सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १३

प्रचारकार्यमा अरूको भावनाप्रति चासो देखाउनुहोस्‌

प्रचारकार्यमा अरूको भावनाप्रति चासो देखाउनुहोस्‌

“तिनीहरूलाई देखेर उहाँ टिठाउनुभयो . . . अनि उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन थाल्नुभयो।”—मर्कु. ६:३४.

गीत ७० योग्य व्यक्‍तिहरू खोजौँ!

परिचय *

१. येसुको व्यक्‍तित्वको एउटा एकदमै मनमोहक पक्ष के हो? व्याख्या गर्नुहोस्‌।

येसुको व्यक्‍तित्वको एउटा एकदमै मनमोहक पक्ष भनेको हामी त्रुटिपूर्ण मानिसहरूले भोग्ने समस्याहरूलाई बुझ्ने उहाँको क्षमता हो। पृथ्वीमा हुनुहुँदा येसु ‘रमाउनेहरूसित रमाउन’ र ‘रुनेहरूसित रुन’ सक्नुभयो। (रोमी १२:१५) उदाहरणको लागि, आफ्ना ७० जना चेला प्रचार गरेर रमाउँदै फर्किएको देख्दा येसु “असाध्यै खुसी हुनुभयो।” (लुका १०:१७-२१) अर्कोतर्फ, लाजरसको मृत्यु हुँदा तिनलाई माया गर्नेहरूलाई परेको चोट देखेर येसु “अत्यन्तै व्याकुल हुनुभयो र सुस्केरा हाल्नुभयो।”—युह. ११:३३.

२. येसुले मानिसहरूप्रति चासो देखाउन सक्नुको कारण के थियो?

येसु त्रुटिरहित हुनुभए पनि त्रुटिपूर्ण मानिसहरूसित अत्यन्तै कृपालु र दयालु व्यवहार गर्नुभयो। उहाँले कसरी त्यसो गर्न सक्नुभयो? पहिलो कारण, येसु मानिसहरूलाई माया गर्नुहुन्थ्यो। अघिल्लो लेखमा बताइएझैँ येसुलाई “मानिसहरू देखेर . . . असाध्यै खुसी लाग्थ्यो।” (हितो. ८:३१) मानिसहरूलाई प्रेम गर्नुहुने भएकोले येसु मानिसहरूले कसरी सोच्छन्‌ भनेर राम्ररी बुझ्न उत्प्रेरित हुनुभयो। प्रेषित युहन्‍ना यसो भन्छन्‌: “मानिसको हृदयमा के छ, उहाँ जान्‍नुहुन्थ्यो।” (युह. २:२५) येसु मानिसहरूसित कोमल व्यवहार गर्नुहुन्थ्यो। मानिसहरूले येसुको माया महसुस गर्थे र राज्य सन्देशप्रति सकारात्मक प्रतिक्रिया देखाउँथे। त्यसैगरि हामी पनि मानिसहरूसित जति कोमल व्यवहार गर्छौँ, त्यति नै राम्रोसँग सेवाको काम पूरा गर्न सक्नेछौँ।—२ तिमो. ४:५.

३-४. (क) मानिसहरूप्रति चासो राख्छौँ भने हामी प्रचारकार्यलाई कुन दृष्टिकोणले हेर्नेछौँ? (ख) यस लेखमा हामी के विचार गर्नेछौँ?

प्रचार गर्नु आफ्नो दायित्व हो भनेर प्रेषित पावललाई थाह थियो र आज हामीलाई पनि थाह छ। (१ कोरि. ९:१६) तथापि हामी अरूप्रति चासो देखाउँछौँ भने प्रचारकार्यलाई केवल आफ्नो दायित्व सम्झनेछैनौँ। बरु हामी मानिसहरूको ख्याल राख्छौँ र तिनीहरूलाई मदत गर्न आतुर छौँ भनेर देखाउने इच्छा हामीमा जाग्नेछ। “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ” भनेर हामीलाई थाह छ। (प्रेषि. २०:३५) यो कुरा मनमा राख्दै प्रचारकार्यमा भाग लियौँ भने हामी आनन्दित हुनेछौँ।

यस लेखमा हामी प्रचारकार्यमा कसरी अरूप्रति चासो देखाउन सक्छौँ भनेर सिक्नेछौँ। पहिला, येसुले मानिसहरूप्रति जस्तो महसुस गर्नुभयो, त्यसबाट के सिक्न सक्छौँ भनेर बुझ्नेछौँ। त्यसपछि येसुको अनुकरण गर्न सकिने चार वटा तरिका विचार गर्नेछौँ।—१ पत्रु. २:२१.

