सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ६

सत्यनिष्ठा कायम राख्नुहोस्‌!

सत्यनिष्ठा कायम राख्नुहोस्‌!

“म नमरुन्जेल आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ।”—अय्यु. २७:५.

गीत ३४ निष्ठामा हिँडौँ!

परिचय *

१. यस अनुच्छेदमा उल्लेख गरिएका यहोवाका तीन साक्षीले कसरी यहोवाको पक्षमा अडान लिए?

यहोवाका साक्षीहरूले सामना गर्ने अवस्थाबारे यी तीन वटा दृश्‍य कल्पना गर्नुहोस्‌। (१) एकदिन एउटी केटी स्कुल जाँदा तिनको शिक्षकले सबै विद्यार्थीलाई एउटा उत्सवमा भाग लिन भन्छन्‌। तर यो उत्सव मनाउँदा यहोवा खुसी हुनुहुन्‍न भनेर त्यस केटीलाई थाह छ। त्यसैले आफू त्यसमा भाग लिन नसक्ने कुरा तिनले शिक्षकलाई आदरपूर्वक बताउँछिन्‌। (२) एक जना लजालु केटो घरघर प्रचार गर्दै छ। उसले प्रचार गर्नुपर्ने अर्को घरमा उसकै स्कुलको साथी बस्छ। अनि त्यो साथीले पहिला यहोवाका साक्षीहरूलाई गिज्याएको थियो। तैपनि ऊ त्यो घरमा जान्छ र ढोका ढकढक्याउँछ। (३) एक जना व्यक्‍ति आफ्नो परिवारको लालनपालन गर्न निकै परिश्रम गरिरहेका छन्‌। एकदिन तिनको हाकिमले तिनलाई छली वा गैर-कानुनी काम गर्न अह्राउँछन्‌। हाकिमले भनेजस्तो नगर्दा तिनको जागिर जान सक्छ। तैपनि तिनले आफू परमेश्‍वरको सेवक भएकोले इमानदार हुनुपर्ने र नियमकानुन उल्लङ्‌घन गर्न नहुने कुरा बताउँछन्‌।—रोमी १३:१-४; हिब्रू १३:१८.

२. हामी कुन-कुन प्रश्‍नबारे विचार गर्नेछौँ र किन?

यी तीनै जनामा तपाईँ कुन गुण देख्नुहुन्छ? तपाईँले विभिन्‍न गुण याद गर्नुभयो होला, जस्तै: साहस र इमानदारी। तर एउटा गुण भने तीनै जनामा उल्लेखनीय छ। त्यो हो, सत्यनिष्ठा। तिनीहरू यहोवाप्रति वफादार रहे। तिनीहरूले परमेश्‍वरको स्तरमा सम्झौता गरेनन्‌। सत्यनिष्ठाले गर्दा तिनीहरूले त्यस्तो कदम चाले। यो गुण देखाएकोले यहोवा पक्कै पनि तिनीहरूमा गर्व गर्नुहुन्छ। त्यसैगरि हामी पनि स्वर्गमा बस्नुहुने बुबालाई गर्व महसुस गराउन चाहन्छौँ। त्यसैले यी प्रश्‍नहरूबारे छलफल गरौँ: सत्यनिष्ठा के हो? हामी किन सत्यनिष्ठ हुनुपर्छ? अहिलेको कठिन समयमा सत्यनिष्ठ रहने हाम्रो सङ्‌कल्पलाई कसरी अझ बलियो बनाउन सक्छौँ?

सत्यनिष्ठा के हो?

३. (क) सत्यनिष्ठा भनेको के हो? (ख) सत्यनिष्ठाको अर्थ बुझ्न हामीलाई कस्ता उदाहरणहरूले मदत गर्छ?

