सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २३

“तपाईँको नाम पवित्र पारियोस्‌”

“तपाईँको नाम पवित्र पारियोस्‌”

“हे यहोवा, तपाईँको नाम सदासर्वदा रहिरहनेछ।”—भज. १३५:१३.

गीत १० हाम्रा परमेश्‍वर यहोवाको प्रशंसा गरौँ!

परिचय *

१-२. यहोवाका साक्षीहरूलाई कुन विषयहरूबारे छलफल गर्न रमाइलो लाग्छ?

हामी सबै यहोवाको सार्वभौमिकता र उहाँको नामको पवित्रीकरणको महत्त्वपूर्ण विवादमा मुछिएका छौँ। हामी यहोवाका साक्षीहरूलाई यी विषयहरूबारे छलफल गर्न रमाइलो लाग्छ। तर यसको मतलब यहोवाको सार्वभौमिकता र उहाँको नामको पवित्रीकरणलाई दुई बिलकुलै फरक विषयको रूपमा हेर्नुपर्छ भन्‍ने चाहिँ होइन।

परमेश्‍वरको नाममा लागेको कलङ्‌क हटाउनुपर्छ भनेर हामी सबैले बुझेका छौँ। अनि यहोवाको सार्वभौमिकता अर्थात्‌ उहाँको शासन गर्ने तरिका सर्वोत्कृष्ट हो भनेर प्रमाणित गर्नुपर्छ भनेर पनि हामीले बुझेका छौँ। यी दुवै महत्त्वपूर्ण विषय हुन्‌ र हामीले यी विषयहरूलाई हल्कासित लिनु हुँदैन।

३. यहोवाको नाममा के-के समावेश छन्‌?

वास्तवमा, यहोवा भन्‍ने नाममा हाम्रा परमेश्‍वरबारे सबै कुरा समावेश छन्‌ र त्यसमा उहाँको शासन गर्ने तरिका पनि पर्छ। त्यसैले हामी यहोवाको नाममा लागेको कलङ्‌क हटाउनु सबैभन्दा महत्त्वपूर्ण विषय हो भन्छौँ भने यहोवाको शासन गर्ने तरिका सर्वोत्कृष्ट हो भनेर प्रमाणित गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ भनिरहेका हुन्छौँ। यहोवाको नाम र सर्वशक्‍तिमान्‌ सार्वभौमको रूपमा उहाँले शासन गर्ने तरिकाबीच नजिकको सम्बन्ध छ।—“ सबैभन्दा महत्त्वपूर्ण विवादमा के-के समावेश छन्‌?” भन्‍ने पेटी हेर्नुहोस्‌।

४. भजन १३५:१३ मा परमेश्‍वरको नामबारे के भनिएको छ? यस लेखमा हामी कुन-कुन प्रश्‍नको जवाफ पाउनेछौँ?

यहोवाको नाम अत्यन्तै विशेष छ। (भजन १३५:१३ पढ्‌नुहोस्‌) परमेश्‍वरको नाम यत्तिको महत्त्वपूर्ण हुनुको कारण के हो? पहिलो चोटि परमेश्‍वरको नामको निन्दा कसरी गरियो? उहाँ आफ्नो नामलाई कसरी पवित्र पार्नुहुन्छ? उहाँको नाम पवित्र पार्न हामी कस्तो भूमिका खेल्न सक्छौँ? आउनुहोस्‌, यी प्रश्‍नहरूबारे विचार गरौँ।

नामको महत्त्व

५. परमेश्‍वरको नाम पवित्र पार्ने सन्दर्भमा हाम्रो मनमा कस्तो प्रश्‍न उठ्‌न सक्छ?

“तपाईँको नाम पवित्र पारियोस्‌।” (मत्ति ६:९) यो कुरा येसुले नमुना प्रार्थनामा सुरुमै उल्लेख गर्नुभयो। तर येसुका यी शब्दहरूको अर्थ के हो? कुनै कुरालाई पवित्र पार्नु भनेको त्यसलाई चोखो, सफा वा शुद्ध पार्नु हो। त्यसैले कसै-कसैको मनमा यस्तो प्रश्‍न उठ्‌न सक्छ, ‘के यहोवाको नाम पहिल्यैदेखि पवित्र, सफा र शुद्ध थिएन र?’ यस प्रश्‍नको जवाफ पाउन नाममा के-के समावेश हुन्छ भनेर बुझ्नुपर्छ।

६. नाम किन महत्त्वपूर्ण छ?

