सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २७

आफूलाई जति ठान्‍नु आवश्‍यक छ, त्योभन्दा बढ्‌ता नठान्‍नुहोस्‌

आफूलाई जति ठान्‍नु आवश्‍यक छ, त्योभन्दा बढ्‌ता नठान्‍नुहोस्‌

“म त्यहाँ हुने तिमीहरू सबैलाई भन्छु, आफूलाई जति ठान्‍नु आवश्‍यक छ, त्योभन्दा बढ्‌ता नठान बरु . . . तिमीहरूले सुझबुझ चलाउन सक।”—रोमी १२:३.

गीत १३० क्षमा दिने गरौँ!

परिचय *

१. फिलिप्पी २:३ अनुसार हामी नम्र छौँ भने अरूसितको सम्बन्ध कसरी सुमधुर हुन्छ?

हामी नम्र हुँदै यहोवाको स्तरअनुसार चल्छौँ किनकि के गर्दा हाम्रो भलाइ हुन्छ, उहाँलाई राम्ररी थाह छ। (एफि. ४:२२-२४) नम्रताले हामीलाई आफ्नो भन्दा यहोवाको इच्छालाई पहिलो स्थानमा राख्न र अरूलाई आफूभन्दा श्रेष्ठ ठान्‍न मदत गर्छ। परिणामस्वरूप, हामी यहोवासित र सङ्‌गी दाजुभाइ दिदीबहिनीसित सुमधुर सम्बन्ध गाँस्न सक्छौँ।फिलिप्पी २:३ पढ्‌नुहोस्‌।

२. प्रेषित पावलले कुन कुरा स्विकारे? यस लेखमा हामी के छलफल गर्नेछौँ?

तर होसियार भएनौँ भने हामी सैतानको संसारमा भएका घमन्डी र स्वार्थी मानिसहरूको प्रभावमा पर्न सक्छौँ। * इस्वी संवत्‌ प्रथम शताब्दीका केही ख्रिष्टियनहरू पनि त्यस्तै खतरामा परेका थिए जस्तो देखिन्छ। किनकि प्रेषित पावलले रोमीहरूलाई यस्तो लेखे: “म त्यहाँ हुने तिमीहरू सबैलाई भन्छु, आफूलाई जति ठान्‍नु आवश्‍यक छ, त्योभन्दा बढ्‌ता नठान बरु . . . तिमीहरूले सुझबुझ चलाउन सक।” (रोमी १२:३) पावलले हामीमा आत्मसम्मान हुनुपर्छ भनेर स्विकारे। तर हामी नम्र छौँ भने आफूबारे सन्तुलित दृष्टिकोण राख्छौँ। आफूलाई जति ठान्‍नुपर्ने हो, त्योभन्दा बढ्‌ता नठान्‍न नम्रताले हामीलाई तीन वटा क्षेत्रमा कसरी मदत गर्छ भनेर यस लेखमा छलफल गर्नेछौँ। ती क्षेत्रहरू हुन्‌: (१) हाम्रो वैवाहिक जीवन, (२) हामीले पाएको सेवाको सुअवसर र (३) सामाजिक सञ्जालको प्रयोग।

वैवाहिक जीवनमा नम्रता देखाउनुहोस्‌

३. वैवाहिक सम्बन्धमा के कारणले गर्दा मतभेद हुन सक्छ? मतभेद हुँदा केही जोडीले कस्तो प्रतिक्रिया देखाएका छन्‌?

यहोवाले विवाहको सुरुवात गर्नुहुँदा पति-पत्नी दुवैले यो सम्बन्धबाट आनन्द उठाएको चाहनुहुन्थ्यो। तर हामीमध्ये कोही पनि त्रुटिरहित छैनौँ, त्यसैले वैवाहिक सम्बन्धमा मतभेद हुन सक्छ। विवाह गर्नेहरूले दुःखकष्ट झेल्नेछन्‌ भनेर पावलले लेखेका थिए। (१ कोरि. ७:२८) केही जोडीहरू दिनरात झगडा गर्छन्‌ र तिनीहरू विवाह गरेर ठूलो गल्ती गरेँ भन्‍ने निष्कर्षमा पुग्न सक्छन्‌। यदि तिनीहरू संसारको प्रभावमा परेका छन्‌ भने सम्बन्धविच्छेद नै एक मात्र समाधान हो भनेर सोच्न सक्छन्‌। आफ्नो लागि जे ठीक हो, त्यही गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो जस्तो तिनीहरूलाई लाग्न सक्छ।

४. हामीले कस्तो सोचाइ राख्नु हुँदैन?

