सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ५

हामी तपाईँहरूसितै जानेछौँ

हामी तपाईँहरूसितै जानेछौँ

“हामी तपाईँहरूसितै जान्छौँ किनभने हामीले सुनेका छौँ, परमेश्‍वर तपाईँहरूसित हुनुहुन्छ।”—जक. ८:२३.

गीत २६ यिनलाई जे गऱ्‍यौ, मलाई नै गऱ्‍यौ

परिचय *

अभिषिक्‍त जनहरूसँगै (“यहुदी”) सेवा गर्न पाएकोमा अरू भेडाहरू (“दस जना मानिस”) गर्व गर्छन्‌ (अनुच्छेद १-२ हेर्नुहोस्‌)

१. यहोवाले हाम्रो समयको लागि कुन भविष्यवाणी गर्नुभएको थियो?

यहोवाले हाम्रो समयबारे यस्तो भविष्यवाणी गर्नुभयो: “विभिन्‍न भाषा बोल्ने जातिजातिका दस जना मानिसले एक जना यहुदीको लुगा च्याप्प समात्नेछन्‌ र यसो भन्‍नेछन्‌: ‘हामी तपाईँहरूसितै जान्छौँ किनभने हामीले सुनेका छौँ, परमेश्‍वर तपाईँहरूसित हुनुहुन्छ।’” (जक. ८:२३) यहाँ बताइएको “यहुदी” यहोवाले पवित्र शक्‍तिद्वारा अभिषेक गर्नुभएका मानिसहरू हुन्‌। तिनीहरूलाई “परमेश्‍वरको इस्राएल” पनि भनिन्छ। (गला. ६:१६) “दस जना मानिस”-ले पृथ्वीमा सधैँभरि बाँच्ने आशा भएका मानिसहरूलाई बुझाउँछ। ती मानिसहरूलाई यहोवाले नै अभिषिक्‍त जनहरूको यो समूहलाई रोज्नुभएको हो भनी थाह छ। उनीहरू यो समूहसित मिलेर यहोवाको उपासना गर्न पाउँदा गर्व गर्छन्‌।

२. “दस जना मानिस” कसरी अभिषिक्‍त जनहरूसँगै ‘जान्छन्‌’?

अहिले पृथ्वीमा भएको प्रत्येक अभिषिक्‍त जनको नाम थाह पाउनु सम्भव छैन। * तैपनि पृथ्वीमा बाँच्ने आशा भएकाहरू तिनीहरूसँगै ‘जान्छन्‌’। कसरी? बाइबलले बताएअनुसार ‘दस जना मानिसले एक जना यहुदीको लुगा च्याप्प समात्ने थिए र यसो भन्‍ने थिए: “हामी तपाईँहरूसितै जान्छौँ किनभने हामीले सुनेका छौँ, परमेश्‍वर तपाईँहरूसित हुनुहुन्छ।”’ यस बाइबल पदमा एक जना यहुदीबारे बताइएको छ। यहाँ “तपाईँहरू” भन्‍ने बहुवचन रूप प्रयोग गरिएको छ। यसको मतलब यहाँ बताइएको यहुदीले एक जनालाई मात्र नभई अभिषिक्‍त जनहरूको पूरै समूहलाई बुझाउँछ। अभिषेक नभएका मानिसहरूले अभिषिक्‍त जनहरूसित मिलेर यहोवाको सेवा गर्छन्‌। उनीहरू अभिषिक्‍त जनहरूलाई नेता ठान्दैनन्‌ किनभने उनीहरूलाई येसु मात्र नेता हुनुहुन्छ भनेर थाह छ।—मत्ति २३:१०.

३. यस लेखले कुन प्रश्‍नहरूको जवाफ दिनेछ?