नाम भनेको पानामा लेखिएका अक्षरहरूको सँगालो वा उच्चारण मात्र होइन। यसबारे बाइबल के भन्छ, ध्यान दिनुहोस्‌: “प्रशस्त धनसम्पत्तिभन्दा राम्रो नाम कमाउनु बेस हो।” (हितो. २२:१; उप. ७:१) त्यसोभए नाम किन यत्तिको महत्त्वपूर्ण छ? किनभने यसमा नाम वहन गर्ने व्यक्‍तिको प्रतिष्ठा अर्थात्‌ अरूले तिनीबारे के सोच्छन्‌ भन्‍ने कुरा समावेश छ। त्यसैले नाम कसरी लेखिन्छ वा उच्चारण गरिन्छ, त्यो सबैभन्दा महत्त्वपूर्ण होइन। बरु सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यो नाम देख्दा वा सुन्दा अरूले कसलाई सम्झन्छन्‌ अनि उनीहरू तिनीबारे के सोच्छन्‌ भन्‍ने हो।

७. मानिसहरूले कसरी परमेश्‍वरको नाम बदनाम गरेका छन्‌?

मानिसहरूले यहोवाबारे झूटा कुराहरू फैलाउँदा उहाँको प्रतिष्ठामा आँच पुऱ्‍याइरहेका हुन्छन्‌। तिनीहरूले उहाँको प्रतिष्ठामा आँच पुऱ्‍याउँदा उहाँको नाम बदनाम गर्न खोजिरहेका हुन्छन्‌। परमेश्‍वरको नाम र प्रतिष्ठामा पहिलो चोटि आँच पुगेको घटना मानव इतिहासको सुरुतिरै भएको थियो। त्यस घटनाबाट हामी के सिक्न सक्छौँ, विचार गरौँ।

पहिलो चोटि परमेश्‍वरको नामको निन्दा कसरी गरियो?

८. आदम र हव्वालाई के थाह थियो अनि कस्ता प्रश्‍नहरू खडा हुन्छन्‌?

आदम र हव्वालाई यहोवाको नाम र त्यस नामले चिनिनुहुने परमेश्‍वरबारे महत्त्वपूर्ण सत्यहरू थाह थियो। तिनीहरूलाई उहाँ सृष्टिकर्ता हुनुहुन्छ भनेर थाह थियो, जसले तिनीहरूलाई जीवन, सुन्दर प्रमोदवन र सुहाउँदो जीवनसाथी दिनुभएको थियो। (उत्प. १:२६-२८; २:१८) तर के तिनीहरूले आफ्नो त्रुटिरहित दिमाग यहोवाले दिनुभएका कुराहरूबारे मनन गर्न प्रयोग गरिरहने थिए? के तिनीहरूले त्यस नामले चिनिनुहुने परमेश्‍वरप्रतिको प्रेम र कृतज्ञता विकास गरिरहने थिए? परमेश्‍वरको शत्रुले तिनीहरूको परीक्षा लिँदा यी प्रश्‍नहरूको जवाफ प्रस्ट भयो।

९. उत्पत्ति २:१६, १७ र ३:१-५ अनुसार यहोवाले पहिलो दम्पतीलाई के भन्‍नुभयो अनि सैतानले कसरी सत्यलाई बङ्‌ग्यायो?

उत्पत्ति २:१६, १७ र ३:१-५ पढ्‌नुहोस्‌। सैतानले सर्पलाई आफ्नो कठपुतली बनाएर हव्वालाई यो प्रश्‍न सोध्यो: “के परमेश्‍वरले तिमीहरूलाई बगैँचाको कुनै रूखको फल नखानू भनेर साँच्चै भन्‍नुभएको हो?” त्यस प्रश्‍नमा नदेखिने विषजस्तै एउटा झूट लुकेको थियो। वास्तवमा परमेश्‍वरले तिनीहरूलाई ‘हरेक रूखबाट खान सक्छौ तर एउटा रूखबाट मात्र नखानू’ भन्‍नुभएको थियो। उहाँले आदम र हव्वालाई मीठामीठा फल भएका हरेक किसिमको रूख दिनुभएको थियो। (उत्प. २:९) यहोवा साँच्चै उदार हुनुहुन्छ। तर उहाँले तिनीहरूलाई एउटा रूखको फल खानचाहिँ निषेध गर्नुभएको थियो। सैतानको प्रश्‍नले सत्यलाई बङ्‌ग्यायो। त्यसले परमेश्‍वर उदार हुनुहुन्‍न जस्तो देखायो। त्यसैले हव्वालाई यस्तो लागेको हुन सक्छ, ‘कतै परमेश्‍वरले मलाई कुनै असल कुराबाट वञ्चित गर्नुभएको त छैन?’

