सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हाम्रो अभिलेखालयबाट

जनभाषणहरूले गर्दा आयरल्याण्डमा सुसमाचार फैलियो

जनभाषणहरूले गर्दा आयरल्याण्डमा सुसमाचार फैलियो

सन्‌ १९१० मे महिनाको कुरा हो। जहाज बेल्फास्ट लकनजिकै आइपुग्यो। जहाजको बाहिरपट्टि उभिरहेका यात्रीहरूको सानो समूहले बिहानीको घाम झुल्किएर असाध्यै राम्रा देखिएका हरिया पहाडहरू देखे। ती यात्रीहरूमध्ये एक जना चार्ल्स टेज रसल पनि हुनुहुन्थ्यो। उहाँ पाँचौँ पटक आयरल्याण्ड आउनुभएको थियो। उहाँले टाइटानिक ओलिम्पिक नामका ठूलठूला जहाज निर्माण हुँदै गरेको देख्नुभयो। * निर्माणस्थलपछाडि १२ जना बाइबल विद्यार्थीहरू (अहिले यहोवाका साक्षीहरू भनिन्छ) उहाँलाई पर्खिरहेका थिए।

त्यसको लगभग २० वर्षअघिदेखि नै सारा संसारमा सुसमाचार फैलाउने उद्देश्‍यका साथ भाइ रसलले अमेरिकाबाहेक अरू देशहरूको यात्रा गर्न थाल्नुभएको थियो। उहाँ सन्‌ १८९१ मा पहिलो यात्रामा निस्कनुभयो अनि सुरुमा आयरल्याण्ड आउनुभयो। सिटी अफ सिकागो भन्‍ने जहाजमा यात्रा गर्दै आयरल्याण्डको समुद्री किनाराको सहर क्विन्सटाउननजिकै आइपुग्दा त्यहाँ घाम अस्ताउनै लागेको थियो। उहाँका आमाबुबा त्यही ठाउँमा जन्मिएका थिए, त्यसैले आमाबुबाले त्यो ठाउँबारे बताएका कुराहरू उहाँले सम्झेको हुनुपर्छ। त्यहाँको सफा अनि सुन्दर ठाउँहरूमा हिँड्‌दै गर्दा भाइ रसल र उहाँसँगै आएकाहरूले त्यहाँको बाली ‘पाकेर कटनीको लागि तयार भइसकेको’ देख्नुभयो।

भाइ रसलले जम्मा सात पटक आयरल्याण्डको भ्रमण गर्नुभयो। पहिलो भ्रमणको बेला चासो देखाएका व्यक्‍तिहरू पछि उहाँ फेरि भ्रमण गर्न आउनुहुँदा उहाँको भाषण सुन्‍न आए। यसरी सुन्‍न आउनेहरू सयौँ हुन्थे, कहिलेकाहीँ त हजारौँ पनि हुन्थे। सन्‌ १९०३ को मे महिनामा उहाँ दोस्रो पटक भ्रमण गर्न आउनुहुँदा बेल्फास्ट अनि डब्लिनमा हुने सभाहरूको विज्ञापन स्थानीय अखबारहरूमा छापिन थालिसकेको थियो। “शपथ खाएर गरिएको प्रतिज्ञा” विषयको भाषण “स्रोताहरूले निकै ध्यान दिएर सुनेका थिए” भनी पछि भाइ रसलले बताउनुभयो। त्यो भाषणमा अब्राहामको विश्‍वास अनि मानिसजातिले भविष्यमा पाउने आशिष्‌बारे बताइएको थियो।

