सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँलाई कसले चिनेको चाहनुहुन्छ?

तपाईँलाई कसले चिनेको चाहनुहुन्छ?

“तिमीहरूले परमेश्‍वरको नामको निम्ति देखाएको प्रेम अनि कामलाई बिर्सन उहाँ अन्यायी हुनुहुन्‍न।”—हिब्रू ६:१०.

गीत: ३९, ३०

१. हामी सबैको स्वाभाविक चाहना के हो?

तपाईँले चिन्‍ने र आदर गर्ने व्यक्‍तिले तपाईँको नाम बिर्सिए भने तपाईँलाई कस्तो लाग्छ? झन्‌ तपाईँलाई चिन्दै चिनेनन्‌ भने नि? तपाईँलाई पक्कै नरमाइलो लाग्छ। किन? किनभने अरूले हामीलाई चिनेको चाहनु स्वाभाविक हो। मानिसहरूले हामीलाई चिनेको मात्र होइन तर हामी कस्तो किसिमको मानिस हौँ भनेर थाह पाएको र हामीले हासिल गरेका उपलब्धिहरूको कदर गरेको चाहन्छौँ।—गन्ती ११:१६; अय्यू. ३१:६.

२, ३. अरूले हाम्रो कदर गरून्‌ भन्‍ने चाहना कसरी विकृत हुन सक्छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

हुनत अरूले हाम्रो कदर गरेको चाहनु स्वाभाविक हो तर हाम्रो त्रुटिपूर्ण अवस्थाले गर्दा यस्तो चाहना पनि असन्तुलित र विकृत हुन सक्छ। यसले हामीलाई गलत तरिकाहरू अपनाउन उक्साउन सक्छ। सैतानको संसारले हामीमा प्रख्यात हुने र अरूको तारिफ खोज्ने चाहना बढाइदिन्छ। यस्तो ख्याति हासिल गर्ने दौडधूपमा लाग्यौँ भने स्वर्गमा हुनुहुने हाम्रो बुबा यहोवा परमेश्‍वरलाई मात्र महिमा र उपासना गर्नदेखि हामी चुक्नेछौँ।—प्रका. ४:११.

येशूको समयका केही धर्मगुरुहरूले अरूबाट चिनिने सन्दर्भमा गलत दृष्टिकोण राखेका थिए। येशूले आफ्ना चेलाहरूलाई यस्तो चेतावनी दिनुभयो: “शास्त्रीहरूदेखि होसियार बस, जो लामा-लामा लुगा लगाएर घुमफिर गर्न मन पराउँछन्‌, बजारहरूमा विशेष अभिवादन गरेको चाहन्छन्‌, सभाघरहरूमा सबैभन्दा अगाडि बस्न रुचाउँछन्‌, रात्रि-भोजहरूमा मुख्य-मुख्य आसन खोज्छन्‌।” उहाँले अझै यसो भन्‍नुभयो: “यिनीहरूले चर्को दण्ड भोग्नेछन्‌।” (लूका २०:४६, ४७) अर्कोतर्फ, येशूले एक जना गरिब विधवाको प्रशंसा गर्नुभयो, जसले खसालेको थोरै भेटी सायद अरूले याद गरेका थिएनन्‌। (लूका २१:१-४) हो, येशूको दृष्टिकोण अरूको भन्दा निकै फरक थियो। यस लेखबाट हामी सही दृष्टिकोण अर्थात्‌ यहोवाले स्विकार्नुहुने दृष्टिकोण राख्न मदत पाउनेछौँ।

हाम्रो लागि सबैभन्दा ठूलो सम्मान

४. हामीलाई कसले चिनेको चाहनु सबैभन्दा बुद्धिमानी हो र किन?

