सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २

सभामा यहोवाको प्रशंसा गर्नुहोस्‌

सभामा यहोवाको प्रशंसा गर्नुहोस्‌

“समुदायमा म तपाईँको स्तुतिगान गाउनेछु।”—भज. २२:२२

गीत ५९ यहोवाको गुणगान गाऔँ!

परिचय *

१. यहोवाबारे दाउद कस्तो महसुस गर्थे? यसले गर्दा तिनी के गर्न उत्प्रेरित भए?

राजा दाउदले लेखे: “यहोवा महान्‌ हुनुहुन्छ र प्रशंसा पाउन सबैभन्दा योग्य हुनुहुन्छ।” (भज. १४५:३) तिनी यहोवालाई प्रेम गर्थे अनि त्यही प्रेमको कारण तिनी “समुदायमा” परमेश्‍वरको प्रशंसा गर्न उत्प्रेरित भएका थिए। (भज. २२:२२; ४०:५) तपाईँ पनि यहोवालाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। दाउदका यी शब्दहरूसित तपाईँ पक्कै सहमत हुनुहुन्छ: “हे हाम्रा बुबा! इस्राएलका परमेश्‍वर यहोवा! सदासर्वदा तपाईँको प्रशंसा होस्‌।”—१ इति. २९:१०-१३.

२. (क) हामी कसरी यहोवाको प्रशंसा गर्न सक्छौँ? (ख) थुप्रैले कस्तो चुनौतीको सामना गर्नुपरेको छ? यस लेखमा हामी के छलफल गर्नेछौँ?

अहिले यहोवाको प्रशंसा गर्ने एउटा तरिका हो: ख्रिष्टियन सभाहरूमा टिप्पणी दिएर। तर थुप्रै दाजुभाइ दिदीबहिनीलाई सभामा टिप्पणी दिन गाह्रो लाग्छ। तिनीहरू सभामा टिप्पणी दिन चाहन्छन्‌ तर टिप्पणी दिन डर लाग्छ। त्यस्तो डरको सामना गर्न तिनीहरूलाई केले मदत गर्छ? प्रोत्साहनदायी टिप्पणी दिन हामी सबैलाई कस्ता व्यावहारिक सुझावहरूले मदत गर्न सक्छ? यी प्रश्‍नहरूको जवाफ थाह पाउनुअघि आउनुहोस्‌, सभामा किन टिप्पणी दिनुपर्छ, चार वटा महत्त्वपूर्ण कारण विचार गरौँ।

हामी सभामा किन टिप्पणी दिन्छौँ?

३-५. (क) हिब्रू १३:१५ मा बताइएअनुसार हामी सभामा किन टिप्पणी दिन्छौँ? (ख) के हामी सबैले एउटै किसिमको टिप्पणी दिनुपर्छ? व्याख्या गर्नुहोस्‌।

यहोवाले हामी सबैलाई उहाँको प्रशंसा गर्ने सुअवसर दिनुभएको छ। (भज. ११९:१०८) हामीले सभामा दिने टिप्पणीहरू “प्रशंसाको बलिदान”-को भाग हो अनि यो बलिदान हाम्रो लागि अरू कसैले चढाइदिन सक्दैन। (हिब्रू १३:१५ पढ्‌नुहोस्‌) के यहोवा हामी सबैबाट एउटै किसिमको बलिदान अर्थात्‌ एउटै किसिमको टिप्पणीको आशा गर्नुहुन्छ? अहँ, गर्नुहुन्‍न!

