सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“तिमीहरूलाई यी कुराहरू थाह छ अनि यदि तिमीहरू यी कुराहरू गर्छौ भने आनन्दित हौ”

“तिमीहरूलाई यी कुराहरू थाह छ अनि यदि तिमीहरू यी कुराहरू गर्छौ भने आनन्दित हौ”

“मलाई पठाउनुहुनेको इच्छाअनुसार गर्नु अनि उहाँले दिनुभएको काम पूरा गर्नु नै मेरो भोजन हो।”—युह. ४:३४.

गीत: ८०, ३५

१. संसारमा व्याप्त स्वार्थी मनोभावले हामीलाई नम्र हुन किन गाह्रो बनाउँछ?

परमेश्‍वरको वचनबाट सिकेको कुरा जीवनमा लागू गर्न किन गाह्रो हुन्छ? एउटा कारण, जे सही हो, त्यो गर्न नम्रता चाहिन्छ अनि हामीलाई नम्र हुन गाह्रो बनाउने कुराहरू थुप्रै छन्‌। अहिले “अन्तको दिनमा” हामीवरपरका “मानिसहरू आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने, धाक लगाउने, अहङ्‌कारी, . . . असंयमित” छन्‌। (२ तिमो. ३:१-३) हुनत कसैको स्वार्थी व्यवहारबारे सुन्दा अनि त्यसको गुणगानसमेत गरिँदा परमेश्‍वरका सेवकहरू त्यस्तो आचरणलाई मन पराउँदैनन्‌ होला तर त्यस्तो मानिसको फलिफाप भएको देख्दा तिनीहरूलाई डाह लाग्न सक्छ। (भज. ३७:१; ७३:३) कसै-कसैलाई यस्तो समेत लाग्न सक्छ: ‘आफ्नो भन्दा अरूको हितलाई प्राथमिकता दिनुमा कुनै फाइदा छ र? “आफूलाई सबैभन्दा सानो सम्झेर” व्यवहार गर्दा कतै मानिसहरूले मेरो आदर गर्न छोड्‌ने पो हुन्‌ कि?’ (लुका ९:४८) संसारमा व्याप्त स्वार्थी मनोभावले आफूलाई असर गर्न दियौँ भने त्यसले मण्डलीमा एकअर्कासितको मायालु सम्बन्धलाई र ख्रिष्टियनको रूपमा हाम्रो चिनारीलाई बिगार्न सक्छ। तर बाइबलमा पाइने असल उदाहरणहरू अध्ययन गऱ्‍यौँ र त्यसको अनुकरण गऱ्‍यौँ भने नतिजा राम्रो हुनेछ।

२. विगतका परमेश्‍वरका वफादार सेवकहरूबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

विगतका परमेश्‍वरका वफादार सेवकहरूलाई हामी आफ्नो आदर्श बनाउन चाहन्छौँ भने तिनीहरूले राम्रो नतिजा हासिल गर्न कस्ता कामहरू गरे भनेर राम्ररी केलाउनुपर्छ। तिनीहरू कसरी परमेश्‍वरसित मित्रता गाँस्न सफल भए, उहाँको अनुमोदन कसरी पाए अनि उहाँको इच्छा पूरा गर्न कसरी बल पाए भनेर हामीले बुझ्नुपर्छ। आध्यात्मिक पोषण पाउन यस्तो किसिमको अध्ययन गर्नु जरुरी छ।

आध्यात्मिक भोजन लिनुको अर्थ जानकारी बटुल्नु मात्र होइन

३, ४. (क) हामी आध्यात्मिक निर्देशन कसरी पाउँछौँ? (ख) आध्यात्मिक भोजन लिनुको अर्थ ज्ञान लिनु मात्र होइन भनेर किन भन्‍न सक्छौँ?

