सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ११

के तपाईँ बप्तिस्मा गर्न तयार हुनुहुन्छ?

के तपाईँ बप्तिस्मा गर्न तयार हुनुहुन्छ?

“बप्तिस्मा[ले] . . . अहिले तिमीहरूलाई बचाउँदै छ।”—१ पत्रु. ३:२१.

गीत २८ यहोवाको मित्र बनौँ

परिचय *

१. घर बनाउन थाल्नुअघि के गर्नुपर्छ?

कल्पना गर्नुहोस्‌, एक जना व्यक्‍तिले घर बनाउने निर्णय गर्छ। आफू कस्तो किसिमको घर बनाउन चाहन्छु भनेर उसलाई थाह छ। त्यसो भन्दैमा के उसले सरासर गएर सामान किन्‍नु र घर बनाउन थालिहाल्नु ठीक हुन्छ र? अहँ, हुँदैन। घर बनाउन थाल्नुअघि उसले एउटा महत्त्वपूर्ण काम गर्नै पर्छ। त्यो हो, घर बनाउन कति खर्च लाग्छ भनेर हिसाब गर्ने। किन? किनभने घर बनाइसिद्ध्याउन आफूसित पर्याप्त पैसा छ कि छैन भनेर उसले पक्का गर्नुपर्छ। घर बनाउन लाग्ने खर्च सुरुमै राम्ररी हिसाब गऱ्‍यो भने उसले आफ्नो घर पूरै बनाइसिद्ध्याउने सम्भावना धेरै हुन्छ।

२. लुका १४:२७-३० अनुसार बप्तिस्मा गर्नुअघि तपाईँले कुन कुरा राम्ररी विचार गर्नुपर्छ?

के यहोवाप्रतिको प्रेम र कृतज्ञताले तपाईँलाई बप्तिस्मा गर्नेबारे सोच्न जुरमुऱ्‍याएको छ? त्यसो हो भने तपाईँले पनि घर बनाउन चाहने मानिसले जस्तै निर्णय गर्नुपर्ने हुन्छ। हामी किन त्यसो भन्‍न सक्छौँ? येसुले लुका १४:२७-३० मा भन्‍नुभएका शब्दहरू विचार गर्नुहोस्‌। (पढ्‌नुहोस्‌) येसुले यहाँ चेला बन्‍नुको अर्थ के हो भनेर बताउँदै हुनुहुन्थ्यो। उहाँको चेला बन्‍न लाग्ने “खर्च” बेहोर्न हामी इच्छुक हुनुपर्छ। त्यो “खर्च” भनेको हामीले सहनुपर्ने कठिनाइ र गर्नुपर्ने त्यागहरू हुन्‌। (लुका ९:२३-२६; १२:५१-५३) त्यसैले बप्तिस्मा गर्नुअघि त्यसमा के-के समावेश छन्‌ भनेर तपाईँले राम्ररी विचार गर्नुपर्छ। त्यसो गर्नुभयो भने तपाईँ बप्तिस्माप्राप्त ख्रिष्टियनको रूपमा वफादार भई यहोवाको सेवा गरिरहन तयार हुनुहुनेछ।

३. यस लेखमा हामी के छलफल गर्नेछौँ?

ख्रिष्टको बप्तिस्माप्राप्त चेला बन्‍न हामीले जे-जति खर्च बेहोर्नुपर्छ, त्यो बेकार जानेछैन भनेर के हामी ढुक्क हुन सक्छौँ? पक्कै सक्छौँ! बप्तिस्माले अहिले र भविष्यमा अनगिन्ती आशिष्‌हरू पाउने ढोका खोल्छ। आउनुहोस्‌, बप्तिस्माबारे केही महत्त्वपूर्ण प्रश्‍न छलफल गरौँ। त्यसले तपाईँलाई यो प्रश्‍नको जवाफ दिन मदत गर्नेछ: “के म बप्तिस्मा गर्न तयार छु?”

तपाईँले समर्पण र बप्तिस्माबारे के थाह पाउनुपर्छ?