हामी सबैको क्षमता र परिस्थिति फरक-फरक छ भन्‍ने कुरा यहोवालाई थाह छ। अनि हामीले चढाउन सक्ने बलिदानको उहाँ धेरै कदर गर्नुहुन्छ। इस्राएलीहरूले चढाउने कस्ता बलिदानहरू उहाँले स्विकार्नुभयो, विचार गर्नुहोस्‌। केही इस्राएलीहरू भेडा वा बाख्रा चढाउन सक्थे। तर गरिब इस्राएलीले भने “दुई वटा ढुकुर वा परेवाको दुई वटा बचेरा” चढाउन सक्थे। अनि यदि कुनै इस्राएलीको दुई वटा चरा चढाउने औकात थिएन भने तिनले यहोवालाई “दस भागको एक भाग मसिनो पीठो” चढाउन सक्थे। (लेवी ५:७, ११) पीठो सस्तो थियो तैपनि यहोवा त्यो बलिदानको कदर गर्नुहुन्थ्यो तर त्यो “मसिनो पीठो”-को हुनुपर्थ्यो।

हाम्रो दयालु परमेश्‍वर अहिले पनि त्यस्तै महसुस गर्नुहुन्छ। टिप्पणी दिँदा हामी सबै जना अपोल्लसजस्तै सिपालु अथवा पावलजस्तै अरूलाई मनाउन सक्ने भएको उहाँ आशा गर्नुहुन्‍न। (प्रेषि. १८:२४; २६:२८) यहोवा हामी सबैले आफ्नो क्षमताले भ्याएसम्मको राम्रो टिप्पणी दिएको मात्र आशा गर्नुहुन्छ। दुई साना सिक्का खसालेकी एक जना विधवालाई सम्झनुहोस्‌। यहोवाको नजरमा ती विधवा अनमोल थिइन्‌ किनकि आफूले दिन सक्ने सबैभन्दा उत्तम कुरा तिनले दिइन्‌।—लुका २१:१-४.

टिप्पणी दिँदा हामीलाई र हाम्रो टिप्पणी सुन्‍ने सबैलाई फाइदा पुग्छ (अनुच्छेद ६-७ हेर्नुहोस्‌) *

६. (क) हिब्रू १०:२४, २५ अनुसार अरूले दिएको टिप्पणी सुन्दा हामीमा कस्तो प्रभाव पर्न सक्छ? (ख) कसैले प्रोत्साहनदायी टिप्पणी दिँदा तपाईँ कसरी कृतज्ञता देखाउन सक्नुहुन्छ?

टिप्पणी दिएर हामी एकअर्कालाई प्रोत्साहन दिन्छौँ। (हिब्रू १०:२४, २५ पढ्‌नुहोस्‌) सभामा फरक-फरक टिप्पणी सुन्दा हामी सबैलाई खुसी लाग्छ। सानो बच्चाले निष्कपट भई दिएको सरल टिप्पणी हामीलाई मन पर्छ। आफूले भर्खरै सिकेको सत्यबारे कसैले उत्साहित हुँदै टिप्पणी दिएको सुन्दा त्यसले हाम्रो मन छुन्छ। अनि लजालु स्वभावका अथवा भर्खरै हाम्रो भाषा सिक्न थालेकाहरूले पनि ‘साहस बटुलेर’ टिप्पणी दिँदा हामी उनीहरूको कदर गर्छौँ। (१ थिस्स. २:२) तिनीहरूको यस्तो प्रयासप्रति कसरी कृतज्ञता देखाउन सक्छौँ? एउटा तरिका, तिनीहरूले दिएको प्रोत्साहनदायी टिप्पणीको लागि सभापछि धन्यवाद दिन सक्छौँ। अर्को तरिका, हामी आफैले पनि टिप्पणी दिन सक्छौँ। यसो गऱ्‍यौँ भने हामीले प्रोत्साहन पाउने मात्र होइन, अरूलाई पनि प्रोत्साहन दिइरहेका हुन्छौँ।—रोमी १:११, १२.

. टिप्पणी दिँदा हामीलाई कस्तो फाइदा हुन्छ?

