सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईँलाई सबै सत्यतथ्य थाह छ?

के तपाईँलाई सबै सत्यतथ्य थाह छ?

“[सत्यतथ्य] राम्ररी सुन्‍नुअघिनै प्रश्‍नको जवाफ दिनु मूर्खता र अशिष्टता हो।”—हितो. १८:१३.

गीत: १२६, ९५

१, २. (क) हामीले कस्तो क्षमता विकास गर्नु जरुरी छ र किन? (ख) यस लेखमा हामी कुन कुरा छलफल गर्नेछौँ?

हामी साँचो ख्रीष्टियनहरूले कुनै पनि जानकारीलाई राम्ररी केलाउने र सही निष्कर्षमा पुग्ने क्षमता विकास गर्नु जरुरी छ। (हितो. ३:२१-२३; ८:४, ५) यदि हामीले यस्तो क्षमता विकास गरेनौँ भने सैतान र त्यसले शासन गरिरहेको संसारले हाम्रो सोचाइलाई सजिलै बङ्‌ग्याउन सक्छ। (एफि. ५:६; कल. २:८) तर कुनै विषयबारे सही निष्कर्षमा पुग्न हामीलाई सत्यतथ्य थाह हुनै पर्छ। हितोपदेश १८:१३ यसो भन्छ: “[सत्यतथ्य] राम्ररी सुन्‍नुअघिनै प्रश्‍नको जवाफ दिनु मूर्खता र अशिष्टता हो।”

सत्यतथ्य थाह पाउन र सही निष्कर्षमा पुग्न गाह्रो बनाउने केही कुराहरू के-के हुन्‌ भनेर हामी यस लेखमा छलफल गर्नेछौँ। साथै जानकारीलाई राम्ररी केलाउने क्षमता विकास गर्न मदत गर्ने बाइबलका उपयोगी सिद्धान्तहरू र विवरणहरू पनि हामी विचार गर्नेछौँ।

“आफूले सुनेको एक-एक कुरा” नपत्याउनुहोस्‌

३. हामीले हितोपदेश १४:१५ को सिद्धान्त किन लागू गर्नुपर्छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

अहिले हाम्रो समयमा जानकारीको ओइरो नै लागेको छ। इन्टरनेट वेबसाइट, टिभी अनि अरू सञ्चार माध्यमबाट यति धेरै जानकारी आउँछ कि हामी ती सबै सुन्‍न, पढ्‌न र हेर्न भ्याउँदैनौँ। अनि थुप्रैलाई चाहिँ साथीभाइ र चिनेजानेकाहरूले राम्रै मनसाय राखेर पठाएको इमेल, मेसेज र रिपोर्टको ओइरो लाग्ने गर्छ। अहिलेका मानिसहरूमा जानाजानी गलत जानकारी फैलाउने र तथ्यलाई बङ्‌ग्याउने प्रवृत्ति बढ्‌दो छ। त्यसैले हामी चनाखो हुनुपर्छ र आफूले सुनेको जानकारीलाई राम्ररी केलाउनुपर्छ। त्यसो गर्न हामीलाई बाइबलको कुन सिद्धान्तले मदत गर्न सक्छ? हितोपदेश १४:१५ भन्छ: “निर्बुद्धि मानिसले आफूले सुनेको एक-एक कुरा पत्याउँछ, चतुर मानिसले चाहिं प्रमाणको आवश्‍यकतालाई बुझ्छ।”

४. कस्तो किसिमको जानकारी पढ्‌ने भनेर छनौट गर्न फिलिप्पी ४:८, ९ ले हामीलाई कसरी मदत गर्छ? हामीले सही जानकारी हासिल गर्नु किन महत्त्वपूर्ण छ? (“ हामीलाई सत्यतथ्य जानकारी दिने केही माध्यमहरू” भन्‍ने पेटी पनि हेर्नुहोस्‌)

