सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ११

यहोवाको स्वर सुन्‍नुहोस्‌

यहोवाको स्वर सुन्‍नुहोस्‌

“यिनी मेरो प्यारो छोरा हुन्‌, . . . तिमीहरूले उनको कुरा सुन।”—मत्ति १७:५.

गीत ८९ सुनौँ, मानौँ र आशिष्‌ पाऔँ!

परिचय *

१-२. (क) यहोवाले मानिसहरूसित कसरी कुराकानी गर्नुभएको छ? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?

यहोवा हामीसित कुराकानी गर्न मन पराउनुहुन्छ। उहाँले विगतमा आफ्नो विचार व्यक्‍त गर्न भविष्यवक्‍ताहरू, स्वर्गदूतहरू र आफ्नो छोरा ख्रिष्ट येसुलाई चलाउनुभयो। (आमो. ३:७; गला. ३:१९; प्रका. १:१) आज उहाँ आफ्नो वचन बाइबलमार्फत हामीसित कुराकानी गर्नुहुन्छ। उहाँको सोचाइ र उहाँको मार्ग बुझ्न सकौँ भनेर उहाँले हामीलाई बाइबल दिनुभएको छ।

येसु पृथ्वीमा हुनुहुँदा पनि यहोवा तीन पटक स्वर्गबाट बोल्नुभयो। ती अवसरहरूमा यहोवाले के भन्‍नुभयो, उहाँले भन्‍नुभएको कुराबाट हामी के सिक्न सक्छौँ अनि त्यसबाट कस्तो लाभ उठाउन सक्छौँ, आउनुहोस्‌ छलफल गरौँ।

“तिमी मेरो प्यारो छोरा हौ”

३. मर्कुस १:९-११ अनुसार येसुले बप्तिस्मा गर्नुहुँदा यहोवाले के भन्‍नुभयो अनि यसले कुन-कुन महत्त्वपूर्ण सत्यलाई पुष्टि गर्छ?

मर्कुस १:९-११ मा यहोवाले स्वर्गबाट बोल्नुभएको पहिलो विवरण पाउँछौँ। (पढ्‌नुहोस्‌) उहाँले यसो भन्‍नुभयो: “तिमी मेरो प्यारो छोरा हौ। मैले तिमीलाई स्विकारेको छु।” यसरी आफ्नो बुबाले माया व्यक्‍त गर्न र ढाडस दिन भन्‍नुभएको कुरा सुन्दा येसुको मन कत्ति छोयो होला! यहोवाले भन्‍नुभएको कुराले येसुबारे तीन वटा महत्त्वपूर्ण सत्य पुष्टि गर्छ। पहिलो, येसु उहाँको छोरा हुनुहुन्छ। दोस्रो, यहोवा आफ्नो छोरालाई माया गर्नुहुन्छ। तेस्रो, यहोवाले आफ्नो छोरालाई स्विकार्नुभएको छ। आउनुहोस्‌, यी तीनै वटा पक्षबारे विस्तृत रूपमा छलफल गरौँ।

४. बप्तिस्मा गर्नुहुँदा येसु नयाँ अर्थमा परमेश्‍वरको छोरा हुनुभयो, कसरी?

“तिमी मेरो प्यारो छोरा हौ।” यी शब्दहरूद्वारा यहोवाले आफ्नो प्यारो छोरा येसुसित नयाँ सम्बन्ध गाँसेको कुरा प्रकट गर्दै हुनुहुन्थ्यो। हुनत येसु स्वर्गमा हुनुहुँदा पनि यहोवाको छोरा हुनुहुन्थ्यो। तर बप्तिस्मा गर्नुहुँदा उहाँ पवित्र शक्‍तिद्वारा अभिषेक हुनुभयो। त्यतिबेला परमेश्‍वरले आफ्नो अभिषिक्‍त छोरा येसुले नियुक्‍त राजा र प्रधानपुजारीको रूपमा सेवा गर्न स्वर्ग फर्कने आशा पाएको सङ्‌केत दिनुभयो। (लुका १:३१-३३; हिब्रू १:८, ९; २:१७) त्यसैले येसुले बप्तिस्मा गर्नुभएको बेला उहाँको बुबाले यसो भन्‍नु साँच्चै जायज थियो: “तिमी मेरो . . . छोरा हौ।”—लुका ३:२२.