४. (क) समर्पण के हो? (ख) मत्ति १६:२४ मा उल्लेख गरिएअनुसार आफूलाई “इन्कार” गर्नुको अर्थ के हो?

समर्पण के हो? बप्तिस्मा गर्नुअघि तपाईँले समर्पण गर्नुपर्छ। यहोवालाई आफ्नो जीवन समर्पण गर्दा तपाईँ उहाँलाई मनैदेखि प्रार्थना गरेर अब उप्रान्त सधैँभरि उहाँको सेवा गर्नेछु भनेर बताउनुहुन्छ। परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्नु भनेको आफूलाई “इन्कार” गर्नु हो। (मत्ति १६:२४ पढ्‌नुहोस्‌) अब उप्रान्त तपाईँ यहोवा परमेश्‍वरकै हुनुहुन्छ र यो ठूलो सुअवसर हो। (रोमी १४:८) वास्तवमा तपाईँले अबदेखि आफूलाई खुसी पार्न होइन तर परमेश्‍वरलाई खुसी पार्न जीवन बिताउन चाहन्छु भनिरहनुभएको हुनेछ। तपाईँको समर्पण एउटा भाकल अर्थात्‌ परमेश्‍वरलाई गर्ने गम्भीर वाचा हो। यहोवा हामीलाई त्यस्तो भाकल गर्न जबरजस्ती गर्नुहुन्‍न। तर भाकल गर्छौँ भने त्यो पूरा गरेको चाहनुहुन्छ।—भज. ११६:१२, १४.

५. समर्पण र बप्तिस्माबीच कस्तो भिन्‍नता छ?

समर्पण र बप्तिस्माबीच कस्तो भिन्‍नता छ? तपाईँको समर्पण नितान्त व्यक्‍तिगत कुरा हो। यो केवल तपाईँ र यहोवाबीचको कुरा हो अनि यसबारे अरू कसैलाई थाह हुँदैन। तर बप्तिस्माचाहिँ जनसमक्ष गरिन्छ। यो अक्सर सम्मेलन वा अधिवेशनमा अरूको अगाडि गरिन्छ। बप्तिस्मा गर्दा तपाईँले आफ्नो जीवन यहोवालाई समर्पण गरिसकेको कुरा अरूलाई देखाउनुहुन्छ। * त्यसैले बप्तिस्मा गर्दा तपाईँ यहोवालाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले, आफ्नो सारा दिमागले र आफ्नो सारा बलले प्रेम गर्छु अनि सधैँभरि उहाँको सेवा गर्ने सङ्‌कल्प गरेको छु भनेर अरूलाई थाह दिनुहुन्छ।—मर्कु. १२:३०.

६-७. पहिलो पत्रुस ३:१८-२२ अनुसार हामीले बप्तिस्मा गर्नै पर्ने दुइटा कारण के-के हुन्‌?

के बप्तिस्मा गर्नै पर्छ? यसको जवाफ पाउन १ पत्रुस ३:१८-२२ का शब्दहरू विचार गर्नुहोस्‌। (पढ्‌नुहोस्‌) जसरी नुहको जहाजले तिनको विश्‍वास अरूसमक्ष प्रकट गऱ्‍यो, त्यसरी नै बप्तिस्माले तपाईँले यहोवालाई आफ्नो जीवन समर्पण गरिसक्नुभएको कुरा अरूसमक्ष प्रकट गर्छ। तर के बप्तिस्मा गर्नै पर्छ? हो, गर्नै पर्छ। त्यसको कारणबारे पत्रुस बताउँछन्‌। पहिलो, यसले तपाईँलाई “बचाउँदै छ।” हामी येसुमाथि विश्‍वास राख्छौँ अनि उहाँ हाम्रो लागि मर्नुभयो, मृत्युबाट फेरि जीवित हुनुभएर स्वर्ग लगिनुभयो र अहिले “परमेश्‍वरको दाहिने हाततर्फ हुनुहुन्छ” भनेर स्विकारेको देखाउन आवश्‍यक कदम चालिसकेका छौँ भने बप्तिस्माले हामीलाई बचाउन सक्छ।

