सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सैतानको एउटा पासोबाट हामी आफूलाई कसरी जोगाउन सक्छौँ?

सैतानको एउटा पासोबाट हामी आफूलाई कसरी जोगाउन सक्छौँ?

पुरातन समयका इस्राएलीहरू यर्दन नदी तरेर परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको देशमा प्रवेश गर्नै लाग्दा केही आगन्तुकहरू आइपुगे। ती आगन्तुकहरू गैर-इस्राएली स्त्रीहरू थिए र उनीहरूले इस्राएली पुरुषहरूलाई एउटा भोजमा सामेल हुन निम्तो दिए। यसरी घुलमिल गर्नु रमाइलो जस्तो देखिन्थ्यो। नयाँ साथीहरू बनाउने, नाचगान गर्ने र मीठा-मीठा भोजन खाने कुरा अत्यन्तै आकर्षक देखिन्थ्यो। ती स्त्रीहरूको रहनसहन र नैतिक स्तर परमेश्‍वरले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थासित मेल खाँदैन थियो। तर केही इस्राएली पुरुषले यस्तो सोचेका हुन सक्छन्‌: ‘हामीलाई केही फरक पर्दैन। हामी होसियार हुनेछौँ।’

पछि के भयो? परमेश्‍वरको प्रेरणा पाएर लेखिएको विवरण यसो भन्छ: “इस्राएलका मानिसहरूले मोआबका स्त्रीहरूसित अवैध यौनसम्बन्ध राख्न थाले।” इस्राएली पुरुषहरूले झूटा देवताहरूलाई पुजून्‌ भन्‍ने ती स्त्रीहरूको चाहना थियो। अनि इस्राएलीहरूले वास्तवमा त्यसै गरे। त्यसैले “यहोवा परमेश्‍वर इस्राएलीहरूसित क्रोधित हुनुभयो।”—गन्ती २५:१-३.

ती इस्राएलीहरूले दुइटा तरिकामा परमेश्‍वरको व्यवस्था उल्लङ्‌घन गरे: तिनीहरूले मूर्तिहरूलाई दण्डवत्‌ गरे र अवैध यौनसम्बन्ध राखे। परमेश्‍वरप्रति अनाज्ञाकारी भएकोले हजारौँ मारिए। (प्रस्थ. २०:४, ५, १४; व्यव. १३:६-९) यो घटना अत्यन्तै दुःखदायी हुनुको अर्को कारण के थियो? घटना घटेको समय। ती पुरुषहरूले परमेश्‍वरको व्यवस्था उल्लङ्‌घन नगरेका भए ती हजारौँ इस्राएलीहरू यर्दन नदी तरेर परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको देशमा चाँडै प्रवेश गर्ने थिए।—गन्ती २५:५,.

यस घटनाबारे प्रेषित पावलले यस्तो लेखे: “तिनीहरूमाथि आइपरेका यी कुराहरू हाम्रो लागि उदाहरण हुन्‌ अनि युगहरूको अन्तमा बाँचिरहेका हामीहरूकै चेतावनीको निम्ति ती लेखिए।” (१ कोरि. १०:७-११) केही इस्राएलीहरू गम्भीर पापमा फसेको र त्यसले गर्दा तिनीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न नपाएको देख्दा सैतान खुसी भयो भन्‍ने कुरामा कुनै शङ्‌का छैन। यो चेतावनीलाई गम्भीरतापूर्वक लिनु साँच्चै बुद्धिमानी हो किनकि हामीलाई पनि नयाँ संसारमा प्रवेश गर्नदेखि रोक्न सफल भयो भने सैतान अत्यन्तै खुसी हुनेछ!