हामीलाई कसले चिनेको चाहनु सबैभन्दा बुद्धिमानी हो? मानिसहरू शैक्षिक क्षेत्र, व्यापार जगत्‌ अनि मनोरञ्जन जगत्‌मा नाम र प्रतिष्ठा खोज्छन्‌। तर पावलले सबैभन्दा ठूलो चिनारीबारे यसरी बताए: “अहिले तिमीहरूले परमेश्‍वरलाई चिनेका छौ, अझ भन्‍ने हो भने परमेश्‍वरले तिमीहरूलाई चिन्‍नुभएको छ; तैपनि तिमीहरू किन व्यर्थ अनि मूल्यहीन आधारभूत कुराहरूतर्फ फर्कन्छौ र फेरि त्यसैको दास बन्‍न खोज्छौ?” (गला. ४:९) ब्रह्‍माण्डको सर्वोच्च शासक यहोवा ‘परमेश्‍वरबाट चिनिनु’ हाम्रो लागि कत्ति ठूलो सम्मान! उहाँ हामीसँग घनिष्ठ सम्बन्ध गाँस्न चाहनुहुन्छ। एक शास्त्रविद्‌अनुसार “उहाँ हामीलाई विशेष अनुग्रह देखाउनुहुन्छ।” हो, यहोवाको साथी बन्‍न सकौँ भनेर नै उहाँले हामीलाई सृष्टि गर्नुभएको हो।—उप. १२:१३, १४.

५. यहोवाबाट चिनिन हामीले के गर्नुपर्छ?

मोशाले यहोवाबाट चिनिने सम्मान पाए। तिनले यहोवालाई उहाँको मार्ग देखाइदिनुहोस्‌ भनेर बिन्ती गर्दा उहाँले यसो भन्‍नुभयो: “तैंले भनेकै कुरो म गर्नेछु, किनकि तैंले मेरो दृष्टिमा निगाह पाएको छस्‌, र मैले तँलाई नावैले चिनेको छु।” (प्रस्थ. ३३:१२-१७) यहोवाले हामीलाई व्यक्‍तिगत रूपमा चिन्‍नुहुँदा हामीले पनि थुप्रै आशिष्‌हरू पाउनेछौँ। तर यहोवाबाट चिनिन हामीले के गर्नुपर्छ? उहाँलाई प्रेम गर्नुपर्छ र उहाँलाई आफ्नो जीवन समर्पण गर्नुपर्छ।—१ कोरिन्थी ८:३ पढ्‌नुहोस्‌।

६, ७. कस्तो कुराले यहोवासँगको हाम्रो सम्बन्ध बिग्रन सक्छ?

हामीले स्वर्गमा हुनुहुने हाम्रो बुबासँगको अमूल्य सम्बन्धलाई जोगाइ राख्नुपर्छ। पावलले गलातीका ख्रीष्टियनहरूलाई यस संसारका “व्यर्थ अनि मूल्यहीन आधारभूत कुराहरू”-को दास नबन्‍न सल्लाह दिए। (गला. ४:९) त्यसरी नै, हामी पनि ती व्यर्थ कुराहरूको दास बन्‍नु हुँदैन र संसारले दिने सफलता र ख्यातिको पछि लाग्नु हुँदैन। ती प्रथम शताब्दीका ख्रीष्टियनहरूले परमेश्‍वरलाई चिनेका थिए अनि परमेश्‍वरले पनि तिनीहरूलाई चिन्‍नुभएको थियो। तर पावलले बताएअनुसार ती भाइहरू फेरि ‘व्यर्थका कुराहरूतर्फ फर्किरहेका’ थिए। पावलले वास्तवमा तिनीहरूलाई यस्तो प्रश्‍न सोधिरहेका थिए: “पहिला त्यागिसकेका तुच्छ र अर्थहीन कुराहरूतिर तिमीहरू किन फर्कन्छौ?”

के आज हामीलाई पनि यस्तै हुन सक्छ? हुन सक्छ। सुरुमा यहोवालाई चिन्‍न थाल्दा पावलले जस्तै हामीले पनि संसारले दिने सफलता र ख्याति त्यागेका हौँला। (फिलिप्पी ३:७, ८ पढ्‌नुहोस्‌) सायद हामीले उच्च शिक्षा हासिल गर्ने, जागिरमा ठूलो ओहोदा पाउने अथवा व्यापार-व्यवसायमा अझ धेरै पैसा कमाउने अवसरहरूलाई त्याग्यौँ। सङ्‌गीत वा खेलकुदमा हामीसित भएको विशेष खुबीले गर्दा नाम-दाम कमाउन सक्थ्यौँ होला। तर हामीले यी सबै कुराहरूलाई त्याग्यौँ। (हिब्रू ११:२४-२७) त्यस्तो निर्णय गरेकोमा अहिले पछुताउँदै ‘मैले सुनौलो मौकाहरू गुमाएँ!’ भनेर सोच्नु साह्रै मूर्खतापूर्ण हुनेछ। त्यस्तो सोचाइले गर्दा पहिले “व्यर्थ र मूल्यहीन” ठानेका कुराहरूको पछि लाग्न केही बेर लाग्दैन। *

