सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १२

अरूको भावनाप्रति चासो देखाउनुहोस्‌

अरूको भावनाप्रति चासो देखाउनुहोस्‌

“तिमीहरू सबै . . . एकअर्काको पीडा महसुस गर।”—१ पत्रु. ३:८.

गीत ९० एकअर्कालाई प्रोत्साहन देऔँ!

परिचय *

१. पहिलो पत्रुस ३:८ अनुसार हाम्रो भावनाप्रति चासो देखाउने अनि हाम्रो भलो चाहने मानिसहरूमाझ हुन हामीलाई किन मन पर्छ?

हाम्रो भावनाप्रति चासो देखाउने र हाम्रो भलो चाहने मानिसहरूमाझ हुन हामीलाई मन पर्छ। किनकि हामी के सोचिरहेका छौँ र कस्तो महसुस गरिरहेका छौँ भनेर बुझ्न तिनीहरू आफूलाई हाम्रो ठाउँमा राखेर हेर्ने कोसिस गर्छन्‌। हामीलाई कस्तो मदत चाहिएको छ भनेर तिनीहरू विचार गर्छन्‌ र मदत दिन अघि सर्छन्‌। कहिलेकाहीँ त हामीले केही भन्‍नुअघि नै तिनीहरू त्यसो गर्छन्‌। हाम्रो ‘पीडा महसुस गर्ने’ * मानिसहरूको हामी कदर गर्छौँ।१ पत्रुस ३:८ पढ्‌नुहोस्‌।

२. अरूलाई समानुभूति देखाउन हामीले किन थप प्रयास गर्नुपर्ने हुन्छ?

हामी ख्रिष्टियनहरू समानुभूति देखाउन अर्थात्‌ एकअर्काको पीडा महसुस गर्न चाहन्छौँ। तर त्यसो गर्न हामीले थप प्रयास गर्नुपर्ने हुन्छ। किन? एउटा कारण भनेको हामी त्रुटिपूर्ण छौँ। (रोमी ३:२३) त्यसैले आफ्नै बारेमा मात्र सोच्ने जन्मजात झुकाव हामीसित छ र यस्तो झुकावविरुद्ध हामी लड्‌नुपर्छ। साथै हामीमध्ये कसै-कसैलाई आफू हुर्केको वातावरण वा विगतमा भोगेका कुराहरूले गर्दा अरूलाई समानुभूति देखाउन गाह्रो लाग्न सक्छ। त्यति मात्र नभएर आफूवरपरका मानिसहरूको मनोभावले हामीलाई असर गर्न सक्छ। अहिलेको आखिरी समयमा धेरैजसो मानिसहरू अरूको भावनाप्रति कुनै चासो देखाउँदैनन्‌। त्यसको विपरीत, तिनीहरू “आफैलाई मात्र प्रेम” गर्छन्‌। (२ तिमो. ३:१, २) यी बाधाअडचन पार गर्दै अरूको भावनाप्रति चासो देखाउन हामीलाई केले मदत गर्छ?

३. (क) हामी कसरी अरूको पीडा अझ राम्ररी महसुस गर्न सिक्न सक्छौँ? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?

यहोवा परमेश्‍वर र उहाँको छोरा येसु ख्रिष्टको अनुकरण गऱ्‍यौँ भने हामीले अरूको पीडा अझ राम्ररी महसुस गर्न सिक्नेछौँ। यहोवा प्रेमको परमेश्‍वर हुनुहुन्छ अनि अरूको भावनाप्रति चासो देखाउने सन्दर्भमा उहाँले उत्कृष्ट उदाहरण बसाल्नुभएको छ। (१ युह. ४:८) येसुले आफ्नो बुबाको व्यक्‍तित्वको हुबहु अनुकरण गर्नुभयो। (युह. १४:९) मानिस कसरी अरूप्रति दयालु हुन सक्छ भनेर येसुले पृथ्वीमा छँदा देखाउनुभयो। यस लेखमा हामी यहोवा र येसुले अरूको भावनाप्रति कसरी चासो देखाउनुभयो भनेर छलफल गर्नेछौँ। त्यसपछि हामी कसरी उहाँहरूको उदाहरण अनुकरण गर्न सक्छौँ भनेर विचार गर्नेछौँ।

अरूप्रति चासो देखाउने सन्दर्भमा यहोवाले बसाल्नुभएको उदाहरण

४. यहोवा आफ्ना सेवकहरूको भावनाप्रति चासो देखाउनुहुन्छ भनेर यसैया ६३:७-९ ले कसरी देखाउँछ?