१०. सैतानले कसरी सीधै परमेश्‍वरको नामको निन्दा गऱ्‍यो र परिणाम के भयो?

१० यतिबेलासम्म हव्वाले यहोवालाई नै आफ्नो शासक मानेकी थिइन्‌। किनकि सैतानलाई जवाफ दिँदा उनले यहोवाले दिनुभएको स्पष्ट निर्देशन दोहोऱ्‍याइन्‌। त्यस रूखलाई छुनुसमेत हुँदैन भनेर परमेश्‍वरले भन्‍नुभएको कुरा पनि बताइन्‌। अनाज्ञाकारी भएको खण्डमा मर्नुपर्नेछ भनेर परमेश्‍वरले दिनुभएको चेतावनी उनलाई थाह थियो। तर सैतानले यसो भन्यो: “अहँ! तिमीहरू कदापि मर्नेछैनौ!” (उत्प. ३:२-४) अब भने सैतानले खुलेआम झूट बोलिरहेको थियो। त्यसले सीधै परमेश्‍वरको नामको निन्दा गऱ्‍यो; वास्तवमा त्यसले हव्वालाई यहोवा झूटा हुनुहुन्छ भनिरहेको थियो। सैतान यसरी दियाबल अर्थात्‌ निन्दक बन्यो। हव्वालाई पूर्णतया बहकाइयो; उनले सैतानको कुरा पत्याइन्‌। (१ तिमो. २:१४) उनले यहोवामा भन्दा सैतानमा बढी भरोसा राखिन्‌। यसले गर्दा हव्वा असाध्यै मूर्ख निर्णय गर्ने हदसम्म पुगिन्‌। उनले यहोवाको आज्ञा पालन नगर्ने छनौट गरिन्‌। उनले यहोवाले निषेध गर्नुभएको फल खाइन्‌। त्यसपछि उनले आदमलाई पनि त्यो फल दिइन्‌।—उत्प. ३:६.

११. हाम्रा प्रथम आमाबुबाले के गर्न सक्थे तर तिनीहरू के गर्नदेखि चुके?

११ हव्वाले सैतानलाई के भन्‍नुपर्ने थियो, एकछिन सोच्नुहोस्‌ त। कल्पना गर्नुहोस्‌, तिनले यस्तै केही भनिन्‌: “म तँलाई चिन्दिनँ तर मेरो बुबा यहोवालाई राम्ररी चिन्छु अनि उहाँलाई माया र भरोसा गर्छु। उहाँले आदम र मलाई सबै कुरा दिनुभएको छ। उहाँबारे यस्तो नराम्रो कुरा भन्‍ने तेरो कत्रो आँट! यहाँबाट गइहाल्‌!” आफ्नो प्यारी छोरीले आफूप्रति वफादार हुँदै सैतानलाई त्यस्तो जवाफ दिएको सुन्‍न पाउनुभएको भए यहोवालाई कत्ति खुसी लाग्थ्यो होला! (हितो. २७:११) तर हव्वाको मनमा यहोवाप्रति अटल प्रेम थिएन; आदमसित पनि त्यस्तो प्रेम थिएन। आफ्नो बुबा यहोवाप्रति यस्तो प्रेम नभएकोले उहाँको नामको निन्दा गरिँदा आदम र हव्वा त्यसलाई गलत साबित गर्नदेखि चुके।

१२. सैतानले कसरी हव्वाको दिमागमा शङ्‌काको बिउ रोप्यो? आदम र हव्वा के गर्नदेखि चुके?

१२ यहाँसम्मको छलफलबाट सैतानले सबैभन्दा पहिला हव्वाको दिमागमा शङ्‌काको बिउ रोप्यो भनेर बुझ्यौँ। यसरी त्यसले हव्वाको मनमा यहोवा नामले चिनिनुहुने परमेश्‍वर साँच्चै असल हुनुहुन्छ कि हुनुहुन्‍न भन्‍ने प्रश्‍न उब्जायो। त्यसपछि आदम र हव्वा यहोवाको नाम र प्रतिष्ठामा आँच पुऱ्‍याउने झूटलाई खण्डन गर्नदेखि चुके। सैतानको कुरा सुनेर आफ्नो बुबाको विद्रोह गर्न तिनीहरूलाई कत्ति बेर पनि लागेन। सैतानले आज पनि त्यस्तै धूर्त चाल चल्छ। त्यसले यहोवाको नामको निन्दा गरेर उहाँको प्रतिष्ठामा आँच पुऱ्‍याउँछ। सैतानका झूटहरू पत्याउने मानिसहरूले यहोवाको न्यायोचित शासनलाई सजिलै तिरस्कार गर्छन्‌।

