सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उदारचित्तले दिनेहरू आनन्दित हुन्छन्‌

उदारचित्तले दिनेहरू आनन्दित हुन्छन्‌

“दिनुमा . . . आनन्द छ।”—प्रेषि. २०:३५.

गीत: ७६, ११०

१. यहोवा उदार हुनुहुन्छ भनेर सृष्टिले कसरी प्रमाणित गर्छ?

सृष्टि गर्नुअघि यहोवा एक्लै हुनुहुन्थ्यो। उहाँसित अरू कोही थिएन। तैपनि उहाँले आफ्नो विषयमा मात्र सोच्नुभएन। त्यसैले उहाँले स्वर्ग र पृथ्वीमा बस्ने बौद्धिक प्राणीहरू सृष्टि गर्नुभयो; उहाँले तिनीहरूलाई जीवनको वरदान दिनुभयो। यहोवा “आनन्दित परमेश्‍वर” हुनुहुन्छ र अरूलाई असल थोकहरू दिन चाहनुहुन्छ। (१ तिमो. १:११; याकू. १:१७) साथै, हामी पनि आनन्दित भएको उहाँ चाहनुहुन्छ। त्यसैले उहाँ हामीलाई उदार हुन सिकाउनुहुन्छ।—रोमी १:२०.

२, ३. (क) उदारचित्तले दिँदा हामी किन आनन्दित हुन्छौँ? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?

परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। (उत्प. १:२७) त्यसैले उहाँका गुणहरू झल्काउन सक्नेगरि हामी सृष्टि गरिएका छौँ। साँचो आनन्द र सन्तुष्टि पाउन हामीले यहोवाको देखासिकी गर्दै अरूको चासो राख्नुपर्छ र उदारचित्तले दिनुपर्छ। (फिलि. २:३, ४; याकू. १:५) किन? किनभने यहोवाले हामीलाई त्यसरी नै सृष्टि गर्नुभएको छ। हामी त्रुटिपूर्ण भए तापनि यहोवाको देखासिकी गर्दै उदार हुन सक्छौँ।

हामी कसरी उदारचित्तले दिन सक्छौँ भनी बाइबल बताउँछ। यसबारे बाइबलबाट सिक्न सक्ने केही पाठ विचार गरौँ। उदार हुँदा हामी कसरी परमेश्‍वरको अनुमोदन पाउँछौँ अनि परमेश्‍वरले हामीलाई दिनुभएको भूमिका पूरा गर्न हामीले यो गुण किन विकास गर्नुपर्छ भनेर बुझ्नेछौँ। साथै उदार हुँदा हामी कसरी आनन्दित हुन सक्छौँ अनि हामीले यो गुण किन विकास गरिरहनुपर्छ भनेर पनि केलाउनेछौँ।

हामी कसरी परमेश्‍वरको अनुमोदन पाउन सक्छौँ?

४, ५. उदार हुनेबारे यहोवा र येशूले हाम्रो लागि कस्तो उदाहरण बसाल्नुभएको छ?

यहोवा मानिसहरूले उहाँको देखासिकी गरेको चाहनुहुन्छ, त्यसैले हामी उदार भयौँ भने उहाँ आनन्दित हुनुहुन्छ। (एफि. ५:१) हामी कसरी बनिएका छौँ भनी विचार गर्दा र हाम्रो वरपरको प्रकृतिलाई हेर्दा उहाँ मानिसहरू आनन्दित भएको चाहनुहुन्छ भन्‍ने कुरा स्पष्ट हुन्छ। (भज. १०४:२४; १३९:१३-१६) त्यसैले अरूलाई आनन्दित बनाउने कोसिस गर्दा हामीले उहाँको आदर गरिरहेका हुन्छौँ।

