सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २०

दुर्व्यवहारको सिकार भएकाहरूलाई सान्त्वना

दुर्व्यवहारको सिकार भएकाहरूलाई सान्त्वना

“सबै सान्त्वनाका परमेश्‍वर[ले] . . . हाम्रा सबै परीक्षामा सान्त्वना दिनुहुन्छ।”—२ कोरि. १:३, ४.

गीत १३४ छोराछोरी—यहोवाको नासो

परिचय *

१-२. (क) सान्त्वना पाउनु मानिसहरूको जन्मजात आवश्‍यकता हो र मानिसहरूसित सान्त्वना दिने क्षमता पनि छ भनेर कुन उदाहरणले देखाउँछ? (ख) केही केटाकेटीले कस्तो गहिरो चोट भोगेका हुन्छन्‌?

सान्त्वना पाउनु मानिसहरूको जन्मजात आवश्‍यकता हो र मानिसहरूसित सान्त्वना दिने अद्‌भुत क्षमता पनि छ। उदाहरणको लागि, सानो बच्चा खेल्दा लड्यो र घुँडामा चोट लाग्यो भने रुँदै आफ्नो ममी वा ड्याडीकहाँ दौडेर जान्छ। हुनत आमाबुबाले त्यो घाउ निको पारिदिन सक्दैनन्‌। तर बच्चालाई सान्त्वनाचाहिँ दिन सक्छन्‌। उनीहरूले आफ्नो बच्चालाई के भयो भनी सोध्लान्‌, आँसु पुछिदेलान्‌, मायालु शब्द बोलेर फकाउलान्‌ र सायद औषधी लगाइदेलान्‌ वा पट्टी बाँधिदेलान्‌। त्यसपछि बच्चा रुन छोड्‌छ र दुखाइ बिर्सेर फेरि खेल्नसमेत थाल्न सक्छ। पछि बिस्तारै त्यो चोट निको हुन्छ।

तर कहिलेकाहीँ भने केटाकेटीले त्योभन्दा अत्यन्तै गहिरो चोट भोग्छन्‌; कोही-कोही यौन दुर्व्यवहारको सिकार हुन्छन्‌। त्यस्तो दुर्व्यवहार एक चोटि वा वर्षौँको दौडान पटक-पटक गरिएको हुन सक्छ। जेहोस्‌, त्यस्तो दुर्व्यवहारले पुऱ्‍याएको गहिरो भावनात्मक पीडा वर्षौँसम्म रहिरहन सक्छ। कुनै-कुनै अवस्थामा त्यस्ता दुराचारीहरू पक्राउ पर्छन्‌ र सजाय भोग्छन्‌। अरू कतिपय अवस्थामा ती दुराचारीहरू सजायबाट उम्किएजस्तो देखिन सक्छ। तिनीहरूले तुरुन्तै सजाय पाइहाले तापनि यौन दुर्व्यवहारको सिकार भएकाहरूले भने वयस्क भइसक्दासम्म पनि पीडा भोगिरहेका हुन सक्छन्‌।

३. दोस्रो कोरिन्थी १:३, ४ मा बताइएअनुसार यहोवा के चाहनुहुन्छ? हामी कुन-कुन प्रश्‍नबारे छलफल गर्नेछौँ?

बाल्यकालमा यौन दुर्व्यवहारको सिकार भएका ख्रिष्टियनले अझै पनि भावनात्मक पीडा भोगिरहेका छन्‌ भने तिनको लागि कस्तो मदत उपलब्ध छ? (२ कोरिन्थी १:३, ४ पढ्‌नुहोस्‌) आफ्नो कुनै भेडालाई प्रेम र सान्त्वना चाहिएको बेला तिनले त्यो पाएको यहोवा चाहनुहुन्छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। त्यसैले आउनुहोस्‌, यी तीन वटा प्रश्‍नबारे छलफल गरौँ: (१) बाल्यकालमा यौन दुर्व्यवहारको सिकार भएकाहरूलाई किन सान्त्वना चाहिन सक्छ? (२) तिनीहरूलाई कसले सान्त्वना दिन सक्छन्‌? (३) हामी कसरी प्रभावकारी तरिकामा सान्त्वना दिन सक्छौँ?