परमेश्‍वरका सेवकहरूको सन्दर्भमा भन्‍ने हो भने सत्यनिष्ठा भनेको यहोवाप्रतिको तनमनको प्रेम र उहाँप्रतिको अटल भक्‍ति हो, जसले गर्दा हामी जुनसुकै निर्णय गर्नुपर्दा उहाँको इच्छालाई पहिलो स्थानमा राख्छौँ। बाइबलमा “सत्यनिष्ठा” शब्द कसरी प्रयोग गरिएको छ, त्यसबारे विचार गरौँ। बाइबलमा प्रयोग गरिएअनुसार सत्यनिष्ठा शब्दको आधारभूत अर्थ हो: सिङ्‌गो, निष्खोट र सग्लो। उदाहरणको लागि, इस्राएलीहरू यहोवाको निम्ति जनावरहरूको बलिदान चढाउँथे र व्यवस्थामा बताइएअनुसार त्यस्तो बलिदान निष्खोट हुनुपर्थ्यो। * (लेवी २२:२१, २२) परमेश्‍वरका जनहरूले एउटा खुट्टा, कान वा आँखा नभएको जनावर बलिदान चढाउनु हुँदैनथ्यो अनि तिनीहरूले रोगी जनावर चढाउन पनि मिल्दैनथ्यो। त्यो जनावर सिङ्‌गो, निष्खोट र सग्लो भएको यहोवा चाहनुहुन्थ्यो। (मला. १:६-९) यहोवाले कुनै पनि कुरा निष्खोट र सग्लो भएको चाहनुको कारण हामी बुझ्न सक्छौँ। जस्तै: कुनै फल, किताब वा औजार किन्दा हामी त्यो सिङ्‌गो, निष्खोट र सग्लो भएको चाहन्छौँ। फल कुहिएको छ, किताबका पानाहरू च्यातिएका छन्‌ वा औजारका पाटपुर्जाहरू हराएका छन्‌ भने हामी त्यस्तो चिज किन्दैनौँ। यहोवाप्रतिको हाम्रो प्रेम र वफादारी पनि त्यस्तै भएको उहाँ चाहनुहुन्छ। त्यो सिङ्‌गो, निष्खोट र सग्लो हुनुपर्छ।

४. (क) त्रुटिपूर्ण मानिस पनि किन सत्यनिष्ठ रहन सक्छ? (ख) भजन १०३:१२-१४ अनुसार यहोवा हामीबाट कस्तो आशा गर्नुहुन्छ?

के यसको मतलब सत्यनिष्ठ रहन हामी त्रुटिरहित हुनुपर्छ भन्‍ने हो? हामीलाई आफू निष्खोट छैनँ वा आफूमा धेरै कमीकमजोरी छन्‌ जस्तो लाग्न सक्छ। तर हामीले किन यस्तो सोचाइ राख्नुपर्दैन, दुई वटा कारण विचार गरौँ। पहिलो, यहोवा हाम्रा त्रुटिहरूलाई ध्यान दिनुहुन्‍न। उहाँको वचन यसो भन्छ: “हे याह, तपाईँले हाम्रा गल्तीहरूमा ध्यान दिनुभयो भने हे यहोवा, को खडा रहन सक्ला र?” (भज. १३०:३) हामी त्रुटिपूर्ण, पापी मानिसहरू हौँ भनेर उहाँलाई थाह छ र उहाँ हामीलाई क्षमा दिन कन्जुस्याइँ गर्नुहुन्‍न। (भज. ८६:५) दोस्रो, यहोवालाई हाम्रो सीमितता थाह छ र हामीले गर्न सक्ने भन्दा धेरै कुरा उहाँ हामीबाट माग गर्नुहुन्‍न। (भजन १०३:१२-१४ पढ्‌नुहोस्‌) त्यसोभए हामी कुन अर्थमा उहाँको नजरमा सिङ्‌गो, निष्खोट र सग्लो हुन सक्छौँ?

५. यहोवाका सेवकहरू सत्यनिष्ठ रहन तिनीहरूसित प्रेम हुनै पर्छ, किन?

