सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २८

हाम्रो काममा प्रतिबन्ध लगाइँदा समेत यहोवाको उपासना गरिरहनुहोस्‌

हाम्रो काममा प्रतिबन्ध लगाइँदा समेत यहोवाको उपासना गरिरहनुहोस्‌

“हामी आफूले देखेको अनि सुनेको कुरा नबोली बस्न सक्दै सक्दैनौँ।”—प्रेषि. ४:१९, २०.

गीत १२२ स्थिर र अटल बस!

परिचय *

१-२. (क) हाम्रो उपासनामा प्रतिबन्ध लगाइयो भने हामीले किन छक्क मान्‍नु पर्दैन? (ख) यस लेखमा हामी के विचार गर्नेछौँ?

सन्‌ २०१८ मा २ लाख २३ हजारभन्दा धेरै सुसमाचारका प्रचारकहरू हाम्रो आध्यात्मिक गतिविधिमा प्रतिबन्ध लगाइएको वा असाध्यै कडिकडाउ गरिएको देशमा बसोबास गरिरहेका थिए। यो सुन्दा हामीले छक्क मान्‍नु पर्दैन। किनकि अघिल्लो लेखमा सिकेझैँ साँचो ख्रिष्टियनहरूमाथि खेदो आइपर्नेछ भनेर हामीलाई थाह छ। (२ तिमो. ३:१२) हामी जुनसुकै देशमा बसौँ, हाम्रो मायालु परमेश्‍वर यहोवाको उपासना गर्नदेखि सरकारले अचानक र कुनै पूर्वसूचनाविना प्रतिबन्ध लगाउन सक्छ।

तपाईँ बस्ने देशमा सरकारले यहोवाको उपासनामा प्रतिबन्ध लगाउने निर्णय गऱ्‍यो भने तपाईँ आफैलाई यी प्रश्‍नहरू सोध्न सक्नुहुन्छ: ‘हामीले खेदो भोग्नुको अर्थ परमेश्‍वरको अनुमोदन गुमायौँ भन्‍ने हो? के प्रतिबन्धले हामीलाई यहोवाको उपासना गर्नदेखि रोक्नेछ? कुनै रोकटोकविना परमेश्‍वरको उपासना गर्न सकिने देशमा बसाइँ सरूँ कि?’ यस लेखमा हामी यी प्रश्‍नहरूबारे छलफल गर्नेछौँ। साथै हाम्रो काममा प्रतिबन्ध लगाइँदा हामी कसरी यहोवाको उपासना गरिरहन सक्छौँ र हामी कस्ता पासोहरूबाट जोगिनुपर्छ भनेर पनि विचार गर्नेछौँ।

हामीले खेदो भोग्नुको अर्थ परमेश्‍वरको अनुमोदन गुमायौँ भन्‍ने हो?

३. दोस्रो कोरिन्थी ११:२३-२७ अनुसार वफादार प्रेषित पावलले कस्तो खेदो भोगे र तिनको अनुभवबाट हामी के सिक्न सक्छौँ?

सरकारले हाम्रो उपासनामा प्रतिबन्ध लगायो भने हामीमाथि परमेश्‍वरको आशिष्‌ छैन भन्‍ने गलत निष्कर्षमा हामी पुग्न सक्छौँ। तर यो कुरा नबिर्सनुहोस्‌, खेदोको अर्थ यहोवा हामीसित खुसी हुनुहुन्‍न भन्‍ने होइन। उदाहरणको लागि, प्रेषित पावललाई विचार गर्नुहोस्‌। तिनले पक्कै परमेश्‍वरको अनुमोदन पाएका थिए। तिनले ख्रिष्टियन ग्रीक धर्मशास्त्रका १४ वटा पत्र लेख्ने सुअवसर पाएका थिए र तिनी अन्यजातिहरूका प्रेषित थिए। तैपनि तिनले घोर विरोध सहनुपऱ्‍यो। (२ कोरिन्थी ११:२३-२७ पढ्‌नुहोस्‌) यहोवा आफ्ना वफादार सेवकहरूमाथि खेदो आइपर्न दिनुहुन्छ भनेर हामी प्रेषित पावलको अनुभवबाट सिक्न सक्छौँ।

४. संसारले हामीलाई किन घृणा गर्छ?

