सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ६

हाम्रा बुबा यहोवा हामीलाई असाध्यै माया गर्नुहुन्छ

हाम्रा बुबा यहोवा हामीलाई असाध्यै माया गर्नुहुन्छ

“यसकारण तिमीहरूले यसरी प्रार्थना गर्नू: ‘हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा।’”—मत्ति ६:९.

गीत १३५ यहोवाको न्यानो आग्रह: “हे मेरो छोरा, बुद्धिमान्‌ होऊ”

परिचय *

१. फारसको राजासामु जान के गर्नुपर्थ्यो?

कल्पना गर्नुहोस्‌, तपाईँ लगभग दुई हजार पाँच सय वर्षअघि फारसमा हुनुहुन्छ। तपाईँ त्यहाँको राजासित एउटा विषयमा कुरा गर्न चाहनुहुन्छ। त्यसैले तपाईँ राजा बस्ने सहर सुसन जानुहुन्छ। तर तपाईँ अनुमतिविना राजासामु जाने कुरा सोच्नसमेत सक्नुहुन्‍न। अनुमति नलिई राजालाई भेट्‌न जानुभयो भने तपाईँको ज्यानसमेत जान सक्छ।—एस्त. ४:११.

२. यहोवासित कुरा गर्न हामीले कस्तो महसुस गरेको उहाँ चाहनुहुन्छ?

यहोवा फारसको ती राजाजस्तो हुनुहुन्‍न भनेर थाह पाउँदा हामी कत्ति खुसी हुन सक्छौँ! यहोवा मानव शासकहरूभन्दा कता हो कता शक्‍तिशाली र महान्‌ हुनुहुन्छ। तैपनि हामी उहाँसँग जुनसुकै बेला कुरा गर्न सक्छौँ। हामी उहाँसित कुनै धक नमानी कुरा गरेको उहाँ चाहनुहुन्छ। हुनत यहोवा महान्‌ सृष्टिकर्ता, सर्वशक्‍तिमान्‌ र सर्वोच्च परमेश्‍वरजस्ता उच्च उपाधिले चिनिनुहुन्छ तैपनि हामीले उहाँलाई पुकार्न “बुबा” भन्‍ने मायालु अभिव्यक्‍ति चलाएको चाहनुहुन्छ। (मत्ति ६:९) हामी उहाँसित घनिष्ठ भएको यहोवा चाहनुहुन्छ। यो कुरा थाह पाउँदा हाम्रो मनै छुन्छ!

३. हामी यहोवालाई किन “बुबा” भनेर पुकार्न सक्छौँ अनि यस लेखमा के छलफल गर्नेछौँ?

यहोवालाई “बुबा” भनेर पुकार्नु उचित हो किनभने उहाँ हाम्रो जीवनको मूल हुनुहुन्छ। (भज. ३६:९) उहाँ हाम्रो बुबा हुनुहुन्छ, त्यसैले उहाँको आज्ञा पालन गर्नु हाम्रो जिम्मेवारी हो। हामीले उहाँको आज्ञाअनुसार चल्दा थुप्रै आशिष्‌ पाउनेछौँ। (हिब्रू १२:९) ती आशिष्‌हरूमा भविष्यमा पाइने अनन्त जीवन पनि पर्छ, चाहे हाम्रो आशा स्वर्ग जाने होस्‌ वा पृथ्वीमै बस्ने। हामीले अहिले पनि आशिष्‌हरू पाइरहेका छौँ। यहोवा अहिले कसरी मायालु बुबाजस्तै व्यवहार गर्नुहुन्छ अनि भविष्यमा उहाँले हामीलाई त्याग्नुहुनेछैन भन्‍ने कुरामा कसरी पक्का हुन सक्छौ भनेर यस लेखबाट बुझ्नेछौँ। तर सुरुमा, स्वर्गमा बस्नुहुने हाम्रो मायालु बुबाले हामीलाई असाध्यै माया गर्नुहुन्छ अनि ख्याल राख्नुहुन्छ भनेर किन विश्‍वस्त हुन सक्छौँ, छलफल गरौँ।

यहोवा माया गर्ने अनि ख्याल राख्ने परमेश्‍वर हुनुहुन्छ

जसरी एक मायालु बुबा आफ्नो छोराछोरीसित घनिष्ठ हुन चाहन्छन्‌, त्यसरी नै यहोवा पनि हामीसित घनिष्ठ हुन चाहनुहुन्छ (अनुच्छेद ४ हेर्नुहोस्‌)

४. यहोवालाई आफ्नो बुबाको रूपमा स्विकार्न कसै-कसैलाई किन गाह्रो लाग्छ?