टिप्पणी दिँदा हामीलाई फाइदा हुन्छ। (यसै. ४८:१७) कसरी? पहिलो, यदि हामीले टिप्पणी दिने लक्ष्य राखेका छौँ भने सभाको लागि राम्ररी तयारी गर्न अझ उत्प्रेरित हुन्छौँ। जब हामी सभाको लागि राम्ररी तयारी गर्छौँ, तब परमेश्‍वरको वचन अझै गहिरिएर बुझ्न सक्छौँ। हामी परमेश्‍वरको वचन जति राम्रोसँग बुझ्छौँ, सिकेको कुरा लागू गर्न हामीलाई त्यति नै सजिलो हुन्छ। दोस्रो, छलफल कार्यक्रममा भाग लिँदा हामीलाई सभा अझ रमाइलो लाग्छ। तेस्रो, टिप्पणी तयारी गर्नको लागि प्रयास गर्नुपर्ने भएकोले आफूले टिप्पणी दिएको बुँदा अक्सर पछिसम्म पनि सम्झिरहन सक्छौँ।

८-९. (क) मलाकि ३:१६ मा बताइएअनुसार हामीले टिप्पणी दिँदा यहोवालाई कस्तो लाग्छ? (ख) कसै-कसैलाई अझै पनि के गर्न डर लाग्न सक्छ?

आफ्नो विश्‍वास व्यक्‍त गरेर हामी यहोवालाई खुसी बनाउँछौँ। यहोवा हामीले सभामा दिएको टिप्पणी सुन्‍नुहुन्छ र टिप्पणी दिनको लागि हामीले गरेको प्रयासको धेरै कदर गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुन सक्छौँ। (मलाकि ३:१६ पढ्‌नुहोस्‌) यहोवालाई खुसी बनाउन हामीले कडा मेहनत गऱ्‍यौँ भने हामीलाई आशिष्‌ दिएर उहाँ त्यसको कदर गरेको देखाउनुहुन्छ।—मला. ३:१०.

कुरा स्पष्ट छ, सभामा टिप्पणी दिनुपर्ने ठोस कारणहरू छन्‌। तैपनि कसै-कसैलाई सभामा हात उठाउन डर लाग्न सक्छ। के तपाईँलाई पनि त्यस्तै लाग्छ? त्यसो हो भने निरुत्साहित नहुनुहोस्‌। अब हामी केही बाइबल सिद्धान्त, केही व्यक्‍तिहरूको उदाहरण अनि केही व्यावहारिक सुझाव विचार गरौँ, जसले हामी सबैलाई सभामा अझै टिप्पणी दिने प्रयास गर्न मदत गर्छ।

डरको सामना गर्ने

१०. (क) हामीमध्ये थुप्रैलाई कस्तो डर लाग्छ? (ख) टिप्पणी दिन डर लाग्नु किन राम्रो कुराको सङ्‌केत हो?

१० सभामा टिप्पणी दिने भन्‍ने कुरा सोच्दा मात्र पनि डरले के तपाईँको मुटु ढुकढुक हुन्छ? यदि त्यसो हो भने तपाईँ एक्लो हुनुहुन्‍न। सत्य कुरा के हो भने, टिप्पणी दिँदा हामीमध्ये थुप्रैलाई अलि-अलि भए पनि डर त लागेकै हुन्छ। यस्तो डर कसरी हटाउने भनेर विचार गर्नुअघि तपाईँले डर लाग्नुको कारण पत्ता लगाउनुपर्छ। टिप्पणी दिँदा आफूले भन्‍न खोजेको कुरा बिर्सन्छु होला अथवा गलत कुरा भन्छु होला भन्‍ने डर लाग्छ कि? अथवा अरूले जस्तै राम्रो टिप्पणी दिन सक्दिनँ जस्तो लाग्छ कि? वास्तवमा यस्तो डर राम्रो कुराको सङ्‌केत हो। यसले तपाईँ नम्र हुनुहुन्छ अनि अरूलाई आफूभन्दा श्रेष्ठ ठान्‍नुहुन्छ भन्‍ने कुरा देखाउँछ। यहोवालाई यो गुण मन पर्छ। (भज. १३८:६; फिलि. २:३) तर यहोवा तपाईँले सभामा उहाँको प्रशंसा गरेको अनि अरू दाजुभाइ दिदीबहिनीलाई प्रोत्साहन दिएको पनि चाहनुहुन्छ। (१ थिस्स. ५:११) यहोवा तपाईँलाई माया गर्नुहुन्छ र तपाईँलाई चाहिने साहस उहाँले दिनुहुनेछ।

११. बाइबलका कस्ता सम्झौटाहरूले हामीलाई मदत गर्न सक्छ?