हामीले किन खेदो आइपर्ने आशा गर्नुपर्छ भनेर येसुले बुझाउनुभयो। हामी यस संसारका होइनौँ, त्यसैले संसारले हामीलाई घृणा गर्नेछ भनेर उहाँले बताउनुभयो। (युह. १५:१८, १९) खेदोको मतलब हामीमाथि यहोवाको आशिष्‌ छैन भन्‍ने होइन। बरु यसले हामीले सही काम गरिरहेका छौँ भनेर देखाउँछ।

के प्रतिबन्धले हामीलाई यहोवाको उपासना गर्नदेखि रोक्नेछ?

५. के मानिसहरूले यहोवाको उपासनालाई रोक्न सक्छन्‌? केही उदाहरण दिनुहोस्‌।

मानिसहरूले विरोध गर्दैमा सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवाको उपासना ठप्प हुनेछैन। थुप्रैले रोक्न खोजेका छन्‌ तर सफल भएका छैनन्‌। दोस्रो विश्‍वयुद्धको दौडान के भयो, विचार गर्नुहोस्‌। त्यतिबेला थुप्रै देशका सरकारहरूले परमेश्‍वरका जनहरूको असाध्यै खेदो गरे। यहोवाका साक्षीहरूको काममा जर्मनीको नाजी पार्टीले मात्र होइन, अस्ट्रेलिया, क्यानाडा र अन्य देशका सरकारहरूले पनि प्रतिबन्ध लगाए। तैपनि के भयो, विचार गर्नुहोस्‌। सन्‌ १९३९ मा युद्ध सुरु हुँदा संसारभरि ७२ हजार ४ सय ७५ जना प्रकाशक थिए। रिपोर्टले देखाएअनुसार १९४५ मा युद्ध अन्त हुँदा यहोवाको आशिष्‌ले गर्दा प्रकाशकहरूको सङ्‌ख्या १ लाख ५६ हजार २ सय ९९ पुगिसकेको थियो। प्रकाशकहरूको सङ्‌ख्यामा दुई गुणाभन्दा धेरै वृद्धि भएको थियो!

६. विरोधले हामीलाई तर्साउनुको साटो के गर्न सक्छ? एउटा अनुभव बताउनुहोस्‌।

विरोधले हामीलाई तर्साउनुको साटो अझ जोडतोडले यहोवाको सेवा गर्न उत्प्रेरित गर्न सक्छ। उदाहरणको लागि, सानो छोरा भएको एउटा दम्पती सरकारले हाम्रो काममा प्रतिबन्ध लगाएको देशमा बस्थ्यो। डराएर पछि हट्‌नुको साटो त्यस दम्पतीले नियमित अग्रगामी सेवा गर्न थाल्यो। पत्नीले राम्रो तलब आउने जागिरसमेत छोडिन्‌। पतिले बताएअनुसार प्रतिबन्धले गर्दा थुप्रै मानिसको मनमा यहोवाका साक्षीहरूबारे कौतूहलता जाग्यो। त्यसले गर्दा तिनलाई बाइबल अध्ययनहरू सुरु गर्न सजिलो भयो। प्रतिबन्धले गर्दा अरूमा पनि राम्रो असर पऱ्‍यो। त्यही देशमा बस्ने एक जना एल्डरले बताएअनुसार यहोवाको सेवा गर्न छोडेका थुप्रै भाइबहिनी फेरि सभामा आउन र प्रचारकार्यमा भाग लिन थाले।

७. (क) लेवी २६:३६, ३७ बाट हामी के सिक्छौँ? (ख) प्रतिबन्ध लगाइँदा तपाईँ के गर्नुहुनेछ?

