सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ३६

के तपाईँ मानिसहरूको जलारी बन्‍न तयार हुनुहुन्छ?

के तपाईँ मानिसहरूको जलारी बन्‍न तयार हुनुहुन्छ?

“डराउन छोड। अबदेखि उसो तिमीहरूले मानिसहरूलाई जिउँदै समात्नेछौ।”—लुका ५:१०.

गीत ७३ साहस हाम्रो बढाइदेऊ

परिचय *

१. येसुले चार जना जलारीलाई कस्तो निम्तो दिनुभयो? अनि तिनीहरूले के गरे?

येसुका चेलाहरू पत्रुस, अन्द्रियास, याकुब र युहन्‍नाको माछा मार्ने व्यवसाय थियो। येसुले तिनीहरूलाई यस्तो निम्तो दिनुभयो: “मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूको जलारी बनाउनेछु।” * यस्तो निम्तो पाउँदा तिनीहरू कत्ति छक्क परे होलान्‌! तिनीहरूले के गरे? बाइबल यसो भन्छ: “उत्तिखेरै आफ्ना जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे।” (मत्ति ४:१८-२२) त्यस निर्णयले गर्दा तिनीहरूको जीवनले नयाँ मोड लिने थियो। तिनीहरूले माछा मार्नुको साटो ‘मानिसहरूलाई जिउँदै समात्ने थिए।’ (लुका ५:१०) सत्यलाई प्रेम गर्ने असल मनसाय भएका मानिसहरूलाई येसु अहिले पनि त्यही निम्तो दिँदै हुनुहुन्छ। (मत्ति २८:१९, २०) के तपाईँले मानिसहरूको जलारी बन्‍ने येसुको निम्तो स्विकार्नुभएको छ?

२. मानिसहरूको जलारी बन्‍ने निर्णयलाई हामीले किन गम्भीरतापूर्वक लिनुपर्छ? त्यो कदम चाल्न हामीलाई केले मदत गर्नेछ?

तपाईँको बाइबल अध्ययन निकै अघि बढिसकेको छ र तपाईँ सुसमाचारको प्रकाशक बन्‍ने कि नबन्‍ने भनेर निर्णय गर्ने अवस्थामा पुगिसक्नुभएको छ होला। तपाईँ येसुको निम्तो स्विकार्न हिचकिचाउँदै हुनुहुन्छ भने निराश नहुनुहोस्‌। तपाईँ हिचकिचाउनुको मतलब यो एकदमै महत्त्वपूर्ण निर्णय हो भनेर तपाईँले बुझ्नुभएको छ। पत्रुस र तिनका साथीहरू “उत्तिखेरै” जाल छोडेर येसुको पछि लागे भनी बाइबलमा बताइएको छ। तर पत्रुस र तिनका भाइले कुनै सोचविचार नगरी त्यस्तो निर्णय गरेका थिएनन्‌। तिनीहरूले छ महिनाभन्दा अघि नै येसुलाई चिनेर उहाँलाई मसीहको रूपमा स्विकारिसकेका थिए। (युह. १:३५-४२) त्यसरी नै तपाईँले पनि यहोवा र येसुबारे धेरै कुरा सिकिसक्नुभयो अनि तपाईँ आध्यात्मिक तवरमा प्रगति गरिरहन चाहनुहुन्छ होला। तर तपाईँले सोचविचारै नगरी प्रकाशक बन्‍ने निर्णय गर्नु हुँदैन। येसुको चेला बन्‍ने निर्णय गर्न पत्रुस, अन्द्रियास र अरूलाई केले मदत गऱ्‍यो?

३. येसुको निम्तो स्विकार्न तपाईँलाई कस्ता गुणहरूले मदत गर्नेछ?

येसुका ती चार जना चेलासित काम गर्ने इच्छुकता, आफ्नो कामबारे राम्रो ज्ञान अनि साहस र आत्मअनुशासन थियो। यी गुणहरूले नै तिनीहरूलाई मानिसहरूको जलारी बन्‍ने काममा प्रभावकारी हुन मदत गऱ्‍यो। यस लेखमा ख्रिष्टको प्रभावकारी चेला बन्‍न तपाईँ यी गुणहरू कसरी विकास गर्न सक्नुहुन्छ भनेर छलफल गरिनेछ।

इच्छुकता बढाउनुहोस्‌

पत्रुस र अरू चेला मानिसहरूको जलारी बने। यो महत्त्वपूर्ण काम हाम्रो समयसम्म चलिरहेको छ (अनुच्छेद ४-५ हेर्नुहोस्‌)

४. पत्रुस किन माछा मार्ने काम गर्थे?