हामी बाइबल, हाम्रा ख्रिष्टियन प्रकाशन, वेबसाइट, JW ब्रोडकास्टिङ, सभा तथा सम्मेलनहरूबाट प्रचुर मात्रामा राम्रो सल्लाह र तालिम पाउँछौँ। तर युहन्‍ना ४:३४ मा येसुले भन्‍नुभएका शब्दहरूअनुसार आध्यात्मिक भोजन लिनुको अर्थ ज्ञान लिनु मात्र होइन। हामीले अरू के-के गर्नुपर्छ? येसुले यसो भन्‍नुभयो: “मलाई पठाउनुहुनेको इच्छाअनुसार गर्नु अनि उहाँले दिनुभएको काम पूरा गर्नु नै मेरो भोजन हो।”

येसुको लागि आध्यात्मिक भोजन लिनुको अर्थ परमेश्‍वरको निर्देशनअनुसार कदम चाल्नु थियो। यसलाई कुन अर्थमा भोजन भन्‍न सकिन्छ? पोसिलो खाना खाएपछि हाम्रो शरीर तृप्त हुन्छ र पोषण पाउँछ। त्यसरी नै, परमेश्‍वरको इच्छाअनुसार गऱ्‍यौँ भने हाम्रो हृदयले पोषण पाउँछ र हाम्रो विश्‍वास बलियो हुन्छ। उदाहरणको लागि, क्षेत्र सेवाको सभामा जाने जाँगर नहुँदा पनि कोसिस गरेर गएको अनि प्रचार गरिसकेपछि स्फूर्ति र नयाँ जोस पाएको के तपाईँले अनुभव गर्नुभएको छैन र?

५. बुद्धि हासिल गर्दा कस्तो इनाम पाउँछौँ?

परमेश्‍वरले दिनुहुने निर्देशनलाई आफ्नो जीवनमा लागू गर्नु भनेको वास्तवमा बुद्धि हासिल गर्नु हो। (भज. १०७:४३) यसको लागि गरेको कुनै प्रयास खेर जानेछैन। बाइबल भन्छ: “यसलाई तिमीले चाहेको कुनै पनि थोकसित तुलना गर्न सकिँदैन . . . यसको बाटोमा हिँड्‌नेहरूका लागि यो जीवनको रूख हो, यसलाई बलियोसँग पक्रनेहरू खुसी हुनेछन्‌।” (हितो. ३:१३-१८) येसुले यसो भन्‍नुभयो: “तिमीहरूलाई यी कुराहरू थाह छ अनि यदि तिमीहरू यी कुराहरू गर्छौ भने आनन्दित हौ।” (युह. १३:१७) येसुले भन्‍नुभएका कुराहरू गरिरहेमा चेलाहरू आनन्दित रहन सक्ने थिए। यतिबेला येसुले भन्‍नुभएको कुरा सुनेर तिनीहरू एक चोटि मात्र उहाँको शिक्षा र उदाहरणअनुसार चल्नु पर्याप्त थिएन। यो त तिनीहरूले जीवनभर गर्नुपर्ने कुरा थियो।

६. आफूले सिकेको कुरा व्यवहारमा उतार्न किन छोड्‌नु हुँदैन?

कुनै कुरा सही हो भनेर थाह पाए पछि धीरजी भई त्यसलाई लागू गरिरहनु आज पनि जरुरी छ। एउटा उदाहरण विचार गरौँ। एक जना मिस्त्रीसित थुप्रै ज्यावल, चिजबिज र धेरै ज्ञान होला। तर ती प्रयोग गरेनन्‌ भने तिनलाई कुनै फाइदा हुँदैन। तिनले पहिला मिस्त्री काम गरेका अनि निकै अनुभव हासिल गरेका होलान्‌। तर निपुण र प्रभावकारी भइरहन तिनले आफूले सिकेको कुरा व्यवहारमा उतार्न छोड्‌नु हुँदैन। त्यसरी नै, बाइबलमा पढेको कुरा जीवनमा लागू गर्न थाल्दा हामी आनन्दित भयौँ होला। तर सधैँभरि आनन्दित भइरहने हो भने हरेक दिन नम्र भई यहोवाको निर्देशनअनुसार जीवन बिताउन छोड्‌नु हुँदैन।

७. बाइबलका उदाहरणहरूबाट सिक्न हामीले के गर्नुपर्छ?

