सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हामी यहोवाकै हौँ

हामी यहोवाकै हौँ

“त्यो जाति धन्यको हो, जसको परमेश्‍वर परमप्रभु हुनुहुन्छ, ती मानिसहरू जसलाई आफ्नो निज अधिकारको निम्ति उहाँले चुन्‍नुभएको छ।”—भज. ३३:१२.

गीत: ४०, ५०

१. सबै कुरा यहोवाकै हुन्‌ भनेर हामी किन भन्‍न सक्छौँ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

सबै कुरा यहोवाकै हुन्‌! “आकाश-मण्डल र पृथ्वी, औ त्यसमा भएका जे जति छन्‌ ती सबै” उहाँकै हुन्‌। (व्यव. १०:१४; प्रका. ४:११) यहोवाले नै मानिस सृष्टि गर्नुभएकोले हामी सबै उहाँकै हौँ। (भज. १००:३) तर मानव इतिहासको सुरुदेखि नै उहाँले केही मानिसहरूको समूहलाई आफ्नो विशेष जनको रूपमा छान्दै आउनुभएको छ।

२. यहोवाले विशेष तरिकामा चुन्‍नुभएकाहरू को हुन्‌?

उदाहरणको लागि, भजन १३५ मा प्राचीन इस्राएलमा बस्ने यहोवाका वफादार उपासकहरूलाई उहाँको “निज धन” भनिएको छ। (भज. १३५:४) साथै होशेको किताबमा केही गैर-इस्राएलीहरू यहोवाका प्रजा बन्‍नेछन्‌ भनेर भविष्यवाणी गरिएको थियो। (होशे २:२३) यहोवाले गैर-यहूदीहरूलाई पनि ख्रीष्टका भावी सहशासकहरूको रूपमा चुन्‍नुहुँदा होशेको त्यो भविष्यवाणी पूरा भयो। (प्रेषि. १०:४५; रोमी ९:२३-२६) यो “पवित्र राष्ट्र” अत्यन्तै विशेष तरिकामा यहोवाको “चुनिएको जाति” हो। किनभने यसका सदस्यहरू पवित्र शक्‍तिले अभिषेक भएका छन्‌ र स्वर्गमा जीवन बिताउन चुनिएका छन्‌। (१ पत्रु. २:९, १०) पृथ्वीमा सधैँभरि बाँच्ने आशा भएका अधिकांश वफादार ख्रीष्टियनहरूबारे हामी के भन्‍न सक्छौँ? यहोवा तिनीहरूलाई पनि आफ्नो “प्रजा” र “छानिएकाहरू” भन्‍नुहुन्छ।—यशै. ६५:२२.

. (क) आज कसले यहोवासित विशेष सम्बन्ध गाँस्न सकेका छन्‌? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?

आज, स्वर्गमा जाने आशा राखेका “सानो बगाल” र पृथ्वीमा जीवन बिताउने आशा राखेका “अरू भेडा” दुवै मिलेर “एउटै बगाल” बनेको छ। अनि आफ्नो प्रजाको रूपमा यहोवा तिनीहरूको असाध्यै मोल गर्नुहुन्छ। (लूका १२:३२; यूह. १०:१६) यहोवासित यस्तो विशेष सम्बन्ध गाँस्ने मौका पाएकोमा हामी उहाँप्रति गहिरो कृतज्ञता देखाउन चाहन्छौँ। त्यस्तो विशेष सम्मान दिनुभएकोमा यहोवालाई कृतज्ञता देखाउने विभिन्‍न तरिकाबारे यस लेखमा छलफल गर्नेछौँ।

हामी यहोवालाई आफ्नो जीवन समर्पण गर्छौँ

४. यहोवासित सम्बन्ध गाँस्न पाएकोमा उहाँलाई धन्यवाद दिने एउटा तरिका के हो? येशूले कसरी एक अर्थमा त्यसै गर्नुभयो भन्‍न सक्छौँ?