यहोवाका सेवकहरू सत्यनिष्ठ रहन प्रेम नभई हुँदैन। स्वर्गमा बस्नुहुने हाम्रो बुबाप्रतिको प्रेम र उहाँलाई चढाउनुपर्ने अटल भक्‍ति सिङ्‌गो, निष्खोट र सग्लो हुनुपर्छ। परीक्षाहरू सामना गर्दा हाम्रो प्रेम यस्तै रहन्छ भने हामी सत्यनिष्ठ भइरहेका हुन्छौँ। (१ इति. २८:९; मत्ति २२:३७) हामीले सुरुमा छलफल गरेका तीन जना साक्षीलाई फेरि विचार गरौँ। तिनीहरूले किन त्यस्तो निर्णय गरे? के त्यस केटीलाई स्कुलमा रमाइलो गर्न मन पर्दैन? के त्यस केटोलाई प्रचार गर्न जाँदा अरूले जिस्काएको मन पर्छ? के ती बुबा आफ्नो जागिर गुमाउन चाहन्छन्‌? त्यसो त पटक्कै होइन! तर तिनीहरू यहोवाले तोक्नुभएका धार्मिक स्तरहरूअनुसार चल्न र स्वर्गमा बस्नुहुने आफ्नो बुबालाई खुसी पार्न चाहन्छन्‌। उहाँप्रतिको प्रेमले तिनीहरूलाई जुनसुकै निर्णय गर्दा उहाँको इच्छालाई पहिलो स्थानमा राख्न उत्प्रेरित गर्छ। यसरी तिनीहरू सत्यनिष्ठ भएको प्रमाण दिन्छन्‌।

हामी किन सत्यनिष्ठ रहनुपर्छ?

६. (क) तपाईँ किन सत्यनिष्ठ रहनुपर्छ? (ख) आदम र हव्वा सत्यनिष्ठ रहनदेखि कसरी चुके?

हामी सबै किन सत्यनिष्ठ रहनै पर्छ? किनभने सैतानले यहोवालाई चुनौती दिएको छ र त्यसले तपाईँलाई पनि चुनौती दिएको छ। त्यस विद्रोही स्वर्गदूतले अदनको बगैँचामा आफूलाई सैतान अर्थात्‌ “विरोधी” बनायो। त्यसले यहोवा खराब, स्वार्थी र बेइमान शासक हुनुहुन्छ भनेर उहाँको नाममा कलङ्‌क लगायो। दुःखको कुरा, आदम र हव्वाले सैतानको पक्ष लिएर यहोवाको विद्रोह गरे। (उत्प. ३:१-६) यहोवाप्रतिको प्रेमलाई अझ प्रगाढ बनाउँदै लैजान तिनीहरूले अदनको बगैँचामा अनगिन्ती मौका पाएका थिए। तर सैतानले चुनौती दिएको बेला यहोवाप्रति तिनीहरूको प्रेम निष्खोट, सिङ्‌गो र सग्लो रहन सकेन। यसले अर्को प्रश्‍न खडा गऱ्‍यो: के कुनै मानिस यहोवा परमेश्‍वरप्रतिको प्रेमले गर्दा उहाँप्रति वफादार रहनेछ? अर्को शब्दमा भन्‍ने हो भने, के मानिसहरू सत्यनिष्ठ रहन सक्छन्‌? यही प्रश्‍न अय्युबको सन्दर्भमा उठाइएको थियो।

७. अय्युब १:८-११ मा बताइएअनुसार अय्युबको सत्यनिष्ठा देख्दा यहोवालाई कस्तो लाग्यो? अनि सैतानलाई कस्तो लाग्यो?