अहिले पनि यहोवाका सेवकहरूमाझ अभिषिक्‍त जनहरू छन्‌। त्यसैले कसै-कसैको मनमा यस्ता प्रश्‍नहरू उठ्‌न सक्छ: (१) अभिषिक्‍त जनहरूले आफूप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ? (२) हामीले स्मरणार्थमा प्रतीक खानेहरूलाई कस्तो व्यवहार गर्नुपर्छ? (३) प्रतीक खानेहरूको सङ्‌ख्यामा वृद्धि हुँदा के हामीले चिन्ता गर्नुपर्छ? यस लेखले यी प्रश्‍नहरूको जवाफ दिनेछ।

अभिषिक्‍त जनहरूले आफूप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?

४. अभिषिक्‍त जनहरूले १ कोरिन्थी ११:२७-२९ मा भएको कुन चेतावनीलाई गम्भीरतासाथ लिनुपर्छ र किन?

अभिषिक्‍त जनहरूले १ कोरिन्थी ११:२७-२९ मा भएको चेतावनीलाई गम्भीरतासाथ लिनुपर्छ। (पढ्‌नुहोस्‌) कुनै अभिषिक्‍त जनले कुन अर्थमा “अयोग्य” हुँदाहुँदै स्मरणार्थको प्रतीक खान्छन्‌? यदि तिनी यहोवाको धार्मिक स्तरअनुरूप जीवन बिताउँदैनन्‌ तर स्मरणार्थमा रोटी खान्छन्‌ र दाखमद्य पिउँछन्‌ भने त्यसो गरिरहेका हुन्छन्‌। (हिब्रू ६:४-६; १०:२६-२९) अभिषिक्‍त जनहरूले “ख्रिष्ट येसुमार्फत परमेश्‍वरबाट पाएको माथिको बोलावटको पुरस्कार” पाउन वफादार रहनुपर्छ भनेर बुझेका छन्‌।—फिलि. ३:१३-१६.

५. अभिषिक्‍त जनहरूले आफूप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?

यहोवाको पवित्र शक्‍तिले उहाँका सेवकहरूलाई नम्र बनाउँछ, घमन्डी होइन। (एफि. ४:१-३; कल. ३:१०, १२) त्यसैले अभिषिक्‍त जनहरू आफूलाई अरूभन्दा श्रेष्ठ ठान्दैनन्‌। तिनीहरू यहोवाले अरू सेवकहरूलाई भन्दा आफूहरूलाई धेरै पवित्र शक्‍ति दिनुहुन्छ भनेर सोच्दैनन्‌। तिनीहरू अरूलाई भन्दा आफूहरूलाई बाइबलको गहिरो कुरा थाह छ भनेर पनि सोच्दैनन्‌। साथै तिनीहरू अरूलाई ‘तपाईँ पनि अभिषिक्‍त जन हुनुहुन्छ, स्मरणार्थको प्रतीक खाए हुन्छ नि’ भनेर कहिल्यै भन्दैनन्‌। बरु तिनीहरू यहोवाले नै मानिसहरूलाई स्वर्ग जाने इनाम दिनुहुन्छ भनेर नम्र भई स्विकार्छन्‌।

६. पहिलो कोरिन्थी ४:७, ८ अनुसार अभिषिक्‍त जनहरूले अरूसँग कस्तो व्यवहार गर्नुपर्छ?

अभिषिक्‍त जनहरू स्वर्गीय बोलावट पाउनुलाई सम्मानको कुरा ठान्छन्‌। तर त्यसो भन्दैमा तिनीहरू अरूबाट बढ्‌तै आदर पाउने आस गर्दैनन्‌। (फिलि. २:२, ३) यहोवाले तिनीहरूलाई अभिषेक गर्नुभएको कुरा अरूलाई थाह दिनुभएको छैन भनेर तिनीहरूले बुझेका छन्‌। त्यसैले तिनीहरू आफू अभिषेक भएको कुरा अरूले नपत्याउँदा छक्क पर्दैनन्‌। किनभने कसैले परमेश्‍वरले विशेष जिम्मेवारी दिनुभएको दाबी गर्दैमा त्यस व्यक्‍तिलाई तुरुन्तै विश्‍वास गरिहाल्नु हुँदैन भनेर बाइबलमा बताइएको कुरा तिनीहरूलाई थाह छ। (प्रका. २:२) अभिषिक्‍त जनहरू आफूतर्फ अरूको ध्यान खिच्न चाहँदैनन्‌। त्यसैले तिनीहरू पहिलो पटक भेट्‌नेजति सबैलाई आफू अभिषिक्‍त जन हुँ भनेर बताउँदैनन्‌ अनि आफूले पाएको आशाबारे धाक पनि लगाउँदैनन्‌।१ कोरिन्थी ४:७, ८ पढ्‌नुहोस्‌।

७. अभिषिक्‍त जनहरूले के गर्नु हुँदैन र किन?

