सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २०

अहिले “उत्तरका राजा” को हुन्‌?

अहिले “उत्तरका राजा” को हुन्‌?

“अन्तमा तिनीमाथि विनाश आइपर्नेछ र तिनलाई मदत गर्ने कोही हुनेछैन।”—दानि. ११:४५.

गीत ९५ ज्योति झनै चहकिलो भयो

परिचय *

१-२. यस लेखमा हामी के छलफल गर्नेछौँ?

हामी यस युगको अन्तको समयमा बाँचिरहेका छौँ भनेर पहिलाभन्दा अझ धेरै प्रमाण देख्न सक्छौँ। चाँडै यहोवा र येसु ख्रिष्टले परमेश्‍वरको राज्यको विरुद्धमा उठ्‌ने सबै सरकारलाई नाश गर्नुहुनेछ। यो घटना हुनुअघि उत्तरका राजा र दक्षिणका राजाले एकअर्काविरुद्ध र परमेश्‍वरका जनहरूविरुद्ध युद्ध गरिरहनेछन्‌।

यस लेखमा हामी दानिएल ११:४०–१२:१ मा लेखिएको भविष्यवाणी छलफल गर्नेछौँ। अनि अहिले उत्तरका राजा को हुन्‌ भनेर चिन्‍नेछौँ। साथै, हामी किन ढुक्क भई भविष्यमा आइपर्ने गाह्रा अवस्थाहरू सामना गर्न सक्छौँ भनेर विचार गर्नेछौँ।

उत्तरका नयाँ राजा देखा पर्छन्‌

३-४. उत्तरका राजाको रूपमा को देखा परेको छ? व्याख्या गर्नुहोस्‌।

इस्वी संवत्‌ १९९१ मा सोभियत सङ्‌घ विघटन भएपछि परमेश्‍वरका जनहरूले केही “मदत” पाए अर्थात्‌ तिनीहरू केही समयको लागि स्वतन्त्र भए। (दानि. ११:३४) परिणामस्वरूप तिनीहरूले खुलमखुला प्रचार गर्न सके र केही समय नबित्दै भूतपूर्व सोभियत सङ्‌घका देशहरूमा प्रकाशकहरूको सङ्‌ख्या लाखौँ पुग्यो। बिस्तारै रूस र त्यसका समर्थकहरू उत्तरका राजाको रूपमा देखा पर्न थाले। अघिल्लो लेखमा छलफल गरिएझैँ उत्तरका राजा वा दक्षिणका राजाको भूमिका निर्वाह गर्ने सरकारले यी तीन वटा कुरा पूरा गरेको हुनुपर्छ: (१) परमेश्‍वरका थुप्रै सेवक बसोबास गर्ने देशमा शासन गरेको वा तिनीहरूको खेदो गरेको हुनुपर्छ। (२) परमेश्‍वरका जनहरूसित गरेको व्यवहारबाट तिनीहरू यहोवा र उहाँका जनहरूका शत्रु हुन्‌ भनेर देखिनुपर्छ। (३) प्रतिद्वन्द्वी राजाविरुद्ध लडिरहेको हुनुपर्छ।

अहिले रूस र त्यसका समर्थकहरू उत्तरका राजा हुन्‌ भनेर हामी किन भन्‍न सक्छौँ, विचार गरौँ। (१) तिनीहरूले आफूले प्रभुत्व जमाएको इलाकामा प्रचारकार्यमाथि प्रतिबन्ध लगाएर अनि त्यहाँ बसोबास गर्ने लाखौँ भाइबहिनीको खेदो गरेर परमेश्‍वरका जनहरूलाई प्रत्यक्ष असर गरेका छन्‌। (२) त्यस्तो व्यवहारले तिनीहरू यहोवा र उहाँका जनहरूलाई घृणा गर्छन्‌ भनेर प्रस्ट हुन्छ। (३) तिनीहरू दक्षिणका राजा अर्थात्‌ एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिविरुद्ध लडिरहेका छन्‌। रूस र त्यसका समर्थकहरूले कसरी उत्तरका राजाको भूमिका पूरा गरिरहेका छन्‌, आउनुहोस्‌ विचार गरौँ।

उत्तरका राजा र दक्षिणका राजा एकअर्कासित भिडिरहन्छन्‌

५. दानिएल ११:४०-४३ मा कुन समयावधिबारे बताइएको छ र त्यतिबेला के हुन्छ?