आफ्नो सङ्‌कल्पलाई अझ बलियो बनाउनुहोस्‌

८. यहोवाबाट चिनिने आफ्नो सङ्‌कल्पलाई हामी कसरी अझ बलियो बनाउन सक्छौँ?

संसारबाट होइन, यहोवाबाट चिनिने आफ्नो सङ्‌कल्पलाई हामी कसरी अझ बलियो बनाउन सक्छौँ? यसो गर्न हामीले दुइटा महत्त्वपूर्ण सत्यलाई कहिल्यै बिर्सनु हुँदैन। पहिलो, विश्‍वासी भई यहोवाको सेवा गर्नेहरूको उहाँ सधैँ कदर गर्नुहुन्छ। (हिब्रू ६:१० पढ्‌नुहोस्‌; हिब्रू ११:६) उहाँ आफ्ना प्रत्येक विश्‍वासी सेवकको गहिरो मोल गर्नुहुन्छ अनि तिनीहरूमध्ये कसैलाई पनि बिर्सनु उहाँको नजरमा ‘अन्याय’ हो। यहोवा सधैँ “आफ्ना जतिलाई चिन्‍नुहुन्छ।” (२ तिमो. २:१९) उहाँ “धर्मात्माको मार्ग जान्‍नुहुन्छ” अनि तिनीहरूलाई परीक्षाबाट कसरी जोगाउने भनेर उहाँलाई थाह छ।—भज. १:६; २ पत्रु. २:९.

९. यहोवाले आफ्ना जनहरूलाई कसरी अनुमोदन देखाउनुभएको छ, उदाहरण दिनुहोस्‌।

कुनै-कुनै अवस्थामा, यहोवाले आफ्ना जनहरूलाई उल्लेखनीय तरिकामा अनुमोदन देखाउनुभएको छ। (२ इति. २०:२०, २९) उदाहरणको लागि, फिरऊनको शक्‍तिशाली सेनाले लखेट्‌दा यहोवाले आफ्ना जनहरूलाई लाल समुद्रमा बचाउनुभयो। (प्रस्थ. १४:२१-३०; भज. १०६:९-११) यो घटना यत्ति अचम्मको थियो कि ४० वर्षपछि पनि त्यहाँका मानिसहरूले यसबारे कुरा गरिरहेका थिए। (यहो. २:९-११) विगतमा यहोवाले आफ्ना जनहरूप्रति प्रेम प्रकट गर्नुभएको र तिनीहरूको खातिर आफ्नो शक्‍ति प्रयोग गर्नुभएको विवरण सम्झँदा हामी निकै प्रोत्साहन पाउँछौँ। किनभने चाँडै हामीलाई पनि मागोगको गोगले आक्रमण गर्नेछ भनेर पहिल्यै भविष्यवाणी गरिएको थियो। (इज. ३८:८-१२) त्यतिबेला, संसारबाट नभई यहोवाबाट चिनिन प्रयास गर्नु कत्ति बुद्धिमानी थियो भनेर हामीले महसुस गर्नेछौँ।

१०. हामीले बिर्सन नहुने दोस्रो सत्य के हो?

