सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिस्थिति परिवर्तन हुँदा मनोशान्ति कायम राख्नुहोस्‌

परिस्थिति परिवर्तन हुँदा मनोशान्ति कायम राख्नुहोस्‌

“मैले आफूलाई शान्त पारेको छु।”—भज. १३१:२.

गीत: १२८, १२९

१, २. (क) आफूले सोच्दै नसोचेको परिवर्तनको सामना गर्नुपर्दा त्यसले हाम्रो जीवनमा कस्तो असर पार्न सक्छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) (ख) भजन १३१ अनुसार मनोशान्ति कायम राख्न कस्तो मनोवृत्तिले मदत गर्छ?

बेथेलको असाइनमेन्ट परिवर्तन भएर आफूलाई क्षेत्रमा खटाइएको छ भनेर थाह पाउँदा लोइड र अलेक्जेन्ड्रा सुरुमा निराश भए। हुन पनि तिनीहरूले बेथेल सेवा गरेको २५ वर्षभन्दा धेरै भइसकेको थियो। लोइड भन्छन्‌: “बेथेल अनि बेथेलमा मैले गर्ने काम मेरो चिनारी नै भइसक्यो जस्तो लाग्थ्यो। असाइनमेन्ट परिवर्तन हुनुपछाडिको कारण मैले बुझ्न त बुझेको थिएँ तर पनि त्यसपछिका हप्ताहरू र महिनाहरूमा मैले आफूलाई बेथेलबाट निकालिएको महसुस गरेँ। मैले भावनात्मक रूपमा निकै उतारचढाव महसुस गरेँ। एकछिनको लागि मेरो सोच सकारात्मक हुन्थ्यो, फेरि एकैछिनमा निराश हुन पुग्थेँ।”

जीवनमा आफूले सोच्दै नसोचेको परिवर्तन आउँदा निकै चिन्ता लाग्न सक्छ र तनाव महसुस हुन सक्छ। (हितो. १२:२५) ती परिवर्तनहरू स्विकार्नसमेत निकै गाह्रो लाग्न सक्छ। त्यस्ता अवस्थाहरूमा हामी कसरी “आफूलाई शान्त” पार्न सक्छौँ? (भजन १३१:१-३ पढ्‌नुहोस्‌) आउनुहोस्‌, परिस्थिति परिवर्तन हुँदा केही बाइबल पात्रहरू र आधुनिक समयका परमेश्‍वरका सेवकहरूले कसरी मनोशान्ति कायम राख्न सके, विचार गरौँ।

परमेश्‍वरको शान्ति” महसुस गर्ने

३. युसुफको परिस्थितिमा कस्तो परिवर्तन आयो?

युसुफका साक्खै दाइहरूले तिनको डाह गरेर तिनलाई दासको रूपमा बेच्दा तिनको उमेर १७ वर्षजति थियो। युसुफ आफ्नो बुबा याकुबको सबैभन्दा प्यारो छोरा थिए। (उत्प. ३७:२-४, २३-२८) तर तिनी आफ्नो प्यारो बुबादेखि निकै टाढा लगिए। तिनले करिब १३ वर्षसम्म मिश्रमा दासको रूपमा अनि कैदीको रूपमा जीवन बिताउनुपऱ्‍यो। निराश भएर हार नखान अनि मनमा द्वेष नपाल्न तिनलाई केले मदत गऱ्‍यो?

४. (क) झ्यालखानामा छँदा युसुफले कुन कुरामा आफ्नो ध्यान केन्द्रित गरे? (ख) यहोवाले युसुफको प्रार्थनाको जवाफ कसरी दिनुभयो?