के परमेश्‍वरलाई आफ्नो बुबाको रूपमा स्विकार्न तपाईँलाई गाह्रो लाग्छ? कसै-कसैले यहोवाको अगाडि आफूलाई नगण्य र तुच्छ ठान्छन्‌। तिनीहरू सर्वशक्‍तिमान्‌ परमेश्‍वरले प्रत्येक मानिसको ख्याल गर्नुहुन्छ भन्‍ने कुरामा शङ्‌का गर्छन्‌। तर हामीले त्यसरी सोचेको हाम्रो मायालु बुबा यहोवा चाहनुहुन्‍न। उहाँले हामीलाई जीवन दिनुभएको छ; त्यसैले हामीले उहाँलाई आफ्नो बुबा ठानेको उहाँ चाहनुहुन्छ। यो सत्य बताएपछि प्रेषित पावलले एथेन्सका मानिसहरूलाई यहोवा “हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न” भनेर बताए। (प्रेषि. १७:२४-२९) एउटा बच्चा आफ्नो मायालु र ख्याल गर्ने बुबासित कुरा गर्न नहिचकिचाएजस्तै हामी सबैले उहाँसित त्यसरी नै कुरा गरेको उहाँ चाहनुहुन्छ।

५. एउटी ख्रिष्टियन बहिनीको अनुभवबाट के सिक्न सक्छौँ?

अरू कतिपयलाई भने यहोवालाई आफ्नो बुबाको रूपमा स्विकार्न गाह्रो लाग्नुको कारण तिनीहरूले आफ्नो मानव बुबाबाट माया र स्नेह खासै नपाएकोले हुन सक्छ। एउटी ख्रिष्टियन बहिनीले भनेको कुरा विचार गर्नुहोस्‌: “मेरो बुबा साह्रै क्रूर र हिंस्रक स्वभावको हुनुहुन्थ्यो। त्यसैले मैले बाइबल अध्ययन गर्न थाल्दा स्वर्गमा बस्नुहुने बुबासित घनिष्ठ हुन सकिँदैन जस्तो लाग्यो। तर यहोवालाई राम्ररी चिनेपछि भने उहाँसित घनिष्ठ हुन सकेँ।” के तपाईँ पनि यस्तै महसुस गर्दै हुनुहुन्छ? त्यसो हो भने चिन्ता नगर्नुहोस्‌। यहोवा नै सबैभन्दा असल बुबा हुनुहुन्छ भनेर तपाईँले पनि पक्कै महसुस गर्नुहुनेछ।

६. मत्ति ११:२७ अनुसार यहोवाले आफू मायालु बुबा हुँ भनेर कसरी बुझाउनुभयो?

यहोवाले आफू मायालु बुबा हुँ भनेर बुझाउन प्रयोग गर्नुभएको एउटा तरिका बाइबलमा येसुका शब्दहरू र उहाँका कार्यहरू लेख्न लगाउनुभएर हो। (मत्ति ११:२७ पढ्‌नुहोस्‌) येसुले आफ्नो बुबाको व्यक्‍तित्व यत्ति राम्ररी झल्काउनुभयो कि उहाँले यसो भन्‍न सक्नुभयो: “जसले मलाई देखेको छ, उसले बुबालाई पनि देखेको छ।” (युह. १४:९) यहोवाले बुबाको रूपमा पूरा गर्नुभएको भूमिकाबारे येसुले धेरै चोटि कुरा गर्नुभयो। सुसमाचारका चार पुस्तकमा मात्रै येसुले यहोवालाई सम्बोधन गर्न “बुबा” भन्‍ने अभिव्यक्‍ति लगभग १६५ चोटि प्रयोग गर्नुभयो। येसुले यहोवाको विषयमा किन यति धेरै पटक उल्लेख गर्नुभयो? एउटा कारण हो, मानिसहरूलाई यहोवा मायालु बुबा हुनुहुन्छ भनेर विश्‍वस्त पार्न।—युह. १७:२५, २६.

७. आफ्नो छोरासित गर्नुभएको व्यवहारबाट हामी यहोवाबारे के सिक्न सक्छौँ?

