सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ७

नम्रता खोज्नुहोस्‌ अनि यहोवालाई खुसी बनाउनुहोस्‌

नम्रता खोज्नुहोस्‌ अनि यहोवालाई खुसी बनाउनुहोस्‌

“हे पृथ्वीका सबै नम्र मानिस हो, . . . यहोवालाई खोज। . . . नम्रता खोज।”—सप. २:३.

गीत ८० ‘चाखेर हेर यहोवा छन्‌ भलो’

परिचय *

-२. (क) बाइबलले मोसाबारे के बताउँछ? तिनले के-के गरे? (ख) हामीसित नम्र हुनुपर्ने कस्तो कारण छ?

बाइबलले मोसालाई “पृथ्वीभरिमा सबैभन्दा नम्र मानिस” भनेर चिनाएको छ। (गन्ती १२:३) के यसको मतलब तिनी कमजोर, निर्णय गर्न डराउने र विरोध आइपर्दा दृढ भई सामना गर्न नसक्ने व्यक्‍ति थिए? कसै-कसैको विचारमा नम्र व्यक्‍ति भनेको यस्तै हो। तर यो वास्तवमा सही होइन। मोसा बलियो, निर्णय गर्न सक्ने र परमेश्‍वरको साहसी सेवक थिए। यहोवाको मदत पाएर तिनले मिश्रको शक्‍तिशाली राजाको सामना गरे, लगभग ३० लाख मानिसलाई मरुभूमिको यात्रामा डोऱ्‍याए अनि शत्रुहरूलाई पराजित गर्न इस्राएल राष्ट्रलाई मदत गरे।

हामीले मोसाले जस्तो चुनौतीहरूको सामना गर्नुपरेको छैन। तर हरेक दिन हामीले विभिन्‍न मानिसहरूसित व्यवहार गर्नुपर्ने हुन्छ वा विभिन्‍न परिस्थितिको सामना गर्नुपर्ने हुन्छ, जसले गर्दा हामीलाई नम्र भइरहन गाह्रो हुन सक्छ। तर यो गुण विकास गर्नुपर्ने हामीसित ठोस कारण छ। “नम्रहरूले पृथ्वी अधिकार गर्नेछन्‌” भनी यहोवाले प्रतिज्ञा गर्नुभएको छ। (भज. ३७:११) के तपाईँलाई आफू नम्र छु जस्तो लाग्छ? के अरूले तपाईँ नम्र हुनुहुन्छ भन्छन्‌? यी महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ पाउनुअघि नम्र हुनु भनेको के हो भन्‍ने कुरा थाह पाउनुपर्छ।

नम्रता भनेको के हो?

-४. (क) नम्रतालाई केसित तुलना गर्न सकिन्छ? (ख) नम्र हुन हामीसित कस्ता गुणहरू हुनुपर्छ र किन?

नम्रता * भनेको एउटा सुन्दर चित्रजस्तै हो। कुन अर्थमा? जसरी चित्रकारले सुन्दर-सुन्दर रङ मिसाएर चित्र कोर्छन्‌, त्यसरी नै नम्र हुन हामीमा पनि विभिन्‍न असल गुण हुनुपर्छ। तीमध्ये केही खास गुणहरू आज्ञाकारिता, कोमल स्वभाव र मनोबल हुन्‌। हामी यहोवालाई खुसी बनाउन चाहन्छौँ भने त्यस्ता गुणहरू किन चाहिन्छ?

नम्र मानिस मात्र आज्ञाकारी भई यहोवाको इच्छाअनुरूप चल्छ। हामीले कोमल स्वभाव देखाएको परमेश्‍वर चाहनुहुन्छ। (मत्ति ५:५; गला. ५:२३) हामी परमेश्‍वरको इच्छाअनुरूप चल्दा सैतानलाई रिसले चुर बनाइरहेका हुन्छौँ। त्यसैले हामी नम्र र कोमल स्वभावका भए तापनि सैतानको संसारका धेरैजसो मानिस हामीलाई घृणा गर्छन्‌। (युह. १५:१८, १९) यही कारणले गर्दा सैतानको प्रतिरोध गर्न हामीलाई मनोबल चाहिन्छ।

-६. (क) सैतान किन नम्र मानिसहरूलाई घृणा गर्छ? (ख) हामी कस्ता प्रश्‍नहरूको जवाफ पाउनेछौँ?