दानिएल ११:४०-४३ पढ्‌नुहोस्‌। दानिएलको भविष्यवाणीको यस भागमा अन्तको समयमा हुने घटनाहरूबारे बताइएको छ। यस भविष्यवाणीमा उत्तरका राजा र दक्षिणका राजाबीच हुने दुस्मनीबारे बताइएको छ। दानिएलले भविष्यवाणी गरेअनुसार अन्तको समयमा दक्षिणका राजा उत्तरका राजासित “भिड्‌नेछन्‌” अर्थात्‌ तिनीसित “सिङ जुधाउनेछन्‌।”—दानि. ११:४०; फुटनोट।

६. दुई राजा एकअर्कासित भिडिरहेको कस्तो प्रमाण छ?

विश्‍वको सबैभन्दा शक्‍तिशाली सरकार बन्‍ने होडबाजीमा उत्तरका राजा र दक्षिणका राजा लागिरहेका छन्‌। उदाहरणको लागि, दोस्रो विश्‍वयुद्धपछि सोभियत सङ्‌घ र त्यसका समर्थकहरूले युरोपका धेरैजसो देशमा आफ्नो प्रभुत्व जमाएपछि के भयो, विचार गर्नुहोस्‌। उत्तरका राजाको यस्तो गतिविधिले गर्दा दक्षिणका राजा अन्तरराष्ट्रिय सैन्य गठबन्धन (नेटो) बनाउन बाध्य भए। उत्तरका राजाले निकै पैसा खर्च गरेर आफ्नो सेनालाई सबैभन्दा शक्‍तिशाली बनाउन दक्षिणका राजासित प्रतिस्पर्धा गरिरहेका छन्‌। उत्तरका राजाले अफ्रिका, एसिया र ल्याटिन अमेरिकामा ‘प्रोक्सी वारहरू’ (आफू प्रत्यक्ष रूपमा नमुछी शत्रुसित गरिने युद्ध) लडेर अनि विद्रोह गर्न उक्साएर आफ्नो प्रतिद्वन्द्वीसित युद्ध गरे। हालैका वर्षहरूमा रूस र त्यसका समर्थकहरू झन्‌झन्‌ शक्‍तिशाली हुँदै गइरहेका छन्‌। तिनीहरूले दक्षिणका राजासित साइबर युद्ध पनि गरिरहेका छन्‌। उत्तरका राजा र दक्षिणका राजाले एकअर्काको अर्थतन्त्र र राजनैतिक प्रणाली डामाडोल पार्न खतरनाक कम्प्युटर प्रोग्रामहरू प्रयोग गरेको आरोप एकअर्कालाई लगाउँछन्‌। दानिएलले भविष्यवाणी गरेझैँ उत्तरका राजा परमेश्‍वरका जनहरूलाई आक्रमण गर्न छोड्‌दैनन्‌।—दानि. ११:४१.

उत्तरका राजा “सुन्दर भूमिमा” छिर्छन्‌

७. “सुन्दर भूमि” कुन हो?