११ बाइबलका केही सम्झौटा विचार गर्नुहोस्‌। सही कुरा बोल्नदेखि अनि सही तरिकाले बोल्नदेखि हामी सबै जना कहिलेकाहीँ चुक्छौँ भनेर बाइबलमा बताइएको छ। (याकु. ३:२) हामीबाट गल्ती नै हुँदैन भन्‍ने यहोवा आशा गर्नुहुन्‍न अनि हाम्रा दाजुभाइ दिदीबहिनीले पनि त्यस्तो आशा गर्दैनन्‌। (भज. १०३:१२-१४) तिनीहरू हाम्रो आध्यात्मिक परिवार हुन्‌ र हामीलाई माया गर्छन्‌। (मर्कु. १०:२९, ३०; युह. १३:३५) कहिलेकाहीँ हामीले टिप्पणी दिँदा आफूले भन्‍न खोजेको कुरा राम्ररी व्यक्‍त गर्न सक्दैनौँ होला तर त्यस्तो हुन सक्छ भनेर हाम्रा भाइबहिनीलाई थाह छ।

१२-१३. नहेम्याह र योनाको उदाहरणबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ?

१२ डरको सामना गर्न मदत दिने केही बाइबल उदाहरणहरू विचार गर्नुहोस्‌। नहेम्याहलाई सम्झनुहोस्‌। तिनी शक्‍तिशाली राजाको दरबारमा सेवा गर्थे। नहेम्याह दुःखी थिए किनभने तिनले यरुसलेमका पर्खाल र मूलढोकाहरू भताभुङ्‌ग अवस्थामा भएको कुरा सुनेका थिए। (नहे. १:१-४) राजाले तिनको अनुहार किन निन्याउरो छ भनेर सोध्दा नहेम्याहको मुटु कत्ति ढुकढुक भयो होला, एकछिन सोच्नुहोस्‌ त! नहेम्याहले यहोवालाई तुरुन्तै प्रार्थना गरे अनि राजालाई जवाफ दिए। त्यसपछि राजाले परमेश्‍वरका जनलाई सकेजति मदत गरे। (नहे. २:१-८) योनाबारे पनि विचार गर्नुहोस्‌। यहोवाले तिनलाई निनवेबासीविरुद्ध बोल्न लगाउनुहुँदा योना यति डराए कि तिनी अर्कै दिशातर्फ भागे। (योना १:१-३) तर यहोवाको मदतले गर्दा योनाले आफ्नो असाइनमेन्ट पूरा गर्न सके। तिनले बताएको कुराले गर्दा निनवेबासीहरू नाश हुनदेखि जोगिए। (योना ३:५-१०) नहेम्याहको विवरणबाट जवाफ दिनुअघि प्रार्थना गर्नुको महत्त्व बुझ्न सक्छौँ। अनि योनाको विवरणबाट जस्तोसुकै डरको सामना गर्नुपरे तापनि यहोवाको सेवा गर्न उहाँ हामीलाई मदत गर्न सक्नुहुन्छ भन्‍ने कुरा सिक्न सक्छौँ। यसो सोच्नुहोस्‌ त, मण्डलीमा टिप्पणी दिनु भनेको निनवेबासीहरूलाई प्रचार गर्नु जत्तिकै गाह्रो कुरा हो र?

१३ सभामा प्रोत्साहनदायी टिप्पणी दिन कस्ता व्यावहारिक सुझावहरू लागू गर्न सक्छौँ? केही सुझाव विचार गरौँ।

१४. हामीले सभाको लागि किन राम्ररी तयारी गर्नुपर्छ अनि हामी कहिले तयारी गर्न सक्छौँ?

