सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

धीरज—राम्रो कुराको आशा गर्दै सहनु

धीरज—राम्रो कुराको आशा गर्दै सहनु

यस “अन्तको दिन”-ले ल्याउने गाह्रो अवस्थाको कारण यहोवाका जनहरू पहिला भन्दा अझ धेरै धीरजी हुनुपरेको छ। (२ तिमो. ३:१-५) हामी वरपरका मानिसहरू आफैलाई मात्र प्रेम गर्ने, कुनै कुरामा सहमत नहुने र असंयमित स्वभावका छन्‌। यस्ता मानिसहरूमा अक्सर धीरज हुँदैन। त्यसकारण हरेक ख्रीष्टियनले आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुपर्छ: ‘संसारमा झल्किने अधीर स्वभाव कतै ममा पनि सरेको छ कि? धीरजी हुनु भनेको वास्तवमा के हो? अनि यो मनमोहक ख्रीष्टियन गुणलाई म कसरी आफ्नो व्यक्‍तित्वको अभिन्‍न भाग बनाउन सक्छु?’

धीरज भनेको के हो?

बाइबलमा प्रयोग गरिएको धीरज भन्‍ने शब्दले गाह्रो अवस्थामा सहनुलाई मात्र बुझाउँदैन। परमेश्‍वरको धीरज अनुकरण गर्ने व्यक्‍तिले राम्रो कुराको आशा गर्दै सहन्छ। तिनले आफूबारे मात्र सोच्दैनन्‌ बरु गाह्रो परिस्थिति सृजना गर्ने व्यक्‍तिको भलाइलाई पनि ध्यान दिन्छन्‌। यसकारण धीरजी व्यक्‍तिलाई कसैले चित्त दुखायो अथवा रिस उठायो भने पनि तिनले त्यस व्यक्‍तिसँगको सम्बन्ध फेरि राम्रो हुनेछ भनेर आशा गर्न छोड्‌दैनन्‌। त्यसैले बाइबलमा प्रेमले उत्पन्‍न गर्ने मनमोहक गुणहरूमध्ये “धीरज”-लाई सुरुमा उल्लेख गरिएकोमा हामी छक्क पर्दैनौँ। * (१ कोरि. १३:४) परमेश्‍वरको वचनमा उल्लेख गरिएको “पवित्र शक्‍तिको फल”-का पक्षहरूमा पनि “धीरज”-लाई समावेश गरिएको छ। (गला. ५:२२, २३) त्यसोभए यो ईश्‍वरीय गुण खेती गर्न हामीले के गर्नुपर्छ?

धीरज कसरी विकास गर्न सक्छौँ?

धीरज विकास गर्न हामीले यहोवाको पवित्र शक्‍तिको लागि प्रार्थना गर्नुपर्छ। उहाँमा भरोसा राख्ने र भर पर्ने मानिसलाई उहाँ आफ्नो पवित्र शक्‍ति दिनुहुन्छ। (लूका ११:१३) तर परमेश्‍वरको शक्‍ति अत्यन्तै प्रबल भए पनि हामीले प्रार्थनामा मागेअनुसार कदम चाल्नै पर्छ। (भज. ८६:१०, ११) यसको मतलब यो गुणले आफ्नो मनमा जरा गाडोस्‌ भन्‍ने चाहन्छौँ भने हामीले धीरजी हुन हरेक दिन प्रयास गरिरहनुपर्छ। अझ यसलाई हामी आफ्नो व्यक्‍तित्वको अभिन्‍न भाग बनाउन चाहन्छौँ भने त्यति मात्र गरेर पुग्दैन। हामीले अरू के गर्नुपर्छ?