आउनुहोस्‌, हाम्रो नम्रताको जाँच हुन सक्ने केही अवस्था विचार गरौँ। अनि यस्तै प्रकारको जाँच हुँदा पुरातन समयका वफादार व्यक्‍तिहरूले कसरी त्यसको सामना गरे, हेरौँ। आध्यात्मिक बल प्राप्त गर्न आफूले पाएको जानकारी पढेर मात्र पुग्दैन। त्यसैले अब छलफल गरिने प्रत्येक बुँदालाई कसरी लागू गर्न सकिन्छ भनेर विचार गर्नुहोस्‌। अनि त्यो तुरुन्तै लागू गर्नुहोस्‌।

आफूलाई अरूभन्दा श्रेष्ठ नठान्‍नुहोस्‌

८, ९. प्रेषित १४:८-१५ मा उल्लेख गरिएको घटनाले प्रेषित पावलको नम्रताबारे के देखाउँछ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

परमेश्‍वर “सबै किसिमका मानिसले उद्धार पाऊन्‌ र सत्यको सही ज्ञान लिऊन्‌ भन्‍ने चाहनुहुन्छ।” (१ तिमो. २:४) परमेश्‍वरबारे सत्य कुरा सिक्न बाँकी रहेका विभिन्‍न किसिमका मानिसहरूप्रति तपाईँ कस्तो दृष्टिकोण राख्नुहुन्छ? हुनत प्रेषित पावलले सभाघरहरूमा त्यस्ता मानिसहरूलाई खोजे, जसलाई परमेश्‍वरबारे केही थाह थियो। तर त्यसो भन्दैमा तिनले यहुदीहरूलाई मात्र प्रचार गरेनन्‌। अरू देवीदेवताको पूजा गर्ने मानिसहरूलाई प्रचार गर्दा उनीहरूले देखाउने प्रतिक्रियाले पावलको नम्रताको जाँच गर्ने थियो।

उदाहरणको लागि, पावलको पहिलो मिसनरी यात्रामा लाइकाओनियालीहरूले पावल र बर्णाबासलाई अलौकिक व्यक्‍तिहरू अर्थात्‌ झूटा देव ज्युस र हर्मेसका अवतार ठाने। के पावल र बर्णाबास यसरी लोकप्रिय हुन पाएकोमा मक्ख परे? यसअघि दुइटा सहरमा खेदो भोगिसकेकोले अब बल्ल खेदोबाट छुटकारा पाइने भयो भन्ठाने कि? अथवा आम मानिसबाट पाएको वाहवाहीलाई सुसमाचार फैलाउने मौका ठाने कि? अहँ, त्यसो त पटक्कै होइन! तिनीहरूले उत्तिखेरै आफ्नो लुगा च्याते अनि भीडमा हामफालेर यसो भन्दै चिच्याए: “तपाईँहरू किन यस्तो काम गर्नुहुन्छ? हामी पनि त तपाईँहरूजस्तै कमीकमजोरी भएका मानिसहरू हौँ।”—प्रेषि. १४:८-१५.

१०. पावल र बर्णाबासले कुन अर्थमा आफूलाई लाइकाओनियालीहरूसरह ठान्‍न सक्थे?

१० पावल र बर्णाबासले आफू पनि कमीकमजोरी भएका मानिसहरू हौँ भनेर स्विकार्दा आफूले गर्ने उपासनाको तरिका र ती मूर्तिपूजकहरूको तरिका उस्तै-उस्तै हो भन्‍न खोजिरहेका थिएनन्‌। के तिनीहरू दुवै जना विशेष नियुक्‍ति पाएका मिसनरीहरू थिएनन्‌ र? (प्रेषि. १३:२) के तिनीहरू पवित्र शक्‍तिले अभिषेक भएका अनि महिमित आशा पाएका पुरुषहरू थिएनन्‌ र? पक्कै थिए! तर पावल र बर्णाबासले कुन कुरा बुझेका थिए भने, ती लाइकाओनियालीहरूले सुसमाचार स्विकारेमा उनीहरूले पनि त्यस्तै आशिष्‌हरू पाउन सक्थे।

११. प्रचार गर्दा हामी कसरी पावलले देखाएको नम्रताको अनुकरण गर्न सक्छौँ?

