सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४४

अन्त आउनुअघि नै बलियो मित्रता गाँस्नुहोस्‌

अन्त आउनुअघि नै बलियो मित्रता गाँस्नुहोस्‌

“साँचो मित्रले सधैँ माया गर्छ।”—हितो. १७:१७.

गीत १०१ एकतामा बाँधिएर गरौँ काम!

परिचय *

“महासङ्‌कष्ट”-को दौडान हामीलाई असल मित्रहरू चाहिनेछ (अनुच्छेद २ हेर्नुहोस्‌) *

१-२. पहिलो पत्रुस ४:७, ८ अनुसार कठिन परिस्थितिको सामना गर्न हामीलाई केले मदत गर्नेछ?

“अन्तको दिन”-को पनि अन्तिम समयमा हामीले झनै कठिन परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ। (२ तिमो. ३:१) उदाहरणको लागि, पश्‍चिमी अफ्रिकाको एउटा देशमा चुनाव सकिएपछि सामाजिक उथलपुथल भयो र हूलदङ्‌गा मच्चियो। युद्धग्रस्त इलाकामा बसिरहेका हाम्रा दाजुभाइ दिदीबहिनी छ महिनाभन्दा पनि धेरै समयसम्म खुल्लमखुल्ला हिँडडुल गर्न सकेनन्‌। यस्तो कठिन परिस्थितिको सामना गर्न तिनीहरूलाई केले मदत गऱ्‍यो? कसै-कसैले सुरक्षित इलाकामा बस्ने साक्षीहरूको घरमा शरण पाए। एक भाइले यसो भने: “त्यस्तो गाह्रो परिस्थितिमा मित्रहरू आफूसँगै भएकोले म खुसी थिएँ। हामीले एकअर्कालाई प्रोत्साहन दिन सक्यौँ।”

आफूलाई माया गर्ने असल मित्रहरू बनाइसकेका छौँ भने “महासङ्‌कष्ट” सुरु हुँदा हामी पक्कै ढुक्क हुनेछौँ। (प्रका. ७:१४) त्यसैले अहिल्यै बलियो मित्रता गाँस्नु अत्यावश्‍यक छ। (१ पत्रुस ४:७, ८ पढ्‌नुहोस्‌) यस सन्दर्भमा हामी यर्मियाको उदाहरणबाट थुप्रै कुरा सिक्न सक्छौँ। यरुसलेमको विनाश आउनुअघिको गाह्रो समयमा बच्न तिनका साथीहरूले तिनलाई मदत गरे। * हामी कसरी यर्मियाको अनुकरण गर्न सक्छौँ?

यर्मियाको उदाहरणबाट सिक्नुहोस्‌

३. (क) यर्मियालाई अरू मानिसहरूबाट अलग्गै बसूँ जस्तो किन लाग्न सक्थ्यो? (ख) यर्मियाले बारुकलाई के बताए र नतिजा कस्तो भयो?

यर्मिया कम्तीमा ४० वर्षसम्म धोकेबाज मानिसहरूमाझ बस्नु पऱ्‍यो। ती मानिसहरूमा तिनका छिमेकीहरू र सम्भवतः आफ्नो गृहनगर अनातोतका आफन्तहरू पनि पर्थे। (यर्मि. ११:२१; १२:६) त्यस्तो अवस्थामा बाँच्नु परे तापनि तिनी मानिसहरूबाट अलग्गै बसेनन्‌। तिनले आफ्नो वफादार सचिव बारुकलाई आफ्ना भावनाहरू पोखे र यर्मियाका भावनाहरूबारे आज हामी पनि पढ्‌न सक्छौँ। (यर्मि. ८:२१; ९:१; २०:१४-१८; ४५:१) बारुकले यर्मियाको जीवनमा घटेका विभिन्‍न घटनाहरूबारे लेख्दा तिनीहरूले एकअर्काप्रति गहिरो भावना र आदरभाव विकास गरेको कुरा हामी कल्पना गर्न सक्छौँ।—यर्मि. २०:१, २; २६:७-११.

४. यहोवाले यर्मियालाई के गर्न भन्‍नुभयो? त्यस कामले यर्मिया र बारुकको मित्रता कसरी बलियो बनायो?