हामीले धीरज विकास गर्न येशूको त्रुटिरहित उदाहरण केलाउनुपर्छ अनि त्यसको अनुकरण गर्नुपर्छ। येशूको उदाहरणसँग मेल खाने “नयाँ व्यक्‍तित्व”-बारे प्रेषित पावलले उल्लेख गरे, जसमा “धीरज” पनि समावेश छ। त्यसपछि तिनले “ख्रीष्टको शान्तिले [हाम्रो] मनलाई नियन्त्रण गरोस्‌” भनेर आग्रह गरे। (कल. ३:१०, १२, १५) हामी कसरी ख्रीष्टको शान्तिलाई हाम्रो मनलाई “नियन्त्रण” गर्न दिन सक्छौँ? यहोवाले आफ्नो समयमा सबै कुरा ठीक गर्नुहुन्छ भनेर येशूले अटल विश्‍वास गर्नुहुन्थ्यो। हामीले पनि त्यस्तै विश्‍वासको अनुकरण गर्नुपर्छ। येशूको उदाहरण अनुकरण गऱ्‍यौँ भने, हामीलाई अधीर बनाउन सक्ने जस्तोसुकै परिस्थिति आइपरे पनि हामी धीरजी भइरहने छौँ।—यूह. १४:२७; १६:३३.

हुनत हामी परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसार हेर्न उत्सुक छौँ तर यहोवा हामीप्रति धीरजी हुनुभएको कुरा मनन गर्दा हामी पनि अझ धीरजी हुन सिक्छौँ। बाइबल हामीलाई यस्तो आश्‍वासन दिन्छ: “केही मानिसहरूले सम्झेजस्तो यहोवा आफ्नो प्रतिज्ञा पूरा गर्ने सन्दर्भमा ढिला हुनुहुन्‍न तर उहाँ तिमीहरूप्रति धीरजी हुनुहुन्छ, किनकि उहाँ कोही पनि नाश नहोस्‌, बरु सबैले पश्‍चाताप गरून्‌ भन्‍ने चाहनुहुन्छ।” (२ पत्रु. ३:९) यहोवा हामीप्रति धीरजी हुनुभएको कुरालाई मनन गर्दा के हामी पनि अरूप्रति धीरजी हुन उत्प्रेरित हुँदैनौँ र? (रोमी २:४) त्यसोभए हामी धीरजी हुनुपर्ने कस्ता अवस्थाहरू हुन सक्छन्‌?

धीरजी हुनुपर्ने अवस्थाहरू

दिनहुँजसो हाम्रो धैर्यताको जाँच हुने अवस्थाहरू आइपर्न सक्छन्‌। उदाहरणको लागि, तपाईँलाई आफूले एउटा महत्त्वपूर्ण कुरा भन्‍नुपर्छ जस्तो लागे तापनि अरूले बोलिरहेको बेला बिचैमा कुरा नकाट्‌न धीरजी हुनुपर्ने हुन्छ। (याकू. १:१९) सङ्‌गी विश्‍वासीहरूको कुनै बानीले तपाईँलाई चिढचिढाउँछ भने त्यस्ता भाइबहिनीसँग सङ्‌गत गर्दा तपाईँ धीरजी हुनुपर्ने हुन्छ। त्यस्तो बेला चिढिनुको साटो यहोवा र येशूले हाम्रा कमजोरीहरूलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ भनेर विचार गर्नु बुद्धिमानी हुन्छ। उहाँहरू हाम्रा ससाना कमीकमजोरीहरूको आलोचना गर्नुहुन्‍न। बरु हाम्रा राम्रा गुणहरूमा ध्यान दिनुहुन्छ अनि नराम्रो बानी हटाउन हामीले प्रयास गरिरहेको देख्दा उहाँहरू हामीप्रति धीरजी हुनुहुन्छ।—१ तिमो. १:१६; १ पत्रु. ३:१२.

हाम्रो धीरजको जाँच हुन सक्ने अर्को अवस्था भनेको हामीले गलत कुरा भन्यौँ वा गऱ्‍यौँ भनेर कसैले औँल्याउँदा हो। त्यस्तो बेला अक्सर हामी झनक्क रिसाउने अनि आफ्नो सफाइ दिने गर्छौँ होला। तर परमेश्‍वरको वचनले हामीलाई फरक प्रतिक्रिया देखाउन सल्लाह दिन्छ। बाइबल यसो भन्छ: “धीरजी हुनु अहंकारी हुनुभन्दा असल हो। रीस देखाउन छिटो नगर्‌, किनभने रीस मूर्खको मनमा हुन्छ।” (उप. ७:८, ९) त्यसकारण कसैले हामीलाई गलत आरोप लगाउँदा कुनै प्रतिक्रिया देखाइहाल्नु अघि धीरजी भई सोच्नुपर्छ। आफूमाथि गलत आरोप लगाइँदा येशूले यही सिद्धान्त लागू गर्नुभयो।—मत्ती ११:१९.