पूरा तनमनले यहोवालाई आफ्नो जीवन समर्पण गरेर हामी उहाँप्रति कृतज्ञ छौँ भनेर देखाउँछौँ। पानीमा बप्तिस्मा गरेर हामी औपचारिक रूपमा सबैको अगाडि आफू यहोवाकै हुँ भनेर प्रकट गर्छौँ अनि उहाँको अधीनमा बस्न इच्छुक छौँ भनेर देखाउँछौँ। (हिब्रू १२:९) येशूले बप्तिस्मा गर्दा एक अर्थमा त्यसै गर्नुभयो भन्‍न सक्छौँ। वास्तवमा उहाँले यहोवालाई यसो भन्‍नुभयो: “हे मेरा परमेश्‍वर, तपाईंको इच्छाबमोजिम गर्न म प्रसन्‍न छु।” (भज. ४०:७, ८) हुनत येशूको जन्म यहोवाप्रति समर्पित राष्ट्रमा भएको थियो। तैपनि उहाँले यहोवाको इच्छाबमोजिम गर्न आफूलाई अर्पण गर्नुभयो।

५, ६. (क) येशूले बप्तिस्मा गर्नुहुँदा यहोवालाई कस्तो लाग्यो? (ख) सबै कुरा यहोवाकै भए पनि उहाँ हाम्रो समर्पणको कदर गर्नुहुन्छ भनेर किन भन्‍न सक्छौँ? उदाहरण दिनुहोस्‌।

येशूले बप्तिस्मा गर्नुहुँदा यहोवालाई कस्तो लाग्यो? बाइबल विवरण यसो भन्छ: “बप्तिस्मा भएपछि येशू तुरुन्तै पानीमाथि निस्कनुभयो अनि हेर, आकाश खुल्यो र परमेश्‍वरको पवित्र शक्‍ति ढुकुरको रूपमा ओर्लेर उहाँमाथि बस्दै गरेको तिनले देखे। साथै, आकाशबाट यसो भन्‍ने आवाज पनि आयो: ‘यिनी मेरो प्यारो छोरा हुन्‌, जससित म अति प्रसन्‍न छु।’” (मत्ती ३:१६, १७) हुनत येशू पहिल्यैदेखि यहोवाकै हुनुहुन्थ्यो। तैपनि छोराले बुबाको इच्छाअनुसार गर्न आफैलाई समर्पण गरेको देख्दा स्वर्गमा हुनुहुने उहाँको बुबा औधी खुसी हुनुभयो। त्यसैगरि हामीले गरेको समर्पण पनि यहोवा खुसीसाथ स्विकार्नुहुन्छ अनि हामीलाई आशिष्‌ दिएर त्यसको कदर गरेको देखाउनुहुन्छ।—भज. १४९:४.

मानिलिनुहोस्‌, एक जना बुबाले आफ्नो बगैँचामा थरीथरीका सुन्दर फूलहरू रोपेका छन्‌। एक दिन तिनकी सानी छोरी आएर एउटा फूल टिप्छे अनि उपहारस्वरूप आफ्नो बुबालाई दिन्छे। हुनत त्यो फूल पहिल्यैदेखि बुबाकै थियो। त्यसैले त्यो त बुबाको फूल ल्याएर बुबालाई नै दिएको भएन र? मायालु बुबाले त्यसरी पटक्कै सोच्दैनन्‌। बरु तिनले त्यो फूललाई छोरीले दिएको प्रेमको चिनो मानेर खुसीसाथ स्विकार्छन्‌। आफ्नी छोरीले दिएको त्यो फूल बुबालाई बगैँचाका बाँकी सबै फूलहरूभन्दा प्यारो लाग्नेछ। हामीले राजीखुसीले आफ्नो जीवन समर्पण गर्दा यहोवालाई पनि उत्तिकै खुसी लाग्छ।—प्रस्थ. ३४:१४.

७. मलाकीले लेखेअनुसार हामीले राजीखुसीले यहोवाको सेवा गर्दा उहाँ कस्तो महसुस गर्नुहुन्छ?