जो नम्र छैन, ऊ घमन्डी हुन्छ, उसले अनियन्त्रित रिस देखाउँछ र यहोवाको आज्ञा पालन गर्दैन। सैतानको स्वभाव ठ्याक्क त्यस्तै छ। त्यसकारण त्यसले नम्र मानिसहरूलाई घृणा गरेकोमा हामी छक्क पर्दैनौँ। किनभने नम्र मानिसहरूका असल गुणहरूले गर्दा त्यसको दुष्टता उदाङ्‌ग हुन्छ। त्यति मात्र होइन, यसबाट सैतान झूटो हो भनेर प्रमाणित हुन्छ। किन? किनभने त्यसले जेसुकै गरे पनि वा जेसुकै भने पनि नम्र मानिसहरूलाई यहोवाको उपासना गर्नदेखि रोक्न सक्दैन।—अय्यु. २:३-५.

हामीलाई नम्र हुन कस्तो अवस्थामा चुनौतीपूर्ण लाग्न सक्छ? हामीले किन नम्रता खोजिरहनुपर्छ? यी प्रश्‍नहरूको जवाफ पाउनुअघि हामी मोसा, बेबिलोनको कैदमा लगिएका तीन हिब्रू कैदी र येसुको उदाहरण विचार गर्नेछौँ।

नम्र हुन कस्तो अवस्थामा चुनौतीपूर्ण हुन्छ?

७-८. अरूले आदर नदेखाउँदा मोसाले कस्तो प्रतिक्रिया देखाए?

अख्तियार पाउँदा: अख्तियार पाएकाहरूलाई नम्र भइरहन चुनौतीपूर्ण हुन सक्छ, विशेषगरि तिनीहरूको अधीनमा बस्नेहरूले आदरपूर्ण व्यवहार नगर्दा वा तिनीहरूको निर्णयमाथि प्रश्‍न उठाउँदा। के तपाईँले पनि कहिल्यै यस्तो परिस्थितिको सामना गर्नुभएको छ? परिवारको सदस्यले त्यस्तो व्यवहार गर्दा तपाईँलाई कस्तो लाग्छ? तपाईँ कस्तो प्रतिक्रिया देखाउनुहुन्छ? मोसाले यस्तो परिस्थितिमा के गरे, विचार गर्नुहोस्‌।

यहोवाले मोसालाई इस्राएलको नेता नियुक्‍त गर्नुभएको थियो अनि उहाँले त्यस राष्ट्रको लागि दिनुभएको नियम-कानुन लेख्ने सुअवसर पनि तिनलाई दिनुभएको थियो। यहोवाले मोसालाई साथ दिइरहनुभएको छ भन्‍ने कुरामा कुनै शङ्‌का थिएन। तैपनि मोसाको आफ्नै दिदी मरियम र दाइ हारुनले तिनीविरुद्ध बोले र पत्नी रोज्ने सन्दर्भमा तिनले गरेको निर्णयमा प्रश्‍न उठाए। मोसाको ठाउँमा अरू कोही भएका भए सायद रिसाउन सक्थे र बदला लिन सक्थे। तर मोसाले त्यस्तो केही गरेनन्‌। तिनले चित्त दुखाएनन्‌। तिनले मरियमको कुष्ठरोग निको पारिदिन यहोवासित बिन्तीसमेत गरे। (गन्ती १२:१-१३) मोसाले किन त्यस्तो प्रतिक्रिया देखाए?

मरियमको कुष्ठरोग निको पारिदिन मोसाले यहोवासित बिन्ती गरे (अनुच्छेद ८ हेर्नुहोस्‌)

९-१०. (क) यहोवाले मोसालाई कुन कुरा बुझाउनुभयो? (ख) परिवारका शिरहरू र एल्डरहरूले कसरी मोसाको अनुकरण गर्न सक्छन्‌?