सही निर्णय गर्न हामीलाई सत्यतथ्य थाह हुनुपर्छ। त्यसकारण कुन जानकारी पढ्‌ने भनेर छान्दा हामी एकदमै होसियार हुनुपर्छ र निकै विचार पुऱ्‍याउनुपर्छ। (फिलिप्पी ४:८, ९ पढ्‌नुहोस्‌) शङ्‌कास्पद वेबसाइटहरूमा भएको समाचार हेरेर अथवा इमेल वा मेसेजमा पठाइएको कुनै अपुष्ट जानकारी पढेर हामीले आफ्नो समय खेर फाल्नु हुँदैन। खासगरि धर्मत्यागीहरूले लेखेको जानकारी भएको वेबसाइट पढ्‌नदेखि हामी होसियार हुनुपर्छ। तिनीहरूको मुख्य उद्देश्‍य भनेकै यहोवाका जनहरूको विश्‍वास कमजोर बनाउनु र सत्यलाई बङ्‌ग्याउनु हो। भरपर्दो जानकारी लिएका छैनौँ भने हामी गलत निर्णय गर्न पुग्छौँ। बहकाउने किसिमको जानकारीले हाम्रो मन र सोचाइमा एकदमै नराम्रो असर पार्न सक्छ भन्‍ने कुरालाई कहिल्यै हल्कासित नलिनुहोस्‌।—१ तिमो. ६:२०, २१.

५. इस्राएलीहरूले कस्तो गलत रिपोर्ट सुने र त्यसले तिनीहरूलाई कस्तो असर गऱ्‍यो?

गलत जानकारी पत्याउँदा त्यसले भयानक नतिजा ल्याउन सक्छ। मोशाको समयमा घटेको एउटा घटना विचार गरौँ। प्रतिज्ञा गरिएको देशको भेद लिन पठाइएका १२ जासुसमध्ये १० जनाले नराम्रो खबर ल्याए। (गन्ती १३:२५-३३) ती १० जना जासुसले बढाइचढाइ गरेर सुनाएको रिपोर्टले गर्दा यहोवाका जनहरूको मनोबल घट्यो र तिनीहरू असाध्यै डराए। (गन्ती १४:१-४) तिनीहरू किन यत्तिको हतोत्साहित भए? धेरैजसो जासुसले नराम्रो रिपोर्ट ल्याएकोले तिनीहरूको कुरा नै सत्य हुनुपर्छ भन्‍ने मानिसहरूलाई लागेको हुन सक्छ। यहोशू र कालेब भरोसायोग्य मानिसहरू भए तापनि तिनीहरूले ल्याएको राम्रो रिपोर्ट सुन्‍न मानिसहरूले इन्कार गरे। (गन्ती १४:६-१०) सत्यतथ्य के हो भनेर विचार गर्नु अनि यहोवामाथि भरोसा गर्नुको साटो तिनीहरूले गलत रिपोर्ट पत्याए। त्यस्तो छनौट गर्नु साँच्चै मूर्खतापूर्ण थियो!

६. यहोवाका जनहरूबारे पत्याउनै गाह्रो लाग्ने कुरा सुन्दा हामी किन तर्सिनु पर्दैन?

खासगरि यहोवाका जनहरूबारे कुनै रिपोर्ट सुन्दा हामी अझ चनाखो हुनुपर्छ। सैतान परमेश्‍वरका वफादार सेवकहरूको आरोपक हो भन्‍ने कुरा कहिल्यै नबिर्सनुहोस्‌। (प्रका. १२:१०) त्यसकारण विरोधीहरूले हामीविरुद्ध “झूट बोलेर नानाथरी खराब कुरा” भन्‍नेछन्‌ भनी येशूले चेतावनी दिनुभयो। (मत्ती ५:११) येशूको त्यस चेतावनीलाई गम्भीरतापूर्वक लिएका छौँ भने परमेश्‍वरका जनहरूबारे पत्याउनै गाह्रो लाग्ने कुरा सुन्दा हामी तर्सिनेछैनौँ।

७. कसैलाई इमेल वा मेसेज पठाउनुअघि हामीले कुन कुरा विचार गर्नुपर्छ?