शत्रुहरूले हाम्रो उपासनामा प्रतिबन्ध लगाउँदा हामी डराएर यहोवाको सेवा गर्न छोडेको तिनीहरू चाहन्छन्‌। प्रतिबन्ध लगाउनुको अलावा तिनीहरूले हामीबारे झूटा कुराहरू फैलाउन सक्छन्‌, हाम्रो घरको खानतलासी गर्न प्रहरीहरू पठाउन सक्छन्‌, हामीलाई जबरजस्ती अदालतमा लैजान सक्छन्‌ र हामीमध्ये कसै-कसैलाई जेलमा समेत हाल्न सक्छन्‌। हामीमध्ये कसै-कसैलाई जेलमा हाल्न सफल भएकोले हामी डराएर बस्नेछौँ भन्‍ने तिनीहरू आशा गर्छन्‌। तर तिनीहरूले गर्दा हामी डरायौँ भने हामी आफैले हाम्रो उपासनामा “प्रतिबन्ध” लगाउन थाल्नेछौँ। हामी लेवी २६:३६, ३७ मा बताइएका व्यक्‍तिहरूजस्तो बन्‍न चाहँदैनौँ। (पढ्‌नुहोस्‌) डरले गर्दा हामी आध्यात्मिक गतिविधिमा भाग लिन कम गर्नेछैनौँ वा बन्द गर्नेछैनौँ। हामी यहोवामाथि पूरा भरोसा राख्छौँ र आत्तिदैनौँ। (यसै. २८:१६) हामी प्रार्थना गरेर यहोवाको डोऱ्‍याइ खोज्छौँ। हामीसित उहाँको साथ भएकोले सबैभन्दा शक्‍तिशाली मानव सरकारले समेत हामीलाई वफादार भई यहोवाको सेवा गर्नदेखि रोक्न सक्दैन भनेर हामीलाई थाह छ।—हिब्रू १३:६.

म अर्को देशमा बसाइँ सरूँ कि?

८-९. (क) परिवारको शिर वा व्यक्‍तिविशेषले कस्तो निर्णय गर्नुपर्ने हुन्छ? (ख) बुद्धिमानी निर्णय गर्न केले मदत गर्नेछ?

तपाईँ बस्नुहुने देशमा सरकारले हाम्रो उपासनामा प्रतिबन्ध लगायो भने कुनै रोकटोकविना यहोवाको सेवा गर्न सकिने देशमा बसाइँ सरूँ कि जस्तो तपाईँलाई लाग्न सक्छ। यो नितान्त व्यक्‍तिगत निर्णय हो र यस सन्दर्भमा तपाईँको लागि अरू कसैले निर्णय गरिदिन सक्दैन। प्रथम शताब्दीका ख्रिष्टियनहरूमाथि खेदो आइपर्दा तिनीहरूले के गरेका थिए भनेर विचार गर्नु कसै-कसैको लागि मदतकारी हुन सक्छ। शत्रुहरूले स्तिफनसलाई ढुङ्‌गाले हानेर मार्दा यरुसलेमका चेलाहरू यहुदिया र सामरियाका इलाकाभरि तितरबितर भए अनि कोही-कोहीचाहिँ फोनिसिया, साइप्रस र एन्टिओकसम्मै गए। (मत्ति १०:२३; प्रेषि. ८:१; ११:१९) तर अरू कतिपयले भने प्रेषित पावलले गरेको कुरा याद गर्न सक्छन्‌। प्रथम शताब्दीका ख्रिष्टियनहरूमाथि अर्को चोटि खेदो आइपर्दा तिनले प्रचारकार्यमाथि विरोध आएको इलाकाहरूबाट अन्त कतै नजाने निर्णय गरे। भाइहरूले घोर विरोध भोगिरहेका इलाकाहरूमा सुसमाचार प्रचार गर्न र त्यहाँका भाइहरूलाई बलियो बनाउन तिनले आफ्नो ज्यानको खतरा मोले।—प्रेषि. १४:१९-२३.

यी विवरणहरूबाट हामी के सिक्छौँ? बसाइँ सर्ने कि नसर्ने भन्‍ने सन्दर्भमा परिवारको शिरले निर्णय गर्नुपर्छ। तर निर्णय गर्नुअघि तिनले आफ्नो परिवारको परिस्थिति अनि बसाइँ सर्दा परिवारका सदस्यहरूमाथि पर्न सक्ने सकारात्मक र नकारात्मक असरबारे प्रार्थना गर्दै राम्ररी सोचविचार गर्नुपर्छ। यस सन्दर्भमा प्रत्येक ख्रिष्टियनले “आफ्नो भारी आफै” बोक्नुपर्छ। (गला. ६:५) अनि अरूले गरेको निर्णयको हामीले आलोचना गर्नु हुँदैन।

प्रतिबन्धको बेला हामी कसरी यहोवाको उपासना गर्नेछौँ?