यरुसलेमलाई के हुनेछ भनेर यर्मियाले निडर भई इस्राएलीहरूलाई वर्षौँसम्म चेतावनी दिएका थिए। (यर्मि. २५:३) मानिसहरूलाई पश्‍चात्ताप गर्ने अर्को मौका दिन यहोवाले यर्मियालाई उहाँका चेतावनीहरू एउटा मुठामा लेख्न लगाउनुभयो। (यर्मि. ३६:१-४) यर्मिया र बारुकले सँगै मिलेर परमेश्‍वरबाट पाएको काम पूरा गरे, जुन पूरा गर्न केही महिना लाग्यो होला। त्यस दौडान तिनीहरूबीच भएको कुराकानीले दुवैको विश्‍वास पक्कै बलियो बनाएको हुनुपर्छ।

५. बारुक कसरी यर्मियाको लागि असल साथी साबित भए?

मुठा लेख्न सिद्धिएपछि त्यसमा भएको चेतावनी मानिसहरूलाई सुनाउन यर्मिया आफ्नो साथी बारुकमाथि भर पर्नु पर्थ्यो। (यर्मि. ३६:५, ६) बारुकले त्यो खतरनाक काम साहसी भई पूरा गरे। मन्दिरको चोकमा गएर बारुकले आफूलाई अह्राइएअनुसारै काम पूरा गर्दा यर्मियाले कत्ति गर्व महसुस गरे होलान्‌, कल्पना गर्नुहोस्‌ त! (यर्मि. ३६:८-१०) यहुदाका भारदारहरूले बारुकले गरेको कामबारे सुने र आफूहरूलाई पनि त्यो मुठा पढेर सुनाउन आदेश दिए। (यर्मि. ३६:१४, १५) ती भारदारहरूले राजा यहोयाकिमलाई यर्मियाले भनेका कुराहरू सुनाउने निर्णय गरे। बारुकको हितलाई ध्यानमा राख्दै तिनीहरूले यसो भने: “जाऊ! तिमी र यर्मिया दुवै गएर कतै लुक। अनि तिमीहरू कहाँ लुकेका छौ भनेर कसैलाई थाह नदेऊ।” (यर्मि. ३६:१६-१९) त्यो साँच्चै राम्रो सल्लाह थियो!

६. यर्मिया र बारुकले विरोध आउँदा के गरे?

यर्मियाले लेखेका कुराहरू सुनेर राजा यहोयाकिम यत्ति रिसाए कि तिनले त्यो मुठा जलाइदिए अनि यर्मिया र बारुकलाई पक्रिने आदेश दिए। तैपनि त्यो खबर सुनेर यर्मिया डराएनन्‌। तिनले अर्को मुठा लिए र बारुकलाई दिए। त्यसपछि यर्मियाले बारुकलाई यहोवाको सन्देश बताए र यर्मियाले लेख्न लगाएअनुसारै बारुकले “यहुदाका राजा यहोयाकिमले जलाइदिएको मुठामा भएका सबै कुरा” लेखे।—यर्मि. ३६:२६-२८, ३२.

७. यर्मिया र बारुकले सँगै काम गर्दा नतिजा कस्तो भएको हुन सक्छ?

परीक्षा सँगै सामना गरेका मानिसहरूबीचको सम्बन्ध अक्सर घनिष्ठ हुन्छ। दुष्ट राजा यहोयाकिमले नष्ट गरेको मुठाको अर्को प्रति तयार पार्न यर्मिया र बारुकले सँगै काम गरे। त्यतिबेला तिनीहरूले एकअर्काका गुणहरूको अझ कदर गर्न सिके होलान्‌। यी दुई वफादार पुरुषहरूको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

मन खोलेर कुराकानी गर्नुहोस्‌

८. घनिष्ठ साथीहरू बनाउनदेखि हामीलाई केले रोक्न सक्छ? हामीले किन हार मान्‍नु हुँदैन?

विगतमा कसैले हाम्रो चित्त दुखाएको थियो भने हामीलाई खुलेर कुराकानी गर्न गाह्रो लाग्न सक्छ। (हितो. १८:१९, २४) अथवा घनिष्ठ सम्बन्ध विकास गर्न हामीसित पर्याप्त समय र शक्‍ति नभएको महसुस हुन सक्छ। तर हामीले हार मान्‍नु हुँदैन। कठिन परिस्थितिको बेला भाइबहिनीले हामीलाई साथ दिएको चाहन्छौँ भने तिनीहरूमाथि भरोसा गर्न अहिल्यैदेखि सिक्नुपर्छ। त्यसो गर्न हामीले आफ्नो विचार र भावना खुलेर व्यक्‍त गर्नुपर्छ। साँचो मित्र बन्‍नको लागि चाल्नुपर्ने यो एउटा महत्त्वपूर्ण कदम हो।—१ पत्रु. १:२२.