पत्रुस आफ्नो परिवारको पेट पाल्न माछा मार्ने काम गर्थे। तर त्यो काम तिनको लागि पेसा मात्र थिएन। तिनलाई माछा मार्ने काम मन पर्थ्यो जस्तो देखिन्छ। (युह. २१:३, ९-१५) त्यसैले तिनले मानिसहरूको जलारी बन्‍ने कामलाई पनि माया गर्न सिके। अनि यहोवाको साथ पाएर पत्रुस त्यो काममा सिपालु भए।—प्रेषि. २:१४, ४१.

५. लुका ५:८-११ अनुसार पत्रुस डराउनुको कारण के थियो? हामी कसरी त्यस्ता भावनाहरू हटाउन सक्छौँ?

हामी प्रचार गर्छौँ किनभने हामी यहोवालाई प्रेम गर्छौँ। हामी यो काम गर्न इच्छुक हुनुको मुख्य कारण यही हो। यहोवाप्रतिको प्रेमले हामीलाई आफू अयोग्य छु भन्‍ने भावना हटाउन मदत गर्न सक्छ। येसुले पत्रुसलाई मानिसहरूको जलारी बन्‍न निम्तो दिँदा उहाँले यसो भन्‍नुभयो: “डराउन छोड।” (लुका ५:८-११ पढ्‌नुहोस्‌) आफू चेला बन्यो भने के हुने होला भनेर पत्रुस डराएका थिएनन्‌। बरु येसुको मदत पाएर भर्खरै धेरै माछा समात्न सकेकोले तिनी चकित भएका थिए। त्यसैले येसुसँगै काम गर्न पत्रुसले आफू अयोग्य भएको महसुस गरे। अर्कोतर्फ, ख्रिष्टको चेला बन्‍नुमा के-के समावेश छ भनेर बुझेपछि तपाईँ अतालिनुहोला। त्यसो हो भने यहोवा, येसु र छिमेकीप्रतिको प्रेम बढाउनुहोस्‌। यसो गर्दा येसुको निम्तो स्विकारेर मानिसहरूको जलारी बन्‍ने तपाईँको इच्छुकता बढ्‌नेछ।—मत्ति २२:३७, ३९; युह. १४:१५.

६. हामी प्रचार गर्न इच्छुक हुनुको अरू कारण के-के हुन्‌?

हामी प्रचार गर्न इच्छुक हुनुको अरू कारण विचार गर्नुहोस्‌। हामी येसुको यो आज्ञा पालन गर्न चाहन्छौँ: “जाओ र . . . चेला बनाओ।” (मत्ति २८:१९, २०) हामीले प्रचार गर्नुको अर्को कारण हो, मानिसहरू “छाला काढिएका अनि . . . तितरबितर भएका” छन्‌ र तिनीहरूले परमेश्‍वरको राज्यबारे सत्य सिक्नु अत्यन्तै जरुरी छ। (मत्ति ९:३६) यहोवा सबै किसिमका मानिसले सत्यको सही ज्ञान लिऊन्‌ र उद्धार पाऊन्‌ भन्‍ने चाहनुहुन्छ।—१ तिमो. २:४.

७. रोमी १०:१३-१५ ले प्रचारकार्यको महत्त्वलाई कसरी जोड दिन्छ?

हाम्रो प्रचारकार्यले मानिसहरूको जीवन बचाउन सक्ने कुराबारे सोच्दा हामी यो काममा भाग लिन इच्छुक हुन्छौँ। जलारीले बेच्न वा आफैले खान माछा समात्छ तर हामी भने मानिसहरूको जीवन बचाउन तिनीहरूलाई ‘समात्छौँ।’रोमी १०:१३-१५ पढ्‌नुहोस्‌; १ तिमो. ४:१६.

