सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ३४

नयाँ असाइनमेन्टमा कसरी घुलमिल हुन सक्छौँ?

नयाँ असाइनमेन्टमा कसरी घुलमिल हुन सक्छौँ?

“तिमीहरूले परमेश्‍वरको नामको निम्ति देखाएको प्रेम अनि कामलाई बिर्सन उहाँ अन्यायी हुनुहुन्‍न।”—हिब्रू ६:१०.

गीत ३८ यहोवाले तिमीलाई बलियो पार्नुहुनेछ

परिचय *

१-३. के-कस्ता कारणहरूले गर्दा पूर्ण-समय सेवकहरूको असाइनमेन्ट परिवर्तन हुन सक्छ?

रोबर्ट र म्यारी भन्छन्‌: “हामीले मिसनरी सेवामा रमाउँदै २१ वर्ष बिताइसकेका थियौँ। तर हामी दुवै जनाको आमाबुबा वृद्ध र कमजोर हुनुभयो। हुनत उहाँहरूको हेरचाह गर्न पाउँदा हामी खुसी थियौँ तैपनि आफ्नो मन-मुटुमै बसिसकेको ठाउँलाई छोडेर आउनुपर्दा हामीलाई निकै पीडा भयो।”

विलियम र टेरी भन्छन्‌: “स्वास्थ्यले साथ नदिएकोले हामी अब आफ्नो असाइनमेन्टमा फर्केर जान सक्दैनौँ भनेर थाह पाउँदा हामीले आँसु थाम्नै सकेनौँ। विदेशी भूमिमा यहोवाको सेवा गर्ने हाम्रो सपना चकनाचुर भयो।”

अलेक्से भन्छन्‌: “हाम्रा विरोधीहरू हाम्रो शाखा कार्यालयलाई बन्द गर्न चाहन्छन्‌ भनेर हामीलाई थाह थियो। तैपनि साँच्चै त्यस्तो हुँदा अनि आफूले सेवा गरिरहेको बेथेल छोड्‌नुपर्दा मुटु नै छिया-छिया भयो।”

४. यस लेखमा हामी कस्ता प्रश्‍नहरूबारे विचार गर्नेछौँ?

यी त केही अनुभवहरू मात्र हुन्‌। बेथेल परिवारका सदस्यहरू अनि अरू सेवकहरूमध्ये हजारौँको असाइनमेन्ट परिवर्तन भएको छ। * यी वफादार भाइबहिनीलाई आफूले प्यारो ठानेको असाइनमेन्ट छोड्‌नुपर्दा दुःख लाग्न सक्छ। यस्तो परिवर्तनको सामना गर्न तिनीहरूलाई केले मदत गर्छ? तपाईँ तिनीहरूलाई कसरी मदत गर्न सक्नुहुन्छ? यी प्रश्‍नहरूको जवाफले हामी सबैलाई आफ्नो परिस्थिति परिवर्तन हुँदा त्यसको सामना गर्न मदत गर्छ।

परिवर्तनको सामना कसरी गर्न सक्छौँ?

आफ्नो असाइनमेन्ट छोडेर जान पूर्ण-समय सेवकहरूलाई किन गाह्रो हुन सक्छ? (अनुच्छेद ५ हेर्नुहोस्‌) *

५. असाइनमेन्ट परिवर्तन हुँदा हामीलाई कस्तो असर पर्न सक्छ?