अरूले प्रशंसा गर्दा र प्रोत्साहन दिँदा हामी फस्टाउँछौँ (अनुच्छेद ५ हेर्नुहोस्‌) *

५. हामी कसरी अरूलाई यहोवाले जस्तै माया व्यक्‍त गर्न र प्रोत्साहन दिन सक्छौँ?

“तिमी मेरो प्यारो छोरा हौ।” यहोवाले माया र अनुमोदन व्यक्‍त गर्नुभएको उदाहरणले हामीले अरूलाई प्रोत्साहन दिने मौका खोज्नुपर्छ भन्‍ने कुराको सम्झना गराउँछ। (युह. ५:२०) हामीलाई मन पर्ने व्यक्‍तिले माया देखाउँदा र हामीले गरेको असल कामको प्रशंसा गर्दा हामी फस्टाउँछौँ। मण्डलीका दाजुभाइ दिदीबहिनी र परिवारका सदस्यहरूलाई पनि हाम्रो माया र प्रोत्साहन चाहिन्छ। अरूको प्रशंसा गर्दा हामीले तिनीहरूको विश्‍वास बलियो बनाइरहेका हुन्छौँ अनि तिनीहरूलाई वफादार भई यहोवाको सेवा गर्न मदत गरिरहेका हुन्छौँ। विशेषगरि, आमाबुबाले छोराछोरीलाई प्रोत्साहन दिनुपर्छ। तिनीहरूले छोराछोरीको साँचो प्रशंसा गर्दा र उनीहरूलाई स्नेह देखाउँदा छोराछोरी फस्टाउँछन्‌।

६. येसुले यहोवाका सबै प्रतिज्ञा पूरा गर्नुहुनेछ भनेर हामी किन विश्‍वस्त हुन सक्छौँ?

“मैले तिमीलाई स्विकारेको छु।” येसु वफादार भई यहोवाको इच्छाअनुसार चल्नुहुनेछ भन्‍ने कुरामा यहोवा विश्‍वस्त हुनुहुन्थ्यो भनेर यी शब्दहरूले देखाउँछ। यहोवाले येसुमा यत्ति धेरै भरोसा गर्नुभएको कुरा विचार गर्दा येसुले वफादार भई यहोवाका सबै प्रतिज्ञा पूरा गर्नुहुनेछ भनेर हामी पनि पूर्णतया विश्‍वस्त हुन सक्छौँ। (२ कोरि. १:२०) येसुले बसाल्नुभएको उदाहरणबारे विचार गऱ्‍यौँ भने उहाँबाट सिक्ने र उहाँको पाइला पछ्याउने हाम्रो सङ्‌कल्प अझ बलियो हुन्छ। आफ्ना सेवकहरूले आफ्नो छोराबाट सिकिरहनेछन्‌ र समूहको रूपमा उहाँको इच्छाअनुसार चलिरहनेछन्‌ भन्‍ने कुरामा पनि यहोवा त्यति नै विश्‍वस्त हुनुहुन्छ।—१ पत्रु. २:२१.

“तिमीहरूले उनको कुरा सुन”

७. मत्ति १७:१-५ अनुसार यहोवाले स्वर्गबाट कहिले बोल्नुभयो अनि उहाँले के भन्‍नुभयो?

मत्ति १७:१-५ पढ्‌नुहोस्‌। येसुको “रूप परिवर्तन” भएको बेला यहोवा दोस्रो पटक स्वर्गबाट बोल्नुभयो। येसुले पत्रुस, याकुब र युहन्‍नालाई आफूसितै अग्लो डाँडामा लैजानुभएको थियो। त्यहाँ तिनीहरूले अचम्मको दर्शन देखे। येसुको मुहार उज्यालो भयो र लुगा चहकिलो भयो। मोसा र एलियालाई चित्रण गर्ने दुई जना व्यक्‍ति येसुसित उहाँको मृत्यु र पुनर्जीवनको विषयमा कुरा गर्दै थिए। ती तीन जना प्रेषित “निद्राले लट्ठ भएका थिए” तर पूरै ब्युँझिएपछि तिनीहरूले त्यो आश्‍चर्यपूर्ण दर्शन देखे। (लुका ९:२९-३२) अनि चहकिलो बादलले तिनीहरूलाई ढाक्यो र तिनीहरूले बादलबाट एउटा आवाज आएको सुने। त्यो परमेश्‍वरको आवाज थियो! येसुले बप्तिस्मा गर्नुभएको बेला जस्तै यस पटक पनि यहोवाले आफ्नो छोरालाई अनुमोदन र माया व्यक्‍त गर्दै यसो भन्‍नुभयो: “यिनी मेरो प्यारो छोरा हुन्‌, जसलाई मैले स्विकारेको छु।” तर यसपालि यहोवाले यसो पनि भन्‍नुभयो: “तिमीहरूले उनको कुरा सुन।”

८. येसुको रूप परिवर्तन भएको दर्शनले येसु र उहाँका चेलाहरूमा कस्तो प्रभाव पाऱ्‍यो?