येसुले प्रचारकार्यमा मानिसहरूप्रति चासो देखाउनुभयो

मानिसहरूप्रतिको चासोले गर्दा येसुले तिनीहरूलाई सान्त्वनादायी सन्देश सुनाउनुभयो (अनुच्छेद ५-६ हेर्नुहोस्‌)

५-६. (क) येसुले कोप्रति चासो देखाउनुभयो? (ख) यसैया ६१:१, २ मा भविष्यवाणी गरिएझैँ येसु आफूले प्रचार गरेका मानिसहरूलाई देखेर किन टिठाउनुभयो?

येसुले मानिसहरूप्रति चासो देखाउनुभएको एउटा उदाहरण विचार गर्नुहोस्‌। एक पटक येसु र उहाँका चेलाहरू एकछिन पनि आराम नगरी प्रचार गरेकोले थकित हुनुभएको थियो। “उहाँहरूले खाने फुर्सतसमेत पाउनुभएको थिएन।” त्यसैले येसुले आफ्ना चेलाहरूलाई “केहीबेर आराम” गर्न “एकान्त ठाउँमा” लैजानुभयो। तर एउटा ठूलो भीड येसु र उहाँका चेलाहरू गइरहनुभएको ठाउँतिर उहाँहरूभन्दा अघि पुग्यो। येसु त्यहाँ पुगेर मानिसहरूलाई देख्नुहुँदा उहाँलाई कस्तो लाग्यो? “तिनीहरूलाई देखेर उहाँ टिठाउनुभयो * किनकि तिनीहरू गोठालो नभएका भेडाहरूजस्ता थिए। अनि उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन थाल्नुभयो।”—मर्कु. ६:३०-३४.

येसु तिनीहरूलाई देखेर टिठाउनुभयो अर्थात्‌ उहाँले ती मानिसहरूप्रति चासो देखाउनुभयो। किन? किनकि ती मानिसहरू “गोठालो नभएका भेडाहरूजस्ता थिए।” सायद तिनीहरूमध्ये केही गरिब थिए र आफ्नो परिवारको आवश्‍यकता पूरा गर्न मरिमेटी काम गरिरहेका थिए। कोही-कोही भने आफ्नो प्रियजन गुमाएकोले शोकमा परेका थिए। यदि त्यसो हो भने येसुले तिनीहरूको अवस्था बुझ्न सक्नुहुन्थ्यो। अघिल्लो लेखमा छलफल गरिएझैँ येसु आफैले पनि सायद त्यस्ता केही समस्याहरू भोग्नुभएको थियो। येसुले मानिसहरूको चासो राख्नुभएकोले उहाँ तिनीहरूलाई सान्त्वनादायी सन्देश सुनाउन उत्प्रेरित हुनुभयो।यसैया ६१:१, २ पढ्‌नुहोस्‌।

७. हामी कसरी येसुको उदाहरण अनुकरण गर्न सक्छौँ?

येसुको उदाहरणबाट हामी के सिक्न सक्छौँ? येसुको समयमा जस्तै अहिले पनि मानिसहरू “गोठालो नभएका भेडाहरूजस्ता” छन्‌। तिनीहरूले थुप्रै समस्याको सामना गरिरहेका छन्‌। अनि हामीसित तिनीहरूलाई चाहिएकै कुरा अर्थात्‌ परमेश्‍वरको राज्यको सन्देश छ। (प्रका. १४:६) त्यसैले हाम्रा मालिक येसुको अनुकरण गर्दै हामी सुसमाचार सुनाउँछौँ किनकि उहाँजस्तै हामी पनि ‘दीनदुःखी र गरिबहरूमाथि टिठाउँछौँ।’ (भज. ७२:१३) हामी मानिसहरूको भावना महसुस गर्छौँ र तिनीहरूलाई कुनै न कुनै तरिकामा मदत गर्न चाहन्छौँ।

हामी कसरी मानिसहरूप्रति चासो देखाउन सक्छौँ?

