सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवातर्फ को-को छन्‌?

यहोवातर्फ को-को छन्‌?

“परमप्रभु आफ्ना परमेश्‍वरको डर तिमीहरूले मान, उहाँको सेवा गर, उहाँलाई पक्रिराख।”—व्यव. १०:२०, NRV.

गीत: २८, ३२

१, २. (क) यहोवाको पक्षमा खडा हुनु किन बुद्धिमानी हो? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?

यहोवालाई पक्रिराख्नु बुद्धिमानी हो। उहाँभन्दा शक्‍तिशाली, बुद्धिमान्‌ वा मायालु अरू कोही छैन! त्यसैले हामी सबै उहाँको पक्षमा खडा हुन चाहन्छौँ नि, होइन र? (भज. ९६:४-६) तर यहोवाका कोही-कोही उपासकहरू उहाँको पक्ष लिनुपर्ने अवस्थामा कहिलेकाहीँ त्यसो गर्न चुकेका छन्‌।

यस लेखमा हामी त्यस्ता केही व्यक्‍तिहरूको उदाहरण छलफल गर्नेछौँ, जसले यहोवाको पक्षमा खडा भएको दाबी त गरे तर अर्कोतर्फ उहाँले घृणा गर्नुहुने कामहरू पनि गरिरहे। यी विवरणहरूबाट हामी महत्त्वपूर्ण पाठहरू सिक्न सक्छौँ र यसले हामीलाई यहोवाप्रति पूर्णतया वफादार रहन मदत गर्नेछ।

यहोवा मानिसको हृदय जाँच्नुहुन्छ

३. यहोवाले कयिनलाई किन चेतावनी दिनुभयो? उहाँले कयिनलाई के गर्न भन्‍नुभयो?

कयिनको घटना विचार गर्नुहोस्‌। कयिनले यहोवाबाहेक अरू देवताको उपासना गरेनन्‌। तर कयिनको उपासना यहोवालाई स्विकार्य थिएन। किनभने तिनको मनमा दुष्टताले जरा गाड्‌न थालेको थियो। (१ यूह. ३:१२) यहोवाले कयिनलाई यस्तो चेतावनी दिनुभयो: “तैंले असल गरिस्‌ भने तँ ग्रहणयोग्य हुँदैनस्‌ र? यदि तैंले असल गरेनस्‌ भनेता पाप ढोकैमा ढुकिबस्छ। त्यसको इच्छा तँप्रति हुन्छ, तर तैंले त्यसलाई अधीन गर्नै पर्छ।” (उत्प. ४:६, ७) वास्तवमा यहोवाले कयिनलाई यसो भन्दै हुनुहुन्थ्यो: “तिमीले पश्‍चात्ताप गऱ्‍यौ र दृढ भएर मेरो पक्ष लियौ भने म पनि तिम्रो पक्ष लिनेछु।”

४. यहोवाको पक्षमा खडा हुने मौका पाउँदा कयिनले के गरे?

कयिनले आफ्नो सोचाइ बदलेको मात्र भए पनि यहोवाले तिनको उपासना फेरि स्विकार्नुहुने थियो। तर कयिनले यहोवाको सल्लाह सुनेनन्‌। गलत सोचाइ र स्वार्थी चाहनाले तिनलाई गलत काम गर्ने हदसम्म पुऱ्‍यायो। (याकू. १:१४, १५) कयिनले आफू यहोवाविरुद्ध खडा होऊँला भनेर जवान छँदा कहिल्यै सोचेका थिएनन्‌ होला। तर समय बित्दै जाँदा तिनले त्यसै गरे—तिनी परमेश्‍वरविरुद्ध खडा भए र आफ्नै भाइलाई मारे!

५. कस्तो सोचाइले गर्दा हामीले यहोवाको अनुमोदन गुमाउन सक्छौँ?