साँचो ख्रीष्टियनहरू ख्रीष्टको देखासिकी गर्छन्‌। मानिसहरू कसरी उदार हुन सक्छन्‌ भनेर ख्रीष्टले हाम्रो लागि उत्कृष्ट उदाहरण बसाल्नुभएको छ। येशू आफैले यसो भन्‍नुभयो: “जसरी मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।” (मत्ती २०:२८) त्यसैले प्रेषित पावलले ख्रीष्टियनहरूलाई यस्तो आग्रह गरे: “ख्रीष्ट येशूमा भएको यस्तो मनोभाव तिमीहरूले पनि राख। . . . उहाँले आफूलाई रित्याउनुभयो अनि दासजस्तो भएर मानिसको स्वरूपमा आउनुभयो।” (फिलि. २:५, ७) हामी प्रत्येकले आफूलाई यो प्रश्‍न सोध्नु बेस हो, ‘के म येशूको उदाहरण अझ राम्ररी पछ्याउन सक्छु?’१ पत्रुस २:२१ पढ्‌नुहोस्‌।

६. मदतगार छिमेकीको दृष्टान्त बताउनुभएर येशूले हामीलाई कस्तो पाठ सिकाउनुभयो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

यहोवा र ख्रीष्टको उत्कृष्ट उदाहरण अनुकरण गऱ्‍यौँ, अरूको हित हुने कुरामा चासो राख्यौँ अनि अरूको आवश्‍यकता पूरा गर्ने मौका खोज्यौँ भने हामीले यहोवाको अनुमोदन पाउन सक्छौँ। मानिसहरूको पृष्ठभूमि जस्तोसुकै भए पनि अरूलाई सक्दो मदत गर्न चेलाहरू अग्रसर भएको येशू चाहनुहुन्थ्यो। अनि उहाँले यो कुरा मदतगार सामरीको दृष्टान्त बताउनुहुँदा स्पष्ट पार्नुभयो। (लूका १०:२९-३७ पढ्‌नुहोस्‌) येशूले मदतगार छिमेकीको दृष्टान्त बताउनुको कारण के थियो, के तपाईँले याद गर्नुभयो? उहाँलाई एक जना यहूदीले यस्तो प्रश्‍न सोधेका थिए: “वास्तवमा मेरो छिमेकी को हो?” परमेश्‍वरको अनुमोदन पाउन चाहन्छौँ भने हामी त्यस सामरीजस्तै उदार हुनुपर्छ भनेर येशूको जवाफबाट प्रस्ट हुन्छ।

७. हामी स्वार्थी हुनु वा नहुनु कसरी सार्वभौमिकताको विवादसित सम्बन्धित छ?

ख्रीष्टियनहरू उदार हुनुपर्ने थुप्रै कारण छन्‌। उदाहरणको लागि, सैतानले अदनको बगैँचामा विवाद खडा गर्दा आदम र हव्वाले उदार हुने या नहुने भनेर निर्णय गर्नुपरेको थियो। हामी किन त्यसो भन्‍न सक्छौँ? आदम र हव्वा मात्र नभई सम्पूर्ण मानवजाति परमेश्‍वरप्रति आज्ञाकारी हुनुको साटो तिनीहरूले आफ्नो इच्छा पूरा गरे र आफ्नो कामकुरालाई प्राथमिकता दिए भने अझ आनन्दित हुन सक्छन्‌ भनेर सैतानले दाबी गऱ्‍यो। हव्वा परमेश्‍वरजस्तै हुने आफ्नो स्वार्थी इच्छा पूरा गर्नतिर लागिन्‌। आदम पनि स्वार्थी भए र हव्वालाई खुसी बनाउन चाहे। (उत्प. ३:४-६) तिनीहरूको निर्णयले कस्तो नतिजा ल्यायो, हामीलाई थाहै छ। स्वार्थी हुँदा आनन्दित हुन सक्दैनौँ, बरु दुःखी हुन्छौँ। हामी उदार भयौँ भने परमेश्‍वरको तौरतरिका सबैभन्दा राम्रो हो भन्‍ने कुरामा विश्‍वस्त छौँ भनेर देखाइरहेका हुन्छौँ।

परमेश्‍वरले आफ्ना जनहरूलाई दिनुभएको भूमिका पूरा गर्नुहोस्‌

८. पहिलो मानव दम्पतीले किन अरूको हितबारे सोच्नुपर्ने थियो?