प्रत्येक व्यक्‍तिको आवश्‍यकता विचार गर्नुहोस्‌ (अनुच्छेद ८-९ हेर्नुहोस्‌)

८. प्रचारकार्यमा मानिसहरूप्रति चासो देखाउने एउटा तरिका के हो? उदाहरण दिनुहोस्‌।

हामीले प्रचार गर्ने मानिसहरूप्रति चासो देखाउन हामीलाई केले मदत गर्छ? हामीले आफूलाई तिनीहरूको ठाउँमा राखेर हेर्नुपर्छ र आफूसित जस्तो व्यवहार गरिएको आशा गर्छौँ, तिनीहरूसित पनि त्यस्तै व्यवहार गर्नुपर्छ। * (मत्ति ७:१२) त्यसो गर्न सकिने चार वटा तरिका विचार गरौँ। पहिलो तरिका, प्रत्येक व्यक्‍तिको आवश्‍यकता विचार गर्नुहोस्‌। सुसमाचार प्रचार गर्दा हाम्रो भूमिका डाक्टरको जस्तै हुन्छ। डाक्टरले आफूकहाँ आउने प्रत्येक बिरामीको अवस्था विचार गर्छन्‌। तिनले बिरामीलाई प्रश्‍न सोध्छन्‌ र बिरामीले आफ्नो अवस्था अनि रोगको लक्षणबारे बताउँदा ध्यान दिएर सुन्छन्‌। अनि हत्त न पत्त कुनै औषधी लेखिदिनुको सट्टा तिनले रोगको लक्षणलाई राम्ररी केलाएर हेर्ने अनि त्यसपछि मात्र सही उपचार थाल्ने निर्णय गर्न सक्छन्‌। त्यसैगरि हामीले पनि सबैलाई एउटै तरिकाले प्रचार गर्नु उपयुक्‍त हुँदैन। बरु आफूले भेट्‌ने प्रत्येक मानिसको अवस्था र तिनको दृष्टिकोण विचार गरेर हामी आफ्नो प्रस्तुतिलाई त्यसैअनुसार ढाल्छौँ।

९. हामीले कस्तो अड्‌कल काट्‌नु हुँदैन? व्याख्या गर्नुहोस्‌।

प्रचारकार्यमा कसैलाई भेट्‌दा तपाईँ तिनको अवस्था बुझ्नुहुन्छ भनेर नसोचिहाल्नुहोस्‌। अनि तिनी के विश्‍वास गर्छन्‌ र किन त्यस्तो विश्‍वास गर्छन्‌ भनेर अड्‌कल नकाटिहाल्नुहोस्‌। (हितो. १८:१३) बरु कौशलतापूर्वक प्रश्‍न सोधेर तिनको भित्री विचार थाह पाउने कोसिस गर्नुहोस्‌। (हितो. २०:५) यदि तपाईँको समाजमा उपयुक्‍त मानिन्छ भने तिनको काम, परिवार, पृष्ठभूमि वा विचारबारे बुझ्न केही प्रश्‍न सोध्नुहोस्‌। यसरी कौशलतापूर्वक प्रश्‍न सोध्यौँ भने तिनीहरूलाई वास्तवमा चाहिएको कुरा के हो भनेर तिनीहरूको जवाफबाटै पत्ता लगाउन सक्नेछौँ। तिनीहरूको आवश्‍यकता बुझेपछि त्यसैअनुसार सुसमाचार सुनाएर हामी तिनीहरूप्रति चासो देखाउन सक्छौँ। यसो गर्दा हामीले येसुको अनुकरण गरिरहेका हुन्छौँ।—१ कोरिन्थी ९:१९-२३ तुलना गर्नुहोस्‌।