ज्ञान बढाउनुहोस्‌

८-९. जलारीलाई कुन कुरा थाह हुनुपर्छ र किन?

येसुको समयका इस्राएली जलारीलाई आफ्नो जालमा कस्ता माछाहरू पर्न सक्छ भनेर थाह हुनुपर्थ्यो। (लेवी ११:९-१२) तिनलाई कुन ठाउँमा माछा समात्न सकिन्छ भनेर पनि थाह हुनुपर्थ्यो। माछा अक्सर आफूलाई उपयुक्‍त हुने पानी र प्रशस्त खानेकुरा भएको ठाउँमा बस्छ। के जलारीले जुनसुकै समयमा पनि माछा समात्न सक्छ? माछा मार्ने सबैभन्दा उपयुक्‍त समयबारे प्रशान्त महासागरको एउटा टापुका साक्षीले एक जना मिसनरीलाई के भने, याद गर्नुहोस्‌। मिसनरीले यसो भने, “भोलि बिहान ९ बजे भेटौँ।” ती भाइले यस्तो जवाफ दिए, “तपाईँले कुरै बुझ्नुभएको छैन। हामी माछा भेटिने समयमा माछा मार्न जान्छौँ, आफूलाई मिल्ने समयमा होइन।”

त्यसरी नै, प्रथम शताब्दीमा मानिसहरूका जलारीहरू “माछा” भेटिने ठाउँमा र समयमा जान्थे। उदाहरणको लागि, येसुका चेलाहरू मन्दिरमा, सभाघरमा, घरघरमा र बजारमा प्रचार गर्थे। (प्रेषि. ५:४२; १७:१७; १८:४) हामीलाई पनि आफ्नो इलाकामा बस्ने मानिसहरू कुन समयमा कहाँ हुन्छन्‌ भनेर थाह हुनुपर्छ। हामी आफ्नो तालिका छाँटकाँट गर्न इच्छुक हुनुपर्छ अनि मानिसहरू भेटिने ठाउँमा र समयमा प्रचार गर्नुपर्छ।—१ कोरि. ९:१९-२३.

सिपालु जलारीहरूले . . . १. माछा भेटिने समय र ठाउँमा जाल हान्छन्‌ (अनुच्छेद ८-९ हेर्नुहोस्‌)

१०. यहोवाको सङ्‌गठनले हामीलाई कस्तो साधन उपलब्ध गराएको छ?

१० जलारीसित सही साधन हुनुपर्छ र तिनलाई त्यो कसरी प्रयोग गर्ने भनेर थाह हुनुपर्छ। हामीसित पनि प्रचार गर्न सही साधन हुनुपर्छ अनि त्यो कसरी प्रयोग गर्ने भनेर थाह हुनुपर्छ। मानिसहरूको जलारी कसरी बन्‍ने भनेर येसुले आफ्ना चेलाहरूलाई सुस्पष्ट निर्देशनहरू दिनुभयो। उहाँले तिनीहरूलाई आफूसित के बोक्ने, कहाँ प्रचार गर्ने र के भन्‍ने भनेर बताउनुभयो। (मत्ति १०:५-७; लुका १०:१-११) आज यहोवाको सङ्‌गठनले हामीलाई ‘शिक्षण सामग्री’ उपलब्ध गराएको छ, जुन प्रभावकारी साबित भएको छ। * अनि त्यो कसरी प्रयोग गर्ने भनेर पनि सिकाएको छ। त्यस्तो तालिमले गर्दा प्रचारकार्यमा प्रभावकारी हुन चाहिने आत्मविश्‍वास र सीप हासिल गर्न सक्छौँ।—२ तिमो. २:१५.

सिपालु जलारीहरूले . . . २. सही साधन प्रयोग गर्न तालिम पाएका हुन्छन्‌ (अनुच्छेद १० हेर्नुहोस्‌)

साहस बढाउनुहोस्‌

११. मानिसहरूका जलारीहरू किन साहसी हुनुपर्छ?

