सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जीवनी

पहिला गरिब, पछि धनी

पहिला गरिब, पछि धनी

म अमेरिकाको इन्डियाना राज्यको लिबर्टी भन्‍ने सहरमा जन्मिएँ। हामी काठको सानो टहरोमा बस्थ्यौँ। त्यहीँ नै मेरो जन्म भयो। मेरो एक जना दाइ र दुई जना दिदी हुनुहुन्थ्यो। पछि दुई जना भाइ र एक जना बहिनी पनि भए।

म जन्मेको काठको टहरो

मैले आफ्नो पूरै पढाइ एउटै स्कुलमा सिध्याएँ। त्यतिबेला पहिलो कक्षामा भर्ना हुँदा जो-जो विद्यार्थी थिए, स्कुलको पढाइ सिद्धिने बेलासम्म उनीहरू नै हुन्थे। भनौँ भने हाम्रो सहरका प्रायजसो मानिसहरू एकअर्कालाई नामैले चिन्थे।

सात छोराछोरीमध्ये म चौथो थिएँ अनि सानै छँदा मैले खेतीपातीसम्बन्धी थुप्रै कुरा सिकेँ

लिबर्टी सहरको चारैतिर खेतै खेत थियो। प्रायजसो मकै खेती गरिन्थ्यो। म जन्मिएको समयताका बुबा त्यहाँकै एक जना किसानकहाँ काम गर्नुहुन्थ्यो। किशोरावस्थामा पुगेपछि मैले खेतीपाती गर्न र ट्र्याक्टर चलाउन सिकेँ।

म जन्मिँदा बुबाको उमेर ढल्किसकेको थियो। उहाँ ५६ वर्ष र आमा ३५ वर्ष हुनुहुन्थ्यो। मेरो बुबा पातलो तर हट्टाकट्टा हुनुहुन्थ्यो। उहाँ खटिएर काम गर्नुहुन्थ्यो अनि उहाँले हामी छोराछोरीलाई पनि मेहनत गर्न सिकाउनुभयो। उहाँको कमाइ धेरै थिएन। तर हामी कहिल्यै भोकभोकै बस्नु परेन, बस्ने घर र लुगाफाटाको अभाव कहिल्यै खट्‌किएन। उहाँ सधैँ हाम्रो साथमा हुनुहुन्थ्यो। बुबा ९३ वर्षमा र आमा ८६ वर्षमा बित्नुभयो। उहाँहरू दुवै जना यहोवाको सेवक बन्‍नुभएन। मेरा एक जना भाइले सन्‌ १९७२ देखि अहिलेसम्म वफादार भई एल्डरको रूपमा सेवा गरिरहेको छ।

मेरो बाल्यकाल

आमा धर्ममा बलियो आस्था राख्नुहुन्थ्यो। उहाँ हामीलाई हरेक आइतबार ब्याप्टिस्ट चर्चमा लैजानुहुन्थ्यो। बाह्र वर्षको छँदा मैले पहिलो चोटि त्रिएकबारे सुनेँ। मलाई अनौठो लाग्यो र आमालाई सोधेँ: “येशू कसरी छोरा पनि बुबा पनि हुनुभयो?” आमाको जवाफ मलाई अहिलेसम्म याद छ। उहाँले भन्‍नुभयो: “बाबु, यो एउटा रहस्य हो। हामीले बुझ्न सक्ने कुरा होइन।” त्यो मेरो लागि साँच्चै रहस्य नै थियो। तैपनि १४ वर्षजतिको हुँदा नजिकैको खोल्सामा मैले बप्तिस्मा गरेँ। मलाई त्रिएकको नाममा तीन चोटि पानीमा डुबाइयो!

१९५२—सत्र वर्षको उमेरमा, सेनामा भर्ती हुनुअघि

हाई स्कुलको बेला मेरो एक जना साथीले बक्सिङ खेलेर पैसा कमाउँथ्यो। उसको कुरा सुनेपछि मैले पनि बक्सिङ खेल्ने विचार गरेँ अनि गोल्डन ग्लभ्स्‌ भनिने बक्सिङ सङ्‌घको सदस्य भएँ। तर बक्सिङ खेल्न म त्यति राम्रो थिइनँ। त्यसैले दुई चार चोटि खेलेपछि नै मैले छोडिदिएँ। पछि मलाई अमेरिकी सेनामा भर्ती हुन बोलाइयो र जर्मनी पठाइयो। जर्मनीमा छँदा मेरा हाकिमहरूले मसित नेतृत्व लिने खूबी छ जस्तो लागेर मलाई सैनिक महाविद्यालयमा पठाउनुभयो। उहाँहरू मैले सैन्य सेवालाई आफ्नो करियर बनाएको चाहनुहुन्थ्यो। तर मलाई भने सैन्य सेवा गर्ने कुनै इच्छा थिएन। त्यसैले तोकिएको दुई वर्षको अवधि सिद्धिनेबित्तिकै मैले सन्‌ १९५६ मा सेना छोडेँ। तर त्यसको केही समय नबित्दै म अर्कै प्रकारको सेनामा भर्ती भएँ।