हुनत सुरुमा अदनको बगैँचामा आदम र हव्वा मात्र थिए। तैपनि परमेश्‍वरले दिनुभएको आज्ञाले तिनीहरूलाई अरूको हितबारे सोच्न लगाउने थियो। यहोवाले आदम र हव्वालाई आशिष्‌ दिनुभयो अनि सन्तान जन्माएर पृथ्वी भर्नू र पृथ्वीमाथि अधिकार गर्नू भन्‍नुभयो। (उत्प. १:२८) जसरी सृष्टिकर्ता आफ्नो सृष्टिको भलाइ चाहनुहुन्थ्यो, त्यसैगरि पहिलो मानव दम्पतीले पनि आफ्नो भावी सन्तानको भलाइ चाहनुपर्ने थियो। आदमका सबै सन्तानको हित होस्‌ भनेर प्रमोदवनलाई पृथ्वीभरि फैलाउनुपर्ने थियो। त्यो कुनै चानचुने काम थिएन। त्यो पूरा गर्न आदमका सबै सन्तान मिलेर काम गर्नुपर्थ्यो।

९. प्रमोदवनलाई विस्तार गर्दै लैजाँदा मानिसहरू किन आनन्दित हुन सक्ने थिए?

त्रुटिरहित मानिसहरूले प्रमोदवनलाई विस्तार गर्दै लैजान र यहोवाको उद्देश्‍य पूरा गर्न उनीहरूले उहाँसित मिलेर काम गर्नुपर्ने थियो। यसो गरेमा उनीहरू परमेश्‍वरको विश्राममा प्रवेश गर्न सक्ने थिए। (हिब्रू ४:११) त्यो काम कत्ति सन्तोषजनक र इनामदायी हुने थियो, कल्पना गर्नुहोस्‌ त! निःस्वार्थ भई अरूको हितको लागि काम गर्दा उनीहरूले प्रशस्त आशिष्‌ र अपार सन्तुष्टि पाउने थिए।

१०, ११. प्रचार गर्ने र चेला बनाउने जिम्मेवारी हामी कसरी पूरा गर्न सक्छौँ?

१० आज यहोवाले आफ्ना जनहरूलाई प्रचार गर्ने र चेला बनाउने जिम्मेवारी सुम्पनुभएको छ। त्यो जिम्मेवारी पूरा गर्न हामीले मानिसहरूको भलाइमा गहिरो चासो राख्नुपर्छ। हामीसित सही मनसाय अर्थात्‌ परमेश्‍वर र आफ्ना छिमेकीहरूप्रति प्रेम छ भने मात्र हामी यो काममा निरन्तर लागिरहन सक्छौँ।

११ प्रथम शताब्दीमा पावलले आफूलाई र आफ्ना केही घनिष्ठ सङ्‌गीहरूलाई “परमेश्‍वरका सहकर्मीहरू” भने किनभने तिनीहरूले राज्य सत्यको बिउ रोप्ने र त्यसमा पानी हाल्ने काम गरिरहेका थिए। (१ कोरि. ३:६, ९) परमेश्‍वरले सुम्पनुभएको प्रचारकार्य पूरा गर्न उदारचित्तले आफ्नो समय, शक्‍ति र स्रोतसाधन खर्च गऱ्‍यौँ भने आज हामी पनि “परमेश्‍वरका सहकर्मीहरू” बन्‍न सक्छौँ। कस्तो ठूलो सुअवसर!

आध्यात्मिक कुराको मोल गर्नेहरूलाई परमेश्‍वरको सही ज्ञान बुझ्न मदत दिनुभन्दा आनन्ददायी कुरा कमै मात्र हुन्छन्‌ (अनुच्छेद १२ हेर्नुहोस्‌)

१२, १३. तपाईँको विचारमा चेला बनाउने काम गर्दा कस्ता इनामहरू पाइन्छ?