दानिएल ११:४१ मा उत्तरका राजा “सुन्दर भूमिमा . . . छिर्नेछन्‌” भनिएको छ। त्यो भूमि कुन हो? पुरातन समयमा वास्तविक इस्राएल राष्ट्रलाई “सबैभन्दा सुन्दर देश” मानिन्थ्यो। (इज. २०:६) त्यो भूमि विशेष थियो किनकि त्यहाँ साँचो उपासना गरिन्थ्यो। इस्वी संवत्‌ ३३ पेन्तिकोसदेखि त्यो “भूमि” कुनै एउटा भौगोलिक स्थान होइन किनकि यहोवाका जनहरू पृथ्वीभरि नै छरिएर रहेका छन्‌। अहिले “सुन्दर भूमि” भनेको यहोवाका जनहरूको गतिविधि भइरहेको आध्यात्मिक प्रमोदवन हो, जसमा यहोवाको उपासना गर्न उनीहरूले गर्ने सभा अनि प्रचारकार्यजस्ता कुराहरू पर्छन्‌।

८. उत्तरका राजा कसरी “सुन्दर भूमिमा” छिरेका छन्‌?

अन्तको समयमा उत्तरका राजा थुप्रै चोटि “सुन्दर भूमिमा” छिरेका छन्‌। उदाहरणको लागि, विशेषगरि दोस्रो विश्‍वयुद्धको दौडान नाजी जर्मनीले उत्तरका राजाको भूमिका निर्वाह गर्दा तिनले परमेश्‍वरका जनहरूको खेदो गरे अनि उनीहरूलाई मारे; यसरी तिनी “सुन्दर भूमिमा” छिरे। अनि दोस्रो विश्‍वयुद्धपछि सोभियत सङ्‌घले उत्तरका राजाको भूमिका निर्वाह गर्दा तिनले परमेश्‍वरका जनहरूलाई सताए अनि उनीहरूलाई निर्वासनमा पठाए; यसरी तिनी “सुन्दर भूमिमा” छिरे।

९. हालैका वर्षहरूमा रूस र त्यसका समर्थकहरू कसरी “सुन्दर भूमिमा” छिरेका छन्‌?

हालैका वर्षहरूमा रूस र त्यसका समर्थकहरू पनि “सुन्दर भूमिमा” छिरेका छन्‌। कसरी? इस्वी संवत्‌ २०१७ मा अहिलेका उत्तरका राजाले यहोवाका जनहरूको काममा प्रतिबन्ध लगाए र हाम्रा केही भाइबहिनीलाई झ्यालखानामा हाले। तिनले हाम्रा प्रकाशनहरू अनि नयाँ संसार अनुवाद-मा पनि प्रतिबन्ध लगाए। साथै तिनले रूसमा रहेको हाम्रो शाखा कार्यालय, राज्यभवन र सम्मेलन भवनहरू जफत गरे। यी सबै गतिविधिलाई नियालेपछि रूस र त्यसका समर्थकहरू नै उत्तरका राजा हुन्‌ भनेर २०१८ मा परिचालक निकायले प्रस्ट पाऱ्‍यो। यहोवाका जनहरूको निकै खेदो गरिए तापनि उनीहरू मानव सरकारहरूको विद्रोह गर्ने वा सत्ता पल्टाउने गतिविधिमा भाग लिन इन्कार गर्छन्‌। बरु उनीहरू “सबै उच्च पदाधिकारीका लागि” प्रार्थना गर भन्‍ने बाइबलको सल्लाह पालन गर्छन्‌, विशेषगरि त्यस्ता व्यक्‍तिहरूले गर्ने निर्णयले उपासना गर्ने हाम्रो स्वतन्त्रतालाई असर गर्न सक्ने अवस्था आउँदा।—१ तिमो. २:१, २.

के उत्तरका राजाले दक्षिणका राजालाई परास्त गर्नेछन्‌?

१०. के उत्तरका राजाले दक्षिणका राजालाई परास्त गर्नेछन्‌? व्याख्या गर्नुहोस्‌।

१० दानिएल ११:४०-४५ मा रेकर्ड गरिएको भविष्यवाणीमा विशेषगरि उत्तरका राजाको गतिविधिबारे जोड दिइएको छ। के त्यसको मतलब उत्तरका राजाले दक्षिणका राजालाई परास्त गर्नेछन्‌ भन्‍ने हो? अहँ, होइन। यहोवा र येसुले आरमागेडोनको युद्धमा सबै मानव सरकारलाई नाश गर्नुहुँदा दक्षिणका राजा “जिउँदै” हुनेछन्‌। (प्रका. १९:२०) यस कुरामा हामी किन पक्का हुन सक्छौँ? दानिएल र प्रकाशको पुस्तकका भविष्यवाणीहरूबाट के थाह पाउन सक्छौँ, विचार गरौँ।