यहोवाले आफ्नो छोरा येसुसित गर्नुभएको व्यवहारबाट हामी उहाँबारे के सिक्न सक्छौ, विचार गरौँ। यहोवाले सधैँ येसुको प्रार्थना सुन्‍नुहुन्थ्यो। उहाँले प्रार्थना सुन्‍नु मात्र भएन तर त्यसको जवाफ पनि दिनुभयो। (युह. ११:४१, ४२) येसुले जस्तोसुकै परीक्षा सामना गर्नुपरे तापनि सधैँ आफ्नो बुबाको माया र साथ पाएको महसुस गर्नुभयो।—लुका २२:४२, ४३.

८. यहोवाले कुन-कुन तरिकामा येसुको आवश्‍यकता पूरा गर्नुभयो?

येसुले आफ्नो जीवनको स्रोत बुबा हुनुहुन्छ र जीवन धान्‍ने पनि उहाँ नै हुनुहुन्छ भनेर यसरी मानिलिनुभयो: “बुबाले गर्दा म जीवित छु।” (युह. ६:५७) येसु आफ्नो बुबामाथि पूर्ण भरोसा राख्नुहुन्थ्यो र यहोवाले उहाँको भौतिक आवश्‍यकता पूरा गर्नुहुन्थ्यो। सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवाले येसुको आध्यात्मिक आवश्‍यकता पूरा गर्नुभयो।—मत्ति ४:४.

९. यहोवाले येसुलाई माया र ख्याल गर्नुभएको कसरी देखाउनुभयो?

यहोवा मायालु बुबा हुनुभएकोले उहाँले आफ्नो छोरा येसुलाई सधैँ साथ दिइरहनुभएको कुरामा ढुक्क बनाउनुभयो। (मत्ति २६:५३; युह. ८:१६) हुनत उहाँले येसुलाई सबै हानिबाट जोगाउनुभएन तैपनि परीक्षाहरू सहन मदत भने गर्नुभयो। आफूले जस्तोसुकै हानि बेहोर्नुपरे तापनि त्यो क्षणिक मात्र हो भनेर येसुलाई थाह थियो। (हिब्रू १२:२) यहोवाले येसुको कुरा सुन्‍नुभएर, उहाँको आवश्‍यकता पूरा गर्नुभएर, उहाँलाई तालिम दिनुभएर र उहाँलाई साथ दिनुभएर माया गरेको देखाउनुभयो। (युह. ५:२०; ८:२८) स्वर्गमा बस्नुहुने बुबाले कसरी हाम्रो पनि त्यस्तै तरिकामा ख्याल राख्नुहुन्छ, अब विचार गरौँ।

मायालु बुबाले कसरी हाम्रो ख्याल राख्नुहुन्छ?

मायालु बुबाले आफ्नो छोराछोरीको (१) कुरा सुन्छन्‌, (२) आवश्‍यकता पूरा गर्छन्‌ अनि उनीहरूलाई (३) तालिम दिन्छन्‌ र (४) जोगाउँछन्‌। स्वर्गमा बस्नुहुने हाम्रो मायालु बुबाले हामीलाई त्यसरी नै ख्याल राख्नुहुन्छ (अनुच्छेद १०-१५ हेर्नुहोस्‌) *

१०. भजन ६६:१९, २० अनुसार यहोवाले हामीलाई माया गर्नुभएको कसरी देखाउनुहुन्छ?

१० यहोवा हाम्रा प्रार्थनाहरू सुन्‍नुहुन्छ। (भजन ६६:१९, २० पढ्‌नुहोस्‌) हामीले कहिलेकाहीँ मात्र नभई निरन्तर प्रार्थना गरेको उहाँ चाहनुहुन्छ। (१ थिस्स. ५:१७) हामी जहाँ भए पनि जुनसुकै बेला हाम्रा परमेश्‍वरलाई आदरका साथ प्रार्थना गर्न सक्छौँ। हाम्रा प्रार्थना सुन्‍नै नभ्याउने गरी उहाँ कहिल्यै व्यस्त हुनुहुन्‍न; उहाँ सधैँ तयार र उत्सुक हुनुहुन्छ। यहोवा हाम्रा प्रार्थना सुन्‍नुहुन्छ भनेर थाह पाउँदा हामी उहाँसित अझै घनिष्ठ हुन्छौँ। एक भजनरचयिताले यसो भने: “म यहोवालाई प्रेम गर्छु किनकि उहाँ मेरो स्वर सुन्‍नुहुन्छ।”—भज. ११६:१.