११ जलारीहरू साहसी हुनुपर्छ। तिनीहरूले कहिलेकाहीँ समुद्रमा प्रतिकूल अवस्थाको सामना गर्नुपर्छ। तिनीहरू अक्सर राती अँध्यारोमा काम गर्छन्‌ अनि अकस्मात्‌ आँधी चल्ने खतरा पनि हुन्छ। मानिसहरूका जलारीहरू पनि साहसी हुनुपर्छ। हामीले प्रचार गर्दा अनि आफूलाई यहोवाको साक्षीको रूपमा चिनाउँदा हामीमाथि “आँधीरूपी” परीक्षाहरू आउन सक्छन्‌। जस्तै: परिवारले विरोध गर्न सक्छ, चिनजानहरूले हाम्रो गिल्ला गर्न सक्छन्‌ र कसै-कसैले हाम्रो सन्देश सुन्‍न इन्कार गर्न सक्छन्‌। तर यस्तो हुँदा हामी छक्क पर्दैनौँ। किनकि येसुले आफ्ना चेलाहरूलाई शत्रुहरूको माझमा पठाउँदै छु भनेर चेतावनी दिनुभएको थियो।—मत्ति १०:१६.

१२. यहोसु १:७-९ अनुसार हामी कसरी आफ्नो साहस बढाउन सक्छौँ?

१२ तपाईँ कसरी आफ्नो साहस बढाउन सक्नुहुन्छ? सर्वप्रथम, येसुले अहिले पनि प्रचारकार्यलाई स्वर्गबाट डोऱ्‍याउँदै हुनुहुन्छ भनेर विश्‍वस्त हुनुहोस्‌। (युह. १६:३३; प्रका. १४:१४-१६) अनि यहोवाले तपाईँको हेरचाह गर्नुहुनेछ भन्‍ने प्रतिज्ञामा बलियो विश्‍वास राख्नुहोस्‌। (मत्ति ६:३२-३४) तपाईँको विश्‍वास जति बलियो हुन्छ, तपाईँ त्यति नै साहसी हुनुहुनेछ। पत्रुस र तिनका साथीहरूले माछा मार्ने व्यवसाय छोडेर येसुको पछि लाग्दा ठूलो विश्‍वास देखाए। त्यसरी नै तपाईँले पनि यहोवाका साक्षीहरूसित अध्ययन गर्न र सभामा जान थालेको कुरा आफ्ना चिनजान र परिवारका सदस्यलाई बताउँदा ठूलो विश्‍वास देखाउनुभयो। यहोवाको धार्मिक स्तरअनुसार जीवन बिताउन तपाईँले आफ्नो आचरण र जीवनशैलीमा आमूल परिवर्तन गर्नुभएको छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। त्यसो गर्न पनि पक्कै विश्‍वास र साहस चाहिएको थियो। यसरी साहस बढाउँदै लैजाँदा ‘तपाईँ जहाँ गए पनि यहोवा तपाईँका परमेश्‍वर तपाईँसँग हुनुहुनेछ’ भनेर ढुक्क हुन सक्नुहुन्छ।यहोसु १:७-९ पढ्‌नुहोस्‌।

सिपालु जलारीहरूले . . . ३. प्रतिकूल अवस्थामा पनि साहसी भई काम गर्छन्‌ (अनुच्छेद ११-१२ हेर्नुहोस्‌)

१३. मनन र प्रार्थनाले तपाईँलाई कसरी साहस बढाउन मदत गर्छ?

१३ तपाईँ आफ्नो साहस बढाउन अरू के गर्न सक्नुहुन्छ? साहसी र निडर हुन प्रार्थना गर्नुहोस्‌। (प्रेषि. ४:२९, ३१) यहोवाले तपाईँका प्रार्थनाहरूको जवाफ दिनुहुनेछ र उहाँले तपाईँलाई कहिल्यै त्याग्नुहुनेछैन। उहाँले तपाईँलाई सधैँ साथ दिनुहुनेछ। साथै यहोवाले विगतमा आफ्ना सेवकहरूलाई कसरी बचाउनुभयो भनेर मनन गर्नुहोस्‌। अनि उहाँले तपाईँलाई समस्याहरू पार गर्न कसरी मदत गर्नुभयो र आफ्नो जीवनशैलीमा छाँटकाँट गर्न कसरी बल दिनुभयो भनेर पनि सोच्नुहोस्‌। आफ्ना जनहरूलाई लाल समुद्र पार गर्न डोऱ्‍याउनुहुने परमेश्‍वरले तपाईँलाई पनि ख्रिष्टको चेला बन्‍न पक्कै मदत गर्न सक्नुहुन्छ। (प्रस्थ. १४:१३) भजनरचयिताजस्तै विश्‍वस्त हुनुहोस्‌, जसले यसो भने: “यहोवा मेरो साथमा हुनुहुन्छ; म डराउनेछैनँ मानिसले मलाई के गर्न सक्छ र?”—भज. ११८:६.

