सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख १०

बप्तिस्मा गर्नदेखि मलाई केले रोक्छ?

बप्तिस्मा गर्नदेखि मलाई केले रोक्छ?

“फिलिप र नपुंसक दुवै ओर्लेर पानीमा गए; अनि फिलिपले उनलाई बप्तिस्मा गराए।”—प्रेषि. ८:३८.

गीत ५२ ख्रिष्टियन समर्पण

परिचय *

१. आदम र हव्वाले के गुमाए अनि त्यसको परिणाम कस्तो भयो?

के असल हो अनि के खराब हो भनेर स्तर तोक्ने अधिकार कोसित छ जस्तो तपाईँलाई लाग्छ? असल र खराबको ज्ञान दिने रूखको फल खाएर आदम र हव्वाले यहोवा अनि उहाँका स्तरहरूलाई भरोसा नगरेको कुरा स्पष्टै देखाए। तिनीहरूले असल र खराबको स्तर आफैले तोक्ने छनौट गरे। (उत्प. ३:२२) तर त्यसो गर्दा तिनीहरूले के गुमाए, सोच्नुहोस्‌ त! तिनीहरूले यहोवा परमेश्‍वरसितको मित्रता गुमाए। साथै सधैँभरि बाँच्ने मौका पनि गुमाए। तिनीहरूले गर्दा तिनीहरूका सन्तानमा पाप र मृत्यु सर्दै गयो। (रोमी ५:१२) हो, आदम र हव्वाले गरेको छनौटले साह्रै दुःखलाग्दो परिणाम निम्त्यायो।

येसुलाई स्विकारेपछि इथियोपियाली नपुंसकले तुरुन्तै बप्तिस्मा गर्ने इच्छा व्यक्‍त गरे (अनुच्छेद २-३ हेर्नुहोस्‌)

२-३. (क) फिलिपबाट साक्षी पाएपछि एक इथियोपियाली नपुंसकले कस्तो कदम चाले? (ख) बप्तिस्मा गरेपछि हामीले कस्ता आशिष्‌हरू पाउँछौँ र यस लेखमा कस्ता प्रश्‍नहरूबारे छलफल गर्नेछौँ?

आदम र हव्वाले चालेको कदमलाई इथियोपियाली नपुंसकले फिलिपबाट साक्षी पाएपछि चालेको कदमसित तुलना गर्नुहोस्‌। यहोवा र येसुले आफ्नो लागि गर्नुभएका कुराहरूप्रति ती नपुंसक यत्ति कृतज्ञ भए कि तिनले तुरुन्तै बप्तिस्मा गरे। (प्रेषि. ८:३४-३८) जब हामी परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्छौँ र ती नपुंसकले जस्तै बप्तिस्मा गर्छौँ, तब हामी पनि यहोवा र येसुले हाम्रो निम्ति गर्नुभएका कुराहरूप्रति कृतज्ञ छौँ भनी स्पष्टै देखाइरहेका हुन्छौँ। साथै यहोवालाई भरोसा गरेको अनि असल र खराबको स्तर तोक्ने अधिकार उहाँसित मात्र छ भनेर स्विकारेको कुरा पनि देखाइरहेका हुन्छौँ।

यहोवाको सेवा गर्दा हामी कत्ति धेरै आशिष्‌ पाउँछौँ, एकछिन सोच्नुहोस्‌! एउटा त, आदम र हव्वाले गुमाएको सबै कुरा भविष्यमा फेरि पाउने आशा हामीसित छ! त्यसमा सधैँभरि बाँच्ने आशा पनि समावेश छ। हामीले येसु ख्रिष्टमा विश्‍वास गर्ने भएकोले यहोवा हाम्रा गल्तीहरू क्षमा गर्नुहुन्छ र हामीलाई सफा अन्तस्करण दिनुहुन्छ। (मत्ति २०:२८; प्रेषि. १०:४३) साथै यहोवाको अनुमोदन पाएका उहाँका सेवकहरूको विश्‍वव्यापी परिवारको सदस्य हुने मौका पाउँछौँ र हामीसित उज्ज्वल भविष्यको आशा पनि छ। (युह. १०:१४-१६; रोमी ८:२०, २१) यस्ता आशिष्‌हरू पाइने कुरा थाह हुँदाहुँदै पनि यहोवाबारे ज्ञान लिएका केही व्यक्‍तिहरू त्यस इथियोपियाली नपुंसकको उदाहरण अनुकरण गर्नदेखि पछि हट्‌छन्‌। बप्तिस्मा गर्नदेखि तिनीहरूलाई कुन कुराले रोकिरहेको हुन सक्छ? अनि तिनीहरूले कसरी त्यस्ता चुनौतीहरूको सफलतापूर्वक सामना गर्न सक्छन्‌?