ढुङ्‌गाले चित्रण गर्ने परमेश्‍वरको राज्यले आरमागेडोनमा सबै मानव सरकारलाई नाश गर्नेछ, जसलाई विशाल मूर्तिले सङ्‌केत गर्छ (अनुच्छेद ११ हेर्नुहोस्‌)

११. दानिएल २:४३-४५ बाट कुन कुरा प्रस्ट हुन्छ? (आवरण पृष्ठको चित्र हेर्नुहोस्‌)

११ दानिएल २:४३-४५ पढ्‌नुहोस्‌। भविष्यवक्‍ता दानिएलले एउटा विशाल मूर्तिबारे बताए, जसको शरीरका भागहरू विभिन्‍न धातुले बनेका थिए। प्रत्येक भागले परमेश्‍वरका थुप्रै सेवक बसोबास गर्ने ठाउँमा शासन गर्ने विभिन्‍न सरकारलाई चित्रण गर्छ। यी सरकारहरूले विभिन्‍न समयमा शासन गरे। त्यस मूर्तिका खुट्टाहरू फलाम र माटो मिसिएर बनेका थिए। ती खुट्टाहरूले अन्तिम सरकार अर्थात्‌ एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिलाई बुझाउँछ। परमेश्‍वरको राज्यले सबै मानव सरकारलाई नाश गर्दा एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिले अझै शासन गरिरहेको हुनेछ भनेर दानिएलको यस भविष्यवाणीबाट प्रस्ट हुन्छ।

१२. जङ्‌गली जनावरको सातौँ टाउकोले कसलाई चित्रण गर्छ र यो कुरा बुझ्नु किन महत्त्वपूर्ण छ?

१२ प्रेषित युहन्‍नाले पनि परमेश्‍वरका जनहरूलाई असर गर्ने विभिन्‍न विश्‍वशक्‍तिबारे बताए। युहन्‍नाले ती सरकारहरूलाई सात वटा टाउको भएको जङ्‌गली जनावरको रूपमा चित्रण गरे। त्यस जङ्‌गली जनावरको सातौँ टाउकोले एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिलाई चित्रण गर्छ। यो कुरा बुझ्नु महत्त्वपूर्ण छ किनभने यस जनावरको सातौँ टाउको नै यसको अन्तिम टाउको हो। यस सातौँ टाउकोले शासन गरिरहेकै बेला ख्रिष्ट र उहाँको स्वर्गीय सेनाले यो सातौँ टाउकोलगायत पूरै जनावरलाई नाश गर्नुहुनेछ। *प्रका. १३:१, २; १७:१३, १४.

निकट भविष्यमा उत्तरका राजाले के गर्नेछन्‌?

१३-१४. “मागोग देशको गोग” को हो र त्यो किन परमेश्‍वरका जनहरूलाई आक्रमण गर्न तम्सिन सक्छ?

१३ इजकिएलले गरेको भविष्यवाणीले हामीलाई उत्तरका राजा र दक्षिणका राजा नाश हुनुअघि के हुन सक्छ भनेर बुझ्न मदत गर्छ। इजकिएल ३८:१०-२३; दानिएल २:४३-४५; ११:४४–१२:१ र प्रकाश १६:१३-१६, २१ मा पाइने भविष्यवाणीहरू केलाउँदा ती सबैले एउटै समयावधिमा हुने घटनाहरूबारे बताइरहेको जस्तो देखिन्छ। त्यसो हो भने हामी निम्न घटनाहरू हुने आशा गर्न सक्छौँ:

१४ महासङ्‌कष्ट सुरु भएको केही समयपछि ‘पृथ्वीभरिका राजाहरूले’ राष्ट्रहरूको एउटा गठबन्धन बनाउनेछन्‌। (प्रका. १६:१३, १४; १९:१९) त्यस गठबन्धनलाई बाइबलमा “मागोग देशको गोग” भनिएको छ। (इज. ३८:२) राष्ट्रहरूको त्यस गठबन्धनले परमेश्‍वरका जनहरूलाई आक्रमण गरेर उनीहरूलाई सखाप पार्न अन्तिम प्रयास गर्नेछ। त्यो गठबन्धन यस्तो आक्रमण गर्न किन तम्सिनेछ? त्यस समयबारे गरिएको भविष्यवाणीमा प्रेषित युहन्‍नाले परमेश्‍वरका शत्रुहरूमाथि ठूलठूला असिनाहरू बर्सिनेछन्‌ भनेर बताए। त्यसरी असिना बर्सिनुले यहोवाका जनहरूले घोषणा गर्ने न्यायको कडा सन्देशलाई चित्रण गरेको हुन सक्छ। यही सन्देशले गर्दा नै मागोगको गोग परमेश्‍वरका जनहरूलाई आक्रमण गरेर उनीहरूलाई पृथ्वीबाट नामेट पार्न तम्सिन सक्छ।—प्रका. १६:२१.

१५-१६. (क) दानिएल ११:४४, ४५ ले कुन घटनाबारे बताइरहेको हुन सक्छ? (ख) उत्तरका राजा अनि मागोगको गोगको भाग बनेका राष्ट्रहरूलाई के हुनेछ?

१५ न्यायको यो कडा सन्देश घोषणा गर्ने काम र परमेश्‍वरका शत्रुहरूले गर्ने अन्तिम आक्रमणले दानिएल ११:४४, ४५ मा बताइएकै घटनाहरूलाई बुझाएको हुन सक्छ। (पढ्‌नुहोस्‌) त्यस भविष्यवाणीमा “पूर्वबाट अनि उत्तरबाट आएको खबर सुनेर” उत्तरका राजालाई छटपटी हुनेछ र तिनी “रिसले चुर भएर” निस्किनेछन्‌ भनी दानिएल बताउँछन्‌। उत्तरका राजाले “धेरैलाई नाश गर्न र तिनीहरूको नामोनिसान मेट्‌न” खोज्नेछन्‌। त्यहाँ बताइएको “धेरै”-ले यहोवाका जनहरूलाई बुझाएको जस्तो देखिन्छ। * दानिएलले यहाँ परमेश्‍वरका जनहरूमाथि हुने अन्तिम आक्रमणबारे बताइरहेका हुन सक्छन्‌।

१६ उत्तरका राजाले अरू मानव सरकारहरूसित मिलेर परमेश्‍वरका जनहरूलाई आक्रमण गर्दा सर्वशक्‍तिमान्‌ परमेश्‍वर क्रोधित हुनुहुनेछ र आरमागेडोनको युद्ध सुरु हुनेछ। (प्रका. १६:१४, १६) त्यतिबेला, मागोगको गोगको भाग बनेका राष्ट्रहरूसँगै उत्तरका राजा पनि नाश हुनेछन्‌ र “तिनलाई मदत गर्ने कोही हुनेछैन।”—दानि. ११:४५.

आरमागेडोनको युद्धमा येसु ख्रिष्ट र उहाँको स्वर्गीय सेनाले सैतानको दुष्ट संसारलाई नाश गर्नुहुनेछ र परमेश्‍वरका जनहरूलाई बचाउनुहुनेछ (अनुच्छेद १७ हेर्नुहोस्‌)

१७. दानिएल १२:१ मा उल्लेख गरिएका “महान्‌ राजकुमार माइकल” को हुन्‌ र तिनले के गर्नेछन्‌?