चाहे हामी क्षेत्रमा सेवा गरौँ या बेथेलमा, हाम्रो मनमा त्यहाँका मानिसहरूप्रति अनि आफूले सेवा गरेको ठाउँप्रति समेत गहिरो प्रेम विकास हुन सक्छ। अनि कुनै कारणले गर्दा त्यो असाइनमेन्ट छोड्‌नुपऱ्‍यो भने हामीलाई साह्रै दुःख लाग्छ। हामीले छोडेर आएको ठाउँका मानिसहरू सम्झेर हामीलाई न्यास्रो लाग्छ अनि चिन्ता पनि लाग्छ। खासगरि खेदो आइपरेकोले त्यो ठाउँ छोडेर आउनुपरेको हो भने झनै चिन्ता लाग्न सक्छ। (मत्ति १०:२३; २ कोरि. ११:२८, २९) त्यसका साथै, कुनै असाइनमेन्ट पाएर नयाँ ठाउँमा सर्दा हामी त्यहाँको संस्कृति देखेर तीनछक पर्न सक्छौँ वा कुनै असाइनमेन्ट छोडेर आफ्नो देश फर्किनुपर्दा आफ्नै ठाउँसमेत नौलो लाग्न सक्छ। रोबर्ट र म्यारी भन्छन्‌, “हामीलाई आफ्नै संस्कृति अनौठो लाग्न थालिसकेको थियो अनि आफ्नै भाषामा प्रचार गर्न समेत अप्ठेरो महसुस भयो। हामीलाई आफू पराईजस्तै लाग्यो।” कसै-कसैले भने असाइनमेन्ट परिवर्तन भएपछि अचानक आर्थिक भार बेहोर्नुपर्ने हुन सक्छ। के होला, कसो होला भनेर तिनीहरूलाई चिन्ता लाग्न सक्छ र तिनीहरू निराश हुन सक्छन्‌। यस्तो बेला केले मदत गर्न सक्छ?

हामी यहोवासित नजिक हुनु र उहाँमा भरोसा गर्नु महत्त्वपूर्ण छ (अनुच्छेद ६-७ हेर्नुहोस्‌) *

६. हामी कसरी यहोवासित नजिक भइरहन सक्छौँ?

यहोवासित नजिक भइरहनुहोस्‌। (याकु. ४:८) हामी कसरी यहोवासित नजिक भइरहन सक्छौँ? उहाँ “प्रार्थना सुन्‍नुहुने परमेश्‍वर” हुनुहुन्छ भन्‍ने कुरामा भरोसा गरेर। (भज. ६५:२) “तिमीहरूको मनको बह उहाँलाई पोखाओ” भनी भजन ६२:८ बताउँछ। यहोवा “हामीले मागे वा सोचेभन्दा कता हो कता धेरै गर्न सक्नुहुन्छ।” (एफि. ३:२०) यहोवा हामीले प्रार्थनामा जे माग्छौँ, केवल त्यति मात्र दिनुहुन्‍न। हामीले आसै नगरेको अनि सोच्दै नसोचेको तरिकामा उहाँले हाम्रा समस्याहरू समाधान गरिदिन सक्नुहुन्छ।

७. (क) यहोवासित नजिक भइरहन हामीलाई केले मदत गर्छ? (ख) हिब्रू ६:१०-१२ अनुसार वफादार भई यहोवाको सेवा गरिरह्‍यौँ भने नतिजा कस्तो हुन्छ?

यहोवासित नजिक भइरहन दिनदिनै बाइबल पढ्‌नुहोस्‌ र मनन गर्नुहोस्‌। पहिले मिसनरीको रूपमा सेवा गरेका एक भाइ भन्छन्‌: “पहिलाको आफ्नो असाइनमेन्टमा हुँदा जस्तै नियमित रूपमा पारिवारिक उपासना गर्ने र सभाको तयारी गर्ने तालिकालाई कायम राख्नुहोस्‌।” साथै, नयाँ मण्डलीसितै प्रचारकार्यमा पूरापूर भाग लिइरहनुहोस्‌। पहिलेजति गर्न नसके पनि वफादार भई यहोवाको सेवा गरिरहनेहरूलाई उहाँ कहिल्यै बिर्सनुहुन्‍न।हिब्रू ६:१०-१२ पढ्‌नुहोस्‌।

८. पहिलो युहन्‍ना २:१५-१७ मा लेखिएको कुराले हामीलाई आफ्नो जीवन सरल बनाउन कसरी मदत गर्छ?