१२ प्रचार गर्ने र चेला बनाउने काममा उदारचित्तले आफ्नो समय र शक्‍ति खर्च गर्दा निकै आनन्दित हुन सक्छौँ। प्रगतिशील बाइबल अध्ययन सञ्चालन गरिरहेका थुप्रैले योभन्दा इनामदायी कुरा त कमै मात्र हुन्छ भन्‍ने गर्छन्‌। आध्यात्मिक कुराको मोल गर्नेहरूले परमेश्‍वरको सही ज्ञान बुझेको, उनीहरूको विश्‍वास बढ्‌दै गएको, उनीहरूले जीवनमा परिवर्तनहरू गरेको अनि अरूलाई सत्यबारे बताउन थालेको देख्दा अपार आनन्द मिल्छ। येशूले पनि त्यस्तै आनन्द महसुस गर्नुभयो, जब उहाँले प्रचार गर्न पठाउनुभएका ७० जना राम्रो नतिजा हासिल गरेकोले “रमाउँदै फर्के।”—लूका १०:१७-२१.

१३ सुसमाचारले मानिसहरूको जीवनमा सकारात्मक प्रभाव पारेको देख्दा संसारभरिका हाम्रा भाइबहिनीहरू रमाउँछन्‌। एउटी जवान अविवाहित बहिनी आनाको अनुभव विचार गर्नुहोस्‌। उनी आफ्नो सेवा विस्तार गर्न प्रचारकहरूको आवश्‍यकता धेरै भएको पूर्वी युरोपको एउटा देशमा बसाइँ सरिन्‌। * उनी भन्छिन्‌, “यहाँ थुप्रै मानिससित बाइबल अध्ययन गर्न पाइन्छ अनि त्यसो गर्न पाएकोमा म एकदमै खुसी छु। यहाँ प्रचारकार्यमा म निकै रमाउन सकेकी छु। घर फर्कँदा आफूबारे सोचिरहने फुर्सदै हुँदैन। आफूले अध्ययन गराइरहेका व्यक्‍तिहरूको चिन्ता र फिक्रीबारे सोच्ने गर्छु। उनीहरूलाई कसरी प्रोत्साहन र व्यावहारिक मदत दिने भनेर विचार गर्छु। अनि ‘लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ’ भन्‍ने कुरामा म अझ विश्‍वस्त भएकी छु।”—प्रेषि. २०:३५.

इलाकाको प्रत्येक घरमा जाँदा हामी मानिसहरूलाई राज्य सन्देश सुन्‍ने मौका दिइरहेका हुन्छौँ (अनुच्छेद १४ हेर्नुहोस्‌)

१४. थोरैले मात्र सुसमाचार सुने तापनि तपाईँ प्रचारकार्यमा किन रमाउन सक्नुहुन्छ?

१४ मानिसहरूले हाम्रो कुरा सुन्‍न नचाहे तापनि उनीहरूलाई सुसमाचार सुन्‍ने मौका दिन पाएकोमा हामी रमाउन सक्छौँ। किनकि आज हामीलाई सुम्पिइएको काम भविष्यवक्‍ता इजकिएलको जस्तै छ। यहोवाले इजकिएललाई यसो भन्‍नुभएको थियो: “तैंले तिनीहरूलाई मेरो वचन सुना, चाहे तिनीहरूले सुनून्‌ वा सुन्‍नलाई अस्वीकार गरून्‌।” (इज. २:७; यशै. ४३:१०) केही मानिसहरूले हाम्रो सन्देशको कदर नगर्लान्‌ तर यहोवा हाम्रो प्रयासको कदर गर्नुहुन्छ। (हिब्रू ६:१० पढ्‌नुहोस्‌) यस सन्दर्भमा एक जना प्रकाशकले एकदमै राम्रो मनोवृत्ति देखाए। तिनले आफ्नो प्रचारकार्यबारे यस्तो लेखे: “हामीले रोप्यौँ, पानी हाल्यौँ अनि उनीहरूको चासोलाई यहोवाले बढाइदेऊन्‌ भनेर प्रार्थना गऱ्‍यौँ।”—१ कोरि. ३:६.

हामी कसरी आनन्दित हुन सक्छौँ?

१५. उदारचित्तले दिँदा धेरैजसो मानिसले कस्तो प्रतिक्रिया देखाउँछन्‌? अरूले कृतज्ञता नदेखाए पनि हामी किन उदार भइरहन चाहन्छौँ?