यहोवा आफ्ना सेवकहरूको भावनाप्रति चासो देखाउनुहुन्छ भनेर बाइबल बताउँछ। उदाहरणको लागि, प्राचीन इस्राएलीहरूले कठिन परिस्थितिको सामना गर्नुपर्दा यहोवाले कस्तो महसुस गर्नुभयो, विचार गर्नुहोस्‌। परमेश्‍वरको वचन भन्छ: “हरेक चोटि तिनीहरू दुःखमा पर्दा उहाँ पनि दुःखी हुनुभयो।” (यसैया ६३:७-९ पढ्‌नुहोस्‌) आफ्ना मानिसहरूलाई कसैले दुर्व्यवहार गर्दा यहोवा आफैलाई दुर्व्यवहार गरिएझैँ ठान्‍नुहुन्छ भनेर उहाँले पछि भविष्यवक्‍ता जकरियाद्वारा बताउनुभयो। यहोवाले आफ्ना सेवकहरूलाई यसो भन्‍नुभयो: “जसले तिमीलाई छुन्छ, उसले मेरो आँखाको नानीलाई छुन्छ।” (जक. २:८) यहोवा आफ्ना मानिसहरूप्रति चासो देखाउनुहुन्छ भनेर बुझाउने कस्तो सशक्‍त तुलना!

इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटकारा दिएर यहोवाले तिनीहरूलाई दया देखाउनुभयो (अनुच्छेद ५ हेर्नुहोस्‌)

५. दुःख भोगिरहेका आफ्ना सेवकहरूलाई मदत गर्न यहोवाले कदम चाल्नुभएको एउटा उदाहरण दिनुहोस्‌।

दुःख भोगिरहेका आफ्ना सेवकहरूलाई देख्दा यहोवाको मन दयाले भरिने मात्र होइन, उहाँ तिनीहरूलाई मदत गर्न कदम पनि चाल्नुहुन्छ। उदाहरणको लागि, इस्राएलीहरूले मिश्रमा दासको रूपमा दुःख भोगिरहेको बेला यहोवाले तिनीहरूको पीडा महसुस गर्नुभयो र तिनीहरूलाई छुटकारा दिन उत्प्रेरित हुनुभयो। यहोवाले मोसालाई यसो भन्‍नुभयो: ‘मेरो प्रजाको दुःख मैले देखेको छु। मेरो प्रजाको चीत्कार मैले सुनेको छु। तिनीहरूले भोगिरहेको पीडा मलाई राम्ररी थाह छ। म तिनीहरूलाई मिश्रीहरूको हातबाट छुटाउन तल ओर्लनेछु।’ (प्रस्थ. ३:७, ८) यहोवा आफ्ना मानिसहरूप्रति दयाले भरिनुभएकोले उहाँले तिनीहरूलाई मिश्रको दासत्वबाट छुटकारा दिनुभयो। शताब्दियौँपछि, प्रतिज्ञा गरिएको देशमा इस्राएलीहरूलाई शत्रुहरूले आक्रमण गर्दा यहोवाले कस्तो महसुस गर्नुभयो? “थिचोमिचोमा पर्दा र दुर्व्यवहारको सिकार हुँदा तिनीहरूले सुस्केरा हाल्थे र त्यो देखेर यहोवा परमेश्‍वरको मन दयाले भरिन्थ्यो।” हो, यहोवाले फेरि पनि तिनीहरूलाई समानुभूति देखाउनुभयो र तिनीहरूलाई मदत गर्न उत्प्रेरित हुनुभयो। इस्राएलीहरूलाई शत्रुहरूको हातबाट जोगाउन उहाँले न्यायकर्ताहरू पठाउनुभयो।—न्याय. २:१६, १८.