हामीले आफ्नो वैवाहिक सम्बन्ध असफल भयो भन्‍ने सोचाइ राख्नु हुँदैन। सम्बन्धविच्छेद गर्न सकिने एक मात्र धर्मशास्त्रीय आधार अवैध यौनसम्बन्ध हो भनेर हामीलाई थाह छ। (मत्ति ५:३२) त्यसैले पावलले बताएझैँ वैवाहिक जीवनमा दुःखकष्ट झेल्नुपर्दा हामीले घमन्डी हुँदै यस्तो सोचाइ राख्नु हुँदैन: ‘के यो सम्बन्धले मेरो आवश्‍यकता पूरा गरिरहेको छ? के मैले आफूले पाउनुपर्ने माया पाइरहेको छु? अरू नै कोहीसित म अझ खुसी हुन सक्छु कि?’ यी प्रश्‍नहरूमा आफैबारे मात्र सोचेको कुरा स्पष्टै झल्किन्छ। संसारको बुद्धिले तपाईँलाई आफ्नो मनले के भन्छ र के गर्दा आफू खुसी हुन सकिन्छ, त्यही गर्न प्रोत्साहन दिन्छ, चाहे त्यसको लागि वैवाहिक सम्बन्ध नै टुटाउन किन नपरोस्‌। परमेश्‍वरले दिनुहुने बुद्धिले भने तपाईँलाई ‘आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान दिन’ प्रोत्साहन दिन्छ। (फिलि. २:४) यहोवा तपाईँले आफ्नो वैवाहिक सम्बन्धलाई जोगाएको चाहनुहुन्छ, टुटाएको होइन। (मत्ति १९:६) तपाईँले सबैभन्दा पहिला आफैबारे होइन तर यहोवाबारे सोचेको उहाँ चाहनुहुन्छ।

५. एफिसी ५:३३ अनुसार पति-पत्नीले एकअर्कालाई कस्तो व्यवहार गर्नुपर्छ?

पति-पत्नीले एकअर्कालाई प्रेम र आदर गर्नुपर्छ। (एफिसी ५:३३ पढ्‌नुहोस्‌) बाइबलले हामीलाई लिनुमा भन्दा दिनुमा आनन्द छ भनी सिकाउँछ। (प्रेषि. २०:३५) एकअर्कालाई प्रेम र आदर गर्न विवाहित दम्पतीलाई कुन गुणले मदत गर्छ? पक्कै पनि नम्रताले। पति-पत्नी दुवै नम्र छन्‌ भने तिनीहरूले आफ्नो होइन, “अर्को मानिसको” अर्थात्‌ आफ्नो पति वा पत्नीको फाइदा खोज्छन्‌।—१ कोरि. १०:२४.

नम्र दम्पतीले एकअर्कालाई प्रतिद्वन्द्वी ठान्‍नुको सट्टा टिमको रूपमा मिलेर काम गर्छन्‌ (अनुच्छेद ६ हेर्नुहोस्‌)

६. स्टिभन र स्टेफनीले भनेको कुराबाट तपाईँले के सिक्नुभयो?

नम्रताले थुप्रै ख्रिष्टियन दम्पतीलाई आफ्नो वैवाहिक सम्बन्धबाट आनन्द उठाउन मदत गरेको छ। उदाहरणको लागि, स्टिभन नाम गरेका एक पति यसो भन्छन्‌: “यदि तपाईँहरू एउटा टिम हुनुहुन्छ भने विशेषगरि समस्या आइपर्दा सँगै काम गर्नुहुनेछ। ‘मेरो लागि सबैभन्दा राम्रो के हो?’ भन्‍ने सोचाइ राख्नुको सट्टा ‘हाम्रो लागि सबैभन्दा राम्रो के हो?’ भन्‍ने सोचाइ राख्नुहुनेछ।” तिनकी पत्नी स्टेफनी पनि त्यस्तै महसुस गर्छिन्‌। उनी भन्छिन्‌: “झगडालु व्यक्‍तिसँग बस्न कसैलाई पनि मन पर्दैन। मतभेद हुँदा हामी समस्या पत्ता लगाउने कोसिस गर्छौँ। त्यसपछि हामी प्रार्थना गर्छौँ, अनुसन्धान गर्छौँ र यसबारे आपसमा कुरा गर्छौँ। हामी एकअर्कालाई दोष दिने गर्दैनौँ बरु समस्या सुल्झाउने प्रयास गर्छौँ।” पति-पत्नीले आफूलाई जति ठान्‍नुपर्ने हो, त्योभन्दा बढ्‌ता नठान्दा दुवै जना खुसी हुन सक्छन्‌।

