सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्ट हाम्रो सक्रिय नेतामाथि भरोसा गर्नुहोस्‌

ख्रिष्ट हाम्रो सक्रिय नेतामाथि भरोसा गर्नुहोस्‌

“तिमीहरूका नेता एकै जना हुनुहुन्छ, जो ख्रिष्ट हुनुहुन्छ।” —मत्ति २३:१०.

गीत: १६, १४

१, २. मोसाको मृत्युपछि यहोसुले कस्ता चुनौतीहरूको सामना गर्नु पऱ्‍यो?

यहोवाका यी शब्दहरू यहोसुको कानमा अझै गुन्जिरहेको थियो: “मेरो सेवक मोसाको मृत्यु भइसक्यो। त्यसैले तिमी तयार होऊ र सबै इस्राएलीलाई लिएर यर्दनपारि मैले तिनीहरूलाई दिन लागेको देशमा जाऊ।” (यहो. १:१, २) झन्डै ४० वर्ष मोसाको सहायकको रूपमा काम गरेका यहोसुलाई अचानक यस्तो परिवर्तनबारे सुन्दा कस्तो लाग्यो होला!

मोसाले निकै लामो समयसम्म इस्राएलीहरूलाई डोऱ्‍याएका थिए। त्यसैले परमेश्‍वरका ती जनहरूले अब आफ्नो डोऱ्‍याइ कसरी स्विकार्ने होलान्‌ जस्तो यहोसुलाई लागेको हुन सक्छ। (व्यव. ३४:८, १०-१२) यहोसु १:१, २ बारे बाइबलसम्बन्धी एउटा किताब यसो भन्छ: “प्राचीन समयदेखि लिएर अहिले आधुनिक समयमा पनि नेतृत्व लिने व्यक्‍ति परिवर्तन भएको घडी भनेको पूरै राष्ट्रको लागि सङ्‌कटको घडी हो।”

३, ४. यहोसुले परमेश्‍वरमाथि राखेको भरोसा खेर गएन भनेर हामी किन भन्‍न सक्छौँ? हाम्रो मनमा कस्तो प्रश्‍न उठ्‌न सक्छ?

यहोसुलाई डर लाग्नुका जायज कारणहरू थिए होलान्‌ तैपनि केही दिनभित्रै तिनले निर्णायक कदम चाले। (यहो. १:९-११) तिनले परमेश्‍वरमाथि राखेको भरोसा खेर गएन किनकि बाइबल विवरणअनुसार यहोवाले आफ्नो प्रतिनिधित्व गर्ने स्वर्गदूतमार्फत यहोसु र तिनका मानिसहरूलाई डोऱ्‍याउनुभयो। ती स्वर्गदूत वचन अर्थात्‌ परमेश्‍वरको जेठो छोरा हुनुहुन्थ्यो भन्‍ने निष्कर्षमा पुग्नु तार्किक छ।—प्रस्थ. २३:२०-२३; युह. १:१.

यहोवाको मदतले इस्राएल राष्ट्रलाई मोसाको मृत्युपछि यहोसुको नेतृत्व स्विकार्न सजिलो भयो। आज हाम्रो समयमा ऐतिहासिक परिवर्तनहरू भइरहेका छन्‌। त्यसैले हामीलाई यस्तो लाग्न सक्छ: ‘द्रुत गतिमा अघि बढिरहेको यहोवाको सङ्‌गठनको नेता येसु नै हुनुहुन्छ भनेर भरोसा गर्न सक्ने ठोस आधार के हामीसित छ?’ (मत्ति २३:१० पढ्‌नुहोस्‌) त्यो कुरा बुझ्न, विगतमा परिवर्तनहरू हुँदा यहोवाले आफ्ना जनहरूको नेतृत्व लिन भरोसायोग्य व्यक्‍तिको प्रबन्ध कसरी मिलाउनुभयो, विचार गरौँ।

परमेश्‍वरका जनलाई कनानसम्म डोऱ्‍याउनुभयो

५. यरिहोनजिकै पुग्दा यहोसुको अगाडि कस्तो अनौठो घटना घट्‌छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