तपाईँ जसलाई साक्षी दिनुहुन्छ, तिनीहरूको जीवन कस्तो होला भनेर विचार गर्नुहोस्‌ (अनुच्छेद १०-११ हेर्नुहोस्‌)

१०-११. दोस्रो कोरिन्थी ४:७, ८ अनुसार हामीले अरूप्रति चासो देखाउन सक्ने दोस्रो तरिका के हो? एउटा उदाहरण दिनुहोस्‌।

१० दोस्रो तरिका, तिनीहरूको जीवन कस्तो होला भनेर विचार गर्नुहोस्‌। मानिसहरूको अवस्था हामी पटक्कै बुझ्न सक्दैनौँ भन्‍ने होइन। हुन पनि त्रुटिपूर्ण मानिसहरूले भोग्ने समस्याहरूदेखि हामी कहाँ अछुतो छौँ र! (१ कोरि. १०:१३) अहिलेको आखिरी समयमा जीवन एकदमै कठिन छ भनेर हामीलाई थाह छ। यहोवाको मदत पाएर मात्रै हामी समस्याहरूको सामना गर्न सक्छौँ। (२ कोरिन्थी ४:७, ८ पढ्‌नुहोस्‌) तर यहोवासित घनिष्ठ मित्रता नगाँसेका मानिसहरूबारे सोच्नुहोस्‌, जसले यो संसारमा जिउन सङ्‌घर्ष गरिरहेका छन्‌। येसुजस्तै हामी पनि तिनीहरूलाई देखेर टिठाउँछौँ अनि “असल कुराको सुसमाचार” सुनाउन उत्प्रेरित हुन्छौँ।—यसै. ५२:७.

११ सर्गे नाम गरेका भाइलाई विचार गर्नुहोस्‌। सत्य सिक्नुअघि सर्गे असाध्यै लजालु स्वभावका थिए। आफ्नो कुरा व्यक्‍त गर्न तिनलाई गाह्रो लाग्थ्यो। पछि तिनले बाइबल अध्ययनको प्रस्ताव स्विकारे। सर्गे भन्छन्‌, “बाइबल अध्ययन गर्दै जाँदा मैले के थाह पाएँ भने, आफ्नो विश्‍वासबारे अरूलाई बताउनु भनेको ख्रिष्टियनहरूको दायित्व नै हो। त्यो काम म कहिल्यै गर्न सक्दिनँ जस्तो लाग्थ्यो।” तर तिनले बाइबलको सन्देश सुन्‍न नपाएका मानिसहरूबारे सोचे। यहोवालाई नचिनेका मानिसहरूको जीवन कत्ति कठिन होला भनेर तिनले विचार गरे। तिनी भन्छन्‌, “आफूले सिकिरहेका नयाँ कुराहरूबाट मैले निकै आनन्द र मनोशान्ति पाइरहेको थिएँ। अनि अरूले पनि यो सिक्नु जरुरी छ भनेर मलाई थाह थियो।” सर्गेको मनमा मानिसहरूप्रतिको चासो बढ्‌दै गयो र प्रचार गर्ने साहस पनि बढ्‌दै गयो। सर्गे भन्छन्‌: “बाइबलबारे अरूलाई बताउँदा मेरो आफ्नै आत्मविश्‍वास बढेको देखेर म त छक्कै परेँ। साथै आफूले सिकेको कुरामाथिको विश्‍वासलाई अझ बलियो बनाउन पनि त्यसले मलाई मदत गऱ्‍यो।” *

आध्यात्मिक उन्‍नति गर्न कसै-कसैलाई समय लाग्न सक्छ (अनुच्छेद १२-१३ हेर्नुहोस्‌)

१२-१३. हामीले सिकाउने मानिसहरूप्रति हामी किन धीरजी हुनुपर्छ? उदाहरण दिनुहोस्‌।

१२ तेस्रो तरिका, धीरजी हुँदै सिकाउनुहोस्‌। याद गर्नुहोस्‌, हामीलाई राम्ररी थाह भएका बाइबलका केही सत्य कुराहरूबारे मानिसहरूले पहिला कहिल्यै नसोचेका हुन सक्छन्‌। अनि थुप्रैको मनमा आफूले विश्‍वास गर्दै आएका कुराहरूले गहिरो जरा गाडेको हुन सक्छ। आफ्नो धार्मिक आस्थाले गर्दा नै परिवार र समाजसितको बन्धन बलियो भएको र परम्परा कायम राख्न सकेको तिनीहरूले महसुस गरेका हुन सक्छन्‌। हामी तिनीहरूलाई कसरी मदत गर्न सक्छौँ?