९. (क) आफ्ना साथीहरूमाथि भरोसा गरेको येसुले कसरी देखाउनुभयो? (ख) खुलस्त कुराकानीले कसरी मित्रतालाई घनिष्ठ बनाउँछ? एउटा उदाहरण दिनुहोस्‌।

येसुले आफ्ना मित्रहरूसित खुलेर कुराकानी गर्नुभएर तिनीहरूमाथि भरोसा गरेको देखाउनुभयो। (युह. १५:१५) साथीहरूसित आफ्नो आनन्द बाँडेर अनि आफूलाई चिन्ता लागेको र निराश बनाएको कुरा बताएर हामी उहाँको अनुकरण गर्न सक्छौँ। अरूले आफ्नो कुरा बताउँदा ध्यान दिएर सुन्‍नुहोस्‌। त्यसो गर्दा सायद तपाईँले आफ्नो विचार, भावना र लक्ष्यहरू आफ्नो साथीसित मिलेको कुरा पनि थाह पाउन सक्नुहुनेछ। सिन्डीको उदाहरण विचार गर्नुहोस्‌, जो २९ वर्षकी भइन्‌। तिनले ६७ वर्षकी अग्रगामी मारी-लुइजलाई साथी बनाइन्‌। सिन्डी र मारी-लुइज हरेक बिहीबार बिहान सँगै क्षेत्र सेवामा भाग लिन्छन्‌। उनीहरूलाई विभिन्‍न विषयमा खुलस्त कुराकानी गर्न मन पर्छ। सिन्डी भन्छिन्‌, “मलाई साथीहरूसित खुलेर कुराकानी गर्न मन पर्छ किनभने यसो गर्दा मैले उनीहरूलाई अझ राम्रोसित चिन्‍न र बुझ्न सक्छु।” खुलस्त कुराकानी गर्दा मित्रता अझ घनिष्ठ हुन्छ। सिन्डीले जस्तै तपाईँ पनि अरूसित खुलेर मित्रैलो कुराकानी गर्न अग्रसर हुनुभयो भने तिनीहरूसित तपाईँको मित्रता पनि घनिष्ठ हुँदै जानेछ।—हितो. २७:९.

सँगै काम गर्नुहोस्‌

असल मित्रहरू प्रचारकार्यमा सँगै भाग लिन्छन्‌ (अनुच्छेद १० हेर्नुहोस्‌)

१०. हितोपदेश २७:१७ अनुसार भाइबहिनीसित सँगै काम गर्दा नतिजा कस्तो हुन सक्छ?

१० यर्मिया र बारुकको उदाहरणले देखाएजस्तै भाइबहिनीसित सँगै काम गर्दा र उनीहरूका राम्रा गुणहरू आफ्नै आँखाले देख्दा हामी पनि उनीहरूबाट सिक्न सक्छौँ र उनीहरूसित घनिष्ठ हुन सक्छौँ। (हितोपदेश २७:१७ पढ्‌नुहोस्‌) उदाहरणको लागि, प्रचारकार्यमा भाग लिँदा तपाईँको साथीले निर्धक्क भई आफ्नो विश्‍वासको पक्षमा बोलेको अथवा यहोवा र उहाँका उद्देश्‍यहरूबारे विश्‍वस्त भई बताएको देख्दा तपाईँलाई कस्तो लाग्छ? तपाईँ तिनीसित अझ नजिकिनुहुन्छ नि, होइन र?

११-१२. भाइबहिनीसँग प्रचार गर्दा मित्रता बलियो हुन्छ भनेर बुझाउने एउटा उदाहरण दिनुहोस्‌।