यहोवा आफ्नो नाम पवित्र पार्नुहुन्छ

१३. इजकिएल ३६:२३ ले बाइबलको मूलभूत सन्देशलाई कसरी प्रस्ट पार्छ?

१३ के यहोवा आफ्नो नामको निन्दा गरिँदा केही नगरी चुपचाप बस्नुहुन्छ? अहँ, पटक्कै बस्नुहुन्‍न! सम्पूर्ण बाइबललाई हेर्ने हो भने यहोवाले अदनको बगैँचामा आफ्नो नाममा लगाइएको कलङ्‌क हटाउन के-के गर्नुभएको छ भनेर बुझ्न सक्छौँ। (उत्प. ३:१५) वास्तवमा बाइबलको मूलभूत सन्देशको निचोड यही हो: आफ्नो छोराले शासन गर्ने राज्यमार्फत यहोवा आफ्नो नाम पवित्र पार्नुहुन्छ अनि पृथ्वीमा धार्मिकता र शान्ति पुनर्स्थापना गर्नुहुन्छ। यहोवा आफ्नो नाम कसरी पवित्र पार्नुहुन्छ भनेर बुझ्न मदत दिने जानकारी हामी बाइबलमा पाउन सक्छौँ।इजकिएल ३६:२३ पढ्‌नुहोस्‌।

१४. यहोवाले अदनको बगैँचामा भएको विद्रोह सुल्झाउन चाल्नुभएको कदमबाट कसरी उहाँको नाम पवित्र भएको छ?

१४ यहोवालाई आफ्नो उद्देश्‍य पूरा गर्नदेखि रोक्न सैतानले कुनै कसर बाँकी राखेको छैन। तर सैतान बारम्बार असफल भएको छ। यहोवाले कस्तो कदम चाल्नुभएको छ भनेर बाइबलमा बताइएको छ र त्यसले यहोवा परमेश्‍वरजस्तो अरू कोही छैन भनेर प्रमाणित गर्छ। हुनत सैतानले गरेको विद्रोह र त्यसको पक्ष लिनेहरूले गर्दा यहोवा असाध्यै दुःखी हुनुभएको छ। (भज. ७८:४०) तर उहाँले बुद्धि, न्याय र धैर्य देखाउँदै सैतानको चुनौतीको जवाफ दिनुभएको छ। उहाँले विभिन्‍न तरिकामा आफ्नो महान्‌ शक्‍ति पनि देखाउनुभएको छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँले गर्नुहुने सबै काममा उहाँको प्रेम झल्किन्छ। (१ युह. ४:८) आफ्नो नाम पवित्र पार्न यहोवाले अथक प्रयास गरिरहनुभएको छ।

सैतानले हव्वालाई यहोवाबारे झूटो कुरा बतायो र यति लामो समयको दौडान दियाबलले परमेश्‍वरको नामको निन्दा गर्दै आएको छ (अनुच्छेद ९-१०, १५ हेर्नुहोस्‌) *

१५. अहिले सैतानले कसरी परमेश्‍वरको नामको निन्दा गरिरहेको छ र परिणाम कस्तो भएको छ?

१५ अहिले पनि सैतानले परमेश्‍वरको नामको निन्दा गरिरहेको छ। त्यसले परमेश्‍वर शक्‍तिशाली, न्यायी, बुद्धिमान्‌ र मायालु हुनुहुन्छ भन्‍ने कुरामा मानिसहरूको मनमा शङ्‌का उब्जाउँछ। उदाहरणको लागि, सैतानले यहोवा सृष्टिकर्ता हुनुहुन्‍न भनेर मानिसहरूलाई विश्‍वास दिलाउन खोज्छ। अनि परमेश्‍वरको अस्तित्व स्विकार्नेहरूलाई पनि सैतानले परमेश्‍वर र उहाँका स्तरहरू असाध्यै कडा र अन्यायपूर्ण छन्‌ भनेर विश्‍वास दिलाउन खोज्छ। त्यसले यहोवा कठोर र निर्दयी परमेश्‍वर हुनुहुन्छ र उहाँले मानिसहरूलाई नरकको आगोमा तड्‌पाउनुहुन्छ भनेर समेत सिकाउँछ। यस्तो निन्दालाई पत्याउनेहरूले अर्को गलत कदम चाल्ने सम्भावना प्रबल हुन्छ। त्यो हो, यहोवाको न्यायोचित शासनलाई तिरस्कार गर्ने। सैतानको विनाश नभएसम्म त्यसले परमेश्‍वरको नामको निन्दा गर्न छोड्‌नेछैन। त्यसले तपाईँलाई पनि आफ्नो तारो बनाउनेछ। के तपाईँ त्यसलाई सफल हुन दिनुहुनेछ?