१४. मसाए र तोमोयोको अनुभवबाट तपाईँले के सिक्नुभयो?

१४ स्वभावैले लजालु व्यक्‍तिहरूलाई यहोवाले कसरी निडर हुन मदत गर्नुभयो भनेर थाह पाउँदा पनि हामी साहस बढाउन सक्छौँ। मसाए नाम गरेकी एउटी बहिनीको अनुभव विचार गर्नुहोस्‌। उनी लजालु थिइन्‌ र आफ्नो विश्‍वासबारे अरूलाई बताउन कहिल्यै सक्दिनँ होला भन्ठान्थिन्‌। आफूले नचिनेका व्यक्‍तिहरूसित कुरा गर्नु भनेको पहाड चढ्‌नुजत्तिकै गाह्रो कुरा हो जस्तो उनलाई लाग्थ्यो। त्यसैले उनले परमेश्‍वर र छिमेकीप्रतिको प्रेम बढाउन विशेष प्रयास गरिन्‌। हामी कस्तो समयमा बाँचिरहेका छौँ भनेर उनले मनन गरिन्‌ र प्रचार गर्ने आफ्नो इच्छा बढाउन मदतको लागि प्रार्थना गरिन्‌। यसरी उनले आफ्नो डर हटाउन सकिन्‌ र नियमित अग्रगामीको रूपमा पनि सेवा गरिन्‌। यहोवाले नयाँ प्रकाशकहरूलाई पनि “साहसी” हुन मदत गर्नुहुन्छ। अब तोमोयो नाम गरेकी बहिनीको अनुभव विचार गर्नुहोस्‌। उनले घरघरमा प्रचार गर्न थाल्दा पहिलो घरधनी नै यसरी कराइन्‌: “म यहोवाका साक्षीहरूसित पटक्कै कुरा गर्न चाहन्‍नँ!” त्यसपछि ढ्याम्म ढोका बन्द गरिन्‌। तोमोयो डराइनन्‌ बरु आफ्नो साथीलाई यसो भनिन्‌: “देख्नुभयो? मैले एक शब्द पनि बोल्नु परेन; उहाँले म यहोवाको साक्षी हुँ भनेर चिनिहाल्नुभयो। साह्रै खुसी लाग्यो!” तोमोयो अहिले नियमित अग्रगामीको रूपमा सेवा गर्दै छिन्‌।

आत्मअनुशासन विकास गर्नुहोस्‌

१५. आत्मअनुशासन भनेको के हो? यो ख्रिष्टियनहरूको लागि किन महत्त्वपूर्ण छ?

१५ सफल जलारीहरू आत्मअनुशासित हुन्छन्‌। आत्मअनुशासन भनेको “आफैलाई अनुशासनमा राखेर आफूले गर्नुपर्ने काम पूरा गर्ने क्षमता” हो। माछा व्यवसायमा लागेकाहरू बिहान सबेरै उठ्‌छन्‌, काम नसिद्धिएसम्म लागिरहन्छन्‌ अनि मौसम खराब भए तापनि काममा खटिरहन्छन्‌। अन्तसम्म सहेर आफ्नो काम पूरा गर्न हामीसित पनि यस्तै आत्मअनुशासन हुनुपर्छ।—मत्ति १०:२२.

१६. हामी आत्मअनुशासन कसरी विकास गर्न सक्छौँ?