११ भाइबहिनीसित प्रचारकार्यमा सँगै भाग लिँदा एकअर्कासित घनिष्ठ हुन सकिन्छ भनेर देखाउने दुइटा उदाहरण विचार गर्नुहोस्‌। तेइस वर्षीया एडिलिनले आफ्नी साथी क्यान्डिसलाई त्यति प्रचार नभएको इलाकामा सँगै प्रचार गर्न जान आग्रह गरिन्‌। तिनी भन्छिन्‌, “हामी अझै जोसिलो भई प्रचार गर्न चाहन्थ्यौँ र त्यसमा अझै रमाउन चाहन्थ्यौँ। आध्यात्मिक तवरमा अझ जोसिलो हुन हामी दुवैलाई प्रोत्साहन चाहिएको थियो।” सँगै काम गरेर ती दुई बहिनीलाई कस्तो फाइदा भयो? एडिलिन भन्छिन्‌, “हरेक दिनको अन्तमा आफूलाई कस्तो लाग्यो, मानिसहरूसितको कुराकानीको कुन पक्ष मन पऱ्‍यो अनि प्रचारकार्यमा यहोवाको डोऱ्‍याइ कसरी महसुस गऱ्‍यौँ भनेर कुराकानी गर्थ्यौँ। हामी दुवै जना यसरी मन खोलेर कुराकानी गर्न रुचाउँथ्यौँ। यसरी हामीले एकअर्कालाई अझ राम्ररी चिन्‍न सक्यौँ।”

१२ लैला र म्यारिआन नाम गरेका फ्रान्सका दुई अविवाहित बहिनीहरू मध्य अफ्रिकी गणतन्त्रको निकै चहलपहल हुने राजधानी बाङ्‌गुईमा पाँच हप्ताको लागि प्रचार गर्न गएका थिए। त्यस अनुभवबारे लैला यसो भन्छिन्‌, “म्यारिआन र मलाई मिलेर बस्न सुरु-सुरुमा गाह्रो त भएको थियो। तर हामीले एकअर्कासित खुलस्त कुराकानी गऱ्‍यौँ अनि एकअर्काप्रतिको साँचो प्रेमले गर्दा हाम्रो मित्रता घनिष्ठ हुँदै गयो। नयाँ वातावरणमा घुलमिल हुन सक्ने म्यारिआनको क्षमता, त्यहाँका मानिसहरूप्रतिको प्रेम र प्रचारकार्यप्रतिको जोस देखेर उनीप्रति मेरो आदर झनै बढ्यो।” यी कुराहरू महसुस गर्न तपाईँ अर्को देशमा बसाइँ सर्नुपर्छ भन्‍ने छैन। प्रत्येक पटक तपाईँ आफ्नो मण्डलीको इलाकामा कुनै भाइ वा बहिनीसित प्रचारकार्यमा जाँदा तिनलाई अझ राम्रोसित चिन्‍ने र तिनीसितको मित्रता अझै बलियो बनाउने मौका पाउनुहुन्छ।

राम्रो पक्षमा ध्यान दिनुहोस्‌ र क्षमाशील हुनुहोस्‌

१३. साथीहरूसित सँगै काम गर्दा कहिलेकाहीँ कस्तो अवस्था आइपर्न सक्छ?

१३ कहिलेकाहीँ साथीहरूसित सँगै काम गर्दा तिनीहरूका राम्रा गुणहरू मात्र नभई तिनीहरूका कमजोरी पनि याद गर्न पुग्छौँ। त्यस्तो अवस्थामा पनि तिनीहरूसँग घनिष्ठ भइरहन केले मदत गर्न सक्छ? फेरि यर्मियाको उदाहरण विचार गरौँ। तिनलाई अरूको राम्रो पक्ष हेर्न र तिनीहरूले गल्ती गर्दा क्षमा दिन केले उत्प्रेरित गऱ्‍यो?

१४. यर्मियाले यहोवाबाट के सिके र त्यसले तिनलाई कसरी मदत गऱ्‍यो?

१४ यर्मियाले आफ्नै नामको किताब लेखे अनि बाइबलको पहिलो र दोस्रो राजाको किताब पनि सायद तिनले लेखेका थिए। ती किताबहरू लेख्दा यहोवाले त्रुटिपूर्ण मानिसहरूलाई देखाउनुहुने कृपाबारे तिनले पक्कै पनि अझ राम्ररी बुझेको हुनुपर्छ। उदाहरणको लागि, राजा आहाबले आफ्ना गलत कामहरूको लागि पश्‍चात्ताप गरेकोले यहोवाले तिनलाई कृपा देखाउनुभयो। त्यसैले तिनले आफ्नो जीवनकालमा आफ्नो पूरै परिवार विनाश भएको हेर्नु परेन। (१ राजा २१:२७-२९) त्यसरी नै मनस्सेले आहाबले भन्दा घोर दुष्ट काम गरेर यहोवालाई क्रोधित तुल्याएको कुरा पनि यर्मियालाई थाह थियो। तैपनि यहोवाले मनस्सेलाई क्षमा दिनुभयो किनभने तिनले पश्‍चात्ताप गरे। (२ राजा २१:१६, १७; २ इति. ३३:१०-१३) ती विवरणहरूले यर्मियालाई आफ्ना घनिष्ठ साथीहरूसित व्यवहार गर्दा यहोवाको धीरज र कृपा अनुकरण गर्न पक्कै पनि मदत गरेको हुनुपर्छ।—भज. १०३:८, ९.