आफ्नो जीवन सरल बनाउनुहोस्‌। सैतानको संसारमा आइपर्ने फिक्रीको कारण आफ्नो आध्यात्मिक गतिविधिलाई ‘निसासिन’ नदिनुहोस्‌। (मत्ति १३:२२) सैतानको यस संसारमा आर्थिक रूपमा सुरक्षित हुन संसारले वा राम्रै मनसाय भएका साथीभाइ र आफन्तहरूले दबाब दिँदा त्यसलाई इन्कार गर्नुहोस्‌। (१ युहन्‍ना २:१५-१७ पढ्‌नुहोस्‌) यहोवामा भरोसा गर्नुहोस्‌; उहाँले हाम्रो सबै आध्यात्मिक, भावनात्मक र भौतिक आवश्‍यकता “चाहिएकै बेला” पूरा गर्ने प्रतिज्ञा गर्नुभएको छ।—हिब्रू ४:१६; १३:५, ६.

९. हितोपदेश २२:३, ७ अनुसार हामीले किन अनावश्‍यक ऋणको भार बोक्नु हुँदैन अनि बुद्धिमानी निर्णय गर्न हामीलाई केले मदत गर्छ?

अनावश्‍यक ऋणको भार नबोक्नुहोस्‌। (हितोपदेश २२:३,  पढ्‌नुहोस्‌) नयाँ ठाउँमा सर्दा सोचेको भन्दा धेरै खर्च हुन सक्छ अनि हामी सजिलै ऋणमा डुब्न सक्छौँ। त्यसैले आफूलाई साँच्चै आवश्‍यक नपरेको सामान किन्‍न ऋण नलिनुहोस्‌। भावनात्मक रूपमा तनाव हुँदा, जस्तै, बिरामी परेको परिवारको सदस्यको हेरचाह गर्दा कति ऋण लिने भनेर निर्णय गर्न गाह्रो हुन सक्छ। तर नबिर्सनुहोस्‌, त्यस्ता परिस्थितिहरूमा यहोवालाई ‘प्रार्थना र उत्कट बिन्ती’ चढाउँदा हामी बुद्धिमानी निर्णय गर्न मदत पाउँछौँ। हाम्रो प्रार्थनाको जवाफस्वरूप यहोवाले हामीलाई उहाँको शान्ति दिनुहुनेछ, जसले हाम्रो “हृदय र सोच्ने क्षमताको रक्षा गर्नेछ” र हामीले सही निर्णय गर्न सक्नेछौँ।—फिलि. ४:६, ७; १ पत्रु. ५:७.

१०. हामी कसरी नयाँ साथीहरू बनाउन सक्छौँ?

१० अरूसित राम्रो सम्बन्ध कायम राख्नुहोस्‌। आफ्नो मिल्ने साथीहरूसित, खासगरि त्यस्तै परिस्थितिको सामना गरेकाहरूसित आफ्नो भावना पोख्नुहोस्‌ र आफूले अनुभव गरिरहेको कुरा बताउनुहोस्‌। त्यसो गर्दा तपाईँले भावनात्मक चोट सहन मदत पाउनुहुनेछ। (उप. ४:९, १०) तपाईँका पहिलेका साथीहरू त छँदैछन्‌ तर अब नयाँ ठाउँमा तपाईँले नयाँ साथीहरू पनि बनाउनुपर्छ। तर साथी पाउनको लागि तपाईँ पनि अरूको साथी बन्‍न तयार हुनुपर्छ भनेर नबिर्सनुहोस्‌। तपाईँ कसरी नयाँ साथीहरू बनाउन सक्नुहुन्छ? यहोवाको सेवा गर्दा बटुलेका प्रोत्साहनदायी अनुभवहरू अरूलाई बताउनुहोस्‌ ताकि अरूले पनि तपाईँको आनन्द महसुस गर्न सकून्‌। पूर्ण-समय सेवाको लागि तपाईँको उत्साह सायद मण्डलीका कसै-कसैले नबुझ्लान्‌ तर अरू भने तपाईँको उदाहरणबाट प्रभावित हुन सक्छन्‌ र तपाईँको मिल्ने साथी बन्‍न सक्छन्‌। तर आफूले हासिल गरेका उपलब्धिहरूको गुणगान गाउनदेखि र आफ्ना नकारात्मक भावनाहरूबारे मात्रै कुरा गर्नदेखि होसियार हुनुहोस्‌।

११. तपाईँ आफ्नो वैवाहिक जीवनलाई कसरी आनन्दित बनाइरहन सक्नुहुन्छ?