१५ उदारचित्तले दिँदा पाइने आनन्द हामीले अनुभव गरेको येशू चाहनुहुन्छ। आफूप्रति कसैले उदारता देखाउँदा थुप्रै मानिसहरूले सकारात्मक प्रतिक्रिया देखाउँछन्‌। येशूले यस्तो आग्रह गर्नुभयो: “दिने गर अनि मानिसहरूले तिमीहरूलाई पनि दिनेछन्‌। तिनीहरूले तिमीहरूको पोल्टामा प्रशस्त गरी, खाँदी-खाँदी, हल्लाएर, पोखिने गरी हालिदिनेछन्‌। किनकि तिमीहरू जुन नापले नाप्छौ अरूले पनि तिमीहरूका लागि त्यही नापले नाप्नेछन्‌।” (लूका ६:३८) हुनत हामीले उदारचित्तले दिँदा सबैले राम्रो प्रतिक्रिया देखाउँछन्‌ भन्‍ने छैन। तर यदि कसैले राम्रो प्रतिक्रिया देखाइहालेमा तिनी पनि अरूलाई उदारता देखाउन उत्प्रेरित हुन सक्छन्‌। यसरी एकपछि अर्को व्यक्‍ति गर्दै धेरै जनाले अरूलाई उदारता देखाउँदै जानेछन्‌। त्यसैले मानिसहरू कृतज्ञ होऊन्‌ या नहोऊन्‌, दिने बानी बसाल्नुहोस्‌। हामीले उदार भएर गरेको एउटा सानो कामले कत्ति राम्रो नतिजा ल्याउन सक्छ, हामीलाई थाह छैन।

१६. हामीले कस्तो मनसाय राखेर अरूलाई दिनुपर्छ?

१६ साँच्चै उदार व्यक्‍तिले अरूलाई केही दिँदा त्यसबापत केही पाउने आस गर्दैनन्‌। यही कुरालाई मनमा राख्दै येशूले यसो भन्‍नुभयो: “तिमीले भोज दिंदा गरिब, अपाङ्‌ग, लुला-लङ्‌गडा, अन्धाहरूलाई निम्तो देऊ र तिमी आनन्दित हुनेछौ, किनकि त्यसको साटो तिर्न तिनीहरूसित केही पनि हुँदैन।” (लूका १४:१३, १४) परमेश्‍वरको प्रेरणा पाएर एक जना बाइबल लेखकले यसो भने, “उदार मानिसले आफै पनि आशिष्‌ पाउनेछ, किनभने त्यसले आफ्नो भोजन गरिबलाई बाँड्‌छ।” अर्को लेखकले यसो भने: “त्यो धन्यको हो, जसले निर्धाहरूको चिन्ता गर्दछ। परमप्रभुले त्यसलाई विपत्तिको दिनमा छुटकारा दिनुहुनेछ।” (हितो. २२:९, NRV; भज. ४१:१) हो, हामी उदार हुनुपर्छ किनभने अरूलाई मदत गर्दा हामी खुसी हुन्छौँ।

१७. अरूलाई के-कस्ता कुराहरू दिँदा तपाईँ आनन्दित हुन सक्नुहुन्छ?

१७ पावलले “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ” भनेर येशूका शब्दहरू उद्धरण गर्दा तिनले भौतिक कुराहरू बाँड्‌ने विषयमा मात्र भनिरहेका थिएनन्‌। तर प्रोत्साहन, डोऱ्‍याइ र सहयोगको खाँचो परिरहेकाहरूलाई त्यस्ता कुराहरू दिनेबारे पनि बताइरहेका थिए। (प्रेषि. २०:३१-३५) अरूको लागि आफ्नो समय र शक्‍ति खर्च गर्न, अरूलाई ध्यान दिन र प्रेम देखाउन उदार हुनेबारे प्रेषित पावलले आफ्नो बोली र व्यवहारद्वारा सिकाए।

१८. थुप्रै अनुसन्धाताहरू उदार हुनेबारे कस्तो निष्कर्षमा पुगेका छन्‌?