१४ हरेक सभाको लागि तयारी गर्नुहोस्‌। पहिल्यै योजना बनाएर राम्ररी तयारी गर्नुभएको छ भने सभामा अझै निर्धक्क भएर टिप्पणी दिन सक्नुहुन्छ। (हितो. २१:५) सभाको लागि तयारी गर्ने हामी सबैको तालिका फरक-फरक छ। उदाहरणको लागि, ८० वर्ष पार गरिसकेकी एक विधवा बहिनी एलोइजलाई विचार गर्नुहोस्‌। तिनी हप्ताको सुरुतिरै प्रहरीधरहरा अध्ययनको तयारी गर्न थाल्छिन्‌। तिनी भन्छिन्‌: “सभाको लागि पहिल्यै तयारी गरेकी छु भने सभा अझै रमाइलो लाग्छ।” जोइ, जो पूर्ण-समय जागिर खान्छिन्‌, तिनी प्रहरीधरहरा अध्ययन गर्नको लागि सभाको अघिल्लो दिन समय छुट्ट्याउँछिन्‌। तिनी भन्छिन्‌, “सभाभन्दा एकदिन अगाडि तयार गर्दा ती कुराहरू दिमागमा ताजै रहन्छ।” अग्रगामी सेवा गरिरहेका एक व्यस्त एल्डर आइक्‌ भन्छन्‌, “सभाको लागि एकै चोटि सबै तयारी गर्नुभन्दा हप्ताभरि थोरै-थोरै गर्दै तयारी गर्न मलाई सजिलो लाग्छ।”

१५. तपाईँ कसरी सभाको लागि राम्ररी तयारी गर्न सक्नुहुन्छ?

१५ सभाको लागि राम्ररी तयारी गर्नुमा के समावेश छ? हरेक चोटि अध्ययन गर्नुअघि यहोवासित पवित्र शक्‍ति माग्न प्रार्थना गर्नुहोस्‌। (लुका ११:१३; १ युह. ५:१४) अनि लेखमा दिइएको शीर्षक, उपशीर्षक, चित्र अनि शिक्षण पेटीलाई सरसरती हेर्नुहोस्‌। त्यसपछि एक-एक अनुच्छेद अध्ययन गर्दै जाँदा उल्लेख गरिएका शास्त्रपदहरूमध्ये सकेसम्म धेरै पढ्‌नुहोस्‌। दिइएको जानकारीमा मनन गर्नुहोस्‌ अनि आफूले टिप्पणी दिन चाहेका बुँदाहरूमा विशेष ध्यान दिनुहोस्‌। तपाईँ जति राम्ररी तयारी गर्नुहुन्छ, त्यति नै लाभ उठाउन सक्नुहुन्छ अनि टिप्पणी दिन झन्‌ सजिलो लाग्छ।—२ कोरि. ९:६.

१६. अध्ययन गर्न तपाईँसित कस्ता सामग्रीहरू उपलब्ध छन्‌? अनि तपाईँ ती सामग्री कसरी प्रयोग गर्नुहुन्छ?

१६ यदि सम्भव छ भने अध्ययन गर्नको लागि तपाईँले बुझ्ने भाषामा तयार पारिएका इलेक्ट्रोनिक सामग्रीहरू प्रयोग गर्नुहोस्‌। सभाको तयारी गर्न मदत दिनको लागि यहोवाले हामीलाई आफ्नो सङ्‌गठनमार्फत इलेक्ट्रोनिक सामग्रीहरूको प्रबन्ध गर्नुभएको छ। JW लाइब्रेरी एपबाट मोबाइलजस्ता साधनमा अध्ययन प्रकाशनहरू डाउनलोड गर्न सकिन्छ। अनि जहाँसुकै वा जुनसुकै बेलामा पनि हामी ती प्रकाशनहरू अध्ययन गर्न सक्छौँ अथवा कम से कम ती पढ्‌न वा सुन्‍न सक्छौँ। कोही-कोही स्कुलमा वा काममा खाजा खाने बेला अथवा यात्रा गर्दा यो एप प्रयोग गरेर अध्ययन गर्ने गर्छन्‌। वाचटावर लाइब्रेरी (अङ्‌ग्रेजी) र प्रहरीधरहरा अनलाइन पुस्तकालय प्रयोग गरेर आफूले अझ राम्रोसँग अध्ययन गर्न चाहेका बुँदाहरूबारे हामी सजिलै अनुसन्धान गर्न सक्छौँ।