११. हामीले यहोवालाई प्रार्थना गर्दा उहाँ के गर्नुहुन्छ?

११ हाम्रा बुबाले प्रार्थना सुन्‍नु मात्र हुन्‍न तर त्यसको जवाफ पनि दिनुहुन्छ। प्रेषित युहन्‍ना हामीलाई यस्तो आश्‍वासन दिन्छन्‌: “[परमेश्‍वरको] इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ।” (१ युह. ५:१४, १५) हुनत यहोवाले प्रार्थनाको जवाफ हामीले आशा गरेअनुसार नदिनुहोला। तर हाम्रो लागि सबैभन्दा उत्तम कुरा के हो, त्यो उहाँलाई थाह छ। त्यसैले कहिलेकाहीँ हामीले मागेको कुरा उहाँले दिनुहुन्‍न अथवा केहीबेर पर्खेको चाहनुहुन्छ।—२ कोरि. १२:७-९.

१२-१३. स्वर्गमा बस्नुहुने बुबाले हाम्रो आवश्‍यकता कसरी पूरा गर्नुहुन्छ?

१२ यहोवा हाम्रो आवश्‍यकता पूरा गर्नुहुन्छ। सबै मानव बुबाले आफ्नो परिवारको लागि जे गरेको यहोवा चाहनुहुन्छ, त्यो उहाँ आफैले पनि गर्नुहुन्छ। (१ तिमो. ५:८) उहाँ आफ्ना छोराछोरीको भौतिक आवश्‍यकता पूरा गर्नुहुन्छ। त्यसैले हामीले गाँस, बास अनि कपासको लागि चिन्ता गरेको उहाँ चाहनुहुन्‍न। (मत्ति ६:३२, ३३; ७:११) मायालु बुबा हुनुभएकोले यहोवाले हामीलाई भविष्यमा चाहिने सबै कुराको पनि प्रबन्ध मिलाउनुभएको छ।

१३ सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवाले हाम्रो आध्यात्मिक आवश्‍यकता पूरा गर्न प्रबन्ध मिलाउनुहुन्छ। उहाँले आफ्नो वचनमार्फत आफूबारे सत्य कुरा, आफ्नो उद्देश्‍य, जीवनको अर्थ र भविष्यबारे प्रकट गर्नुभएको छ। हामीले सत्य सिक्दा उहाँले हाम्रा बुबाआमा अथवा अरू कसैलाई चलाएर उहाँबारे सिक्न मदत गर्नुभयो। यसरी उहाँले हामीमा व्यक्‍तिगत चासो राख्नुभयो। हामीले मण्डलीका मायालु एल्डरहरू र अरू परिपक्व दाजुभाइ दिदीबहिनीमार्फत आवश्‍यक मदत पाइरहन्छौँ। त्यसको साथै यहोवाले हामीलाई आध्यात्मिक परिवारसँगै मण्डलीका सभाहरूमार्फत सिकाउनुहुन्छ। यी र अन्य तरिकामा यहोवाले हामीलाई बुबाले जस्तै ख्याल राख्नुहुन्छ।—भज. ३२:८.

१४. यहोवाले हामीलाई किन र कसरी तालिम दिनुहुन्छ?

१४ यहोवा हामीलाई तालिम दिनुहुन्छ। येसु त्रुटिरहित हुनुहुन्थ्यो तर हामी भने त्रुटिपूर्ण छौँ। त्यसैले मायालु बुबा यहोवाले हामीलाई आवश्‍यक पर्दा अनुशासन दिएर तालिम दिनुहुन्छ। उहाँको वचन हामीलाई यसरी सम्झाउँछ: “यहोवा जसलाई माया गर्नुहुन्छ, उसैलाई अनुशासन दिनुहुन्छ।” (हिब्रू १२:६, ७) यहोवाले हामीलाई विभिन्‍न तरिकामा अनुशासन दिनुहुन्छ। उदाहरणको लागि, बाइबलमा पढेको कुनै कुराले अथवा सभामा सुनेको कुनै कुराले हाम्रो सोच्ने तरिकालाई परिवर्तन गर्न जुरमुऱ्‍याउन सक्छ अथवा एल्डरहरूले हामीलाई आवश्‍यक मदत दिन सक्छन्‌। तर यहोवाले जस्तोसुकै तरिकामा अनुशासन दिनुभए तापनि सधैँ प्रेमले उत्प्रेरित भएर दिनुहुन्छ।—यर्मि. ३०:११.