कयिनजस्तै आज पनि कुनै ख्रीष्टियन एकातिर यहोवाको उपासना गरिरहेको दाबी गर्दै अर्कोतिर गलत बाटोमा हिँडिरहेका हुन सक्छन्‌। (यहू. ११) उदाहरणको लागि, तिनले मनमा अनैतिक कुराहरू खेलाइरहेका, लोभी सोचाइ राखिरहेका वा सङ्‌गी ख्रीष्टियनलाई घृणा गरिरहेका हुन सक्छन्‌। (१ यूह. २:१५-१७; ३:१५) यस्तो सोचाइले तिनलाई पाप गर्न लगाउन सक्छ। हुनत तिनी प्रचारकार्यमा सक्रिय भइरहेका र मण्डलीका सभाहरूमा नियमित रूपमा भाग लिइरहेका होलान्‌। अनि अरूलाई तिनको सोचाइ र आचरणबारे थाह नहुन पनि सक्छ। तर यहोवा सबै कुरा देख्नुहुन्छ र हामी पूरा तनमनले उहाँको पक्षमा खडा भएका छौँ कि छैनौँ, त्यो थाह पाउनुहुन्छ।यर्मिया १७:९, १० पढ्‌नुहोस्‌।

६. यहोवाको पक्षमा खडा हुन दृढ अडान लियौँ भने आफ्नो पापी झुकावलाई “अधीन”-मा राख्न उहाँ हामीलाई कसरी मदत गर्नुहुन्छ?

तर यहोवा हामीलाई तुरुन्तै त्याग्नुहुन्‍न। यदि कोही यहोवाबाट टाढा लैजाने बाटोमा हिँडिरहेको छ भने उहाँ यस्तो आग्रह गर्नुहुन्छ: “मतिर फर्क र म तिमीहरूतिर फर्कनेछु।” (मला. ३:७) आफ्नो कुनै कमजोरीविरुद्ध लड्‌न हामी सङ्‌घर्ष गर्दै छौँ भने खासगरि त्यस्तो अवस्थामा हामी दुष्टताविरुद्ध खडा भएको उहाँ चाहनुहुन्छ। (यशै. ५५:७) त्यसो गऱ्‍यौँ भने आफ्नो पापी झुकावलाई “अधीन”-मा अर्थात्‌ वशमा राख्न चाहिने आध्यात्मिक, भावनात्मक र शारीरिक बल दिएर उहाँ हाम्रो पक्षमा खडा हुनुहुनेछ।—उत्प. ४:७.

“नबहकिओ”

७. सुलेमानले यहोवासितको राम्रो सम्बन्धलाई कसरी बिगारे?

राजा सुलेमानको उदाहरणबाट पनि हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ। जवान छँदा सुलेमान यहोवाको डोऱ्‍याइअनुसार हिँडे। परमेश्‍वरले तिनलाई प्रशस्त बुद्धि दिनुभयो र यरूशलेममा भव्य मन्दिर निर्माण गर्ने जिम्मा सुम्पनुभयो। तर पछि सुलेमानले यहोवासितको मित्रता गुमाए। (१ राजा ३:१२; ११:१, २) परमेश्‍वरको व्यवस्थामा हिब्रू राजाहरूलाई यस्तो स्पष्ट निषेधाज्ञा दिइएको थियो: “राजाले आफ्नो लागि धेरै स्वास्नीहरू जम्मा नगरोस्‌, नत्रता उसको मन बरालिनेछ।” (व्यव. १७:१७) सुलेमानले यो आज्ञा पालन गरेनन्‌। तिनले ७०० जना स्त्रीसित विवाह गरे अनि ३०० जना उपपत्नी पनि ल्याए। (१ राजा ११:३) तिनका धेरैजसो पत्नीहरू इस्राएली थिएनन्‌ र झूटा देवहरूको उपासना गर्थे। विदेशी स्त्रीहरूसित बिहेबारी नगर्नू भन्‍ने परमेश्‍वरको आज्ञा पनि सुलेमानले पालन गरेनन्‌।—व्यव. ७:३, ४.