“सधैँ नम्र” भएर यहोवाको सेवा गर्नुहोस्‌

७. कुनै भाइले सेवाको सुअवसर पाउँदा कस्तो मनोवृत्ति राख्नुपर्छ?

आफूले जसरी सक्छौँ, त्यसरी यहोवाको सेवा गर्न पाउनुलाई हामी सुअवसर ठान्छौँ। (भज. २७:४; ८४:१०) कुनै भाइ यहोवाको सङ्‌गठनमा अझ धेरै गर्न तत्पर छन्‌ भने, त्यो धेरै राम्रो कुरा हो। बाइबलले पनि यसो भनेको छ: “यदि कुनै पुरुष निरीक्षक बन्‍न अघि बढिरहेको छ भने उसले असल काम गर्न चाहेको हुन्छ।” (१ तिमो. ३:१) तर ती भाइले जिम्मेवारी पाएपछि आफूलाई आवश्‍यकभन्दा धेरै ठान्‍नु हुँदैन। (लुका १७:७-१०) तिनको लक्ष्य नम्र हुँदै अरूको सेवा गर्ने हुनुपर्छ।—२ कोरि. १२:१५.

८. डियोत्रिफस, उज्जियाह र अब्सालोमबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

बाइबलमा आफूलाई बढ्‌तै महत्त्व दिएका व्यक्‍तिहरूको चेतावनीमूलक उदाहरणहरू पाउँछौँ। डियोत्रिफसले अहङ्‌कारी हुँदै मण्डलीमा “पहिलो स्थान” ओगट्‌न खोजे। (३ युह. ९) उज्जियाह पनि घमन्डी हुँदै यहोवाले आफूलाई नअह्राउनुभएको काम गर्न पुगे। (२ इति. २६:१६-२१) अब्सालोमले पनि धूर्त चाल चलेर इस्राएलीहरूको मन जित्न खोजे किनकि तिनी राजा बन्‍न चाहन्थे। (२ समु. १५:२-६) यी बाइबल विवरणहरूले देखाएझैँ यहोवा आफ्नै मान खोज्ने मानिसहरूदेखि खुसी हुनुहुन्‍न। (हितो. २५:२७) त्यस्ता घमन्डी र अहङ्‌कारी मानिसहरूको पतन हुन्छ।—हितो. १६:१८.

९. येसुले कस्तो उदाहरण बसाल्नुभयो?

यी घमन्डी मानिसहरूको ठीक विपरीत येसुले भने “परमेश्‍वरको स्वरूपमा भएर पनि . . . अख्तियार हडप्ने अर्थात्‌ परमेश्‍वरको बराबरीमा पुग्ने सोचाइ कहिल्यै राख्नुभएन।” (फिलि. २:६) येसु ब्रह्‍माण्डमा यहोवा परमेश्‍वरपछिको दोस्रो ठूलो व्यक्‍ति हुनु भए तापनि उहाँले आफूलाई जति ठान्‍नुपर्ने हो, त्योभन्दा बढ्‌ता ठान्‍नुभएन। उहाँले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “जसले तिमीहरूबीच आफूलाई सबैभन्दा सानो सम्झेर व्यवहार गर्छ, उही ठूलो हो।” (लुका ९:४८) नम्रता देखाउने सन्दर्भमा येसुको अनुकरण गर्ने अग्रगामीहरू, सहायक सेवकहरू, एल्डरहरू र क्षेत्रीय निरीक्षकहरूसँगै मिलेर सेवा गर्न पाउनु साँच्चै आशिष्‌को कुरा हो! हामी नम्र छौँ भने अरूलाई अझ धेरै प्रेम देखाउनेछौँ अनि येसुले पनि परमेश्‍वरका साँचो उपासकहरूको चिनारी प्रेम हो भन्‍नुभएको थियो।—युह. १३:३५.