आफ्ना छोराछोरीमा गलत मनोवृत्ति, चाहना अथवा झुकाव पलाउन थालेको याद गर्दा आमाबुबा अझ धीरजी हुनुपर्ने हुन्छ। स्कान्डिनेभिया बेथेल परिवारका सदस्य मातियसको अनुभव विचार गरौँ। किशोर छँदा मातियसले आफ्नो विश्‍वासको कारण स्कुलमा निकै गिल्ला सहनुपऱ्‍यो। पहिला त तिनको आमाबुबालाई यसबारे पत्तो थिएन। तर यस दबाबको कारण आफ्नो छोरामा परेको असर आमाबुबाले पछि याद गर्न थाले। यहोवाका साक्षीहरूको विश्‍वास साँचो हो कि होइन भनेर तिनले शङ्‌का गर्न थाले। मातियसको बुबा गिलिस यसो भन्छन्‌: “त्यतिबेला हामी निकै धीरजी हुनुपरेको थियो।” मातियसले यस्ता प्रश्‍नहरू सोध्थे: “परमेश्‍वर को हुनुहुन्छ? बाइबल परमेश्‍वरको वचन होइन भने नि? यसो गर त्यसो नगर भन्‍ने व्यक्‍ति वास्तवमा परमेश्‍वर नै हुनुहुन्छ भनेर कसरी भन्‍न सक्छौँ?” तिनले आफ्नो बुबालाई यसो पनि भन्थे: “तपाईँहरू जे विश्‍वास गर्नुहुन्छ अनि जस्तो महसुस गर्नुहुन्छ, म त गर्दिनँ। तैपनि किन मैले गिल्ला सहनुपर्ने?”

गिलिस अझै यसो भन्छन्‌: “कहिलेकाहीँ हाम्रो छोराले रिसाएर प्रश्‍न सोध्थ्यो तर वास्तवमा उसले आफ्नी आमाप्रति वा मप्रति होइन बरु सत्यप्रति रिस पोखाएको जस्तो देखिन्थ्यो। सत्यअनुसार चल्नु परेकोले उसको जीवन गाह्रो भएको महसुस गर्थ्यो।” गिलिसले यो परिस्थिति कसरी सम्हाले? “दिनदिनै छोरा र म बसेर घण्टौँ कुराकानी गर्थ्यौँ। उसको भावना र दृष्टिकोण बुझ्न धेरैजसो म उसको कुरा सुन्थेँ अनि कहिलेकाहीँ मात्र उसलाई प्रश्‍न सोध्थेँ। कहिलेकाहीँ म उसलाई कुनै विषयबारे बुझाइ सकेपछि त्यसबारे एक-दुई दिन सोच्नू अनि फेरि कुरा गरौँला भन्थेँ। अरू बेला भने उसले व्यक्‍त गरेको धारणाबारे मलाई पनि सोच्न दुई-चार दिन समय देऊ भन्थेँ। यसरी नियमित तवरमा कुराकानी गर्दा मातियसले फिरौती, परमेश्‍वरको सार्वभौमिकता अनि यहोवाको प्रेमजस्ता बाइबलका शिक्षाहरू बिस्तारै बुझ्न र स्वीकार्न थाल्यो। उसलाई बुझाउन समय लाग्यो अनि अक्सर गाह्रो पनि भयो तर बिस्तारै उसको मनमा यहोवाप्रतिको प्रेम बढ्‌न थाल्यो। छोरालाई किशोरावस्थामा धीरजी हुँदै मदत गर्दा उसको मन छुन सकेकोमा र नतिजा राम्रो भएकोमा मेरी पत्नी र म एकदमै खुसी छौँ।”

आफ्नो छोरालाई धीरजी भई मदत गर्दा यहोवाले पक्कै साथ दिनुहुनेछ भन्‍ने कुरामा गिलिस र तिनकी पत्नी विश्‍वस्त थिए। ती दिनहरू सम्झँदै गिलिस यसो भन्छन्‌: “हामी मातियसलाई अक्सर भन्‍ने गर्थ्यौँ, हामी उसलाई असाध्यै माया गर्छौँ। त्यसैले सही कुरा बुझ्न यहोवाले उसलाई मदत दिनुहुनेछ भनेर ढुक्क भएकोले हामी यहोवालाई अझ व्यग्र प्रार्थना गर्दै छौँ।” धीरजजस्तो महत्त्वपूर्ण गुण खेती गर्ने ती आमाबुबा अहिले कत्ति खुसी महसुस गर्छन्‌ होला।