११ तपाईँको जीवनसाथीको स्वास्थ्य समस्याले गर्दा असाइनमेन्ट छोड्‌नुपऱ्‍यो भने त्यसको दोष तिनीमाथि नथोपर्नुहोस्‌। अर्कोतर्फ, यदि तपाईँको स्वास्थ्यमा समस्या आएकोले असाइनमेन्ट छोड्‌नुपरेको हो भने आफ्नो जीवनसाथीलाई दुःखी बनाएँ भन्‍ने सोचेर दोषी महसुस नगर्नुहोस्‌। तपाईँहरू “एउटै शरीर” हुनुहुन्छ अनि जस्तोसुकै परिस्थितिमा पनि एकअर्कालाई साथ दिनेछौँ भनेर यहोवासामु वाचा गर्नुभएको छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। (मत्ति १९:५, ६) बच्चा जन्माउने योजना नभए पनि गर्भमा बच्चा आएको कारण तपाईँले असाइनमेन्ट छोड्‌नुपरेको हुन सक्छ। त्यसो हो भने तपाईँको लागि आफ्नो पहिलेको असाइनमेन्ट भन्दा ऊ प्यारो छ भनेर आफ्नो बच्चालाई बुझाउनुहोस्‌। तपाईँ उसलाई यहोवाले दिनुभएको “इनाम” ठान्‍नुहुन्छ भन्‍ने कुरामा ढुक्क बनाउनुहोस्‌। (भज. १२७:३-५) त्यसका साथै उसलाई आफ्नो असाइनमेन्टमा बटुलेका राम्रा-राम्रा अनुभवहरू सुनाउनुहोस्‌। त्यसो गर्दा ऊ पनि तपाईँजस्तै आनन्दित हुँदै यहोवाको सेवामा आफ्नो जीवन बिताउन उत्प्रेरित हुन सक्छ।

अरूले कसरी मदत गर्न सक्छन्‌

१२. (क) पूर्ण-समय सेवकहरूलाई तिनीहरूको असाइनमेन्टमा लागिरहन हामी कसरी मदत गर्न सक्छौँ? (ख) नयाँ ठाउँमा घुलमिल हुन हामी तिनीहरूलाई कसरी मदत गर्न सक्छौँ?

१२ पूर्ण-समय सेवकहरू आफ्नो असाइनमेन्टमा लागिरहन सकून्‌ भनेर थुप्रै मण्डलीले अनि भाइबहिनीहरूले सक्दो मदत दिन्छन्‌ र यो प्रशंसायोग्य कुरा हो। उनीहरू पूर्ण-समय सेवकहरूलाई आफ्नो सेवामा लागिरहन प्रोत्साहन दिन्छन्‌, पैसा वा आवश्‍यक पर्ने अरू कुनै भौतिक कुरा दिन्छन्‌ वा परिवारका सदस्यहरूको ख्याल राख्न मदत गर्छन्‌। (गला. ६:२) पूर्ण-समय सेवामा लागिरहेका कुनै भाइ वा बहिनी आफ्नो असाइनमेन्ट परिवर्तन भएर तपाईँको मण्डलीमा आए भने तिनीहरू पहिलाको असाइनमेन्टमा असफल भएकोले वा कुनै अनुशासन पाएकोले त्यसो भएको हो भनेर अड्‌कल नकाट्‌नुहोस्‌। * बरु तिनीहरूलाई नयाँ ठाउँमा घुलमिल हुन मदत गर्नुहोस्‌। तिनीहरूलाई न्यानो स्वागत गर्नुहोस्‌ र स्वास्थ्य समस्याले गर्दा तिनीहरूले पहिला जति गर्न सकिरहेका छैनन्‌ भने पनि तिनीहरूले गरेको कामको लागि प्रशंसा गर्नुहोस्‌। तिनीहरूलाई राम्ररी चिन्‍न प्रयास गर्नुहोस्‌। तिनीहरूले हासिल गरेको प्रशस्त ज्ञान, तालिम र अनुभवबाट सिक्नुहोस्‌।