अभिषिक्‍त जनहरू क्लबका सदस्यहरूजस्तै एकअर्कासित मात्र सङ्‌गत गर्नुपर्छ भनी सोच्दैनन्‌। तिनीहरू आफूहरू अभिषेक भएको अनुभव साटासाट गर्न अथवा बाइबल अध्ययन गर्न आफ्नो छुट्टै समूह बनाउँदैनन्‌। (गला. १:१५-१७) तिनीहरूले यसरी समूह बनाए भने मण्डलीमा फुट हुन सक्छ। यसो गर्दा तिनीहरू परमेश्‍वरका जनहरूलाई शान्ति र एकतामा बस्न मदत गर्ने पवित्र शक्‍तिविरुद्ध काम गरिरहेका हुन्छन्‌।—रोमी १६:१७, १८.

अभिषिक्‍त जनहरूसित कस्तो व्यवहार गर्नुपर्छ?

हामीले अभिषिक्‍त जनहरूलाई अथवा नेतृत्व लिइरहेका भाइहरूलाई प्रख्यात व्यक्‍तिलाई जस्तो व्यवहार गर्नु हुँदैन (अनुच्छेद ८ हेर्नुहोस्‌) *

८. स्मरणार्थमा प्रतीक खानेहरूसित व्यवहार गर्ने विषयमा तपाईँ किन होसियार हुनुपर्छ? (फुटनोट पनि हेर्नुहोस्‌)

हामीले अभिषिक्‍त भाइबहिनीसित कस्तो व्यवहार गर्नुपर्छ? कसैलाई बढ्‌तै महत्त्व दिनु गलत हो, चाहे तिनी ख्रिष्टका अभिषिक्‍त भाइ नै किन नहोऊन्‌। (मत्ति २३:८-१२) बाइबलमा एल्डरहरूको ‘विश्‍वासको अनुकरण गर्न’ प्रोत्साहन दिइएको छ तर कुनै मानिसलाई आफ्नो नेता बनाउन भनिएको छैन। (हिब्रू १३:७) हुनत बाइबलमा कोही-कोही “दोबर आदरको योग्य” हुन्छन्‌ भनिएको छ तर हामीले त्यस्तो आदर देखाउनुको कारण तिनीहरू अभिषिक्‍त जन भएकोले होइन बरु तिनीहरूले “राम्ररी अगुवाइ” लिएकोले र “बोल्ने र सिकाउने काममा कडा परिश्रम” गरेकोले हो। (१ तिमो. ५:१७) अभिषिक्‍त जनहरूको ज्यादै प्रशंसा गर्छौँ र तिनीहरूलाई बढ्‌तै महत्त्व दिन्छौँ भने तिनीहरूलाई अप्ठ्यारोमा पारिरहेका हुन सक्छौँ। * त्योभन्दा पनि दुःखलाग्दो कुरा, हाम्रो त्यस्तो व्यवहारले गर्दा तिनीहरू घमन्डी हुन सक्छन्‌। (रोमी १२:३) हामीमध्ये कोही पनि ख्रिष्टका अभिषिक्‍त भाइहरूलाई यस्तो गम्भीर गल्ती गर्ने हदसम्म पुऱ्‍याउन सक्ने कुनै काम गर्न चाहँदैनौँ।—लुका १७:२.

९. हामी अभिषिक्‍त जनहरूलाई कसरी आदर गर्न सक्छौँ?