१९५४-१९५६—मैले अमेरिकी सेनामा दुई वर्ष बिताएँ

नयाँ जीवनको सुरुवात

मलाई पुरुषहरूले फाइँफुइँ गरेर आफ्नो पुरुषार्थ देखाउनुपर्छ जस्तो लाग्थ्यो। चलचित्रमा देखाइने अनि समाजमा देखेका कुराहरूले मलाई निकै असर गरेको थियो। मलाई धर्म प्रचारकहरूसित पुरुषार्थ छैन जस्तो लाग्थ्यो। तर मैले यस्तो कुरा सिकेँ, जसले मेरो जीवनमा आमूल परिवर्तन ल्यायो। एक दिनको कुरा हो, आफ्नो रातो गाडीमा गइरहेको बेला दुइटी युवतीले हात हल्लाउँदै मलाई बोलाए। म उनीहरूलाई चिन्थेँ। उनीहरू मेरो भिनाजुका बहिनीहरू थिए। ती युवतीहरू यहोवाका साक्षी थिए। उनीहरूले मलाई प्रहरीधरहरा ब्यूँझनुहोस्‌! पत्रिकाहरू त्यसअघि नै पढ्‌न दिइसकेका थिए। तर मलाई प्रहरीधरहरा-मा लेखिएका कुराहरू बुझ्न गाह्रो लाग्थ्यो। यस पटक भने उनीहरूले मलाई मण्डली पुस्तक अध्ययन भनिने सभामा बोलाए। त्यो सभा उनीहरूकै घरमा हुन्थ्यो। उनीहरूलाई मैले ‘आउँला नि!’ भनेँ। त्यसपछि मुस्कुराउँदै उनीहरूले सोधे, “साँच्चै हो?” मैले उनीहरूलाई “पक्का आउँछु” भनेँ।

उनीहरूलाई बेकार आउँछु भनेँ जस्तो लाग्यो तर वचन दिइसकेको हुनाले जानै पऱ्‍यो। त्यसैले म उनीहरूको सभामा गएँ। त्यहाँ आएका केटाकेटीहरू देखेर म दङ्‌गै परेँ। तिनीहरूलाई बाइबलबारे कत्ति धेरै कुरा थाह रहेछ! हुनत म पनि आमासित वर्षौँसम्म हरेक आइतबार चर्च गएको थिएँ तर मलाई बाइबलको कुरा खासै थाह थिएन। अब भने मैले बाइबलबारे धेरै कुरा सिक्ने निधो गरेँ। त्यसैले म बाइबल अध्ययन गर्न राजी भएँ। बाइबल अध्ययन गर्न थालेको सुरु-सुरुतिरै मैले सर्वशक्‍तिमान्‌ परमेश्‍वरको नाम यहोवा हो भनेर थाह पाएँ। वर्षौँअघि मैले आमालाई यहोवाका साक्षीहरूबारे सोध्दा उहाँले यसरी टारिदिनुभएको थियो, “तिनीहरू यहोवा भन्‍ने एक जना बूढो मान्छेको उपासना गर्छन्‌।” तर बल्ल साँचो कुरा बुझेजस्तो लाग्यो।

