सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ३१

के तपाईँ “साँचो जग भएको त्यस सहरको प्रतीक्षा” गर्दै हुनुहुन्छ?

के तपाईँ “साँचो जग भएको त्यस सहरको प्रतीक्षा” गर्दै हुनुहुन्छ?

“तिनी साँचो जग भएको त्यस सहरको प्रतीक्षामा थिए, जुन सहरको रचनाकार र निर्माता परमेश्‍वर हुनुहुन्छ।”—हिब्रू ११:१०.

गीत २२ यहोवाको राज्य अब चाँडै आओस्‌!

परिचय *

१. थुप्रैले कस्ता त्यागहरू गरेका छन्‌? तिनीहरूले किन त्यस्ता त्यागहरू गरे?

परमेश्‍वरका लाखौँ सेवकले विभिन्‍न त्यागहरू गरेका छन्‌। थुप्रै भाइबहिनीले अविवाहित रहने छनौट गरेका छन्‌। विवाहित दम्पतीहरूले अहिले छोराछोरी नजन्माउने निर्णय गरेका छन्‌। परिवारहरूले आफ्नो जीवन सरल बनाएका छन्‌। तिनीहरू सबैले एउटा मुख्य लक्ष्य राखेर यस्ता निर्णयहरू गरेका छन्‌। त्यो हो, यथासक्दो यहोवाको सेवा गर्ने। तिनीहरू सन्तुष्ट छन्‌ अनि यहोवाले तिनीहरूका आवश्‍यकताहरू पूरा गर्नुहुनेछ भन्‍ने कुरामा पूर्ण भरोसा राख्छन्‌। के तिनीहरूको भरोसा खेर जानेछ? अहँ जानेछैन! यसमा हामी किन पक्का हुन सक्छौँ? किनभने विगतमा पनि यहोवाले आफ्ना सेवकहरूको सबै आवश्‍यकता पूरा गरिदिनुभयो। जस्तै: उहाँले “विश्‍वासले गर्दा धर्मी ठहरिएकाहरू सबैको बुबा” अब्राहामलाई आशिष्‌ दिनुभयो।—रोमी ४:११.

२. (क) हिब्रू ११:८-१०, १६ अनुसार अब्राहाम उर सहर छोड्‌न किन राजी भए? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?

अब्राहाम उर सहरको सुविधासम्पन्‍न जीवन त्यागेर अन्तै जान राजी भए। किन? किनभने तिनी “साँचो जग भएको त्यस सहरको प्रतीक्षामा थिए।” (हिब्रू ११:८-१०, १६ पढ्‌नुहोस्‌) त्यो कुन “सहर” हो? त्यो सहर निर्माण हुने समय पर्खुन्जेल अब्राहामले कस्ता समस्याहरूको सामना गर्नुपऱ्‍यो? हामी कसरी अब्राहाम र अहिले तिनको उदाहरण अनुकरण गरेका व्यक्‍तिहरूजस्तै हुन सक्छौँ?

“साँचो जग भएको . . . सहर” कुन हो?

३. अब्राहामले प्रतीक्षा गरेको सहर कुन हो?

अब्राहामले प्रतीक्षा गरेको सहर परमेश्‍वरको राज्य हो। यस राज्यको राजा येसु ख्रिष्ट हुनुहुन्छ। उहाँसँगै मिलेर १ लाख ४४ हजार अभिषिक्‍त ख्रिष्टियनले शासन गर्नेछन्‌। पावलले त्यस राज्यलाई “जीवित परमेश्‍वरको सहर, स्वर्गको यरुसलेम” भनेका छन्‌। (हिब्रू १२:२२; प्रका. ५:८-१०; १४:१) येसुले आफ्ना चेलाहरूलाई त्यही राज्यको लागि प्रार्थना गर्न अनि यहोवाको इच्छा स्वर्गमा जसरी पूरा हुन्छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्‌ भनेर बिन्ती गर्न सिकाउनुभयो।—मत्ति ६:१०.

४. उत्पत्ति १७:१, २, ६ अनुसार परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको सहर अर्थात्‌ राज्यबारे अब्राहामलाई के थाह थियो?