१०. शाखा कार्यालय र एल्डरहरूले कस्ता विषयहरूमा निर्देशनहरू दिनेछन्‌?

१० प्रतिबन्धको बेला तपाईँ कसरी यहोवाको उपासना गरिरहन सक्नुहुन्छ? शाखा कार्यालयले तपाईँको मण्डलीका एल्डरहरूलाई आध्यात्मिक भोजन कसरी प्राप्त गर्ने, उपासनाको लागि कसरी एकसाथ भेला हुने र सुसमाचार कसरी प्रचार गर्ने भन्‍नेबारे निर्देशन र व्यावहारिक सुझावहरू दिनेछ। शाखा कार्यालयले एल्डरहरूसित सम्पर्क गर्न सकेन भने एल्डरहरूले तपाईँ र तपाईँको मण्डलीका सबैलाई यहोवाको उपासना गरिरहन मदत गर्नेछन्‌। तिनीहरूले बाइबलमा र हाम्रा प्रकाशनहरूमा बताइएका कुराहरूको आधारमा निर्देशनहरू दिनेछन्‌।—मत्ति २८:१९, २०; प्रेषि. ५:२९; हिब्रू १०:२४, २५.

११. आफूलाई आध्यात्मिक भोजनको अभाव हुनेछैन भनेर तपाईँ किन ढुक्क हुन सक्नुहुन्छ अनि तपाईँ आध्यात्मिक भोजनलाई कसरी सुरक्षित राख्न सक्नुहुन्छ?

११ आफ्ना सेवकहरूले प्रचुर मात्रामा आध्यात्मिक भोजन खान पाउनेछन्‌ भनेर यहोवाले प्रतिज्ञा गर्नुभएको छ। (यसै. ६५:१३, १४; लुका १२:४२-४४) त्यसैले तपाईँलाई चाहिने आध्यात्मिक प्रोत्साहन दिन यहोवाको सङ्‌गठनले कुनै कसर बाँकी राख्नेछैन भन्‍ने कुरामा तपाईँ ढुक्क हुन सक्नुहुन्छ। तपाईँ आफैले चाहिँ के गर्न सक्नुहुन्छ? प्रतिबन्धको बेला तपाईँको बाइबल र अन्य आध्यात्मिक भोजन लुकाउने सुरक्षित ठाउँ खोज्नुहोस्‌। यस्ता बहुमूल्य सामग्री, चाहे छापिएको होस्‌ वा इलेक्ट्रोनिक, अरूले सजिलै भेट्टाउन नसक्ने गरी राख्न सधैँ होसियार हुनुहोस्‌। आध्यात्मिक तवरमा बलियो रहन हामी प्रत्येकले व्यावहारिक कदमहरू चाल्नुपर्छ।

यहोवाको साथ पाउँदा हामी उहाँको उपासना गर्न निडर भई एकसाथ भेला हुन सक्छौँ (अनुच्छेद १२ हेर्नुहोस्‌) *

१२. एल्डरहरूले कसरी अरूको ध्यान नखिचिने गरी सभाहरूको आयोजना गर्न सक्छन्‌?

१२ यहोवाको उपासना गर्न हरेक हप्ता गरिने सभाहरू नि? एल्डरहरूले अरूको अनावश्‍यक ध्यान नखिचिने किसिमले सभाहरूमा उपस्थित हुन प्रबन्ध मिलाउनेछन्‌। तिनीहरूले तपाईँलाई स-साना समूहमा भेला हुन निर्देशन दिन सक्छन्‌ अनि सभाको समय र ठाउँ पनि अक्सर फेरबदल गरिरहन्छन्‌ होला। सभामा आउँदा र त्यहाँबाट फर्कँदा सानो स्वरले बोलेर सभामा आउने सबैको सुरक्षाको ख्याल राख्न सक्नुहुन्छ। तपाईँले अरूको ध्यान नखिचिने तरिकामा लुगाफाटा लगाउनुपर्ने पनि हुन सक्छ।

सरकारले प्रतिबन्ध लगाए पनि हामी प्रचार गर्न बन्द गर्नेछैनौँ (अनुच्छेद १३ हेर्नुहोस्‌) *

१३. भूतपूर्व सोभियत सङ्‌घका हाम्रा भाइहरूबाट हामी के सिक्न सक्छौँ?