त्यसपछि मैले चाँडै उन्‍नति गरेँ किनकि यही नै सत्य हो भनेर म पक्का थिएँ। त्यो पहिलो सभामा गएपछिको नौ महिनाभित्रै सन्‌ १९५७ को मार्चमा मैले बप्तिस्मा गरेँ। त्यसपछि जीवनलाई हेर्ने मेरो दृष्टिकोण बदलियो। पहिला मलाई पुरुषहरूले आफ्नो पुरुषार्थ देखाउनै पर्छ जस्तो लाग्थ्यो तर बाइबल पढेपछि साँचो पुरुषार्थ देखाउनु भनेको के हो भनेर सिकेँ। येशू त्रुटिरहित व्यक्‍ति हुनुहुन्थ्यो। उहाँले आफ्नो भएभरको बल र शक्‍ति प्रदर्शन गर्नुभएको भए उहाँको तुलनामा जस्तोसुकै वीर पुरुषहरू पनि कमजोर देखिन्थे होलान्‌। तर उहाँ कुस्ती खेलेर पुरुषार्थ देखाउनतिर लाग्नुभएन बरु भविष्यवाणी गरिएझैँ “कष्ट” भोग्न तयार हुनुभयो। (यशै. ५३:२, ७) येशूको साँचो चेलाले ‘सबैसित कोमल व्यवहार गर्नुपर्छ’ भनेर मैले सिकेँ।—२ तिमो. २:२४

त्यसपछिको अर्को वर्ष सन्‌ १९५८ मा मैले अग्रगामी सेवा सुरु गरेँ। तर चाँडै नै मैले केही समयको लागि अग्रगामी सेवा छोड्‌नुपर्ने भयो। किन? मैले विवाह गर्ने निर्णय गरेँ। मेरो हुनेवाला श्रीमतीको नाम ग्लोरिया थियो। मलाई मण्डली पुस्तक अध्ययनमा आउन निम्तो दिने दुइटी युवतीमध्ये उनी एक थिइन्‌। त्यो निम्तो स्विकारेकोमा म कहिल्यै पछुताउनु परेन। त्यसबेला ग्लोरिया मलाई सुन्दर रत्नजस्तै लाग्थ्यो अनि आज पनि त्यस्तै लाग्छ। उनी मेरो लागि हिराजस्तै बहुमूल्य छिन्‌। उनलाई विवाह गरेकोमा म असाध्यै खुसी छु। अब ग्लोरियाबाटै केही कुरा थाह पाउनुहोस्‌:

“हामी १७ जना छोराछोरी थियौँ। मेरी आमा वफादार यहोवाको साक्षी हुनुहुन्थ्यो। म १४ वर्षकी हुँदा उहाँको मृत्यु भयो। आमाको मृत्युपछि बुबाले पनि अध्ययन गर्न थाल्नुभयो। मेरी जेठी दिदी त्यसबेला कलेज पढ्‌नुहुन्थ्यो। आमा नहुनुभएकोले बुबाले स्कुलको प्रिन्सिपलसित कुरा गरेर दिदी र म दिन बिराएर पालैपालो स्कुल जान मिल्छ कि भनेर अनुरोध गर्नुभयो। त्यसो गर्दा एक जना स्कुल जान र अर्कोले चाहिँ घरमा भाइबहिनी स्याहार्न अनि बुबा बेलुकी घर फर्कने बेलासम्म खाना तयार पार्न सक्थ्यौँ। प्रिन्सिपलले अनुमति दिनुभयो अनि दिदीको पढाइ नसकिउन्जेल हामी त्यसरी नै पालैपालो स्कुल गयौँ। दुइटा साक्षी परिवारले हामीलाई बाइबल अध्ययन गराउनुभयो अनि हामी १७ जनामध्ये ११ जना यहोवाको साक्षी भयौँ। म निकै लजालु स्वभावकी छु तैपनि प्रचार गर्न मलाई एकदमै मन पर्छ। अनि स्यामूएलले पनि सधैँ मलाई मदत गर्दै आउनुभएको छ।”

सन्‌ १९५९ को फेब्रुअरीमा ग्लोरिया र मैले विवाह गऱ्‍यौँ। हामीले रमाउँदै अग्रगामी सेवा गऱ्‍यौँ। मुख्यालयमा सेवा गर्ने हाम्रो ठूलो धोको थियो, त्यसैले त्यही वर्षको जुलाई महिनामा हामीले बेथेल सेवाको आवेदन भऱ्‍यौँ। त्यहाँका एक जना प्रिय भाइ साइमन क्राकरले हाम्रो अन्तरवार्ता लिनुभयो। त्यसबेला बेथेलमा विवाहित जोडीको त्यति आवश्‍यकता छैन भनेर उहाँले बताउनुभयो। बेथेल सेवा गर्ने इच्छालाई हामीले कहिल्यै सेलाउन दिएनौँ तर त्यो इच्छा पूरा हुन अझ वर्षौँ लाग्ने थियो।