के तपाईँलाई आफ्ना साथीहरू र चिनेजानेका मानिसहरूलाई इमेल वा मेसेज पठाउन मन पर्छ? यदि त्यसो हो भने सञ्चार माध्यममा कुनै नयाँ खबर सुन्दा तपाईँलाई त्यो खबर अरूलाई पठाइहालुँ जस्तो लाग्न सक्छ। सायद तपाईँ कुनै रोचक खबर थाह पाउनासाथ त्यो खबर अरूलाई सबैभन्दा पहिला सुनाउन चाहने संवाददाताले जस्तै महसुस गर्नुहुन्छ होला। तर त्यो खबर कसैलाई इमेल वा मेसेजबाट पठाउनुअघि आफैलाई यस्ता प्रश्‍न सोध्नुहोस्‌: ‘मैले पठाउन लागेको यो खबर सत्य हो भनेर के म पक्का छु? के मलाई यसबारे सबै सत्यतथ्य थाह छ?’ यदि तपाईँ पक्का हुनुहुन्‍न भने तपाईँले अनजानमै हाम्रा भाइबहिनीमाझ गलत जानकारी फैलाइरहनुभएको हुनेछ। त्यसैले यदि कुनै जानकारी सही हो कि होइन भनेर शङ्‌का लाग्छ भने ‘सेन्ड’ बटन होइन, ‘डिलिट’ बटन थिच्नुहोस्‌।

८. कुनै-कुनै मुलुकमा हाम्रा विरोधीहरूले के गरेका छन्‌? हामीले कसरी तिनीहरूलाई अनजानमै साथ दिइरहेका हुन सक्छौँ?

विचारै नपुऱ्‍याई हतार-हतार अरूलाई इमेल वा मेसेज पठाउँदा अर्को खतरा पनि आइपर्न सक्छ। कुनै-कुनै मुलुकमा सरकारले हाम्रो काममाथि कडिकडाउ गरेको छ वा पूरै प्रतिबन्ध लगाएको छ। त्यस्ता मुलुकहरूमा विरोधीहरूले हामीलाई डर देखाउन वा हामीबीचको भरोसालाई तोड्‌न जानाजानी गलत समाचार फैलाउन सक्छन्‌। विगतमा सोभियत सङ्‌घमा भएको एउटा घटना विचार गर्नुहोस्‌। यहोवाको सङ्‌गठनमा महत्त्वपूर्ण भूमिका निभाइरहेका कतिपय भाइहरूले यहोवाका जनहरूलाई धोका दिए भन्‍ने गलत खबर के जि बी नामको गुप्तचर प्रहरीले फैलायो। * थुप्रैले त्यो खबर पत्याए र यहोवाको सङ्‌गठनबाट अलग भए। कत्ति दुःखलाग्दो कुरा! हुनत थुप्रैले पछि आफ्नो निर्णय बदलेर सङ्‌गठनमा फर्किए तर कोही-कोही भने कहिल्यै फर्किएनन्‌। तिनीहरूको विश्‍वासको जहाज क्षतिग्रस्त भयो। (१ तिमो. १:१९) त्यस्तो भयानक नतिजा भोग्नदेखि हामी कसरी जोगिन सक्छौँ? नकारात्मक रिपोर्ट वा अपुष्ट खबर अरूलाई कहिल्यै नपठाउनुहोस्‌। सजिलै बहकिने निर्बुद्धि मानिस नबन्‍नुहोस्‌। आफूलाई सबै सत्यतथ्य थाह छ कि छैन, पक्का गर्नुहोस्‌।

अपूरो जानकारी

९. सही जानकारी पाउन गाह्रो बनाउने अर्को कुरा के हो?