१०. मण्डलीमा समस्याहरू सुल्झाउन एल्डरहरूले प्रयास गरेका छैनन्‌ जस्तो लाग्यो भने तपाईँले के गर्नुपर्छ?

१० मण्डलीमा समस्याहरू भइरहेको जस्तो देखियो तर एल्डरहरूले ती सुल्झाउन प्रयास गरेका छैनन्‌ जस्तो तपाईँलाई लाग्यो भने के गर्नुपर्छ? गनगन गर्नुको साटो अगुवाइ लिइरहेका दाजुभाइलाई साथ दिएर हामी नम्रता देखाउन सक्छौँ। (हिब्रू १३:१७) त्यसो गर्न आफैलाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: ‘मैले देखिरहेका समस्याहरू सुल्झाउनै पर्ने हदसम्मको ठूलो हो र? के अहिले यी समस्याहरू सुल्झाउने सही समय हो? के यी समस्याहरू सुल्झाउने जिम्मेवारी मेरो हो? इमानदार भएर भन्‍नुपर्दा, मैले मण्डलीको एकतामा योगदान पुऱ्‍याइरहेको छु कि अरूको नजरमा ठूलो बन्‍न खोजिरहेको छु?’

जिम्मेवारी बहन गर्ने दाजुभाइ उनीहरूको क्षमताको लागि मात्र होइन, नम्रताको लागि पनि चिनिनुपर्छ (अनुच्छेद ११ हेर्नुहोस्‌) *

११. नम्र हुँदै यहोवाको सेवा गऱ्‍यौँ भने एफिसी ४:२, ३ अनुसार नतिजा कस्तो हुन्छ?

११ यहोवा हाम्रो क्षमता होइन, नम्रता हेर्नुहुन्छ अनि उहाँ हाम्रो दक्षताको होइन, हामीमाझ भएको एकताको मोल गर्नुहुन्छ। त्यसैले नम्र हुँदै यहोवाको सेवा गर्न सक्दो कोसिस गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँले मण्डलीको एकतामा योगदान पुऱ्‍याइरहनुभएको हुनेछ। (एफिसी ४:२, ३ पढ्‌नुहोस्‌) क्षेत्र सेवामा जोसिलो हुनुहोस्‌। अरूको निम्ति दयालु कामहरू गरिदिएर उनीहरूको सेवा गर्ने मौका खोज्नुहोस्‌। मण्डलीमा जिम्मेवारी पाएकाहरूलाई मात्र होइन, सबैलाई अतिथि-सत्कार गर्नुहोस्‌। (मत्ति ६:१-४; लुका १४:१२-१४) नम्र हुँदै मण्डलीसँगै मिलेर काम गर्दा अरूले तपाईँको क्षमता मात्र होइन, नम्रता पनि याद गर्नेछन्‌।

सामाजिक सञ्जाल प्रयोग गर्दा नम्रता देखाउनुहोस्‌

१२. के बाइबलले हामीलाई साथीहरू बनाउन प्रोत्साहन दिन्छ? व्याख्या गर्नुहोस्‌।

१२ यहोवा हामीले साथीहरू र परिवारका सदस्यहरूसित समय बिताएर आनन्द उठाएको चाहनुहुन्छ। (भज. १३३:१) येसुको पनि असल साथीहरू थिए। (युह. १५:१५) बाइबलमा साँचो साथीहरू बनाउँदा कस्तो फाइदा हुन्छ भनेर बताइएको छ। (हितो. १७:१७; १८:२४) आफूलाई अरूबाट अलग्याउनु राम्रो होइन भनेर पनि बाइबलमा बताइएको छ। (हितो. १८:१) धेरैलाई सामाजिक सञ्जाल भनेको थुप्रै साथी बनाउने र एक्लोपन हटाउने राम्रो माध्यम हो जस्तो लाग्छ। तर अरूसित कुराकानी गर्ने यो माध्यम चलाउँदा हामी होसियार हुनुपर्छ।

१३. सामाजिक सञ्जाल चलाउने केही मानिसहरू किन एक्लोपन र डिप्रेसनको सिकार हुन सक्छन्‌?