यहोवाले तालिम दिनुहुँदा मोसाले त्यो स्विकारे। लगभग ४० वर्षअघि मिश्रको राजघरानाका सदस्य छँदा तिनी नम्र थिएनन्‌। तिनी यत्ति रिसाहा थिए कि एक जना व्यक्‍तिले अन्याय गरेको जस्तो लाग्दा उनलाई मारिहाले। तिनको काम देखेर यहोवा खुसी हुनुहुनेछ भन्‍ने सोचाइ तिनले राखे। इस्राएलीहरूलाई डोऱ्‍याउन साहस भएर मात्र पुग्दैन तर नम्रता पनि चाहिन्छ भन्‍ने कुरा यहोवाले ४० वर्ष लगाएर मोसालाई बुझाउनुभयो। अनि नम्र हुन तिनी आज्ञाकारी र कोमल स्वभावको पनि हुनुपर्थ्यो। तिनले यो कुरा राम्ररी सिके अनि उत्कृष्ट निरीक्षक बने।—प्रस्थ. २:११, १२; प्रेषि. ७:२१-३०, ३६.

१० आज परिवारका शिरहरू र एल्डरहरूले मोसाको अनुकरण गर्नुपर्छ। अरूले अनादरपूर्ण व्यवहार गर्दा चित्त नदुखाइहाल्नुहोस्‌। आफ्नो गल्ती नम्र हुँदै स्विकार्नुहोस्‌। (उप. ७:९, २०) समस्याहरू कसरी समाधान गर्ने भनेर यहोवाले दिनुभएको निर्देशन आज्ञाकारी भई पालन गर्नुहोस्‌। अनि सधैँ कोमलताले भरिएको मीठो जवाफ दिनुहोस्‌। (हितो. १५:१) परिवारका शिरहरू र एल्डरहरूले यस्तो प्रतिक्रिया देखाउँदा तिनीहरूले यहोवालाई खुसी बनाइरहेका हुन्छन्‌, शान्ति कायम गरिरहेका हुन्छन्‌ अनि नम्र हुने सन्दर्भमा असल उदाहरण बसालिरहेका हुन्छन्‌।

११-१३. तीन हिब्रू कैदीले हाम्रो लागि कस्तो उदाहरण बसाले?

११ सतावटको सामना गर्नुपर्दा: इतिहास हेर्ने हो भने मानव शासकहरूले यहोवाका जनहरूलाई सताउँदै आएका छन्‌। तिनीहरूले हामीलाई विभिन्‍न “अपराध” गरेको आरोप लगाउन सक्छन्‌। तर वास्तवमा “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा” मान्‍ने भएकोले तिनीहरूले त्यस्तो आरोप लगाएका हुन्‌। (प्रेषि. ५:२९) हामी गिल्लाको पात्र बन्‍नुपर्ला, जेल जानुपर्ला वा शारीरिक दुर्व्यवहारसमेत भोग्नुपर्ला। तर दुर्व्यवहार भोग्नुपर्दा समेत हामी यहोवाको मदतले कोमल स्वभाव देखाउनेछौँ र बदला लिनेछैनौँ।

१२ तीन जना हिब्रू कैदी हानन्याह, मिसाएल र अजर्याहले हाम्रो लागि कस्तो उदाहरण बसाले, विचार गर्नुहोस्‌। * बेबिलोनका राजाले तिनीहरूलाई सुनको एउटा विशाल मूर्तिलाई ढोग्ने आज्ञा दिए। तिनीहरूले राजालाई त्यस मूर्तिको उपासना नगर्नुको कारणबारे नम्र भई बताए। राजाले तिनीहरूलाई दन्किरहेको आगोको भट्टीमा फ्याँकिदिने धम्की दिँदा पनि तिनीहरू यहोवाप्रति आज्ञाकारी भइरहे। हुनत यहोवाले तिनीहरूलाई तुरुन्तै बचाउनुभयो तर ‘उहाँले बचाइहाल्नुहुन्छ नि’ भन्‍ने सोचाइ तिनीहरूले राखेका थिएनन्‌। बरु यहोवाले जे हुन दिनुभए तापनि तिनीहरू खुसीसाथ त्यो स्विकार्न तयार थिए। (दानि. ३:१, ८-२८) तिनीहरूले नम्र मानिसहरू साँच्चै साहसी हुन्छन्‌ भनेर प्रमाणित गरे। हो, कुनै पनि राजाले, कुनै पनि धम्कीले र कुनै पनि सजायले ‘यहोवाबाहेक अरू कसैको भक्‍ति नगर्ने’ हाम्रो सङ्‌कल्प तोड्‌न सक्दैन।—प्रस्थ. २०:४, ५.