हामीलाई आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्न पठाउनुहोस्‌ भनेर हामीले मुख्यालयमा चिठी पठायौँ। जवाफमा एउटा मात्रै ठाउँको नाम थियो: आर्कान्सा राज्यको पाइन ब्लफ। त्यसैले कहाँ जाऔँ भनेर हामीले छान्‍नै परेन। त्यतिबेला पाइन ब्लफमा दुइटा मण्डली थियो—एउटा गोरा जातिको, अर्को “अश्‍वेत” अर्थात्‌ काला जातिको। हामीलाई “अश्‍वेत” मण्डलीमा पठाइयो। त्यहाँ १४ जना मात्र प्रकाशक थिए।

जातीय विभेद भोग्नुपर्दा

यहोवाका साक्षीहरूमाझ पनि काला जाति र गोरा जातिको मण्डली छुट्ट्याएको कुरा सुन्दा तपाईँलाई अनौठो लाग्ला। तर त्यतिबेला त्यसो गर्नुबाहेक अरू कुनै उपाय नै थिएन। कानुनले नै काला जाति र गोरा जाति सँगै बस्नु गैरकानुनी ठहर गरेको थियो। सँगै बसेको खण्डमा हिंसात्मक आक्रमण हुन सक्ने खतरा पनि थियो। काला र गोरा जाति सँगै भेला भएको खण्डमा राज्यभवनलाई नै ध्वस्त पारिदिन सक्ने खतरा थुप्रै ठाउँमा थियो। त्यस्ता घटनाहरू नभएका पनि होइनन्‌। गोरा जातिहरू बस्ने इलाकामा काला साक्षीहरूले घर-घर प्रचार गरेमा तिनीहरूलाई गिरफ्तार गरिन्थ्यो र प्रायजसो अवस्थामा कुटपिट गरिन्थ्यो। त्यसैले विना कुनै अवरोध प्रचार गर्न हामी नियम पालन गर्थ्यौँ। अनि भविष्यमा अवस्था राम्रो होला भन्‍ने आशा गर्थ्यौँ।

हाम्रो प्रचारकार्य त्यति सजिलो थिएन। काला जातिहरूको इलाकामा प्रचार गर्दा कहिलेकाहीँ हामी झुक्किएर गोराहरूको ढोका ढकढक्याउन पुग्थ्यौँ। त्यसो भइहालेको खण्डमा बाइबलको सन्देश छोटकरीमा बताउने कि माफी मागेर त्यहाँबाट गइहाल्ने भनेर उत्तिखेरै निर्णय गर्नुपर्थ्यो। कुनै-कुनै ठाउँमा हामीले त्यस्तै अनुभव गऱ्‍यौँ।

हुनत हामी अग्रगामी सेवा गर्दै थियौँ तर जीविका चलाउन खटिएर काम पनि गर्नुपर्थ्यो। हामीले गरेका प्रायजसो काममा तलब थोरै हुन्थ्यो। ग्लोरियाले दुइ-तीन ठाउँमा घरायसी काम गर्थिन्‌। एउटा ठाउँमा मलाई पनि सँगै काम गर्न अनुमति दिइएको थियो, जसले गर्दा उनले आधी समयमा काम भ्याउन सक्थिन्‌। काम गर्ने ठाउँमा हामीलाई खाना पनि दिन्थे अनि ग्लोरिया र म सँगै खाएर फर्कन्थ्यौँ। हरेक हप्ता ग्लोरिया एउटा घरमा कपडाहरू इस्त्री गर्न जान्थिन्‌। म आँगन सफा गर्थेँ, झ्यालहरू पुछ्‌थेँ अनि सानोतिनो कामहरू गर्थेँ। एउटा गोरा परिवारको घरमा हामी दुवै जना झ्याल सफा गर्थ्यौँ—ग्लोरिया भित्रबाट पुछ्‌थिन्‌, मचाहिँ बाहिरबाट। त्यो काम सिध्याउन दिनभरि लाग्थ्यो। त्यसैले हामीलाई दिउँसोको खाना पनि दिइन्थ्यो। ग्लोरिया घरभित्रै खान्थिन्‌ तर त्यो परिवारसँगै त होइन। म भने बाहिर ग्यारेजमा बसेर खान्थेँ। तर मलाई नमज्जा लाग्दैनथ्यो किनभने खाना मीठो हुन्थ्यो। परिवार पनि राम्रो थियो। तर त्यतिबेला व्याप्त जातीय विभेदले गर्दा मात्र तिनीहरूले त्यस्तो व्यवहार गरेका थिए। एक चोटि गाडीमा पेट्रोल भरिसकेपछि मैले त्यो पेट्रोल पम्पमा काम गर्ने मान्छेलाई ग्लोरियाले ट्‌वाइलेट प्रयोग गर्न मिल्छ कि भनेर सोधेको थिएँ। तर उसले रिसाएर मतिर हेर्दै भन्यो, “बन्द छ।”