एउटा खतरनाक पासो

सैतानले परमेश्‍वरका उपासकहरूलाई आफ्नो पासोमा पार्न खोज्छ। अनि त्यसले यस्ता चालहरू चल्छ, जसमा त्यो खप्पिस छ र थुप्रैलाई पासोमा पार्न सफल भइसकेको छ। इस्राएलीहरूलाई पासोमा पार्न सैतानले अवैध यौनसम्बन्ध प्रयोग गरेको विवरण हामीले भर्खरै छलफल गऱ्‍यौँ। आज हाम्रो समयसम्म पनि अनैतिकता एउटा खतरनाक पासो साबित भएको छ। सैतानले हामीलाई अनैतिकताको पासोमा पार्ने एउटा प्रभावकारी माध्यम अश्‍लील सामग्री हो।

अहिले मानिसहरूले अरूले थाह नपाउने गरी अश्‍लील सामग्री हेर्न सक्छन्‌। वर्षौँअघिको कुरा गर्ने हो भने, अश्‍लील सामग्री हेर्न कामुक चलचित्रहरू देखाइने हलमै जानुपर्थ्यो वा अश्‍लील किताबहरू किन्‍न त्यस्ता किताबहरू बेच्ने पसलमै जानुपर्थ्यो। त्यस्तो ठाउँमा वा त्यसको छेउछाउमा देखिनु मात्र पनि लाजमर्दो कुरा भएकोले धेरैजसो मानिस त्यस्ता ठाउँहरूमा हतपती जाँदैन थिए। तर अहिले भने इन्टरनेटको सुविधा छ भने मानिसहरू काम गर्ने ठाउँमै वा गाडीमै बसेर अश्‍लील सामग्री हेर्न सक्छन्‌। अनि थुप्रै देशमा मानिसहरूले घरमै बसीबसी अश्‍लील सामग्री हेर्न सक्छन्‌।

त्यति मात्र कहाँ हो र! मोबाइल र ट्याबलेटजस्ता साधनहरूले गर्दा अश्‍लील सामग्री हेर्न झनै सजिलो भएको छ। मानिसहरूले बाटोमा हिँड्‌दै गर्दा अथवा बस वा रेलमा यात्रा गर्दै गर्दा हातैमा आफ्नो साधन बोकेर अश्‍लील सामग्री हेर्न सक्छन्‌।

अहिले अश्‍लील सामग्री सजिलैसँग र अरूले थाह नपाउने गरी हेर्न सकिने भएकोले त्यसले पहिलेभन्दा अझ व्यापक तवरमा मानिसहरूलाई हानि पुऱ्‍याइरहेको छ। अश्‍लील सामग्री हेरेकोले थुप्रैको वैवाहिक जीवन भताभुङ्‌ग भएको छ, थुप्रैले आत्मसम्मान गुमाएका छन्‌ अनि आफ्नो अन्तस्करणलाई बिटुलो पारेका छन्‌। अझ नराम्रो कुरा त, तिनीहरूले परमेश्‍वरसितको आफ्नो मित्रतालाई खतरामा पारेका छन्‌। अश्‍लील सामग्री हेर्नेहरूले ठूलो क्षति बेहोर्नुपर्छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। धेरैजसो अवस्थामा यसले गहिरो भावनात्मक चोट पुऱ्‍याउँछ। यस्तो चोट बिस्तारै निको त होला तर यसको खत भने वर्षौँसम्म रहिरहन सक्छ।

तर यहोवा हामीलाई सैतानको यस पासोबाट जोगाउन चाहनुहुन्छ भनेर हामीले बिर्सनु हुँदैन। यहोवाको सुरक्षा पाउने हो भने हामी पुरातन समयका इस्राएली पुरुषहरूजस्तो हुनु हुँदैन। बरु परमेश्‍वरले ‘भन्‍नुभएको सबै कुरा मान्‍नुपर्छ।’ (प्रस्थ. १९:५) हो, परमेश्‍वर अश्‍लील सामग्रीलाई अत्यन्तै घृणा गर्नुहुन्छ भनेर हामीले सधैँ सम्झनुपर्छ। किन?