झ्यालखानामा कैदीको रूपमा दुःख भोगेको बेला पनि यहोवाले कसरी मदत गरिरहनुभएको छ भन्‍ने कुरामा युसुफले आफ्नो ध्यान केन्द्रित गरेको हुनुपर्छ। (उत्प. ३९:२१; भज. १०५:१७-१९) सानो छँदा तिनले देखेको भविष्यसूचक सपनाले पनि तिनलाई परमेश्‍वरको अनुमोदन पाएको कुरामा विश्‍वस्त पारेको हुनुपर्छ। (उत्प. ३७:५-११) तिनले यहोवालाई आफ्नो मनको वेदना पटक-पटक पोखेको हुनुपर्छ। (भज. १४५:१८) युसुफले मनैदेखि प्रार्थना गर्दा यहोवाले त्यसको जवाफ दिनुभयो। जस्तोसुकै परीक्षा आए तापनि उहाँ ‘तिनीसित हुनुहुन्छ’ भन्‍ने कुरामा उहाँले तिनलाई मनैदेखि विश्‍वस्त पार्नुभयो।—प्रेषि. ७:९, १०. *

५. आध्यात्मिक लक्ष्यतर्फ अघि बढिरहने हाम्रो सङ्‌कल्पमा “परमेश्‍वरको शान्ति”-ले कस्तो प्रभाव पार्न सक्छ?

अहिले हाम्रो परिस्थिति अनुकूल नभए तापनि “परमेश्‍वरको शान्ति” पाएको प्रत्यक्ष अनुभव गर्न सक्छौँ, जसले हामीलाई साँच्चै सम्हाल्छ र हाम्रो सोच्ने क्षमताको रक्षा गर्छ। (फिलिप्पी ४:६, ७ पढ्‌नुहोस्‌) त्यसकारण चिन्ताले व्याकुल हुँदा यहोवासित मदत माग्यौँ भने परमेश्‍वरको शान्तिले आध्यात्मिक लक्ष्यतर्फ अघि बढिरहने हाम्रो सङ्‌कल्पलाई बलियो बनाउन सक्छ र हार मान्‍ने झुकावविरुद्ध लड्‌न मदत गर्छ। आउनुहोस्‌, यस्तै अनुभव गरेका आधुनिक समयका केही उदाहरणहरू विचार गरौँ।

फेरि मनोशान्ति प्राप्त गर्न यहोवासित मदत माग्नुहोस्‌

६, ७. कुनै विषयमा तोकेरै प्रार्थना गर्दा फेरि मनोशान्ति प्राप्त गर्न कसरी मदत पाउँछौँ? एउटा अनुभव बताउनुहोस्‌।

रायन र जुलियटले आफ्नो अस्थायी विशेष अग्रगामी सेवा अन्त भएको खबर पाउँदा तिनीहरू निराश भए। रायन भन्छन्‌: “हामीले तुरुन्तै यहोवालाई प्रार्थना गऱ्‍यौँ। यो हाम्रो लागि यहोवामाथि भरोसा गरेको देखाउने एउटा ठूलो मौका हो भनेर हामीलाई थाह थियो। हाम्रो मण्डलीमा थुप्रैले भर्खर-भर्खरै सत्य सिकेका थिए। त्यसैले विश्‍वासको राम्रो उदाहरण बसाल्न मदत गर्नुहोस्‌ भनेर हामीले यहोवासित मदत माग्यौँ।”

यहोवाले तिनीहरूको प्रार्थनाको जवाफ कसरी दिनुभयो? रायन भन्छन्‌: “सुरुमा हाम्रो मनमा नकारात्मक भावनाहरू आएको थियो र चिन्ता पनि लागेको थियो। तर प्रार्थना गरिसक्ने बित्तिकै ती सबै हराएको महसुस गऱ्‍यौँ। परमेश्‍वरको शान्तिले हाम्रो मन र सोच्ने क्षमताको रक्षा गऱ्‍यो। सही मनोवृत्ति कायम राखिरह्‍यौँ भने हामी यहोवाको लागि उपयोगी साबित भइरहनेछौँ भनेर महसुस गऱ्‍यौँ।”

८-१०. (क) परमेश्‍वरको पवित्र शक्‍तिले हामीलाई चिन्ता-फिक्रीको सामना गर्न कसरी मदत गर्छ? (ख) आध्यात्मिक दृष्टिकोण कायम गर्न हामीले गर्ने प्रयासमा यहोवाले कसरी आशिष्‌ दिन सक्नुहुन्छ?