दोस्रो, बप्तिस्माले हामीलाई “सफा अन्तस्करण” राख्न मदत गर्छ। यहोवालाई आफ्नो जीवन समर्पण गरेर बप्तिस्मा गर्दा हामीले उहाँसित एउटा विशेष सम्बन्ध गाँसिरहेका हुन्छौँ। साँचो मनले पश्‍चात्ताप गरेकोले र फिरौतीको बलिदानमा विश्‍वास राखेकोले परमेश्‍वर हाम्रा पापहरू क्षमा गर्नुहुन्छ। यसरी हामी उहाँसामु सफा अन्तस्करण राख्न सक्छौँ।

८. तपाईँले बप्तिस्मा गर्ने निर्णय गर्नुको मुख्य कारण के हुनुपर्छ?

तपाईँले बप्तिस्मा गर्ने निर्णय गर्नुको मुख्य कारण के हुनुपर्छ? बाइबललाई राम्ररी केलाएर अध्ययन गर्दा तपाईँले यहोवा, उहाँको व्यक्‍तित्व र उहाँको तौरतरिकाबारे धेरै कुरा सिक्नुभयो। आफूले सिकेका कुराहरूले तपाईँको मन छोयो र तपाईँ उहाँलाई अझ धेरै प्रेम गर्न उत्प्रेरित हुनुभयो। त्यसैले तपाईँले बप्तिस्मा गर्ने निर्णय गर्नुको मुख्य कारण यहोवाप्रतिको प्रेम हुनुपर्छ।

९. मत्ति २८:१९, २० मा उल्लेख गरिएअनुसार बुबा, छोरा र पवित्र शक्‍तिको नाममा बप्तिस्मा गर्नुको अर्थ के हो?

तपाईँले बप्तिस्मा गर्ने निर्णय गर्नुको अर्को कारण बाइबल सत्यहरूमा विश्‍वास गर्नुभएकोले पनि हो। येसुले चेला बनाउनू भन्‍ने आज्ञा दिनुहुँदा के भन्‍नुभएको थियो, विचार गर्नुहोस्‌। (मत्ति २८:१९, २० पढ्‌नुहोस्‌) येसुले बताउनुभएअनुसार बप्तिस्मा गर्ने व्यक्‍तिले “बुबा, छोरा र पवित्र शक्‍तिको नाममा” बप्तिस्मा गर्नुपर्छ। यसको अर्थ के हो? तपाईँले यहोवा, उहाँको छोरा येसु र पवित्र शक्‍तिबारे बाइबलले बताउने सत्यहरू आफ्नो सारा हृदयले विश्‍वास गर्नुपर्छ। यी सत्य एकदमै सशक्‍त छन्‌ र यसले तपाईँको हृदयमा गहिरो प्रभाव पार्न सक्छ। (हिब्रू ४:१२) आउनुहोस्‌, यीमध्ये केही विचार गरौँ।

१०-११. तपाईँले हाम्रा बुबाबारे कस्ता सत्य सिक्नुभएको र स्विकार्नुभएको छ?

१० तपाईँले हाम्रा बुबाबारे सुरुमा सिक्नुभएका यी कुराहरू सम्झनुहोस्‌: उहाँको “नाम यहोवा हो,” उहाँ “सारा पृथ्वीमा . . . सर्वोच्च हुनुहुन्छ” र उहाँ मात्र “साँचो परमेश्‍वर” हुनुहुन्छ। (भज. ८३:१८; यसै. ३७:१६) उहाँ हाम्रो सृष्टिकर्ता हुनुहुन्छ र “उद्धार यहोवाबाटै आउँछ।” (भज. ३:८; ३६:९) उहाँले हामीलाई पाप र मृत्युबाट बचाउन प्रबन्ध मिलाउनुभएको छ र हामीलाई अनन्त जीवन दिने आशा दिनुभएको छ। (युह. १७:३) तपाईँले समर्पण र बप्तिस्मा गर्दा आफूलाई यहोवाको साक्षी भनेर चिनाउनुहुन्छ। (यसै. ४३:१०-१२) त्यसपछि तपाईँ यहोवाको नामबाट चिनिने र अरूलाई उहाँबारे चिनाउन पाउँदा गर्व गर्ने उपासकहरूको विश्‍वव्यापी परिवारको भाग बन्‍नुहुनेछ।—भज. ८६:१२.