इस्राएलीहरूले यर्दन नदी पार गरेको केही समय नबित्दै यहोसुको अगाडि एउटा अनौठो घटना घट्‌छ। यहोसु यरिहोनजिकै पुग्दा तिनले हातमा नाङ्‌गो तरबार लिएका एक जना व्यक्‍तिलाई भेट्‌छन्‌। तिनी को हुन्‌ भनेर थाह नभएकोले यहोसुले यसो भनेर सोध्छन्‌: “तपाईँ हाम्रो पक्षमा हुनुहुन्छ कि हाम्रा शत्रुहरूको?” अचम्मको कुरा, ती योद्धाले आफ्नो परिचय खुलाउँछन्‌। तिनी “यहोवा परमेश्‍वरको सेनाको प्रमुख” थिए, जो परमेश्‍वरका जनहरूलाई सुरक्षा दिनको लागि तयार थिए। (यहोसु ५:१३-१५ र फुटनोट पढ्‌नुहोस्‌) हुनत अरू ठाउँहरूमा यहोवाले सिधै यहोसुसित कुरा गर्नुभएको जस्तो देखिन्छ। तर वास्तवमा यहोवाले आफ्नो प्रतिनिधित्व गर्ने स्वर्गदूतमार्फत कुरा गर्नुभएको थियो भन्‍ने कुरामा कुनै शङ्‌का छैन, जसरी उहाँले विगतमा पनि धेरै चोटि गर्नुभएको थियो।—प्रस्थ. ३:२-४; यहो. ४:१, १५; ५:२, ९; प्रेषि. ७:३८; गला. ३:१९.

६-८. (क) यहोवाले दिनुभएका केही निर्देशनहरू मानिसको नजरबाट हेर्दा किन अव्यावहारिक देखिएको हुन सक्छ? (ख) ती निर्देशनहरू बुद्धिमानी र सही समयमै दिइएका निर्देशनहरू थिए भनेर कसरी प्रमाणित भयो? (फुटनोट पनि हेर्नुहोस्‌)

परमेश्‍वरका जनहरूको नेतृत्व लिने ती स्वर्गदूतले यरिहो सहरलाई कसरी कब्जा गर्ने भनेर यहोसुलाई विस्तृत निर्देशन दिए। हुनत केही निर्देशनहरू सुरुमा त्यति व्यावहारिक छैनन्‌ जस्तो पनि लागेको हुन सक्छ। उदाहरणको लागि, यहोवाले सबै पुरुषहरूको खतना गर्ने आज्ञा दिनुभयो। त्यसो गर्दा ती पुरुषहरू केही दिनसम्म युद्ध गर्न नसक्ने अवस्थामा हुने थिए। ती बलिया पुरुषहरूको खतना गर्नु त्यसबेला के साँच्चै बुद्धिमानी हुने थियो?—उत्प. ३४:२४, २५; यहो. ५:२, ८.

खतना गरेकोले इस्राएली सिपाहीहरू केही समयको लागि असहाय अवस्थामा पुगेका थिए। त्यही बेला शत्रु राष्ट्रको सेनाले आफ्नो छाउनीमा आक्रमण गऱ्‍यो भने के गर्ने होला भनेर तिनीहरूले पक्कै चिन्ता गरेको हुनुपर्छ। तर अचानक अर्कै किसिमको खबर आउँछ: “इस्राएलीहरूले आक्रमण गर्लान्‌ भन्‍ने डरले यरिहो सहरका मूलढोकाहरू पूरै बन्द गरिएको थियो।” (यहो. ६:१) त्यसरी परिस्थितिले अचानक अर्कै मोड लिँदा परमेश्‍वरको निर्देशनमाथि तिनीहरूको भरोसा पक्कै बलियो भएको हुनुपर्छ।

साथै इस्राएलीहरूलाई यरिहो सहरमाथि आक्रमण गर्ने आज्ञा दिइएन। बरु छ दिनसम्म दिनको एक चोटि सहरको फन्को लगाउने अनि सातौँ दिनमा चाहिँ सात चोटि फन्को लगाउने आज्ञा दिइयो। केही सिपाहीहरूलाई सायद यस्तो लागेको हुनुपर्छ, ‘किन यसरी समय र शक्‍ति खेर फाल्नुपर्ने!’ तर इस्राएलका अदृश्‍य नेतालाई भने किन त्यसो गर्नुपर्छ भनेर राम्ररी थाह थियो। त्यस्तो तरिका अपनाएकोले इस्राएलीहरूको विश्‍वास बलियो भयो। त्यति मात्र होइन, इस्राएलीहरूले यरिहोका वीर योद्धाहरूसित आमनेसामने भएर लड्‌नु पनि परेन।—यहो. ६:२-५; हिब्रू ११:३०. *

