सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन जीवन

परमेश्‍वर र छिमेकीप्रति प्रेम—हामी कसरी विकास गर्न सक्छौँ?

परमेश्‍वर र छिमेकीप्रति प्रेम—हामी कसरी विकास गर्न सक्छौँ?

हुनत अहिले हामी ख्रीष्टियनहरू मोशाको व्यवस्थाको अधीनमा छैनौँ। तर यसका सबैभन्दा ठूला दुई आज्ञा—परमेश्‍वर र छिमेकीलाई प्रेम गर्नू भन्‍ने आज्ञाहरूबाट यहोवा हामीबाट के चाहनुहुन्छ भन्‍ने कुरा बुझ्न सक्छौँ। (मत्ती २२:३७-३९) यस्तो किसिमको प्रेम हामीले जन्मजात पाउने कुरा होइन। हामीले यो विकास गर्नै पर्छ। हामी कसरी यसो गर्न सक्छौँ? एउटा महत्त्वपूर्ण तरिका दिनहुँ बाइबल पढ्‌नु हो। बाइबलमा परमेश्‍वरको व्यक्‍तित्वका विभिन्‍न पक्षहरू झल्किन्छ। ती पक्षहरूमा मनन गर्दा हामी “परमप्रभुको शोभा” देख्न सक्छौँ। (भज २७:४) त्यसो गर्दा उहाँप्रतिको प्रेम बढ्‌दै जान्छ र हाम्रो सोचाइ पनि उहाँको जस्तै हुन्छ। यसले हामीलाई परमेश्‍वरका आज्ञाहरू पालन गर्न उत्प्रेरित गर्छ, जसमा अरूप्रति आत्मत्यागी प्रेम देखाउनू भन्‍ने आज्ञा पनि समावेश छ। (यूह १३:३४, ३५; १यू ५:३) बाइबल पढाइलाई अझै रमाइलो बनाउन मदत गर्ने तीनवटा सुझाव तल दिइएका छन्‌:

  • कल्पनाशक्‍ति चलाउनुहोस्‌ र आफ्ना इन्द्रियहरू प्रयोग गर्नुहोस्‌। कुनै विवरण पढ्‌दा आफू पनि त्यहीँ भएको कल्पना गर्नुहोस्‌। तपाईँ के देख्न वा सुन्‍न सक्नुहुन्छ? कस्तो बास्ना आइरहेको छ? त्यस विवरणमा उल्लेख गरिएका पात्रहरूले कस्तो महसुस गरिरहेका छन्‌?

  • फरक-फरक तरिका चलाएर पढ्‌नुहोस्‌। तपाईँ यस्ता तरिकाहरू चलाउन सक्नुहुन्छ: ठूलो स्वरमा पढ्‌नुहोस्‌ वा श्रव्य रेकर्डिङ सुन्दै आफ्नो बाइबल हेर्नुहोस्‌। बाइबलका अध्यायहरू एकपछि अर्को गर्दै पढ्‌नुभन्दा कुनै बाइबल पात्र वा विषयबारे पढ्‌नुहोस्‌। उदाहरणका लागि, पवित्र बाइबल—नयाँ संसार अनुवाद-को अतिरिक्‍त लेख १२ चलाउँदै येशूको विषयमा पढ्‌न सक्नुहुन्छ। दैनिक पद लिइएको अध्याय पूरै पढ्‌नुहोस्‌। बाइबलका किताबहरू लेखिएको समयको क्रमअनुसार पढ्‌नुहोस्‌।

  • बुझ्नेगरि पढ्‌नुहोस्‌। बाइबल छिटै पढिसिद्ध्याउने उद्देश्‍यले एकैपटकमा थुप्रै अध्याय सरर्र पढ्‌नुभन्दा हरेक दिन एउटा अध्याय बुझ्नेगरि पढ्‌नु र मनन गर्नु कता हो कता बेस हो। सन्दर्भ विचार गर्दै पढ्‌नुहोस्‌। विवरणमा भएका ससाना कुरामा ध्यान दिनुहोस्‌। नक्साको प्रयोग गर्नुहोस्‌। आफूले नबुझेको कम्तीमा पनि एउटा बुँदाबारे अनुसन्धान गर्नुहोस्‌। सम्भव छ भने, पढ्‌नको लागि जति समय छुट्ट्याउनुहुन्छ, मननको लागि पनि त्यति नै समय छुट्ट्याउनुहोस्‌।