कहिल्यै बिर्सन नसक्ने दयालु व्यवहारहरू

साक्षी भाइबहिनीसित समय बिताउँदा भने एकदम रमाइलो हुन्थ्यो र हामीलाई प्रचारकार्य पनि मन पर्थ्यो। सुरुमा पाइन ब्लफ आउँदा हामी एक जना भाइको घरमा बसेका थियौँ। अहिले एल्डरहरूको निकायको संयोजकले गर्ने जिम्मेवारी उनले पूरा गरिरहेका थिए। उनकी श्रीमती यहोवाको साक्षी थिइनन्‌। श्रीमतीसित ग्लोरियाले बाइबल अध्ययन गर्न थालिन्‌। त्यस दौडान मैले उनीहरूको छोरी र ज्वाइँसित अध्ययन गर्न थालेँ। पछि आमा र छोरी दुवैले यहोवाको सेवा गर्ने निर्णय गरेर बप्तिस्मा गरे।

गोराहरूको मण्डलीमा पनि हामीलाई असाध्यै माया गर्ने भाइबहिनीहरू थिए। तिनीहरू हामीलाई खाना खान बोलाउँथे। तर अँध्यारो भइसकेपछि अरूले नदेख्ने गरी सुटुक्क जानुपर्थ्यो। त्यतिबेला कु क्लक्स क्लान * भनिने एउटा सङ्‌गठन एकदमै सक्रिय थियो। तिनीहरू जातीय विभेद र हिंसालाई बढावा दिन्थे। एक चोटि हालोविन उत्सवको बेला एक जना मानिस आफ्नो घरबाहिर बसिरहेका थिए। तिनले कु क्लक्स क्लानका सदस्यहरूले लगाउने जस्तै सेतो पहिरन लगाएका थिए। यस्तो अवस्थामा पनि भाइबहिनीले हामीप्रति दयालु व्यवहार देखाउन छोडेनन्‌। गर्मी महिनातिरको कुरा हो, एक चोटि हामीलाई अधिवेशनमा जान पैसाको खाँचो परिरहेको थियो। हामी अधिवेशन जान सकौँ भनेर एक जना भाइ हाम्रो फोर्ड गाडी किन्‍न राजी भए। त्यसको एक महिनापछि चर्को घाममा हिँड्‌दै घर-घरको प्रचार अनि बाइबल अध्ययनहरू गरेर फर्कँदा हामीलाई असाध्यै थकाइ लागिरहेको थियो। घर पुग्दा त हामी तीनछक पऱ्‍यौँ। हामीले बेचिसकेको गाडी हाम्रै घरअगाडि थियो। अनि अगाडिको सिसामा एउटा सानो चिठी पनि थियो। त्यसमा यस्तो लेखिएको थियो: “तपाईंको गाडी लिनुहोस्‌, यो मेरो तर्फबाट उपहार हो। तपाईँको भाइ।”

भाइबहिनीले गर्नुभएको अर्को दयालु कामले पनि ममा गहिरो छाप पाऱ्‍यो। सन्‌ १९६२ मा मैले न्यु योर्कको साउथ लान्सिङमा आयोजना हुन लागेको राज्य सेवा स्कुलको निम्तो पाएँ। यो स्कुलले मण्डलीमा नेतृत्व लिनेहरू, क्षेत्रीय निरीक्षकहरू र जिल्ला निरीक्षकहरूलाई एक महिनासम्म तालिम दिने थियो। तर त्यो निम्तो पाएको बेला म बेरोजगार थिएँ अनि पैसाको निकै अभाव थियो। त्यही बेला पाइन ब्लफको एउटा टेलिफोन कम्पनीमा मैले जागिरको लागि अन्तरवार्ता दिएको थिएँ। त्यो जागिर पाएको भए त्यस कम्पनीमा काम गर्ने कालो जातिको पहिलो मानिस म नै हुने थिएँ। मेरो जागिर पक्का भयो भनेर कम्पनीले मलाई खबर गऱ्‍यो। म निकै दोधारमा परेँ। न्यु योर्कसम्म यात्रा गर्न मसित पैसा थिएन। त्यसैले जागिरको प्रस्ताव स्विकारेर स्कुल नजाने विचार गरेँ। स्कुलको निम्तो स्विकार्न सक्दिनँ भनेर चिठी लेख्ने तरखरसमेत मैले गरिसकेको थिएँ। तर एउटा यस्तो घटना घट्यो, जुन म कहिल्यै बिर्सन सक्दिनँ।