१३. नयाँ असाइनमेन्ट पाएकाहरूलाई हामी कस्तो मदत दिन सक्छौँ?

१३ नयाँ असाइनमेन्ट पाएर आएकाहरूलाई बस्ने ठाउँ भेट्टाउन, यात्रा गर्न, काम खोज्न अनि अरू आवश्‍यक कुराहरूको प्रबन्ध गर्न सुरु-सुरुमा तपाईँको मदत चाहिन सक्छ। साथै कर तिर्ने, बिमा गर्ने जस्ता दैनिक कामकुराहरूको विषयमा तिनीहरूलाई ताजा जानकारी दिनुपर्ने हुन सक्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीले तिनीहरूलाई दया देखाउनु मात्र होइन, तिनीहरूको अवस्था बुझ्नु पनि आवश्‍यक छ। तिनीहरू आफ्नो वा परिवारको बिग्रँदो स्वास्थ्य अवस्थासित सङ्‌घर्ष गरिरहेका हुन सक्छन्‌। आफूले माया गरेको व्यक्‍तिको मृत्यु भएकोले शोकित हुन सक्छन्‌। * अनि आफ्नो पहिलेको असाइनमेन्टमा भएका भाइबहिनीहरूको यादले सताइरहेको हुन सक्छ, चाहे तिनीहरूले त्यो कुरा व्यक्‍त गरून्‌ वा नगरून्‌। तिनीहरूलाई त्यस्तो गहिरो र मिश्रित भावनाहरूसँग जुझ्न समय लाग्छ।

१४. एउटी बहिनीलाई तिनको नयाँ असाइनमेन्टमा घुलमिल हुन स्थानीय प्रकाशकहरूले कसरी मदत गरे?

१४ त्यतिन्जेल तपाईँले दिने मदत र तपाईँको असल उदाहरणले तिनीहरूलाई आफ्नो नयाँ परिस्थितिसित घुलमिल हुन मदत गर्न सक्छ। विदेशमा लामो समय सेवा गरेकी एउटी बहिनी यसो भन्छिन्‌: “पहिलाको असाइनमेन्टमा म हरेक दिन बाइबल अध्ययनहरू सञ्चालन गर्थेँ। तर नयाँ असाइनमेन्टमा बाइबल खोलेर देखाउन वा एउटा भिडियो देखाउन पनि गाह्रो थियो। तर स्थानीय भाइबहिनीहरूले मलाई उहाँहरूको पुनःभेट र अध्ययनमा लैजानुभयो। ती जोसिला र साहसी भाइबहिनीले प्रगतिशील बाइबल अध्ययनहरू सञ्चालन गरिरहनुभएको देखेर मैले अझै सकारात्मक हुन मदत पाएँ। मैले आफ्नो नयाँ इलाकामा मानिसहरूसित कसरी कुराकानी सुरु गर्ने भनेर सिकेँ। यसले गर्दा मैले फेरि आनन्दित हुँदै सेवा गर्न सकेँ।”

अघि बढिरहनुहोस्‌!

अहिलेको आफ्नो इलाकामा प्रचारकार्यलाई विस्तार गर्ने उपायहरू खोज्नुहोस्‌ (अनुच्छेद १५-१६ हेर्नुहोस्‌) *

१५. तपाईँ कसरी आफ्नो नयाँ असाइनमेन्टमा सफल हुन सक्नुहुन्छ?