कसै-कसैलाई बप्तिस्मा गर्नदेखि रोक्ने चुनौतीहरू

बप्तिस्मा गर्ने निर्णय गर्नुअघि कसै-कसैले सामना गर्ने चुनौतीहरू

आत्मविश्‍वासको कमी (अनुच्छेद ४-५ हेर्नुहोस्‌) *

४-५. आभेरी नाम गरेका युवक र हाना नाम गरेकी युवतीले कस्ता चुनौतीहरूको सामना गरे?

आत्मविश्‍वासको कमी। आभेरी नाम गरेका एक किशोरका आमाबुबा यहोवाका साक्षी हुन्‌। तिनका बुबाले छोराछोरीको निकै ख्याल राख्ने बुबा र एक असल एल्डरको रूपमा राम्रो नाम कमाएका छन्‌। तर आभेरी भने बप्तिस्मा गर्नदेखि हिचकिचाउँथे। किन? तिनी भन्छन्‌, “बुबाले जस्तो राम्रो नाम कमाउन सक्दिनँ जस्तो मलाई लाग्थ्यो।” भविष्यमा आफूले पाउन सक्ने जिम्मेवारीहरू पूरा गर्न सक्षम छैनँ जस्तो पनि तिनलाई लाग्थ्यो। तिनी भन्छन्‌, “अरूको अगाडि प्रार्थना गर्न, भाषण दिन वा दाजुभाइ दिदीबहिनीलाई क्षेत्र सेवामा डोऱ्‍याउन भनियो भने के गर्ने होला भन्‍ने चिन्ताले निकै पिरोल्थ्यो।”

अठाह्र वर्षकी हानासित पनि आत्मविश्‍वासको कमी थियो। उनका बुबाआमा पनि यहोवाको सेवा गर्थे। तैपनि उनलाई यहोवाका स्तरहरूअनुसार जीवन बिताउन सक्दिनँ कि भनेर शङ्‌का लाग्थ्यो। किन? हाना आफूलाई निकम्मा महसुस गर्थिन्‌। कहिलेकाहीँ उनी यत्ति निराश हुन्थिन्‌ कि आफ्नो भावनात्मक पीडा कम गर्न उनी आफ्नै शरीरमा चोट पुऱ्‍याउने गर्थिन्‌। तर त्यसले उनको अवस्था सुध्रनुको साटो झनै बिग्रन्थ्यो। उनी भन्छिन्‌, “आफूले गरिरहेको कुराबारे मैले कसैलाई भनिनँ, आमाबुबालाई समेत भनिनँ। मैले आफूलाई जे गरिरहेकी थिएँ, त्यसले गर्दा यहोवाले मलाई कहिल्यै आफ्नो सेवकको रूपमा स्विकार्नुहुनेछैन जस्तो लाग्थ्यो।”

साथीहरूको प्रभाव (अनुच्छेद ६ हेर्नुहोस्‌) *

६. भेनेसालाई बप्तिस्मा गर्नदेखि कुन कुराले रोक्यो?

साथीहरूको प्रभाव। बाइस वर्षकी भेनेसा यसो भन्छिन्‌, “मेरो एक जना निकै मिल्ने साथी थिई। उसलाई मैले चिनेको झन्डै १० वर्ष भइसकेको थियो।” तर भेनेसाले विश्‍वास गर्ने कुरामा उनको साथीलाई खासै चासो थिएन र बप्तिस्मा गर्ने लक्ष्यसम्म पुग्न पनि साथीले उनलाई साथ दिइरहेकी थिइनन्‌। त्यसले गर्दा भेनेसाले साह्रै नमीठो महसुस गरिन्‌। उनी भन्छिन्‌, “मलाई साथी बनाउन गाह्रो लाग्छ। त्यसैले मैले ऊसित मित्रता तोडेँ भने ऊजस्तो मिल्ने साथी अरू कोही पाउन सक्दिनँ होला जस्तो लाग्थ्यो।”

गल्ती गरिएला भन्‍ने डर (अनुच्छेद ७ हेर्नुहोस्‌) *

७. मकेला नाम गरेकी युवतीलाई कस्तो डरले सताउँथ्यो र किन?