सान्त्वना किन चाहिन्छ?

४-५. (क) केटाकेटीहरू वयस्कहरूभन्दा फरक हुन्छन्‌ भनेर बुझ्नु किन महत्त्वपूर्ण छ? (ख) यौन दुर्व्यवहारको सिकार भएको बच्चालाई अरूमाथि भरोसा गर्न किन गाह्रो हुन सक्छ?

बाल्यकालमा यौन दुर्व्यवहारको सिकार भएका केही वयस्कलाई वर्षौँपछिसम्म पनि सान्त्वना चाहिन सक्छ। किन? यसको कारण थाह पाउन केटाकेटीहरू वयस्कहरूभन्दा एकदमै फरक हुन्छन्‌ भनेर बुझ्नु आवश्‍यक छ। दुर्व्यवहारले केटाकेटीलाई अक्सर वयस्कहरूलाई भन्दा बेग्लै तरिकामा असर गरिरहेको हुन्छ। केही उदाहरण विचार गर्नुहोस्‌।

आफ्नो लालनपालन गर्ने व्यक्‍तिहरूसित घनिष्ठ सम्बन्ध गाँस्न पाउनु र तिनीहरूलाई भरोसा गर्न सक्ने वातावरणमा हुर्कन पाउनु केटाकेटीको लागि अत्यावश्‍यक छ। यस्तो बन्धन गाँस्दा केटाकेटीले सुरक्षित महसुस गर्छन्‌ र आफूलाई माया गर्ने अरू मानिसहरूलाई पनि भरोसा गर्न सिक्छन्‌। (भज. २२:९) तर दुःखको कुरा, प्रायजसो बाल यौन दुर्व्यवहार घरपरिवारमै हुने गर्छ। अनि प्रायजसो त्यस्तो दुर्व्यवहार गर्नेहरू परिवारको सदस्य, नजिकको आफन्त वा परिवारसित राम्रो चिनजान भएका व्यक्‍तिहरू नै हुन्छन्‌। यसरी आफूले भरोसा गरेको व्यक्‍तिले भरोसा तोड्‌दा उक्‍त बच्चालाई वर्षौँपछिसम्म पनि अरूमाथि भरोसा गर्न गाह्रो हुन्छ।

६. यौन दुर्व्यवहार किन क्रूर र घातक कुरा हो?

केटाकेटीहरू आफ्नो सुरक्षा आफैले गर्न सक्दैनन्‌। त्यसैले बाल यौन दुर्व्यवहार क्रूर र घातक कुरा हो। केटाकेटी शारीरिक, भावनात्मक वा मानसिक रूपमा हुर्केर विवाह र यौनसम्बन्धको अर्थ बुझ्न सक्ने उमेरको हुनुअगावै यौन दुर्व्यवहारको सिकार हुँदा त्यसले तिनीहरूलाई ठूलो हानि पुऱ्‍याउन सक्छ। त्यसले यौनप्रति, आफैप्रति वा आफूसित नजिक हुन खोज्ने जो-कोहीप्रति तिनीहरूको दृष्टिकोणलाई असाध्यै विकृत बनाइदिन सक्छ।

७. (क) यौन दुर्व्यवहार गर्ने व्यक्‍तिले केटाकेटीलाई किन सजिलै बहकाएर दुर्व्यवहार गर्न सक्छ? यौन दुर्व्यवहार गर्ने व्यक्‍तिले कस्ता झूटहरू बताउन सक्छ? (ख) यस्ता झूटहरूको परिणाम कस्तो हुन सक्छ?