११ हाम्रा बुबाबारे बाइबलले सिकाउने कुराहरू बुझ्न पाउनु साँच्चै ठूलो सुअवसर हो! यी बहुमूल्य सत्य स्विकार्दा तपाईँ यहोवालाई आफ्नो जीवन समर्पण गरेर बप्तिस्मा गर्न उत्प्रेरित हुनुहुनेछ।

१२-१३. तपाईँले परमेश्‍वरको छोराबारे कस्ता सत्य सिक्नुभएको र स्विकार्नुभएको छ?

१२ यहोवाको छोराबारे निम्न कुराहरू सिक्दा तपाईँलाई कस्तो लागेको थियो? येसु ब्रह्‍माण्डको दोस्रो महत्त्वपूर्ण व्यक्‍ति हुनुहुन्छ। हाम्रो लागि फिरौतीको बलिदान तिर्नुहुने उहाँ नै हुनुहुन्छ। उहाँले राजीखुसी हाम्रो लागि आफ्नो जीवन अर्पण गर्नुभयो। त्यस फिरौतीको बलिदानमा विश्‍वास गर्छौँ भनेर आफ्नो कामबाट देखाउँदा हाम्रा पापको क्षमा पाउन, परमेश्‍वरसित मित्रता विकास गर्न र अनन्त जीवन पाउन सम्भव हुन्छ। (युह. ३:१६) येसु हाम्रो प्रधानपुजारी हुनुहुन्छ। उहाँ हामीलाई फिरौतीको बलिदानबाट लाभ उठाउन र परमेश्‍वरसित घनिष्ठ सम्बन्ध गाँस्न मदत दिन चाहनुहुन्छ। (हिब्रू ४:१५; ७:२४, २५) उहाँ परमेश्‍वरको राज्यको राजा हुनुभएकोले यहोवाले उहाँमार्फत आफ्नो नाम पवित्र पार्नुहुनेछ, दुष्टताको अन्त गर्नुहुनेछ र आउँदै गरेको प्रमोदवनमा हामीलाई सधैँभरि आशिष्‌ दिनुहुनेछ। (मत्ति ६:९, १०; प्रका. ११:१५) येसु हाम्रो लागि उदाहरण हुनुहुन्छ। (१ पत्रु. २:२१) उहाँले परमेश्‍वरको इच्छाअनुसार आफ्नो जीवन बिताउनुभयो र हाम्रो लागि उदाहरण छोड्‌नुभयो।—युह. ४:३४.

१३ बाइबलले परमेश्‍वरको प्यारो छोरा येसुबारे सिकाउने कुरा स्विकार्दा तपाईँ येसुलाई प्रेम गर्न थाल्नुहुन्छ। त्यही प्रेमले तपाईँलाई येसुले जस्तै परमेश्‍वरको इच्छाअनुसार जीवन बिताउन उत्प्रेरित गर्नेछ। फलस्वरूप तपाईँ यहोवालाई आफ्नो जीवन समर्पण गरेर बप्तिस्मा गर्न उत्प्रेरित हुनुहुनेछ।

१४-१५. तपाईँले पवित्र शक्‍तिबारे कस्ता सत्य सिक्नुभएको र स्विकार्नुभएको छ?