यहोवाले अभिषेक गर्नुभएका व्यक्‍तिहरूलाई हामी कसरी आदर गर्न सक्छौँ? हामी तिनीहरूलाई कसरी अभिषेक भए भनेर सोध्दैनौँ। यो उनीहरूको व्यक्‍तिगत कुरा हो र हामीसँग त्यो थाह पाउने अधिकार छैन। (१ थिस्स. ४:११; २ थिस्स. ३:११) तिनीहरूका परिवारका सदस्यहरू, जस्तै: पति वा पत्नी, आमाबुबा अथवा अरू पनि अभिषिक्‍त होलान्‌ भनेर हामीले अनुमान लगाउनु हुँदैन। स्वर्गीय जीवनको आशा परमेश्‍वरबाट मात्र पाइन्छ, यो वंशानुगत पाइने आशा होइन। (१ थिस्स. २:१२) साथै अरूलाई चित्त दुख्ने प्रश्‍नहरू सोध्नु हुँदैन। जस्तै: कुनै अभिषिक्‍त भाइकी पत्नीलाई ‘तपाईँलाई आफ्नो पतिविना पृथ्वीमा सधैँभरि बाँच्ने आशाबारे सोच्दा कस्तो लाग्छ’ भनेर सोध्दैनौँ। जेहोस्‌, हामी नयाँ संसारमा यहोवाले “सबै जीवको इच्छा पूरा गरिदिनुहुन्छ” भनेर विश्‍वस्त छौँ।—भज. १४५:१६.

१०. हामीले अरू मानिसहरूको “चापलुसी” नगर्दा कसरी यहोवासितको सम्बन्धलाई जोगाइरहेका हुन्छौँ?

१० यदि हामी अभिषिक्‍त जनहरूलाई बढ्‌तै महत्त्व दिन्छौँ भने यहोवासितको हाम्रो सम्बन्धलाई खतरामा पारिरहेका हुन्छौँ। कसरी? बाइबलमा केही अभिषिक्‍त जनहरू अन्तसम्म वफादार रहनदेखि चुक्न सक्छन्‌ भनेर बताइएको छ। (मत्ति २५:१०-१२; २ पत्रु. २:२०, २१) हामीले अरू मानिसहरूको “चापलुसी” नगर्दा तिनीहरूको हुबहु नक्कल गर्ने पासोमा पर्नेछैनौँ, चाहे तिनीहरू अभिषिक्‍त जन होऊन्‌ वा नाम चलेको अथवा धेरै वर्षदेखि यहोवाको सेवा गरिरहेका भाइबहिनी नै किन नहोऊन्‌। (यहु. १६) यसो गर्दा तिनीहरूले यहोवालाई त्यागे अथवा मण्डली छोडे तापनि यहोवाप्रतिको हाम्रो विश्‍वास ढलपल हुनेछैन र उहाँको सेवा गर्न छोड्‌नेछैनौँ।

प्रतीक खानेहरूको सङ्‌ख्या बढ्‌दैमा चिन्ता गर्नुपर्छ?

११. स्मरणार्थमा प्रतीक खानेहरूको सङ्‌ख्यामा कस्तो परिवर्तन आएको छ?

११ केही वर्षअघिसम्म प्रतीक खानेहरूको सङ्‌ख्या घट्‌दै गइरहेको थियो। तर अहिले त्यो सङ्‌ख्या वर्षैपिच्छे बढ्‌दै गइरहेको छ। के यसबारे हामीले चिन्ता गर्नुपर्छ? अहँ, पर्दैन। त्यसको कारण बुझ्न केही बुँदा विचार गरौँ।

१२. हामीले स्मरणार्थमा प्रतीक खानेहरूको सङ्‌ख्या बढ्‌दा किन चिन्ता गर्नु पर्दैन?