केटाकेटीको सोच्ने, तर्क गर्ने वा खतरा देखेर त्यसबाट जोगिने क्षमता पूर्णतया विकास भइसकेको हुँदैन। (१ कोरि. १३:११) त्यसैले यौन दुर्व्यवहार गर्ने व्यक्‍तिले केटाकेटीलाई सजिलै बहकाएर दुर्व्यवहार गर्न सक्छ। तिनीहरूले बच्चालाई विभिन्‍न झूटो कुरा बताएर भ्रममा पार्छन्‌। जस्तै: यौन दुर्व्यवहारको सिकार हुनु उसकै दोष हो, दुर्व्यवहारबारे कसैलाई भन्‍नु हुँदैन, त्यसबारे अरूलाई बताए पनि कसैले पत्याउनेछैन अनि मदत पनि गर्नेछैन, वयस्क र बच्चाबीचको यौन क्रियाकलाप वास्तवमा साँचो मायाको स्वाभाविक अभिव्यक्‍ति हो। यस्ता झूटहरूले बच्चाको सोच्ने क्षमतालाई असर गर्छ र वर्षौँपछिसम्म पनि उसलाई भ्रममा पारिरहन सक्छ। यौन दुर्व्यवहारको सिकार भएको बच्चाले हुर्कँदै जाँदा आफ्नो जीवन बरबाद भएको, आफू बिटुलो भएको र कसैको प्रेम वा सान्त्वना पाउन अयोग्य भएको महसुस गर्न सक्छ।

८. पीडा भोगिरहेकाहरूलाई यहोवाले सान्त्वना दिन सक्नुहुन्छ भनेर हामी किन ढुक्क हुन सक्छौँ?

यहाँसम्म छलफल गरेको कुराबाट यौन दुर्व्यवहारले वर्षौँपछिसम्म रहने चोट पुऱ्‍याउँछ भन्‍नुको कारण बुझ्न सक्छौँ। यो जघन्य अपराध हो! बाल यौन दुर्व्यवहार संसारमा जताततै व्याप्त हुनु हामी अन्तको दिनमा बाँचिरहेका छौँ भन्‍ने सुस्पष्ट प्रमाण हो। किनकि अहिलेको समयमा धेरै जनासित ‘स्वाभाविक स्नेह छैन’ अनि “दुष्ट र जाली मानिसहरू झन्‌झन्‌ खराब हुँदै” गइरहेका छन्‌। (२ तिमो. ३:१-५, १३) सैतानका चालहरू साँच्चै दुष्ट छन्‌। अनि मानिसहरू पनि सैतानले चाहेकै तरिकामा चल्नु पक्कै दुःखलाग्दो कुरा हो। तर सैतान र त्यसको पछि लाग्नेहरूभन्दा यहोवा कता हो कता शक्‍तिशाली हुनुहुन्छ। यहोवालाई सैतानका कर्तुतहरूबारे सबै कुरा थाह छ। त्यसैले हामीले भोगिरहेको पीडा उहाँ राम्ररी बुझ्नुहुन्छ र हामीलाई चाहिने सान्त्वना दिन सक्नुहुन्छ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौँ। यहोवाको सेवक हुन पाउनु हाम्रो लागि ठूलो आशिष्‌को कुरा हो किनकि उहाँ “सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ। उहाँले हाम्रा सबै परीक्षामा सान्त्वना दिनुहुन्छ ताकि जुन सान्त्वना हामीले परमेश्‍वरबाट पाएका छौँ, त्यही सान्त्वनाद्वारा हामीले हरप्रकारका परीक्षामा परेकाहरूलाई सान्त्वना दिन सकौँ।” (२ कोरि. १:३, ४) तर यहोवाले सान्त्वना दिन कसलाई चलाउनुहुन्छ?

कसले सान्त्वना दिन सक्छन्‌?

९. भजन २७:१० मा पाइने दाउदका शब्दहरूअनुसार आफ्नै परिवारबाट त्यागिएकाहरूलाई यहोवा के गर्नुहुन्छ?