१३ यो तुलना विचार गर्नुहोस्‌: कुनै पुल पुरानो भएर जीर्ण अवस्थामा पुग्यो र नयाँ पुल बनाउनुपऱ्‍यो भने के गरिन्छ? अक्सर पुरानो पुल प्रयोग भइरहेकै बेला सँगसँगै नयाँ पुल बनाइन्छ। अनि नयाँ पुल बनेर तयार भइसकेपछि पुरानोलाई भत्काइन्छ। ठीक त्यसैगरि, हामीले मानिसहरूलाई तिनीहरूले प्यारो ठान्दै आएको “पुरानो” विश्‍वास त्याग्नुपर्छ भनेर बताउन हतार गर्नु हुँदैन। बरु तिनीहरूले सिकिरहेको “नयाँ” सत्य अर्थात्‌ तिनीहरूले पहिला कहिल्यै नसुनेका बाइबलका शिक्षाहरूमाथिको तिनीहरूको भरोसालाई मजबुत बनाउन मदत गर्नुपर्छ। यसो गऱ्‍यौँ भने मात्र तिनीहरू आफ्नो पुरानो विश्‍वासलाई त्याग्न तयार हुनेछन्‌। मानिसहरूलाई त्यस्तो परिवर्तन गर्न समय लाग्न सक्छ, त्यसैले हामीले धीरजी हुँदै तिनीहरूलाई मदत गर्नुपर्छ।—रोमी १२:२.

१४-१५. सुन्दर पृथ्वीमा सधैँभरि बाँच्ने आशाबारे थोरै मात्र थाह भएका वा पटक्कै थाह नभएका मानिसहरूलाई हामी कसरी मदत गर्न सक्छौँ? एउटा उदाहरण दिनुहोस्‌।

१४ हामी प्रचारकार्यमा मानिसहरूप्रति धीरजी छौँ भने तिनीहरूले बाइबलको सत्य पहिलो पटक सुन्‍नेबित्तिकै त्यो बुझून्‌ वा स्विकारून्‌ भनेर आशा गर्नेछैनौँ। बरु तिनीहरूप्रति चासो राख्ने भएकोले बाइबलले बताउने कुरा समय लगाएर राम्रोसँग विचार गर्न मदत गर्छौँ। उदाहरणको लागि, सुन्दर पृथ्वीमा सधैँभरि बाँच्ने आशाबारे बुझ्न हामी अरूलाई कसरी मदत गर्न सक्छौँ, विचार गर्नुहोस्‌। धेरै जनालाई यस शिक्षाबारे अलिअलि मात्र थाह छ; कतिपयलाई त पटक्कै थाह छैन। मानिस मरेपछि फेरि कहिल्यै जीवित हुन सक्दैन भनेर सायद तिनीहरू विश्‍वास गर्छन्‌। अथवा सबै असल मानिस स्वर्ग जान्छन्‌ भनेर विश्‍वास गर्छन्‌ होला। सत्य कुरा बुझ्न हामी तिनीहरूलाई कसरी मदत गर्न सक्छौँ?