९. परमेश्‍वरको सङ्‌गठनबाट पाएका निर्देशनहरू हामीले किन पछ्याउनुपर्छ? एउटा उदाहरण दिनुहोस्‌।

यो विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? कहिलेकाहीँ सङ्‌गठनले कुनै नयाँ प्रबन्ध गर्नुको कारण हामीले राम्रोसँग नबुझेका हुन सक्छौँ। उदाहरणको लागि, सुरु-सुरुमा हामीलाई व्यक्‍तिगत अध्ययन, प्रचारकार्य वा सभामा इलेक्ट्रोनिक साधन प्रयोग गर्नु उचित होइन जस्तो लागेको थियो होला। तर अहिले भने सम्भव भएसम्म इलेक्ट्रोनिक साधन प्रयोग गर्नु फाइदाजनक छ भनेर सायद हामीले महसुस गऱ्‍यौँ। हाम्रो मनमा जस्तोसुकै प्रश्‍न उठेको भए तापनि त्यस्ता प्रबन्धहरूले ल्याएको राम्रो नतिजा देखेपछि भने हाम्रो विश्‍वास र हामीमाझको एकता अझै बलियो हुन्छ।

प्रथम शताब्दीमा ख्रिष्टको नेतृत्व

१०. यरुसलेममा भएको परिचालक निकायको महत्त्वपूर्ण सभाको पछाडि कसको हात थियो?

१० कर्निलियस ख्रिष्टियन बनेको लगभग १३ वर्षपछिको कुरा हो, केही यहुदी ख्रिष्टियनहरूले खतना गर्नै पर्छ भनेर अझै पनि सिकाइरहेका थिए। (प्रेषि. १५:१, २) एन्टिओकमा यसबारे विवाद भएपछि यो मामिला यरुसलेममा भएको परिचालक निकायकहाँ लैजान पावललाई खटाइयो। तर यस्तो निर्देशन कसले दिएको थियो? पावलले यसो भने: “मलाई यरुसलेम जानू भनी प्रकट गरिएकोले म त्यहाँ गएँ।” परिचालक निकायले यो विवाद सुल्झाउन सकोस्‌ भनेर ख्रिष्टले नै यो मामिलालाई डोऱ्‍याइरहनुभएको थियो भन्‍ने कुरामा कुनै शङ्‌का छैन।—गला. २:१-३.

प्रथम शताब्दीमा ख्रिष्टले सक्रिय भई नेतृत्व लिइरहनुभएको थियो (अनुच्छेद १०, ११ हेर्नुहोस्‌)

११. (क) यहुदी ख्रिष्टियनहरूमाझ कस्तो चलन अझै पनि चलिरहेको थियो? (ख) यरुसलेमका एल्डरहरूलाई नम्र भई समर्थन गरेको कुरा पावलले कसरी देखाए? (फुटनोट पनि हेर्नुहोस्‌)

११ ख्रिष्टको डोऱ्‍याइ पाएर परिचालक निकायले अन्यजातिका ख्रिष्टियनहरूले खतना गर्नुपर्दैन भनेर स्पष्टसित बतायो। (प्रेषि. १५:१९, २०) तर यो निर्णय भएको वर्षौँपछिसम्म पनि यहुदी ख्रिष्टियनहरूले भने आफ्ना छोराहरूको खतना गराइरहेका थिए। त्यतिखेर पावलले मोसाको व्यवस्था पालन गर्दैनन्‌ भन्‍ने हल्ला फैलिएको थियो। यो कुरा यरुसलेमका एल्डरहरूले थाह पाएपछि तिनीहरूले पावललाई उनले आसै नगरेको निर्देशन दिए। * (प्रेषि. २१:२०-२६) तिनीहरूले पावललाई चार जना पुरुषलाई लिएर मन्दिरमा जान निर्देशन दिए। यसो गर्दा पावलले ‘मोसाको व्यवस्था पालन गर्दै छन्‌’ भनेर मानिसहरूले देख्ने थिए। पावलले यो निर्देशन पालन गर्नु त्यति बुद्धिमानी छैन बरु यहुदी ख्रिष्टियनहरूले खतनाबारे राम्रोसँग नबुझेकोले तिनीहरूको सोचाइलाई सच्याउनुपर्छ भनेर तर्क गर्न सक्थे। तैपनि एल्डरहरूले ख्रिष्टियनहरूमाझ एकता छाओस्‌ भनेर दिएको निर्देशनलाई तिनले समर्थन गरे र नम्र हुँदै ती सबै पालन गरे। तर हामीलाई यस्तो लाग्न सक्छ: ‘येसुको मृत्युले मोसाको व्यवस्थालाई खारेज गरिसकेको भए तापनि उहाँले किन यत्तिका लामो समयसम्म यो विवादलाई रहिरहन दिनुभयो?’—कल. २:१३, १४.