सही निष्कर्षमा पुग्न गाह्रो बनाउने अर्को कुरा भनेको अर्ध-सत्य वा अपूरो जानकारी हो। हुनत कुनै जानकारीमा १० प्रतिशत सत्य कुरा होला तर वास्तवमा त्यो जानकारी शतप्रतिशत बहकाउने किसिमको हुन्छ। कुनै-कुनै खबरमा केही हदसम्म सत्य कुरा भए पनि ती वास्तवमा धूर्ततापूर्वक रचिएका हुन सक्छन्‌। त्यस्ता खबरहरूबाट नबहकिन हामीले के गर्नुपर्छ?—एफि. ४:१४.

१०. इस्राएलीहरूले झन्डै आफ्नै दाजुभाइविरुद्ध कसरी युद्ध लड्‌न आँटेका थिए? त्यसो गर्नदेखि तिनीहरूलाई केले रोक्यो?

१० यहोशूको समयमा यर्दन नदीको पश्‍चिमपट्टि बसेका इस्राएलीहरूको विवरण विचार गरौँ। (यहो. २२:९-३४) तिनीहरूले यर्दन नदीको पूर्वपट्टि बसिरहेका इस्राएलीहरूले (रूबेनको कुल, गादको कुल र मनश्‍शेको आधा कुल) यर्दननजिकै एउटा भव्य र आकर्षक वेदी बनाएका छन्‌ भन्‍ने खबर सुने। तिनीहरूले सुनेको त्यो खबर सत्य नै थियो। तर यो अपूरो जानकारीको आधारमा तिनीहरू गलत निष्कर्षमा पुगे। तिनीहरूलाई पूर्वपट्टि बस्ने आफ्ना दाजुभाइहरूले वेदी बनाएर यहोवाको विद्रोह गरे भन्‍ने लाग्यो। त्यसैले तिनीहरू पूर्वपट्टि बस्ने इस्राएलीहरूसित युद्ध लड्‌न एकजुट भए। (यहोशू २२:९-१२ पढ्‌नुहोस्‌) तर धन्‍न पश्‍चिममा बस्ने ती इस्राएलीहरूले आक्रमण गर्नुअघि सत्यतथ्य बुझ्न केही भरोसायोग्य मानिसहरूलाई पठाए। वास्तविकता के थियो? रूबेनको कुल, गादको कुल र मनश्‍शेको आधा कुलले बलिदान चढाउन होइन तर स्मारकको रूपमा त्यो वेदी बनाएका रहेछन्‌। उनीहरू पनि यहोवाका वफादार सेवक थिए भनेर भविष्यमा सबैले थाह पाऊन्‌ भन्‍ने चाहन्थे; त्यसैले उनीहरूले त्यो वेदी बनाएका थिए। अपूरो जानकारीको आधारमा आफ्ना भाइहरूलाई मारकाट गर्न अग्रसर हुनुको साटो समय लगाएर सत्यतथ्य बुझेकोमा पश्‍चिमपट्टि बस्ने ती इस्राएलीहरू कत्ति खुसी भए होलान्‌!

११. मपीबोशेत कसरी अन्यायको शिकार हुन पुगे? दाऊदले के गरेका भए त्यस्तो अन्याय हुने थिएन?

११ व्यक्‍तिविशेषको रूपमा पनि कहिलेकाहीँ हामीबारे फैलाइएको अर्ध-सत्य वा अपूरो जानकारीले गर्दा हामी अन्यायको शिकार हुन सक्छौँ। राजा दाऊद र मपीबोशेतको विवरण विचार गरौँ। दाऊदले मपीबोशेतलाई उनका हजुरबुबा शाऊलको सबै जग्गाजमिन फिर्ता दिएर उनीप्रति उदारता र दया देखाए। (२ शमू. ९:६, ७) पछि दाऊदले मपीबोशेतबारे नकारात्मक खबर सुने। तर त्यो खबर सत्य हो कि होइन भनेर पक्का नगरिकनै दाऊदले मपीबोशेतको सबै सम्पत्ति जफत गर्ने निर्णय गरे। (२ शमू. १६:१-४) आफ्नो निर्णय गलत रहेछ भनेर दाऊदले पछि मपीबोशेतसित कुराकानी गर्दा थाह पाए र तिनको केही सम्पत्ति फिर्ता दिलाए। (२ शमू. १९:२४-२९) सोचविचारै नगरी अपूरो जानकारीको भरमा निर्णय गर्नुको साटो दाऊदले सत्यतथ्य बुझ्न समय लिएको भए मपीबोशेतले त्यस्तो अन्याय भोग्नुपर्ने थिएन।