११ हामी कसरी पावलले देखाएको नम्रताको अनुकरण गर्न सक्छौँ? सर्वप्रथम, यहोवाको बल पाएर हामीले हासिल गरेको कुराको लागि कुनै पनि किसिमको वाहवाहीको आशा गर्ने वा स्विकार्ने प्रलोभनलाई तिरस्कार गर्नुपर्छ। हामी प्रत्येकले आफूलाई यो प्रश्‍न सोध्नु बेस हो: ‘मैले प्रचार गर्ने मानिसहरूप्रति म कस्तो दृष्टिकोण राख्छु? हाम्रो समाजले कुनै समुदायप्रति भेदभावपूर्ण व्यवहार गर्छ भने के म पनि अनजानमा त्यस्तै सोचाइ राख्छु?’ खुसीको कुरा, सुसमाचार स्विकार्ने मानिसहरू अझै छन्‌ कि भनेर संसारभरिका यहोवाका साक्षीहरूले आ-आफ्नो इलाकालाई अझ राम्ररी केलाइरहेका छन्‌। कहिलेकाहीँ यस्तो कदम चाल्न आफ्नो समाजमा भएका अल्पसङ्‌ख्यक जातिहरूको भाषा र रहनसहन सिक्नुपर्ने हुन्छ। त्यस्ता व्यक्‍तिहरूलाई सुसमाचार प्रचार गर्ने साक्षीहरूले आफूलाई कहिल्यै पनि ती व्यक्‍तिहरूभन्दा श्रेष्ठ ठान्‍नु हुँदैन। बरु तिनीहरू परमेश्‍वरको राज्यको सुसमाचारलाई मानिसहरूको मनसम्म पुग्ने गरी बताउन प्रत्येक व्यक्‍तिलाई राम्ररी बुझ्ने प्रयास गर्छन्‌।

अरूको नामै तोकेर प्रार्थना गर्नुहोस्‌

१२. इपाफ्रासले अरूप्रति कसरी नि:स्वार्थ चासो देखाए?

१२ परमेश्‍वरले दिनुहुने निर्देशनलाई नम्र भई पालन गरिरहेका छौँ भनेर देखाउने अर्को तरिका “हाम्रोजस्तै अनमोल विश्‍वास प्राप्त गरेका” व्यक्‍तिहरूको लागि प्रार्थना गर्नु हो। (२ पत्रु. १:१) इपाफ्रासले त्यसै गरे। बाइबलमा इपाफ्रासबारे तीन चोटि मात्र उल्लेख गरिएको छ र तिनीबारे उल्लेख गर्ने व्यक्‍ति प्रेषित पावल मात्र हुन्‌। पावललाई रोममा छँदा घरमा नजरबन्दमा राखिएको बेला तिनले कलस्सीका ख्रिष्टियनहरूका निम्ति ‘सधैँ तनमनले प्रार्थना गरिरहने’ इपाफ्रासबारे लेखे। (कल. ४:१२) इपाफ्रासले भाइहरूलाई राम्ररी चिनेका थिए र तिनी उनीहरूको असाध्यै चासो राख्थे। तिनी पावलसँगै “कैदमा परेका” थिए तैपनि तिनी सङ्‌गी भाइबहिनीको आध्यात्मिक आवश्‍यकताप्रति सजग थिए। (फिले. २३) अनि तिनले आफ्ना भाइबहिनीको निम्ति केही गरे। तिनले उनीहरूको निम्ति प्रार्थना गरे। के यो नि:स्वार्थ चासो होइन र? यहोवाको सेवा गर्ने हाम्रा सङ्‌गी उपासकहरूको लागि प्रार्थना गर्दा त्यसले ठूलो काम गर्छ, खासगरि तिनीहरू एक-एक जनाको नामै तोकेर प्रार्थना गर्दा।—२ कोरि. १:११; याकु. ५:१६.

१३. प्रार्थना गर्ने सन्दर्भमा तपाईँ इपाफ्रासको उदाहरण कसरी अनुकरण गर्न सक्नुहुन्छ?

१३ तपाईँ क-कसको नामै तोकेर प्रार्थना गर्न सक्नुहुन्छ, सोच्नुहोस्‌। हाम्रा थुप्रै भाइबहिनीले इपाफ्रासले जस्तै प्रार्थना गरिरहेका छन्‌। तिनीहरूले मण्डली वा परिवारमा गहन जिम्मेवारी वहन गरिरहेकाहरूको लागि अथवा गम्भीर निर्णय गर्नुपर्ने अवस्थामा भएका वा प्रलोभनको सामना गरिरहेकाहरूको लागि प्रार्थना गरिरहेका छन्‌। थुप्रैले jw.org अन्तर्गत “आफ्नो विश्‍वासको कारण थुनिएका यहोवाका साक्षीहरू” भन्‍ने लेखमा नाम भएका भाइबहिनीको लागि प्रार्थना गर्छन्‌। (अङ्‌ग्रेजी वेबसाइटको न्युजरूम > कानुनी मुद्दाहरू हेर्नुहोस्‌) साथै आफ्नो प्रियजनको मृत्यु भएका, हालै प्राकृतिक प्रकोप र युद्ध भोगेका अनि आर्थिक सङ्‌कट भोगिरहेकाहरूको लागि प्रार्थना गर्नु राम्रो हो। त्यसैले कुरा स्पष्ट छ, हाम्रो प्रार्थनाको खाँचो परिरहेका र त्यसबाट मदत पाउन सक्ने भाइबहिनी थुप्रै छन्‌। त्यस्ता भाइबहिनीको लागि प्रार्थना गर्दा हामी आफ्नै कुरामा मात्र होइन, अरूको कुरामा पनि ध्यान दिइरहेका हुन्छौँ। (फिलि. २:४) यस्तो प्रार्थना यहोवा सुन्‍नुहुन्छ।