के अब्राहामलाई परमेश्‍वरको राज्य कस्तो हुनेछ भनेर सबै कुरा थाह थियो? थिएन। शताब्दीऔँसम्म त्यो जानकारी “पवित्र रहस्य” थियो। (एफि. १:८-१०; कल. १:२६, २७) तर आफ्ना कोही-कोही सन्तान राजा हुनेछन्‌ भनेर चाहिँ अब्राहामलाई थाह थियो। किनभने यहोवाले नै अब्राहामलाई त्यो प्रतिज्ञा गर्नुभएको थियो। (उत्पत्ति १७:१, २,  पढ्‌नुहोस्‌) अब्राहामले परमेश्‍वरका प्रतिज्ञाहरूमा यति बलियो विश्‍वास राखेका थिए कि तिनको लागि परमेश्‍वरको राज्यको राजा बन्‍नुहुने अभिषिक्‍त जन अर्थात्‌ मसीह आफ्नै आँखाले देखेझैँ थियो। यसकारण येसुले आफ्नो समयका यहुदीहरूलाई यसो भन्‍न सक्नुभयो: “तिमीहरूका बुबा अब्राहाम मेरो दिन हेर्ने आशामा असाध्यै रमाउँथे अनि तिनले त्यो दिन देखे र रमाए।” (युह. ८:५६) कुरा स्पष्ट छ, अब्राहामलाई आफ्ना सन्तान परमेश्‍वरले स्थापना गर्नुहुने राज्यको भाग हुनेछ भनेर थाह थियो। अनि तिनी यहोवाले त्यो प्रतिज्ञा पूरा गर्नुहुने समय पर्खन इच्छुक थिए।

अब्राहामले कसरी यहोवाका प्रतिज्ञाहरूमा विश्‍वास देखाए? (अनुच्छेद ५ हेर्नुहोस्‌)

५. अब्राहाम परमेश्‍वरले रचना गर्नुभएको सहरको प्रतीक्षा गरिरहेका थिए भनेर हामी किन भन्‍न सक्छौँ?

परमेश्‍वरले रचना गर्नुभएको सहरको अर्थात्‌ उहाँको राज्यको प्रतीक्षा गरिरहेको अब्राहामले कसरी देखाए? सर्वप्रथम, अब्राहाम पृथ्वीको कुनै राज्यको प्रजा भएनन्‌। तिनले फिरन्ते जीवन बिताए; तिनी कुनै एउटा ठाउँमा बसोबास गरेनन्‌ अनि तिनले कुनै मानव राजालाई समर्थन गरेनन्‌। साथै तिनले आफ्नै राज्य स्थापना गर्ने प्रयास गरेनन्‌। बरु यहोवाको आज्ञा पालन गरिरहे अनि उहाँले प्रतिज्ञा पूरा गर्नुहुने समयको प्रतीक्षा गरे। यसरी अब्राहामले यहोवामाथि असाधारण विश्‍वास देखाए। आउनुहोस्‌, तिनले भोगेका केही समस्या केलाऔँ अनि तिनको उदाहरणबाट हामी के सिक्न सक्छौँ, विचार गरौँ।

अब्राहामले कस्ता समस्याहरू भोगे?

६. उर कस्तो सहर थियो?

अब्राहामले छोडेर आएको सहर अरू ठाउँको तुलनामा सुरक्षित, अत्याधुनिक र सुविधासम्पन्‍न थियो। यस सहरलाई ठूलठूला गढीहरूले घेरेको थियो र यसको तीनपट्टि गहिरो नहर थियो। उरका बासिन्दाहरू लेखन कला र अङ्‌कगणितमा पोख्त थिए। यो सहर व्यापारिक केन्द्र पनि थियो जस्तो देखिन्छ। पुरातत्त्वविद्‌हरूले यस ठाउँमा थुप्रै व्यापारिक कागजात भेट्टाएका छन्‌। निजी घरहरू इँटाले बनेका हुन्थे र भित्तामा बाक्लो प्लास्टर लगाएर सेतो रङ पोतिएको हुन्थ्यो। यस्ता कुनै-कुनै घरमा १३/१४ वटासम्म कोठा हुन्थ्यो र बीचमा ढुङ्‌गा छापिएको ठूलो चोक हुन्थ्यो।

७. अब्राहामले आफू र आफ्नो परिवारलाई यहोवाले सुरक्षा दिनुहुनेछ भनेर किन भरोसा गर्नुपर्ने थियो?