१२, १३. (क) मानिसहरूले झूटो आरोप लगाएर येशूको बदनाम गर्दा उहाँले के गर्नुभयो? (ख) हामीबारे कसैले गलत जानकारी फैलायो भने हामी के गर्न सक्छौँ?

१२ कसैले झूटो आरोप लगाएर तपाईँको बदनाम गऱ्‍यो भने नि? येशू र बप्तिस्मा गराउने यूहन्‍नाले त्यस्तै परिस्थितिको सामना गर्नुपरेको थियो। (मत्ती ११:१८, १९ पढ्‌नुहोस्‌) येशूबारे गलत जानकारी फैलाइँदा उहाँले के गर्नुभयो? उहाँले आफ्नो भएभरको समय र शक्‍ति आफ्नो सफाइ दिनमा खर्च गर्नुभएन। बरु उहाँले मानिसहरूलाई सत्यतथ्य अर्थात्‌ उहाँले गर्नुभएको काम र उहाँको शिक्षालाई विचार गर्न आग्रह गर्नुभयो। उहाँले यसो भन्‍नुभयो: “मानिसले परमेश्‍वरको स्तरबमोजिम गर्ने असल कामैले ऊ बुद्धिमान्‌ हो भनेर प्रमाणित गर्छ।”—मत्ती ११:१९.

१३ यसबाट हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ। कहिलेकाहीँ अरूले हामीबारे गलत वा नकारात्मक कुरा गर्न सक्छन्‌। त्यतिखेर आफूमाथि साह्रै अन्याय भयो जस्तो हामीलाई लाग्न सक्छ र आफ्नो नाममा लागेको दाग हटाउन केही गर्न सके हुन्थ्यो जस्तो लाग्न सक्छ। तर त्यस्तो अवस्थामा हामी एउटा कुरा भने गर्न सक्छौँ। यदि कसैले हामीबारे गलत कुरा फैलायो भने त्यो कुरा झूटो हो भनेर हाम्रो जीवनशैलीले नै प्रमाणित गर्न दिनुपर्छ। येशूको उदाहरणले देखाएझैँ हाम्रो असल ख्रीष्टियन आचरणले सबै अर्ध-सत्य र गलत आरोपलाई मेटाइदिन्छ।

के तपाईँ आफूमा बढ्‌तै भरोसा गर्नुहुन्छ?

१४, १५. आफ्नै समझशक्‍तिमा भर पर्नु हाम्रो लागि किन पासो हुन सक्छ?

१४ सबै सत्यतथ्य थाह नहुँदा सही निष्कर्षमा पुग्न गाह्रो हुन्छ भनेर हामीले बुझ्यौँ। तर सही निष्कर्षमा पुग्न गाह्रो बनाउने अर्को कुरा पनि छ। त्यो हो, हाम्रो त्रुटिपूर्ण अवस्था। हामीले वफादार भएर यहोवाको सेवा गरेको दशकौँ भइसक्यो कि? त्यसो हो भने हाम्रो सोचविचार गर्ने क्षमता र समझशक्‍ति निकै तिखारिएको होला। अनि हामीले बुद्धिमानी निर्णय गर्ने व्यक्‍तिको रूपमा नाम पनि कमाएका छौँ होला। तर के यही कुरा हाम्रो लागि पासो हुन सक्छ?