१४ पवित्र शक्‍तिबारे निम्न कुराहरू सिक्दा तपाईँलाई कस्तो लागेको थियो? यो व्यक्‍ति होइन तर परमेश्‍वरको सक्रिय शक्‍ति हो। यहोवाले आफ्नो पवित्र शक्‍तिद्वारा बाइबल लेखकहरूलाई प्रेरणा दिनुभयो अनि त्यही शक्‍तिले हामीलाई बाइबलमा पाइने कुराहरू बुझ्न र लागू गर्न मदत गर्छ। (युह. १४:२६; २ पत्रु. १:२१) यहोवाले आफ्नो पवित्र शक्‍तिद्वारा हामीलाई “असाधारण शक्‍ति” दिनुहुन्छ। (२ कोरि. ४:७) त्यही शक्‍तिले हामीलाई सुसमाचार प्रचार गर्न, प्रलोभनको प्रतिरोध गर्न, निराशाको सामना गर्न र परीक्षाहरू पार गर्न बल दिन्छ। यसले हामीलाई “पवित्र शक्‍तिको फल”-का विभिन्‍न सुन्दर पक्षहरू देखाउन मदत गर्छ। (गला. ५:२२) परमेश्‍वरमाथि भरोसा राख्ने र साँचो मनले माग्नेहरूलाई उहाँले कुनै रोकटोकविना आफ्नो पवित्र शक्‍ति दिनुहुन्छ।—लुका ११:१३.

१५ यहोवाको सेवा गर्न उहाँका उपासकहरूले पवित्र शक्‍तिमा भर पर्न सक्छन्‌ भनेर थाह पाउँदा हामी कत्ति ढुक्क महसुस गर्छौँ र सान्त्वना पाउँछौँ! पवित्र शक्‍तिबारे सिकेका सत्य कुराहरू स्विकार्दा तपाईँ यहोवालाई आफ्नो जीवन समर्पण गरेर बप्तिस्मा गर्न उत्प्रेरित हुनुहुनेछ।

१६. हामीले अहिलेसम्मको छलफलबाट के सिक्यौँ?

१६ यहोवालाई आफ्नो जीवन समर्पण गर्ने र बप्तिस्मा गर्ने निर्णय गर्दा तपाईँ एउटा महत्त्वपूर्ण कदम चालिरहनुभएको हुनेछ। हामीले अहिलेसम्म सिकेझैँ तपाईँ यस्तो निर्णय गर्न बेहोर्नुपर्ने खर्च अर्थात्‌ कठिनाइ सहन र त्यागहरू गर्न इच्छुक हुनुपर्छ। तर आफूले गरेको खर्चको तुलनामा कता हो कता धेरै आशिष्‌ पाउनुहुनेछ। बप्तिस्माले तपाईँलाई बचाउन सक्छ र परमेश्‍वरसामु सफा अन्तस्करण राख्न मदत गर्छ। तपाईँले बप्तिस्मा गर्ने निर्णय गर्नुको मुख्य कारण यहोवा परमेश्‍वरप्रतिको प्रेम हुनुपर्छ। तपाईँले यहोवा, उहाँको छोरा येसु र पवित्र शक्‍तिबारे बाइबलले बताउने सत्यहरू आफ्नो सारा हृदयले विश्‍वास पनि गर्नुपर्छ। हामीले अहिलेसम्म छलफल गरेका कुराहरू विचार गर्दा तपाईँ यो प्रश्‍नको कस्तो जवाफ दिनुहुन्छ, “के म बप्तिस्मा गर्न तयार छु?”

बप्तिस्मा गर्नुअघि तपाईँले के गर्नुपर्छ?

१७. बप्तिस्मा गर्नुअघि चाल्नुपर्ने केही कदम के-के हुन्‌?