१० हामीले बिर्सन नहुने दोस्रो महत्त्वपूर्ण सत्य हो: कहिलेकाहीँ हामीले आसै नगरेको तरिकामा यहोवा हामीलाई चिनेको देखाउनुहुन्छ। मानिसहरूले देखून्‌ भनेर मात्र राम्रो काम गर्नेहरूले यहोवाबाट कुनै इनाम पाउनेछैनन्‌। किन? किनभने अरू मानिसहरूबाट प्रशंसा पाउँदा तिनीहरूले आफ्नो इनाम पाइसकेका हुन्छन्‌ भनेर येशूले बताउनुभयो। (मत्ती ६:१-५ पढ्‌नुहोस्‌) अरूको लागि असल काम गरेबापत इनाम नपाउनेहरूबारे हामी के भन्‍न सक्छौँ? येशूले भन्‍नुभएजस्तै “सबै कुरा देख्नुहुने” बुबाले तिनीहरूको काम याद गर्नुहुन्छ र त्यसैअनुसार इनाम दिनुहुन्छ। कुनै-कुनै बेला यहोवाले हामीलाई आसै नगरेको तरिकामा इनाम दिनुहुन्छ। केही उदाहरणहरू विचार गरौँ।

एउटी युवतीले आसै नगरेको तरिकामा यहोवाबाट चिनिने सुअवसर पाउँछिन्‌

११. यहोवाले मरियमलाई चिनेको कुरा कसरी देखाउनुभयो?

११ जब परमेश्‍वरको छोरा मानिसको रूपमा जन्मनुपर्ने बेला भयो, तब यहोवाले यस विशेष सन्तानकी आमा बन्‍न मरियम नाम गरेकी एउटी कन्यालाई छान्‍नुभयो। मरियम नासरत भन्‍ने एउटा सानो सहरमा बस्थिन्‌, जुन यरूशलेम सहर र त्यहाँ भएको भव्य मन्दिरबाट टाढा पर्थ्यो। (लूका १:२६-३३ पढ्‌नुहोस्‌) यहोवाले मरियमलाई नै किन छान्‍नुभयो? गब्रिएल स्वर्गदूतले मरियमकहाँ आएर यसो भने: “तिमीले परमेश्‍वरको निगाह पाएकी छ्यौ।” मरियमले पछि आफ्नो नातेदार इलीशिबासँग गरेको कुराकानीबाट यहोवासित तिनले घनिष्ठ सम्बन्ध गाँसेको देखिन्छ। (लूका १:४६-५५) हो, यहोवाले मरियमलाई नियालेर हेरिरहनु भएको थियो अनि तिनी वफादार भएकोले आसै नगरेको सुअवसर पाइन्‌।

१२, १३. येशू जन्मनुहुँदा र उहाँलाई ४० दिनपछि मन्दिर लगिँदा यहोवाले येशूलाई चिनेको कुरा कसरी देखाउनुभयो?

१२ मरियमले येशूलाई जन्म दिएको कुरा यहोवाले यरूशलेम र बेतलेहेमका ठूलठूला अख्तियारवाला वा शासकहरूलाई थाह दिनुभएन। बेतलेहेम सहरबाहिर चौरमा बगालको हेरचाह गरिरहेका गोठालाहरूकहाँ स्वर्गदूतहरू देखा परे। (लूका २:८-१४) त्यसपछि ती गोठालाहरू भर्खर जन्मिएको शिशुलाई भेट्‌न गए। (लूका २:१५-१७) येशूको त्यसरी सम्मान गरिएकोमा मरियम र यूसुफ कत्ति छक्क परे होलान्‌! यहोवाको काम गर्ने तरिका र दियाबलको काम गर्ने तरिका कत्ति फरक! सैतानले ज्योतिषीहरूलाई येशू र उहाँको परिवारलाई भेट्‌न पठाउँदा सारा यरूशलेमले येशू जन्मनुभएको कुरा थाह पायो, जसले गर्दा त्यहाँ हलचल मच्चियो। (मत्ती २:३) यसरी येशूको जन्मबारे सबैलाई थाह दिइँदा थुप्रै निर्दोष बालकहरूले ज्यान गुमाउनुपऱ्‍यो।—मत्ती २:१६.