त्यो दर्शन येसुले भविष्यमा परमेश्‍वरको राज्यको राजाको रूपमा पाउनुहुने महिमा र शक्‍तिको पूर्वझलक थियो। त्यस दर्शनबाट ख्रिष्टले दुःख सहन र पीडादायी मृत्यु भोग्न पक्कै प्रोत्साहन र बल पाउनुभयो। त्यस दर्शनले चेलाहरूको विश्‍वास पनि बलियो बनायो। साथै तिनीहरूलाई भविष्यमा निष्ठाको जाँच हुने परीक्षाहरूको सामना गर्न बल दियो र वर्षौँसम्म तिनीहरूले गर्नुपर्ने कडा मेहनतको लागि तयार बनायो। लगभग ३० वर्षपछि प्रेषित पत्रुसले येसुको रूप परिवर्तन भएको दर्शनबारे उल्लेख गरे र त्यो दर्शनको सम्झना तिनको दिमागमा ताजै भएको बताए।—२ पत्रु. १:१६-१८.

९. येसुले चेलाहरूलाई कस्ता व्यावहारिक सल्लाह दिनुभयो?

“तिमीहरूले उनको कुरा सुन।” यहोवा हामीले उहाँको छोराको कुरा सुनेको र त्यो पालन गरेको चाहनुहुन्छ भनेर उहाँले प्रस्ट पार्नुभयो। येसु पृथ्वीमा हुनुहुँदा उहाँले के बताउनुभयो? मानिसहरूले सुन्‍नुपर्ने थुप्रै महत्त्वपूर्ण कुराहरू बताउनुभयो! उदाहरणको लागि, उहाँले कसरी सुसमाचार प्रचार गर्ने भनेर चेलाहरूलाई सिकाउनुभयो। उहाँले तिनीहरूलाई जागा रहन पनि बारम्बार सम्झाउनुभयो। (मत्ति २४:४२; २८:१९, २०) साथै उहाँले तिनीहरूलाई भरमग्दुर कोसिस गर्न आग्रह गर्नुभयो अनि हरेस नखान प्रोत्साहन दिनुभयो। (लुका १३:२४) आफ्ना अनुयायीहरूले एकअर्कालाई प्रेम गर्नु, एकतामा रहनु र उहाँका आज्ञाहरू पालन गर्नु अत्यावश्‍यक छ भन्‍ने कुरामा उहाँले जोड दिनुभयो। (युह. १५:१०, १२, १३) येसुले आफ्ना चेलाहरूलाई दिनुभएका सल्लाहहरू साँच्चै कत्ति व्यावहारिक छन्‌! उहाँले ती सल्लाहहरू दिनुहुँदा ती जति उपयोगी थिए, आज पनि उत्तिकै उपयोगी छन्‌।

१०-११. हामी येसुको स्वर सुनिरहेका छौँ भनेर कसरी देखाउन सक्छौँ?

१० येसुले यसो भन्‍नुभयो: “सत्यको पक्षमा हुनेजति सबैले मेरो स्वर सुन्छन्‌।” (युह. १८:३७) हामीले ‘एकअर्कालाई सहिरह्‍यौँ अनि खुला मनले क्षमा गरिरह्‍यौँ’ भने येसुको स्वर सुनिरहेका छौँ भनेर देखाइरहेका हुन्छौँ। (कल. ३:१३; लुका १७:३, ४) “चाहे अवस्था अनुकूल होस्‌ वा प्रतिकूल,” हामी जोसिलो भई सुसमाचार प्रचार गरेर पनि उहाँको स्वर सुनिरहेका छौँ भनेर देखाउँछौँ।—२ तिमो. ४:२.

