सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईँलाई थाह थियो?

के तपाईँलाई थाह थियो?

पुरातन समयमा समुद्री यात्राको लागि मानिसहरूले कसरी जहाज खोज्थे?

पावलको समयमा यात्रुहरू मात्र बोक्ने जहाजहरू अक्सर हुँदैनथे। यात्रुले आफू जान लागेको ठाउँतिर कुनै मालवाहक जहाज जाँदै छ कि भनेर खोज्नुपर्थ्यो र त्यो जहाज यात्रुहरू लैजान तयार छ कि भनेर सोध्नुपर्थ्यो। (प्रेषि. २१:२, ३) कुनै जहाज ठ्याक्कै आफू जान लागेको ठाउँसम्म पुग्दैन भने पनि ती यात्रु त्यो जहाजमा चढ्‌थे अनि तिनले त्यो जहाज रोकिने बन्दरगाहहरूमा आफ्नो गन्तव्यतिर जाने अर्को जहाज खोज्न सक्थे।—प्रेषि. २७:१-६.

मौसमले गर्दा बाह्रै महिना समुद्री यात्रा गर्न सम्भव हुँदैनथ्यो अनि यात्राको लागि जहाजहरूको कुनै निश्‍चित तालिका पनि हुँदैनथ्यो। तर नाविकहरूले प्रतिकूल मौसमबाहेक अर्को कारणले पनि यात्रा रोक्ने गर्थे। जस्तै: केही नाविकहरू जहाजको मस्तुल अड्याउने डोरीमा काग आएर करायो अथवा किनारामा क्षतिग्रस्त भएको जहाजको पार्टपुर्जा देख्यो भने त्यसलाई अपशकुन मान्थे र यात्रा गर्दैनथे। हावा उपयुक्‍त दिशातिर बहिरहेको छ भने नाविकहरू त्यही मौका छोपेर यात्रा थाल्थे। यात्रुहरू लैजाने जहाज भेट्टाएपछि त्यसमा यात्रा गर्न चाहनेहरू आफ्नो सरसामान लिएर बन्दरगाहनजिकै जान्थे अनि जहाज छुट्‌न लागेको जानकारी नआएसम्म त्यहीँ कुरेर बस्थे।

इतिहासकार लायोनेल क्यासन यसो भन्छन्‌: “रोमले मानिसहरूलाई राम्रो सेवा-सुविधा दिएको थियो, जसले गर्दा यात्रुहरू जहाजको खोजीमा यताउता भौँतारिनु पर्दैनथ्यो। रोमको बन्दरगाह टाइबर नदीको मुहानमा अवस्थित थियो। त्यहाँबाट नजिकै पर्ने ओस्टिया सहरमा विभिन्‍न कार्यालयहरू भएको एउटा ठूलो चोक थियो। त्यहाँ विभिन्‍न बन्दरगाहसम्म जाने मालवाहक जहाजहरूको काउन्टरहरू पनि थिए। जस्तै: नरबोन [अहिले फ्रान्समा अवस्थित] जाने मालवाहक जहाजहरूको एउटा काउन्टर, कारथेज [अहिले ट्युनिसियामा अवस्थित] जाने मालवाहक जहाजहरूको अर्को काउन्टर, . . . अनि अरू पनि थुप्रै काउन्टर थिए। यात्रुहरूले आफू जुन-जुन सहर भएर जाने हो, त्यही सहरहरूको काउन्टरमा गएर सोधपुछ गरे पुग्थ्यो।”

समुद्री यात्रा गर्दा यात्रुहरूको समय बच्थ्यो तर त्यस्तो यात्रा खतरनाक हुन्थ्यो। मिसनरी यात्राको दौडान पावल पनि केही पटक जहाज दुर्घटनामा परेका थिए।—२ कोरि. ११:२५.