१३ प्रचारकार्यको सन्दर्भमा सबै ठाउँको परिस्थिति एउटै हुनेछैन। तर हामी यहोवालाई प्रेम गर्छौँ अनि उहाँको राज्यबारे अरूलाई बताउन चाहन्छौँ। त्यसैले प्रचार गर्ने कुनै न कुनै तरिका भेट्टाउनेछौँ। (लुका ८:१; प्रेषि. ४:२९) भूतपूर्व सोभियत सङ्‌घमा यहोवाका साक्षीहरूको प्रचारकार्यबारे इतिहासकार एमिली बि. बारनले यसो भनिन्‌: “सरकारले साक्षीहरूलाई आफ्नो विश्‍वासबारे अरूलाई बताउन निषेध गर्दा तिनीहरूले छिमेकीहरू, सहकर्मीहरू र साथीहरूसित कुराकानी गर्न थाले। यसरी कुराकानी गरेकोमा जब तिनीहरूलाई श्रम शिविरहरूमा पठाइयो, तब तिनीहरूले अरू कैदीहरूलाई प्रचार गर्ने मौका खोजे।” भूतपूर्व सोभियत सङ्‌घमा हाम्रो काममा प्रतिबन्ध लगाइए तापनि भाइहरूले प्रचार गर्न छोडेनन्‌। तपाईँ बस्नुहुने देशमा सरकारले प्रचारकार्यमा प्रतिबन्ध लगाइहाल्यो भने तपाईँको सङ्‌कल्प पनि यस्तै भइरहोस्‌!

हामी कस्ता पासोहरूबाट जोगिनुपर्छ?

हामीले चुप लाग्ने समय कहिले हो भनेर बुझ्नुपर्छ (अनुच्छेद १४ हेर्नुहोस्‌) *

१४. भजन ३९:१ ले हामीलाई कस्तो पासोबारे चेतावनी दिन्छ?

१४ अरूलाई के बताउने, के नबताउने भन्‍नेबारे चनाखो हुनुहोस्‌। प्रतिबन्धको बेला “चुप लाग्ने . . . समय” कहिले हो भनेर हामीले बुझ्नुपर्छ। (उप. ३:७) हामीले गोप्य राख्नुपर्ने जानकारीहरू अरूलाई बताउनु हुँदैन, जस्तै: हाम्रा भाइबहिनीको नाम, हामी भेला हुने ठाउँ, हामी कसरी प्रचार गर्छौँ र कसरी आध्यात्मिक भोजन पाउँछौँ। हामी सरकारी अख्तियारवालाहरूलाई यस्ता कुराहरू बताउँदैनौँ। अनि हाम्रै देशमा वा अरू देशहरूमा बस्ने राम्रै मनसाय भएका हाम्रा साथीहरू वा नातेदारहरूलाई पनि बताउँदैनौँ। यस्तो पासोमा फस्यौँ भने हामीले आफ्ना भाइहरूलाई खतरामा पारिरहेका हुनेछौँ।भजन ३९:१ पढ्‌नुहोस्‌।

१५. सैतानले हामीलाई के गर्न खोज्नेछ र त्यसको पासोमा नफस्न हामी के गर्न सक्छौँ?

१५ सानातिना मतभेदको कारण फूट आउन नदिनुहोस्‌। कुनै घरभित्र फूट छ भने त्यो टिक्न सक्दैन भनेर सैतानलाई थाह छ। (मर्कु. ३:२४, २५) त्यसले हामीमाझ फूट ल्याउन सधैँ प्रयास गरिरहनेछ। यसरी हामी सैतानको विरुद्धमा नभई एकअर्कासित लडेको त्यो चाहन्छ।

१६. बहिनी गर्ट्रुड पोइटजिंगरले कस्तो राम्रो उदाहरण बसालिन्‌?