अब्राहामले आफू र आफ्नो परिवारलाई यहोवाले सुरक्षा दिनुहुनेछ भनेर भरोसा गर्नुपर्ने थियो। किन? सम्झनुहोस्‌ त, अब्राहाम र सारा उर सहरको आफ्नो घरमा सुरक्षित र सुविधासम्पन्‍न जीवन बिताइरहेका थिए। तर तिनीहरू ती सबै छोडेर कनानको खुला मैदानमा पाल टाँगेर बस्न राजी भए। कनानमा अब्राहाम र तिनको परिवारलाई सुरक्षा दिने बाक्लो पर्खाल र गहिरो नहर थिएन। बरु तिनीहरूलाई शत्रुहरूले आक्रमण गर्न सक्ने खतरा थियो।

८. एकचोटि अब्राहामले कस्तो समस्या भोग्नुपरेको थियो?

अब्राहाम परमेश्‍वरको इच्छाअनुसार चले तर एकचोटि भने तिनलाई परिवार पाल्न धौधौ परेको थियो। यहोवाले तिनलाई पठाउनुभएको देशमा ठूलो अनिकाल पऱ्‍यो। त्यस अनिकालले गर्दा अवस्था असाध्यै नाजुक भएको हुँदा अब्राहामले आफ्नो परिवारलाई लिएर केही समयको लागि मिश्रमा बसाइँ सर्ने निर्णय गरे। तर तिनी मिश्रमा छँदा त्यहाँका शासक फारोले तिनकी पत्नीलाई लगे। यस्तो अवस्थामा अब्राहाम कति व्याकुल भए होलान्‌, कल्पना गर्नुहोस्‌ त! पछि यहोवाले सारालाई अब्राहामकहाँ फिर्ता पठाउन फारोलाई बाध्य पार्नुभयो।—उत्प. १२:१०-१९.

९. अब्राहामको पारिवारिक जीवनमा कस्ता समस्याहरू थिए?

अब्राहामको पारिवारिक जीवनमा समस्याहरू थिए। तिनी र तिनकी प्यारी पत्नी साराको छोराछोरी थिएन। यसले गर्दा तिनीहरू वर्षौँसम्म निराश थिए। आफू र अब्राहामको लागि छोराछोरी जन्माइदेओस्‌ भनेर पछि साराले आफ्नी दासी हागार अब्राहामलाई दिइन्‌। तर हागार गर्भवती भएपछि उनले सारालाई हेप्न थालिन्‌। यसले गर्दा परिवारमा असाध्यै तनाव भयो र साराले हागारलाई घरबाट निकालिदिइन्‌।—उत्प. १६:१-६.

१०. इस्माएल र इसहाकसित सम्बन्धित कस्ता घटनाहरूले गर्दा यहोवामाथि अब्राहामको भरोसाको जाँच भयो?

१० पछि सारा गर्भवती भइन्‌ र एउटा छोरो जन्माइन्‌। अब्राहामले उसको नाम इसहाक राखे। तिनी आफ्ना दुवै छोरा इस्माएल र इसहाकलाई माया गर्थे। तर इस्माएलले इसहाकको खिसी गरेको हुँदा अब्राहाम इस्माएल र हागारलाई घरबाट निकाल्न बाध्य भए। (उत्प. २१:९-१४) पछि यहोवाले इसहाकलाई बलिदानको रूपमा चढाउन अब्राहामलाई भन्‍नुभयो। (उत्प. २२:१, २; हिब्रू ११:१७-१९) यी दुवै अवस्थामा यहोवाले तिनका छोराहरूबारे गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहुनेछ भनेर अब्राहामले भरोसा गर्नुपर्ने थियो।

११. अब्राहामले धीरजी भई यहोवाको प्रतिज्ञा पूरा हुने समय किन पर्खनुपऱ्‍यो?