१३ सामाजिक सञ्जालमा पोस्ट गरिएका कुराहरू हेर्न वा पढ्‌न धेरै समय बिताउने मानिसहरू एक्लोपन र डिप्रेसनको सिकार हुन सक्छन्‌ भनेर अध्ययनहरूले देखाएको छ। किन? एउटा सम्भाव्य कारण भनेको मानिसहरू अक्सर सामाजिक सञ्जालमा रमाइलो गरेका फोटोहरू मात्र पोस्ट गर्छन्‌; तिनीहरू आफ्नो, आफ्ना साथीहरूको र आफू घुम्न गएको रमाइला ठाउँहरूको फोटो मात्र छानी-छानी राख्छन्‌। सामाजिक सञ्जालमा त्यस्ता फोटोहरू हेर्ने मानिसहरू अरूको तुलनामा आफ्नो जीवन असाध्यै पट्टाइलाग्दो र निरस छ भन्‍ने निष्कर्षमा पुग्न सक्छन्‌। उन्‍नाइस वर्षकी एक ख्रिष्टियन बहिनी यसो भन्छिन्‌: “अरू साथीहरू सप्ताहन्तमा खुब रमाइलो गरिरहेको फोटोहरू देख्दा तर आफू भने धुमधुमती घरमै बस्नुपर्दा मलाई उनीहरूदेखि डाह लाग्न थाल्यो।”

१४. पहिलो पत्रुस ३:८ मा पाइने सल्लाह सामाजिक सञ्जाल प्रयोग गर्ने सन्दर्भमा हामी कसरी लागू गर्न सक्छौँ?

१४ हामी सामाजिक सञ्जाल राम्रो उद्देश्‍यको लागि प्रयोग गर्न सक्छौँ, जस्तै: परिवार र साथीभाइको हालखबर बुझ्न। तर तपाईँले पनि याद गर्नुभएको होला, मानिसहरू सामाजिक सञ्जालमा कतिपय कुराहरू आफ्नो रवाफ देखाउन पोस्ट गर्ने गर्छन्‌। तिनीहरूले “मलाई हेर” भन्‍ने खालको सन्देश दिन खोजेको जस्तो देखिन्छ। कसै-कसैले भने आफूले वा अरूले राखेको फोटोमा घोचपेच गर्ने र छाडा किसिमका कमेन्टहरू पोस्ट गर्छन्‌। हामी ख्रिष्टियनहरूले नम्र हुन र अरूलाई प्रेम गर्न सिकेकोले यस्तो तरिकामा सामाजिक सञ्जाल प्रयोग गर्नु उचित होइन।१ पत्रुस ३:८ पढ्‌नुहोस्‌।

तपाईँले सामाजिक सञ्जालमा पोस्ट गरेको कुरा देख्दा अरूले तपाईँलाई फुइँ लगाउने व्यक्‍ति ठान्छन्‌ कि नम्र? (अनुच्छेद १५ हेर्नुहोस्‌)

१५. आफैलाई ठूलो देखाउन खोज्ने झुकाव नराख्न बाइबलले हामीलाई कसरी मदत गर्छ?

१५ यदि तपाईँ सामाजिक सञ्जाल चलाउनुहुन्छ भने आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘मैले पोस्ट गर्ने कमेन्ट, फोटो वा भिडियोहरूले के मैले फुइँ लगाइरहेको भान पार्छ? के यसले अरूलाई डाही बनाउँछ?’ बाइबल भन्छ: “संसारमा भएको जुनसुकै थोक अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा र तडकभडक बुबाबाट होइन तर संसारबाट आउँछ।” (१ युह. २:१६) एउटा बाइबल संस्करणमा “तडकभडक” भन्‍ने शब्दलाई “अरूको नजरमा ठूलो देखिन खोज्नु” भनेर अनुवाद गरिएको छ। ख्रिष्टियनहरूलाई अरूले आफूलाई ठूलो ठान्‍नुपर्छ जस्तो लाग्दैन। तिनीहरू बाइबलको यो सल्लाहअनुसार चल्छन्‌: “हामी फोस्रो घमन्ड नगरौँ, प्रतिस्पर्धा गर्न एकअर्कालाई नउक्साऔँ अनि एकअर्काको ईर्ष्या नगरौँ।” (गला. ५:२६) नम्रताले हामीलाई संसारका मानिसहरूले जस्तो आफैलाई ठूलो देखाउन खोज्ने झुकाव नराख्न मदत गर्छ।

“तिमीहरूले सुझबुझ चलाउन सक”

१६. हामी किन घमन्डी हुनु हुँदैन?