सभाको तयारी गर्न तपाईँले कहिले समय छुट्ट्याउनुभएको छ? (अनुच्छेद १४-१६ हेर्नुहोस्‌) *

१७. (क) एउटाभन्दा धेरै टिप्पणी तयारी गर्नु किन राम्रो हो? (ख) यहोवाको साथी बनौं—टिप्पणी तयार गर भिडियोबाट तपाईँले के सिक्नुभयो?

१७ यदि सम्भव छ भने हरेक लेखमा एउटाभन्दा धेरै टिप्पणी तयारी गर्नुहोस्‌। किन? किनभने टिप्पणी दिनको लागि हात उठाउनुहुँदा सधैँ तपाईँले नै मौका पाउनुहुन्छ भन्‍ने छैन। तपाईँले हात उठाउँदा अरूले पनि हात उठाइरहेका हुन सक्छन्‌ अनि सञ्चालकले एक जनालाई रोज्नुपर्ने हुन्छ। साथै सभा समयमा सिद्ध्याउनको लागि लेखको कुनै भागमा कति जनालाई टिप्पणी दिने भन्‍ने कुरामा सञ्चालकले विचार पुऱ्‍याउनुपर्ने हुन्छ। त्यसैले सञ्चालकले सुरुतिरै तपाईँलाई मौका दिएनन्‌ भने पनि मन नदुखाउनुहोस्‌ वा निरुत्साहित नहुनुहोस्‌। एउटाभन्दा धेरै टिप्पणी तयारी गर्नुभएको छ भने छलफलमा भाग लिने मौका पनि धेरै हुन्छ। तपाईँ कुनै एउटा शास्त्रपद पढ्‌ने तयारी गर्न पनि सक्नुहुन्छ। तर यदि सक्नुहुन्छ भने आफ्नै शब्दमा टिप्पणी दिनको लागि पनि तयारी गर्नुहोस्‌। *

१८. हामीले किन छोटो टिप्पणी दिनुपर्छ?

१८ छोटो टिप्पणी दिनुहोस्‌। प्रोत्साहनदायी टिप्पणीहरू प्रायजसो सरल र छोटो हुन्छ। त्यसैले छोटो टिप्पणी दिने लक्ष्य राख्नुहोस्‌। लगभग ३० सेकेन्डभित्र टिप्पणी दिने प्रयास गर्नुहोस्‌। (हितो. १०:१९; १५:२३) यदि तपाईँले सभामा टिप्पणी दिन थालेको वर्षौँ भइसकेको छ भने आफ्नो टिप्पणी छोटो बनाएर अरूको लागि राम्रो उदाहरण बसाल्नु महत्त्वपूर्ण छ। यदि तपाईँले तीनथुप्रो जानकारी समावेश गरेर दुई-चार मिनेट लामो टिप्पणी दिनुभयो भने अरूलाई ‘म त त्यस्तो टिप्पणी दिन सक्दिनँ’ जस्तो लाग्न सक्छ अनि तिनीहरूलाई टिप्पणी दिन झनै डर लाग्न सक्छ। साथै छोटो टिप्पणी दिनुभयो भने सभामा अझ धेरैले टिप्पणी दिने मौका पाउँछन्‌। विशेषगरि तपाईँले अनुच्छेदमा पहिलो टिप्पणी दिने मौका पाउनुभयो भने प्रश्‍नले जे जवाफ मागेको हो, त्यही जवाफ सरल तरिकामा बताउनुहोस्‌। अनुच्छेदका सबै बुँदा समावेश गर्ने कोसिस नगर्नुहोस्‌। अनुच्छेदको मुख्य बुँदा छलफल गरिसकेपछि बाँकी रहेका अरू बुँदामा टिप्पणी दिन सक्नुहुन्छ।—“ म कस्तो टिप्पणी दिन सक्छु?” भन्‍ने पेटी हेर्नुहोस्‌।

१९. सञ्चालकले तपाईँलाई कसरी मदत गर्न सक्छन्‌ तर तपाईँले के गर्नुपर्छ?