६. गलत सोचाइ राखेका आफ्नो सेवकको भावनाप्रति यहोवाले चासो देखाउनुभएको एउटा उदाहरण दिनुहोस्‌।

आफ्ना सेवकहरूको सोचाइ कहिलेकाहीँ गलत हुन सक्छ भनेर यहोवालाई थाह छ। तर त्यस्तो अवस्थामा पनि उहाँ तिनीहरूको भावनाप्रति चासो देखाउनुहुन्छ। उदाहरणको लागि, योनालाई विचार गर्नुहोस्‌। यहोवाले यी भविष्यवक्‍तालाई निनवेमा न्यायदण्ड सुनाउन पठाउनुभयो। निनवेबासीहरूले पश्‍चात्ताप गरे र यहोवाले तिनीहरूलाई नाश गर्नुभएन। तर योनालाई यो कुरा पटक्कै चित्त बुझेन। निनवेको विनाशबारे आफूले सुनाएको भविष्यवाणी पूरा नहुँदा तिनी “रिसले चूर भए।” तर यहोवाले धीरजी हुँदै योनालाई तिनको सोचाइ सच्याउन मदत गर्नुभयो। (योना ३:१०–४:११) अन्ततः योनाले सही सोचाइ राख्न सके र हाम्रो फाइदाको लागि भनेर यहोवाले तिनलाई त्यो विवरण लेख्ने सुअवसरसमेत दिनुभयो।—रोमी १५:४. *

. यहोवाले आफ्ना सेवकहरूसित गर्नुभएको व्यवहारबाट हामी कुन कुरामा ढुक्क हुन सक्छौँ?

यहोवाले विगतमा आफ्ना सेवकहरूसित गर्नुभएको व्यवहारबारे विचार गर्दा उहाँ आफ्ना सेवकहरूलाई समानुभूति देखाउनुहुन्छ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौँ। उहाँ हामी प्रत्येकको दुःख र पीडा बुझ्नुहुन्छ। यहोवा “मानिसको हृदयमा के छ भनी . . . जान्‍नुहुन्छ।” (२ इति. ६:३०) उहाँ हाम्रो भित्री मनको विचार, भावना र हाम्रो सीमितता बुझ्नुहुन्छ। अनि हामीले “सहन सक्नेभन्दा बाहिरको परीक्षामा उहाँले [हामीलाई] पर्न दिनुहुनेछैन।” (१ कोरि. १०:१३) कत्ति सान्त्वनादायी कुरा!

अरूप्रति चासो देखाउने सन्दर्भमा येसुले बसाल्नुभएको उदाहरण

८-१०. कस्ता कारणहरूले गर्दा येसुले मानिसहरूप्रति गहिरो चासो देखाउन सक्नुभयो?

मानिसको रूपमा पृथ्वीमा हुनुहुँदा येसुले अरूप्रति गहिरो चासो देखाउनुभयो। कम्तीमा तीन वटा कारणले गर्दा उहाँले मानिसहरूप्रति यस्तो गहिरो चासो देखाउन सक्नुभयो। पहिलो कारण, हामीले अगाडि पनि विचार गरेझैँ येसुले आफ्नो बुबाको व्यक्‍तित्वको हुबहु अनुकरण गर्नुभयो। आफ्नो बुबाले जस्तै येसुले पनि मानिसहरूलाई प्रेम गर्नुभयो। हुनत येसु सृष्टिको हरेक काममा आफ्नो बुबालाई सघाउन पाउँदा खुसी हुनुहुन्थ्यो। तर उहाँलाई खासगरि “मानिसहरू देखेर . . . असाध्यै खुसी लाग्थ्यो।” (हितो. ८:३१) मानिसहरूलाई प्रेम गरेको कारण उहाँ तिनीहरूको भावनाप्रति चासो देखाउन उत्प्रेरित हुनुभयो।