१२. खतनासम्बन्धी विवादलाई सुल्झाउनुअघि ख्रिष्टले किन समय बित्न दिनुभएको हुन सक्छ?

१२ कोही-कोहीलाई नयाँ बुझाइअनुसार छाँटकाँट गर्न समय लाग्छ। यहुदी ख्रिष्टियनहरूलाई आफ्नो सोचाइ छाँटकाँट गर्न प्रशस्त समय चाहिएको थियो। (युह. १६:१२) खतना गर्नुले अबदेखि परमेश्‍वरसित विशेष सम्बन्ध छ भन्‍ने कुराको सङ्‌केत दिँदैन भनेर स्विकार्न कसै-कसैलाई गाह्रो लागेको थियो। (उत्प. १७:९-१२) अरू कोही भने सतावट आइपर्ला भन्‍ने डरले गर्दा यहुदी समाजमा अरूभन्दा फरक देखिन चाहँदैन थिए। (गला. ६:१२) तर समय बित्दै जाँदा पावलले परमेश्‍वरको प्रेरणा पाएर लेखेका पत्रहरूद्वारा ख्रिष्टले थप निर्देशनहरू दिनुभयो।—रोमी २:२८, २९; गला. ३:२३-२५.

ख्रिष्ट अझै पनि आफ्नो मण्डलीलाई डोऱ्‍याउँदै हुनुहुन्छ

१३. ख्रिष्टको नेतृत्व स्विकार्न आज हामीलाई केले मदत गर्न सक्छ?

१३ सङ्‌गठनले केही छाँटकाँट गर्नुको कारण राम्रोसँग बुझेका छैनौँ भने ख्रिष्टले विगतमा कसरी आफ्ना जनहरूको नेतृत्व लिनुभयो भनेर मनन गर्नु राम्रो हुन्छ। चाहे यहोसुको समयमा होस्‌ वा प्रथम शताब्दीमा, ख्रिष्टले सधैँ परमेश्‍वरका सम्पूर्ण जनहरूको सुरक्षा हुने, तिनीहरूको विश्‍वासलाई बलियो पार्ने अनि परमेश्‍वरका जनहरूबीचको एकतालाई कायम राख्ने बुद्धिमानी निर्देशनहरू दिँदै आउनुभएको छ।—हिब्रू १३:८.

१४-१६. ख्रिष्ट हाम्रो आध्यात्मिक हितप्रति चासो राख्नुहुन्छ भन्‍ने कुरा “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले दिने निर्देशनबाट कसरी स्पष्ट देखिन्छ?

१४ येसु हामीलाई माया गर्नुहुन्छ र हाम्रो आध्यात्मिक हितमा चासो राख्नुहुन्छ भन्‍ने कुरा “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले ठीक-ठीक समयमा दिने निर्देशनबाट स्पष्ट देखिन्छ। (मत्ति २४:४५) चार छोराछोरीका बुबा मार्क भन्छन्‌: “सैतानले परिवारहरूलाई आक्रमण गरेर मण्डलीलाई कमजोर बनाउन खोजिरहेको छ। अहिले परिवारका शिरहरूलाई हरेक हप्ता पारिवारिक उपासना गर्न प्रोत्साहन दिइएको छ। यसको कारण स्पष्ट छ—सैतानको आक्रमणबाट परिवारलाई जोगाउन!”