१७ तपाईँलाई आफू बप्तिस्मा गर्न तयार छु जस्तो लाग्छ भने तपाईँले यहोवासित राम्रो सम्बन्ध गाँस्न विभिन्‍न कदम चालिसक्नुभयो भन्‍ने कुरामा कुनै शङ्‌का छैन। * नियमित रूपमा बाइबल अध्ययन गर्दै जाँदा तपाईँले यहोवा र येसुबारे धेरै कुरा सिक्नुभयो। आफूले सिकेका कुरामा विश्‍वास गर्न थाल्नुभयो। (हिब्रू ११:६) तपाईँ बाइबलमा पाइने यहोवाका प्रतिज्ञाहरूमा पूरा भरोसा राख्नुहुन्छ। येसुले चढाउनुभएको बलिदानमा विश्‍वास गर्दा पाप र मृत्युबाट बच्न सक्नुहुन्छ भन्‍ने कुरामा तपाईँलाई कुनै शङ्‌का छैन। तपाईँले आफ्ना पापहरूको पश्‍चात्ताप गर्नुभयो; मतलब आफूले गरेका गलत कामहरूको लागि असाध्यै पछुतो लागेकोले यहोवासित क्षमा मागिसक्नुभयो। तपाईँ परमेश्‍वरकहाँ फर्केर आइसक्नुभयो अर्थात्‌ तपाईँले आफ्नो पुरानो गलत जीवनशैलीलाई चटक्कै त्याग्नुभयो र परमेश्‍वरलाई मन पर्ने तरिकामा जिउन थालिसक्नुभयो। (प्रेषि. ३:१९) तपाईँ आफ्नो विश्‍वासबारे अरूलाई बताउन उत्सुक हुनुहुन्छ। तपाईँ बप्तिस्मा नगरेको प्रकाशक बन्‍न योग्य हुनुभयो र मण्डलीका भाइबहिनीसित मिलेर प्रचार गर्न थालिसक्नुभयो। (मत्ति २४:१४) यी महत्त्वपूर्ण कदम चालेको देख्दा यहोवा तपाईँमा गर्व गर्नुहुन्छ। तपाईँले उहाँको हृदयलाई खुसीले गद्‌गद बनाउनुभएको छ।—हितो. २७:११.

१८. बप्तिस्मा गर्नुअघि तपाईँले अरू के-के गर्नुपर्छ?

१८ बप्तिस्मा गर्नुअघि तपाईँले गर्नुपर्ने अरू केही कुरा पनि छन्‌। हामीले माथि सिकेझैँ तपाईँले परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्नुपर्छ। उहाँलाई व्यक्‍तिगत रूपमा मनैदेखि प्रार्थना गर्नुहोस्‌ र उहाँको इच्छा पूरा गर्न जीवन बिताउनेछु भनेर प्रतिज्ञा गर्नुहोस्‌। (१ पत्रु. ४:२) त्यसपछि एल्डरहरूको निकायको संयोजकलाई बप्तिस्मा गर्न चाहन्छु भनेर बताउनुहोस्‌। तिनले अरू एल्डरहरूलाई तपाईँसित भेट्‌न भन्‍नेछन्‌। तिनीहरूसितको भेटघाटबारे चिन्ता नगर्नुहोस्‌। ती मायालु भाइहरूले तपाईँलाई राम्ररी चिन्छन्‌ र माया गर्छन्‌। तिनीहरूले तपाईँसित बाइबलका आधारभूत कुराहरू पुनरावृत्ति गर्नेछन्‌। ती शिक्षा तपाईँले राम्ररी बुझ्नुभएको छ कि छैन अनि समर्पण र बप्तिस्माको महत्त्वबारे तपाईँलाई थाह छ कि छैन भनेर तिनीहरूले पक्का गर्नेछन्‌। तपाईँ बप्तिस्मा गर्न तयार हुनुहुन्छ भन्‍ने कुरामा तिनीहरू सहमत छन्‌ भने आउँदो सम्मेलन वा अधिवेशनमा बप्तिस्मा गर्न सक्नुहुन्छ भनेर तपाईँलाई खबर गर्नेछन्‌।

बप्तिस्मा गरेपछि तपाईँले के गर्नुपर्छ?

१९-२०. बप्तिस्मा गरेपछि तपाईँले के गर्नुपर्छ र तपाईँ कसरी त्यसो गर्न सक्नुहुन्छ?

१९ बप्तिस्मा गरेपछि तपाईँले के गर्नुपर्छ? * नबिर्सनुहोस्‌, समर्पण भनेको एउटा भाकल हो र त्यो तपाईँले पूरा गरेको यहोवा चाहनुहुन्छ। त्यसैले बप्तिस्मा गरेपछि तपाईँले आफ्नो समर्पणअनुसार जीवन बिताउनुपर्छ। तपाईँ कसरी त्यसो गर्न सक्नुहुन्छ?