११ येसुले यसो भन्‍नुभयो: “मेरा भेडाहरूले मेरो स्वर सुन्छन्‌।” (युह. १०:२७) येसुका अनुयायीहरूले उहाँको वचन सुनेर मात्र होइन तर त्यसअनुसार चलेर पनि येसुको स्वर सुनेको देखाउँछन्‌। तिनीहरू “जीवनको फिक्री”-ले गर्दा अलमलिँदैनन्‌। (लुका २१:३४) बरु जस्तोसुकै गाह्रो परिस्थितिको सामना गर्नुपरे तापनि तिनीहरू येसुको आज्ञा पालन गर्नुलाई जीवनमा पहिलो स्थान दिन्छन्‌। हाम्रा थुप्रै दाजुभाइ दिदीबहिनीले कठिन परीक्षाहरू सहँदै छन्‌। जस्तै: विरोधीहरूको आक्रमण, चरम गरिबी र प्राकृतिक प्रकोप। यी सबको बाबजुद तिनीहरू यहोवाप्रति वफादार रहिरहन्छन्‌, चाहे त्यसको लागि जस्तोसुकै दुःख भोग्नु किन नपरोस्‌। तिनीहरूलाई येसुले यस्तो आश्‍वासन दिनुभएको छ: “जसले मेरा आज्ञाहरू ग्रहण गर्छ र ती पालन गर्छ, मलाई प्रेम गर्ने ऊ नै हो। जसले मलाई प्रेम गर्छ, उसलाई मेरो बुबाले पनि प्रेम गर्नुहुनेछ।”—युह. १४:२१.

प्रचारकार्यमा लाग्दा हाम्रो ध्यान यताउता अलमलिन पाउँदैन (अनुच्छेद १२ हेर्नुहोस्‌) *

१२. येसुको कुरा सुनिरहेका छौँ भनेर देखाउने अर्को तरिका के हो?

१२ येसुको कुरा सुनिरहेका छौँ भनेर देखाउने अर्को तरिका हो: येसुले हामीमाझ अगुवाइ लिन नियुक्‍त गर्नुभएका पुरुषहरूलाई साथ दिएर। (हिब्रू १३:७, १७) परमेश्‍वरको सङ्‌गठनले हालैका वर्षहरूमा थुप्रै छाँटकाँट गरेको छ। जस्तै: प्रचारकार्यको लागि नयाँ सामग्री र तरिकाहरूको प्रयोग, मध्यहप्ताको सभाको नयाँ ढाँचा र हाम्रा राज्यभवनहरू बनाउने र मर्मतसम्भार गर्ने तरिकामा छाँटकाँट। हामी यस्तो मायालु र सोचविचार गरेर दिइएको निर्देशनको लागि साँच्चै धन्यवादी छौँ! सङ्‌गठनले दिएको समय-सुहाउँदो निर्देशन पालन गर्न प्रयास गर्दा यहोवाले पक्कै आशिष्‌ दिनुहुन्छ भनेर ढुक्क हुन सक्छौँ।

१३. येसुको कुरा सुन्दा कसरी हाम्रो भलो हुन्छ?

१३ येसुले सिकाउनुभएको सबै कुरा सुन्दा हाम्रो भलो हुन्छ। उहाँको शिक्षाले चेलाहरूलाई स्फूर्ति दिनेछ भनेर उहाँले तिनीहरूलाई आश्‍वस्त पार्नुभयो। उहाँले यसो भन्‍नुभयो: “तिमीहरूले स्फूर्ति पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुको छ।” (मत्ति ११:२८-३०) परमेश्‍वरको वचनमा येसुको जीवनी र प्रचारकार्यबारे उल्लेख गरिएको सुसमाचारको चार वटा पुस्तक पनि समावेश छ। उहाँको वचनले हामीलाई स्फूर्ति दिन्छ, आध्यात्मिक रूपमा बल दिन्छ अनि बुद्धिमान्‌ बनाउँछ। (भज. १९:७; २३:३) येसुले भन्‍नुभयो: “आनन्दित त तिनीहरू हुन्‌, जसले परमेश्‍वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌!”—लुका ११:२८.

‘म आफ्नो नाम महिमित पार्नेछु’

१४-१५. (क) युहन्‍ना १२:२७, २८ मा उल्लेख गरिएको विवरणअनुसार यहोवाले कहिले तेस्रो पटक स्वर्गबाट बोल्नुभयो? (ख) यहोवाले भन्‍नुभएको कुराले येसुलाई किन सान्त्वना र बल दिएको हुनुपर्छ?