मलाकी ३:१६ पढ्‌नुहोस्‌। यदि तपाईँले यहोवालाई आफ्नो जीवन समपर्ण गर्नुभएको छैन र बप्तिस्मा गर्नुभएको छैन भने त्यसो गर्नुको महत्त्वबारे विचार गर्नुहोस्‌। हुनत तपाईँ अस्तित्वमा आएदेखि नै यहोवाकै हुनुहुन्छ अनि अरू सबै मानिसहरू पनि यहोवाकै हुन्‌। तैपनि यहोवाको सार्वभौमिकतालाई स्विकार्दै तपाईँले उहाँलाई आफ्नो जीवन समर्पण गर्नुभयो र उहाँको इच्छाअनुसार चल्न तयार हुनुभयो भने यहोवालाई कत्ति खुसी लाग्छ होला, सोच्नुहोस्‌ त! (हितो. २३:१५) राजीखुसीले यहोवाको सेवा गर्नेहरूलाई उहाँ चिन्‍नुहुन्छ अनि “सम्झनाको पुस्तकमा” तिनीहरूको नाम लेख्नुहुन्छ।

८, ९. यहोवाले ज-जसको नाम “सम्झनाको पुस्तकमा” लेख्नुभएको छ, तिनीहरूबाट उहाँ के आशा गर्नुहुन्छ?

यहोवाको “सम्झनाको पुस्तकमा” आफ्नो नाम रहिरहोस्‌ भन्‍ने चाहन्छौँ भने हामी सबैले केही गर्नुपर्ने हुन्छ। हामीले यहोवाको ‘डर मान्‍नुपर्छ’ र ‘उहाँको नाउँको सोच गर्नुपर्छ’ भनेर मलाकीले स्पष्टसित बताए। यदि हामीले यहोवाबाहेक अरू कसैलाई वा कुनै कुरालाई आफ्नो भक्‍ति प्रकट गऱ्‍यौँ भने यहोवाले जीवनको पुस्तकबाट हाम्रो नाम मेटाउनुहुनेछ।—प्रस्थ. ३२:३३; भज. ६९:२८.

त्यसैले यहोवालाई आफ्नो जीवन समर्पण गरेको देखाउन हामीले उहाँको सेवा गर्ने वाचा गरेर अनि पानीमा बप्तिस्मा गरेर मात्रै पुग्दैन। समर्पण र बप्तिस्मा गर्नु भनेको एकैछिनको कुरा हो अनि समय बितेपछि त्यो त सम्झनामा मात्रै सीमित रहन्छ। हामी यहोवाको पक्षमा खडा भएको कुरा देखाउन हामीले बाँचुन्जेल उहाँको आज्ञा पालन गरिरहनुपर्ने हुन्छ।—१ पत्रु. ४:१, २.

हामी सांसारिक इच्छाहरू तिरस्कार गर्छौँ

१०. यहोवाको सेवा गर्नेहरू र उहाँको सेवा नगर्नेहरूबीच कस्तो भिन्‍नता प्रस्ट हुनुपर्छ?

१० यसअघिको लेखमा हामीले कयिन, सुलेमान र इस्राएलीहरूबारे बाइबल विवरण छलफल गऱ्‍यौँ। तिनीहरू सबैले यहोवाको उपासना गरेको दाबी गरे तर तिनीहरूले पूरा तनमनले यहोवाको उपासना गरिरहेका थिएनन्‌। ती उदाहरणहरूबाट कुन कुरा प्रस्ट हुन्छ भने, जो-जो साँच्चै यहोवाका हुन्‌, तिनीहरूले धार्मिकताको पक्षमा र दुष्टताको विरुद्धमा दृढ अडान लिनै पर्छ। (रोमी १२:९) त्यसैले मलाकीले “सम्झनाको पुस्तक”-बारे उल्लेख गरेपछि यहोवाले “धर्मी र दुष्ट, अनि परमेश्‍वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको भेद” प्रस्टै हुनेछ भनेर बताउनु एकदमै उपयुक्‍त छ।—मला. ३:१८.

११. हामी पूर्णतया यहोवाप्रति वफादार छौँ भनेर अरूसामु किन प्रकट हुनुपर्छ?