गल्ती गरिएला भन्‍ने डर। मकेला पाँच वर्षकी छँदा उनको दाइलाई मण्डलीबाट बहिष्कार गरियो। मकेला हुर्कँदै जाँदा आफ्नो दाइको कारण आमाबुबाले असाध्यै पीडा सहनुपरेको देखिन्‌। उनी भन्छिन्‌, “मैले बप्तिस्मा गरेँ भने मबाट पनि गल्ती होला अनि मलाई पनि बहिष्कार गरिएला र त्यसले गर्दा आमाबुबाको पीडामाथि पीडा थपिएला भन्‍ने डरले सताउँथ्यो।”

विरोध आइपर्ला भन्‍ने डर (अनुच्छेद ८ हेर्नुहोस्‌) *

८. माइल्स नाम गरेका युवकलाई कुन कुराको डर लाग्थ्यो?

विरोध आइपर्ला भन्‍ने डर। माइल्सका बुबा र सौतेनी आमा यहोवाको सेवा गर्छन्‌ तर माइल्सकी आमा भने साक्षी होइनन्‌। तिनी भन्छन्‌, “म १८ वर्षसम्म आमासितै बसेँ। म बप्तिस्मा गर्न चाहन्छु भनेर उहाँलाई बताउन डर लाग्थ्यो। बुबा साक्षी बन्‍नुहुँदा आमाले कस्तो प्रतिक्रिया देखाउनुभएको थियो, त्यो मैले देखेको थिएँ। उहाँले मेरो पनि विरोध गर्नुहोला भनेर मलाई डर लाग्थ्यो।”

तपाईँ कसरी चुनौतीहरूको सफलतापूर्वक सामना गर्न सक्नुहुन्छ?

९. यहोवा मायालु र धीरजी हुनुहुन्छ भन्‍ने कुरा सिक्दै जाँदा परिणाम कस्तो हुन सक्छ?

आदम र हव्वाले यहोवाको सेवा नगर्ने छनौट गरे किनकि तिनीहरूले उहाँप्रति प्रगाढ प्रेम विकास गरेका थिएनन्‌। तैपनि यहोवाले तिनीहरूलाई तुरुन्तै नाश गर्नुभएन बरु छोराछोरी जन्माउन र ती छोराछोरीलाई तिनीहरूकै स्तरअनुसार हुर्काउन समय दिनुभयो। आदम र हव्वाले यहोवाको अधीनमा नबस्ने निर्णय गर्नु कत्ति मूर्खतापूर्ण थियो भन्‍ने कुरा केही समय नबित्दै देखियो। तिनीहरूको जेठो छोराले आफ्नो निर्दोष भाइको हत्या गऱ्‍यो अनि समयको अन्तरालमा मानिसजातिमाझ हिंसा र स्वार्थ व्याप्त भयो। (उत्प. ४:८; ६:११-१३) तर यहोवाले भने आदम र हव्वाका सन्तानमध्ये ज-जसले उहाँको सेवा गर्न चाहन्थे, उनीहरू सबैको उद्धार गर्न एउटा माध्यम तयार पार्नुभयो। (युह. ६:३८-४०, ५७, ५८) यहोवा धीरजी र मायालु हुनुहुन्छ भन्‍ने कुरा तपाईँ जति सिक्दै जानुहुन्छ, उहाँप्रतिको तपाईँको प्रेम त्यति नै बढ्‌दै जानेछ। अनि आदम र हव्वाजस्तो नभई यहोवालाई आफ्नो जीवन समर्पण गर्ने तपाईँको इच्छा पनि बढ्‌दै जानेछ।

ती चुनौतीहरूको कसरी सफलतापूर्वक सामना गर्न सक्नुहुन्छ?

(अनुच्छेद ९-१० हेर्नुहोस्‌) *

१०. भजन १९:७ मा बताइएको कुरामा मनन गर्दा तपाईँले यहोवाको सेवा गर्न कसरी बल पाउन सक्नुहुन्छ?