१६ यस्तो पासोमा नफस्न परिपक्व ख्रिष्टियनहरूसमेत होसियार हुनुपर्छ। दुई जना अभिषिक्‍त बहिनी गर्ट्रुड पोइटजिंगर र एल्फ्रिड लोअको अनुभव विचार गर्नुहोस्‌। तिनीहरू अरू ख्रिष्टियन बहिनीहरूसित एउटै नाजी यातना शिविरमा थुनिएका थिए। एल्फ्रिड यातना शिविरका अरू बहिनीहरूलाई प्रोत्साहनदायी भाषणहरू दिन्थिन्‌। यो देखेर गर्ट्रुडलाई डाह लाग्यो। तर पछि उनलाई आफैदेखि लाज लाग्यो र उनले यहोवासित मदत माग्दै व्यग्र प्रार्थना गरिन्‌। उनले यस्तो लेखिन्‌: “आफूसित भन्दा अरूसित धेरै क्षमता हुँदा वा अरूले आफूले भन्दा धेरै जिम्मेवारी पाउँदा हामीले त्यसलाई स्विकार्न सिक्नुपर्छ।” गर्ट्रुडले आफ्नो मनमा जागेको डाह कसरी हटाउन सकिन्‌? उनले एल्फ्रिडका राम्रा गुणहरू र मित्रैलो स्वभावमा ध्यान दिइन्‌। यसरी उनले एल्फ्रिडसित फेरि राम्रो सम्बन्ध कायम गर्न सकिन्‌। पछि दुवै जना यातना शिविरबाट मुक्‍त भए र पृथ्वीमा बाँचुन्जेल वफादार भई यहोवाको सेवा गरिरहे। हाम्रा भाइबहिनीहरूसितको मतभिन्‍नता हटाउन कडा प्रयास गऱ्‍यौँ भने हामीमाझ फूट ल्याउने पासोबाट जोगिनेछौँ।—कल. ३:१३, १४.

१७. हामी किन अहङ्‌कारी हुनु हुँदैन?

१७ अहङ्‌कारी नहुनुहोस्‌। हामीले भरोसायोग्य, जिम्मेवार भाइहरूबाट पाएको निर्देशन पालन गऱ्‍यौँ भने हामी समस्यामा फस्नेछैनौँ। (१ पत्रु. ५:५) उदाहरणको लागि, हाम्रो काममा प्रतिबन्ध लगाइएको एउटा देशमा प्रचारकार्यमा भाग लिँदा छापिएका प्रकाशनहरू वितरण नगर्नू भनेर जिम्मेवार भाइहरूले निर्देशन दिएका थिए। तर एक जना अग्रगामी भाइले त्यो निर्देशन पालन गरेनन्‌ र अरूलाई प्रकाशनहरू दिए। नतिजा के भयो? तिनी र अरू प्रकाशकहरूले अनौपचारिक साक्षी दिन सिद्ध्याएको केही समय नबित्दै प्रहरीले तिनीहरूलाई बोलाएर सोधखोज गरे। प्रहरीहरू तिनीहरूको पछि-पछि लागिरहेका थिए जस्तो देखिन्छ, जसले गर्दा तिनीहरूले दिएका प्रकाशनहरू प्रहरीले फेला पार्न सके। यस अनुभवबाट हामी कस्तो पाठ सिक्छौँ? आफूले पाएको निर्देशनसित सहमत नभए तापनि हामीले निर्देशन पालन गर्नै पर्छ। यहोवाले हामीबीच अगुवाइ लिन नियुक्‍त गर्नुभएका भाइहरूलाई साथ दियौँ भने उहाँले हामीलाई सधैँ आशिष्‌ दिनुहुनेछ।—हिब्रू १३:७, १७.

१८. हामीले किन अनावश्‍यक नियमहरू बनाउनु हुँदैन?

