सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नम्रता—यो गुण किन महत्त्वपूर्ण छ?

नम्रता—यो गुण किन महत्त्वपूर्ण छ?

सारा * नाम गरेकी एउटी बहिनी यसो भन्छिन्‌, “म स्वभावैले लजालु छु। अनि ममा त्यत्ति आत्मविश्‍वास पनि छैन। त्यसैले जङ्‌गी अनि कडा स्वभाव भएका व्यक्‍तिहरूसित हुँदा म असाध्यै अप्ठ्यारो महसुस गर्छु। तर नम्र अनि कोमल व्यक्‍तिहरूसित हुँदा भने सजिलो लाग्छ। त्यस्ता व्यक्‍तिहरूसित म आफ्ना भावनाहरू पोख्न सक्छु अनि समस्याहरूबारे पनि सजिलै कुरा गर्न सक्छु। अनि मेरा मिल्ने साथीहरू त्यस्तै स्वभावका छन्‌।”

साराले भनेको कुराबाट हामी नम्र छौँ भने अरू व्यक्‍तिहरू हाम्रो साथी बन्‍न चाहन्छन्‌ भन्‍ने देखिन्छ। नम्र छौँ भने यहोवालाई पनि खुसी बनाइरहेका हुन्छौँ। उहाँको वचन यस्तो आग्रह गर्छ: “कोमलता . . . धारण गर।” (कल. ३:१२) त्यसोभए कोमल अर्थात्‌ नम्र हुनु भनेको के हो? येसुले कसरी नम्रता देखाउनुभयो? अनि यस गुणले हाम्रो जीवनलाई कसरी अझै आनन्दित बनाउँछ?

नम्र हुनु भनेको के हो?

नम्र हुनु भनेको शान्त मनोभाव देखाउनु हो। नम्र व्यक्‍तिले अरूसित दयालु अनि कोमल व्यवहार गर्छ र अरूले रिस उठाउँदा शान्त रहन्छ अनि आत्मसंयम देखाउँछ।

कसै-कसैलाई नम्रता भनेको कमजोरीजस्तो लाग्छ। तर वास्तवमा त्यो सही होइन। नम्रता भनी अनुवाद गरिएको ग्रीक शब्द लगाम कसिएको जङ्‌गली घोडालाई बुझाउन प्रयोग गरिन्थ्यो। त्यसरी लगाम कसिएको घोडा कमजोर हुँदैन तर त्यसले आफ्नो शक्‍तिलाई वशमा राख्न राम्रो तालिम पाएको हुन्छ। त्यसैगरि नम्र हुँदा हामीले आफ्नो त्रुटिपूर्ण झुकावलाई लगाम कसिरहेका हुन्छौँ र अरूसित शान्ति कायम गर्न सक्छौँ।

तर हामीलाई यस्तो लाग्न सक्छ, ‘म नम्र छैनँ।’ हामी जङ्‌गी र अधीर स्वभाव भएका व्यक्‍तिहरूको वरपर बाँचिरहेकोले नम्र हुन गाह्रो लाग्न सक्छ। (रोमी ७:१९) त्यसैले हामीले नम्रता खेती गर्न मेहनत गर्नुपर्ने हुन्छ। तर यहोवाको पवित्र शक्‍तिले हामीलाई नम्र हुन मदत गर्छ। (गला. ५:२२, २३) हामीले नम्रता खेती गर्न मेहनत गर्नुपर्ने केही कारण के-के हुन्‌?

नम्र छौँ भने अरू व्यक्‍तिहरू हाम्रो साथी बन्‍न चाहन्छन्‌। माथि उल्लेख गरिएकी साराजस्तै हामी पनि नम्र मनोभाव भएका व्यक्‍तिहरूसित हुँदा सजिलो महसुस गर्छौँ। नम्र र दयालु स्वभाव देखाउने सन्दर्भमा येसु सबैभन्दा उत्कृष्ट उदाहरण हुनुहुन्छ। (२ कोरि. १०:१) उहाँलाई राम्रोसित नचिनेका केटाकेटीसमेत उहाँसित नजिकिन चाहन्थे।—मर्कु. १०:१३-१६.