१० यहोवाबारे अझ धेरै सिक्दै जानुहोस्‌। तपाईँ यहोवाबारे जति धेरै सिक्दै जानुहुन्छ, उहाँको सेवामा सफल हुनेछु भन्‍ने कुरामा तपाईँको आत्मविश्‍वास त्यति नै बढ्‌दै जानेछ। यसअघि चर्चा गरिएका आभेरी यसो भन्छन्‌: भजन १९:७ मा गरिएको प्रतिज्ञा पढ्‌दा र त्यसमा मनन गर्दा मेरो आत्मविश्‍वास बढ्यो।” (पढ्‌नुहोस्‌) त्यस पदमा गरिएको प्रतिज्ञा यहोवाले पूरा गर्नुभएको आफैले महसुस गर्दा परमेश्‍वरप्रतिको तिनको प्रेम अझै प्रगाढ भयो। परमेश्‍वरप्रतिको प्रेमले आत्मविश्‍वास बढाउन मात्र होइन बरु यहोवाको सेवा गर्न र उहाँको इच्छाअनुसार चल्न पनि बल दिन्छ। यसअघि चर्चा गरिएकी हाना यसो भन्छिन्‌: “मैले आफूलाई चोट पुऱ्‍याउँदा यहोवालाई पनि चोट पुग्ने रहेछ भनेर व्यक्‍तिगत बाइबल अध्ययनबाट थाह पाएँ।” (१ पत्रु. ५:७) आफूले सिकेको कुराअनुसारै चलेर हानाले ‘वचन पालन गरिन्‌।’ (याकु. १:२२) परिणाम कस्तो भयो? उनी भन्छिन्‌: “यहोवाको आज्ञा मान्दा कस्तो फाइदा हुन्छ भनेर महसुस गरेपछि मैले उहाँलाई अझ धेरै प्रेम गर्न सकेँ। मलाई मदतको खाँचो परेको बेला यहोवाले मलाई सधैँ मदत गर्नुहुनेछ भन्‍ने कुरामा म अहिले ढुक्क भएकी छु।” आफूलाई चोट पुऱ्‍याउन सकसक लाग्दा हानाले त्यसलाई काबूमा राख्न सकिन्‌। उनले यहोवालाई आफ्नो जीवन समर्पण गरिन्‌ र बप्तिस्मा गरिन्‌।

(अनुच्छेद ११ हेर्नुहोस्‌) *

११. असल साथीहरू बनाउन भेनेसाले के गरिन्‌ र यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

११ बुद्धिमानीपूर्वक साथीहरू छान्‍नुहोस्‌। यसअघि चर्चा गरिएकी भेनेसाले आफ्नो साथीले नै आफूलाई यहोवाको सेवा गर्नदेखि रोकिरहेकी छिन्‌ भनेर बुझिन्‌। त्यसैले उनले त्यस साथीसितको मित्रता तोडिन्‌। तर उनले अर्को कदम पनि चालिन्‌। उनले मण्डलीभित्रै नयाँ साथीहरू बनाउन सक्दो प्रयास गरिन्‌। नुह र तिनको परिवारको उदाहरणले आफूलाई मदत गरेको कुरा भेनेसा बताउँछिन्‌। उनी भन्छिन्‌, “तिनीहरूको वरिपरि यहोवालाई प्रेम नगर्ने मानिसहरू मात्र थिए। तर तिनीहरूले आफ्नै परिवारमा असल साथीहरू पाए।” बप्तिस्मा गरेपछि भेनेसाले अग्रगामी सेवा सुरु गरिन्‌। अहिले उनी यसो भन्छिन्‌, “अग्रगामी सेवा गर्दा आफ्नै मण्डलीमा मात्र नभई अरू मण्डलीहरूमा पनि असल साथीहरू बनाउन सकेकी छु।” यहोवाले हामीलाई दिनुभएको काम पूरा गर्नमा व्यस्त रहेर तपाईँ पनि असल साथीहरू बनाउन सक्नुहुन्छ।—मत्ति २४:१४.

(अनुच्छेद १२-१५ हेर्नुहोस्‌) *

१२. आदम र हव्वासित कस्तो किसिमको डर थिएन अनि त्यसको परिणाम कस्तो भयो?