“सुन्‍नलाई सधैं तयार हुनुपर्छ”

१४. अरूको कुरा सुन्‍ने सन्दर्भमा यहोवाले कसरी उत्कृष्ट उदाहरण बसाल्नुभएको छ?

१४ हामी कत्तिको नम्र छौँ भनेर देखाउने अर्को तरिका अरूको कुरा सुन्‍न इच्छुक भएर हो। याकुब १:१९ ले हामी “सुन्‍नलाई सधैँ तयार हुनुपर्छ” भन्छ। यस सन्दर्भमा यहोवा स्वयम्‌ले उत्कृष्ट उदाहरण बसाल्नुभएको छ। (उत्प. १८:३२; यहो. १०:१४) प्रस्थान ३२:११-१४ मा (पढ्‌नुहोस्‌) उल्लेख गरिएको कुराकानीबाट हामी के सिक्न सक्छौँ, विचार गर्नुहोस्‌। हुनत यहोवालाई मोसाको सोचाइ बुझ्नु आवश्‍यक थिएन तर उहाँले मोसालाई तिनको भावना व्यक्‍त गर्ने मौका दिनुभयो। गलत सोचाइ प्रकट गर्ने व्यक्‍तिको कुरा धीरजी भई सुन्‍ने र पछि उसैले भनेअनुसार कदम चाल्ने मानिस कोही होला र? तर यहोवा भने उहाँमाथि विश्‍वास राखेर पुकार्ने व्यक्‍तिहरूको कुरा धीरजी भई सुन्‍नुहुन्छ।

१५. अरूको आदर गर्ने सन्दर्भमा हामी कसरी यहोवाको अनुकरण गर्न सक्छौँ?

१५ प्रत्येकले आफूलाई यस्तो प्रश्‍न सोध्नु बेस हो: ‘यदि यहोवाले अब्राहाम, राहेल, मोसा, यहोसु, मानोह, एलिया, हिजकियाहजस्ता मानिसहरूसित नम्र व्यवहार गर्नुभयो र उनीहरूको कुरा सुन्‍नुभयो भने के मैले पनि त्यसै गर्नु पर्दैन र? के मैले सबै भाइबहिनीको आदर गर्नु, उनीहरूसित मर्यादित ढङ्‌गमा व्यवहार गर्नु, उनीहरूको कुरा सुन्‍नु र उनीहरूको राम्रो सुझावअनुसार कदम चाल्नसमेत तयार हुनु पर्दैन र? अहिले मेरो मण्डली वा परिवारको कुनै सदस्यलाई मैले अझ धेरै ध्यान दिनुपर्ने खाँचो छ कि? त्यसो हो भने मैले के गर्नुपर्छ? म कसरी त्यसो गर्नेछु?’—उत्प. ३०:६; न्याय. १३:९; १ राजा १७:२२; २ इति. ३०:२०.

“सायद यहोवा परमेश्‍वरले मेरो दुःख देख्नुहुनेछ”

दाउदले यसो भने: “उसलाई छोडिदेओ!” दाउदको ठाउँमा तपाईँ हुनुभएको भए के गर्नुहुन्थ्यो? (अनुच्छेद १६, १७ हेर्नुहोस्‌)

१६. सिमिले नराम्रो व्यवहार गर्दा दाउदले के गरे?