हाम्रो मण्डलीको एउटी बहिनीले एकाबिहानै ढोका ढकढक्याउनुभयो अनि मेरो हातमा एउटा खाम थमाइदिनुभयो। त्यो खाममा टन्‍नै पैसा थियो। उहाँको श्रीमान्‌ यहोवाको साक्षी हुनुहुन्‍न थियो। उहाँ र उहाँका साना छोराछोरीहरू बिहान सबेरै खेतमा गएर कपासको बोटको बीच-बीचमा भएको झार उखेल्ने काम गर्नुभएको रहेछ। न्यु योर्कसम्म यात्रा गर्ने मेरो खर्च जुटाउन उहाँहरूले त्यसो गर्नुभएको रहेछ। उहाँले मलाई यसो भन्‍नुभयो: “तपाईँ स्कुलमा गएर भरपुर तालिम लिनुहोस्‌ अनि आएर हामीलाई सिकाउनुहोस्‌!” पछि मैले टेलिफोन कम्पनीमा फोन गरेँ अनि पाँच हप्तापछि काम सुरु गर्न मिल्छ कि भनेर सोधेँ। उनीहरूले ठाडै यसो भने: “हुँदैन!” तर मलाई केही फरक परेन। मैले निर्णय गरिसकेको थिएँ। त्यो जागिर नखाएकोमा मलाई कुनै पछुतो छैन!

पाइन ब्लफमा छँदा हामीले बिताएको समयबारे ग्लोरिया यसो भन्छिन्‌: “मलाई त्यो इलाका असाध्यै प्यारो लाग्यो! मेरो १५/२० जना बाइबल विद्यार्थीहरू थिए। हामी बिहानतिर घर-घरको प्रचार जान्थ्यौँ अनि दिनभरि बाइबल अध्ययन सञ्चालन गर्थ्यौँ। कहिलेकाहीँ त राती ११ बज्थ्यो! प्रचारको काम साँच्चै रमाइलो थियो। त्यो काम सधैँ गरिरहन पाए हुन्थ्यो जस्तो लाग्थ्यो। नढाँटी भन्‍नुपर्दा मलाई त्यो काम छोडेर परिभ्रमण कार्यमा जान मन थिएन। तर यहोवाको इच्छा अर्कै थियो।” हो, यहोवाले हाम्रो लागि अर्कै कुरा सोच्नुभएको थियो।

परिभ्रमण कार्य गर्दा

पाइन ब्लफमा अग्रगामी सेवा गरिरहेको बेला हामीले विशेष अग्रगामीको रूपमा सेवा गर्न आवेदन भऱ्‍यौँ। हाम्रो आवेदन स्वीकृत हुनेछ भन्‍ने निकै आशा गरेका थियौँ। किनकि हाम्रो जिल्ला निरीक्षक हामीले टेक्सस राज्यको एउटा मण्डलीमा विशेष अग्रगामीको रूपमा सेवा गरेको चाहनुहुन्थ्यो। यो कुरा सुन्दा हामी पनि खुसी थियौँ। त्यसैले सोसाइटीको जवाफ पर्खँदै बस्यौँ तर कुनै जवाफ आएन। बल्ल एक दिन चिठी आयो। हामीलाई परिभ्रमण कार्यमा पो खटाइयो! त्यो सन्‌ १९६५, जनवरी महिनाको कुरा थियो। त्यही समयतिर भाइ लिओन विभर क्षेत्रीय निरीक्षक नियुक्‍त हुनुभयो। उहाँ अहिले अमेरिका बेथेलको शाखा समितिको संयोजकको रूपमा सेवा गर्दै हुनुहुन्छ।