अश्‍लील सामग्रीलाई यहोवाले जस्तै घृणा गर्नुहोस्‌

यो कुरा विचार गर्नुहोस्‌: परमेश्‍वरले इस्राएल राष्ट्रलाई दिनुभएको व्यवस्था त्यतिबेलाका अरू राष्ट्रहरूको नीतिनियमभन्दा एकदमै फरक थियो। परमेश्‍वरले दिनुभएको व्यवस्थाले एउटा पर्खालको जस्तो काम गऱ्‍यो; त्यसले इस्राएलीहरूलाई वरपरका राष्ट्रहरू र तिनीहरूको घिनलाग्दो जीवनशैलीबाट अलग्गै छुट्ट्यायो। (व्यव. ४:६-८) त्यस व्यवस्थाले यो महत्त्वपूर्ण सत्यलाई प्रस्ट पाऱ्‍यो: यहोवा अवैध यौनसम्बन्धलाई घृणा गर्नुहुन्छ।

वरपरका राष्ट्रहरूको घिनलाग्दो जीवनशैलीबारे बताउनुभएपछि यहोवाले इस्राएलीहरूलाई यसो भन्‍नुभयो: “मैले तिमीहरूलाई लैजान लागेको कनान देशका मानिसहरूले जसो गर्छन्‌, त्यसो पनि नगर्नू। . . . यस्ता कामहरू गरेकोले तिनीहरूको देश अशुद्ध भएको छ। त्यसैले म तिनीहरूलाई सजाय दिनेछु।” इस्राएलका पवित्र परमेश्‍वरको नजरमा कनानीहरूको जीवनशैली अत्यन्तै भ्रष्ट थियो। त्यसकारण तिनीहरू बसोबास गर्ने देश पनि अशुद्ध र बिटुलो भइसकेको थियो।—लेवी १८:३, २५.

हुनत यहोवाले कनानीहरूलाई सजाय दिनुभयो तर अरू मानिसहरूले अवैध यौनसम्बन्ध राख्न छोडेनन्‌। यो घटना भएको १,५०० वर्षपछि पावलले ख्रिष्टियनहरू “सबै नैतिक चेतना गुमाइसकेका” मानिसहरूको समाजमा बाँचिरहेका छन्‌ भनेर लेखे। ती मानिसहरूले “आफैलाई निर्लज्ज आचरणमा सुम्पे र हरकिसिमका अशुद्ध कामहरू गरिरहनुका साथै त्यसको लालसा गरे।” (एफि. ४:१७-१९) आज पनि थुप्रै मानिस निर्लज्ज भई अनैतिक गतिविधिमा भाग लिन्छन्‌। त्यसैले यस संसारमा व्याप्त अनैतिक कुराहरू नहेर्न साँचो उपासकहरूले यथासक्दो प्रयास गर्नुपर्छ।

अश्‍लील सामग्रीले परमेश्‍वरको घोर अनादर गर्छ। उहाँले मानिसहरूलाई उहाँकै स्वरूपमा, उहाँजस्तै सृष्टि गर्नुभयो अनि उहाँले हामीमा के सही र के गलत भनी छुट्ट्याउन सक्ने चेतना हालिदिनुभयो। परमेश्‍वरले मानिसहरूलाई यौनसम्बन्धको सीमा तोकिदिनु बुद्धिमानी थियो। मानिसहरूले वैवाहिक जीवनको सीमाभित्र रहेर यौनसम्बन्धको आनन्द उठाउन सक्ने थिए। (उत्प. १:२६-२८; हितो. ५:१८, १९) तर अश्‍लील सामग्री बनाउने वा त्यसलाई बढावा दिने मानिसहरूले वास्तवमा के गरिरहेका छन्‌? तिनीहरूले परमेश्‍वरको नैतिक स्तरको ठाडै उल्लङ्‌घन गरिरहेका छन्‌। हो, अश्‍लील सामग्रीलाई बढावा दिने मानिसहरूले यहोवाको घोर अनादर गर्छन्‌। अश्‍लील सामग्री बनाएर वा त्यसलाई बढावा दिएर यहोवाका स्तरहरूको बेवास्ता गर्नेहरूलाई उहाँले दण्ड दिनुहुनेछ।—रोमी १:२४-२७.