१२ उचित किसिमको डर राख्नुहोस्‌। कुनै-कुनै किसिमको डर हाम्रो निम्ति फाइदाजनक नै हुन्छ। जस्तै, यहोवालाई अप्रसन्‍न तुल्याउने कुनै काम गर्नदेखि डराउनु स्वस्थकर किसिमको डर हो र हामीमा त्यस्तो डर हुनुपर्छ। (भज. १११:१०) आदम र हव्वासित त्यस्तो किसिमको डर भएको भए तिनीहरूले यहोवाको विद्रोह गर्ने थिएनन्‌। तर त्यस्तो डर नभएकोले तिनीहरूले उहाँको विद्रोह गरे। त्यसपछि तिनीहरूका आँखा खुले अर्थात्‌ आफूहरू पापी भयौँ भनेर तिनीहरूले राम्ररी बुझे। तिनीहरूले आफ्ना सन्तानलाई पाप र मृत्युबाहेक अरू केही दिन सक्ने थिएनन्‌। परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरेको कुरा बुझेपछि तिनीहरूले आफू नाङ्‌गै रहेछु भनेर थाह पाए र आफ्नो लाज ढाके।—उत्प. ३:७, २१.

१३-१४. (क) पहिलो पत्रुस ३:२१ अनुसार हामी किन मृत्युदेखि असाध्यै डराउनु पर्दैन? (ख) यहोवालाई प्रेम गर्नुपर्ने कस्ता कारणहरू हामीसित छन्‌?

१३ हामीसित यहोवाप्रतिको स्वस्थकर डर हुनु आवश्‍यक छ तर हामी मृत्युदेखि भने असाध्यै डराउनु पर्दैन। यहोवाले हाम्रो लागि अनन्त जीवनको बाटो खोलिदिनुभएको छ। हामीले पाप गरे तापनि साँचो पश्‍चात्ताप गऱ्‍यौँ भने यहोवाले हामीलाई क्षमा दिनुहुनेछ। उहाँको छोरा येसुले चढाउनुभएको फिरौतीको बलिदानमा विश्‍वास गऱ्‍यौँ भने उहाँले हामीलाई क्षमा दिनुहुनेछ। फिरौतीको बलिदानमा विश्‍वास गरेको कुरा देखाउने एउटा प्रमुख तरिका परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्नु र बप्तिस्मा गर्नु हो।१ पत्रुस ३:२१ पढ्‌नुहोस्‌।

१४ यहोवालाई प्रेम गर्नुपर्ने थुप्रै कारण हामीसित छन्‌। उहाँले हरेक दिन हाम्रो लागि विभिन्‍न असल कुराहरूको प्रबन्ध गरिदिनुहुन्छ। त्यति मात्र नभई उहाँले हामीलाई आफूबारे र आफ्ना उद्देश्‍यहरूबारे सत्य कुरा सिकाउनुहुन्छ। (युह. ८:३१, ३२) हामीलाई डोऱ्‍याउन र मदत गर्न यहोवाले ख्रिष्टियन मण्डलीको प्रबन्ध गरिदिनुभएको छ। हाम्रा बोझहरू उठाउन उहाँ अहिल्यै पनि हामीलाई मदत गर्नुहुन्छ। साथै उहाँले भविष्यमा सबै कुरा राम्रो भएको अवस्थामा सधैँभरि बाँच्ने आशा पनि दिनुभएको छ। (भज. ६८:१९; प्रका. २१:३, ४) यहोवाले हामीलाई प्रेम देखाउँदै जे-जे गर्नुभएको छ, ती सबै कुरामा मनन गर्दा हामी पनि उहाँलाई प्रेम गर्न उत्प्रेरित हुन्छौँ। अनि यहोवालाई प्रेम गर्दा हामी उचित किसिमको डर राख्न सिक्छौँ। यहोवालाई असाध्यै प्रेम गर्ने भएकोले हामी उहाँको चित्त दुखाउने कुनै पनि काम गर्नदेखि डराउँछौँ।

१५. आफूबाट गल्ती होला कि भन्‍ने डरलाई मकेलाले कसरी जित्न सकिन्‌?