१५. यहोवाले हामीलाई कुन-कुन तरिकामा जोगाउनुहुन्छ?

१५ यहोवा हामीलाई परीक्षा सहन मदत गर्नुहुन्छ। एक मायालु बुबाले छोराछोरीलाई गाह्रो अवस्थामा मदत गरेजस्तै स्वर्गमा बस्नुहुने बुबाले हामीलाई परीक्षा आइपर्दा सम्हाल्नुहुन्छ। उहाँले हामीलाई आफ्नो पवित्र शक्‍ति चलाएर आध्यात्मिक हानिबाट जोगाउनुहुन्छ। (लुका ११:१३) यहोवाले हामीलाई भावनात्मक तवरमा पनि मदत गर्नुहुन्छ। जस्तै: उहाँले हामीलाई अद्‌भुत आशा दिनुभएको छ। भविष्यको त्यस आशाले हामीलाई गाह्रा परिस्थितिहरू सहन मदत गर्छ। विचार गर्नुहोस्‌: हामीले जस्तोसुकै नराम्रो अवस्थाको सामना गर्नुपरे तापनि हाम्रो मायालु बुबाले ती सबै सच्याउनुहुनेछ। हामीले सामना गरिरहेको जुनसुकै परीक्षा क्षणिक मात्र हो तर यहोवाले दिनुहुने आशिष्‌ सधैँभरि रहिरहन्छ।—२ कोरि. ४:१६-१८.

हाम्रो बुबाले हामीलाई कहिल्यै त्याग्नुहुनेछैन

१६. आदमले मायालु बुबा यहोवाको आज्ञा पालन नगर्दा के भयो?

१६ आदमले स्वर्गमा बस्नुहुने बुबा यहोवाको आज्ञा पालन नगर्दा उहाँले चाल्नुभएको कदमबाट हामीप्रति उहाँको प्रेम झल्किन्छ। आदम अनाज्ञाकारी भएपछि तिनले यहोवाको सुखी परिवारमा आफ्नो अनि आफ्नो सन्तानको स्थान गुमाए। (रोमी ५:१२; ७:१४) तैपनि यहोवाले तिनको सन्तानलाई मदत गर्न कदम चाल्नुभयो।

१७. आदमले विद्रोह गर्नेबित्तिकै यहोवाले के गर्नुभयो?

१७ यहोवाले आदमलाई सजाय दिनुभए तापनि तिनका भावी सन्तानलाई मदत गर्ने प्रतिज्ञा गर्नुभयो। आज्ञाकारी मानिसहरूले उहाँको परिवारमा फेरि स्थान पाउनेछन्‌ भनेर उहाँले तुरुन्तै प्रतिज्ञा गर्नुभयो। (उत्प. ३:१५; रोमी ८:२०, २१) यहोवाले यो प्रबन्ध आफ्नो छोरा येसुले दिनुभएको फिरौतीको बलिदानको आधारमा मिलाउनुभयो। हाम्रो लागि आफ्नो छोरा दिनुभएर यहोवाले हामीलाई कत्ति माया गर्नुहुन्छ भनेर प्रकट गर्नुभयो।—युह. ३:१६.

हामी यहोवाबाट टाढिएका छौँ तर पश्‍चात्तापी छौँ भने हाम्रो मायालु बुबा हामीलाई फेरि स्वागत गर्न तयार र उत्सुक हुनुहुन्छ (अनुच्छेद १८ हेर्नुहोस्‌)

१८. हामी यहोवाबाट टाढिएका छौँ भने पनि उहाँ हामीलाई स्विकार्न तयार हुनुहुन्छ भनेर किन ढुक्क हुन सक्छौँ?

१८ हामी त्रुटिपूर्ण भए तापनि यहोवा हामीलाई उहाँको परिवारमा स्विकार्न चाहनुहुन्छ। उहाँ हामीलाई कहिल्यै बोझ ठान्‍नुहुन्‍न। कहिलेकाहीँ हामीले उहाँलाई दुःखी तुल्याऔँला अथवा उहाँबाट केही समयको लागि टाढिऔँला। तर कुनै दिन हामी फर्कनेछौँ भन्‍ने आशा उहाँ कहिल्यै मार्नुहुन्‍न। यहोवा हामीलाई कत्ति माया गर्नुहुन्छ भनेर बुझाउन येसुले हराएको छोराको उदाहरण बताउनुभयो। (लुका १५:११-३२) त्यस उदाहरणको बुबाले आफ्नो छोरा फर्किने आशा कहिल्यै मारेनन्‌। बुबाले छोरा घर फर्कँदा उसलाई खुसीसाथ स्वागत गरे। हामी पनि यहोवाबाट टाढिएका छौँ तर पश्‍चात्तापी छौँ भने हाम्रो मायालु बुबा हामीलाई फेरि स्वागत गर्न तयार र उत्सुक हुनुहुन्छ भन्‍ने कुरामा ढुक्क हुन सक्छौँ।