८. सुलेमान कुन हदसम्म यहोवाप्रति अनाज्ञाकारी भए?

सुलेमान बिस्तारै यहोवाप्रति अनाज्ञाकारी हुँदै गए। तर हुँदाहुँदा पछि तिनी यहोवाको नजरमा असाध्यै नराम्रा कामहरू गर्ने हदसम्म पुगे। तिनले अश्‍तारोत देवीको लागि एउटा वेदी बनाए। त्यति मात्र नभई तिनले झूटो देव कमोशको लागि पनि एउटा वेदी बनाए। आफ्ना पत्नीहरूसित मिलेर सुलेमानले ती वेदीहरूमा मूर्तिहरूको पूजा गरे। तिनले कुन हदसम्म नराम्रो काम गरे? तिनले यरूशलेममा यहोवाको मन्दिर बनाएका थिए तर यरूशलेमकै सामनेको डाँडामा तिनले झूटो देवताका वेदीहरू पनि बनाए! (१ राजा ११:५-८; २ राजा २३:१३) आफू यहोवाप्रति अनाज्ञाकारी भए पनि यरूशलेमको मन्दिरमा बलि चढाउन्जेल यहोवाले केही गर्नुहुनेछैन भन्‍ने भ्रममा सुलेमान परेका हुन सक्छन्‌।

९. परमेश्‍वरको चेतावनीलाई बेवास्ता गर्दा सुलेमानले कस्तो परिणाम भोग्नुपऱ्‍यो?

यहोवाले गलत कुरालाई कहिल्यै बेवास्ता गर्नुहुन्‍न। बाइबल यसो भन्छ: “तिनीकहाँ दुईपल्ट देखा पर्नुहुने र तिनलाई अरू देवताहरूको पछि नलाग्नू भनी कडा आज्ञा दिनुहुने . . . परमेश्‍वरदेखि तिनको मन तर्किगएको हुनाले परमप्रभु सुलेमानसँग रिसाउनुभयो। तिनले परमप्रभुको आज्ञा पालन गरेनन्‌।” परिणामस्वरूप यहोवाले सुलेमानलाई तिरस्कार गर्नुभयो र तिनलाई साथ दिन छोड्‌नुभयो। सुलेमानका उत्तराधिकारीहरूले पूरै इस्राएल राष्ट्रमाथि शासन गरिरहन पाएनन्‌ र तिनीहरूले पुस्तौँसम्म अनेकन्‌ दुःखकष्ट भोग्नुपऱ्‍यो।—१ राजा ११:९-१३.

१०. यहोवासितको हाम्रो राम्रो सम्बन्धलाई कुन कुराले बिगार्न सक्छ?

१० सुलेमानको सन्दर्भमा जस्तै हाम्रो आध्यात्मिकतालाई खतरामा पार्ने एउटा कुरा भनेको यहोवाका स्तरहरू नबुझ्ने र त्यसको आदर नगर्ने व्यक्‍तिहरूसितको मित्रता हो। तिनीहरूमध्ये कोही-कोही मण्डलीकै सदस्य होलान्‌ तर तिनीहरू आध्यात्मिक तवरमा कमजोर हुन सक्छन्‌। अरू भने यहोवाको उपासना नगर्ने हाम्रा नातेदार, छिमेकी, सहकर्मी वा स्कुलका साथीहरू हुन सक्छन्‌। जे होस्‌, यहोवाका स्तरहरूको कदर नगर्ने व्यक्‍तिहरूसित धेरै घुलमिल भयौँ भने समय बित्दै जाँदा त्यसले यहोवासितको हाम्रो राम्रो सम्बन्धलाई बिगार्न सक्छ।

तपाईँको सरसङ्‌गतले यहोवासितको सम्बन्धमा कस्तो असर पारिरहेको छ? (अनुच्छेद ११ हेर्नुहोस्‌)

११. हामी कसरी असल सङ्‌गत छान्‍न सक्छौँ?