१५ यसअघि चर्चा गरिएकी मकेलाले यहोवा क्षमाशील हुनुहुन्छ भनेर बुझेपछि आफूबाट गल्ती होला कि भन्‍ने डरलाई जित्न सकिन्‌। उनी भन्छिन्‌, “हामी सबै त्रुटिपूर्ण छौँ र गल्ती गर्छौँ भनेर मैले बुझेँ। साथै यहोवा हामीलाई प्रेम गर्नुहुन्छ र फिरौतीको बलिदानको आधारमा क्षमा दिनुहुन्छ भनेर पनि बुझेँ।” यहोवाप्रतिको प्रेमले उनलाई आफ्नो जीवन उहाँलाई समर्पण गर्न र बप्तिस्मा गर्न उत्प्रेरित गऱ्‍यो।

(अनुच्छेद १६ हेर्नुहोस्‌) *

१६. विरोध आइपर्ला भन्‍ने डरलाई जित्न माइल्सले कस्तो मदत पाए?

१६ माथि उल्लेख गरिएका माइल्स बप्तिस्मा गर्ने आफ्नो निर्णयको आमाले विरोध गर्नुहुने हो कि भनेर डराएका थिए। तर तिनले क्षेत्रीय निरीक्षकसित मदत मागे। माइल्स भन्छन्‌, “उहाँको पनि बुबा मात्रै यहोवाको साक्षी हुनुहुँदो रहेछ। बप्तिस्मा गर्ने निर्णय मेरो आफ्नै हो र बुबाले मलाई त्यसो गर्न कर गर्नुभएको होइन भनेर आमालाई कसरी बुझाउने, त्यसबारे राम्ररी सोचविचार गर्न क्षेत्रीय निरीक्षकले मलाई मदत गर्नुभयो।” बप्तिस्मा गर्ने माइल्सको निर्णय तिनकी आमालाई मन परेन। आखिरमा माइल्स आफ्नी आमासित छुट्टिएर बस्नुपर्ने भयो तर तिनी आफ्नो निर्णयमा अडिग रहे। तिनी भन्छन्‌, “यहोवाले मेरो लागि गर्नुभएका असल कुराहरूबारे बुझ्दा मेरो मनै छोयो। येसुले दिनुभएको फिरौतीको बलिदानबारे गहिरिएर सोच्दा यहोवा मलाई कत्ति धेरै माया गर्नुहुन्छ भनेर थाह पाएँ। त्यसले मलाई आफ्नो जीवन यहोवालाई समर्पण गर्न र बप्तिस्मा गर्न उत्प्रेरित गऱ्‍यो।”

आफ्नो निर्णयमा अडिग रहनुहोस्‌

परमेश्‍वरले हाम्रो निम्ति गर्नुभएका कुराहरूको लागि कृतज्ञ छौँ भनेर हामी देखाउन सक्छौँ (अनुच्छेद १७ हेर्नुहोस्‌)

१७. हामी सबैसित कस्तो मौका छ?

१७ यहोवाले नखानू भन्‍नुभएको रूखको फल खाएर हव्वाले स्वर्गमा बस्नुहुने आफ्नो बुबाको अधीनमा बस्न ठाडै इन्कार गरेको देखाइन्‌। हव्वालाई साथ दिएर आदमले पनि यहोवाले तिनको निम्ति गरिदिनुभएको सबै असल कुराको रतीभर कदर नगरेको देखाए। हामी तिनीहरूजस्तो छैनौँ, बरु यहोवाले गरिदिनुभएको सबै कुराको निम्ति कृतज्ञ छौँ भनेर देखाउने मौका हामी सबैसित छ। बप्तिस्मा गर्दा हाम्रो लागि सही र गलतको स्तर तोक्ने अधिकार यहोवासित मात्र छ भनेर विश्‍वास गरेको कुरा देखाउँछौँ। हामी स्वर्गमा बस्नुहुने हाम्रा बुबालाई माया र भरोसा गर्छौँ भनेर पनि प्रमाणित गर्छौँ।

१८. तपाईँ कसरी यहोवाको सेवामा सफल हुन सक्नुहुन्छ?