१५. बारुक आफूलाई अह्राइएको कामबाट अलमलिँदा यर्मियाले कसरी यहोवाको धीरज अनुकरण गरे?

१५ आफूलाई अह्राइएको कामबाट बारुक केही समय अलमलिँदा यर्मियाले तिनीसित कस्तो व्यवहार गरे, विचार गर्नुहोस्‌। बारुक अब सही बाटोमा फर्कनेछैनन्‌ भन्‍ने निष्कर्षमा यर्मिया तुरुन्तै पुगेनन्‌ बरु बारुकको विषयमा परमेश्‍वरले दिनुभएको मायालु सन्देश तिनलाई खुलस्त बताइदिए। (यर्मि. ४५:१-५) यस विवरणबाट हामी के सिक्न सक्छौँ?

असल मित्रहरू एकअर्कालाई खुला मनले क्षमा दिन्छन्‌ (अनुच्छेद १६ हेर्नुहोस्‌)

१६. हितोपदेश १७:९ अनुसार मित्रता बलियो बनाइराख्न हामीले के गर्नु आवश्‍यक छ?

१६ त्यसैगरि भाइबहिनीबाट कहिल्यै गल्ती हुँदैन भनेर हामीले आशा गर्नु मनासिब होइन। त्यसैले मित्रता गाँसिसकेपछि त्यसलाई कायम राख्न हामीले प्रयत्न गरिरहनुपर्छ। हाम्रा साथीहरूले गल्ती गरे भने तिनीहरूलाई परमेश्‍वरको वचनमा आधारित मायालु तर स्पष्ट सल्लाह दिनुपर्ने हुन सक्छ। (भज. १४१:५) तिनीहरूले हाम्रो चित्त दुखाए भने तिनीहरूलाई क्षमा दिनुपर्छ। एक चोटि क्षमा दिइसकेपछि त्यो गल्ती कोट्ट्याइरहनु हुँदैन। (हितोपदेश १७:९ पढ्‌नुहोस्‌) अहिलेको कठिन समयमा हाम्रा भाइबहिनीको कमीकमजोरीमा नभई तिनीहरूको राम्रो पक्षमा ध्यान दिनु कत्ति महत्त्वपूर्ण छ! त्यसो गर्दा तिनीहरूसितको हाम्रो मित्रता बलियो हुनेछ। महासङ्‌कष्टको बेला हामीलाई यस्तै घनिष्ठ मित्रहरू चाहिनेछ।

अटल प्रेम देखाउनुहोस्‌

१७. विपत्‌को बेला यर्मिया कसरी साँचो मित्र साबित भए?

१७ विपद्‌को बेला भविष्यवक्‍ता यर्मिया साँचो मित्र साबित भए। उदाहरणको लागि, दरबारका अफिसर एबेद-मेलेकले यर्मियालाई हिलाम्मे इनारमा मर्नबाट जोगाएका थिए। त्यसपछि भारदारहरूले आफूलाई हानि पुऱ्‍याउलान्‌ कि भनेर एबेद-मेलेक डराए। यर्मियाले त्यो कुरा सुनेपछि आफ्नो साथीले त्यस परिस्थितिको सामना आफै गर्नेछन्‌ भन्‍ने सोचेर तिनी हात बाँधेर बसेनन्‌। हुनत यर्मिया थुनिएका थिए तैपनि तिनले आफ्नो साथी एबेद-मेलेकलाई यहोवाको सान्त्वनादायी प्रतिज्ञा सुनाएर सक्दो मदत गरे।—यर्मि. ३८:७-१३; ३९:१५-१८.

असल मित्रहरू खाँचोमा पर्दा एकअर्कालाई मदत गर्छन्‌ (अनुच्छेद १८ हेर्नुहोस्‌)

१८. हितोपदेश १७:१७ अनुसार आफ्नो साथीलाई गाह्रो भइरहेको छ भनेर थाह पाउँदा हामीले के गर्नुपर्छ?