११ पहिलो कोरिन्थी १५:३३ पढ्‌नुहोस्‌। धेरैजसो मानिसहरूसित केही न केही असल गुणहरू हुन्छन्‌। अनि यहोवाको उपासना नगरे तापनि थुप्रैले अत्यन्तै नराम्रा कामहरू त गर्दैनन्‌। यदि तपाईँले चिनेका व्यक्‍तिहरू पनि त्यस्तै छन्‌ भने के तिनीहरूलाई असल सङ्‌गत भन्‍न मिल्छ? त्यस्तो सङ्‌गतले यहोवासितको तपाईँको सम्बन्धमा कस्तो असर पार्छ भनेर आफैलाई सोध्नुहोस्‌। के तिनीहरूले यहोवासितको सम्बन्ध अझ घनिष्ठ बनाउन मदत गर्नेछन्‌? तिनीहरूको मनमा कस्ता कुराहरू भरिएका छन्‌? के तिनीहरू सधैँजसो फेसन, पैसा, इलेक्ट्रोनिक सामान, मनोरञ्जन वा अरू भौतिक सुखविलासबारे मात्र कुरा गर्छन्‌? के तिनीहरू अक्सर अरूबारे नकारात्मक टिकाटिप्पणी गर्ने वा अश्‍लील ठट्टा गर्ने गर्छन्‌? येशूले यस्तो चेतावनी दिनुभयो: “मनमा जे प्रशस्त छ, मुखले त्यही बोल्छ।” (मत्ती १२:३४) आफ्नो सरसङ्‌गतले यहोवासितको राम्रो सम्बन्धलाई बिगार्न सक्छ जस्तो लागेमा तुरुन्तै कदम चाल्नुहोस्‌! तिनीहरूसित धेरै समय नबिताउनुहोस्‌ अनि आवश्‍यक परेमा त्यस्तो मित्रता तोड्‌नुहोस्‌!—हितो. १३:२०.

आफ्नो मात्र उपासना गरिएको यहोवा चाहनुहुन्छ

१२. (क) मिश्रबाट मुक्‍त भएको केही समय नबित्दै यहोवाले इस्राएलीहरूलाई कुन कुरा स्पष्ट पार्नुभयो? (ख) यहोवाको मात्र उपासना गर्नू भन्‍ने आज्ञा सुनाइँदा इस्राएलीहरूले कस्तो प्रतिक्रिया देखाए?

१२ इस्राएलीहरू मिश्रबाट मुक्‍त भएको केही समय नबित्दै भएको घटनाबाट पनि हामी पाठ सिक्न सक्छौँ। इस्राएलीहरू सीनै पर्वतअगाडि भेला भए। त्यहाँ यहोवाले चमत्कारपूर्ण ढङ्‌गमा आफ्नो उपस्थिति प्रकट गर्नुभयो। आकाशमा कालो बादल देखियो, गड्याङगुडुङ भयो, बिजुली चम्क्यो र तुरहीको अति चर्को आवाज सुनियो। (प्रस्थ. १९:१६-१९) त्यसबेला यहोवाले इस्राएलीहरूसामु आफूलाई “डाह गर्ने परमेश्‍वर” अर्थात्‌ आफ्नो मात्र उपासना गरिएको चाहने परमेश्‍वर हुँ भनेर चिनाउनुभयो। उहाँलाई प्रेम गर्ने र उहाँको आज्ञा पालन गर्नेहरूप्रति उहाँ वफादार हुनुहुनेछ भनेर यहोवाले प्रतिज्ञा गर्नुभयो। (प्रस्थान २०:१-६ पढ्‌नुहोस्‌) वास्तवमा यहोवाले इस्राएलीहरूलाई यसो भन्दै हुनुहुन्थ्यो, “यदि तिमीहरू मेरो पक्षमा खडा भयौ भने म पनि तिमीहरूको पक्षमा खडा हुनेछु।” यहोवाले यसरी वफादार रहने प्रतिज्ञा गर्नुभएको सुन्दा तपाईँ भएको भए के गर्नुहुने थियो? ती इस्राएलीहरूले जे गरे, तपाईँले पनि पक्कै त्यसै गर्नुहुने थियो। त्यसबेला “सबै मानिसहरूले एकै सोर गरी भने, ‘परमप्रभुले भन्‍नुभएका सबै वचनहरू हामी पालन गर्छौं।’” (प्रस्थ. २४:३) तर केही समय नबित्दै इस्राएलीहरूले सोच्दै नसोचेको तरिकामा तिनीहरूको वफादारीको जाँच भयो।