अय्युब इस्राएलीहरूले मिश्रमा जीवन बिताइरहेको बेलाका मानिस थिए। तिनले जस्तो सत्यनिष्ठा त्यतिबेला अरू कसैले देखाएको थिएन। हामीजस्तै तिनी त्रुटिपूर्ण थिए। तिनले गल्तीहरू गरे। तर तिनी सत्यनिष्ठ थिए र यहोवाले तिनलाई माया गर्नुभयो। मानिसहरूको सत्यनिष्ठाबारे सैतानले यहोवालाई पहिला पनि प्रश्‍न उठाइसकेको हुन सक्छ। त्यसैले यहोवाले सैतानको ध्यान अय्युबतर्फ खिच्नुभयो। तिनको जीवनबाट सैतान झूटो हो भनेर पर्दाफास भयो। सैतानले अय्युबको सत्यनिष्ठाको जाँच गरिनुपर्छ भन्यो। आफ्नो मित्र अय्युबमाथि यहोवाले भरोसा गर्नुभयो, त्यसैले उहाँले सैतानलाई तिनको परीक्षा गर्न अनुमति दिनुभयो।अय्युब १:८-११ पढ्‌नुहोस्‌।

८. सैतानले अय्युबलाई कस्तो आक्रमण गऱ्‍यो?

सैतान निर्दयी छ र त्यो हत्यारा हो। त्यसले अय्युबको सरसम्पत्ति, तिनका दासहरू र तिनको प्रतिष्ठामाथि आक्रमण गऱ्‍यो; तिनले ती सबै गुमाए। त्यसले अय्युबको परिवारमाथि आक्रमण गऱ्‍यो र तिनका दस जना छोराछोरीलाई माऱ्‍यो। त्यसपछि त्यसले अय्युबको शरीर र स्वास्थ्यमाथि आक्रमण गऱ्‍यो र तिनको शिरदेखि पैतालासम्म पीडादायी खटिरा निस्कियो। अय्युबकी पत्नी अत्यन्तै विचलित र शोकाकुल भइन्‌। त्यसैले उनले अय्युबलाई दुःख सहनुभन्दा बरु परमेश्‍वरलाई सरापेर मर्ने सल्लाह दिइन्‌। अय्युब आफैले पनि मर्ने इच्छा व्यक्‍त गरे तैपनि तिनले आफ्नो सत्यनिष्ठा त्यागेनन्‌। त्यसपछि सैतानले तिनलाई अर्को तरिकामा आक्रमण गऱ्‍यो। त्यसले अय्युबका तीन जना साथीलाई चलायो। तिनीहरू अय्युबसँगै केही दिन बसे तर तिनलाई कुनै सान्त्वना दिएनन्‌। त्यसको उल्टो तिनीहरूले कठोर हुँदै तिनको आलोचना गरे र तिनलाई हप्काए। परमेश्‍वरले नै अय्युबलाई ती सबै दुःख भोग्न लगाउनुभएको हो र तिनको सत्यनिष्ठाको परमेश्‍वरलाई कुनै वास्ता छैन भनेर तिनीहरूले दाबी गरे। त्यति मात्र होइन, तिनीहरूले अय्युब दुष्ट मानिस हुन्‌ र तिनीमाथि जे-जस्तो दुःख आइपऱ्‍यो, त्यो उचितै हो समेत भने!—अय्यु. १:१३-२२; २:७-११; १५:४, ५; २२:३-६; २५:४-६.

९. परीक्षाहरू भोग्नुपर्दा समेत अय्युबले के गरेनन्‌?

यी सबै दुःख भोग्नुपर्दा अय्युबले कस्तो प्रतिक्रिया देखाए? तिनी त्रुटिरहित थिएनन्‌। आफूलाई झूटो सान्त्वना दिनेहरूलाई तिनले रिसको झोँकमा गाली गरे। तिनले आफ्नो बोलीलाई सम्हाल्नै सकेनन्‌ भनेर तिनी आफैले स्विकारे। तिनले आफूलाई परमेश्‍वरभन्दा धेरै धर्मी साबित गर्न खोजे। (अय्यु. ६:३; १३:४, ५; ३२:२; ३४:५) तर जस्तोसुकै कठिन अवस्था आइपरे पनि तिनी यहोवाको विरुद्धमा खडा भएनन्‌। तिनले झूटा साथीहरूको कुरा पत्याएनन्‌। तिनले भने: “म तपाईँहरूलाई कुनै पनि हालतमा धर्मी ठहराउन सक्दिनँ। म नमरुन्जेल आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ।” (अय्यु. २७:५) अय्युबले जस्तोसुकै अवस्था आइपरे पनि आफ्नो सत्यनिष्ठा नछोड्‌ने दृढ सङ्‌कल्प गरेका थिए भनेर तिनको यो भनाइले देखाउँछ। अय्युबले हार मानेनन्‌। हामी पनि अय्युबजस्तै हुन सक्छौँ।