क्षेत्रीय निरीक्षकको काम गर्न मलाई डर लागिरहेको थियो। त्यसको एक वर्षजति अगाडि जिल्ला निरीक्षक भाइ जेम्स ए. थम्पसनले मेरो योग्यताहरू केलाउनुभएको थियो। मैले सुधार्न सक्ने केही क्षेत्रहरूबारे उहाँले मलाई मायालु ढङ्‌गमा सम्झाउनुभएको थियो। अनि राम्रो क्षेत्रीय निरीक्षक बन्‍न के कस्ता योग्यताहरू चाहिन्छ भनेर बताउनुभएको थियो। उहाँको सल्लाह कत्ति उपयोगी थियो भनेर मैले क्षेत्रीय निरीक्षकको काम थालेको धेरै समय नबित्दै महसुस गरेँ। क्षेत्रीय निरीक्षक नियुक्‍त भएपछि मैले सँगै सेवा गरेको पहिलो जिल्ला निरीक्षक भाइ थम्पसन हुनुहुन्थ्यो। उहाँ एकदम वफादार आध्यात्मिक व्यक्‍ति हुनुहुन्थ्यो र मैले उहाँबाट धेरै कुरा सिकेँ।

वफादार आध्यात्मिक भाइहरूले दिनुभएको मदत म कहिल्यै बिर्सँदिनँ

त्यतिबेला क्षेत्रीय निरीक्षकहरूलाई खासै तालिम दिइँदैनथ्यो। म एक जना क्षेत्रीय निरीक्षकसँग एउटा मण्डलीको भ्रमण गर्न गएँ र उहाँले हप्ताभरि के-के गर्नुहुँदो रहेछ भनेर ध्यान दिएर हेरेँ। त्यसपछिको हप्ता भने अर्को मण्डलीमा भ्रमण गर्दा मैले के गर्दो रहेछु भनेर उहाँले हेर्नुभयो। उहाँले मलाई सुझाव र निर्देशनहरू दिनुभयो। तर त्यसपछि भने हामी एक्लै भ्रमणमा गयौँ। मैले ग्लोरियालाई यसो भनेको थिएँ, “उहाँले अहिले नै हामीलाई छोडेर नगए पनि हुन्थ्यो नि!” तर समय बित्दै जाँदा मैले एउटा महत्त्वपूर्ण कुरा बुझेँ: यदि तपाईँ अरूको मदत स्विकार्न इच्छुक हुनुहुन्छ भने तपाईँलाई मदत गर्न चाहने राम्रा भाइहरू सधैँ हुनेछन्‌। त्यस्ता अनुभवी भाइहरूको मदत म कहिल्यै बिर्सन सक्दिनँ। जस्तै, त्यतिबेला परिभ्रमण निरीक्षकको रूपमा सेवा गर्नुभएका जे. आर. ब्राउन र बेथेल परिवारका सदस्य फ्रेड रस्क।

त्यतिबेला जातीय विभेद चर्किरहेको थियो। एक चोटि टेनिसी राज्यको एउटा सहरमा जाँदा कु क्लक्स क्लानका सदस्यहरूले त्यहाँ जुलुस निकालिरहेका थिए। अर्को एउटा घटना पनि मलाई याद छ। प्रचार गर्दै गर्दा हामी भाइबहिनीहरू एकछिन आराम गर्न एउटा रेस्टुरेन्टमा गयौँ। म ट्‌वाइलेट जाँदा एक जना मानिसले मलाई पछ्याइरहेको याद गरेँ। ऊ हेर्दै रिसाहा देखिन्थ्यो अनि गोरा जातिलाई उत्कृष्ट ठानेको देखिने टाटु पनि उसको जीउमा खोपिएको थियो। तर म र मलाई पछ्याइरहेको मान्छेभन्दा पनि ठूलो ज्यान भएको एक जना भाइ हाम्रो पछि-पछि आउनुभयो। उहाँ गोरा जातिको हुनुहुन्थ्यो। उहाँले मलाई सोध्नुभयो, “सबै ठीकठाक छ, भाइ हर्ड?” मलाई पछ्याइरहेको त्यो मानिस ट्‌वाइलेट पनि नगई फर्कियो। वर्षौँको दौडान अनुभव गरेका विभिन्‍न कुराहरूले गर्दा मैले के बुझेँ भने पूर्वाग्रह भनेको छालाको रङले गर्दा होइन तर हामी सबैमा भएको आदमको पापले गर्दा हुने रहेछ। अनि छालाको रङ जस्तोसुकै होस्‌, हाम्रो आध्यात्मिक भाइ भनेको हाम्रो भाइ नै हो र परेको खण्डमा हाम्रो लागि ज्यान दिनसमेत तयार हुनेछ।