११ यहोवाले हामीलाई आफ्नो जन भनेर चुन्‍नुभएकोमा उहाँलाई कृतज्ञता देखाउने अर्को तरिका विचार गरौँ। हाम्रो आध्यात्मिक प्रगति “सबै मानिसहरूसामु प्रकट” हुनुपर्छ। (१ तिमो. ४:१५; मत्ती ५:१६) आफैलाई सोध्नुहोस्‌: ‘म पूर्णतया यहोवाप्रति वफादार छु भनेर के अरूले देख्न सक्छन्‌? के म आफूलाई यहोवाको साक्षी हुँ भनेर चिनाउने मौका खोजिरहन्छु?’ यहोवाले हामीलाई आफ्ना जन भनेर छान्‍नुभएको छ। तर हामी यहोवाका हौँ भनेर आफूलाई अरूसामु चिनाउन लाज मान्छौँ भने उहाँलाई कत्ति दुःख लाग्छ होला, सोच्नुहोस्‌ त।—भज. ११९:४६; मर्कूस ८:३८ पढ्‌नुहोस्‌।

के तपाईँको जीवनशैलीबाट तपाईँ यहोवाको साक्षी हुनुहुन्छ भनेर प्रस्टै देखिन्छ? (अनुच्छेद १२, १३ हेर्नुहोस्‌)

१२, १३. यहोवाको साक्षी भन्‍ने आफ्नो चिनारीलाई कसै-कसैले कसरी धमिलो बनाएका छन्‌?

१२ दुःखको कुरा, कसै-कसैले “संसारको मनोभाव”-को देखासिकी गरेर “परमेश्‍वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको भेद”-लाई धमिलो बनाएका छन्‌। (१ कोरि. २:१२) “संसारको मनोभाव”-ले मानिसहरूलाई “शरीरका कुइच्छाहरू” पूरा गर्नतर्फ धकेल्छ। (एफि. २:३) उदाहरणको लागि, पहिरन र कोरीबाटीको सन्दर्भमा हामीले थुप्रै सरसल्लाह पाएका छौँ। तैपनि कोही-कोही अभद्र किसिमको पहिरन र कोरीबाटी नै रूचाउँछन्‌। तिनीहरू ख्रीष्टियन सभाहरूमा समेत टिमिक्क कस्सिएको र अङ्‌ग प्रदर्शन हुने खालको लुगा लगाउँछन्‌। अथवा तिनीहरूको कपालको कटाइ र स्टाइल अरूको ध्यान असाध्यै खिच्ने वा उत्ताउलो खालको हुन्छ। (१ तिमो. २:९, १०) त्यसले गर्दा मानिसहरूलाई को यहोवाका हुन्‌ र को ‘संसारका मित्र’ हुन्‌ भनेर छुट्ट्याउनै गाह्रो हुन सक्छ।—याकू. ४:४.

१३ अरू क्षेत्रमा पनि कोही-कोही साक्षीले दृढ भई सांसारिक आचरणलाई त्यागेका छैनन्‌। तिनीहरू जमघटहरूमा ख्रीष्टियनहरूलाई अस्विकार्य नाचगान र व्यवहार गर्ने हदसम्म पुगेका छन्‌। तिनीहरूले सामाजिक सञ्जालमा पोस्ट गर्ने आफ्ना तस्बिर र टिप्पणीहरू ख्रीष्टियनहरूलाई पटक्कै नसुहाउने किसिमका छन्‌। तिनीहरूले कुनै गम्भीर पापको लागि मण्डलीबाट अनुशासन पाएका छैनन्‌ होला। तर तिनीहरूको व्यवहारले असल आचरण कायम गर्न कोसिस गरिरहेका यहोवाका जनमा नकारात्मक असर पार्न सक्छ।१ पत्रुस २:११, १२ पढ्‌नुहोस्‌।

यहोवाको पक्षमा दृढ अडान नलिनेहरूको प्रभावमा नपर्नुहोस्‌

१४. यहोवासितको हाम्रो विशेष मित्रतालाई जोगाउन हामीले के गर्नुपर्छ?