१०. सैतानले अय्युबको सन्दर्भमा उठाएको विवादमा तपाईँ कसरी मुछिनुभएको छ?

१० सैतानले हामी प्रत्येकलाई पनि अय्युबलाई जस्तै आरोप लगाएको छ। तपाईँ यो विवादमा कसरी मुछिनुभएको छ? तपाईँ यहोवा परमेश्‍वरलाई वास्तवमा प्रेम गर्नुहुन्‍न, आफ्नो ज्यान जोगाउन तपाईँले उहाँको सेवा गर्न छोड्‌नुहुनेछ र गाह्रो अवस्थामा पर्दा तपाईँ सत्यनिष्ठ रहनुहुनेछैन भनेर त्यसले दाबी गरेको छ। (अय्यु. २:४, ५; प्रका. १२:१०) यस्तो कुरा सुन्दा तपाईँलाई कस्तो लाग्छ? असाध्यै चित्त दुख्छ नि, होइन र? तर यो कुरा विचार गर्नुहोस्‌: यहोवा तपाईँमा पूरा भरोसा राख्नुहुन्छ, त्यसैले सैतानले उठाएको प्रश्‍नको जवाफ दिन उहाँले तपाईँलाई ठूलो मौका दिनुभएको छ। यहोवाले सैतानलाई तपाईँको सत्यनिष्ठाको जाँच गर्न अनुमति दिनुभएको छ। तपाईँले आफ्नो सत्यनिष्ठा छोड्‌नुहुनेछैन र सैतानलाई झूटो साबित गर्नुहुनेछ भन्‍ने कुरामा यहोवा विश्‍वस्त हुनुहुन्छ। अनि यहोवाले तपाईँलाई मदत गर्ने प्रतिज्ञा गर्नुभएको छ। (हिब्रू १३:६) ब्रह्‍माण्डकै सार्वभौमले तपाईँमाथि त्यत्रो भरोसा राख्नु कत्ति ठूलो सुअवसर! सत्यनिष्ठ हुनु कत्तिको महत्त्वपूर्ण रहेछ भनेर के तपाईँले बुझ्नुभयो? सत्यनिष्ठ भयौँ भने हामीले सैतानको आरोप झूटो हो भनेर प्रमाणित गर्न, हाम्रो बुबाको नामलाई उच्च पार्न र शासन गर्ने उहाँको तरिका सही हो भनेर देखाउन सक्नेछौँ। त्यसोभए सत्यनिष्ठ भइरहन हामी के गर्न सक्छौँ?

अहिले हामी कसरी सत्यनिष्ठ भइरहन सक्छौँ?

११. अय्युबबाट हामी के सिक्न सक्छौँ?

११ समस्यै-समस्याले भरिएको यस “अन्तको दिनमा” सैतानले परमेश्‍वरका जनहरूमाथि अझ भीषण आक्रमण गर्न थालेको छ। (२ तिमो. ३:१) यस्तो कठिन समयमा सत्यनिष्ठ भइरहनको लागि हामी कसरी आफूलाई बलियो बनाउन सक्छौँ? यस सन्दर्भमा पनि हामी अय्युबबाट सिक्न सक्छौँ। परीक्षाहरू आइपर्नुभन्दा धेरै अघिदेखि अय्युबले आफू यहोवाप्रति सत्यनिष्ठ भएको प्रमाण थुप्रै चोटि दिइसकेका थिए। आउनुहोस्‌, सत्यनिष्ठ भइरहन आफूलाई बलियो बनाउने सन्दर्भमा हामीले अय्युबबाट सिक्न सक्ने तीन वटा पाठ विचार गरौँ।