२० आफ्नो मण्डलीसित सङ्‌गत गरिरहनुहोस्‌। बप्तिस्मा गरेपछि तपाईँ “सबै भाइहरू” मिलेर बनेको परिवारको भाग बन्‍नुहुन्छ। (१ पत्रु. २:१७) मण्डलीका दाजुभाइ दिदीबहिनी नै तपाईँको आध्यात्मिक परिवार हो। नियमित रूपमा सभाहरूमा उपस्थित भएर तपाईँले ती भाइबहिनीसित अझ बलियो सम्बन्ध गाँस्न सक्नुहुनेछ। दिनहुँ परमेश्‍वरको वचन पढ्‌नुहोस्‌ र मनन गर्नुहोस्‌। (भज. १:१, २) बाइबलबाट कुनै अंश पढेपछि त्यसमा गहिरो चिन्तन गर्न समय निकाल्नुहोस्‌। तब मात्र ती शब्दहरू तपाईँको मनसम्म पुग्नेछन्‌। ‘प्रार्थना गरिरहनुहोस्‌।’ (मत्ति २६:४१) साँचो मनले प्रार्थना गर्दा तपाईँ यहोवासित अझ घनिष्ठ हुनुहुनेछ। ‘उहाँको राज्यलाई . . . पहिलो स्थान दिइरहनुहोस्‌।’ (मत्ति ६:३३) प्रचारकार्यलाई आफ्नो जीवनमा प्राथमिकता दिएर तपाईँ त्यसो गर्न सक्नुहुन्छ। प्रचारकार्यमा नियमित रूपमा भाग लिँदा तपाईँको विश्‍वास बलियो भइरहनेछ अनि तपाईँले अरूलाई अनन्त जीवन प्राप्त गर्ने बाटोमा हिँड्‌न मदत दिन सक्नुहुनेछ।—१ तिमो. ४:१६.

२१. बप्तिस्मा गरेपछि कस्तो ढोका खुल्नेछ?

२१ यहोवालाई आफ्नो जीवन समर्पण र बप्तिस्मा गर्ने निर्णय तपाईँले गर्नुहुने सबैभन्दा महत्त्वपूर्ण निर्णय हो। हुनत यस्तो निर्णय गर्न हामीले खर्च बेहोर्नुपर्छ अर्थात्‌ कठिनाइहरू सहनुपर्छ र त्यागहरू गर्नुपर्छ। तर के यो यत्तिको खर्च गर्न लायकको निर्णय हो? अवश्‍य! यस पुरानो संसारमा तपाईँले सहनुपर्ने जुनसुकै कठिनाइ “क्षणिक र हलुका” मात्र हुन्‌। (२ कोरि. ४:१७) अर्कोतर्फ बप्तिस्मा गरेपछि अहिले र आउँदै गरेको “साँच्चैको जीवन”-मा कता हो कता सन्तोषजनक जीवन बिताउने ढोका खुल्नेछ। (१ तिमो. ६:१९) त्यसैले कृपया राम्ररी सोचविचार र प्रार्थना गरेर यस प्रश्‍नको जवाफ दिनुहोस्‌: “के म बप्तिस्मा गर्न तयार छु?”

गीत ५० समर्पणको प्रार्थना

^ अनु. 5 के तपाईँ बप्तिस्मा गर्नेबारे सोच्दै हुनुहुन्छ? त्यसो हो भने यो लेख तपाईँकै लागि तयार पारिएको हो। हामी यस गम्भीर विषयसित सम्बन्धित केही महत्त्वपूर्ण प्रश्‍नबारे छलफल गर्नेछौँ। ती प्रश्‍नहरूको तपाईँ कस्तो जवाफ दिनुहुन्छ, त्यसले तपाईँ बप्तिस्मा गर्न तयार हुनुहुन्छ कि हुनुहुन्‍न भनेर निर्णय गर्न मदत गर्नेछ।

^ अनु. 19 तपाईँले बाइबलले हामीलाई के सिकाउँछ?परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌ किताबबाट बाइबल अध्ययन गर्न सिद्ध्याउनुभएको छैन भने ती दुवै किताब नसिद्धिउन्जेल तपाईँले कोही यहोवाको साक्षीसित बाइबल अध्ययन गर्नुपर्छ।