आध्यात्मिक तवरमा मदत दिँदा मात्र होइन, दीर्घकालीन रोग लागेका परिवारका सदस्य अथवा साथीको हेरचाह गर्दा पनि साँचो ख्रीष्टियनहरू धीरजी हुनुपर्छ। स्कान्डिनेभियामै बस्ने एलनको * अनुभव विचार गरौँ।

लगभग आठ वर्षअघि एलनको पतिलाई दुईपल्ट मस्तिष्कघात भएको थियो। त्यसले गर्दा तिनको मस्तिष्कले राम्रोसँग काम गर्न छोड्यो। नतिजास्वरूप, तिनी कसैप्रति दया महसुस गर्न अनि आनन्द वा दुःख महसुस गर्न नसक्ने भए। एलनको लागि यो एकदमै गाह्रो अवस्था हो। उनी भन्छिन्‌: “म एकदमै धीरजी हुनु परेको छ अनि प्रार्थना पनि धेरै चोटि गर्नुपरेको छ।” उनी अझै यसो भन्छिन्‌: “मलाई मनपर्ने बाइबल पद फिलिप्पी ४:१३ हो। त्यसबाट मैले निकै सान्त्वना पाएकी छु। त्यहाँ यसो भनिएको छ: ‘किनकि जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।’” त्यही शक्‍तिले गर्दा एलन धीरजी हुन सकेकी छिन्‌ र यहोवाले मदत गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुन सकेकी छिन्‌।—भज. ६२:५, ६.

यहोवाको धीरज अनुकरण गर्नुहोस्‌

धीरज खेती गर्न हामीले अनुकरण गर्न सक्ने सबैभन्दा उत्कृष्ट उदाहरण यहोवा हुनुहुन्छ। (२ पत्रु. ३:१५) यहोवाले धीरज देखाउनुभएको थुप्रै विवरणहरू बाइबलमा उल्लिखित छन्‌। (नहे. ९:३०; यशै. ३०:१८) उदाहरणको लागि, यहोवाले सदोमलाई विनाश गर्ने निर्णय गर्नुहुँदा अब्राहामले उठाएको हरेक प्रश्‍नप्रति उहाँले कस्तो प्रतिक्रिया देखाउनुभयो? यहोवाले अब्राहामको कुरा बीचैमा काट्‌नुभएन बरु उहाँले धीरजी हुँदै अब्राहामको हरेक प्रश्‍न र तिनलाई चिन्ता लागेको कुरा सुन्‍नुभयो। त्यसपछि यहोवाले अब्राहामको चिन्ताको विषयबारे फेरि उल्लेख गर्नुभएर तिनको कुरा सुनेको देखाउनुभयो अनि सदोममा दस जना मात्रै धर्मी भेटिए पनि त्यस सहरलाई विनाश गर्नेछैनँ भनी बताउनुभयो। (उत्प. १८:२२-३३) धीरजी भई सुन्‍ने र नचिढिने सन्दर्भमा कत्ति राम्रो उदाहरण!

परमेश्‍वरजस्तै धीरजी हुनु सबै ख्रीष्टियनले धारण गर्नुपर्ने नयाँ व्यक्‍तित्वको एउटा महत्त्वपूर्ण पक्ष हो। धीरजी भइरहन कडा मेहनत गऱ्‍यौँ भने हामीले स्वर्गमा बस्नुहुने हाम्रो मायालु र धीरजी बुबाको महिमा गरिरहेका हुनेछौँ। अनि हामी पनि “विश्‍वास अनि धैर्य गरेर परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका कुराहरू हासिल” गर्ने मानिसहरूमध्ये गनिनेछौँ।—हिब्रू ६:१०-१२.

^ अनु. 4 पवित्र शक्‍तिको फलका पक्षहरूबारे नौ भाग भएको यस शृङ्‌खलाको पहिलो लेखमा प्रेमबारे छलफल गरिएको थियो।

^ अनु. 15 नाम परिवर्तन गरिएको छ।