१५ एक जना भाइ आफूलाई प्रभावकारी लागेको एउटा तरिका बताउँछन्‌। सुरुमा तिनी उत्पत्ति १:२८ पढ्‌छन्‌। त्यसपछि मानिसहरू कहाँ अनि कस्तो अवस्थामा बसेको परमेश्‍वर चाहनुहुन्थ्यो भनेर तिनी घरधनीलाई सोध्छन्‌। धेरैजसो मानिसको जवाफ हुन्छ, “मानिसहरू पृथ्वीमा राम्रो अवस्थामा बसून्‌ भन्‍ने परमेश्‍वर चाहनुहुन्थ्यो।” त्यसपछि तिनी यसैया ५५:११ पढ्‌छन्‌ र परमेश्‍वरको उद्देश्‍य परिवर्तन भएको छ कि छैन भनेर सोध्छन्‌। अक्सर घरधनीले “छैन” भनेर जवाफ दिन्छन्‌। त्यसपछि तिनी भजन ३७:१०, ११ पढ्‌छन्‌ अनि मानिसजातिको भविष्य कस्तो हुनेछ भनेर सोध्छन्‌। यसरी बाइबल चलाउँदै तर्क गरेर तिनले परमेश्‍वर अझै पनि असल मानिसहरू सुन्दर पृथ्वीमा सधैँभरि बाँचेको चाहनुहुन्छ भनेर बुझ्न थुप्रै मानिसलाई मदत गरेका छन्‌।

हामीले दयालु हुँदै गरेको सानो कामले, जस्तै: हामीले लेखेको सान्त्वनादायी चिठीले निकै राम्रो नतिजा ल्याउन सक्छ (अनुच्छेद १६-१७ हेर्नुहोस्‌)

१६-१७. हितोपदेश ३:२७ लाई विचार गर्दा हामीले मानिसहरूप्रति चासो देखाउन सक्ने केही व्यावहारिक तरिका के-के हुन्‌? उदाहरण दिनुहोस्‌।

१६ चौथो तरिका, तपाईँ तिनीहरूप्रति चासो राख्नुहुन्छ भनेर देखाउने व्यावहारिक तरिकाहरूबारे विचार गर्नुहोस्‌। उदाहरणको लागि, के हामी घरधनीलाई पायक नपर्ने समयमा तिनलाई भेट्‌न गएका छौँ? त्यसो हो भने हामी तिनीसित माफी माग्न सक्छौँ अनि तिनलाई पायक पर्ने समयमा आउँछु भनेर बताउन सक्छौँ। घरधनीलाई कुनै सानोतिनो काम गर्न मदत चाहिएको देख्यौँ भने नि? अथवा कुनै घरधनी वृद्ध वा बिरामी भएकोले घरबाहिर निस्कन नसक्ने अवस्थामा छन्‌ र तिनलाई केही मदत चाहिएको छ भने नि? यस्तो अवस्थामा हामी तिनलाई मदत गर्न सक्छौँ।हितोपदेश ३:२७ पढ्‌नुहोस्‌।

१७ एउटी बहिनीले दयालु हुँदै गरेको सानो मदतले राम्रो नतिजा ल्यायो। बच्चा गुमाएको एउटा परिवारप्रति चासो देखाउँदै तिनले त्यस परिवारलाई एउटा चिठी लेखिन्‌। त्यस चिठीमा बाइबलका केही सान्त्वनादायी शास्त्रपद पनि लेखिएका थिए। त्यस परिवारले कस्तो प्रतिक्रिया देखायो? बच्चा गुमाएकी आमाले यस्तो लेखिन्‌, “हिजो मलाई असाध्यै गाह्रो भइरहेको थियो। तपाईँको चिठीले साँच्चै ठूलो काम गऱ्‍यो। तपाईँलाई जति धन्यवाद दिए पनि पुग्दैन, त्यो चिठीले हामीलाई कत्ति सान्त्वना दियो, त्यो बयान गरेर साध्यै छैन। तपाईँको चिठी हिजो मैले २० चोटि भन्दा धेरै पढेँ। कत्ति दयालु र मायालु शब्दहरूले भरिएको अनि कत्ति सान्त्वनादायी चिठी! तपाईँलाई मनैदेखि धन्यवाद छ।” दुःख भोगिरहेका मानिसहरूको ठाउँमा आफैलाई राखेर हेऱ्‍यौँ र तिनीहरूलाई मदत गर्न केही गऱ्‍यौँ भने अवश्‍य पनि राम्रो नतिजा हासिल गर्न सक्नेछौँ।

आफ्नो भूमिकाप्रति सन्तुलित दृष्टिकोण राख्नुहोस्‌

१८. पहिलो कोरिन्थी ३:६, ७ अनुसार हामीले कस्तो सन्तुलित दृष्टिकोण राख्नुपर्छ?