१६ हामीले नम्र हुन सिक्नु आवश्‍यक छ किनकि घमन्डी मानिसले “सुझबुझ” चलाउन सक्दैन। (रोमी १२:३) घमन्डी मानिस झगडालु र ईर्ष्यालु हुन्छ। उसको सोचाइ र व्यवहारले गर्दा अक्सर आफैलाई र अरूलाई पनि चोट पुग्न सक्छ। घमन्डी मानिसले आफ्नो सोच्ने तरिका परिवर्तन गरेन भने सैतानको बहकाउमा परेर उसको दिमाग अन्धो र भ्रष्ट हुनेछ। (२ कोरि. ४:४; ११:३) अर्कोतर्फ नम्र मानिसले सुझबुझ चलाउँछ। ऊ आफूप्रति सन्तुलित दृष्टिकोण राख्छ र आफूलाई बढ्‌तै महत्त्वपूर्ण ठान्दैन; उसले अरू मानिस आफूभन्दा थुप्रै तरिकामा श्रेष्ठ छन्‌ भन्‍ने कुरा मानिलिन्छ। (फिलि. २:३) “परमेश्‍वरले अहङ्‌कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ” भन्‍ने कुरा पनि उसले बुझेको हुन्छ। (१ पत्रु. ५:५) त्यसैले सुझबुझ चलाउने मानिस कहिल्यै पनि परमेश्‍वरको विरुद्धमा उठ्‌न चाहँदैन।

१७. नम्र भइरहन हामीले के गर्नै पर्छ?

१७ नम्र भइरहन हामीले बाइबलको यो सल्लाह लागू गर्नै पर्छ: “पुरानो व्यक्‍तित्वलाई त्यसका कामहरूसहित फुकालेर मिल्काइदेओ अनि . . . नयाँ व्यक्‍तित्व धारण गर।” यसो गर्न धेरै प्रयास चाहिन्छ। हामीले येसुले बसाल्नुभएको उदाहरणबारे अध्ययन गर्नुपर्छ र सकेसम्म राम्ररी उहाँको अनुकरण गर्नुपर्छ। (कल. ३:९, १०; १ पत्रु. २:२१) यस्तो प्रयास खेर जानेछैन। नम्र हुन सिक्दा हाम्रो पारिवारिक जीवन राम्रो हुन्छ, हामीले मण्डलीको एकतामा योगदान पुऱ्‍याउन सक्छौँ र सामाजिक सञ्जालको दुरुपयोग गर्नदेखि पनि जोगिन्छौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीले यहोवाको आशिष्‌ र अनुमोदन पाउनेछौँ।

गीत ११७ भलाइ गरौँ!

^ अनु. 5 हामी अहिले घमन्डी र स्वार्थी मानिसहरूले भरिएको संसारमा बाँचिरहेका छौँ। हाम्रो मनोवृत्ति पनि तिनीहरूको जस्तै नहोस्‌ भनेर हामी होसियार हुनुपर्छ। यस लेखमा हामीले आफूलाई जति ठान्‍नु आवश्‍यक छ, त्योभन्दा बढ्‌ता ठान्‍न नहुने तीन वटा क्षेत्रबारे छलफल गर्नेछौँ।

^ अनु. 2 थप व्याख्या: घमन्डी मानिसले आफूलाई बढ्‌तै महत्त्वपूर्ण ठान्छ तर अरूलाई त्यति महत्त्वपूर्ण ठान्दैन। त्यसैले घमन्डी मानिस स्वार्थी पनि हुन्छ। अर्कोतर्फ, नम्रताले हामीलाई निःस्वार्थ मनोभाव राख्न मदत गर्छ। नम्र हुनु भनेको घमन्डी वा अहङ्‌कारी नहुनु हो।

^ अनु. 56 चित्रको व्याख्या: अधिवेशनमा राम्रो भाषण दिने र राम्रो निरीक्षण गर्ने क्षमता भएको एक एल्डर क्षेत्र सेवामा नेतृत्व लिने र सभाभवन सरसफाइ गर्ने जिम्मेवारीको पनि मोल गर्छन्‌।