर्दा तिनले परमेश्‍वरलाई यसो भने: “म बिन्ती गर्दछु, मलाई मेरा दाज्यू एसावको हातबाट बचाउनुहोस्‌, . . . तपाईंले भन्‍नुभएको छ, ‘साँच्चिनै म तेरो भलाइ गर्नेछु, र तेरा सन्तानहरू समुद्रका बालुवासरह तुल्याउनेछु।’” (उत्प. ३२:६-१२) यहोवाले आफूसित र आफ्ना पुर्खाहरूसित गर्नुभएको प्रतिज्ञामा तिनले बलियो विश्‍वास राखेका थिए। त्यसैले तिनी परमेश्‍वरको इच्छा र उद्देश्‍यअनुसार चल्न चाहन्थे।

मरियमको उदाहरणबाट हामी के सिक्न सक्छौँ? (अनुच्छेद ११ हेर्नुहोस्‌)

११. मरियम आध्यात्मिक व्यक्‍ति थिइन्‌ भनेर केले देखाउँछ?

११ अब अर्को उदाहरण विचार गरौँ। तिनी हुन्‌, मरियम। यहोवाले किन मरियमलाई येशूकी आमा बन्‍न रोज्नुभयो? जवाफ स्पष्ट छ, तिनी आध्यात्मिक झुकाव राख्ने व्यक्‍ति थिइन्‌। हामी किन त्यसो भन्‍न सक्छौँ? आफ्ना नातेदार जकरिया र इलीशिबाको घरमा जाँदा तिनले व्यक्‍त गरेका सुन्दर अभिव्यक्‍तिहरूबाट तिनी आध्यात्मिक व्यक्‍ति थिइन्‌ भन्‍ने कुरा स्पष्ट हुन्छ। (लूका १:४६-५५ पढ्‌नुहोस्‌) तिनी परमेश्‍वरको वचनलाई गहिरो प्रेम गर्थिन्‌ र तिनलाई हिब्रू धर्मशास्त्रको राम्रो ज्ञान थियो भनेर तिनले व्यक्‍त गरेका शब्दहरूले देखाउँछ। (उत्प. ३०:१३; १ शमू. २:१-१०; मला. ३:१२) यो कुरा पनि नबिर्सनुहोस्‌, तिनी र यूसुफले भर्खरै विवाह गरेको भए तापनि येशूको जन्म नहोउन्जेल तिनीहरूले यौनसम्बन्ध राखेनन्‌। यसबाट के देखिन्छ? तिनीहरू दुवै जना आफ्ना इच्छाहरू पूरा गर्नभन्दा यहोवाको इच्छालाई अझ महत्त्वपूर्ण ठान्थे। (मत्ती १:२५) समय बित्दै जाँदा येशूको जीवनमा भइरहेका कुराहरू र उहाँले सिकाउनुभएका ज्ञानगुनका कुरामा मरियमले ध्यान दिइन्‌। साथै तिनले “यी सबै कुरा आफ्नो मनमा साँचेर राखिन्‌।” (लूका २:५१) स्पष्ट छ, तिनी मसीहसित सम्बन्धित परमेश्‍वरको उद्देश्‍यमा निकै चासो राख्थिन्‌। हामी मरियमको उदाहरणबाट आफ्नो जीवनमा परमेश्‍वरको इच्छालाई कसरी पहिलो स्थान दिने भनेर सिक्न सक्छौँ नि, होइन र?

१२. (क) येशूले कसरी आफ्नो बुबाको देखासिकी गर्नुभयो? (ख) हामी कसरी येशूको देखासिकी गर्न सक्छौँ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

१२ आजसम्म बाँचेकाहरूमध्ये आध्यात्मिक व्यक्‍तिको उत्कृष्ट उदाहरण को हुनुहुन्छ? येशू ख्रीष्ट। आफ्नो पूरै जीवनकाल र सेवाको कामको दौडान उहाँले आफ्नो बुबा यहोवाको देखासिकी गर्न चाहेको देखाउनुभयो। उहाँको सोचाइ, भावना र व्यवहार यहोवाको जस्तै थियो। अनि येशूले उहाँको इच्छा र स्तरअनुसार जीवन बिताउनुभयो। (यूह. ८:२९; १४:९; १५:१०) उदाहरणको लागि, भविष्यवक्‍ता यशैयाले यहोवाको करुणाबारे के लेखेका छन्‌, सो विचार गर्नुहोस्‌। अनि त्यो विवरणलाई सुसमाचारको पुस्तकका लेखक मर्कूसले वर्णन गरेका येशूका भावनाहरूसित तुलना गर्नुहोस्‌। (यशैया ६३:९; मर्कूस ६:३४ पढ्‌नुहोस्‌) के हामी पनि येशूको देखासिकी गर्दै मदत चाहिएका मानिसहरूलाई दया देखाउँछौँ? येशूको सम्पूर्ण ध्यान सुसमाचार प्रचार गर्न र सिकाउनमा केन्द्रित थियो। (लूका ४:४३) आध्यात्मिक व्यक्‍तिहरूले येशूको जस्तै भावना र व्यवहार देखाउँछन्‌।