१३. कस्तो अवस्थाले गर्दा इस्राएलीहरूको वफादारीको जाँच भयो?

१३ सीनै पर्वतमा परमेश्‍वरले प्रकट गर्नुभएका अचम्मलाग्दा चिन्हहरू अनि कालो बादल र बिजुली चम्किएको देखेपछि इस्राएलीहरू डराए। त्यसैले तिनीहरूले मोशालाई आफ्नो प्रवक्‍ता बनेर यहोवासित कुराकानी गरिदिन आग्रह गरे। (प्रस्थ. २०:१८-२१) मोशा लामो समयसम्म पनि पहाडको टुप्पाबाट ओर्लिएनन्‌। के अब इस्राएलीहरू आफ्नो भरपर्दो नेता सँगै नभएकोले उजाडस्थानमा अलपत्र परे? तिनीहरूले मानव नेतालाई आफ्नो भरोसाको आधार बनाएका थिए जस्तो देखिन्छ। त्यसैले तिनीहरू आत्तिए र हारूनलाई यसो भने: “हाम्रा अगिअगि जानलाई देवताहरू बनाउनुहोस्‌, किनकि हामीलाई मिश्रबाट निकालेर ल्याउने यी मोशालाई के भयो हामी जान्दैनौं!”—प्रस्थ. ३२:१, २.

१४. इस्राएलीहरू कस्तो भ्रममा परे? यहोवाले कस्तो प्रतिक्रिया देखाउनुभयो?

१४ मूर्तिपूजा गर्नु भनेको यहोवाको आज्ञाको घोर उल्लङ्‌घन गर्नु हो भनेर इस्राएलीहरूलाई थाह थियो। (प्रस्थ. २०:३-५) तर केही समय नबित्दै तिनीहरूले सुनको बाछोको उपासना गर्न थाले! तिनीहरू यहोवाप्रति अनाज्ञाकारी भएको स्पष्टै देखिन्थ्यो। तैपनि आफू यहोवाको पक्षमै खडा छु भन्‍ने भ्रममा तिनीहरू परिरहेका थिए! हारूनले त्यस बाछोको उपासनालाई “परमप्रभुको निम्ति एउटा चाड”-समेत भने। यो देख्दा यहोवालाई कस्तो लाग्यो? उहाँले आफूलाई धोका दिइएको महसुस गर्नुभयो। “मानिसहरूले आफैलाई भ्रष्ट पारे” अनि उहाँले ‘तिनीहरूलाई जुन मार्गमा हिँड्‌ने आज्ञा दिनुभएको थियो, त्यसबाट तिनीहरू अर्कोतिर लागे’ भनेर यहोवाले मोशालाई भन्‍नुभयो। यहोवाले तिनीहरूमाथि आफ्नो “क्रोध” दन्काउने र भर्खरै स्थापना भएको इस्राएल राष्ट्रलाई भस्म पार्नेसमेत विचार गर्नुभयो।—प्रस्थ. ३२:५-१०.