१५ ख्रिष्टले सङ्‌गठनलाई डोऱ्‍याउँदै हुनुहुन्छ भन्‍ने कुरा बुझ्दा उहाँ हाम्रो आध्यात्मिक हितमा गहिरो चासो राख्नुहुन्छ भनेर हामी महसुस गर्छौँ। एल्डरको रूपमा सेवा गरिरहेका प्याट्रिक यसो भन्छन्‌: “सुरु-सुरुमा केही भाइबहिनीहरू सप्ताहन्तमा प्रचारको लागि स-साना समूहमा भेला हुनुपर्दा त्यति खुसी थिएनन्‌। तर यो प्रबन्धमार्फत येसुको एउटा प्रमुख गुण अर्थात्‌ सोझाहरूलाई उहाँले देखाउनुहुने चासो अझै स्पष्टसित झल्कियो। यस प्रबन्धले गर्दा लजालु स्वभावका अनि प्रचारमा त्यति भाग नलिनेहरूले समेत आफूले केही गर्न सकेको महसुस गरेका छन्‌ अनि आध्यात्मिक उन्‍नति गरेका छन्‌।”

१६ हाम्रो आध्यात्मिक हितमा चासो राख्नुका साथै ख्रिष्टले अहिले पृथ्वीमा भइरहेको सबैभन्दा महत्त्वपूर्ण काममा ध्यान केन्द्रित गर्न हामीलाई मदत गर्नुहुन्छ। (मर्कुस १३:१० पढ्‌नुहोस्‌) हालै एल्डर नियुक्‍त भएका भाइ आन्ड्रे परमेश्‍वरको सङ्‌गठनले के-कस्ता नयाँ निर्देशनहरू दिएको छ भनेर सधैँ सजग रहन्छन्‌। तिनी भन्छन्‌: “शाखा कार्यालयमा सेवा गर्ने भाइबहिनीको सङ्‌ख्यामा कटौती गरिएको कुराले अन्त साँच्चै कत्ति नजिक छ अनि प्रचारको काममा आफ्नो ध्यान केन्द्रित गर्नु कत्ति जरुरी छ भनेर देखाउँछ।”

ख्रिष्टको निर्देशनलाई वफादार भई समर्थन गर्ने

१७, १८. हालै भएका परिवर्तनहरूअनुसार छाँटकाँट गर्दा भएका फाइदाहरूबारे मनन गर्नु किन राम्रो हो?

१७ सिंहासनमा विराजमान राजा येसु ख्रिष्टले अहिले सक्रिय भई नेतृत्व लिइरहनुभएको कुरा विचार गर्दा भविष्यमा पनि हामीलाई निर्देशन दिइरहनुहुनेछ भन्‍ने कुरा प्रस्ट देखिन्छ। त्यसकारण हालै भएका परिवर्तनहरूअनुसार छाँटकाँट गर्दा जे-जस्तो लाभ उठाउन सक्छौँ, त्यसमा रमाऔँ। साप्ताहिक सभाहरूमा वा प्रचारकार्यमा भएका छाँटकाँटहरूबाट कस्तो लाभ उठाउनुभयो भनी तपाईँ पारिवारिक उपासनामा छलफल गर्न सक्नुहुन्छ। त्यसो गर्दा परिवारका सबैले प्रोत्साहन पाउन सक्छन्‌।

के तपाईँ आफ्नो परिवार र अरूलाई यहोवाको सङ्‌गठनसँगसँगै अघि बढ्‌न मदत गर्दै हुनुहुन्छ? (अनुच्छेद १७, १८ हेर्नुहोस्‌)

१८ यहोवाको सङ्‌गठनबाट आएको निर्देशन कुन उद्देश्‍यले दिइएको हो र त्यसले हामीलाई कस्तो लाभ पुऱ्‍याउँछ भनेर बुझ्यौँ भने अझ खुसीसाथ त्यो पालन गर्न सक्नेछौँ। प्रकाशनहरूको छपाइ घटाउँदा सङ्‌गठनको खर्च जोगिएको र नयाँ प्रविधिको प्रयोग गर्दा राज्य गतिविधिलाई संसारभरि फैलाउन मदत पुगेको देख्दा हामी खुसी छौँ। यस कुराको कदर गर्दै हामी सम्भव भएसम्म इलेक्ट्रोनिक प्रकाशन चलाउन सक्छौँ। त्यसो गर्दा हामी पनि ख्रिष्टजस्तै सङ्‌गठनको स्रोतसाधन बुद्धिमानीपूर्वक प्रयोग गर्न सजग छौँ भनेर देखाइरहेका हुन्छौँ।

१९. हामीले ख्रिष्टको निर्देशनलाई किन समर्थन गर्नुपर्छ?