परमेश्‍वरको पवित्र शक्‍तिले हामीलाई मनोशान्ति दिनुको अलावा आध्यात्मिक कुरालाई प्राथमिकता दिन मदत गर्ने खास शास्त्रपदहरू सम्झन पनि मदत गर्छ। (युहन्‍ना १४:२६, २७ पढ्‌नुहोस्‌) झन्डै २५ वर्ष बेथेलमा सेवा गरेका विवाहित दम्पती फिलिप र मेरीको उदाहरण विचार गर्नुहोस्‌। चार महिनाभित्रै दुवै जनाले आफ्नो आमा र अर्को एउटा आफन्त गुमाउनुपऱ्‍यो। अनि तिनीहरूले मेरीको बुबाको हेरचाह गर्न थाले, जसलाई सुद्धी हराउने समस्या थियो।

फिलिप भन्छन्‌: “केही समयसम्म त परिस्थितिको राम्ररी सामना गरिरहेको छु जस्तो लाग्थ्यो तर पनि केही कुराको अभाव भएको महसुस गरेँ। प्रहरीधरहरा-को अध्ययन लेख पढ्‌दै गर्दा कलस्सी १:११ ले मेरो ध्यान खिच्यो। हुनत मैले सहनशीलता देखाइरहेको थिएँ तर पूर्ण रूपले देखाउन सकिरहेको थिइनँ। मैले ‘सबै कुरा धीरजी र आनन्दित हुँदै सहनुपर्ने’ थियो। जीवनमा आनन्दित हुने कि नहुने भन्‍ने कुरा मेरो परिस्थितिमा होइन, बरु परमेश्‍वरको पवित्र शक्‍तिले ममा प्रभाव पारेको छ कि छैन, त्यसमा निर्भर हुन्छ भनेर यो शास्त्रपदले मलाई सम्झायो।”

१० फिलिप र मेरीले गाह्रो परिस्थितिमा पनि आध्यात्मिक दृष्टिकोण कायम गर्न प्रयास गरे र यहोवाले विभिन्‍न तरिकामा तिनीहरूलाई आशिष्‌ दिनुभयो। बेथेल सेवा छोडेको केही समय नबित्दै तिनीहरू दुवैले प्रगतिशील बाइबल विद्यार्थीहरू भेट्टाए। ती विद्यार्थीहरू हप्तामा एक पटकभन्दा धेरै अध्ययन गर्न इच्छुक थिए। त्यो कुरा सम्झँदै मेरी भन्छिन्‌: “ती विद्यार्थीहरू हाम्रो आनन्दको स्रोत थिए। ती विद्यार्थीहरूलाई चलाएर यहोवा हामीलाई यसो भन्दै हुनुहुन्थ्यो, ‘सबै कुरा ठीक हुनेछ!’”

यहोवाले आशिष्‌ दिने ठाउँ दिनुहोस्‌

हाम्रो परिस्थिति जस्तोसुकै भए पनि हामी कसरी युसुफको अनुकरण गर्न सक्छौँ? (अनुच्छेद ११-१३ हेर्नुहोस्‌)

११, १२. (क) यहोवाले कसरी युसुफलाई आशिष्‌ दिने ठाउँ पाउनुभयो? (ख) सहनशील भएकोमा युसुफले कस्तो इनाम पाए?

११ अचानक परिस्थिति परिवर्तन हुँदा भविष्यको चिन्ताले हामीलाई सजिलै व्याकुल पार्न सक्छ र हामी केही सोच्नै नसक्ने अवस्थामा पुग्न सक्छौँ। युसुफलाई पनि यस्तै हुन सक्थ्यो। तर तिनले आफ्नो परिस्थितिमा गर्न सक्ने सबैभन्दा राम्रो कुरामा ध्यान दिएको हुनुपर्छ। त्यसैले यहोवाले तिनलाई आशिष्‌ दिने ठाउँ पाउनुभयो। झ्यालखानामा हुँदा पनि त्यहाँको हाकिमले दिएको जुनसुकै काम पूरा गर्न तिनले कडा मेहनत गरे, जसरी तिनले पोतिफरको घरमा हुँदा गर्दै आइरहेका थिए।—उत्प. ३९:२१-२३.