१८ बप्तिस्मा गरेपछि हामीले हरेक दिन आफ्नो होइन बरु यहोवाको स्तरअनुसार जीवन बिताउनुपर्छ। परमेश्‍वरका लाखौँ सेवकले त्यसै गरिरहेका छन्‌। तपाईँ पनि तिनीहरूमध्ये एक हुन चाहनुहुन्छ भने परमेश्‍वरको वचन बाइबलबाट अझ गहिरो ज्ञान लिँदै जानुहोस्‌, मण्डलीका दाजुभाइ दिदीबहिनीसित नियमित रूपमा सङ्‌गत गर्नुहोस्‌ र स्वर्गमा बस्नुहुने मायालु बुबाबारे आफूले सिकेको कुरा जोसिलो भई अरूलाई सुनाउने गर्नुहोस्‌। (हिब्रू १०:२४, २५) कुनै निर्णय गर्नुपर्दा यहोवाले आफ्नो वचन र सङ्‌गठनमार्फत दिनुहुने सल्लाह स्विकार्नुहोस्‌। (यसै. ३०:२१) त्यसो गर्नुभयो भने तपाईँले गर्ने जुनसुकै काम सफल हुनेछ।—हितो. १६:३, २०.

१९. तपाईँले कुन कुरा सधैँ मनन गर्नुपर्छ र किन?

१९ यहोवाको डोऱ्‍याइअनुसार चल्दा आफूलाई कत्ति धेरै फाइदा हुन्छ भनेर सधैँ मनन गर्नुभयो भने उहाँ र उहाँका स्तरहरूप्रतिको तपाईँको प्रेम बढ्‌दै जानेछ। त्यसपछि सैतानले जस्तोसुकै प्रलोभन देखाए तापनि त्यसले तपाईँलाई यहोवाको सेवा गर्नदेखि रोक्न सक्नेछैन। आफू आजभन्दा एक हजार वर्षपछि बाँचिरहेको कल्पना गर्नुहोस्‌। बप्तिस्मा गर्ने निर्णय आफूले गरेको सबैभन्दा राम्रो निर्णय थियो भनेर तपाईँले त्यतिबेला महसुस गर्न सक्नुहुनेछ!

गीत २८ यहोवाको मित्र बनौँ

^ अनु. 5 हामीले जीवनमा गर्ने सबैभन्दा महत्त्वपूर्ण निर्णय भनेको बप्तिस्मा गर्ने कि नगर्ने भन्‍ने हो। यो निर्णय किन यत्ति धेरै महत्त्वपूर्ण छ? यस लेखले त्यस प्रश्‍नको जवाफ दिनेछ। साथै बप्तिस्मा गर्ने विचार गरिरहेका तर विभिन्‍न चुनौतीले गर्दा हिचकिचाइरहेका व्यक्‍तिहरूलाई ती चुनौतीहरूको सफलतापूर्वक सामना गर्न पनि यस लेखले मदत गर्नेछ।

^ अनु. 56 चित्रको व्याख्या: आत्मविश्‍वास: एक युवकलाई सभामा टिप्पणी दिन डर लाग्छ।

^ अनु. 58 चित्रको व्याख्या: साथीहरू: खराब सङ्‌गतमा परेकी एक जवान बहिनी अरू साक्षीहरू देख्दा लाज मान्छिन्‌।

^ अनु. 60 चित्रको व्याख्या: गल्ती: आफ्नो दाइ बहिष्कृत हुँदा र घर छोडेर जाँदा एउटी युवतीलाई आफूबाट पनि गल्ती हुने हो कि भनेर चिन्ता लाग्छ।

^ अनु. 62 चित्रको व्याख्या: विरोध: एक जना केटा आफ्नी गैर-साक्षी आमाको अगाडि प्रार्थना गर्न डराउँछन्‌।

^ अनु. 65 चित्रको व्याख्या: आत्मविश्‍वास: एक युवक अझ राम्ररी व्यक्‍तिगत अध्ययन गर्न प्रयास गर्छन्‌।

^ अनु. 67 चित्रको व्याख्या: साथीहरू: एक जवान बहिनी यहोवाको साक्षी भएकोमा गर्व गर्न सिक्छिन्‌।

^ अनु. 69 चित्रको व्याख्या: गल्ती: एउटी युवती सत्यलाई अङ्‌गाल्छिन्‌ र बप्तिस्मा गर्छिन्‌।

^ अनु. 71 चित्रको व्याख्या: विरोध: एक जना केटा निडर भई आफ्नो विश्‍वासबारे आमालाई बताउँछन्‌।