१५ तपाईँ आफ्नो नयाँ असाइनमेन्टमा सफल हुन सक्नुहुन्छ। यो कुरा नबिर्सनुहोस्‌, असाइनमेन्ट परिवर्तन हुनु भनेको तपाईँ असफल हुनुभएको वा तपाईँको महत्त्व घटेको सङ्‌केत होइन। यहोवाले तपाईँलाई कसरी मदत गरिरहनुभएको छ भन्‍ने कुरामा ध्यान दिनुहोस्‌ र प्रचार गरिरहनुहोस्‌। प्रथम शताब्दीका वफादार ख्रिष्टियनहरूको अनुकरण गर्नुहोस्‌। तिनीहरू “जहाँ-जहाँ गए, त्यहाँ-त्यहाँ तिनीहरूले परमेश्‍वरको वचनको सुसमाचार घोषणा गरे।” (प्रेषि. ८:१, ४) निरन्तर प्रचार गरिरहन तपाईँले गर्नुभएको प्रयासले राम्रो नतिजा ल्याउन सक्छ। उदाहरणको लागि, एउटा देशबाट निकालिएका केही अग्रगामीहरू नजिकैको अर्को देशमा गए, जहाँ तिनीहरूकै भाषा बोलिने इलाकामा प्रचारकहरूको धेरै आवश्‍यकता थियो। त्यसको केही महिनाभित्रै त्यस भाषाको नयाँ समूहहरू स्थापना भए र थुप्रै मानिस सभामा आउन थाले।

१६. तपाईँ आफ्नो नयाँ असाइनमेन्टमा कसरी आनन्दित हुन सक्नुहुन्छ?

१६ ‘परमेश्‍वरले दिनुहुने आनन्द नै तपाईँको बल हो।’ (नहे. ८:१०, फुटनोट) हामीलाई आफ्नो असाइनमेन्ट जति नै प्यारो लागे तापनि हाम्रो आनन्दको मुख्य स्रोत यहोवा हुनुहुन्छ, हाम्रो असाइनमेन्ट होइन। त्यसैले यहोवासित हिँडिरहनुहोस्‌ अनि बुद्धि, डोऱ्‍याइ र मदतको लागि उहाँमा भर पर्नुहोस्‌। तपाईँले आफ्नो पहिलाको असाइनमेन्टमा दिलोज्यान लगाएर मानिसहरूलाई मदत गर्नुभएकोले तपाईँलाई त्यो असाइनमेन्ट एकदमै मन परेको हो भन्‍ने कुरा नबिर्सनुहोस्‌। त्यसैले आफ्नो नयाँ असाइनमेन्टमा पनि दिलोज्यानले लाग्नुहोस्‌। यसो गर्नुभयो भने आफ्नो सेवामा रमाउन यहोवाले मदत गर्नुभएको तपाईँले पक्कै अनुभव गर्नुहुनेछ।—उप. ७:१०.

१७. आफ्नो अहिलेको असाइनमेन्टबारे हामीले कुन कुरा बिर्सनु हुँदैन?

१७ हामीले यहोवालाई चढाउने सेवा कहिल्यै अन्त हुनेछैन तर हाम्रो अहिलेको असाइनमेन्ट भने अस्थायी हो भनेर हामीले बिर्सनु हुँदैन। नयाँ संसारमा हामी सबैको असाइनमेन्ट परिवर्तन हुन सक्छ। सुरुमा उल्लेख गरिएका अलेक्से अहिलेको अनुभवले आफूलाई नयाँ संसारको लागि तयार बनाइरहेको छ भनेर विश्‍वस्त छन्‌। तिनी भन्छन्‌, “यहोवा वास्तविक परमेश्‍वर हुनुहुन्छ र नयाँ संसारको आशा पनि साँचो हो भनेर म सधैँ विश्‍वस्त थिएँ। तर यहोवालाई अनि नयाँ संसारलाई अलि टाढैबाट हेरिरहेको छु जस्तो लाग्थ्यो। अहिले भने मलाई यहोवा मेरो आँखाकै सामुन्‍ने हुनुहुन्छ अनि म नयाँ संसारको सँघारमै छु जस्तो लाग्छ।” (प्रेषि. २:२५) जुन असाइनमेन्ट पाए पनि हामी यहोवासितै हिँडिरहौँ। उहाँले हामीलाई कहिल्यै त्याग्नुहुनेछैन। हामीले जहाँसुकै रहेर यहोवाको सेवा गरे पनि आफूले सकेजति गर्दा त्यसमा रमाउन उहाँले हामीलाई मदत गर्नुहुनेछ।—यसै. ४१:१३.