सबैभन्दा महत्त्वपूर्ण विवादमा तपाईँको भूमिका

१६. आदम र हव्वाले नगरेको कुन कुरा तपाईँ गर्न सक्नुहुन्छ?

१६ यहोवा त्रुटिपूर्ण मानिसहरूलाई उहाँको नाम पवित्र पार्ने काममा भाग लिन मौका दिनुहुन्छ। वास्तवमा आदम र हव्वाले नगरेको कुरा तपाईँ गर्न सक्नुहुन्छ। यहोवाको नामको निन्दा र बदनाम गर्ने मानिसहरूले भरिएको संसारमा बाँच्नु परे तापनि तपाईँसित सत्यको पक्षमा खडा हुने र सत्य बोल्ने मौका छ—यहोवा पवित्र, धर्मी, असल र मायालु हुनुहुन्छ भन्‍ने सत्य। (यसै. २९:२३) तपाईँ उहाँको शासनलाई समर्थन गर्न सक्नुहुन्छ। उहाँको शासन गर्ने तरिका मात्र साँच्चै न्यायोचित छ र त्यसले सबै सृष्टिलाई शान्ति र आनन्द दिनेछ भनेर तपाईँ घोषणा गर्न सक्नुहुन्छ।—भज. ३७:९, ३७; १४६:५, ६, १०.

१७. येसुले कसरी आफ्नो बुबाको नाम प्रकट गर्नुभयो?

१७ यहोवाको नाम पवित्र पार्ने काममा भाग लिँदा हामीले येसु ख्रिष्टको उदाहरण अनुकरण गरिरहेका हुन्छौँ। (युह. १७:२६) येसुले आफ्नो बुबाको नाम प्रयोग गरेर मात्र होइन तर यहोवा वास्तवमा कस्तो परमेश्‍वर हुनुहुन्छ भनी सिकाएर पनि उहाँको नाम प्रकट गर्नुभयो। उदाहरणको लागि, उहाँले फरिसीहरूको शिक्षालाई खण्डन गर्नुभयो, जसले मानिसहरूको मनमा यहोवा कठोर, अचाक्ली माग गर्ने, भावशून्य र क्रूर हुनुहुन्छ भन्‍ने छाप पारिदिएका थिए। येसुले आफ्नो बुबा यहोवा व्यावहारिक, धीरजी, दयालु र क्षमाशील हुनुहुन्छ भनी मानिसहरूलाई सिकाउनुभयो। उहाँले दैनिक जीवनमा आफ्नो बुबाका गुणहरू हुबहु अनुकरण गरेर पनि मानिसहरूलाई यहोवा वास्तवमा कस्तो परमेश्‍वर हुनुहुन्छ भनी बुझ्न मदत गर्नुभयो।—युह. १४:९.

१८. हामी कसरी यहोवाबारे फैलाइएका झूटा कुराहरूलाई गलत साबित गर्न र उहाँको नाममा लागेको कलङ्‌क हटाउन सक्छौँ?

१८ येसुले जस्तै हामी पनि मानिसहरूलाई यहोवा मायालु र दयालु परमेश्‍वर हुनुहुन्छ भनेर बताउन सक्छौँ। यसो गर्दा यहोवाबारे फैलाइएका झूटा कुराहरूलाई गलत साबित गर्न र उहाँको नाममा लागेको कलङ्‌क हटाउन सक्छौँ। मानिसहरूलाई यहोवाको नामलाई पवित्र ठान्‍न मदत गरेर हामी उहाँको नामलाई पवित्र पार्छौँ। हामी पनि यहोवाको देखासिकी गर्न सक्छौँ। हामी त्रुटिपूर्ण भए तापनि उहाँको देखासिकी गर्न सम्भव छ। (एफि. ५:१, २) यहोवा वास्तवमा कस्तो परमेश्‍वर हुनुहुन्छ भनेर आफ्नो बोली र व्यवहारद्वारा देखाउँदा हामी उहाँको नाम पवित्र पार्ने काममा भाग लिइरहेका हुन्छौँ। यहोवाको नामबारे मानिसहरूले राखेका गलत धारणा हटाउन मदत गर्दा हामी उहाँको नामलाई पवित्र पार्छौँ। साथै, हामी त्रुटिपूर्ण भए पनि सत्यनिष्ठ रहँदा यहोवाको नामलाई पवित्र पारिरहेका हुन्छौँ।—अय्यु. २७:५.