१३ यहोवाप्रतिको हाम्रो वफादारीको जाँच हुँदा हामी कसरी यी तीन हिब्रूको अनुकरण गर्न सक्छौँ? यहोवाले हाम्रो ख्याल राख्नुहुनेछ भनेर हामी नम्र भई भरोसा गर्छौँ। (भज. ११८:६, ७) हामीमाथि आरोप लगाउनेहरूलाई कोमल भाव र गहिरो आदरसाथ जवाफ दिन्छौँ। (१ पत्रु. ३:१५) अनि हाम्रो मायालु बुबा यहोवासितको मित्रता तोड्‌न सक्ने कुनै पनि कुरामा हामी सम्झौता गर्दैनौँ।

अरूले हाम्रो विरोध गर्दा हामी आदरपूर्वक जवाफ दिन्छौँ (अनुच्छेद १३ हेर्नुहोस्‌)

१४-१५. (क) हामीलाई तनाव हुँदा के हुन सक्छ? (ख) यसैया ५३:७, १० अनुसार तनावको बाबजुद नम्रता देखाउने सन्दर्भमा येसु सबैभन्दा उत्कृष्ट उदाहरण हुनुहुन्छ भनेर किन भन्‍न सक्छौँ?

१४ तनावको सामना गर्नुपर्दा: हामी सबैलाई विभिन्‍न कारणले तनाव हुन्छ। स्कुलमा जाँच दिनुअघि वा काममा कुनै खास जिम्मेवारी पूरा गर्ने बेला हामीले तनाव महसुस गरेका हुन सक्छौँ। आफ्नो स्वास्थ्यसम्बन्धी कुनै परीक्षण वा उपचारबारे सोच्दा पनि हामीलाई तनाव हुन सक्छ। तनाव हुँदा हामीलाई नम्र हुन गाह्रो हुन्छ। यस्तो अवस्थामा हामीलाई पहिला साधारणजस्तो लाग्ने कुरादेखि पनि दिक्क लाग्न सक्छ। हाम्रो बोलीवचन कठोर र निर्दयी हुन सक्छ। तपाईँले पनि तनावको सामना गर्नुभएको छ भने येसुको उदाहरण विचार गर्नुहोस्‌।

१५ पृथ्वीमा येसुका अन्तिम महिनाहरूमा उहाँले निकै तनाव महसुस गर्नुभयो। आफूलाई मृत्युदण्ड दिइनेछ अनि असाध्यै पीडा हुनेछ भनेर उहाँलाई थाह थियो। (युह. ३:१४, १५; गला. ३:१३) आफ्नो मृत्युको केही महिनाअघि येसुले आफू अत्यन्तै व्याकुल हुनुभएको कुरा बताउनुभयो। (लुका १२:५०) अनि उहाँको मृत्युको केही दिनअघि उहाँले यसो भन्‍नुभयो: “म व्याकुल भएको छु।” उहाँ कत्ति नम्र र आज्ञाकारी हुनुहुन्थ्यो भन्‍ने कुरा उहाँले आफ्नो भावना पोखाउँदै गर्नुभएको प्रार्थनाबाट थाह पाउन सक्छौँ। उहाँले यसो भन्‍नुभयो: “हे बुबा, यस घडीबाट मलाई जोगाउनुहोस्‌। तर यसैको लागि म यस घडीसम्म आइपुगेको हुँ। हे बुबा, तपाईँको नाम महिमित पार्नुहोस्‌।” (युह. १२:२७, २८) समय आएपछि येसुले साहसी भई आफूलाई परमेश्‍वरका शत्रुहरूको हातमा सुम्पनुभयो, जसले उहाँलाई असाध्यै पीडादायी र अपमानजनक तरिकामा मृत्युदण्ड दिए। जतिसुकै तनाव भए पनि, जतिसुकै पीडा सहनुपरे पनि उहाँले नम्र भई परमेश्‍वरको इच्छा पूरा गर्नुभयो। तनावको बाबजुद नम्रता देखाउने सन्दर्भमा येसु सबैभन्दा उत्कृष्ट उदाहरण हुनुहुन्छ भनेर हामी निर्धक्क भई भन्‍न सक्छौँ।यसैया ५३:७, १० पढ्‌नुहोस्‌।