१२ एक दिन झ्यालखानाका दुई जना कैदीलाई युसुफको जिम्मा लगाइयो। ती कैदीहरू पहिले फारोको दरबारमा उच्च ओहदामा सेवा गर्थे। युसुफको दयालु व्यवहार देखेकोले ती दुवै कैदीले युसुफलाई आफ्नो दुःख पोखाए अनि अघिल्लो रात आफूले देखेको अनौठो सपना पनि सुनाए। (उत्प. ४०:५-८) त्यो कुराकानीले गर्दा पछि परिणाम राम्रो हुनेछ भनेर युसुफले त्यतिखेर बुझेका थिएनन्‌। हुनत त्यसको दुई वर्षपछिसम्म पनि तिनी झ्यालखानामै रहे। तर आखिरमा तिनलाई मुक्‍त गरियो अनि मुक्‍त गरिएकै दिन तिनी फारोपछिको दोस्रो ठूलो शासक नियुक्‍त भए।—उत्प. ४१:१, १४-१६, ३९-४१.

१३. हाम्रो परिस्थिति जस्तोसुकै भए तापनि के गऱ्‍यौँ भने यहोवाले हामीलाई आशिष्‌ दिने ठाउँ पाउनुहुनेछ?

१३ युसुफजस्तै आफ्नो परिस्थितिलाई सुधार्न हामीले खासै केही गर्न नसक्ने अवस्था हुन सक्छ वा त्यो हाम्रो नियन्त्रणबाहिरको परिस्थिति हुन सक्छ। तैपनि हामी धीरजी भयौँ र त्यो परिस्थितिमा जे-जति गर्न सक्छौँ, त्यो गर्न प्रयास गरिरह्‍यौँ भने यहोवाले हामीलाई पनि आशिष्‌ दिने ठाउँ पाउनुहुनेछ। (भज. ३७:५) हुनत हामी कहिलेकाहीँ “अन्योलमा” पर्न सक्छौँ तर प्रेषित पावलले भनेझैँ हामी कहिल्यै ‘निराशामा छोडिनेछैनौँ।’ (२ कोरि. ४:८; फुटनोट) खासगरि प्रचारकार्यमा आफ्नो ध्यान लगायौँ भने पावलका यी शब्दहरू हाम्रो सन्दर्भमा पनि साँचो साबित हुनेछ।

प्रचारकार्यमा ध्यान केन्द्रित गरिरहनुहोस्‌

१४-१६. परिस्थिति परिवर्तन हुँदा पनि प्रचारक फिलिपले कसरी प्रचारकार्यमा ध्यान केन्द्रित गरिरहे?

१४ परिस्थिति परिवर्तन हुँदा पनि प्रचारकार्यमा ध्यान केन्द्रित गरिरहने सन्दर्भमा प्रचारक फिलिपले राम्रो उदाहरण बसाले। स्तिफनसको हत्या गरिएपछि यरुसलेममा चेलाहरूले भीषण सतावट भोग्नुपऱ्‍यो। * त्यसबेला फिलिप आफूले पाएको नयाँ जिम्मेवारीमा रमाइरहेका थिए। (प्रेषि. ६:१-६) तर ख्रिष्टका चेलाहरू तितरबितर भएपछि फिलिप केही नगरी बसिरहन सकेनन्‌। तिनी सामरियामा गएर प्रचार गर्न थाले। त्यसबेलासम्म सामरियाको अधिकांश भागमा सुसमाचार प्रचार गरिएको थिएन।—मत्ति १०:५; प्रेषि. ८:१, ५.

१५ यहोवाको पवित्र शक्‍तिले जता डोऱ्‍याउँछ, त्यतै जान फिलिप तयार थिए। त्यसैले नयाँ इलाकामा प्रचारको काम सुरु गर्न यहोवाले तिनलाई प्रयोग गर्नुभयो। फिलिपले निष्पक्ष हुँदै सामरीहरूलाई प्रचार गरेकोले तिनीहरूले स्फूर्ति पाएको हुनुपर्छ किनभने यहुदीहरू अक्सर सामरियालीहरूलाई हेला गर्थे। भीडले “एकै मनको भएर” फिलिपको कुरा सुन्‍नु कुनै छक्कलाग्दो कुरा होइन।—प्रेषि. ८:६-८.