तर जानाजानी अश्‍लील सामग्री पढ्‌ने वा हेर्ने मानिसहरूबारे के भन्‍न सक्छौँ? कसै-कसैलाई त्यस्तो मनोरञ्जनले कुनै हानि पुऱ्‍याउँदैन जस्तो लाग्न सक्छ। तर तिनीहरूले वास्तवमा यहोवाका स्तरहरूको बेवास्ता गर्नेहरूलाई समर्थन गरिरहेका हुन्छन्‌। हुनत तिनीहरूले त्यस्तो मनसाय राखेर अश्‍लील सामग्री हेर्न थालेका थिएनन्‌ होला। जेहोस्‌ बाइबलले यो कुरा स्पष्ट पार्छ: साँचो परमेश्‍वरका उपासकहरूले अश्‍लील सामग्रीलाई घृणा गर्नै पर्छ। बाइबल हामीलाई यस्तो आग्रह गर्छ: “हे यहोवालाई प्रेम गर्नेहरू हो, खराब कुरालाई घृणा गर।”—भज. ९७:१०.

अश्‍लील सामग्री हेर्न नचाहनेहरूलाई पनि त्यस्ता कुराहरू नहेर्न सजिलो छैन। हामी त्रुटिपूर्ण छौँ र अनुचित यौन इच्छाहरूको प्रतिरोध गर्न हामीले सङ्‌घर्ष गर्नुपर्ने हुन सक्छ। त्यति मात्र होइन, हाम्रो छली हृदयले हामीलाई परमेश्‍वरको व्यवस्थाविपरीत चल्न उक्साउन सक्छ। (यर्मि. १७:९) तर यहोवाको साँचो उपासक बनेका थुप्रै यो सङ्‌घर्षमा विजयी भएका छन्‌। तपाईँ पनि यस्तै सङ्‌घर्ष गर्दै हुनुहुन्छ भने यो कुरा थाह पाउँदा प्रोत्साहन पाउन सक्नुहुन्छ। सैतानले बिछ्याएको अश्‍लील सामग्रीको पासोमा नफस्न परमेश्‍वरको वचनले तपाईँलाई कसरी मदत गर्न सक्छ, अब विचार गरौँ।

मनमा अनैतिक इच्छाहरू नखेलाउनुहोस्‌

माथि छलफल गरिएझैँ थुप्रै इस्राएलीले गलत इच्छालाई बढ्‌न दिए र परिणामस्वरूप तिनीहरूले गम्भीर पाप गरे। आज हामीलाई पनि त्यस्तै हुन सक्छ। यो खतरालाई येसुका भाइ याकुबले यसरी व्याख्या गरे: “हरेक मानिस आफ्नै तृष्णाद्वारा खिचिएर लोभमा फस्छ र परीक्षामा पर्छ। जब तृष्णा गर्भवती हुन्छ, तब त्यसले पापलाई जन्माउँछ।” (याकु. १:१४, १५) कुनै मानिसले आफ्नो मनमा अनुचित इच्छालाई बढ्‌न दियो भने पछि गएर उसले पाप गर्ने सम्भावना प्रबल हुन्छ। त्यसैले हामीले अनैतिक सोचाइलाई हटाइहाल्नुपर्छ, त्यस्ता इच्छाहरू मनमा खेलाइरहनु हुँदैन।

अशुद्ध कुराहरू मनमा आइरहेको छ भने तुरुन्तै कदम चालिहाल्नुहोस्‌। येसुले यसो भन्‍नुभयो: “यदि तिम्रो हात वा खुट्टाले तिमीलाई ठेस पुऱ्‍याउँछ भने त्यसलाई काटेर फालिदेऊ। . . . साथै यदि तिम्रो आँखाले तिमीलाई ठेस पुऱ्‍याउँछ भने त्यसलाई निकालेर फालिदेऊ।” (मत्ति १८:८, ९) येसुले यहाँ शरीरको कुनै अङ्‌गलाई साँच्चै काटेर फ्याँक्न सल्लाह दिइरहनुभएको थिएन। बरु उहाँले ठेस पुऱ्‍याउने कुरालाई हटाउन तुरुन्तै ठोस कदम चाल्नुपर्छ भन्‍ने कुरालाई उदाहरणसहित बुझाउँदै हुनुहुन्थ्यो। अश्‍लील सामग्रीको सन्दर्भमा हामी कसरी यो सल्लाह लागू गर्न सक्छौँ?