१८ अनावश्‍यक नियमहरू नबनाउनुहोस्‌। एल्डरहरूले अनावश्‍यक नियमहरू बनाए भने तिनीहरूले अरूमाथि बोझ थोपरिरहेका हुन्छन्‌। भाइ युराइ कामिन्स्कीले भूतपूर्व चेकोस्लोभाकियामा प्रतिबन्धको बेला भएको घटना यसरी बताए: “जिम्मेवार भाइहरू र थुप्रै एल्डर गिरफ्तार भएपछि मण्डली र क्षेत्रीय इलाकामा नेतृत्व लिइरहेका केही भाइहरूले भाइबहिनीहरूमाथि नियम थोपर्न थाले। तिनीहरूले ‘यसो गर्नुहुन्छ, उसो गर्नु हुँदैन’ भन्‍न थाले।” यहोवाले हामीलाई अरूको निम्ति निर्णयहरू गरिदिने अख्तियार दिनुभएको छैन। त्यसैले अनावश्‍यक नियमहरू बनाउने व्यक्‍तिले आफ्ना भाइहरूको सुरक्षा गरिरहेका हुँदैनन्‌ बरु तिनीहरूको विश्‍वासको मालिक बन्‍न खोजिरहेका हुन्छन्‌।—२ कोरि. १:२४.

यहोवाको उपासना गर्न कहिल्यै बन्द नगर्नुहोस्‌

१९. सैतानले जस्तोसुकै कोसिस गरे तापनि २ इतिहास ३२:७, ८ ले बताएअनुसार हामी किन साहसी हुन सक्छौँ?

१९ हाम्रो मुख्य शत्रु सैतानले यहोवाका वफादार सेवकहरूलाई खेदो गर्न कहिल्यै छोड्‌नेछैन। (१ पत्रु. ५:८; प्रका. २:१०) सैतान र त्यसका समर्थकहरूले यहोवाको उपासनामा प्रतिबन्ध लगाउन खोज्नेछन्‌। तर त्यसो भन्दैमा हामी डराएर यहोवाको सेवा गर्न बन्द गर्नुपर्ने कुनै कारण छैन! (व्यव. ७:२१) यहोवा हाम्रो साथमा हुनुहुन्छ र हाम्रो काममा प्रतिबन्ध लगाइए पनि उहाँले हामीलाई साथ दिन छोड्‌नुहुनेछैन।२ इतिहास ३२:७, ८ पढ्‌नुहोस्‌।

२०. तपाईँले कस्तो सङ्‌कल्प गर्नुभएको छ?

२० प्रथम शताब्दीका हाम्रा भाइहरूले गरेजस्तै सङ्‌कल्प हामी पनि गर्न सकौँ! तिनीहरूले त्यतिबेलाका शासकहरूलाई यसो भने: “परमेश्‍वरको नजरमा कुन ठीक हो, तपाईँहरूको कुरा सुन्‍नु कि परमेश्‍वरको, तपाईँहरू आफै निर्णय गर्नुहोस्‌। तर जहाँसम्म हाम्रो कुरा छ, हामी आफूले देखेको अनि सुनेको कुरा नबोली बस्न सक्दै सक्दैनौँ।”—प्रेषि. ४:१९, २०.

गीत ७३ साहस हाम्रो बढाइदेऊ

^ अनु. 5 सरकारले यहोवाको उपासनामा प्रतिबन्ध लगाएमा हामीले के गर्नुपर्छ? यस लेखले त्यस्तो अवस्थामा पनि यहोवाको सेवा गरिरहन हामीले के गर्नुपर्छ र के गर्नु हुँदैन भन्‍नेबारे व्यावहारिक सुझावहरू दिनेछ।

^ अनु. 59 चित्रको व्याख्या: सबै चित्रमा प्रकाशकहरूले हाम्रो काममा प्रतिबन्ध लगाइएका देशहरूमा सेवा गरिरहेको देखाइएको छ। एक जना भाइको स्टोररूममा एउटा सानो समूह सभाको लागि भेला हुन्छ।

^ अनु. 61 चित्रको व्याख्या: एउटी ख्रिष्टियन बहिनी (बायाँपट्टि) एउटी स्त्रीसित सामान्य कुराकानी गर्दै पछि आध्यात्मिक विषयमा कुराकानी गर्ने मौका खोज्दै छिन्‌।

^ अनु. 63 चित्रको व्याख्या: प्रहरीले केरकार गरिरहेको एक जना भाइ प्रहरीलाई आफ्नो मण्डलीबारे जानकारी दिन इन्कार गर्छन्‌।