१७ दानिएल १२:१ मा उत्तरका राजा र त्यसका समर्थकहरू कसरी नाश हुनेछन्‌ र हामी कसरी बच्नेछौँ भनेर थप जानकारी दिइएको छ। (पढ्‌नुहोस्‌) यस पदको अर्थ के हो? परमेश्‍वरको राज्यको राजा ख्रिष्ट येसुको अर्को नाम माइकल हो। इस्वी संवत्‌ १९१४ मा स्वर्गमा राजा हुनुभएदेखि उहाँ परमेश्‍वरका जनहरूको पक्षमा “खडा” भइरहनुभएको छ। निकट भविष्यमा उहाँ आफ्ना शत्रुहरूलाई नाश गर्न आरमागेडोनको युद्धमा “खडा” हुनुहुनेछ। यो युद्ध दानिएलले वर्णन गरेका घटनाहरूमध्ये अन्तिम हुनेछ, जुन मानव इतिहासले पहिला कहिल्यै अनुभव नगरेको “सङ्‌कटको समय” हुनेछ। प्रकाशको किताबमा रेकर्ड गरिएको युहन्‍नाको भविष्यवाणीमा आरमागेडोनको युद्ध सुरु हुनुअघिको यस समयलाई “महासङ्‌कष्ट” भनिएको छ।—प्रका. ६:२; ७:१४.

के तपाईँको नाम ‘पुस्तकमा लेखिनेछ’?

१८. हामी किन ढुक्क भई भविष्यको सामना गर्न सक्छौँ?

१८ हामी ढुक्क भई भविष्यको सामना गर्न सक्छौँ किनभने यहोवा र येसुको सेवा गर्नेहरू त्यस सङ्‌कष्टबाट उम्कनेछन्‌ भनी दानिएल र युहन्‍ना दुवैले बताएका छन्‌। त्यस सङ्‌कष्टबाट उम्कनेहरूको नाम “पुस्तकमा लेखिएको” हुनेछ भनी दानिएल बताउँछन्‌। (दानि. १२:१) हामी त्यस पुस्तकमा आफ्नो नाम कसरी लेखाउन सक्छौँ? हामीले “परमेश्‍वरको पाठो” अर्थात्‌ येसुमा विश्‍वास गरेको स्पष्ट प्रमाण दिनुपर्छ। (युह. १:२९) हामीले यहोवामा आफ्नो जीवन समर्पण गरेको चिन्हस्वरूप बप्तिस्मा गर्नुपर्छ। (१ पत्रु. ३:२१) अनि अरूलाई यहोवाबारे सिकाउन सक्दो प्रयास गरेर हामीले परमेश्‍वरको राज्यलाई समर्थन गरेको देखाउनुपर्छ।

१९. अहिले हामीले के गर्नुपर्छ र किन?

१९ यहोवा र उहाँका वफादार सेवकहरू मिलेर बनेको सङ्‌गठनमाथि आफ्नो भरोसा अझ बलियो बनाउने समय अहिल्यै हो। परमेश्‍वरको राज्यलाई समर्थन गर्ने समय पनि अहिल्यै हो। त्यसो गऱ्‍यौँ भने परमेश्‍वरको राज्यले उत्तरका राजा र दक्षिणका राजालाई नाश गर्दा हामी बच्नेछौँ।

गीत १४९ विजयगान

^ अनु. 5 अहिले “उत्तरका राजा” को हुन्‌ र तिनको विनाश कसरी हुनेछ? यस प्रश्‍नको जवाफ थाह पाउँदा हाम्रो विश्‍वास अझ बलियो हुन्छ र यसले निकट भविष्यमा हामीले सामना गर्नुपर्ने परीक्षाहरूको लागि तयार हुन मदत गर्छ।

^ अनु. 12 दानिएल २:३६-४५ र प्रकाश १३:१, २ को विस्तृत छलफलको लागि प्रहरीधरहरा जून १५, २०१२ को पृष्ठ ७-१९ हेर्नुहोस्‌।

^ अनु. 15 थप जानकारीको लागि प्रहरीधरहरा मे १५, २०१५ को पृष्ठ २९-३० हेर्नुहोस्‌।