पछि धनी भएँ

हामीले परिभ्रमण कार्यमा ३३ वर्ष बितायौँ। त्यसमध्ये अन्तिम २१ वर्षचाहिँ जिल्ला निरीक्षकको रूपमा सेवा गऱ्‍यौँ। ती इनामदायी, अर्थपूर्ण वर्षहरू थिए र हामीले थुप्रै मीठा अनुभवहरू सङ्‌गाल्यौँ। तर हामीले अर्को एउटा इनाम पनि पाउनेवाला थियौँ। हाम्रो पहिलादेखिको सपना अगस्त १९९७ मा पूरा भयो। हामीले पहिलो चोटि आवेदन भरेको लगभग ३८ वर्षपछि हामीलाई अमेरिका बेथेलमा सेवा गर्न बोलाइयो। निम्तो पाएको एक महिनापछि नै बेथेल सेवा सुरु गऱ्‍यौँ। बेथेलका जिम्मेवार भाइहरूले केही समयको लागि मात्र मलाई बोलाउनुभएको होला जस्तो लाग्यो। तर कुरा त्यस्तो होइन रहेछ।

विवाह गर्दा ग्लोरिया मलाई सुन्दर रत्नजस्तै लाग्थ्यो अनि आज पनि त्यस्तै लाग्छ

बेथेलमा आएपछि सुरुमा मलाई सेवा विभागमा खटाइयो। त्यहाँ काम गर्दा मैले धेरै कुरा सिकेँ। त्यहाँका भाइहरूले देशभरिका एल्डरहरूको निकाय र क्षेत्रीय निरीक्षकहरूले सोध्ने जटिल तथा संवेदनशील प्रश्‍नहरूको जवाफ दिनुपर्ने हुन्छ। मलाई भाइहरूले निकै धैर्य गरेर सिकाउनुभयो र विभिन्‍न मदत दिनुभयो। तर मलाई फेरि सेवा विभागमा काम गर्न खटाइयो भने मैले सिक्नुपर्ने पर्ने कुरा अझ कत्ति हुन्छ होला।

ग्लोरिया र मलाई बेथेल जीवन असाध्यै मन पर्छ। हामी पहिलादेखि नै बिहान सबेरै उठ्‌थ्यौँ। यसले गर्दा बेथेलमा सजिलो भएको छ। बेथेलमा सेवा गर्न थालेको एक वर्षजति पछि मैले यहोवाका साक्षीहरूको परिचालक निकायको सेवा समितिको सहयोगीको रूपमा काम गर्न थालेँ। सन्‌ १९९९ मा म परिचालक निकायको सदस्य नियुक्‍त भएँ। यस असाइन्मेन्टको सिलसिलामा मैले धेरै कुरा सिकेको छु। तर मैले सिकेको सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो: ख्रीष्टियन मण्डलीको शिर कुनै मानिस होइन, येशू ख्रीष्ट नै हुनुहुन्छ।

सन्‌ १९९९ देखि मैले परिचालक निकायमा सेवा गर्ने सुअवसर पाएको छु

आफ्नो जीवनलाई फर्केर हेर्दा म पनि भविष्यवक्‍ता आमोसले जस्तै महसुस गर्छु। यहोवाले ती नम्र गोठालोलाई याद गर्नुभयो। तिनी अञ्जीरका रूखहरू छिवल्थे। यो मौसमी काम थियो र मानिसहरू यो कामलाई तुच्छ नजरले हेर्थे। त्यतिबेलाका मानिसहरू अञ्जीर भनेको गरिबको खानेकुरा हो भन्‍ने सोचाइ राख्थे। परमेश्‍वरले आमोसलाई भविष्यवक्‍ता नियुक्‍त गर्नुभयो र प्रचुर मात्रामा आशिष्‌ बर्साउनुभयो। (आमो. ७:१४, १५, NRV) म पनि इन्डियाना राज्यको लिबर्टी सहरको गरिब किसानको छोरा थिएँ। अनि यहोवाले मलाई पनि याद गर्नुभयो। उहाँले मलाई यति धेरै आशिष्‌ बर्साउनुभएको छ कि सबै बताइरहन सम्भवै छैन! (हितो. १०:२२) म गरिब परिवारमा जन्मिएँ तर अहिले आध्यात्मिक रूपमा धनी भएको छु। यति धेरै आध्यात्मिक धनसम्पत्ति पाऊँला भनेर मैले कल्पनासमेत गरेको थिइनँ!

[फुटनोट]

^ अनु. 25 Ku Klux Klan (KKK)