१५ हो, यदि हामी आफ्नो समझशक्‍तिमा बढ्‌तै भर पऱ्‍यौँ भने त्यो हाम्रो लागि पासो हुन सक्छ। हाम्रो भावना र व्यक्‍तिगत विचारधाराले हाम्रो सोचाइलाई असर गर्न सक्छ। कुनै परिस्थितिबारे सबै सत्यतथ्य थाह नभए पनि एक चोटि सर्र हेर्नेबित्तिकै सबै कुरा बुझ्न सक्छु जस्तो हामीलाई लाग्न सक्छ। त्यसरी सोच्नु कत्ति खतरनाक हुन्छ! बाइबलले हामीलाई आफ्नै समझशक्‍तिमा भर नपर्न स्पष्ट चेतावनी दिएको छ।—हितो. ३:५, ६; २८:२६.

१६. यस काल्पनिक दृश्‍यमा के भयो अनि टम तुरुन्तै कस्तो निष्कर्षमा पुगे?

१६ यो दृश्‍य कल्पना गर्नुहोस्‌। एक साँझको कुरा हो, जोन नाम गरेका एक जना एल्डर एउटी स्त्रीसित रेस्टुरेन्टमा बसिरहेको एकजना परिपक्व एल्डर टमले देखे र ती स्त्री उनकी पत्नी थिइनन्‌। टमले उनीहरू हाँसिरहेको, एक-अर्कामा पूरै मग्न भएर रमाइरहेको अनि एक-अर्कालाई मायालु तरिकाले अङ्‌गालो हालिरहेको देखे। यो देखेर टमलाई झन्‌झनै छटपटी हुन थाल्यो। कतै जोनको आफ्नी श्रीमतीसित सम्बन्धविच्छेद पो हुने हो कि? जोनकी श्रीमती र छोराछोरीलाई के हुने होला? यस्तै खालको अवस्थाले गर्दा कतिपयको पारिवारिक जीवन भताभुङ्‌ग भएको टमले देखेका थिए। यस्तै दृश्‍य तपाईँले देख्नुभएको भए तपाईँलाई कस्तो लाग्ने थियो?

१७. यस काल्पनिक दृश्‍यमा टमले पछि कुन कुरा थाह पाए? यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

१७ तर एकछिन है! हुनत जोनले आफ्नी श्रीमतीलाई धोका दिए भन्‍ने निष्कर्षमा टम पुगिहाले तर के तिनलाई सबै सत्यतथ्य थाह थियो? त्यही साँझ टमले जोनलाई फोन गरे। रेस्टुरेन्टमा जोनसँगै भएकी स्त्री उनको साक्खै बहिनी थिइन्‌ र अर्को सहरबाट त्यहाँ आएकी रहेछिन्‌ भनेर थाह पाउँदा टमलाई कत्ति ढुक्क महसुस भयो होला! ती दाजु-बहिनीले एक-अर्कालाई नभेटेको वर्षौँ भइसकेको रहेछ। जोनकी बहिनी केही घण्टाको लागि मात्र आएकी हुँदा जोनले उनीसित रेस्टुरेन्टमा भेटेर खाना खाने समय मात्र मिलाउन सके। तर जोनकी श्रीमती भने आउन सकिनन्‌। धन्‍न, टमले आफूले सोचेको गलत कुरा अरूलाई फैलाएनन्‌। यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? हामी ख्रीष्टियन भएको जतिसुकै लामो समय भइसकेको किन नहोस्‌, सही निष्कर्षमा पुग्न सबै सत्यतथ्य पत्ता लगाउनै पर्छ, आफ्नै अनुभवमा मात्र भर पर्नु हुँदैन।

१८. कसैको फरक व्यक्‍तित्वले गर्दा हामी कसरी अरूबारे गलत निष्कर्षमा पुग्न सक्छौँ?