१४ युहन्‍ना १२:२७, २८ पढ्‌नुहोस्‌। युहन्‍नाले लेखेको सुसमाचारको किताबमा यहोवाले स्वर्गबाट बोल्नुभएको तेस्रो विवरण पाउँछौँ। येसुको मृत्यु हुनुभन्दा केही दिनअघि उहाँ अन्तिम पटक निस्तार चाड मनाउन यरुसलेम जानुभयो। उहाँले यसो भन्‍नुभयो: “म व्याकुल भएको छु।” अनि उहाँले यसरी प्रार्थना गर्नुभयो: “हे बुबा, तपाईँको नाम महिमित पार्नुहोस्‌।” बुबाले उहाँको प्रार्थनाको जवाफ दिँदै स्वर्गबाट यसो भन्‍नुभयो: “मैले महिमित पारेको छु र फेरि पनि महिमित पार्नेछु।”

१५ येसु व्याकुल हुनुभयो किनभने यहोवाप्रति वफादार रहेको देखाउन उहाँले ठूलो काम पूरा गर्नुपर्ने थियो। आफूले अत्यन्तै सास्ती भोग्नुपर्नेछ र तड्‌पिएर मर्नुपर्नेछ भनेर येसुलाई थाह थियो। (मत्ति २६:३८) बुबाको नाम महिमित पार्नु उहाँको लागि सबैभन्दा महत्त्वपूर्ण काम थियो। उहाँलाई ईश्‍वरनिन्दाको आरोप लगाइएको थियो अनि आफ्नो मृत्युले बुबाको नाममा कलङ्‌क लाग्ने हो कि भनेर उहाँलाई चिन्ता लागेको थियो। तर त्यतिबेला यहोवाले भन्‍नुभएको कुराले येसुलाई कत्ति आश्‍वासन दियो होला! यहोवाको नाम महिमित हुनेछ भनेर उहाँ विश्‍वस्त हुन सक्नुभयो। आफ्नो बुबाको कुरा सुनेर येसुले पक्कै सान्त्वना पाउनुभएको हुनुपर्छ र आफूले भोग्न लागेको पीडा सहन त्यसले उहाँलाई बल दिएको हुनुपर्छ। हुनत त्यतिबेला यहोवाले भन्‍नुभएको कुरा येसुले मात्र बुझ्नुभयो होला तर यहोवाले हामी सबैको लागि त्यो कुरा लेखेर राख्न लगाउनुभयो।—युह. १२:२९, ३०.

यहोवाले आफ्नो नाम महिमित पार्नुहुनेछ र आफ्ना सेवकहरूलाई छुटकारा दिनुहुनेछ (अनुच्छेद १६ हेर्नुहोस्‌) *

१६. यहोवाको नाममा कलङ्‌क लाग्ने हो कि भनेर कहिलेकाहीँ हामीलाई किन चिन्ता लाग्न सक्छ?

१६ यहोवाको नाममा कलङ्‌क लाग्ने हो कि भनेर येसुलाई जस्तै हामीलाई पनि चिन्ता लाग्न सक्छ। हामी पनि येसुजस्तै अन्यायको शिकार हुनुपरेको छ होला। अथवा विरोधीहरूले हामीबारे फैलाएका झूटा रिपोर्टहरूले गर्दा हामी व्याकुल भएका हुन सक्छौँ। यस्ता रिपोर्टहरूले यहोवाको नाम र उहाँको सङ्‌गठनको बदनाम गरेको कुराबारे सोच्दा हामीलाई साह्रै दुःख लाग्छ। यस्तो अवस्थामा यहोवाको वचनले हामीलाई निकै सान्त्वना दिन्छ। हामीले अचाक्ली चिन्ता गर्नु आवश्‍यक छैन। “परमेश्‍वरको शान्ति, जुन मानिसको समझभन्दा बाहिरको छ, त्यसले ख्रिष्ट येसुद्वारा [हाम्रो] हृदय र सोच्ने क्षमताको रक्षा गर्नेछ” भनेर हामी ढुक्क हुन सक्छौँ। (फिलि. ४:६, ७) यहोवा आफ्नो नाम महिमित पार्न कहिल्यै चुक्नुहुनेछैन। सैतान र त्यसको संसारले उहाँका वफादार सेवकहरूमाथि पुऱ्‍याएका सबै हानिलाई उहाँले आफ्नो राज्यमार्फत सच्याउनुहुनेछ।—भज. ९४:२२, २३; यसै. ६५:१७.