१४ संसारले “शरीरको अभिलाषा, आँखाको अभिलाषा र तडकभडक”-लाई जोडतोडका साथ बढावा दिन्छ। (१ यूह. २:१६) तर हामीचाहिँ यहोवाका हौँ। त्यसैले “हामीलाई भक्‍तिहीनता र सांसारिक इच्छाहरू त्याग्न अनि यस वर्तमान युगमा सुझबुझ चलाउन, परमेश्‍वरको स्तरबमोजिम असल काम गर्न र परमेश्‍वरको भक्‍ति गर्दै जीवन बिताउन” सल्लाह दिइएको छ। (तीतस २:१२) हाम्रो बोली, खानपिन, पहिरन, कोरीबाटी, काम वा अरू जुनसुकै कुरा किन नहोस्‌, हामी पूर्णतया यहोवाप्रति वफादार छौँ भनेर अरू मानिसहरूसामु प्रकट हुनुपर्छ।१ कोरिन्थी १०:३१, ३२ पढ्‌नुहोस्‌।

हामी “आपसमा प्रगाढ प्रेम” गर्छौँ

१५. हाम्रा भाइबहिनीलाई किन प्रेम गर्नुपर्छ र दयालु व्यवहार गर्नुपर्छ?

१५ यहोवासितको हाम्रो विशेष सम्बन्धलाई मोल गरेको कुरा हामी सङ्‌गी भाइबहिनीलाई कस्तो व्यवहार गर्छौँ, त्यसबाट देखिन्छ। ती भाइबहिनी पनि यहोवाकै हुन्‌। यो कुरा कहिल्यै बिर्सेनौँ भने हाम्रा भाइबहिनीलाई सधैँ प्रेम गर्नेछौँ र दयालु व्यवहार गर्नेछौँ। (१ थिस्स. ५:१५) येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।”—यूह. १३:३५.

१६. आफ्ना जनहरूप्रति यहोवाको मायाबारे मोशाको व्यवस्थाबाट के सिक्न सक्छौँ?

१६ मण्डलीमा अरूलाई कस्तो व्यवहार गर्नुपर्छ भनेर बुझ्न मोशाको व्यवस्थामा दिइएको एउटा आज्ञा विचार गरौँ। यहोवाको मन्दिरमा प्रयोग गरिने सामानहरू शुद्ध उपासनाको लागि मात्रै प्रयोग गर्न परमेश्‍वरलाई अर्पण गरिएका अर्थात्‌ अलग्गै छुट्ट्याइएका हुन्थे। ती सामानहरू कसरी ठीक तरिकाले प्रयोग गर्ने भनेर मोशाको व्यवस्थामा विस्तृत निर्देशन दिइएको थियो। अनि त्यसलाई बेवास्ता गर्ने व्यक्‍ति मारिनेथियो। (गन्ती १:५०, ५१) यहोवाले आफ्नो उपासनामा प्रयोग गरिने ती निर्जीव सामानहरूको त त्यत्ति ख्याल राख्नुहुन्छ भने आफ्ना जन भनेर छान्‍नुभएका समर्पित वफादार उपासकहरूको झन्‌ कत्ति धेरै ख्याल राख्नुहुन्छ होला, कल्पना गर्नुहोस्‌ त! आफ्ना जनहरूबारे यहोवाले एक चोटि यसो भन्‍नुभयो: “जसले तिमीहरूलाई छुन्छ त्यसले [मेरो] आँखाको नानीलाई छुन्छ।”—जक. २:८.

१७. यहोवाले हाम्रो कुन कुरा याद गर्नुहुन्छ र ‘ध्यानसित सुन्‍नुहुन्छ?’