१३ येशू जन्मिनुभएको ४० दिनपछि मरियमले यहोवाको लागि बलिदान चढाउनुपर्थ्यो। त्यसको लागि तिनी बेतलेहेमबाट लगभग नौ किलोमिटर टाढा पर्ने यरूशलेमको मन्दिरसम्म जानुपर्थ्यो। (लूका २:२२-२४) तिनी यूसुफ र येशूसँगै यरूशलेम गइन्‌। येशूले भविष्यमा निर्वाह गर्नुहुने भूमिकाबारे पुजारीले विशेष घोषणा गर्नेछन्‌ कि भनेर मरियमले बाटोमा जाँदै गर्दा सोचिरहेकी हुन सक्थिन्‌। मन्दिरमा येशूबारे थाह त दिइयो तर सायद मरियमले आशा गरेको तरिकामा चाहिँ होइन। येशू नै प्रतिज्ञा गरिएको मसीह अर्थात्‌ ख्रीष्ट हुनुहुनेछ भनेर थाह दिन यहोवाले ‘उहाँको स्तरबमोजिम असल काम गर्ने भक्‍त’ मानिस शिमियोन र ८४ वर्षकी विधवा भविष्यवक्‍ता हन्‍नालाई चलाउनुभयो।—लूका २:२५-३८.

१४. मरियमले यहोवाबाट कस्तो आशिष्‌ पाइन्‌?

१४ मरियमबारे चाहिँ के भन्‍न सकिन्छ? मरियमले वफादार भई येशूको लालनपालन गरेकोमा के यहोवाले तिनलाई अनुमोदन देखाइरहनुभयो? हो, देखाइरहनुभयो। तिनले भनेका र गरेका कुराहरू परमेश्‍वरले बाइबलमा लेख्न लगाउनुभयो। येशूको साढे तीन वर्षको सेवाको दौडान मरियम उहाँसँगै यात्रा गर्ने अवस्थामा थिइनन्‌ जस्तो देखिन्छ। विधवा भएकीले तिनी नासरतमै बसेकी हुन सक्छिन्‌। त्यसैले अरू चेलाहरूले अनुभव गरेको थुप्रै कुरा मरियमले अनुभव गर्न पाइनन्‌ तर येशूको मृत्युको समयमा भने तिनी उहाँसँगै थिइन्‌। (यूह. १९:२६) पेन्तिकोसको चाडको दिनमा चेलाहरूमाथि पवित्र शक्‍ति खन्याइनुभन्दा अघिदेखि नै मरियम यरूशलेममा अरू चेलाहरूसित थिइन्‌। (प्रेषि. १:१३, १४) त्यसैले अरू चेलाहरूसँगै तिनी पनि अभिषेक भएकी हुनुपर्छ। यसको मतलब तिनले सधैँको लागि स्वर्गमा येशूसँगै हुने सुअवसर पाइन्‌। वफादार भई सेवा गरेकोमा कत्ति ठूलो इनाम!

यहोवाले आफ्नो छोरालाई चिनेको कुरा देखाउनुभयो

१५. आफ्नो छोरा येशू पृथ्वीमा छँदा यहोवाले उहाँलाई कसरी अनुमोदन देखाउनुभयो?

१५ येशूले आफ्नो समयका धार्मिक वा राजनैतिक नेताहरूबाट मानसम्मानको चाह गर्नुभएन। तर तीन वटा अवसरहरूमा यहोवा स्वयम्‌ले स्वर्गबाट बोल्नुभएर अनुमोदन देखाउनुहुँदा येशू कत्ति खुसी हुनुभयो होला! येशूले यर्दन नदीमा बप्तिस्मा गरेर पानीबाट निस्कने बित्तिकै यहोवाले यसो भन्‍नुभयो: “यिनी मेरो प्यारो छोरा हुन्‌, जससित म अति प्रसन्‍न छु।” (मत्ती ३:१७) यी शब्दहरू सुन्‍ने अर्को व्यक्‍ति बप्तिस्मा गराउने यूहन्‍ना मात्र थिए जस्तो देखिन्छ। येशूको मृत्यु हुनुभन्दा लगभग एक वर्षअघि यहोवाले येशूबारे भन्‍नुभएको यो कुरा उहाँका तीन जना प्रेषितहरूले सुने: “यिनी मेरो प्यारो छोरा हुन्‌, जससित म अति प्रसन्‍न छु; तिमीहरूले उनको कुरा सुन।” (मत्ती १७:५) अन्तमा, येशूको मृत्यु हुनुभन्दा केही दिनअघि यहोवाले स्वर्गबाट फेरि आफ्नो छोरासित कुरा गर्नुभयो।—यूह. १२:२८.