आमाबुबाले बेवास्ता गरेकोले दुर्व्यवहारको सिकार भएका वा आफ्नो नजिकको व्यक्‍तिबाट दुर्व्यवहार भोगेकाहरूलाई विशेषगरि सान्त्वना चाहिन सक्छ। भजनरचयिता दाउदलाई यहोवा सबैभन्दा भरोसायोग्य सान्त्वनादाता हुनुहुन्छ भनेर थाह थियो। (भजन २७:१० पढ्‌नुहोस्‌) आफूले माया गरेका व्यक्‍तिहरूबाट त्यागिएकाहरूलाई यहोवा अङ्‌गाल्नुहुन्छ भन्‍ने कुरामा दाउद विश्‍वस्त थिए। यहोवा कसरी त्यसो गर्नुहुन्छ? उहाँको सेवा गर्ने वफादार व्यक्‍तिहरूलाई चलाएर। हामीसँगै मिलेर यहोवाको सेवा गर्ने दाजुभाइ दिदीबहिनी हाम्रो आध्यात्मिक परिवार हुन्‌। उदाहरणको लागि, येसुले पनि आफूसँगै मिलेर यहोवाको सेवा गर्ने व्यक्‍तिहरूलाई आफ्नो दाजुभाइ, दिदीबहिनी र आमा भन्‍नुभयो।—मत्ति १२:४८-५०.

१०. एल्डरको रूपमा आफूले गरिरहेको कामलाई पावलले कसरी व्याख्या गरे?

१० ख्रिष्टियन मण्डली कसरी परिवारजस्तै हुन सक्छ भनेर देखाउने एउटा उदाहरण विचार गरौँ। प्रेषित पावल मेहनती र वफादार एल्डर थिए। तिनले राम्रो उदाहरण बसाले। अनि जसरी तिनले ख्रिष्टको अनुकरण गरेका थिए, त्यसैगरि अरूलाई पनि तिनको अनुकरण गर्न तिनले परमेश्‍वरको उत्प्रेरणा पाएर प्रोत्साहन दिन सके। (१ कोरि. ११:१) एल्डरको रूपमा आफूले गरिरहेको कामलाई एकचोटि पावलले कसरी व्याख्या गरे, विचार गर्नुहोस्‌: “जसरी दूध खुवाउने आमाले आफ्नो नवजात शिशुको स्याहारसुसार गर्छिन्‌, त्यसरी नै हामीले पनि तिमीहरूसित कोमल व्यवहार गऱ्‍यौँ।” (१ थिस्स. २:७) आज पनि वफादार एल्डरहरूले सान्त्वना चाहिएकाहरूलाई धर्मशास्त्रमा आधारित सान्त्वना दिँदा त्यसरी नै कोमल र दयालु तरिकामा बोल्न सक्छन्‌।

परिपक्व ख्रिष्टियन बहिनीहरूले अक्सर प्रभावकारी तरिकामा सान्त्वना दिन सक्छन्‌ (अनुच्छेद ११ हेर्नुहोस्‌) *

११. सान्त्वना दिन सक्ने एल्डरहरू मात्र होइनन्‌ भनेर केले देखाउँछ?

११ के दुर्व्यवहारको सिकार भएकाहरूलाई सान्त्वना दिन सक्ने एल्डरहरू मात्र हुन्‌? होइनन्‌। ‘एकअर्कालाई सान्त्वना दिइरहनु’ हामी प्रत्येकको जिम्मेवारी हो। (१ थिस्स. ४:१८) सान्त्वना चाहिएका बहिनीहरूको लागि खासगरि मण्डलीका परिपक्व बहिनीहरू सान्त्वनाको प्रभावकारी स्रोत हुन सक्छन्‌। रोचक कुरा त, आफ्नो बच्चालाई सान्त्वना दिने एउटी आमासित यहोवा परमेश्‍वरले आफूलाई तुलना गर्नुभएको छ। (यसै. ६६:१३) साथै बाइबलमा अत्यन्तै निराश भएकाहरूलाई सान्त्वना दिएका स्त्रीहरूबारे पनि चर्चा गरिएको छ। (अय्यु. ४२:११) भावनात्मक पीडासित सङ्‌घर्ष गरिरहेका बहिनीहरूलाई सान्त्वना दिने ख्रिष्टियन स्त्रीहरूलाई देख्दा यहोवा पक्कै खुसी हुनुहुन्छ। कुनै-कुनै अवस्थामा, पीडा सहिरहेकी बहिनीलाई भेटेर मदत दिन सक्नुहुन्छ कि भनेर कुनै परिपक्व बहिनीलाई एक वा दुई जना एल्डरले गोप्य रूपमा सोध्न सक्छन्‌। *

हामी कसरी सान्त्वना दिन सक्छौँ?