१६ त्यसपछि पवित्र शक्‍तिले फिलिपलाई अस्दोद र सिजरिया जान डोऱ्‍यायो। ती सहरहरूमा गैरयहुदीहरूको जनसङ्‌ख्या निकै ठूलो थियो। (प्रेषि. ८:३९, ४०) सामरियामा पहिलो पटक प्रचार गरेको करिब २० वर्षपछि फिलिपको जीवनमा फेरि परिवर्तन आएको हुनुपर्छ। यतिखेरसम्म तिनले आफ्नो परिवार बसालिसकेका थिए अनि आफूले प्रचार गरिरहेको इलाकामै घरजम गरिरहेका थिए। परिस्थिति परिवर्तन हुँदा पनि तिनले प्रचारकार्यमा ध्यान केन्द्रित गरिरहे। त्यसो गरेकोले तिनी र तिनको परिवारले यहोवाबाट प्रशस्त आशिष्‌ पाए।—प्रेषि. २१:८, ९.

१७, १८. परिस्थिति परिवर्तन हुँदा प्रचारकार्यमा ध्यान केन्द्रित गऱ्‍यौँ भने हामी कसरी सन्तुलित रहिरहन सक्छौँ?

१७ परिस्थिति परिवर्तन हुँदा पनि प्रचारकार्यमा ध्यान केन्द्रित गरिरह्‍यौँ भने सन्तुलित रहिरहन सकिन्छ भनी थुप्रै पूर्ण-समय सेवकहरूले आफ्नै जीवनमा अनुभव गरेका छन्‌। दक्षिण अफ्रिकाका एक दम्पती अस्बोर्न र पोलाइटले बेथेल सेवा छोडेपछि केही समयमै पार्ट-टाइम काम अनि बस्ने ठाउँ पाइन्छ होला भन्‍ने सोचेका थिए। तर अस्बोर्न भन्छन्‌: “दुःखको कुरा, हामीले सोचेजस्तो चाँडो काम पाउन सकेनौँ।” तिनकी श्रीमती पोलाइट भन्छिन्‌: “हामीले तीन महिनासम्म काम पाउन सकेनौँ अनि हामीसित बचत गरेको पैसा पनि थिएन। साँच्चै के गरौँ कसो गरौँ भएको थियो।”

१८ यस्तो तनावपूर्ण अवस्थाको सामना गर्न तिनीहरूलाई केले मदत गऱ्‍यो? अस्बोर्न यसरी बताउँछन्‌: “मण्डलीसँगसँगै प्रचारकार्यमा भाग लिँदा हामीले महत्त्वपूर्ण कुरामा ध्यान केन्द्रित गर्न अनि सकारात्मक सोचाइ राख्न निकै मदत पायौँ। चिन्ता गरेर बसिरहनुभन्दा हामीले प्रचारकार्यमा व्यस्त रहने निर्णय गऱ्‍यौँ अनि त्यसो गर्दा हामीले अपार आनन्द पाउन सक्यौँ। सकेजति सबै ठाउँमा काम खोज्यौँ र आखिरमा काम पनि पायौँ।”

धैर्य गर्दै यहोवाको बाटो हेर्नुहोस्‌

१९-२१. (क) मनोशान्ति कायम गर्न हामीलाई केले मदत गर्छ? (ख) नयाँ परिस्थितिअनुसार छाँटकाँट गर्दा हामी व्यक्‍तिगत रूपमा कस्ता लाभहरू उठाउन सक्छौँ?

१९ यी अनुभवहरूले देखाएझैँ आफ्नो परिस्थितिमा जे-जति गर्न सक्छौँ, त्यो गरिरह्‍यौँ र यहोवामा पूर्ण भरोसा गर्दै उहाँको बाटो हेरिरह्‍यौँ भने मनोशान्ति कायम गर्न सक्छौँ। (मिका ७:७ पढ्‌नुहोस्‌) त्यति मात्र होइन, नयाँ परिस्थितिअनुसार छाँटकाँट गर्दा थुप्रै आध्यात्मिक लाभ उठाउन सकेको महसुस पनि गर्न सक्छौँ। अगाडि उल्लेख गरिएकी पोलाइट आफ्नो अनुभव सम्झँदै यसो भन्छिन्‌: “परिस्थिति गाह्रोजस्तो देखिए पनि यहोवामाथि साँच्चै भर पर्नु भनेको के हो भनेर मैले असाइनमेन्ट परिवर्तन भएपछि मात्रै बुझ्न सकेँ। अहिले यहोवासितको मेरो सम्बन्ध अझै बलियो भएको छ।”