येसु नम्रताको सर्वोत्कृष्ट उदाहरण हुनुहुन्छ (अनुच्छेद १६-१७ हेर्नुहोस्‌) *

१६-१७. (क) येसुका साथीहरूले गर्दा उहाँको नम्रताको कसरी जाँच भयो? (ख) हामी कसरी येसुको अनुकरण गर्न सक्छौँ?

१६ पृथ्वीमा येसुको अन्तिम रातमा उहाँका घनिष्ठ साथीहरूले गर्दा उहाँको नम्रताको जाँच भयो। त्यो रात येसुलाई कत्ति तनाव भएको थियो, कल्पना गर्नुहोस्‌। के उहाँ आफ्नो मृत्युसम्म पूर्ण रूपमा वफादार रहनुहुने थियो? यही कुरामा अरबौँ मानिसको जीवन निर्भर थियो। (रोमी ५:१८, १९) अझ महत्त्वपूर्ण कुरा, यसमा उहाँको बुबाको नाम मुछिएको थियो। (अय्यु. २:४) त्यतिबेला उहाँका घनिष्ठ साथीहरू अर्थात्‌ प्रेषितहरूसित अन्तिम भोज खानुहुँदा “तिनीहरूमध्ये सबैभन्दा ठूलो कसलाई मान्‍ने भनेर तिनीहरूबीच चर्को बहस पनि चल्यो।” यस विषयमा येसुले तिनीहरूलाई धेरै पटक सच्याइसक्नुभएको थियो, त्यही साँझ केही बेरअघि पनि सच्याउनुभएको थियो! तैपनि येसु रिसाउनुभएन। बरु उहाँले कोमल व्यवहार देखाउनुभयो। तिनीहरूले विकास गर्नुपर्ने मनोवृत्तिबारे उहाँले फेरि बुझाउनुभयो। यसरी उहाँले चेलाहरूलाई दयालु तर दृढ भई सम्झाउनुभयो। अनि वफादार भई उहाँलाई साथ दिएकोमा तिनीहरूको प्रशंसा गर्नुभयो।—लुका २२:२४-२८; युह. १३:१-५, १२-१५.

१७ तपाईँले पनि त्यस्तै परिस्थितिको सामना गर्नुपरेको भए कस्तो प्रतिक्रिया देखाउनुहुने थियो? तनाव हुँदा समेत हामी येसुको अनुकरण गर्न सक्छौँ अनि कोमलता देखाइरहन सक्छौँ। “एकअर्कालाई सहिरहो” भन्‍ने यहोवाको आज्ञा पालन गर्न इच्छुक हुनुहोस्‌। (कल. ३:१३) हामी सबैले अरूलाई रिस उठाउने कुरा र काम गर्छौँ भनेर बिर्सिएनौँ भने यो आज्ञा पालन गर्न सक्नेछौँ। (हितो. १२:१८; याकु. ३:२, ५) अनि अरूमा भएका असल गुणहरूको प्रशंसा गर्नुहोस्‌।—एफि. ४:२९.

हामीले किन नम्रता खोजिरहनुपर्छ?

१८. यहोवाले नम्रहरूलाई कसरी सही निर्णय गर्न मदत गर्नुहुन्छ? तर तिनीहरूले के गर्नुपर्छ?