१९. आदमले गर्दा भएको हानि यहोवाले कसरी सच्याउनुहुनेछ?

१९ आदमले गर्दा भएको सबै हानि हाम्रा बुबा यहोवाले सच्याउनुहुनेछ। आदमले पाप गरेपछि यहोवाले मानिसजातिबाट १ लाख ४४ हजार जनालाई रोज्ने निर्णय गर्नुभयो। तिनीहरूले उहाँको छोरासँगै स्वर्गमा राजा र पुजारीको रूपमा शासन गर्नेछन्‌। नयाँ संसारमा येसु र उहाँका सह-शासकहरूले आज्ञाकारी मानिसहरूलाई त्रुटिरहित अवस्थामा पुग्न मदत गर्नुहुनेछ। आज्ञाकारिताको अन्तिम जाँचमा सफल हुने मानिसहरूलाई परमेश्‍वरले अनन्त जीवन दिनुहुनेछ। पृथ्वी त्रुटिरहित छोराछोरीले भरिएको देख्नुहुँदा हाम्रा बुबा यहोवा खुसी हुनुहुनेछ। त्यो कत्ति रोमाञ्चकारी समय हुनेछ!

२०. यहोवाले हामीलाई असाध्यै माया गर्नुहुन्छ भनेर कुन-कुन तरिकामा देखाउनुभएको छ? अर्को लेखमा के छलफल गर्नेछौँ?

२० यहोवाले हामीलाई असाध्यै माया गर्नुहुन्छ भनेर देखाउनुभएको छ। उहाँ नै उत्कृष्ट बुबा हुनुहुन्छ। उहाँले हाम्रो प्रार्थना सुन्‍नुहुन्छ अनि हाम्रो भौतिक र आध्यात्मिक आवश्‍यकता पूरा गर्नुहुन्छ। उहाँले हामीलाई तालिम अनि साथ दिनुहुन्छ। उहाँले हाम्रो लागि भविष्यमा अद्‌भुत आशिष्‌हरू पनि साँचेर राख्नुभएको छ। हाम्रा बुबाले हामीलाई माया गर्नुहुन्छ अनि हाम्रो ख्याल राख्नुहुन्छ भनेर थाह पाउँदा हाम्रो मनै छुन्छ! उहाँले देखाउनुभएको प्रेमप्रति हामी कसरी आभारी हुन सक्छौँ भनेर अर्को लेखमा छलफल गर्नेछौँ।

गीत १०८ परमेश्‍वरको अटल प्रेम

^ अनु. 5 हामी यहोवालाई प्रायजसो सृष्टिकर्ता र सार्वभौम शासकको रूपमा हेर्छौँ। तर उहाँ असाध्यै माया गर्नुहुने र ख्याल राख्नुहुने बुबा पनि हुनुहुन्छ। हामी किन यसो भन्‍न सक्छौँ? यस लेखमा हामी यसका कारणहरू छलफल गर्नेछौँ। साथै यहोवाले हामीलाई कहिल्यै छोड्‌नुहुनेछैन भनेर विश्‍वस्त हुन सक्नुको कारण पनि विचार गर्नेछौँ।

^ अनु. 59 चित्रको व्याख्या: चारै वटा दृश्‍यमा बुबा र बच्चा देखाइएको छ: बुबाले छोराको कुरा ध्यान दिएर सुन्दै छन्‌, बुबाले छोरीको भौतिक आवश्‍यकता पूरा गर्दै छन्‌, बुबाले छोरालाई तालिम दिँदै छन्‌ अनि बुबाले छोरालाई अङ्‌गालो हाल्दै छन्‌। यी दृश्‍यहरूको पछाडि देखाइएको यहोवाको हातको चित्रले उहाँले पनि हामीलाई त्यसरी नै ख्याल राख्नुहुन्छ भनेर सम्झाउँछ।