१८ आज हाम्रा दाजुभाइ दिदीबहिनीले विभिन्‍न चुनौतीको सामना गरिरहेका छन्‌। उदाहरणको लागि, थुप्रैले मानवीय अथवा प्राकृतिक विपत्तिको सामना गर्नुपरेको छ। त्यस्तो बेला ती साथीहरूलाई आफ्नो घरमा बास दिन सक्छौँ। अरू कतिपयले आर्थिक सहायता दिएर मदत गर्न सक्लान्‌। साथै हाम्रा दाजुभाइ दिदीबहिनीलाई मदत गरिदिनुहोस्‌ भनेर यहोवासित बिन्ती गर्न सक्छौँ। कहिलेकाहीँ कुनै भाइ वा बहिनीलाई प्रोत्साहनको खाँचो भएको थाह पाउँदा के बोल्ने वा के गर्ने भनेर हामीलाई थाह नहुन सक्छ। तर हामी सबैले कुनै न कुनै तरिकामा मदत गर्न सक्छौँ। जस्तै: आफ्नो साथीसित समय बिताउन सक्छौँ। तिनले आफ्नो कुरा बताउँदा तिनीप्रति सहानुभूति देखाउँदै सुनिदिन सक्छौँ। साथै आफूलाई मन पर्ने सान्त्वनादायी शास्त्रपद तिनलाई देखाउन पनि सक्छौँ। (यसै. ५०:४) साथीहरूलाई साथ चाहिएको बेला तपाईँ तिनीहरूसित हुनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो।हितोपदेश १७:१७ पढ्‌नुहोस्‌।

१९. अहिल्यै बलियो मित्रता गाँस्दा त्यसले भविष्यमा हामीलाई कसरी मदत पुऱ्‍याउन सक्छ?

१९ हाम्रा दाजुभाइ दिदीबहिनीसित बलियो मित्रता गाँस्न र त्यसलाई कायम राख्न हामी अहिल्यै कटिबद्ध हुनुपर्छ। किन? किनभने हाम्रा शत्रुहरूले झूटा कुरा अनि गलत जानकारीहरू सुनाएर हामीमाझ फूट ल्याउन खोज्नेछन्‌। तिनीहरूले हामीलाई एकअर्काविरुद्ध उठाउन खोज्नेछन्‌। तर तिनीहरूको दुष्प्रयास खेर जानेछ। तिनीहरूले हामीमाझ भएको प्रेमको बन्धनलाई तोड्‌न सक्नेछैनन्‌। हामीले गाँसेको मित्रतामा भाँजो हाल्न तिनीहरूले केही पनि गर्न सक्नेछैनन्‌। वास्तवमा त्यस्तो मित्रता यस युगको अन्तसम्म मात्र होइन, सदासर्वदा रहिरहनेछ!

गीत २४ आऊ न यहोवाको पर्वतमा

^ अनु. 5 अन्त नजिकिँदै जाँदा हामी सबैले सङ्‌गी दाजुभाइ दिदीबहिनीसितको सम्बन्धलाई बलियो बनाउनु आवश्‍यक छ। यस लेखमा यर्मियाको उदाहरणबाट हामी के सिक्न सक्छौँ भन्‍ने कुरा विचार गर्नेछौँ। साथै अहिल्यै घनिष्ठ मित्रता विकास गरेका छौँ भने गाह्रो समयमा त्यस्तो मित्रताले कसरी मदत गर्छ भनेर पनि छलफल गर्नेछौँ।

^ अनु. 2 यर्मियाको पुस्तकमा भएका घटनाहरू कालक्रमअनुसार लेखिएका छैनन्‌।

^ अनु. 57 चित्रको व्याख्या: भविष्यमा “महासङ्‌कष्ट”-को दौडान कस्तो परिस्थिति हुन सक्छ भनेर यस दृश्‍यले देखाउँछ। केही भाइबहिनी बुइँगलमा शरण लिँदै छन्‌। त्यस्तो गाह्रो समयमा तिनीहरू एकअर्काको साथबाट सान्त्वना पाउँछन्‌। ती भाइबहिनीले महासङ्‌कष्ट सुरु हुनुअघि नै आपसमा बलियो मित्रता गाँसिसकेका थिए।