२० अगाडि उल्लेख गरिएकी मेरी अझै पनि आफ्नो वृद्ध बुबाको ख्याल राख्दै अग्रगामी सेवा गरिरहेकी छिन्‌। तिनी भन्छिन्‌: “चिन्ताले सताउँदा एकछिन त्यसलाई छोडेर यहोवालाई प्रार्थना गर्नुपर्छ अनि मनलाई शान्त पार्ने कोसिस गर्नुपर्छ भनेर मैले सिकेकी छु। मैले सिकेको सबैभन्दा महत्त्वपूर्ण पाठ भनेको आफ्नो सबै चिन्ता-फिक्री यहोवाको हातमा सुम्पिनु हो। अनि त्यसो गर्नु भविष्यमा झनै जरुरी हुनेछ।”

२१ लेखको सुरुमा उल्लेख गरिएका लोइड र अलेक्जेन्ड्रा आफ्नो परिस्थिति परिवर्तन हुँदा सोच्दै नसोचेको तरिकामा विश्‍वासको जाँच भएको कुरा मानिलिन्छन्‌। तर तिनीहरू भन्छन्‌: “जब हाम्रो विश्‍वासको जाँच गर्ने परीक्षाहरू आइपर्छन्‌, तब हाम्रो विश्‍वास कत्तिको पक्का छ अनि गाह्रो परिस्थितिमा हामीलाई साथ र सान्त्वना दिने हदसम्म बलियो छ कि छैन भन्‍ने कुरा प्रमाणित हुन्छ। अनि हामी पहिलेभन्दा अझ बलियो हुन्छौँ।”

सोच्दै नसोचेको परिवर्तनले सोच्दै नसोचेको आशिष्‌ ल्याउन सक्छ! (अनुच्छेद १९-२१ हेर्नुहोस्‌)

२२. आफ्नो परिस्थितिमा जे-जति गर्न सक्छौँ, त्यो गरिरह्‍यौँ भने हामी कुन कुरामा ढुक्क हुन सक्छौँ?

२२ ईश्‍वरतान्त्रिक जिम्मेवारीमा आएको परिवर्तन, स्वास्थ्य समस्या वा पारिवारिक जिम्मेवारीको कारण जीवनले नयाँ मोड लिँदा यहोवा तपाईँको ख्याल राख्नुहुन्छ अनि सही समयमा तपाईँलाई मदत गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। (हिब्रू ४:१६; १ पत्रु. ५:६, ७) त्यतिन्जेल आफ्नो परिस्थितिमा जे-जति गर्न सक्नुहुन्छ, त्यो गर्ने प्रयास गर्नुहोस्‌। प्रार्थना गरेर स्वर्गमा हुनुहुने बुबासित अझ नजिक हुनुहोस्‌ अनि आफैलाई उहाँको हातमा सुम्पिन सिक्नुहोस्‌। त्यसो गरेर तपाईँले पनि बदलिँदो परिस्थितिको बाबजुद मनोशान्ति कायम गरिरहन सक्नुहुनेछ।

^ अनु. 4 झ्यालखानाबाट छुटेको केही समयपछि यहोवाले युसुफलाई एउटा छोरा दिनुभएर तिनको दुःख बिर्सन मदत गर्नुभएको कुरा तिनले बताए। युसुफले आफ्नो जेठो छोराको नाम मनस्से राखे, किनभने तिनले यसो भने: “परमेश्‍वरले मलाई मेरो दुःख . . . बिर्सन मदत गर्नुभयो।”—उत्प. ४१:५१, फुटनोट।

^ अनु. 14 यसै अङ्‌कको “के तपाईँलाई थाह थियो?” भन्‍ने लेख हेर्नुहोस्‌।