यहोवाले आफ्नो छोरालाई अनुमोदन देखाउनुभएको तरिकाबाट हामी के सिक्न सक्छौँ? (अनुच्छेद १५-१७ हेर्नुहोस्‌)

१६, १७. यहोवाले येशूलाई कसरी आसै नगरेको तरिकामा अनुमोदन देखाउनुभयो?

१६ आफूलाई निन्दक भनेर दोष लगाइनेछ अनि अपमानजनक मृत्यु भोग्नुपर्नेछ भनेर थाह भए पनि येशूले आफ्नो नभई यहोवाकै इच्छा पूरा होस्‌ भनेर प्रार्थना गर्नुभयो। (मत्ती २६:३९, ४२) उहाँले संसारबाट नभई यहोवाबाट चिनिन चाहनुभयो; त्यसैले उहाँले “बेइज्जतीको समेत वास्ता नगरेर यातनाको खम्बामा मृत्यु सहनुभयो।” (हिब्रू १२:२) येशूलाई चिनेको कुरा यहोवाले कसरी देखाउनुभयो?

१७ येशूले आफू पहिला स्वर्गमा बुबासँग हुँदा पाएको महिमा फेरि पाउन चाहेको कुरा आफू पृथ्वीमा छँदा व्यक्‍त गर्नुभयो। (यूह. १७:५) बाइबल विवरण हेर्ने हो भने येशूले त्योभन्दा बढी केही आशा गर्नुभएको थिएन भनेर थाह पाउँछौँ। उहाँले स्वर्गमा फर्किसकेपछि “पदोन्‍नति”-को चाह गर्नुभएन। तर यहोवाले के गर्नुभयो? येशूले आसै नगरेको तरिकामा यहोवाले उहाँलाई अनुमोदन देखाउनुभयो। उहाँले येशूलाई पुनर्जीवित गरेर स्वर्गमा “अझ उच्च पद” दिनुभयो अनि त्यतिबेलासम्म कसैले पनि नपाएको अमर जीवन दिनुभयो। * (फिलि. २:९; १ तिमो. ६:१६) येशूले वफादार भई गर्नुभएको सेवाको कत्ति ठूलो इनाम!

१८. संसारको नभई यहोवाको अनुमोदन खोज्न हामीलाई केले मदत गर्नेछ?

१८ संसारको नभई यहोवाको अनुमोदन खोज्न हामीलाई केले मदत गर्नेछ? याद गर्नुहोस्‌, विश्‍वासी भई यहोवाको सेवा गर्नेहरूको उहाँ सधैँ कदर गर्नुहुन्छ अनि अक्सर तिनीहरूले आसै नगरेको तरिकामा इनाम दिनुहुन्छ। भविष्यमा हामीले कस्ता आशिष्‌हरू पाउँछौँ, हामीलाई थाह छैन। अहिले यस दुष्ट संसारमा हामीले चुनौती र परीक्षाहरू सामना गर्नुपर्छ तर यो संसार र यसले दिने ख्याति बितेर जाँदै छ भन्‍ने कुरा कहिल्यै नबिर्सौँ। (१ यूह. २:१७) हाम्रो मायालु बुबा यहोवाको ‘नामको निम्ति हामीले देखाएको प्रेम अनि कामलाई बिर्सन उहाँ अन्यायी हुनुहुन्‍न।’ (हिब्रू ६:१०) हो, उहाँले हामीलाई पक्कै अनुमोदन देखाउनुहुनेछ र त्यो हामीले आसै नगरेको तरिकामा पनि हुन सक्छ।

^ अनु. 7 “मूल्यहीन” भनेर अनुवाद गरिएको शब्दलाई अरू बाइबल अनुवादहरूमा “तुच्छ,” “कङ्‌गाली” र “निकम्मा” पनि भनिएको छ।

^ अनु. 17 यो आसै नगरेको आशिष्‌ हुन सक्छ किनभने हिब्रू धर्मशास्त्रमा अमरताबारे कतै उल्लेख गरिएको पाइँदैन।