१२ “आफ्ना मानिसहरूलाई यहोवा परमेश्‍वर चिन्‍नुहुन्छ।” (२ तिमो. २:१९) प्रतीक खानेहरूको सङ्‌ख्या गन्‍ने भाइहरूलाई साँच्चै अभिषेक भएकाहरू को-को हुन्‌ भनेर थाह हुँदैन, त्यो कुरा यहोवालाई मात्र थाह हुन्छ। त्यस सङ्‌ख्यामा यहोवाले अभिषेक नगर्नुभएको तर आफैलाई अभिषिक्‍त ठान्‍नेहरू पनि समावेश छन्‌। तर पछि तिनीहरूमध्ये कोही-कोहीले प्रतीक खान छोडे। अरू कतिपयले चाहिँ मानसिक वा भावनात्मक असन्तुलनले गर्दा आफूलाई येसुसँगै स्वर्गमा शासन गर्ने आशा पाएको व्यक्‍ति भन्ठान्छन्‌। वास्तवमा हामीलाई पृथ्वीमा ठ्याक्कै कति जना अभिषिक्‍त जन बाँकी छन्‌ भनेर थाह छैन।

१३. के बाइबलमा महासङ्‌कष्ट सुरु हुँदा पृथ्वीमा कति जना अभिषिक्‍त जन बाँकी रहनेछन्‌ भनेर बताइएको छ?

१३ येसुले अभिषिक्‍त जनहरूलाई पृथ्वीको विभिन्‍न ठाउँबाट जम्मा गरेर स्वर्ग लैजानुहुनेछ। (मत्ति २४:३१) अन्तको दिनमा पृथ्वीमा केही अभिषिक्‍त जनहरू बाँकी हुनेछन्‌ भनेर बाइबलमा बताइएको छ। (प्रका. १२:१७) तर महासङ्‌कष्ट सुरु हुँदा कति जना बाँकी रहनेछन्‌ भनेर चाहिँ बताइएको छैन।

कसैले स्मरणार्थमा प्रतीक खाएमा हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ? (अनुच्छेद १४ हेर्नुहोस्‌)

१४. यहोवाले अभिषिक्‍त जन कसरी रोज्नुहुन्छ, त्यसबारे रोमी ९:११, १६ बाट के बुझ्छौँ?

१४ कुनै व्यक्‍तिलाई अभिषिक्‍त जनको रूपमा कहिले रोज्ने भनेर यहोवाले निर्णय गर्नुहुन्छ। (रोमी ८:२८-३०) यहोवाले येसुलाई ब्युँताउनुभएपछि अभिषिक्‍त जनहरूलाई रोज्न थाल्नुभयो। प्रथम शताब्दीमा सबै ख्रिष्टियन अभिषिक्‍त जन थिए जस्तो देखिन्छ। त्यसपछिका शताब्दीहरूमा आफूलाई ख्रिष्टियन भनेर दाबी गर्ने धेरैजसो मानिसहरू ख्रिष्टको पदचिन्हमा हिँडिरहेका थिएनन्‌। तैपनि यहोवाले त्यस दौडान थोरै सङ्‌ख्यामा रहेका साँचो ख्रिष्टियनहरूलाई अभिषेक गर्नुभयो। येसुले बताउनुभएझैँ तिनीहरू सामाको बीचमा बढ्‌दै गरेको गहुँजस्तै थिए। (मत्ति १३:२४-३०) अन्तको दिनमा पनि यहोवाले १ लाख ४४ हजारको बाँकी सदस्यहरूलाई छान्दै हुनुहुन्छ। * यदि परमेश्‍वरले यस दुष्ट रीतिरिवाजको विनाश गर्नु ठीक अघि कसैलाई रोज्ने निर्णय गर्नुहुन्छ भने हामीले शङ्‌का गर्नु हुँदैन। (रोमी ९:११, १६ पढ्‌नुहोस्‌) * हामी येसुले दिनुभएको उदाहरणको खेतालाहरूजस्तो हुनु हुँदैन। तिनीहरूले सबैभन्दा पछि काममा आउनेहरूले पनि अरूले सरह ज्याला पाए भनेर मालिकसित गुनासो गरेका थिए।—मत्ति २०:८-१५.