नम्र छौँ भने हामी आफू र आफ्नो वरपर हुनेहरूलाई चोट पुऱ्‍याउँदैनौँ। यदि हामी नम्र छौँ भने तुरुन्तै हतोत्साहित हुनेछैनौँ वा रिसाइहाल्नेछैनौँ। (हितो. १६:३२) हामी आफूले माया गरेको व्यक्‍तिलगायत अरू कसैको चित्त दुखाउनेछैनौँ। अनि कसैको चित्त नदुखाएकोले चुकचुकाउनु पनि पर्ने छैन। त्यसको साथै आफ्नो भावना र व्यवहारलाई काबूमा राख्न नम्रताले मदत गर्ने हुँदा हाम्रो वरपर हुनेहरूलाई चोट पुग्नेछैन।

नम्रताको उत्कृष्ट उदाहरण

थुप्रै जिम्मेवारी र व्यस्त तालिका भए तापनि येसुले सबैसित कोमल व्यवहार गर्नुभयो। उहाँको समयका धेरैजसो मानिस थाकेका र भारले दबिएका थिए। त्यसैले तिनीहरूलाई स्फूर्ति चाहिएको थियो। येसुले यसो भन्‍नुहुँदा तिनीहरूले कत्ति सान्त्वना पाए होलान्‌: “मकहाँ आओ . . . किनकि म कोमल स्वभावको र नम्र हृदयको छु”!—मत्ति ११:२८, २९.

हामी कसरी येसुजस्तै कोमल स्वभावको हुन सिक्न सक्छौँ? येसुले अरू मानिसहरूसित कस्तो व्यवहार गर्नुभयो र गाह्रा अवस्थाहरूको सामना कसरी गर्नुभयो भन्‍ने कुरा परमेश्‍वरको वचन अध्ययन गरेर थाह पाउन सक्छौँ। अनि हाम्रो नम्रताको जाँच हुने परिस्थिति आइपर्दा येसुले जस्तै व्यवहार गर्न प्रयास गर्नेछौँ। (१ पत्रु. २:२१) कोमल स्वभावको हुन येसुलाई मदत गरेको तीन वटा कुरा विचार गरौँ।

येसु नम्र हुनुहुन्थ्यो। येसुले यसो भन्‍नुभयो: “म कोमल स्वभावको र नम्र हृदयको छु।” (मत्ति ११:२९) बाइबलमा यी दुई गुणलाई सँगसँगै उल्लेख गरिएको छ किनभने नम्रता र कोमलता आपसमा सम्बन्धित गुणहरू हुन्‌। (एफि. ४:१-३) हामी किन यसो भन्‍न सक्छौँ?

नम्रताले आफूलाई ज्यादै महत्त्वपूर्ण नठान्‍न वा तुरुन्तै आफ्नो चित्त नदुखाइहाल्न मदत गर्छ। येसुलाई “घिचुवा र पियक्कड” भनेर आलोचना गर्नेहरूप्रति उहाँले कस्तो प्रतिक्रिया देखाउनुभयो? उहाँले आफ्नो उदाहरणबाट त्यस्तो आलोचना गलत भएको प्रमाणित गर्नुभयो र “मानिसले गर्ने असल कामैले ऊ बुद्धिमान्‌ हो भनेर प्रमाणित गर्छ” भनी नम्र हुँदै देखाउनुभयो।—मत्ति ११:१९.

कसैले केही सोचविचारै नगरी तपाईँको छालाको रङ्‌ग, लिङ्‌ग वा पृष्ठभूमिबारे टिकाटिप्पणी गर्दा नम्रता देखाउने प्रयास गरे कसो होला? दक्षिण अफ्रिकाका पिटर नाम गरेका एक एल्डर यसो भन्छन्‌: “कसैले मलाई दिक्क लाग्ने कुरा गर्दा म आफैलाई सोध्छु, ‘येसु हुनुभएको भए के गर्नुहुन्थ्यो होला?’ यसरी सोच्दा मैले आफूलाई ज्यादै महत्त्वपूर्ण नठान्‍न मदत पाएको छु।”