१२. हामी के गर्न चाहँदैनौँ?

१२ कुनै सङ्‌गी ख्रिष्टियनले गोप्य राख्न चाहेको कुराको हामी पक्कै पनि खोजीनिती गर्न चाहँदैनौँ। (१ थिस्स. ४:११) त्यसोभए जसलाई हाम्रो मदत र सान्त्वनाको आवश्‍यकता छ र जो ती स्विकार्न चाहन्छन्‌, तिनलाई हामी कसरी मदत दिन सक्छौँ? अब हामी सान्त्वना दिने पाँच वटा तरिका बाइबलबाट विचार गरौँ।

१३. पहिलो राजा १९:५-८ अनुसार यहोवाका स्वर्गदूतले एलियाको लागि के गरिदिए? हामी कसरी ती स्वर्गदूतको अनुकरण गर्न सक्छौँ?

१३ व्यावहारिक मदत दिनुहोस्‌। भविष्यवक्‍ता एलिया आफ्नो ज्यान बचाउन भागिरहेको बेला तिनी यत्ति निराश भए कि तिनले मर्न पाए हुन्थ्यो समेत भने। तर तिनलाई भेट्‌न परमेश्‍वरले एक शक्‍तिशाली स्वर्गदूतलाई पठाउनुभयो। स्वर्गदूतले तिनलाई निकै व्यावहारिक मदत दिए। उनले एलियालाई तातो रोटी दिए र त्यो खान दयालुपूर्वक आग्रह गरे। (१ राजा १९:५-८ पढ्‌नुहोस्‌) यस विवरणबाट हामी यो महत्त्वपूर्ण सत्य थाह पाउन सक्छौँ: कहिलेकाहीँ कसैको निम्ति दयालु हुँदै कुनै साधारण काम गरिदिँदा त्यसले निकै मदत पुऱ्‍याउन सक्छ। जस्तै, निरुत्साहित भएका कुनै भाइ वा बहिनीलाई खाना खान बोलाउँदा, सानो उपहार दिँदा वा कार्डमा केही लेखेर दिँदा तिनले हाम्रो माया र चासो महसुस गर्नेछन्‌। यदि हामीलाई तिनको नितान्त व्यक्‍तिगत वा पीडादायी अनुभवबारे कुरा गर्न गाह्रो लाग्छ भने पनि यस्ता व्यावहारिक मदत दिन सक्छौँ।

१४. एलियाको विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

१४ निरुत्साहित भएकाहरूलाई सुरक्षित र सजिलो महसुस गराउनुहोस्‌। एलियाको विवरणबाट हामी अर्को पाठ पनि सिक्न सक्छौँ। यहोवाले ती भविष्यवक्‍तालाई लामो यात्रा गरेर होरेब डाँडासम्म पुग्न चमत्कारपूर्ण ढङ्‌गमा मदत दिनुभयो। यहोवाले सयौँ वर्षअघि आफ्ना मानिसहरूसित करार गर्नुभएको त्यो एकलास ठाउँमा पुगेपछि एलियाले सायद सुरक्षित महसुस गरे। तिनलाई आफ्नो ज्यान लिन चाहनेहरूको हातबाट बल्ल उम्केँ जस्तो लागेको हुन सक्छ। यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? दुर्व्यवहारको सिकार भएको कसैलाई सान्त्वना दिन चाहन्छौँ भने सबैभन्दा पहिला त हामीले तिनलाई सुरक्षित महसुस गराउनुपर्छ। उदाहरणको लागि, निरुत्साहित भएकी कुनै बहिनीले राज्यभवनमा भन्दा घरमै आनन्दले चिया खाँदै कुरा गर्दा सायद सुरक्षित र सजिलो महसुस गर्नेछिन्‌ भन्‍ने कुरा एल्डरहरूले मनमा राख्नुपर्छ। तर अरू कसैलाई भने राज्यभवनमै कुरा गर्न सजिलो लाग्न सक्छ।

धीरजी भई सुनेर, व्यग्र प्रार्थना गरेर अनि सान्त्वनादायी शब्दहरू छानेर हामी भावनात्मक चोट सहिरहेकाहरूलाई निको पार्न सक्छौँ (अनुच्छेद १५-२० हेर्नुहोस्‌) *

१५-१६. ध्यान दिएर सुन्‍नु भनेको के हो?