१८ हामी राम्रो निर्णय गर्न सक्नेछौँ। हाम्रो जीवनमा निर्णय गर्नुपर्ने गाह्रो समय आउँदा यहोवाले हामीलाई सही निर्णय गर्न मदत गर्नुहुनेछ। तर त्यसको लागि हामी नम्र हुनुपर्छ। उहाँले “नम्रको” पुकारा सुन्‍ने प्रतिज्ञा गर्नुभएको छ। (भज. ९:१८) उहाँले हाम्रो पुकारा सुन्‍ने मात्र होइन तर “जे सही छ, त्यही गर्न उहाँले नम्रहरूलाई डोऱ्‍याउनुहुन्छ; नम्रहरूलाई उहाँले आफ्नो मार्गमा हिँड्‌न सिकाउनुहुन्छ” भनी बाइबलमा प्रतिज्ञा गरिएको छ। (भज. २५:९) उहाँले बाइबलमार्फत अनि “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले प्रबन्ध गरेका प्रकाशनहरू  * र कार्यक्रमहरूमार्फत हामीलाई डोऱ्‍याउनुहुन्छ। (मत्ति २४:४५-४७) यी प्रबन्धहरूबाट लाभ उठाउने हो भने हामीलाई उहाँको मदत चाहिन्छ भनेर नम्र भई स्विकार्नुपर्छ, यहोवाले प्रबन्ध गरिदिनुभएको सामग्री अध्ययन गर्नुपर्छ र सिकेको कुरा आज्ञाकारी भई लागू गर्नुपर्छ।

१९-२१. मोसाले कादेसमा कस्तो गल्ती गरे? यसबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ?

१९ हामी गल्ती गर्नदेखि जोगिनेछौँ। मोसाबारे फेरि विचार गर्नुहोस्‌। दशकौँसम्म तिनी नम्र भइरहे अनि यहोवालाई खुसी बनाइरहे। तर पछि निर्जनभूमिमा ४० वर्षको कष्टकर यात्राको अन्ततिर तिनी नम्रता देखाउन चुके। तिनकी दिदी, जसले मिश्रमा छँदा तिनको जीवन जोगाउन महत्त्वपूर्ण भूमिका खेलेकी हुनुपर्छ, उनको भर्खरै मृत्यु भएको थियो र उनलाई कादेसमा गाडिएको थियो। फेरि पनि इस्राएलीहरूले तिनीहरूको राम्ररी ख्याल गरिएन भन्दै गुनासो गर्न थाले। यसपालि तिनीहरूले पानीको अभावबारे “मोसालाई . . . कचकच गर्न थाले।” यहोवाले मोसामार्फत थुप्रै चमत्कार गर्नुभए तापनि र मोसाले निःस्वार्थ भई लामो समयसम्म तिनीहरूलाई डोऱ्‍याए तापनि ती इस्राएलीहरूले गनगन गरे। तिनीहरूले पानी पिउन नपाएको कुरामा मात्र गनगन गरिरहेका थिएनन्‌ तर मोसाले गर्दा नै तिनीहरूले पानी पिउन पाएनन्‌ भनेर तिनलाई दोष दिइरहेका थिए।—गन्ती २०:१-५, ९-११.

२० मोसा रिसले चुर भए र कोमल व्यवहार गर्नदेखि चुके। तिनले यहोवाको आज्ञा पालन गर्दै अनि उहाँमा भरोसा राख्दै पहरालाई आज्ञा दिनुपर्थ्यो। तर त्यसको साटो तिनी मानिसहरूसित झर्किए अनि आफैले चमत्कार गर्न लागेको जस्तोगरि कुरा गरे। त्यसपछि तिनले पहरामा दुई चोटि हिर्काए अनि प्रशस्त पानी निस्क्यो। घमन्ड र रिसले गर्दा तिनी गम्भीर गल्ती गर्न पुगे। (भज. १०६:३२, ३३) केही क्षणको लागि नम्र हुन चुक्दा मोसा प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न पाएनन्‌।—गन्ती २०:१२.