१५. के सबै अभिषिक्‍त जन मत्ति २४:४५-४७ मा उल्लेख गरिएको “विश्‍वासी र बुद्धिमान्‌ दास”-मा पर्छन्‌? व्याख्या गर्नुहोस्‌।

१५ स्वर्गमा जीवन पाउने आशा भएकाहरू सबै “विश्‍वासी र बुद्धिमान्‌ दास”-मा पर्दैनन्‌। (मत्ति २४:४५-४७ पढ्‌नुहोस्‌) प्रथम शताब्दीमा जस्तै अहिले पनि यहोवा र येसुले केही भाइहरूलाई प्रयोग गरेर धेरैलाई खुवाउने अर्थात्‌ सिकाउने काम गर्दै हुनुहुन्छ। प्रथम शताब्दीमा केही अभिषिक्‍त ख्रिष्टियनले मात्र ख्रिष्टियन ग्रीक धर्मशास्त्र लेख्ने सुअवसर पाएका थिए। अहिले पनि केही अभिषिक्‍त जनहरूले मात्र परमेश्‍वरका जनहरूलाई “ठीक समयमा भोजन” दिने जिम्मेवारी पाएका छन्‌।

१६. तपाईँले यस लेखबाट के सिक्नुभयो?

१६ यस लेखबाट हामीले के सिक्यौँ? यहोवाले आफ्ना धेरैजसो सेवकलाई पृथ्वीमा अनन्त जीवन दिने र थोरैलाई चाहिँ येसुसँगै शासन गर्न स्वर्गीय जीवन दिने निर्णय गर्नुभएको छ। यहोवा आफ्ना सबै सेवकहरूलाई अर्थात्‌ “यहुदी” र “दस जना मानिस”-लाई इनाम दिनुहुन्छ अनि तिनीहरूले एउटै व्यवस्था पालन गरेको र वफादार रहेको चाहनुहुन्छ। त्यसैले सबै जना नम्र भइरहनुपर्छ। सबैले एकताबद्ध भएर उहाँको सेवा गर्नुपर्छ। साथै हामी सबैले मण्डलीका भाइबहिनीसित शान्तिमा बस्न सक्दो गर्नुपर्छ। यस अन्तको दिनमा हामी सबै “एउटै बगालको” भएर येसुको पछि लागौँ अनि यहोवाको सेवा गरिरहौँ।—युह. १०:१६.

^ अनु. 5 यो वर्ष ख्रिष्टको मृत्युको स्मरणार्थ उत्सव अप्रिल ७, मङ्‌गलबार मनाइनेछ। हामीले प्रतीक खानेहरूप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ? हरेक वर्ष तिनीहरूको सङ्‌ख्यामा वृद्धि भइरह्‍यो भने के हामीले चिन्ता गर्नुपर्छ? यी प्रश्‍नहरूको जवाफ यस लेखमा पाउनेछौँ। यो लेख जनवरी २०१६ को प्रहरीधरहरा-को एउटा लेखमा आधारित छ।

^ अनु. 2 भजन ८७:५, ६ मा बताइएअनुसार परमेश्‍वरले सायद भविष्यमा स्वर्गमा येसुसँगै शासन गर्नेहरू सबैको नाम प्रकट गर्नुहुनेछ।—रोमी ८:१९.

^ अनु. 8 जनवरी, २०१६, प्रहरीधरहरा-को “प्रेमले ‘अभद्र व्यवहार गर्दैन’” भन्‍ने पेटी हेर्नुहोस्‌।

^ अनु. 14 प्रेषित २:३३ मा पवित्र शक्‍ति येसुमार्फत खन्याइन्छ भनेर बताइएको भए तापनि प्रत्येक व्यक्‍तिलाई नियुक्‍त गर्ने यहोवा नै हुनुहुन्छ।

^ अनु. 14 थप जानकारीको लागि प्रहरीधरहरा (अङ्‌ग्रेजी) मे १, २००७ को “पाठकहरूको प्रश्‍न” हेर्नुहोस्‌।

गीत ३४ निष्ठामा हिँडौँ!

^ अनु. 56 चित्रको व्याख्या: अधिवेशनमा मुख्यालय प्रतिनिधि र उहाँकी पत्नीको फोटो खिच्न मानिसहरू तँछाडमछाड गर्दा कस्तो देखिएला, कल्पना गर्नुहोस्‌। यसो गर्नु अभद्र व्यवहार हो!