११ यस दौडान अब्राहामले धीरजी भई यहोवाको प्रतिज्ञा पूरा हुने समय पर्खन सिक्नुपऱ्‍यो। आफ्नो परिवारसहित उर छोडेर आउँदा तिनको उमेर ७० वर्ष कटिसकेको हुनुपर्छ। (उत्प. ११:३१–१२:४) तिनले कनानमा यताउता बसाइँ सर्दै लगभग १०० वर्ष पालमा जीवन बिताए। अब्राहामको मृत्यु १७५ वर्षको उमेरमा भयो। (उत्प. २५:७) तर तिनी बसोबास गरेको भूमि तिनका सन्तानलाई दिनेछु भनी यहोवाले गर्नुभएको प्रतिज्ञा पूरा भएको भने हेर्न पाएनन्‌। तिनले आफ्नो जीवनकालमा त्यो सहर अर्थात्‌ परमेश्‍वरको राज्य स्थापना भएको पनि देख्न पाएनन्‌। तैपनि अब्राहाम “आफ्नो जीवनसित सन्तुष्ट भएर लामो समयसम्म बाँचे” भनिएको छ। (उत्प. २५:८) अनेकन्‌ समस्या भोग्नुपरे तापनि यहोवामाथि अब्राहामले बलियो विश्‍वास राखे र तिनी यहोवाको प्रतिज्ञा पूरा हुने समय पर्खन इच्छुक थिए। तिनले यस्ता गाह्रा परिस्थितिहरू सहन सक्नुको कारण के थियो? किनभने यहोवाले अब्राहामलाई जीवनभर सुरक्षा दिनुभयो र तिनलाई आफ्नो मित्रसरह व्यवहार गर्नुभयो।—उत्प. १५:१; यसै. ४१:८; याकु. २:२२, २३.

अब्राहाम र साराजस्तै परमेश्‍वरका सेवकहरू कसरी विश्‍वास र धीरज देखाउँछन्‌? (अनुच्छेद १२ हेर्नुहोस्‌) *

१२. हामी कुन समय पर्खँदै छौँ अनि हामी के छलफल गर्नेछौँ?

१२ अब्राहामजस्तै हामी पनि साँचो जग भएको सहरको प्रतीक्षा गर्दै छौँ। तर हामी भने त्यो सहर निर्माण हुने समय पर्खिरहेका छैनौँ। किनकि परमेश्‍वरको राज्य सन्‌ १९१४ मा स्थापना भइसक्यो र त्यसले स्वर्गमा शासन गर्न थालिसकेको छ। (प्रका. १२:७-१०) तर हामी त्यस राज्यले पूरै पृथ्वीमाथि शासन गर्ने समय पर्खँदै छौँ। त्यो समय नआउन्जेल हामीले पनि अब्राहाम र साराले जस्तै विभिन्‍न समस्या भोग्नुपर्छ। के यहोवाका आधुनिक समयका सेवकहरू अब्राहामको उदाहरण अनुकरण गर्न सफल भएका छन्‌? प्रहरीधरहरा-मा छापिएका जीवनीहरू पढ्‌दा अब्राहाम र साराले जस्तै थुप्रैले विश्‍वास र धीरज देखाएका छन्‌ भन्‍न सक्छौँ। आउनुहोस्‌, तीमध्ये केही छलफल गरौँ र त्यसबाट के सिक्न सक्छौँ, विचार गरौँ।

अब्राहामको उदाहरण अनुकरण गर्नुहोस्‌

बिल वाल्डेन त्यागहरू गर्न इच्छुक हुनुभयो र उहाँले यहोवाबाट थुप्रै आशिष्‌ पाउनुभयो

१३. भाइ वाल्डेनको अनुभवबाट तपाईँ के सिक्न सक्नुहुन्छ?