गीत ९० एकअर्कालाई प्रोत्साहन देऔँ!

^ अनु. 5 पूर्ण-समय सेवा गरिरहेका भाइबहिनीहरूले कहिलेकाहीँ आफ्नो असाइनमेन्ट छोड्‌नुपर्ने हुन सक्छ वा तिनीहरूको असाइनमेन्ट परिवर्तन हुन सक्छ। त्यस्तो हुँदा तिनीहरूले के-कस्ता चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ र नयाँ परिस्थितिमा घुलमिल हुन तिनीहरूलाई केले मदत गर्छ भनेर यस लेखमा छलफल गर्नेछौँ। साथै तिनीहरूलाई अरूले कसरी प्रोत्साहन र मदत दिन सक्छन्‌ अनि हामीमध्ये कसैको जीवनमा परिवर्तन आउँदा बाइबलका कस्ता सिद्धान्तहरूले मदत गर्छन्‌ भनेर पनि विचार गर्नेछौँ।

^ अनु. 4 त्यसैगरि जिम्मेवारी सम्हालिरहेका थुप्रै भाइहरूले निश्‍चित उमेर पुगेपछि आफूभन्दा जवान भाइहरूलाई आफ्नो जिम्मेवारी सुम्पिएका छन्‌। प्रहरीधरहरा सेप्टेम्बर २०१८ को “वृद्ध ख्रिष्टियनहरू हो, यहोवा तपाईँहरूको वफादारीको मोल गर्नुहुन्छ” र प्रहरीधरहरा अक्टोबर २०१८ को “परिस्थिति परिवर्तन हुँदा मनोशान्ति कायम राख्नुहोस्‌” भन्‍ने लेखहरू हेर्नुहोस्‌।

^ अनु. 12 तिनीहरूले पहिला सेवा गरिरहेको मण्डलीका एल्डरहरूले सकेसम्म चाँडो तिनीहरूको परिचय दिने पत्र नयाँ मण्डलीलाई पठाउनुपर्छ। यसो गर्दा तिनीहरूले अग्रगामी, एल्डर वा सहायक सेवकको रूपमा आफ्नो सेवालाई चाँडै निरन्तरता दिन सक्नेछन्‌।

^ अनु. 13 ब्यूँझनुहोस्‌! २०१८, सङ्‌ख्या ३ मा भएको “शोकमा परेकाहरूका लागि मदत” भन्‍ने शृङ्‌खलाबद्ध लेखहरू हेर्नुहोस्‌।

^ अनु. 57 चित्रको व्याख्या: विदेशमा मिसनरी सेवा गरिरहेको एक दम्पतीले त्यो ठाउँ छोडेर जानुपर्ने अवस्था आउँछ र तिनीहरू दुःखी हुँदै आफ्नो मण्डलीबाट बिदा हुन्छन्‌।

^ अनु. 59 चित्रको व्याख्या: आफ्नो देश फर्किएपछि आइपरेका चुनौतीहरू सामना गर्न मदत माग्दै तिनीहरू यहोवालाई निरन्तर प्रार्थना गर्छन्‌।

^ अनु. 61 चित्रको व्याख्या: यहोवाको मदत पाएर तिनीहरू फेरि पूर्ण-समय सेवामा लाग्छन्‌। मिसनरी छँदा आफूले सिकेको भाषामा तिनीहरू नयाँ मण्डलीको इलाकामा भएका आप्रवासीहरूलाई प्रचार गर्छन्‌।