सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा तपाईँको “आमिन”-को मोल गर्नुहुन्छ

यहोवा तपाईँको “आमिन”-को मोल गर्नुहुन्छ

यहोवा हामीले चढाउने उपासनाको मोल गर्नुहुन्छ। उहाँले आफ्ना सेवकहरूको कुरा ‘ध्यान दिएर सुनिरहनुभएको छ’ अनि उहाँको प्रशंसा गर्न हामीले गर्ने सानोभन्दा सानो कामको पनि उहाँ मोल गर्नुहुन्छ। (मला. ३:१६) उदाहरणको लागि, एउटा शब्दबारे विचार गरौँ, जुन हामीले कैयौँ पटक चलाइसकेका छौँ होला। त्यो हो, “आमिन।” के यहोवाले त्यो साधारण शब्दको समेत मोल गर्नुहुन्छ? पक्कै पनि! तर किन? यसको कारण बुझ्नुअघि यो शब्दको अर्थ के हो र बाइबलमा यो शब्द कसरी प्रयोग गरिएको छ, त्यो बुझौँ।

“तब सबैले ‘आमिन!’ भनून्‌”

“आमिन”-को अर्थ हो, “यस्तै होस्‌” वा “पक्कै पनि।” यसको लागि हिब्रू भाषामा चलाइएको मूल शब्दको अर्थ हो, “भरोसायोग्य हुनु,” “विश्‍वासयोग्य हुनु।” यो शब्द कहिलेकाहीँ कानुनी मामिलामा चलाइन्थ्यो। कुनै व्यक्‍तिले शपथ खाएपछि तिनी आफूले भनेको कुरा सही हो र त्यसको नतिजा जस्तो भए पनि त्यो स्विकार्छु भनेर देखाउन “आमिन” भन्‍ने गर्थे। (गन्ती ५:२२) त्यसरी जनसमक्ष “आमिन” भन्दा तिनले आफ्नो वचन पूरा गर्ने थप उत्प्रेरणा पाउँथे।—नहे. ५:१३.

“आमिन” भन्‍ने शब्द चलाइएको एउटा रोचक विवरण व्यवस्था अध्याय २७ मा पाउँछौँ। प्रतिज्ञा गरिएको देशमा प्रवेश गरेपछि इस्राएलीहरू व्यवस्थामा लेखिएका कुराहरू सुन्‍न एबाल डाँडा र गिरिज्जिम डाँडाको बीचमा भेला भए। तिनीहरू त्यहाँ व्यवस्था सुन्‍न मात्र होइन, त्यसमा लेखिएका कुराहरू पालन गर्नेछु भनेर घोषणा गर्न भेला भएका थिए। व्यवस्थामा लेखिएका कुराहरू पालन नगर्दा भोग्नुपर्ने नतिजाबारे सुनाइँदा तिनीहरू सबैले “आमिन!” भने। (व्यव. २७:१५-२६) हजारौँ-हजार पुरुष, स्त्री तथा केटाकेटीले ठूलो स्वरमा एकै चोटि “आमिन” भनेर जवाफ दिँदा तिनीहरूको आवाज कत्ति गुन्जियो होला, कल्पना गर्नुहोस्‌ त! (यहो. ८:३०-३५) ती इस्राएलीहरूले पक्कै पनि त्यस दिन आफूले भनेको कुरा कहिल्यै बिर्सेनन्‌। अनि तिनीहरूले आफ्नो वचन पूरा पनि गरे किनकि बाइबल यसो भन्छ: “इस्राएलीहरूले यहोसु बाँचुन्जेल यहोवा परमेश्‍वरको सेवा गरिरहे। साथै तिनीहरूले ती नाइकेहरू बाँचुन्जेल पनि उहाँको सेवा गरिरहे, जो यहोसुको मृत्युपछि पनि जीवितै थिए र जसले यहोवा परमेश्‍वरले इस्राएलीहरूको खातिर गर्नुभएको सबै काम देखेका थिए।”—यहो. २४:३१.