१९ आफूले टिप्पणी दिन चाहेको अनुच्छेदबारे सञ्चालकलाई थाह दिनुहोस्‌। यदि तपाईँ यसो गर्न चाहनुहुन्छ भने सभा सुरु हुनुअघि नै सञ्चालकलाई भेटेर बताउनुहोस्‌। आफूले टिप्पणी दिन चाहेको अनुच्छेद छलफल गरिँदा सञ्चालकले देख्नेगरि आफ्नो हात तुरुन्तै माथि उठाउनुहोस्‌।

२०. मण्डलीको सभा कुन अर्थमा साथीहरूसँगै बाँडचुँड गरेर खाएको खानाजस्तै हो?

२० मण्डलीको सभा भनेको आफ्नो मिल्ने साथीहरूसँगै बाँडचुँड गरेर खाएको खानाजस्तै हो। कल्पना गर्नुहोस्‌, तपाईँलाई मण्डलीका केही भाइबहिनीसँगै खाना खान बोलाइयो र तपाईँलाई पनि एउटा साधारण परिकार बनाएर ल्याउन भनियो। तपाईँ के गर्नुहुन्छ? सायद तपाईँलाई के बनाऊँ जस्तो लाग्छ होला तर सबै जनालाई मनपर्ने खानेकुरा बनाएर ल्याउन तपाईँ सक्दो गर्नुहुन्छ नि, होइन र? सभामा हामीलाई निम्तो दिने यहोवा हुनुहुन्छ अनि उहाँले हाम्रो लागि असल खानेकुराहरूले भरिएको टेबुल तयार पार्नुभएको छ। (भज. २३:५; मत्ति २४:४५) अनि साधारण भए पनि हामीले दिन सक्ने सबैभन्दा उत्तम उपहार ल्याउँदा यहोवालाई धेरै खुसी लाग्छ। त्यसैले राम्ररी तयारी गर्नुहोस्‌ अनि सभामा सकेसम्म धेरै टिप्पणी दिनुहोस्‌। यसो गर्नुभयो भने तपाईँले यहोवाको टेबुलबाट खाने मात्र होइन तर मण्डलीका अरूसित बाँड्‌नको लागि उपहार पनि ल्याउनुभएको हुनेछ।

गीत २ यहोवा तिम्रो नाम

^ अनु. 5 भजनहार दाउदजस्तै हामी सबै जना यहोवालाई प्रेम गर्छौँ अनि उहाँको प्रशंसा गर्न हामीलाई मन पर्छ। सभामा उपासनाको लागि उपस्थित हुँदा परमेश्‍वरप्रतिको प्रेम देखाउने एउटा विशेष मौका छ। तर हामीमध्ये कसै-कसैलाई सभामा टिप्पणी दिन डर लाग्छ। यदि तपाईँलाई पनि त्यस्तै लाग्छ भने यस लेखले डरको कारण पत्ता लगाउन र त्यसको समाधान गर्न मदत गर्नेछ।

^ अनु. 17 jw.org/ne मा बाइबलको शिक्षा > केटाकेटी अन्तर्गत यहोवाको साथी बनौं—टिप्पणी तयार गर भन्‍ने भिडियो हेर्नुहोस्‌।

^ अनु. 63 चित्रको व्याख्या: प्रहरीधरहरा-को छलफलमा मण्डलीका सदस्यहरू खुसीसित भाग लिँदै छन्‌।

^ अनु. 65 चित्रको व्याख्या: अघिल्लो चित्रमा देखाइएका केही सदस्य, जो प्रहरीधरहरा-को छलफलमा भाग लिँदै थिए। हरेकको परिस्थिति फरक छ तर सभामा छलफल गरिने लेखको अध्ययन गर्न सबैले समय छुट्ट्याउँछन्‌।