आयरल्याण्डमा मानिसहरूले निकै चासो देखाएकोले भाइ रसल तेस्रो पटक युरोपको भ्रमण गर्न आउँदा आयरल्याण्ड पनि आउनुभयो। सन्‌ १९०८ अप्रिल महिनामा उहाँ बेल्फास्ट आउनुहुँदा उहाँलाई स्वागत गर्न पाँच जना भाइहरू आएका थिए। “सैतानको साम्राज्यको विनाश” विषयको भाषणको विज्ञापन छापिएको थियो अनि त्यस दिन साँझ त्यो भाषण “३०० जतिले निकै ध्यान दिएर सुने।” एक जना मान्छेले आपत्ति जनाउँदै थिए तर धर्मशास्त्रबाट दिइएको तार्किक जवाफले तिनलाई चुप बनायो। डब्लिनमा चाहिँ एक जना मान्छेले निकै विरोध गरे। उनी चर्चसित सम्बन्धित वाइ एम सि ए भन्‍ने युवा सङ्‌गठनका सचिव ओकनर थिए। उनले त्यहाँ उपस्थित १,००० भन्दा धेरै स्रोतालाई बाइबल विद्यार्थीहरूविरुद्ध भड्‌काउन खोजे। त्यसपछि के भयो?

आउनुहोस्‌ त्यो समयमा फर्केर जाऔँ। त्यो सभामा के भएको थियो, दिमागमा चित्र कोरौँ। बाइबलको सत्यप्रति चासो देखाएका एक जना मानिस दी आइरिश टाइम्स-मा विज्ञापन गरिएको भाषण सुन्‍न उपस्थित हुन्छन्‌। खचाखच भरिएको त्यो हलमा उनी बल्लतल्ल एउटा सिट भेट्टाउँछन्‌। त्यतिबेला दिइएको भाषण उनी ध्यान दिएर सुन्छन्‌। भाषण दिने व्यक्‍तिले लामो कालो कोट लगाएका छन्‌, तिनको कपाल फुलेको छ अनि तिनले दाह्री पालेका छन्‌। तिनी मञ्चमा यता-उता हिँड्‌दै भाषण दिन्छन्‌। तिनले सिलसिलेवार ढङ्‌गमा एकपछि अर्को शास्त्रपदको व्याख्या गर्छन्‌। निकै ध्यान दिएर सुनिरहेका ती मान्छेले बाइबलका कुराहरू अझ राम्ररी बुझ्छन्‌। भाषण दिने व्यक्‍तिले कुनै ध्वनि उपकरण प्रयोग गरेका छैनन्‌ तैपनि तिनको आवाज हलको कुना-कुनासम्ममा गुञ्जिन्छ अनि डेढ घण्टासम्म स्रोताहरू तिनको कुरा ध्यान दिएर सुन्छन्‌। त्यसपछि प्रश्‍न-उत्तर कार्यक्रममा तिनलाई ओकनर र उनका साथीहरूले बाइबलसम्बन्धी प्रश्‍न सोधेर अप्ठ्यारोमा पार्न खोज्छन्‌। तर भाषण दिने व्यक्‍तिले बाइबल प्रयोग गर्दै सबै प्रश्‍नको चित्तबुझ्दो जवाफ दिन्छन्‌। अनि तिनको जवाफ सुनेर स्रोताहरूले ताली बजाउँछन्‌। माहोल शान्त भएपछि चासो देखाउने ती व्यक्‍ति बाइबल विद्यार्थीहरूकहाँ जान्छन्‌ अनि अझ धेरै कुरा सिक्ने इच्छा जाहेर गर्छन्‌। यस्ता कार्यक्रममा उपस्थित हुनेहरूले बताएअनुसार धेरैले सत्य यसरी नै सिकेका थिए।

सन्‌ १९०९ को मे महिनामा न्यु योर्कबाट भाइ रसल मौरेटानिया जहाज चढेर आयरल्याण्डको चौथौँ भ्रमणमा निस्कनुभयो। त्यतिबेला उहाँले भाइ हन्टसिङ्‌गरलाई पनि आफूसितै ल्याउनुभएको थियो, जो टिपोट लिन खप्पिस हुनुहुन्थ्यो। भाइ हन्टसिङ्‌गरलाई सँगै लानुको उद्देश्‍य यात्राको दौडान प्रहरीधरहरा-का नयाँ लेखहरू टिपोट गराउन थियो। बेल्फास्टमा भाइ रसलले भाषण दिनुहुँदा लगभग ४५० जना स्थानीय बासिन्दाहरू आएका थिए। सिट नपाएर लगभग १०० जतिले त उठेरै भाषण सुने।