दोस्रो कारण, यहोवाले जस्तै येसुले पनि मानिसको मनभित्र के छ भनेर थाह पाउन सक्नुहुन्थ्यो। उहाँ मानिसहरूको मनसाय र भावना बुझ्न सक्नुहुन्थ्यो। (मत्ति ९:४; युह. १३:१०, ११) त्यसैले मन भाँचिएका मानिसहरूलाई देख्दा उहाँ तिनीहरूलाई सान्त्वना दिन उत्प्रेरित हुनुभयो किनकि उहाँ तिनीहरूको चासो राख्नुहुन्थ्यो।—यसै. ६१:१, २; लुका ४:१७-२१.

१० तेस्रो कारण, मानिसहरूले भोग्ने केही चुनौतीहरू येसु स्वयम्‌ले भोग्नुभयो। उदाहरणको लागि, येसु गरिब परिवारमा हुर्कनुभएको थियो जस्तो देखिन्छ। आफ्नो धर्मपिता युसुफसित काम गरेर उहाँले शारीरिक परिश्रम गर्न सिक्नुभयो। (मत्ति १३:५५; मर्कु. ६:३) युसुफको मृत्यु सम्भवतः येसुले प्रचारको काम सुरु गर्नुभन्दा केही समयअघि भयो। त्यसैले आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा कत्ति पीडा हुन्छ भनेर पनि येसुले महसुस गर्नुभएको हुनुपर्छ। साथै परिवारका सदस्यहरूको आस्था फरक-फरक हुँदा कत्तिको गाह्रो हुन्छ भन्‍ने कुरा पनि येसुले अनुभव गर्नुभयो। (युह. ७:५) यी र अन्य यस्ता परिस्थितिहरू सामना गर्नुपरेकोले येसुले आम मानिसहरूले भोग्ने चुनौती र तिनीहरूको भावना राम्ररी बुझ्न सक्नुभयो।

येसु बहिरो मानिसप्रति दया देखाउँदै तिनलाई भीडदेखि पर लगेर निको पार्नुहुन्छ (अनुच्छेद ११ हेर्नुहोस्‌)

११. येसु मानिसहरूप्रति गहिरो चासो देखाउनुहुन्थ्यो भन्‍ने कुरा खासगरि कुन बेला प्रस्ट हुन्थ्यो? व्याख्या गर्नुहोस्‌। (आवरण पृष्ठको चित्र हेर्नुहोस्‌)

११ येसु मानिसहरूप्रति गहिरो चासो देखाउनुहुन्थ्यो भन्‍ने कुरा खासगरि उहाँले चमत्कारहरू गर्नुहुँदा प्रस्ट हुन्थ्यो। येसु कर्तव्यबोधले मात्र चमत्कारहरू गर्नुहुन्‍नथ्यो। दुःख भोगिरहेका मानिसहरूलाई देखेर ‘उहाँ टिठाउनुहुन्थ्यो।’ (मत्ति २०:२९-३४; मर्कु. १:४०-४२) उदाहरणको लागि, येसुले एक जना बहिरो मानिसलाई निको पार्न तिनलाई भीडदेखि पर लैजानुहुँदा वा एउटी विधवाको एक मात्र छोरोलाई फेरि जीवित पार्नुहुँदा उहाँ कस्तो महसुस गर्दै हुनुहुन्थ्यो होला, सोच्नुहोस्‌। (मर्कु. ७:३२-३५; लुका ७:१२-१५) येसुले तिनीहरूलाई सहानुभूति देखाउनुभयो; उहाँ तिनीहरूलाई मदत गर्न इच्छुक हुनुभयो।

१२. येसुले मार्था र मरियमको पीडा महसुस गर्नुभयो भनेर युहन्‍ना ११:३२-३५ ले कसरी देखाउँछ?