मानिसहरू त्रुटिपूर्ण छन्‌ भनेर येसुले बुझ्नुभएको थियो। येसुका चेलाहरूको मनसाय सही थियो तर त्रुटिपूर्ण झुकावको कारण कहिलेकाहीँ तिनीहरू सही काम गर्नदेखि चुके। उदाहरणको लागि, येसुको मृत्यु हुनुभन्दा अघिल्लो रात उहाँले तिनीहरूको साथ खोज्नुहुँदा तिनीहरू उहाँलाई साथ दिनदेखि चुके। येसुले तिनीहरूको अवस्था बुझ्नुभयो र यसो भन्‍नुभयो, “मन त साँच्चै तयार छ तर शरीर भने कमजोर छ।” (मत्ति २६:४०, ४१) यो कुरा बुझ्नुभएकोले येसु आफ्ना प्रेषितहरूसित रिसाउनुभएन।

म्यान्डी बहिनी अरूको असाध्यै आलोचना गर्ने स्वभावकी थिइन्‌। तर अहिले तिनी येसुजस्तै नम्र हुन निकै प्रयास गर्छिन्‌। तिनी भन्छिन्‌, “म सबै मानिस त्रुटिपूर्ण छन्‌ भनेर सम्झन्छु अनि यहोवाले जस्तै मानिसहरूको कुनै न कुनै असल गुणमा ध्यान दिने कोसिस गर्छु।” मानव कमीकमजोरीप्रति येसुले देखाउनुभएको दया अनुकरण गर्दा तपाईँ पनि त्रुटिपूर्ण मानिसहरूप्रति कोमलता देखाउन सक्नुहुन्छ कि?

येसुले सबै कुरा यहोवाको हातमा छोडिदिनुभयो। पृथ्वीमा हुनुहुँदा अरूले गरेको अन्यायी व्यवहार येसुले सहनुभयो। मानिसहरूले उहाँको गलत अर्थ लगाए, उहाँलाई हेला गरे र निकै यातना दिए। तैपनि उहाँले नम्र मनोभाव देखाउनुभयो किनभने उहाँले “सही न्याय गर्न सक्नुहुनेको हातमा आफूलाई सुम्पनुभयो।” (१ पत्रु. २:२३) स्वर्गमा हुनुहुने बुबाले ख्याल राख्नुहुन्छ र अन्याय गर्नेहरूलाई उचित समयमा दण्ड दिनुहुन्छ भनेर येसुलाई थाह थियो।

आफूमाथि अन्याय हुँदा रिसाएर त्यसलाई आफैले सच्याउन खोज्यौँ भने हामीले अवस्थालाई झनै बिगार्न सक्छौँ। त्यसैले धर्मशास्त्र हामीलाई यसो भन्छ: “रिस गर्ने मानिस परमेश्‍वरको धार्मिक स्तरबमोजिम चलिरहेको हुँदैन।” (याकु. १:२०) अन्याय हुँदा रिसाउनु जायजै जस्तो देखिए तापनि त्रुटिपूर्ण भएकोले हामी गलत प्रतिक्रिया देखाउन सक्छौँ।

क्याथी नाम गरेकी जर्मनीकी बहिनी यस्तो सोच्थिन्‌, ‘आफ्नो लागि आफैले बोल्नुपर्छ, नत्र कसैले तपाईँको लागि बोलिदिँदैन।’ तर जब तिनले यहोवामा भरोसा गर्न सिकिन्‌, तब तिनको मनोभावमा परिवर्तन आउन थाल्यो। तिनी यसो भन्छिन्‌, “अहिले मलाई आफूमाथि भएको अन्याय आफैले सच्याउनुपर्छ जस्तो लाग्दैन। मलाई नम्रता देखाउन सजिलो लाग्छ किनकि मलाई थाह छ, यहोवाले यस संसारमा भएका सबै अन्याय सच्याउनुहुनेछ।” तपाईँले पनि अन्याय सहनुपरेको छ भने येसुको उदाहरण अनुकरण गर्दै यहोवामा भरोसा राख्दा नम्र हुन मदत पाउन सक्नुहुन्छ।

“आनन्दित हुन्‌ ती मानिसहरू, जो कोमल स्वभावका छन्‌”

नम्रताले हामीलाई गाह्रा अवस्थाहरूमा कसरी मदत गर्न सक्छ?