अश्‍लील सामग्रीमा आँखा परिहाल्यो भने यस्तो नसोच्नुहोस्‌, ‘मलाई केही फरक पर्दैन।’ बरु अर्कोतिर फर्किहाल्नुहोस्‌। टेलिभिजन बन्द गरिहाल्नुहोस्‌। कम्प्युटर वा मोबाइल तुरुन्तै बन्द गर्नुहोस्‌। असल कुरातर्फ ध्यान मोड्‌नुहोस्‌। यसो गर्नुभयो भने तपाईँले आफ्नो सोचाइलाई नियन्त्रणमा राख्न सक्नुहुनेछ अनि गलत इच्छाहरूले तपाईँलाई आफ्नो नियन्त्रणमा राख्न पाउनेछैन।

पहिला हेरेका अनैतिक दृश्‍यहरू दिमागमा आयो भने के गर्ने?

तपाईँले अश्‍लील सामग्री हेर्न चटक्कै छोडिसक्नुभयो तर पहिला हेरेका दृश्‍यहरू बेलाबेला दिमागमा आइरहन्छ भने नि? मानिसको दिमागमा अश्‍लील दृश्‍य वा सोचाइ लामो समयसम्म रहिरहन सक्छ। अनि आसै नगरेको समयमा ती दृश्‍यहरू झल्याँस्स आउन सक्छ। त्यसो भयो भने तपाईँलाई अशुद्ध कुरा गर्न सकसक लाग्न सक्छ; जस्तै, हस्तमैथुन गर्न। त्यसैले त्यस्ता कुइच्छाहरू आफ्नो दिमागमा अचानक आउन सक्छ भनेर सजग हुनुहोस्‌ अनि तीविरुद्ध सङ्‌घर्ष गर्न तयार रहनुहोस्‌।

आफ्नो सोचाइ र व्यवहारलाई परमेश्‍वरको इच्छाअनुरूप ढाल्ने सङ्‌कल्पलाई बलियो बनाउनुहोस्‌। प्रेषित पावलजस्तै हुनुहोस्‌, जो ‘आफ्नो शरीरलाई कुट्‌न, पिट्‌न र त्यसलाई दास बनाएर राख्न’ तयार थिए। (१ कोरि. ९:२७) आफूलाई गलत इच्छाहरूको वशमा पर्न नदिनुहोस्‌। बरु बाइबलको यो सल्लाह पालन गर्नुहोस्‌: “आफ्नो सोचाइ नयाँ बनाओ ताकि तिमीहरूमा पूरै परिवर्तन आओस्‌। तब तिमीहरूले परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के रहेछ भनी राम्ररी थाह पाउन सक्नेछौ।” (रोमी १२:२) यो कुरा नबिर्सनुहोस्‌: पापी इच्छाहरूको वशमा पर्नुभन्दा परमेश्‍वरको इच्छाअनुरूप सोच्नु र त्यसैअनुसार व्यवहार गर्नु कता हो कता सन्तोषजनक हुन्छ।

पापी इच्छाहरूको वशमा पर्नुभन्दा परमेश्‍वरको इच्छाअनुरूप सोच्नु र त्यसैअनुसार व्यवहार गर्नु कता हो कता सन्तोषजनक हुन्छ

केही बाइबल पदहरू कण्ठ पार्ने कोसिस गर्नुहोस्‌। अनि दिमागमा गलत सोचाइहरू आयो भने ती बाइबल पदहरूबारे सोच्न हरप्रयास गर्नुहोस्‌। भजन ११९:३७; यसैया ५२:११; मत्ति ५:२८; एफिसी ५:३; कलस्सी ३:५ र १ थिस्सलोनिकी ४:४-८ जस्ता पदहरूले अश्‍लील सामग्रीको सन्दर्भमा यहोवाको जस्तै दृष्टिकोण राख्न र उहाँ तपाईँले के गरेको चाहनुहुन्छ भनेर बुझ्न मदत गर्नेछ।