हामी बाइबल विद्यार्थीहरूलाई यहोवा दयालु र मायालु हुनुहुन्छ भनेर बुझ्न मदत गर्न चाहन्छौँ (अनुच्छेद १८-१९ हेर्नुहोस्‌) *

१९. यसैया ६३:७ अनुसार हामीले अरूलाई सिकाउनुको मुख्य उद्देश्‍य के हुनुपर्छ?

१९ यहोवाको नाम पवित्र पार्न हामीले गर्न सक्ने अर्को महत्त्वपूर्ण कामबारे विचार गर्नुहोस्‌। अरूलाई बाइबल सत्य सिकाउँदा हामी धेरैजसो यहोवाको सार्वभौमिकतालाई अर्थात्‌ ब्रह्‍माण्डमा शासन गर्ने अधिकार उहाँकै हो भन्‍ने कुरालाई जोड दिन्छौँ। हुनत मानिसहरूलाई सिकाउँदा परमेश्‍वरका नियमहरूबारे जोड दिनु महत्त्वपूर्ण छ तर हाम्रो मुख्य उद्देश्‍य भनेको तिनीहरूलाई हाम्रा बुबा यहोवालाई प्रेम गर्न र उहाँप्रति वफादार हुन मदत गर्नु हो। त्यसैले यहोवाका मनमोहक गुणहरूबारे जोड दिँदै यहोवा नामले चिनिनुहुने परमेश्‍वर वास्तवमा कस्तो हुनुहुन्छ भनेर बुझाउनु अत्यावश्‍यक छ। (यसैया ६३:७ पढ्‌नुहोस्‌) यसरी सिकाउँदा हामीले तिनीहरूको मनमा यहोवाप्रतिको प्रेम र उहाँप्रति वफादार हुने इच्छा जगाइरहेका हुन्छौँ, जसले गर्दा तिनीहरू उहाँको आज्ञा पालन गर्न उत्प्रेरित हुनेछन्‌।

२०. अर्को लेखमा हामी के छलफल गर्नेछौँ?

२० त्यसोभए हाम्रो आचरण र हामीले सिकाउने कुराले अरूलाई यहोवा नामले चिनिनुहुने परमेश्‍वर असल हुनुहुन्छ भनी बुझ्न र उहाँसित नजिक हुन मदत गरिरहेको छ कि छैन भनेर हामी कसरी पक्का हुन सक्छौँ? यस प्रश्‍नको जवाफ अर्को लेखले दिनेछ।

गीत २ यहोवा तिम्रो नाम

^ अनु. 5 सम्पूर्ण मानिस र स्वर्गदूत कुन महत्त्वपूर्ण विवादमा मुछिएका छन्‌? यो विवाद यत्तिको महत्त्वपूर्ण हुनुको कारण के हो? अनि यो विवाद सुल्झाउने सन्दर्भमा हाम्रो भूमिका कस्तो छ? यी प्रश्‍नहरू र यस विवादसित सम्बन्धित अन्य प्रश्‍नहरूको जवाफ थाह पायौँ भने यहोवासितको हाम्रो सम्बन्ध अझ बलियो बनाउन सक्नेछौँ।

^ अनु. 61 चित्रको व्याख्या: हव्वालाई परमेश्‍वर झूटा हुनुहुन्छ भनी बताएर दियाबलले उहाँको निन्दा गऱ्‍यो। यति लामो समयको दौडान सैतानले थुप्रै झूट फैलाएको छ, जस्तै: परमेश्‍वर क्रूर हुनुहुन्छ र उहाँ सृष्टिकर्ता हुनुहुन्‍न।

^ अनु. 63 चित्रको व्याख्या: बाइबल अध्ययन सञ्चालन गर्दा एक जना भाइ परमेश्‍वरका गुणहरूबारे जोड दिन्छन्‌।