१२ येसुले मार्था र मरियमको पीडा महसुस गर्नुभयो। आफ्नो भाइ लाजरसको मृत्यु भएकोमा तिनीहरूले शोक गरेको देखेर “येसु रुनुभयो।” (युहन्‍ना ११:३२-३५ पढ्‌नुहोस्‌) आफ्नो घनिष्ठ साथीको मृत्यु भएकोले मात्रै उहाँ रुनुभएको थिएन। किनकि आफूले लाजरसलाई फेरि जीवित पार्नेछु भनेर उहाँलाई थाह थियो। बरु आफ्ना साथीहरूलाई कत्ति धेरै पीडा भइरहेको छ भनेर बुझेकोले र त्यो पीडा महसुस गरेकोले उहाँ रुनुभएको थियो।

१३. येसु मानिसहरूको पीडा महसुस गर्नुहुन्छ भनी थाह पाउँदा हामी किन ढुक्क हुन्छौँ?

१३ येसुले मानिसहरूको पीडा महसुस गर्नुभएको विवरणबाट हामी निकै प्रोत्साहन पाउँछौँ। उहाँले अरूसित गर्नुभएको व्यवहारबारे विचार गर्दा हामी उहाँलाई प्रेम गर्न उत्प्रेरित हुन्छौँ। (१ पत्रु. १:८) अहिले येसु परमेश्‍वरको राज्यको राजाको रूपमा शासन गर्दै हुनुहुन्छ भनेर थाह पाउँदा हामी ढुक्क महसुस गर्छौँ। उहाँले चाँडै सबै दुःखकष्टको अन्त गर्नुहुनेछ। सैतानको शासनले गर्दा मानव समाजमाथि भएको सबै हानिनोक्सानीलाई सच्याउन येसु सबैभन्दा सक्षम हुनुहुन्छ किनकि उहाँले पनि मानिसको रूपमा जीवन बिताइसक्नुभएको छ। ‘हाम्रा कमजोरीहरूमा सहानुभूति देखाउन सक्ने’ शासक पाउनु हाम्रो लागि ठूलो आशिष्‌ हो।—हिब्रू २:१७, १८; ४:१५, १६

यहोवा र येसुको उदाहरण अनुकरण गर्नुहोस्‌

१४. एफिसी ५:१, २ मा लेखिएको कुरा विचार गर्दा हामी के गर्न उत्प्रेरित हुन्छौँ?

१४ यहोवा र येसुले बसाल्नुभएको उदाहरणबारे विचार गर्दा हामी अरूको पीडा अझ राम्ररी बुझ्ने प्रयास गर्न उत्प्रेरित हुन्छौँ। (एफिसी ५:१, २ पढ्‌नुहोस्‌) हामी उहाँहरूले जस्तो अरूको मनभित्र के छ भनेर थाह पाउन सक्दैनौँ। तैपनि हामी अरूको भावना र आवश्‍यकता बुझ्ने कोसिस गर्न सक्छौँ। (२ कोरि. ११:२९) अहिलेको स्वार्थी संसारले जस्तो ‘आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान दिन’ हामी प्रयत्न गर्छौँ।—फिलि. २:४.

(अनुच्छेद १५-१९ हेर्नुहोस्‌) *

१५. खासगरि कसले अरूको पीडा महसुस गर्नुपर्छ?

१५ खासगरि मण्डलीका एल्डरहरूले अरूको पीडा महसुस गर्नुपर्छ। आफ्नो जिम्मामा सुम्पिइएका भेडाहरूको लागि परमेश्‍वरलाई लेखा दिनुपर्छ भनी तिनीहरूलाई थाह छ। (हिब्रू १३:१७) आफ्ना सङ्‌गी विश्‍वासीहरूलाई मदत गर्न एल्डरहरूले तिनीहरूको भावना बुझ्नु जरुरी छ। एल्डरहरूले अरूको पीडा महसुस गरेको कसरी देखाउन सक्छन्‌?

१६. सहानुभूतिशील एल्डरले के गर्छन्‌ र यसो गर्नु किन जरुरी छ?