सत्यनिष्ठ रहने आफ्नो सङ्‌कल्पलाई हामी कसरी बलियो बनाउन सक्छौँ? (अनुच्छेद १२ हेर्नुहोस्‌) *

१२. (क) अय्युब २६:७, ८, १४ अनुसार अय्युबले यहोवाप्रतिको श्रद्धा र आदर कसरी बढाउँदै लगे? (ख) हामी कसरी आफ्नो मन परमेश्‍वरप्रतिको श्रद्धाले भर्न सक्छौँ?

१२ अय्युबले यहोवाप्रतिको श्रद्धा बढाउँदै लगे र उहाँलाई अझ प्रेम गर्न सके। अय्युबले यहोवाको सृष्टिमा देखिने अद्‌भुत कुराहरूमा मनन गर्न समय बिताए। (अय्युब २६:७, ८, १४ पढ्‌नुहोस्‌) पृथ्वी, आकाश, बादल र गर्जनबारे विचार गर्दा अय्युब आश्‍चर्यचकित भए। तैपनि तिनले विशाल सृष्टिबारे आफूलाई थोरै मात्र थाह भएको कुरा मानिलिए। यहोवाका कुराहरू सुनेर पनि तिनको मनमा श्रद्धा जाग्यो। परमेश्‍वरले भन्‍नुभएका कुराबारे अय्युबले यसो भने, “मैले उहाँको वचनको मोल गरेको छु।” (अय्यु. २३:१२) यहोवाप्रतिको श्रद्धा र आदरले अय्युब ओतप्रोत भए। तिनी यहोवालाई प्रेम गर्थे र उहाँलाई खुसी बनाउन चाहन्थे। यसले गर्दा सत्यनिष्ठ रहिरहने तिनको सङ्‌कल्प अझ बलियो भयो। हामीले पनि अय्युबले जस्तै गर्नुपर्छ। अय्युबको समयका मानिसहरूलाई भन्दा हामीलाई सृष्टिका अद्‌भुत कुराहरूबारे धेरै थाह छ। हामीसित परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको सिङ्‌गो बाइबल छ र त्यसबाट यहोवा वास्तवमा कस्तो परमेश्‍वर हुनुहुन्छ भनेर सिक्न सक्छौँ। हामी उहाँबारे जे-जति सिक्छौँ, त्यसले हाम्रो मन उहाँप्रतिको श्रद्धाले भरिन्छ। यहोवाप्रतिको श्रद्धा र आदरले गर्दा हामी उहाँलाई प्रेम गर्न र उहाँको आज्ञा पालन गर्न उत्प्रेरित हुन्छौँ अनि उहाँप्रति सत्यनिष्ठ भइरहने हाम्रो इच्छा प्रबल हुन्छ।—अय्यु. २८:२८.

अश्‍लील सामग्री नहेरेर हामी सत्यनिष्ठ रहने सङ्‌कल्पलाई बलियो बनाउन सक्छौँ (अनुच्छेद १३ हेर्नुहोस्‌) *

१३-१४. (क) अय्युब ३१:१ अनुसार अय्युबले आफू आज्ञाकारी भएको कसरी देखाए? (ख) हामी कसरी अय्युबको उदाहरण अनुकरण गर्न सक्छौँ?