२१ यस घटनाबाट हामी महत्त्वपूर्ण पाठहरू सिक्न सक्छौँ। पहिलो, नम्र मनोवृत्ति कायम राख्न निरन्तर प्रयास गर्नुपर्छ। हामी एकछिन मात्र पनि होसियार भएनौँ भने हामीमा घमन्ड देखा पर्न सक्छ अनि मूर्खतापूर्ण बोली र काम गर्न पुग्न सक्छौँ। दोस्रो, तनावले हामीलाई नम्र भइरहन गाह्रो बनाउन सक्छ। त्यसैले तनावपूर्ण अवस्था आउँदा समेत हामीले नम्र हुन प्रयास गर्नै पर्छ।

२२-२३. (क) हामीले किन नम्रता खोजिरहनुपर्छ? (ख) सपन्याह २:३ मा चलाइएको अभिव्यक्‍तिले कुन कुरालाई सङ्‌केत गर्छ?

२२ हामी सुरक्षित रहनेछौँ। चाँडै यहोवाले पृथ्वीबाट सबै दुष्टलाई हटाउनुहुनेछ अनि नम्रहरू मात्र रहनेछन्‌। त्यसपछि पृथ्वीमा साँच्चै शान्ति छाउनेछ। (भज. ३७:१०, ११) के तपाईँ पनि ती नम्रहरूमाझ हुनुहुनेछ? पक्कै हुनुहुनेछ तर त्यसको लागि तपाईँले यहोवाले सपन्याहमार्फत दिनुभएको न्यानो निम्तो स्विकार्नुपर्छ।सपन्याह २:३ पढ्‌नुहोस्‌।

२३ सपन्याह २:३ मा किन “सायद तिमीहरूले शरण पाउँछौ कि” भनिएको छ? त्यस अभिव्यक्‍तिको अर्थ यहोवालाई खुसी बनाउन चाहनेहरू र उहाँले माया गर्नेहरूलाई उहाँ जोगाउन सक्नुहुन्‍न भन्‍ने होइन। बरु आफ्नो जीवन जोगाउन चाहन्छौँ भने हामी आफैले कदम चाल्नुपर्छ भन्‍ने कुरालाई यसले सङ्‌केत गर्छ। हामीले अहिल्यै नम्रता खोज्ने र यहोवालाई खुसी बनाउने प्रयत्न गऱ्‍यौँ भने सायद “यहोवाको रिसको दिनमा” बच्न र सधैँभरि बाँचिरहन सक्छौँ।

गीत १२० ख्रिष्टको नम्रता अनुकरण गरौँ

^ अनु. 5 हामी कोही पनि जन्मँदै नम्र हुँदैनौँ। हामी नम्र हुन सिक्नुपर्छ। शान्त स्वभावका मानिसहरूसित व्यवहार गर्दा हामीलाई नम्र हुन सजिलो लाग्छ होला। तर घमन्डी मानिसहरूसित व्यवहार गर्नुपर्दा हामीलाई नम्र भइरहन गाह्रो हुन सक्छ। नम्रताजस्तो असल गुण विकास गर्न हामीले सामना गर्नुपर्ने केही चुनौतीबारे यस लेखमा छलफल गर्नेछौँ।

^ अनु. 3 थप व्याख्या: नम्रता। नम्र मानिसले अरूसित दयालु व्यवहार गर्छ अनि अरूले रिस उठाउँदा पनि कोमल स्वभाव देखाउँछ। नम्र मानिस घमन्डी वा अहङ्‌कारी हुँदैन; उसले अरूलाई आफूभन्दा श्रेष्ठ ठान्छ। यहोवा नम्र हुनुहुन्छ भन्‍नुको मतलब उहाँ आफूभन्दा तुच्छ व्यक्‍तिहरूसित मायालु र कृपालु तरिकामा व्यवहार गर्नुहुन्छ।

^ अनु. 12 बेबिलोनीहरूले यी तीन हिब्रूको नाम सद्रक, मेसक र अबेद्‌नगो राखे।—दानि. १:७.

^ अनु. 18 उदाहरणको लागि, अप्रिल १५, २०११, प्रहरीधरहरा-को “परमेश्‍वरको आदर हुने निर्णय गर्नुहोस्‌” भन्‍ने लेख हेर्नुहोस्‌।

^ अनु. 59 चित्रको व्याख्या: चेलाहरूले को ठूलो भनी वादविवाद गर्दा येसु कोमलता देखाउनुहुन्छ अनि शान्तपूर्वक तिनीहरूलाई सुधार्नुहुन्छ।