हामी आनन्दित हुन चाहन्छौँ भने कोमलता देखाउनु महत्त्वपूर्ण छ भनेर येसुले जोड दिनुभयो। उहाँले यसो भन्‍नुभयो: “आनन्दित हुन्‌ ती मानिसहरू, जो कोमल स्वभावका छन्‌।” (मत्ति ५:५) निम्न अवस्थामा कोमलता अर्थात्‌ नम्रताले कसरी मदत गर्छ, विचार गर्नुहोस्‌।

वैवाहिक जीवनमा तनावपूर्ण अवस्था सृजना हुँदा कोमलताले मदत गर्छ। अस्ट्रेलियाका रोबर्ट नाम गरेका भाइ यसो भन्छन्‌, “हुनत म श्रीमतीको चित्त दुखाउन चाहन्‍नथेँ तर मैले थुप्रै चोटि तिनको चित्त दुखाएको छु। रिसको झोँकमा बोलेका शब्दहरू फिर्ता लिन सकिँदैन। मैले भनेका कुराहरूले तिनको चित्त दुख्दा मलाई पनि साह्रै नमज्जा लाग्छ।”

हामी सबै जना आफ्नो बोलीमा “धेरै चोटि चुक्छौँ” अनि सोचविचारै नगरी बोलेका शब्दहरूले वैवाहिक जीवनमा समस्या उत्पन्‍न गराउन सक्छ। (याकु. ३:२) श्रीमान्‌-श्रीमतीबीच खटपट पर्दा शान्त रहन र जिब्रोमा लगाम कस्न कोमलताले हामीलाई मदत गर्छ।—हितो. १७:२७.

रोबर्टले शान्त रहन र आत्मसंयम खेती गर्न निकै प्रयास गरे। त्यसको नतिजा कस्तो भएको छ? तिनी भन्छन्‌, “आजकल हामी दुईबीच असहमति हुँदा म श्रीमतीको कुरा ध्यान दिएर सुन्‍ने, कोमलतासाथ बोल्ने र नरिसाउने कोसिस गर्छु। त्यसो गर्दा श्रीमतीसितको सम्बन्ध पहिलाभन्दा अझै राम्रो भएको छ।”

कोमलताले अरूसित राम्रो सम्बन्ध कायम राख्न मदत गर्छ। अरूको व्यवहारले गर्दा झट्टै रिसाइहाल्ने मानिसका अक्सर धेरै साथी हुँदैनन्‌। तर कोमलताले हामीलाई ‘शान्तिको बन्धनमा बाँधिन’ मदत गर्छ। (एफि. ४:२, ३) माथि उल्लेख गरिएकी क्याथी भन्छिन्‌, “हुनत कसै-कसैसित व्यवहार गर्न गाह्रो हुन्छ तैपनि कोमलता देखाउँदा अरूसित घुलमिल हुन सजिलो भएको छ।”

कोमलताले हामीलाई मनोशान्ति दिन्छ। बाइबलले बताएअनुसार “माथिबाट आउने बुद्धि” पाउने मानिस नम्र र शान्त हुन्छ। (याकु. ३:१३, १७) नम्र अर्थात्‌ कोमल स्वभाव भएको मानिसको ‘हृदय शान्त’ हुन्छ। (हितो. १४:३०) कोमलता विकास गर्न निकै प्रयास गरेका मार्टिन भन्छन्‌, “अहिले म सबै कुरा मेरो इच्छाअनुसार हुनुपर्छ भनेर जिद्दी गर्दिनँ। त्यसैले मैले मनोशान्ति पाएको छु र अझै खुसी हुन सकेको छु।”

हामीले नम्रता अर्थात्‌ कोमलता विकास गर्न कडा मेहनत गर्नुपर्ने हुन सक्छ। एक भाइ भन्छन्‌, “नढाँटी भन्‍नुपर्दा अहिले पनि कहिलेकाहीँ मभित्र रिसको आगो बल्छ।” तर हामीलाई कोमल हुन आग्रह गर्नुहुने यहोवाले हामीलाई यो गुण विकास गर्न मदत गर्नुहुनेछ। (यसै. ४१:१०; १ तिमो. ६:११) उहाँ हाम्रो “तालिम पूरा” गर्न सक्नुहुन्छ; उहाँ हामीलाई “बलियो” पार्न सक्नुहुन्छ। (१ पत्रु. ५:१०) समयको दौडान प्रेषित पावलजस्तै हामी पनि “ख्रिष्टले देखाउनुभएको नम्रता र दया” देखाउन सक्नेछौँ।—२ कोरि. १०:१.

^ अनु. 2 केही नाम परिवर्तन गरिएका छन्‌।