१३ त्यागहरू गर्न इच्छुक हुनुहोस्‌। परमेश्‍वरको सहर अर्थात्‌ उहाँको राज्यलाई आफ्नो जीवनमा पहिलो स्थान दिन हामी अब्राहामजस्तै परमेश्‍वरलाई खुसी बनाउने त्यागहरू गर्न इच्छुक हुनुपर्छ। (मत्ति ६:३३; मर्कु. १०:२८-३०) बिल वाल्डेन नाम गरेका भाइको अनुभव विचार गर्नुहोस्‌। * सन्‌ १९४२ मा उहाँले अमेरिकाको एउटा विश्‍वविद्यालयबाट आर्किटेक्चरल इन्जिनियरिङमा स्नातक गर्न लाग्नुभएको थियो। त्यही समयतिर उहाँले यहोवाका साक्षीहरूसित अध्ययन गर्न थाल्नुभयो। प्राध्यापकले उहाँलाई स्नातक भएपछिको लागि जागिर पनि खोजिदिएका थिए। तर उहाँले त्यो प्रस्ताव स्विकार्नुभएन। उहाँले यथासक्दो परमेश्‍वरको सेवा गर्न राम्रो जागिरको प्रस्ताव इन्कार गरेको कुरा प्राध्यापकलाई बताउनुभयो। त्यसको केही समयपछि सरकारले उहाँलाई सेनामा भर्ती हुन बोलायो। तर उहाँले आदरपूर्वक इन्कार गर्नुभयो। त्यसैले उहाँले १० हजार डलर जरिबाना तिर्नुपऱ्‍यो र पाँच वर्ष जेल सजाय भोग्नुपऱ्‍यो। तीन वर्षपछि उहाँ जेलबाट मुक्‍त हुनुभयो। पछि उहाँ गिलियड स्कुल जानुभयो र अफ्रिकामा मिसनरी सेवा गर्नुभयो। पछि भाइ बिलले इभासित विवाह गर्नुभयो र उहाँहरू दुवै मिलेर अफ्रिकामा सेवा गर्नुभयो। त्यतिबेला उहाँहरूले थुप्रै त्याग गर्नुपऱ्‍यो। त्यहाँ धेरै वर्ष सेवा गरिसकेपछि उहाँहरू भाइ बिलकी आमाको हेरचाह गर्न अमेरिका फर्कनुभयो। आफूले बिताएको जीवनबारे भाइ बिल यसो भन्‍नुहुन्छ: “यहोवाले मलाई उहाँको सेवामा ७० वर्षभन्दा लामो समय प्रयोग गर्नुभएको अनमोल सुअवसरबारे सम्झँदा मेरो गहभरि आँसु भरिन्छ। उहाँको सेवालाई नै आफ्नो करिअर बनाउन मलाई राम्रो डोऱ्‍याइ दिनुभएकोमा उहाँलाई बारम्बार धन्यवाद दिन्छु।” के तपाईँ पनि पूर्ण समय सेवालाई आफ्नो करिअर बनाउन सक्नुहुन्छ?

एलेनी र एरिस्टोटलिस्‌ एपोस्टोलिडिसले यहोवाले आफूलाई बलियो बनाउनुभएको महसुस गर्नुभयो

१४-१५. भाइ र बहिनी एपोस्टोलिडिसको अनुभवबाट तपाईँ के सिक्न सक्नुहुन्छ?

१४ आफ्नो जीवन समस्यामुक्‍त हुनेछ भन्‍ने आस नगर्नुहोस्‌। यहोवाको सेवामा आफ्नो पूरै जीवन समर्पित गर्नेहरूले पनि अनेकन्‌ समस्या भोग्नुपर्छ भनेर हामी अब्राहामको उदाहरणबाट सिक्न सक्छौँ। (याकु. १:२; १ पत्रु. ५:९) यो कुरा एरिस्टोटलिस्‌ एपोस्टोलिडिसको जीवनमा कसरी साँचो साबित भयो, विचार गर्नुहोस्‌। * उहाँले सन्‌ १९४६ मा ग्रीसमा बप्तिस्मा गर्नुभयो र १९५२ मा एलेनीसित उहाँको मगनी भयो। एलेनीको पनि उहाँका जस्तै लक्ष्यहरू थिए। तर एलेनी बिरामी पर्नुभयो र उहाँलाई ब्रेन ट्युमर भएको पत्ता लाग्यो। शल्यक्रिया गरेर ट्युमर हटाइयो तर विवाह गरेको केही वर्षमै उहाँको रोग बल्झियो। डाक्टरहरूले फेरि शल्यक्रिया गरे तर एलेनीलाई आंशिक पक्षाघात भयो र उहाँ प्रस्ट बोल्न नसक्ने हुनुभयो। यस्तो गम्भीर बिमारी र सरकारको खेदोको बाबजुद उहाँ जोसिलो हुनुहुन्थ्यो।