१५, १६. मोशा र हारूनले दृढ भई यहोवाको पक्षमा खडा भएको कसरी देखाए? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

१५ यहोवाले इस्राएलीहरूलाई भस्म नपार्ने निर्णय गर्नुभयो। उहाँ कृपालु परमेश्‍वर हुनुभएकोले आफ्ना वफादार उपासकहरूलाई दृढ भई उहाँको पक्षमा खडा हुने मौका दिनुभयो। (प्रस्थ. ३२:१४) मानिसहरू बाछोको अगाडि जे मन लाग्यो, त्यही गरिरहेका थिए—तिनीहरू कराइरहेका, गाइरहेका अनि नाचिरहेका थिए। यो देखेपछि मोशाले त्यस सुनको बाछोलाई “धूलोपीठो” पारिदिए। त्यसपछि तिनले ठूलो सोरमा यसो भने: “जो-जो परमप्रभुतर्फ छन्‌, तिनीहरू मकहाँ यता आऊन्‌।” तब “लेवीका सारा सन्तानहरूचाहिं [मोशाकहाँ] आएर भेला भए।”—प्रस्थ. ३२:१७-२०, २६.

१६ हारूनले बाछोको मूर्ति बनाएको भए तापनि पछि तिनले पश्‍चात्ताप गरे अनि लेवीहरूसँगै यहोवाको पक्षमा खडा भए। यी वफादार व्यक्‍तिहरू यहोवाको पक्षमा खडा मात्र भएनन्‌, तिनीहरूले आफू गलत काम गर्ने मानिसहरूको पक्षमा नभएको कुरा पनि स्पष्ट पारे। त्यो साँच्चै बुद्धिमानी कदम थियो किनकि मूर्तिपूजा गर्ने हजारौँ मानिसले त्यस दिन आफ्नो ज्यान गुमाए। तर यहोवाको पक्षमा खडा हुनेहरूलाई भने उहाँले आशिष्‌ दिने प्रतिज्ञा गर्नुभयो।—प्रस्थ. ३२:२७-२९.

१७. इस्राएलीहरूले सुनको बाछोलाई पूजा गरेको घटनाबारे पावलले लेखेका शब्दहरूबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

१७ इस्राएलीहरूले सुनको बाछोलाई पूजा गरेको घटनाबारे याद दिलाउँदै प्रेषित पावलले यस्तो चेतावनी दिए: “यी कुराहरू हाम्रो लागि उदाहरण भए। तिनीहरूमध्ये कोही-कोही मूर्तिपूजक बनेजस्तो हामी नबनौं। . . . यी कुराहरू उदाहरणको रूपमा तिनीहरूमाथि आइपरे अनि यस युगको अन्तमा बाँचिरहेका हामीहरूकै चेतावनीको निम्ति ती लेखिए। यसकारण जसले आफू खडा छु भनी सोच्छ, ऊ होसियार रहोस्‌ नत्र त ऊ लड्‌नेछ।” (१ कोरि. १०:६, ७, ११, १२) पावलले बताएझैँ साँचो उपासकहरूसमेत गलत कुराहरू गर्न पुग्न सक्छन्‌। प्रलोभन आउँदा सम्झौता गर्नेहरूले यहोवासितको आफ्नो सम्बन्ध अझै पनि राम्रो छ भन्‍ने सोचाइ राख्न सक्छन्‌। तर यहोवाको मित्र बन्‍न चाहँदैमा वा उहाँप्रति वफादार भएको दाबी गर्दैमा यहोवाको अनुमोदन पाइहालिन्छ भन्‍ने छैन।—१ कोरि. १०:१-५.

१८. कस्ता कुराहरूले गर्दा हामी यहोवाबाट टाढा हुँदै जान सक्छौँ? त्यसको परिणाम के हुन सक्छ?

१८ मोशा सीनै पर्वतबाट तल ओर्लन ढिलो गरेकोले इस्राएलीहरू आत्तिएका थिए। त्यसरी नै, आज हामीलाई पनि यहोवाले ल्याउनुहुने न्याय र नयाँ संसार आउन ढिलो भएजस्तो लाग्न सक्छ। यहोवाका ती प्रतिज्ञाहरू पूरा हुने ‘कहिले हो कहिले!’ वा ‘ती कहाँ पूरा होलान्‌ र!’ जस्तो लाग्न सक्छ। त्यस्तो सोचाइलाई हटाइहालेनौँ भने यहोवाको इच्छाभन्दा आफ्नै इच्छा पूरा गर्नतर्फ लाग्न सक्छौँ। समय बित्दै जाँदा त्यसले हामीलाई यहोवाबाट झन्‌झन्‌ टाढा पुऱ्‍याउन सक्छ। अनि त्यस्ता कामहरू गर्ने हदसम्म पुग्न सक्छौँ, जुन हामीले आध्यात्मिक रूपमा बलियो हुँदा कल्पनासमेत गरेका थिएनौँ होला।