येसुले पनि आफूले भनेको कुरा सत्य हो भनेर देखाउन “आमिन” शब्द प्रयोग गर्नुभयो तर उहाँले त्यो शब्द अलि फरक तरिकामा चलाउनुभयो। कसैले भनेको कुराको जवाफस्वरूप नभई कुनै सत्य बताउनुअघि उहाँले “आमिन” (नेपालीमा “साँच्चै” वा “साँचो-साँचो” भनेर अनुवाद गरिएको छ) शब्द प्रयोग गर्नुभयो। कहिलेकाहीँ उहाँले यो शब्द दोहोऱ्‍याउँदै “आमिन, आमिन” भन्‍नुभयो। (मत्ति ५:१८; युह. १:५१) आफूले भन्‍न लागेको कुरा पूर्णतया सत्य हो भनेर यसरी उहाँले श्रोताहरूलाई विश्‍वस्त पार्नुभयो। येसु त्यसरी पक्का भएर बोल्न सक्नुभयो किनकि परमेश्‍वरले आफ्ना सबै प्रतिज्ञा पूरा गर्न उहाँलाई नै नियुक्‍त गर्नुभएको छ।—२ कोरि. १:२०; प्रका. ३:१४.

“सबै मानिसले भने, ‘आमिन!’ अनि तिनीहरूले यहोवा परमेश्‍वरको प्रशंसा गरे”

इस्राएलीहरूले यहोवाको प्रशंसा गर्दा र उहाँलाई प्रार्थना चढाउँदा पनि “आमिन” भन्‍ने गर्थे। (नहे. ८:६; भज. ४१:१३) एक जनाले प्रार्थना गरेपछि बाँकी अरूले “आमिन” भन्दा तिनीहरूले प्रार्थनामा भनिएको कुरामा सहमति जनाइरहेका हुन्थे। यसरी उपस्थित सबै प्रार्थनामा सहभागी हुन सक्थे र एकसाथ यहोवाको उपासना गर्दा तिनीहरू आनन्दित हुन्थे। राजा दाउदले यहोवाको सन्दुक यरुसलेम ल्याउँदा पनि त्यस्तै भएको थियो। त्यस दिन आयोजना गरिएको उत्सवमा दाउदले मन छुने प्रार्थना चढाए, जुन प्रार्थना गीतको रूपमा रचिएको थियो। उक्‍त प्रार्थना १ इतिहास १६:८-३६ मा पाइन्छ। त्यहाँ उपस्थित भएकाहरू तिनको प्रार्थना सुनेर यत्ति प्रभावित भए कि ‘सबै मानिसले “आमिन!” भने अनि तिनीहरूले यहोवा परमेश्‍वरको प्रशंसा गरे।’ हो, तिनीहरूले यसरी एकसाथ जवाफ दिँदा त्यस दिनको रौनक झनै बढ्यो।

त्यसैगरि, प्रथम शताब्दीका ख्रिष्टियनहरूले पनि यहोवाको प्रशंसा गर्दा “आमिन” भन्थे। बाइबल लेखकहरूले आफ्ना पत्रहरूमा अक्सर यो शब्द प्रयोग गर्थे। (रोमी १:२५; १६:२७; १ पत्रु. ४:११) प्रकाशको किताबमा स्वर्गका अदृश्‍य प्राणीहरूले समेत “आमिन! याहको प्रशंसा गर!” भन्दै यहोवाको महिमा गरिरहेको कुरा उल्लेख गरिएको छ। (प्रका. १९:१, ४) सुरु-सुरुका ख्रिष्टियनहरूले पनि सभामा प्रार्थना चढाइसकेपछि अक्सर “आमिन” भन्‍ने गर्थे। (१ कोरि. १४:१६) तर यो तिनीहरूले कुनै विचारै नगरी दोहोऱ्‍याउने शब्द मात्र थिएन।

तपाईँको “आमिन” किन अर्थपूर्ण छ?