१८ प्रचारकार्यमा हामीले आफ्नो भूमिकाप्रति सन्तुलित दृष्टिकोण राख्नु जरुरी छ। परमेश्‍वरबारे सिक्न अरूलाई मदत गर्ने काममा हामी केही भूमिका खेल्न सक्छौँ तर सबैभन्दा मुख्य भूमिका हाम्रो होइन। (१ कोरिन्थी ३:६, ७ पढ्‌नुहोस्‌) यहोवाले नै मानिसहरूलाई आफूतर्फ खिच्नुहुन्छ। (युह. ६:४४) मानिसहरूले सुसमाचार स्विकार्छन्‌ कि स्विकार्दैनन्‌ भन्‍ने कुरा तिनीहरू प्रत्येकको हृदयको अवस्था कस्तो छ, त्यसमै भर पर्छ। (मत्ति १३:४-८) नबिर्सनुहोस्‌, येसु आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान्‌ शिक्षक हुनुभए तापनि धेरैजसो मानिसले उहाँको शिक्षा स्विकारेनन्‌। त्यसैले हामीले मदत गर्न चाहेका धेरैजसो मानिसले राम्रो प्रतिक्रिया देखाएनन्‌ भने पनि हामी निराश हुनु पर्दैन।

१९. प्रचारकार्यमा अरूप्रति चासो देखायौँ भने कस्ता राम्रा नतिजाहरू हासिल गर्न सक्नेछौँ?

१९ हामीले प्रचारकार्यमा अरूप्रति चासो देखायौँ भने राम्रो नतिजा हासिल गर्न सक्नेछौँ। प्रचारकार्य हामीलाई अझै रमाइलो लाग्नेछ। अरूलाई दिँदा पाइने आनन्द हामीले अझ धेरै महसुस गर्नेछौँ। अनि हामीले “अनन्त जीवन पाउन लायकको उचित मनसाय” भएका मानिसहरूलाई सुसमाचार स्विकार्न मदत गरिरहेका हुन्छौँ। (प्रेषि. १३:४८) “त्यसैले मौका छँदै हामी सबैको भलाइ गरौँ।” (गला. ६:१०) त्यसो गऱ्‍यौँ भने यहोवाको महिमा गर्न सकेकोमा हामी आनन्दित हुनेछौँ।—मत्ति ५:१६.

गीत ६४ रम्दै सरिक होऊ कटनीकार्यमा

^ अनु. 5 प्रचारकार्यमा अरूप्रति चासो देखाउँदा हामी अझ आनन्दित हुन सक्छौँ अनि राम्रो नतिजा हासिल गर्न सक्छौँ। किन? यस लेखमा हामी येसुको उदाहरणबाट के सिक्न सक्छौँ भनेर छलफल गर्नेछौँ। साथै प्रचारमा भेटेका मानिसहरूप्रति चासो देखाउने चार वटा तरिका पनि विचार गर्नेछौँ।

^ अनु. 5 थप व्याख्या: यस सन्दर्भमा टिठाउनुले कुनै दुःख भोगिरहेको वा अरूको कठोर व्यवहार सहनुपरेको मानिसलाई देखेर मनमा कोमल भावना जाग्नुलाई बुझाउँछ। यस्तो भावना जागेको व्यक्‍ति अरूलाई मदत गर्न आफ्नो तर्फबाट सकेजति सबै गर्न उत्प्रेरित हुन्छ।

^ अनु. 8 प्रहरीधरहरा, मे १५, २०१४ मा छापिएको “प्रचारकार्यमा सुनौलो नियम पालन गर्नुहोस्‌” भन्‍ने लेख हेर्नुहोस्‌।

^ अनु. 11 प्रहरीधरहरा, (अङ्‌ग्रेजी) अगस्त १, २०११, पृष्ठ २१-२२ हेर्नुहोस्‌।