१८ मानव व्यवहारबारे अध्ययन गर्नेहरूले पनि अरूलाई दिँदा मानिसहरू खुसी हुन्छन्‌ भन्‍ने कुरा याद गरेका छन्‌। एउटा लेखअनुसार “अरूको लागि असल काम गरिदिँदा आफू अझ खुसी हुन सकेको मानिसहरू बताउँछन्‌।” अरूलाई मदत गर्दा जीवनको “उद्देश्‍य र अर्थ अझ राम्ररी बुझ्न सक्छौँ” भनी अनुसन्धाताहरू बताउँछन्‌ “किनकि त्यसले मानिसको आधारभूत आवश्‍यकता पूरा गर्छ।” त्यसैले केही विशेषज्ञहरू मानिसहरूलाई आफ्नो स्वास्थ्य राम्रो बनाउन र अझ आनन्दित हुन समाजसेवा गर्ने सुझाव दिन्छन्‌। बाइबललाई यहोवाको वचनको रूपमा स्विकार्नेहरूको लागि यो कुनै नौलो कुरा होइन किनकि अरूलाई दिँदा हामी आनन्दित हुन्छौँ भनेर हाम्रो मायालु सृष्टिकर्ताले हामीलाई स्पष्टसित बताउनुभएको छ।—२ तिमो. ३:१६, १७.

उदार भइरहनुहोस्‌

१९, २०. तपाईँ किन उदारचित्तले दिन चाहनुहुन्छ?

१९ अरूको कुरामा नभई आफ्नै कुरामा मात्र ध्यान दिने मानिसहरूको बीचमा रहनुपर्दा उदार भइरहन गाह्रो हुन सक्छ। तर हामीले पालन गर्नुपर्ने दुइटा सबैभन्दा महत्त्वपूर्ण आज्ञा के हुन्‌ भनेर येशूले हामीलाई सम्झाउनुभयो। ती हुन्‌, यहोवालाई आफ्नो सारा मनले, आफ्नो सारा ज्यानले, आफ्नो सारा दिमागले र आफ्नो सारा बलले प्रेम गर्नू अनि आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू। (मर्कू. १२:२८-३१) यहोवालाई प्रेम गर्नेहरूले उहाँको देखासिकी गर्छन्‌ भनेर हामीले यस लेखबाट बुझ्यौँ। यहोवा उदार भई अरूलाई दिनुहुन्छ अनि येशूले पनि त्यसै गर्नुहुन्छ। उहाँहरू हामीलाई पनि उदार हुन प्रोत्साहन दिनुहुन्छ किनभने त्यसो गर्दा हामी साँच्चै खुसी हुन सक्छौँ। परमेश्‍वरसित र छिमेकीसित व्यवहार गर्दा यस्तै उदार मनोभाव देखाउन प्रयत्न गऱ्‍यौँ भने हामीले यहोवाको आदर गरिरहेका हुन्छौँ। अनि यसले हामी आफैलाई र अरूलाई पनि लाभ पुऱ्‍याउँछ।

२० अरूलाई र अझ विशेषगरि एउटै विश्‍वासमा हुने हाम्रा भाइबहिनीहरूलाई उदारता देखाउन तपाईँ अहिले पनि पक्कै प्रयास गर्दै हुनुहुन्छ। (गला. ६:१०) उदार भइरहनुभयो भने तपाईंलाई अरूले साँच्चै माया गर्नेछन्‌ र तपाईंको मोल गर्नेछन्‌। अनि त्यसले गर्दा तपाईँ आनन्दित हुनुहुनेछ। हितोपदेश ११:२५ (NRV) यसो भन्छ: “उदार मानिसको फलिफाप हुन्छ, अरूलाई उत्साह दिने व्यक्‍तिले आफू पनि नयाँ उत्साह प्राप्त गर्नेछ।” हो, हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्यमा निस्स्वार्थ भई दिने, दया देखाउने र उदार हुने विभिन्‍न क्षेत्र छन्‌ र हामी विभिन्‍न तरिकाले त्यसो गर्न सक्छौँ। अनि त्यसो गर्दा प्रशस्त इनाम पाउनेछौँ। ती विभिन्‍न तरिका र क्षेत्रबारे हामी अर्को लेखमा छलफल गर्नेछौँ।

^ अनु. 13 नाम परिवर्तन गरिएको छ।