१३, १४. (क) हामीमाझ आध्यात्मिक झुकाव राख्ने व्यक्‍तिहरूको उदाहरणबाट हामी के सिक्न सक्छौँ? (ख) एउटा उदाहरण बताउनुहोस्‌।

१३ बाइबलमा पाइने उदाहरणहरूबाहेक अहिले हाम्रो समयमा पनि ख्रीष्टको देखासिकी गर्दै आध्यात्मिक झुकाव राख्न प्रयास गरेका थुप्रै व्यक्‍तिहरू छन्‌। सायद तपाईँले तिनीहरूले प्रचारकार्यमा जोस देखाएको, अतिथिसत्कार गरेको, दयाका साथै अरू राम्रा गुणहरू देखाएको याद गर्नुभएको होला। हामीजस्तै तिनीहरू त्रुटिपूर्ण छन्‌ र तिनीहरूका पनि कमीकमजोरी छन्‌। तर तिनीहरूले परमेश्‍वरलाई मन पर्ने राम्रा गुणहरू विकास गर्न प्रयास गरेका छन्‌। ब्राजिलकी एउटी बहिनी रेचेल यसो भन्छिन्‌: “मलाई संसारको फेसनअनुसार चल्न मन पर्थ्यो। त्यसैले मेरो पहिरन भद्र किसिमको थिएन। तर सत्य सिक्दै जाँदा मैले आध्यात्मिक व्यक्‍ति बन्‍न प्रयास गर्न थालेँ। हुनत छाँटकाँट गर्न सजिलो थिएन तर त्यसो गर्दा म अझ खुसी भएकी छु र जीवनको साँचो उद्देश्‍य पाएकी छु।”

१४ फिलिपिन्सकी रेलीनको भने अर्कै समस्या थियो। जीवन सफल बनाउन उनले आफ्नो ध्यान उच्च शिक्षा हासिल गर्न र राम्रो जागिर पाउनमा लगाएकी थिइन्‌। उनी भन्छिन्‌: “यसले गर्दा मेरा आध्यात्मिक लक्ष्यहरू ओझेलमा पर्न थाले। मलाई आफ्नो जीवनमा केही नपुगेको जस्तो लाग्न थाल्यो। मेरो जागिर नै सब थोक होइन भनेर महसुस गर्न थालेँ। त्यसपछि मैले फेरि यहोवाको सेवामा आफ्नो ध्यान केन्द्रित गर्न थालेँ।” त्यसदेखि यता रेलीनले मत्ती ६:३३, ३४ मा यहोवाले गर्नुभएको प्रतिज्ञामा पूरा विश्‍वास राख्दै आध्यात्मिक व्यक्‍ति बन्‍न प्रयास गरेकी छिन्‌। उनी पनि हाम्रो लागि ज्वलन्त उदाहरण हुन्‌। उनी भन्छिन्‌: “यहोवाले पक्कै मेरो हेरचाह गर्नुहुनेछ भन्‍ने कुरामा म ढुक्क छु!” तपाईँको मण्डलीमा पनि त्यस्ता व्यक्‍तिहरू छन्‌ होला। ख्रीष्टको पछि लाग्ने ती वफादार भाइबहिनीको देखासिकी गर्न के हामी पनि उत्प्रेरित हुँदैनौँ र?—१ कोरि. ११:१; २ थिस्स. ३:७.

“ख्रीष्टको सोचाइ” राख्नुहोस्‌

१५, १६. (क) ख्रीष्टजस्तै बन्‍न हामीले के गर्नुपर्छ? (ख) हामी कसरी “ख्रीष्टको सोचाइ” बुझ्न सक्छौँ?