१५ ध्यान दिएर सुन्‍नुहोस्‌। बाइबल हामीलाई यस्तो स्पष्ट सुझाव दिन्छ: “हरेक मानिस सुन्‍नलाई सधैँ तयार हुनुपर्छ, बोल्न हतार गर्नु हुँदैन।” (याकु. १:१९) के तपाईँ अरूको कुरा ध्यान दिएर सुन्‍नुहुन्छ? हामीलाई कसैको कुरा सुन्‍नु भनेको उसले केही भनिरहेको बेला उसलाई हेरिरहनु वा केही नभनी चुपचाप बसिरहनु हो जस्तो लाग्न सक्छ। तर ध्यान दिएर सुन्‍नु भनेको त्यति मात्र होइन। जस्तै, एलियाले बल्लतल्ल आफ्नो मनको पीडा पोखाउँदा यहोवाले तिनको कुरा साँच्चै सुन्‍नुभयो। एलिया डराएका थिए, तिनले एक्लो महसुस गरिरहेका थिए र तिनलाई आफ्नो सबै प्रयास बालुवामा पानी हालेसरह भयो जस्तो लागिरहेको थियो भन्‍ने कुरा यहोवाले राम्ररी बुझ्नुभयो। यस्ता भावनाहरू हटाउन यहोवाले तिनलाई मायालु तरिकामा मदत गर्नुभयो। हो, उहाँले एलियाको कुरा साँच्चै सुन्‍नुभयो।—१ राजा १९:९-११, १५-१८.

१६ अरूको कुरा सुन्दा हामी कसरी सहानुभूति र कोमल करुणा देखाएर तिनीप्रतिको प्रेम झल्काउन सक्छौँ? कहिलेकाहीँ राम्ररी सोचविचार गरेर केही सान्त्वनादायी शब्दहरू बोलिदिँदा त्यसमा हाम्रो भावना झल्कन सक्छ। तपाईँ यसो भन्‍न सक्नुहुन्छ: “तपाईँको कुरा सुनेर साह्रै दुःख लाग्यो! बच्चाहरूसित त्यस्तो व्यवहार गर्नु बिलकुलै गलत कुरा हो!” पीडा भोगिरहेको साथीले बताएको कुरा आफूले साँच्चै बुझेको छु भनेर पक्का गर्न सायद एक-दुइटा प्रश्‍न सोध्न सक्नुहुन्छ। जस्तै: “तपाईँले भन्‍न खोज्नुभएको कुरा मलाई अझ बुझाइदिन सक्नुहुन्छ कि?” अथवा “तपाईँले भन्‍न खोज्नुभएको कुरा यस्तो हो जस्तो मलाई लाग्यो . . . के मैले बुझेको कुरा सही हो?” मायालु ढङ्‌गमा यस्ता प्रश्‍नहरू सोध्दा तपाईँले साँच्चै ध्यान दिएर सुन्दै हुनुहुन्छ र तिनले भन्‍न खोजेको कुरा बुझ्न प्रयास गर्दै हुनुहुन्छ भनेर तिनी ढुक्क हुन सक्नेछन्‌।—१ कोरि. १३:४, ७.

१७. हामी किन धीरजी हुनुपर्छ र “बोल्न हतार गर्नु हुँदैन”?