आज पनि यहोवाको स्वर सुनेर लाभ उठाउनुहोस्‌

१७. यसैया ३०:२१ अनुसार आज यहोवा हामीसित कसरी कुरा गर्नुहुन्छ?

१७ यहोवा आज पनि हामीसित कुरा गर्दै हुनुहुन्छ। (यसैया ३०:२१ पढ्‌नुहोस्‌) हुनत यहोवा हामीसित स्वर्गबाट बोल्नुहुन्‍न। तर उहाँले आफ्नो लिखित वचन बाइबल दिनुभएको छ, जसमार्फत उहाँ हामीलाई निर्देशनहरू दिनुहुन्छ। साथै आफ्ना सेवकहरूलाई भोजन दिइरहन यहोवा आफ्नो पवित्र शक्‍तिद्वारा “विश्‍वासी र बुद्धिमान्‌ भण्डारे”-लाई उत्प्रेरित गर्नुहुन्छ। (लुका १२:४२) हामीले छापिएको र अनलाइन सामग्री, भिडियो र श्रव्य प्रकाशनहरूमार्फत प्रशस्तगरि आध्यात्मिक भोजन पाइरहेका छौँ।

१८. यहोवाको वचनले कसरी तपाईँको विश्‍वास बलियो बनाउँछ र तपाईँलाई साहस दिन्छ?

१८ आफ्नो छोरा पृथ्वीमा हुनुहुँदा यहोवाले भन्‍नुभएको कुरा सधैँ मनमा राखौँ। बाइबलमा रेकर्ड गरिएको परमेश्‍वरको वचनले सबै कुरा यहोवाको नियन्त्रणमा छ अनि सैतान र त्यसको दुष्ट संसारले हामीमाथि पुऱ्‍याएको जुनसुकै हानिलाई उहाँले सच्याउन सक्नुहुन्छ भन्‍ने कुरामा हामीलाई विश्‍वस्त बनाओस्‌। साथै यहोवाको स्वर ध्यान दिएर सुन्‍न हामी कटिबद्ध हुन सकौँ। यसो गऱ्‍यौँ भने हामीले अहिले भोगिरहेको जुनसुकै समस्या सफलतापूर्वक सहन र भविष्यमा आइपर्ने जस्तोसुकै चुनौती सामना गर्न सक्नेछौँ। बाइबल हामीलाई यसो भन्छ: “तिमीहरू सहनशील हुनु आवश्‍यक छ किनकि परमेश्‍वरको इच्छा पूरा गरिसकेपछि तिमीहरूले त्यो कुरा पाउन सक्नेछौ, जसको विषयमा उहाँले प्रतिज्ञा गर्नुभएको छ।”—हिब्रू १०:३६.

गीत ४ “यहोवा मेरो गोठालो हुनुहुन्छ”

^ अनु. 5 येसु पृथ्वीमा हुनुहुँदा यहोवा तीन पटक स्वर्गबाट बोल्नुभयो। एक पटकचाहिँ यहोवाले ख्रिष्टका चेलाहरूलाई उनको कुरा सुन्‍न आग्रह गर्नुभयो। आज यहोवा आफ्नो लिखित वचनमार्फत हामीसित कुरा गर्नुहुन्छ, जसमा येसुको शिक्षा पनि समावेश छ। साथै यहोवा आफ्नो सङ्‌गठनमार्फत पनि हामीसित कुरा गर्नुहुन्छ। यहोवा र येसुको कुरा सुन्यौँ भने हामीलाई कस्तो लाभ हुन्छ, त्यसबारे यस लेखमा छलफल गर्नेछौँ।

^ अनु. 52 चित्रको व्याख्या: एक जना एल्डर सहायक सेवकले राज्यभवनको सरसफाइ गरिरहेको र साहित्य काउन्टरमा काम गरिरहेको याद गर्छन्‌। एल्डरले मनैदेखि तिनको प्रशंसा गर्छन्‌।

^ अनु. 54 चित्रको व्याख्या: सियरा लियोनमा एक दम्पतीले मछुवालाई सभाको निम्तो दिन्छन्‌।

^ अनु. 56 चित्रको व्याख्या: हाम्रो गतिविधिमा प्रतिबन्ध लगाइएको एउटा देशमा साक्षीहरू निजी घरमा भेला हुन्छन्‌। अरूको ध्यान आकर्षण नहोस्‌ भनेर तिनीहरूले अनौपचारिक लुगा लगाएका छन्‌।