१९. हामीले कुन सत्य कहिल्यै बिर्सनु हुँदैन र किन?

१९ हामी यहोवाप्रति पूर्णतया आज्ञाकारी भएको अनि उहाँको मात्र उपासना गरेको उहाँ चाहनुहुन्छ भनेर कहिल्यै बिर्सनु हुँदैन। (प्रस्थ. २०:५) यहोवाको उपासना गर्नदेखि अलिकता मात्र पनि यताउता अलमलिनु भनेको वास्तवमा सैतानको इच्छाअनुसार चल्नु हो। अनि त्यसो गरेको खण्डमा हाम्रो विनाश निश्‍चित छ। त्यसैले पावल हामीलाई यसरी सम्झाउँछन्‌: “तिमीहरूले यहोवाको कचौराबाट पिउने अनि दुष्ट स्वर्गदूतहरूको कचौराबाट पनि पिउने गर्न सक्दैनौ; तिमीहरूले ‘यहोवाको टेबुलबाट’ खाने अनि दुष्ट स्वर्गदूतहरूको टेबुलबाट पनि खाने गर्न सक्दैनौ।”—१ कोरि. १०:२१.

यहोवालाई पक्रिराख्नुहोस्‌!

२०. हामीले गलत कदम चालेका छौँ भने पनि यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ?

२० कयिन, सुलेमान र सीनै पर्वतमा भएका इस्राएलीहरूसित सम्बन्धित बाइबल विवरणहरूमा एउटा उल्लेखनीय समानता पाइन्छ। यी व्यक्‍तिहरूले ‘पश्‍चात्ताप गर्ने अनि फर्केर आउने’ मौका पाएका थिए। (प्रेषि. ३:१९) यहोवाले गलत कदम चाल्ने व्यक्‍तिहरूलाई त्यागिहाल्नुहुन्‍न भन्‍ने कुरा स्पष्ट छ। यहोवाले हारूनलाई क्षमा दिनुभएको घटना सम्झनुहोस्‌। आज पनि कुनै बाइबल विवरण, बाइबलआधारित प्रकाशन वा सङ्‌गी ख्रीष्टियनको मायालु सल्लाहको माध्यमबाट यहोवा हामीलाई चेतावनी दिनुहुन्छ। ती चेतावनी सुन्यौँ भने यहोवाको कृपा पाउने कुरामा हामी ढुक्क हुन सक्छौँ।

२१. यहोवाप्रति हाम्रो वफादारीको जाँच हुँदा हाम्रो सङ्‌कल्प कस्तो हुनुपर्छ?

२१ यहोवाले असीम अनुग्रह देखाउनुको एउटा उद्देश्‍य छ। (२ कोरि. ६:१) “यसले हामीलाई भक्‍तिहीनता र सांसारिक इच्छाहरू” त्याग्ने मौका दिन्छ। (तीतस २:११-१४ पढ्‌नुहोस्‌) ‘यस वर्तमान युगमा जीवन बिताउन्जेल’ यहोवाप्रति हाम्रो वफादारीको जाँच भइरहनेछ। त्यसैले दृढ भई उहाँको पक्षमा खडा हुन सधैँ तयार रहौँ! किनकि हामीले यहोवा परमेश्‍वरको मात्र ‘डर मान्‍नुपर्छ, उहाँको सेवा गर्नुपर्छ र उहाँलाई पक्रिराख्नुपर्छ’!—व्यव. १०:२०, NRV.