“आमिन” शब्द कसरी प्रयोग गरिन्थ्यो भनेर केलाउँदा प्रार्थनाको अन्तमा “आमिन” भन्‍नु कत्ति अर्थपूर्ण छ भनेर बुझ्न सक्यौँ। व्यक्‍तिगत प्रार्थनाको अन्तमा “आमिन” भन्दा आफूले प्रार्थनामा भनेको कुरा मनबाटै भनेको हुँ भनेर देखाइरहेका हुन्छौँ। अनि जनसमुदायमा गरिएको प्रार्थनाको अन्तमा मनमनै वा आवाज निकालेर “आमिन” भन्दा हामी प्रार्थनामा भनिएको कुरासित सहमत छौँ भनेर देखाइरहेका हुन्छौँ। हामीले “आमिन” भन्‍नु अन्य कस्ता कारणले पनि अर्थपूर्ण छ?

यहोवालाई उपासना चढाउँदा हामी सक्रिय र सचेत रहन्छौँ। प्रार्थना गर्दा हामी प्रार्थनामा भनिएको कुरामा सहमति जनाएर मात्र होइन, प्रार्थनाको दौडान आफ्नो व्यवहारद्वारा पनि यहोवालाई उपासना चढाउँछौँ। हाम्रो “आमिन”-लाई साँच्चै अर्थपूर्ण बनाउने हाम्रो भित्री चाहनाले हामीलाई प्रार्थना गर्दा सही मनोवृत्ति कायम गर्न र प्रार्थनामा ध्यान दिन मदत गर्छ।

हामी एकताबद्ध भएर यहोवाको उपासना गर्छौँ। जनसमुदायमा प्रार्थना गरिँदा हामी सबैले एउटै कुरामा ध्यान दिइरहेका हुन्छौँ। (प्रेषि. १:१४; १२:५) प्रार्थनाको अन्तमा सबै मिलेर मनैदेखि “आमिन” भन्दा हाम्रो एकता झनै मजबुत हुन्छ। ठूलो स्वरमा होस्‌ वा मनमनै, सबैले “आमिन” भन्दा यहोवाले हाम्रो बिन्ती पूरा गरिदिने थप कारण पाउनुहुनेछ।

हामीले “आमिन” भन्दा अरूसँगसँगै यहोवाको प्रशंसा गरिरहेका हुन्छौँ

हामी यहोवाको प्रशंसा गर्छौँ। यहोवाको उपासना गर्न हामीले गर्ने सानोभन्दा सानो कामसमेत यहोवाले याद गर्नुहुन्छ। (लुका २१:२, ३) उहाँ हाम्रो मनसाय बुझ्न र हाम्रो मनको कुरा पढ्‌न सक्नुहुन्छ। हामी सभाका कार्यक्रमहरू टेलिफोनमार्फत सुन्छौँ भने पनि हामीले भन्‍ने “आमिन” यहोवाले याद गर्नुहुन्छ। यसरी “आमिन” भन्दा सभामा उपस्थित सबैसित मिलेर यहोवालाई प्रशंसा चढाइरहेका हुन्छौँ।

हाम्रो “आमिन”-को कुनै मोल छैन जस्तो हामीलाई लाग्ला तर त्यस्तो होइन। बाइबलसम्बन्धी एउटा विश्‍वकोशअनुसार “यो एउटा शब्दद्वारा” परमेश्‍वरका सेवकहरूले “आफ्नो मनमा भएको विश्‍वस्तता, पूर्ण सहमति र तीव्र इच्छा” व्यक्‍त गर्छन्‌। हाम्रो प्रत्येक “आमिन”-ले यहोवालाई खुसी तुल्याओस्‌!—भज. १९:१४.