१५ भाइ एरिस्टोटलिस्‌ले ३० वर्षसम्म आफ्नी श्रीमतीको हेरचाह गर्नुभयो। यस दौडान उहाँले एल्डरको रूपमा र अधिवेशन समितिको सदस्यको रूपमा सेवा गर्नुभयो अनि सम्मेलन भवनको निर्माणकार्यमा सघाउनुभयो। सन्‌ १९८७ मा प्रचारकार्यमा भाग लिइरहेको बेला एलेनीको दुर्घटना भयो। उहाँ तीन वर्षसम्म कोमामा हुनुहुन्थ्यो र त्यसपछि बित्नुभयो। भाइ एरिस्टोटलिस्‌ आफूले भोगेका अनुभवहरूबारे यसो भन्‍नुहुन्छ: “वर्षौँको दौडान सामना गर्नुपरेका कठिन अवस्था, अप्ठ्यारा चुनौती तथा आपत्‌कालीन परिस्थितिहरूले गर्दा प्रशस्त मात्रामा धैर्य र लगनशीलता चाहिएको थियो। तापनि, यी समस्याहरू समाधान गर्नको लागि यहोवाले सधैँ मलाई आवश्‍यक बल दिनुभएको छ।” (भज. ९४:१८, १९) समस्याहरू भोग्नुपरे तापनि यथासक्दो यहोवाको सेवा गर्नेहरूलाई उहाँ असाध्यै माया गर्नुहुन्छ!

अड्री हाइडले भविष्यमा ध्यान केन्द्रित गरेर सकारात्मक मनोवृत्ति राख्नुभयो

१६. भाइ नोरले आफ्नी श्रीमतीलाई कस्तो राम्रो सल्लाह दिनुभयो?

१६ भविष्यमा ध्यान केन्द्रित गर्नुहोस्‌। यहोवाले भविष्यमा दिनुहुने इनाममा अब्राहामले ध्यान केन्द्रित गरे। यसले तिनलाई आफूले भोगिरहेका समस्याहरू छिचोल्दै अघि बढ्‌न मदत गऱ्‍यो। बहिनी अड्री हाइडको पहिलो श्रीमान्‌ नेथन एच. नोरको क्यान्सरले गर्दा मृत्यु भयो। * अनि दोस्रो श्रीमान्‌ ग्लेन हाइडलाई अल्जाइमर्स रोगले सतायो। यस्ता कठिन अवस्थाहरू भोग्नु परे तापनि बहिनी अड्री हाइडले सकारात्मक मनोवृत्ति राख्न कोसिस गर्नुभयो। भाइ नोरले आफ्नो मृत्यु हुनुभन्दा केही हप्ताअघि भन्‍नुभएको कुराले आफूलाई मदत गरेको कुरा बहिनी अड्री बताउनुहुन्छ। उहाँ यसो भन्‍नुहुन्छ, “नेथनले मलाई यसरी सम्झाउनुभयो: ‘मृत्युपछि हाम्रो आशा पक्का छ र हामीले फेरि कहिल्यै पीडा भोग्नुपर्ने छैन।’ त्यसपछि उहाँले मलाई यस्तो आग्रह गर्नुभयो: ‘अगाडि हेर किनभने तिम्रो इनाम तिमीसामु छ।’ . . . उहाँले अझ यसो भन्‍नुभयो: ‘व्यस्त रह—आफ्नो जीवन अरूको लागि चलाउने कोसिस गर। यसो गर्दा तिमीले जीवनमा आनन्द पाउन सक्नेछौ।’” अरूको भलाइ गर्न व्यस्त रहने र ‘आशामा रमाउने’ सन्दर्भमा कस्तो उपयोगी सल्लाह!—रोमी १२:१२.