१७ तर याद गर्नुहोस्‌, हामीले “बोल्न हतार गर्नु हुँदैन।” तिनले आफ्नो कुरा बताइरहेको बेला सल्लाह दिन वा तिनको सोचाइलाई सच्याउन बीचैमा कुरा नकाट्‌नुहोस्‌। बरु धीरजी हुनुहोस्‌! एलिया अत्यन्तै विचलित र दुःखी भएको हुँदा तिनले कडा शब्दहरू प्रयोग गरेर यहोवालाई आफ्नो मनको पीडा पोखाए। पछि यहोवाले एलियाको विश्‍वासलाई बलियो बनाइसक्नुभएपछि तिनले आफ्ना भावनाहरू फेरि पोखाए र यसपालि पनि पहिलेकै शब्दहरू दोहोऱ्‍याए। (१ राजा १९:९, १०, १३, १४) यसबाट हामी कस्तो पाठ सिक्छौँ? पीडा भोगिरहेका व्यक्‍तिहरूले कहिलेकाहीँ आफ्ना भावनाहरू दोहोऱ्‍याइ-तेहेऱ्‍याइ बताउन सक्छन्‌। यहोवाले जस्तै हामीले पनि धीरजी भएर तिनीहरूको कुरा सुन्‍नुपर्छ। समस्याको समाधान कसरी गर्ने भनेर बताउन खोज्नुको साटो तिनीहरूलाई सहानुभूति र कोमल करुणा देखाउनुपर्छ।—१ पत्रु. ३:८.

१८. पीडा भोगिरहेकाहरूलाई हाम्रा प्रार्थनाहरूले कसरी सान्त्वना दिन सक्छ?

१८ पीडा भोगिरहेको व्यक्‍तिसँगै व्यग्र प्रार्थना गर्नुहोस्‌। असाध्यै निराश भएकाहरूले प्रार्थना गर्न पनि नसकेको महसुस गर्न सक्छन्‌। तिनले यहोवालाई पुकार्न आफू अयोग्य छु जस्तो महसुस गर्न सक्छन्‌। त्यस्तो व्यक्‍तिलाई सान्त्वना दिन चाहन्छौँ भने तिनीसँगै बसेर तिनको नामै लिएर प्रार्थना गर्न सक्छौँ। ती निराश भएका व्यक्‍ति हाम्रो लागि अनि मण्डलीको लागि कत्ति प्रिय छन्‌ भनेर यहोवालाई प्रार्थनामा व्यक्‍त गर्न सक्छौँ। आफ्नो त्यस बहुमूल्य भेडालाई ढाडस र सान्त्वना दिनुहोस्‌ भनेर यहोवासित बिन्ती गर्न सक्छौँ। यस्ता प्रार्थनाहरूले तिनलाई साँच्चै सान्त्वना दिन सक्छ।—याकु. ५:१६.

१९. कसैलाई सान्त्वना दिन हामी कस्तो तयारी गर्न सक्छौँ?

१९ निको पार्ने र सान्त्वना दिने शब्दहरू छान्‍नुहोस्‌। सोचविचार गरेर मात्र बोल्नुहोस्‌। सोचविचार नगरी बोल्दा त्यसले तरबारले झैँ घोच्छ। तर दयालु शब्दहरूले निको पार्छ। (हितो. १२:१८) त्यसैले दयालु, सान्त्वनादायी र ढाडस दिने शब्दहरू बोल्न सकूँ भनेर यहोवासित प्रार्थनामा मदत माग्नुहोस्‌। अरूलाई सान्त्वना दिन बाइबलमा पाइने यहोवाका आफ्नै शब्दहरूभन्दा प्रभावकारी शब्दहरू अरू छैनन्‌ भनेर कहिल्यै नबिर्सनुहोस्‌।—हिब्रू ४:१२.

२०. आफूले भोगेका दुःखद अनुभवहरूले गर्दा कसै-कसैले कस्तो महसुस गर्न सक्छन्‌? हामीले तिनीहरूलाई कुन कुरा सम्झाउनुपर्छ?