१५ हामी कसरी ख्रीष्टको देखासिकी गर्न सक्छौँ? पहिलो कोरिन्थी २:१६ मा “ख्रीष्टको सोचाइ”-बारे बताइएको छ। अनि रोमी १५:५ ले पनि “ख्रीष्ट येशूको जस्तै मनोभाव” राख्नू भनी बताउँछ। त्यसैले ख्रीष्टको देखासिकी गर्न हामीले उहाँको सोच्ने तरिका अनि व्यवहार कस्तो थियो, त्यो राम्ररी बुझ्नुपर्छ। त्यसपछि उहाँको पदचिन्ह पछ्याउनुपर्छ। येशूको सोचाइ परमेश्‍वरसितको सम्बन्धमा केन्द्रित थियो। त्यसैले ख्रीष्टजस्तै हुनु भनेको यहोवाजस्तै हुन प्रयास गर्नु हो। त्यसकारण येशूले कसरी सोच्नुहुन्थ्यो भनी सिक्नु अत्यन्तै महत्त्वपूर्ण छ।

१६ हामी कसरी त्यसो गर्न सक्छौँ? येशूका चेलाहरूले उहाँका चमत्कारहरू देखे, उहाँका प्रवचनहरू सुने, विभिन्‍न किसिमका मानिसहरूसित उहाँले गर्नुभएको व्यवहार देखे अनि उहाँले परमेश्‍वरका सिद्धान्तहरू लागू गर्नुभएको तरिका पनि देखे। त्यसैले तिनीहरूले भने: “उहाँले . . . के-के गर्नुभयो, ती सबैको हामी साक्षी छौं।” (प्रेषि. १०:३९) हुनत अहिले हामी येशूलाई देख्न सक्दैनौँ। तर हामीले उहाँलाई राम्ररी चिन्‍न सकौं भनेर यहोवाले सुसमाचारका पुस्तकहरूमा येशूको बोली-व्यवहारबारे लेख्न लगाउनुभएको छ। मत्ती, मर्कूस, लूका र यूहन्‍नाका पुस्तकहरू पढ्यौँ अनि मनन गऱ्‍यौँ भने ख्रीष्टको सोचाइ बुझ्न सक्छौँ। यसरी हामी ‘उहाँको पदचिन्ह राम्ररी पछ्याउन’ र ‘उहाँको जस्तै मानसिक झुकाव विकास गर्न’ सक्छौँ।—१ पत्रु. २:२१; ४:१.

१७. ख्रीष्टले जस्तै सोच्दा हामीलाई कस्तो लाभ हुन्छ?

१७ ख्रीष्टले जस्तै सोच्न सिक्यौँ भने हामीलाई कस्तो लाभ हुन्छ? पोसिलो भोजनले हाम्रो शरीरलाई तन्दुरुस्त बनाएझैँ ख्रीष्टको सोचाइ राम्ररी बुझ्यौँ भने हाम्रो आध्यात्मिकता बलियो हुन्छ। अनि हाम्रो जीवनमा जस्तोसुकै परिस्थिति आइपरे पनि येशू भएको भए के गर्नुहुने थियो भनेर बिस्तारै बुझ्दै जानेछौँ। यसरी हामी सही निर्णय गर्न सक्नेछौँ, जसले गर्दा सफा अन्तस्करण राख्न र परमेश्‍वरको अनुमोदन पाउन सक्नेछौँ। यी लाभहरूबारे विचार गर्दा ‘प्रभु येशू ख्रीष्टलाई धारण गर्नुपर्ने’ सशक्‍त कारण पाउँछौँ नि, होइन र?—रोमी १३:१४.

१८. आध्यात्मिक व्यक्‍ति हुनुको अर्थबारे तपाईँले के सिक्नुभयो?

१८ हामीले यस लेखमा आध्यात्मिक व्यक्‍ति हुनु भनेको के हो भनेर छलफल गऱ्‍यौँ। आध्यात्मिक व्यक्‍तिहरूको राम्रो उदाहरणबाट धेरै कुरा सिक्न सक्छौँ भनेर पनि बुझ्यौँ। साथै, “ख्रीष्टको सोचाइ” राख्यौँ भने आध्यात्मिक व्यक्‍तिको रूपमा बढ्‌दै जान सक्नेछौँ भनेर सिक्यौँ। तर हामीले आध्यात्मिकताबारे सिक्नुपर्ने अरू कुराहरू पनि छन्‌। जस्तै: हामी आध्यात्मिक रूपमा कत्तिको बलियो छौँ भनेर कसरी केलाउन सक्छौँ? आध्यात्मिकतालाई अझ बढाउँदै लैजान के गर्न सक्छौँ? अनि आध्यात्मिकताले हाम्रो दैनिक जीवनमा कस्तो असर गर्छ? यी प्रश्‍नहरूको जवाफ अर्को लेखमा पाउनेछौँ।