१८ सत्यतथ्यलाई राम्ररी केलाउन गाह्रो बनाउने अर्को परिस्थिति भनेको मण्डलीमा आफ्नो भन्दा फरक व्यक्‍तित्व भएको कुनै भाइ वा बहिनीसित मिलेर बस्न गाह्रो हुँदा हो। तिनीसितको भिन्‍नताबारे मात्रै सोचिरह्‍यौँ भने तिनलाई हरबखत शङ्‌कालु नजरले हेर्ने झुकाव हामीमा उत्पन्‍न हुन सक्छ। अनि तिनीबारे कुनै नकारात्मक कुरा सुन्‍नेबित्तिकै त्यो पत्याइहाल्न सक्छौँ। हामीले सिक्नुपर्ने पाठ के हो? कुनै भाइ वा बहिनीविरुद्ध आफ्नो मनमा नकारात्मक भावना राखिरह्‍यौँ भने हामी सत्यतथ्य विचारै नगरी तिनीबारे गलत निष्कर्षमा पुग्न सक्छौँ। (१ तिमो. ६:४, ५) त्यसो हुन नदिन हामीले ईर्ष्या र डाहजस्ता दुर्गुणहरूलाई आफ्नो मनमा जरा गाड्‌न दिनु हुँदैन। नकारात्मक भावनाको वशमा पर्नुको साटो भाइबहिनीलाई प्रेम गर्नुपर्ने र मनैदेखि क्षमा दिनुपर्ने आफ्नो दायित्वलाई सधैँ सम्झिरहौँ।कलस्सी ३:१२-१४ पढ्‌नुहोस्‌

बाइबलका सिद्धान्तहरूले हामीलाई जोगाउँछ

१९, २०. (क) जानकारीलाई सही तरिकाले केलाउन हामीलाई कुन-कुन बाइबल सिद्धान्तले मदत गर्छ? (ख) अर्को लेखमा हामी कुन कुरा विचार गर्नेछौँ?

१९ भरपर्दो जानकारीको कमीले गर्दा, अर्ध-सत्य कुराहरू व्याप्त भएकोले गर्दा अनि हाम्रो आफ्नै त्रुटिपूर्ण अवस्थाले गर्दा सत्यतथ्य थाह पाउन र त्यसलाई सही तरिकाले केलाउन अहिले झनै गाह्रो भएको छ। तर त्यसो गर्न हामीलाई केले मदत गर्छ? हामीले बाइबलका सिद्धान्तहरू बुझ्नुपर्छ र त्यसलाई लागू गर्नुपर्छ। एउटा सिद्धान्त भनेको सत्यतथ्य राम्ररी सुन्‍नुअघि नै त्यसको जवाफ दिनु मूर्खता र अशिष्टता हो। (हितो. १८:१३) अर्को बाइबल सिद्धान्तले हामीलाई आफूले सुनेको एक-एक कुरा तुरुन्तै नपत्याइहाल्न सम्झाउँछ। (हितो. १४:१५) अझै अर्को सिद्धान्त भनेको हामी ख्रीष्टियन भएको जतिसुकै लामो समय भए पनि आफ्नै समझशक्‍तिमा भरोसा गर्नदेखि होसियार हुनुपर्छ। (हितो. ३:५, ६) बाइबलका सिद्धान्तहरूले हामीलाई जोगाओस्‌ भन्‍ने चाहन्छौँ भने भरपर्दो स्रोतबाट पाएको सत्यतथ्य जानकारीको आधारमा हामी सही निष्कर्षमा पुग्नुपर्छ र बुद्धिमानी निर्णय गर्नुपर्छ।

२० तर अझै अर्को चुनौती पनि छ। त्यो हो, बाहिरी रूप हेरेर अरूको न्याय गर्ने झुकाव। यस सन्दर्भमा हामी चुक्न सक्ने केही क्षेत्रहरू के-के हुन्‌ र त्यसबाट हामी कसरी जोगिन सक्छौँ, त्यसबारे अर्को लेखमा विचार गर्नेछौँ।

^ अनु. 8 यहोवाका साक्षीहरूको वार्षिक पुस्तक २००४, (अङ्‌ग्रेजी) पृष्ठ १११-११२ र यहोवाका साक्षीहरूको वार्षिक पुस्तक २००८, (अङ्‌ग्रेजी) पृष्ठ १३३-१३५ हेर्नुहोस्‌।