१३ आज्ञाकारी भएर अय्युबले सत्यनिष्ठ रहिरहने आफ्नो सङ्‌कल्पलाई बलियो बनाए। सत्यनिष्ठ रहन आज्ञाकारी हुनुपर्छ भनेर तिनलाई थाह थियो। वास्तवमा हामी हरेक चोटि आज्ञाकारी हुँदा सत्यनिष्ठ रहने आफ्नो सङ्‌कल्पलाई बलियो बनाइरहेका हुन्छौँ। अय्युबले आफ्नो दैनिक जीवनमा परमेश्‍वरप्रति आज्ञाकारी हुन अथक प्रयास गरे। उदाहरणको लागि, विपरीत लिङ्‌गको व्यक्‍तिसित अनुचित व्यवहार नगर्न तिनी होसियार थिए। (अय्युब ३१:१ पढ्‌नुहोस्‌) आफू विवाहित भएकोले आफ्नी पत्नीबाहेक अरू स्त्रीप्रति रोमान्टिक चासो देखाउनु गलत हो भनेर तिनलाई थाह थियो। आज हामी बाँचिरहेको संसारमा अवैध यौनसम्बन्ध राख्ने प्रलोभन जताततै छ। अय्युबजस्तै के हामी पनि आफ्नो विवाहित जोडीबाहेक अरूप्रति रोमान्टिक चासो नदेखाउन दृढ छौँ? के हामी कुनै पनि माध्यमद्वारा छाडा वा अश्‍लील चित्रहरू हेर्न इन्कार गर्छौँ? (मत्ति ५:२८) हामीले दिनहुँ यसरी आत्मसंयम देखाउन प्रयास गऱ्‍यौँ भने सत्यनिष्ठ रहिरहने आफ्नो सङ्‌कल्पलाई बलियो बनाउन सक्नेछौँ।

भौतिक कुराहरूप्रति सही दृष्टिकोण राखेर हामी सत्यनिष्ठ रहने सङ्‌कल्पलाई बलियो बनाउन सक्छौँ (अनुच्छेद १४ हेर्नुहोस्‌) *

१४ भौतिक कुराहरूप्रति यहोवाको जस्तै दृष्टिकोण राखेर पनि अय्युब उहाँप्रति आज्ञाकारी भए। आफ्नो भौतिक सरसम्पत्तिमा भरोसा राख्नु भनेको दण्ड पाउन लायकको गम्भीर पाप गर्नु हो भनेर तिनले बुझेका थिए। (अय्यु. ३१:२४, २५, २८) हामी बाँचिरहेको संसार असाध्यै भौतिकवादी छ। बाइबलको सल्लाह पालन गर्दै पैसा र सरसम्पत्तिप्रति उचित दृष्टिकोण राख्यौँ भने सत्यनिष्ठ रहिरहने आफ्नो सङ्‌कल्पलाई बलियो बनाउन सक्नेछौँ।—हितो. ३०:८, ९; मत्ति ६:१९-२१.

अनि आफ्नो आशालाई ताजा बनाइराखेर हामी सत्यनिष्ठ रहने सङ्‌कल्पलाई बलियो बनाउन सक्छौँ (अनुच्छेद १५ हेर्नुहोस्‌) *

१५. (क) कस्तो आशाले अय्युबलाई सत्यनिष्ठ रहिरहन मदत गऱ्‍यो? (ख) यहोवाले दिनुभएको आशालाई सम्झिरहनु किन राम्रो हो?

१५ परमेश्‍वरले इनाम दिनुहुनेछ भन्‍ने आशामा ध्यान केन्द्रित गरेर अय्युब सत्यनिष्ठ रहिरहे। तिनी सत्यनिष्ठ रहनेछन्‌ कि छैनन्‌ भनेर परमेश्‍वरले याद गर्नुहुन्छ भन्‍ने कुरामा तिनलाई विश्‍वास थियो। (अय्यु. ३१:६) परीक्षाहरू भोग्नुपरे तापनि यहोवाले अन्तमा इनाम दिनुहुनेछ भनेर तिनी विश्‍वस्त थिए। यो विश्‍वस्तताले तिनलाई सत्यनिष्ठ रहन पक्कै मदत गऱ्‍यो। अय्युब सत्यनिष्ठ रहेको देखेर यहोवा असाध्यै प्रसन्‍न हुनुभयो। त्यसैले तिनी त्रुटिपूर्ण अवस्थामै भए तापनि उहाँले तिनलाई प्रशस्त इनाम दिनुभयो। (अय्यु. ४२:१२-१७; याकु. ५:११) उहाँले तिनलाई भविष्यमा अझ धेरै इनाम दिनुहुनेछ। सत्यनिष्ठ रहँदा यहोवाले इनाम दिनुहुनेछ भनेर के तपाईँसित पनि बलियो आशा छ? हाम्रा परमेश्‍वर परिवर्तन हुनुभएको छैन। (मला. ३:६) उहाँले हाम्रो सत्यनिष्ठाको मोल गर्नुहुन्छ भनेर बिर्सेनौँ भने हामीले भविष्यको उज्ज्वल आशालाई आफ्नो मनमा ताजा राख्न सक्नेछौँ।—१ थिस्स. ५:८, ९.