१७ यहोवा आफ्ना जनहरूले एक-अर्कासित गर्ने व्यवहार याद गर्नुहुन्छ र तिनीहरूको कुराकानी ‘ध्यानसित सुन्‍नुहुन्छ’ भनेर मलाकीले बताए। (मला. ३:१६) “आफ्ना जतिलाई यहोवा चिन्‍नुहुन्छ” भन्‍ने कुरामा कुनै शङ्‌का छैन। (२ तिमो. २:१९) हामीले गर्ने र भन्‍ने एक-एक कुरा उहाँलाई राम्ररी थाह छ। (हिब्रू ४:१३) आफ्ना सङ्‌गी भाइबहिनीसित दयालु बोलीव्यवहार गरेका छैनौँ भने यहोवाले त्यो याद गर्नुहुन्छ र ‘ध्यानसित सुन्‍नुहुन्छ।’ हामी एक-अर्काको अतिथिसत्कार गर्छौँ अनि अरूप्रति उदार, क्षमाशील र दयालु छौँ भने यहोवाले त्यो पनि याद गर्नुहुन्छ भनेर हामी पक्का हुन सक्छौँ।—हिब्रू १३:१६; १ पत्रु. ४:८, ९.

“परमप्रभुले आफ्नो प्रजालाई फाल्नुहुनेछैन”

१८. यहोवाका जन भनेर चिनिने सम्मान पाएकोमा हामी कसरी कृतज्ञता देखाउन सक्छौँ?

१८ यहोवाका जनको रूपमा चिनिन पाउनु हाम्रो लागि ठूलो सम्मान हो। त्यसको लागि हामी यहोवालाई कृतज्ञता देखाउन चाहन्छौँ। हामीले स्वेच्छाले यहोवालाई आफ्नो जीवन समर्पण गऱ्‍यौँ। त्यसो गर्नु एकदमै बुद्धिमानी कदम थियो भनेर हामीले बुझेका छौँ। अहिले हामी “टेढो र भ्रष्ट पुस्ताबीच” बाँचिरहेका छौँ, तैपनि हामी “निर्दोष र सुधो” छौँ र “यस संसारमा ज्योतिझैं चम्किरहेका” छौँ भनेर मानिसहरूसामु प्रकट गर्न चाहन्छौँ। (फिलि. २:१५) हामी दुष्टताविरुद्ध दृढ अडान लिन्छौँ। (याकू. ४:७) अनि हाम्रा सङ्‌गी भाइबहिनीलाई प्रेम र आदर गर्छौँ। किनकि हामीलाई थाह छ, तिनीहरू पनि यहोवाकै हुन्‌।—रोमी १२:१०.

१९. जो-जो यहोवाका हुन्‌, तिनीहरूलाई उहाँ कस्तो इनाम दिनुहुन्छ?

१९ बाइबल यस्तो प्रतिज्ञा गर्छ: “परमप्रभुले आफ्नो प्रजालाई फाल्नुहुनेछैन।” (भज. ९४:१४) हामीमाथि जस्तोसुकै विपत्ति आइपरे पनि यहोवाले यो प्रतिज्ञा पूरा गर्नुहुनेछ। यो उहाँको ग्यारेन्टी हो। यहोवाको प्रेमबाट हामीलाई मृत्युले समेत अलग गराउन सक्दैन। (रोमी ८:३८, ३९) “यदि हामी बाँच्छौं भने यहोवाको निम्ति बाँच्छौं अनि मर्छौं भने यहोवाकै निम्ति मर्छौं। त्यसकारण, चाहे हामी बाँचौं या मरौं, हामी यहोवाकै हौं।” (रोमी १४:८) हामी त्यस दिनको उत्कट प्रतीक्षामा छौँ, जब यहोवाले मरिसकेका आफ्ना वफादार मित्रहरूलाई फेरि जीवित पार्नुहुनेछ। (मत्ती २२:३२) अहिले पनि हामीले थुप्रै आशिष्‌ पाइरहेका छौँ। बाइबलले भनेझैँ “त्यो जाति धन्यको हो, जसको परमेश्‍वर परमप्रभु हुनुहुन्छ, ती मानिसहरू जसलाई आफ्नो निज अधिकारको निम्ति उहाँले चुन्‍नुभएको छ।”—भज. ३३:१२.