१६ कसैले हामीसित नराम्रो व्यवहार गर्दा आत्मसंयम देखाउन पनि नम्रताले मदत गर्छ। (एफि. ४:२) यस सन्दर्भमा एउटा उल्लेखनीय उदाहरण हामी २ समुएल १६:५-१३ मा पाउँछौँ। (पढ्‌नुहोस्‌) दाउद र तिनका नोकरहरूले राजा साउलका आफन्त सिमिको आलोचना र शारीरिक दुर्व्यवहार सहनुपऱ्‍यो। दाउदले बदला लिन सक्थे तर तिनले त्यसो गरेनन्‌, बरु सहे। दाउदले आफ्नो भावनालाई कसरी काबूमा राख्न सके? यसको जवाफ पाउन आउनुहोस्‌, भजन अध्याय ३ केलाऔँ।

१७. दाउदले आफ्नो भावनालाई कसरी काबूमा राख्न सके? हामी कसरी तिनको अनुकरण गर्न सक्छौँ?

१७ भजन अध्याय ३ को परिचयले देखाएअनुसार “आफ्नो छोरा अब्सालोमदेखि भागेको बेला” दाउदले भजन अध्याय ३ रचेका थिए। पद १ र २ का शब्दहरू दोस्रो समुएल अध्याय १६ को विवरणसित मेल खान्छ। त्यसपछि भजन ३:४ मा दाउद आफ्नो भरोसा यसरी व्यक्‍त गर्छन्‌: “यहोवालाई म ठूलो स्वरले पुकार्नेछु अनि उहाँले मलाई आफ्नो पवित्र डाँडाबाट जवाफ दिनुहुनेछ।” कसैले हामीसित नराम्रो व्यवहार गर्दा हामी पनि प्रार्थना गर्न सक्छौँ। अनि यहोवाले हामीलाई उहाँको पवित्र शक्‍ति दिनुहुनेछ र हामी सहन सक्नेछौँ। आत्मसंयम देखाउनुपर्ने वा विनाकारण कसैले तपाईँसित दुस्मनी राख्दा खुला मनले क्षमा दिनुपर्ने कस्तो अवस्था हुन सक्छ? यहोवा परमेश्‍वरले तपाईँको दुःख देख्नुहुन्छ र आशिष्‌ वर्षाउनुहुन्छ भन्‍ने कुरामा के तपाईँ विश्‍वस्त हुनुहुन्छ?

“बुद्धि सबैभन्दा महत्त्वपूर्ण कुरा हो”

१८. परमेश्‍वरले दिनुहुने निर्देशन लागू गरिरह्‍यौँ भने हामीलाई कस्तो फाइदा हुनेछ?

१८ जे सही हो भनेर थाह छ, त्यो गऱ्‍यौँ भने प्रचुर मात्रामा आशिष्‌ पाउँछौँ। त्यसैले हितोपदेश ४:७ यसो भन्छ: “बुद्धि सबैभन्दा महत्त्वपूर्ण कुरा हो।” हुनत बुद्धि ज्ञानमा आधारित हुन्छ। तर सत्यतथ्य बुझ्नु मात्र पर्याप्त छैन बरु हामी कस्ता निर्णयहरू गर्छौँ, त्यसमा बुद्धि झल्किन्छ। कमिलाले समेत आफ्नो बुद्धि देखाउँछ। कमिलाहरूसित भएको सहज ज्ञानले गर्दा तिनीहरू गर्मी याममा खानेकुरा सञ्चय गर्छन्‌। (हितो. ३०:२४, २५) ख्रिष्ट, जसलाई “परमेश्‍वरको बुद्धि” पनि भनिएको छ, उहाँ जहिले पनि बुबालाई मन पर्ने कामहरू गर्नुहुन्छ। (१ कोरि. १:२४; युह. ८:२९) सही निर्णय गर्नु र त्यस निर्णयअनुसार कदम चाल्नु एउटै कुरा होइन भनेर परमेश्‍वरलाई थाह छ। धीरजी भई नम्रता देखाइरहने र आफूले थाह पाएको सही कुरा गरिरहनेहरूलाई परमेश्‍वर इनाम दिनुहुन्छ। (मत्ति ७:२१-२३ पढ्‌नुहोस्‌) त्यसैले साँचो नम्रता विकास गर्न मदत गर्ने आध्यात्मिक वातावरणलाई जोगाउन प्रयत्न गर्नुहोस्‌। आफूले थाह पाएको सही कुरा जीवनमा लागू गर्न समय चाहिन्छ र धीरजी हुनुपर्छ। तर यसो गर्नु नम्रताको चिनारी हो अनि यसले हामीलाई अहिले र सदासर्वदा आनन्दित बनाउँछ।