२० विगतमा यौन दुर्व्यवहार भोगेकाहरूमध्ये कसै-कसैलाई आफैदेखि घिन लाग्न सक्छ अनि आफू मूल्यहीन छु, आफूलाई कसैले माया गर्दैन र कसैको माया पाउन लायकको पनि छैनँ जस्तो महसुस हुन सक्छ। यही नै वास्तविकता हो जस्तो तिनीहरूलाई लाग्न सक्छ तर यो सरासर झूट हो! त्यसैले यहोवाको नजरमा तिनीहरू असाध्यै बहुमूल्य छन्‌ भनेर सम्झाउन बाइबल प्रयोग गर्नुहोस्‌। (“ बाइबलबाट सान्त्वना” भन्‍ने पेटी हेर्नुहोस्‌) भविष्यवक्‍ता दानिएल कमजोर र निराश भएको बेला एक जना स्वर्गदूतले तिनलाई मायालु तरिकामा बलियो पारेको विवरण सम्झनुहोस्‌ त! यी अतिप्रिय मानिस दानिएलले आफू यहोवाको नजरमा बहुमूल्य छु भन्‍ने कुरा बुझेको यहोवा चाहनुहुन्थ्यो। (दानि. १०:२, ११, १९) त्यसरी नै, पीडा भोगिरहेका हाम्रा भाइबहिनी पनि यहोवाको नजरमा बहुमूल्य छन्‌!

२१. गलत काम गरेर पश्‍चात्ताप नगर्नेहरूलाई के हुनेछ? तर त्यतिन्जेल हामी सबैले के गर्ने सङ्‌कल्प गर्नुपर्छ?

२१ अरूलाई सान्त्वना दिँदा हामीले तिनीहरूलाई यहोवाको प्रेमबारे सम्झाइरहेका हुन्छौँ। यहोवा न्यायी परमेश्‍वर हुनुहुन्छ भनेर पनि हामीले कहिल्यै बिर्सनु हुँदैन। यहोवाको नजरबाट कुनै पनि दुर्व्यवहार लुक्न सक्दैन। यहोवा सबै कुरा देख्नुहुन्छ र गलत काम गरेर पश्‍चात्ताप नगर्नेहरूलाई उहाँले अवश्‍य सजाय दिनुहुनेछ। (गन्ती १४:१८) त्यतिन्जेल, दुर्व्यवहार भोगेकाहरूलाई माया देखाइरहन हामी सक्दो प्रयास गरिरहौँ। साथै सैतान र त्यसको संसारबाट दुर्व्यवहार भोगेकाहरूले पाएको चोटलाई यहोवाले सदाको लागि निको पार्नुहुनेछ भनेर थाह पाउनु कत्ति सान्त्वनादायी कुरा हो! चाँडै, यी सबै पीडादायी कुराहरू हाम्रो दिमाग वा मनमा कहिल्यै आउनेछैनन्‌।—यसै. ६५:१७.

गीत १०९ प्रगाढ प्रेम

^ अनु. 5 बाल्यकालमा यौन दुर्व्यवहारको सिकार भएकाहरूले वर्षौँपछिसम्म पनि सङ्‌घर्ष गरिरहेका हुन सक्छन्‌। त्यसको कारण बुझ्न यस लेखले हामीलाई मदत गर्नेछ। त्यस्ता व्यक्‍तिहरूलाई कसले सान्त्वना दिन सक्छन्‌ भनेर पनि हामी विचार गर्नेछौँ। अन्तमा, सान्त्वना दिने केही प्रभावकारी तरिकाबारे छलफल गर्नेछौँ।

^ अनु. 11 कुनै पेसेवर व्यक्‍तिको मदत लिने कि नलिने भन्‍ने कुरा दुर्व्यवहार भोग्ने व्यक्‍तिको आफ्नै निर्णय हो।

^ अनु. 76 चित्रको व्याख्या: एउटी परिपक्व बहिनीले भावनात्मक पीडा भोगिरहेकी बहिनीलाई सान्त्वना दिन्छिन्‌।

^ अनु. 78 चित्रको व्याख्या: दुई जना एल्डर पीडा भोगिरहेकी बहिनीलाई भेट्‌छन्‌। उनले परिपक्व बहिनीलाई पनि बोलाएकी छिन्‌।