१९ ख्रिष्टको निर्देशन मनैदेखि समर्थन गर्दा हामीले अरूको विश्‍वास बलियो बनाइरहेका हुन्छौँ र एकतामा पनि योगदान पुऱ्‍याइरहेका हुन्छौँ। संसारभर बेथेल परिवारको सङ्‌ख्यामा गरिएको कटौतीबारे विचार गर्दै आन्ड्रे यसो भन्छन्‌: “यस्तो परिवर्तनलाई स्विकारेर त्यसअनुसार छाँटकाँट गरेका बेथेल सेवकहरूको मनोभाव देखेर तिनीहरूप्रतिको मेरो भरोसा र आदर बढेको छ। ती भाइबहिनीहरू आफूले पाएको जुनसुकै असाइनमेन्ट खुसीसाथ स्विकारेर यहोवाको रथसँगसँगै अघि बढ्‌छन्‌।”

विश्‍वासको आँखाले हाम्रा नेतामाथि भरोसा गर्नुहोस्‌

२०, २१. (क) हाम्रा नेता ख्रिष्टमाथि हामी किन भरोसा गर्न सक्छौँ? (ख) अर्को लेखमा हामी कुन प्रश्‍नको जवाफ पाउनेछौँ?

२० हाम्रा नेता येसु ख्रिष्टले चाँडै नै आफ्नो “विजययात्रा पूरा” गर्नुहुनेछ र “अचम्म-अचम्मका कामहरू” गर्नुहुनेछ। (प्रका. ६:२; भज. ४५:४) अहिले उहाँ परमेश्‍वरका जनहरूलाई यस युगको अन्तपछि हुने कुराहरूको लागि तयार पार्दै हुनुहुन्छ। त्यसबेला मानिसहरू फेरि जीवित भएर आउँदा तिनीहरूलाई सिकाउने काम अनि पृथ्वीलाई प्रमोदवन बनाउने काम संसारभरि नै चल्नेछ र त्यसमा हामी सबैले भाग लिनेछौँ।

२१ हाम्रा अभिषिक्‍त राजाले हामीलाई नयाँ संसारसम्म डोऱ्‍याउनुहुनेछ। तर त्यसको लागि हामीले आफ्नो परिस्थितिमा जस्तोसुकै परिवर्तन आए तापनि उहाँमा पूर्ण भरोसा राख्नुपर्छ। (भजन ४६:१-३ पढ्‌नुहोस्‌) कुनै-कुनै बेला हामीलाई छाँटकाँट गर्न गाह्रो लाग्न सक्छ, खासगरि हाम्रो जीवनमा सोच्दै नसोचेको परिवर्तन आउँदा। त्यस्तो बेला हामी कसरी आफ्नो मनोशान्ति र यहोवामाथिको पूर्ण भरोसालाई कायम राख्न सक्छौँ? अर्को लेखले यस प्रश्‍नको जवाफ दिनेछ।

^ अनु. 8 यरिहो सहरको भग्नावशेषमा उत्खनन्‌वीदहरूले अन्‍नका ठूलठूला भण्डारहरू फेला पारे। यसबाट के देखिन्छ भने, त्यस सहरलाई लामो समयसम्म घेराबन्दी गरिएको थिएन अनि त्यहाँका अन्‍न भण्डारहरू रित्तिएका थिएनन्‌। यरिहो सहरको विनाश हुँदा त्यसलाई नलुट्‌नू भनी इस्राएलीहरूलाई आज्ञा दिइएको थियो। इस्राएलीहरूले त्यस सहरलाई ठीक समयमा आक्रमण गरेका थिए किनकि त्यो कटनीको समय थियो र इस्राएलीहरूको लागि खेतमा प्रशस्त अन्‍न थियो।—यहो. ५:१०-१२.