१७. (क) हामीले भविष्यमा ध्यान केन्द्रित गर्नुपर्ने कस्ता कारणहरू छन्‌? (ख) मिका ७:७ अनुसार चल्दा हामी किन भविष्यमा आशिष्‌हरू पाउने आशा गर्न सक्छौँ?

१७ आज हामीले भविष्यमा ध्यान केन्द्रित गर्नुपर्ने अझ धेरै कारण छन्‌। संसारमा भइरहेका घटनाहरूले हामी यस युगको आखिरी समयमा बाँचिरहेका छौँ भनेर देखाउँछ। पूरै पृथ्वीमाथि शासन गर्ने साँचो जग भएको सहरको लागि अब हामीले धेरै पर्खनुपर्ने छैन। हामीले पाउने थुप्रै आशिष्‌मध्ये एउटा हो, मृत्यु भइसकेका प्रियजनहरू फेरि जीवित हुँदा हामी उनीहरूलाई भेट्‌न पाउनेछौँ। त्यतिबेला, अब्राहामले देखाएको विश्‍वास र धीरजको इनामस्वरूप यहोवाले तिनी र तिनको परिवारलाई फेरि जीवित पार्नुहुनेछ। के तपाईँ तिनीहरूलाई स्वागत गर्न त्यहाँ हुनुहुनेछ? अब्राहामजस्तै परमेश्‍वरको राज्यको लागि त्यागहरू गर्न इच्छुक हुनुभयो, समस्याहरूको बाबजुद यहोवामाथि भरोसा राख्नुभयो र धीरजी भई यहोवाको प्रतिज्ञा पूरा हुने समय पर्खनुभयो भने तपाईँ पनि त्यहाँ हुनुहुनेछ।मिका ७:७ पढ्‌नुहोस्‌।

गीत ७४ सँगै मिलेर गाऔँ राज्यगीत!

^ अनु. 5 परमेश्‍वरका प्रतिज्ञाहरू पूरा हुने समय पर्खिरहँदा हामीलाई धीरजी हुन गाह्रो हुन सक्छ र कहिलेकाहीँ हाम्रो विश्‍वाससमेत गुम्न सक्छ। यहोवाका प्रतिज्ञाहरू पूरा हुने समयलाई धीरजी भई पर्खने हाम्रो सङ्‌कल्प बलियो बनाउने सन्दर्भमा हामी अब्राहामको उदाहरणबाट कस्ता पाठहरू सिक्न सक्छौँ? अनि आधुनिक समयमा पनि यहोवाका केही सेवकले कस्तो राम्रो उदाहरण बसालेका छन्‌?

^ अनु. 13 भाइ वाल्डेनको जीवनी डिसेम्बर १, २०१३ को प्रहरीधरहरा-को (अङ्‌ग्रेजी) पृष्ठ ८-१० मा पढ्‌न सक्नुहुन्छ।

^ अनु. 14 भाइ एपोस्टोलिडिसको जीवनी फेब्रुअरी १, २००२ को प्रहरीधरहरा-को पृष्ठ २४-२८ मा पढ्‌न सक्नुहुन्छ।

^ अनु. 16 बहिनी हाइडको जीवनी जुलाई १, २००४ को प्रहरीधरहरा-को पृष्ठ २३-२९ मा पढ्‌न सक्नुहुन्छ।

^ अनु. 57 चित्रको व्याख्या: एक वृद्ध दम्पती समस्याहरूको बाबजुद विश्‍वासी भई यहोवाको सेवा गरिरहन्छन्‌। तिनीहरू भविष्यमा यहोवाले पूरा गर्नुहुने प्रतिज्ञाहरूमा ध्यान केन्द्रित गर्दै आफ्नो विश्‍वासलाई बलियो बनाइराख्छन्‌।