१६ सहानुभूतिशील एल्डरले आफ्ना ख्रिष्टियन भाइबहिनीसित समय बिताउँछन्‌। तिनले उनीहरूलाई प्रश्‍न सोध्छन्‌ र उनीहरूले जवाफ दिँदा ध्यान दिएर अनि धैर्य गर्दै सुन्छन्‌। कहिलेकाहीँ त्यसो गर्नु झनै जरुरी हुन्छ। जस्तै, कसैले आफ्नो मनको बह पोख्न चाहेको हुन सक्छ तर आफ्नो भावना कसरी व्यक्‍त गर्ने भनेर थाह नहुन सक्छ। (हितो. २०:५) एल्डरहरूले भाइबहिनीलाई राजीखुसीले आफ्नो समय दिँदा भाइबहिनीले एल्डरहरूलाई अझ भरोसा गर्नेछन्‌, तिनीहरूबीचको मित्रता अझ बलियो हुनेछ र प्रेम पनि प्रगाढ हुनेछ।—प्रेषि. २०:३७.

१७. थुप्रै भाइबहिनी एल्डरहरूको कुन गुणको सबैभन्दा कदर गरेको कुरा बताउँछन्‌? एउटा उदाहरण दिनुहोस्‌।

१७ मण्डलीका एल्डरहरूको कुन गुणको सबैभन्दा धेरै कदर गर्नुहुन्छ भनेर सोध्दा थुप्रैको जवाफ यस्तो हुन्छ: एल्डरहरूले अरूको भावनाप्रति देखाउने चासो। किन? एडिलेड यसो भन्छिन्‌: “एल्डरहरूसित कुरा गर्न निकै सजिलो लाग्छ। किनकि उहाँहरूले मेरो कुरा बुझ्नुहुन्छ भनेर म ढुक्क छु।” तिनी अझै यसो भन्छिन्‌: “उहाँहरूसित कुरा गर्दा उहाँहरूले देखाउने प्रतिक्रियाबाटै उहाँहरू मेरो पीडा साँच्चै महसुस गर्नुहुन्छ भनेर थाह हुन्छ।” एक जना भाइ यसरी आफ्नो कृतज्ञता व्यक्‍त गर्छन्‌: “मैले आफ्नो परिस्थितिबारे एक जना एल्डरलाई बताउँदै गर्दा उहाँको आँखा रसाएको मैले देखेँ। त्यो कुरा म कहिल्यै बिर्सन्‍नँ।”—रोमी १२:१५.

१८. हामी कसरी अरूको पीडा अझ राम्ररी महसुस गर्न सक्छौँ?

१८ एल्डरहरूले मात्रै अरूको पीडा महसुस गर्नुपर्ने होइन। हामी सबैले यो गुण विकास गर्न सक्छौँ। कसरी? आफ्नो परिवारका सदस्यहरू र सङ्‌गी भाइबहिनीहरू कस्तो अवस्थाबाट गुज्रिरहेका छन्‌ भनेर बुझ्ने कोसिस गर्नुहोस्‌। मण्डलीका किशोरकिशोरीलगायत बिरामीहरू, वृद्धहरू र मृत्युको कारण आफ्नो प्रियजन गुमाएकाहरूप्रति चासो देखाउनुहोस्‌। तिनीहरूको हालखबर सोध्नुहोस्‌। तिनीहरूको कुरा ध्यान दिएर सुन्‍नुहोस्‌। तपाईँ तिनीहरूको परिस्थिति साँच्चै बुझ्नुहुन्छ भनेर महसुस गराउनुहोस्‌। तपाईँ अरूलाई मदत दिन जे-जति गर्न सक्नुहुन्छ, त्यो गर्न अग्रसर हुनुहोस्‌। यसो गऱ्‍यौँ भने हामीले कामद्वारा साँचो प्रेम देखाइरहेका हुन्छौँ।—१ युह. ३:१८.

१९. हामीले अरूलाई मदत गर्ने प्रयास गर्दा सबैलाई एउटै तरिका प्रभावकारी नहुन सक्छ, किन?