भाइ सि. टी. रसल लुसिटानिया जहाजमा

पाँचौँ भ्रमणमा पनि यस्तै भएको थियो, जसबारे यस लेखको सुरुमा बताइएको थियो। डब्लिनमा जनभाषण दिइसकेपछि भाइ रसललाई एक जना प्रख्यात शास्त्रविद्‌ले बाइबलसित सम्बन्धित विभिन्‍न प्रश्‍न सोधे। उनलाई त्यहाँ ओकनरले नै ल्याएका थिए। भाइ रसलले सबै प्रश्‍नको जवाफ दिनुहुँदा स्रोताहरू दङ्‌ग परेर सुनिरहेका थिए। त्यसको भोलिपल्ट भाइ रसलहरू लिभरपुल जानुभयो र त्यहाँबाट प्रख्यात जहाज लुसिटानिया चढेर न्यु योर्क फर्कनुभयो। *

सन्‌ १९१०, मे २० मा दी आइरिश टाइम्स अखबारमा छापिएको जनभाषणको विज्ञापन

जनभाषणको विज्ञापन सन्‌ १९११ मा भाइ रसलको छैटौँ अनि सातौँ भ्रमणको लागि पनि छापिएको थियो। त्यस वर्षको वसन्त ऋतुमा बेलफास्टका २० जना बाइबल विद्यार्थीले २,००० जति व्यक्‍तिहरूलाई “मृत्युपछिको जीवन” विषयको भाषण सुन्‍न निम्तो दिए। डब्लिनमा भएको सभामा ओकनर एक जना पादरीसित आइपुगे। ती पादरीले पनि बाइबलसम्बन्धी विभिन्‍न प्रश्‍न सोधे। यस पटक पनि भाइ रसलले सबै प्रश्‍नको जवाफ दिनुभयो अनि स्रोताहरूले ताली बजाएर समर्थन जनाए। त्यस वर्षको शरद्‌ ऋतुमा चाहिँ भाइ रसलहरू अरू सहरहरूमा पनि जानुभयो। ती सहरहरूमा पनि निकै मानिसहरू उपस्थित भए। ओकनर अनि उनीसित आएका सयभन्दा धेरै हुल्याहाहरूले डब्लिनमा भएको सभामा फेरि एक चोटि भाँडभैलो मच्चाउन खोजे तर स्रोताहरूले वक्‍तालाई साथ दिइरहे।

त्यतिबेला धेरैजसो भाषण भाइ रसलले नै दिनुहुन्थ्यो। तर “कुनै एक जना व्यक्‍ति नहुँदैमा यहोवाको काम रोकिंदैन” भनेर उहाँले बुझ्नुभएको थियो किनभने “यो मानिसको काम होइन, परमेश्‍वरको हो।” जनभाषणहरूको विज्ञापनले बाइबलका सत्यहरू फैलाउन निकै मदत पुऱ्‍यायो। अहिले हुने जनसभाहरू पहिला त्यसरी नै विज्ञापन गरिन्थ्यो। नतिजा कस्तो भयो? जनभाषणहरूले गर्दा आयरल्याण्डमा सुसमाचार फैलियो अनि आयरल्याण्डभरि विभिन्‍न सहरमा मण्डलीहरू स्थापना भए।—बेलायतको हाम्रो अभिलेखालयबाट।

^ अनु. 3 त्यसको दुई वर्ष पनि नबित्दै टाइटानिक समुद्रमा डुब्यो।

^ अनु. 9 सन्‌ १९१५ को मे महिनामा लुसिटानिया जहाजलाई आयरल्याण्डको दक्षिणी तटमा डुबाइएको थियो।