तर कहिलेकाहीँ अनैतिक कुराहरू हेर्ने वा सोच्ने इच्छालाई रोक्नै सक्दिनँ जस्तो लाग्यो भने के गर्ने? त्यस्तो बेला हाम्रो उत्कृष्ट उदाहरण येसुको पाइला राम्ररी पछ्याउनुहोस्‌। (१ पत्रु. २:२१) येसुले बप्तिस्मा गर्नुभएपछि सैतानले उहाँलाई पटक-पटक प्रलोभनमा पार्न खोज्यो। येसुले के गर्नुभयो? उहाँले हरेक चोटि त्यसको प्रतिरोध गर्नुभयो। एकपछि अर्को शास्त्रपद चलाउँदै उहाँले सैतानका प्रलोभनहरूलाई तिरस्कार गर्नुभयो। उहाँले यसो भन्‍नुभयो: “ए सैतान, पर गइहाल्‌!” त्यसपछि सैतानले उहाँलाई छोडेर गयो। येसुले दियाबलको प्रलोभनको प्रतिरोध गर्न कहिल्यै हार मान्‍नुभएन; तपाईँले पनि कहिल्यै हार मान्‍नु हुँदैन। (मत्ति ४:१-११) सैतान र त्यसको संसारले तपाईँको दिमागमा अनैतिक सोचाइहरू भर्न कोसिस गरिरहनेछ तर कहिल्यै हार नमान्‍नुहोस्‌। अश्‍लील सामग्री हेर्ने प्रलोभनविरुद्धको लडाइँमा तपाईँ विजयी हुन सक्नुहुन्छ। यहोवाको मदतले तपाईँ त्यस्तो कुइच्छालाई काबुमा राख्न सक्नुहुन्छ।

यहोवालाई प्रार्थना गर्नुहोस्‌ र उहाँको आज्ञा पालन गर्नुहोस्‌

यहोवालाई निरन्तर प्रार्थना गरेर उहाँमै भर पर्नुहोस्‌। पावलले यसो भने: “आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर। तब परमेश्‍वरको शान्ति, जुन मानिसको समझभन्दा बाहिरको छ, त्यसले ख्रिष्ट येसुद्वारा तिमीहरूको हृदय र सोच्ने क्षमताको रक्षा गर्नेछ।” (फिलि. ४:६, ७) परमेश्‍वरको शान्तिले तपाईँलाई गलत कुरा गर्ने प्रलोभनलाई तिरस्कार गर्न मदत गर्नेछ। तपाईँ यहोवासित नजिक हुनुभयो भने ‘उहाँ तपाईँसित नजिक हुनुहुनेछ।’—याकु. ४:८.

जस्तोसुकै खतरा आइपर्दा हाम्रो लागि सबैभन्दा राम्रो सुरक्षा भनेको ब्रह्‍माण्डका मालिक यहोवासित नजिक हुनु हो। येसुले यसो भन्‍नुभयो: “यस संसारको शासक [सैतान] आउँदै छ र त्यसले ममाथि कुनै नियन्त्रण जमाउन सक्दैन।” (युह. १४:३०) येसु किन यत्तिको ढुक्क हुन सक्नुभयो? उहाँले एकचोटि यसो भन्‍नुभयो: “मलाई पठाउनुहुने मसँगै हुनुहुन्छ; उहाँले मलाई एक्लै छोड्‌नुभएको छैन किनकि म सधैँ उहाँलाई मन पर्ने कामहरू गर्छु।” (युह. ८:२९) अश्‍लील सामग्रीको पासोमा नपर्नुहोस्‌ र सैतानले तपाईँमाथि कुनै नियन्त्रण जमाउन सक्नेछैन।