१९ हामीले अरूलाई मदत गर्ने प्रयास गर्दा सबैलाई एउटै तरिका प्रभावकारी हुँदैन भन्‍ने कुरा मनमा राख्नुपर्छ। किन? किनकि गाह्रो परिस्थितिमा सबैले एउटै किसिमको प्रतिक्रिया देखाउँछन्‌ भन्‍ने छैन। कोही-कोही आफ्नो समस्याबारे बताउन रुचाउँछन्‌ भने कोही-कोही त्यति कुराकानी गर्न चाहँदैनन्‌। त्यसैले हामीले तिनीहरूलाई मदत गर्न चाहेको भए तापनि तिनीहरूलाई अप्ठेरोमा पार्ने व्यक्‍तिगत प्रश्‍नहरू सोध्नु हुँदैन। (१ थिस्स. ४:११) कसै-कसैले आफ्नो कुरा खुलेर बताए पनि हामी तिनीहरूको विचारसित सधैँ सहमत हुन्छौँ भन्‍ने छैन। तर त्यो तिनीहरूको भावना हो भनेर हामीले बिर्सनु हुँदैन। हामी सुन्‍नलाई सधैँ तयार हुनुपर्छ अनि बोल्न हतार गर्नु हुँदैन।—मत्ति ७:१; याकु. १:१९.

२०. अर्को लेखमा हामी के छलफल गर्नेछौँ?

२० हामीले मण्डलीमा मात्र होइन, प्रचारकार्यमा पनि अरूको पीडा महसुस गर्नु आवश्‍यक छ। चेला बनाउने काममा भाग लिँदा हामी कसरी अरूको पीडा महसुस गर्न सक्छौँ? अर्को लेखमा हामी त्यसबारे छलफल गर्नेछौँ।

गीत १३० क्षमा दिने गरौँ!

^ अनु. 5 यहोवा र येसु अरूको भावनाप्रति चासो देखाउनुहुन्छ। यस लेखमा हामी उहाँहरूको उदाहरणबाट के सिक्न सक्छौँ भनेर विचार गर्नेछौँ। साथै हामीले किन एकअर्काको पीडा महसुस गर्नुपर्छ अनि हामी कसरी त्यसो गर्न सक्छौँ भनेर पनि छलफल गर्नेछौँ।

^ अनु. 1 थप व्याख्या: कसैको ‘पीडा महसुस गर्नु’ भनेको अरूलाई कस्तो लागिरहेको छ भनेर बुझ्ने अनि आफूले पनि त्यस्तै महसुस गर्ने कोसिस गर्नु हो। (रोमी १२:१५) यस लेखमा चलाइएको ‘पीडा महसुस गर्नु’ र ‘चासो देखाउनु’ भन्‍ने अभिव्यक्‍तिले एउटै कुरालाई बुझाउँछ।

^ अनु. 6 आफ्ना केही वफादार सेवकहरू अत्यन्तै निराश भएको वा डराएको बेला यहोवाले तिनीहरूसित दयालु व्यवहार गर्नुभयो। हन्‍ना (१ समु. १:१०-२०), एलिया (१ राजा १९:१-१८) र एबेद-मेलेकको (यर्मि. ३८:७-१३; ३९:१५-१८) विवरण विचार गर्नुहोस्‌।

^ अनु. 65 चित्रको व्याख्या: राज्यभवनमा हुने सभाहरूमा हामी अरूप्रति मायालु चासो देखाउने थुप्रै मौका पाउँछौँ। यस चित्रमा (१) एक जना एल्डर सानो उमेरका एक प्रकाशक भाइ र तिनकी आमासित मायालु तरिकाले कुरा गरिरहेका छन्‌, (२) एक जना बुबा र तिनकी छोरी मिलेर एक वृद्ध बहिनीलाई गाडीमा चढ्‌न मदत गरिरहेका छन्‌ र (३) दुई जना एल्डर तिनीहरूसित सल्लाह माग्ने एउटी बहिनीको कुरा ध्यान दिएर सुनिरहेका छन्‌।