१६. हाम्रो सङ्‌कल्प कस्तो हुनुपर्छ?

१६ त्यसोभए सधैँ सत्यनिष्ठ रहन दृढ सङ्‌कल्प गर्नुहोस्‌। कहिलेकाहीँ तपाईँलाई आफूवरपर कोही पनि सत्यनिष्ठ नभएको जस्तो लाग्ला तर वास्तवमा तपाईँ कहिल्यै एक्लो हुनुहुनेछैन। संसारभरि लाखौँ वफादार व्यक्‍तिले तपाईँले जस्तै सत्यनिष्ठा कायम गरिरहेका छन्‌। विगतका थुप्रै विश्‍वासी पुरुष तथा स्त्रीको समूहमा तपाईँ पनि सामेल भइरहनुभएको हुनेछ, जो आफ्नो ज्यानको खतरा पर्दा समेत सत्यनिष्ठ रहे। (हिब्रू ११:३६-३८; १२:१) हामी प्रत्येकले नै अय्युबले गरेको यस्तो सङ्‌कल्पअनुसार जीवन बिताउन सकौँ: ‘म आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ।’ हाम्रो सत्यनिष्ठाले सदासर्वदा यहोवाको महिमा गरोस्‌!

गीत १२४ सधैँ वफादार रहौँ!

^ अनु. 5 सत्यनिष्ठा के हो? आफ्ना सेवकहरूले यो गुण देखाउँदा यहोवा किन त्यसको कदर गर्नुहुन्छ? हामी प्रत्येक सत्यनिष्ठ हुनु किन महत्त्वपूर्ण छ? यी प्रश्‍नहरूबारे बाइबलले दिने जवाफ बुझ्न हामीलाई यस लेखले मदत गर्नेछ। साथै हामी दिनदिनै आफ्नो सत्यनिष्ठालाई कसरी बलियो बनाउँदै लैजान सक्छौँ भनेर स्पष्टसित बुझ्न पनि मदत गर्नेछ। सत्यनिष्ठा कायम गरिरहँदा हामीले प्रशस्त आशिष्‌ पाउनेछौँ।

^ अनु. 3 जनावरको सन्दर्भमा “निष्खोट” भनेर अनुवाद गरिएको हिब्रू शब्द र मानिसको सन्दर्भमा “सत्यनिष्ठ” भनेर अनुवाद गरिएको हिब्रू शब्द मिल्दोजुल्दो छ।

^ अनु. 50 चित्रको व्याख्या: जवान अय्युब आफ्ना छोराछोरीलाई यहोवाको अद्‌भुत सृष्टिबारे सिकाइरहेका छन्‌।

^ अनु. 52 चित्रको व्याख्या: एक जना भाइ आफ्ना सहकर्मीहरूसित अश्‍लील कुरा हेर्न इन्कार गर्छन्‌;

^ अनु. 54 चित्रको व्याख्या: तिनी आफूलाई नचाहिने र आफ्नो औकातले नभ्याउने ठूलो र महँगो टिभी किन्‍ने प्रस्तावलाई इन्कार गर्छन्‌;

^ अनु. 56 चित्रको व्याख्या: तिनी प्रमोदवनको आशामा प्रार्थनापूर्वक मनन गर्न समय निकाल्छन्‌।