१६ आत्मअनुशासन भनेको हामीसित जन्मजात हुने गुण होइन। बरु हामीसित अक्सर सजिलो बाटो रोज्ने जन्मजात झुकाव छ। आत्मअनुशासित हुन आत्मसंयम चाहिन्छ। त्यसैले आफूलाई गाह्रो लाग्ने कुराहरू गर्न हामीलाई तालिम चाहिन्छ। यहोवा हामीलाई उहाँको पवित्र शक्‍तिद्वारा त्यस्तो मदत दिनुहुन्छ।—गला. ५:२२, २३.

१७. पहिलो कोरिन्थी ९:२५-२७ अनुसार प्रेषित पावलले आत्मअनुशासन विकास गर्न कस्तो प्रयास गरे?

१७ प्रेषित पावल आत्मअनुशासित थिए। तर तिनले सही काम गर्न आफ्नो शरीरलाई ‘कुट्‌नुपरेको अनि पिट्‌नुपरेको’ कुरा मानिलिए। (१ कोरिन्थी ९:२५-२७ पढ्‌नुहोस्‌) आफैलाई अनुशासन दिन र सबै कुरा “शिष्टतासाथ अनि व्यवस्थित ढङ्‌गले” गर्न तिनले अरूलाई आग्रह गरे। (१ कोरि. १४:४०) हामी आत्मअनुशासित छौँ भने मात्र राम्रो आध्यात्मिक तालिका कायम गर्न सक्छौँ र यसमा प्रतीकात्मक माछा मार्ने काममा नियमित तवरमा भाग लिनु पनि समावेश छ।—प्रेषि. २:४६.

ढिलासुस्ती नगर्नुहोस्‌

१८. यहोवा हामीलाई कुन कुराको आधारमा सफल ठान्‍नुहुन्छ?

१८ जलारीले आफूले कति माछा मार्न सक्छ, त्यसको आधारमा आफ्नो सफलता मापन गर्छ। तर हामी भने आफूले कति जना मानिसलाई यहोवाको सङ्‌गठनमा ल्याउन सक्यौँ, त्यसको आधारमा आफ्नो सफलता मापन गर्दैनौँ। (लुका ८:११-१५) हामी सुसमाचार प्रचार गर्ने र सिकाउने काममा लागिरहेका छौँ भने यहोवाले हामीलाई सफल ठान्‍नुहुनेछ। किन? किनभने हामीले उहाँ र उहाँको छोराको आज्ञा पालन गरिरहेका छौँ।—मर्कु. १३:१०; प्रेषि. ५:२८, २९.

१९-२०. अहिल्यै प्रचारकार्यमा भाग लिनुपर्ने कस्तो महत्त्वपूर्ण कारण छ?

१९ कुनै-कुनै देशमा केही खास महिनामा मात्र माछा मार्न अनुमति दिइन्छ। त्यस्ता देशहरूमा माछा मार्ने अवधि सिद्धिनै लाग्दा जलारीहरू कुनै ढिलासुस्ती नगरी काममा खटिन्छन्‌। हामी मानिसहरूको जलारी भएकोले अहिल्यै प्रचारकार्यमा भाग लिनुपर्ने थप कारण छ। त्यो हो, यस युगको अन्त हुनै लागेको छ! मानिसहरूको जीवन बचाउने काम गर्ने समय अब धेरै बाँकी छैन। यस महत्त्वपूर्ण कार्यमा भाग लिन ढिलासुस्ती नगर्नुहोस्‌ वा सबै चाँजोपाँजो मिलेपछि गरूँला भनेर पर्खेर नबस्नुहोस्‌।—उप. ११:४.

२० आफ्नो इच्छुकता, बाइबलको ज्ञान र साहस बढाउनुका साथै आत्मअनुशासन विकास गर्न अहिल्यै कदम चालिहाल्नुहोस्‌। प्रचारकार्यमा भाग लिइरहेका ८० लाखभन्दा धेरै जलारीको समूहमा सामेल हुनुहोस्‌ अनि तपाईँले पनि यहोवाले दिनुहुने आनन्द अनुभव गर्नुहुनेछ। (नहे. ८:१०) यस काममा पूरापूर भाग लिने र यहोवाले पुग्यो नभन्‍नुभएसम्म यसमा लागिरहने सङ्‌कल्प गर्नुहोस्‌। मानिसहरूको जलारीको रूपमा राज्य प्रचारकार्यमा लागिरहने सङ्‌कल्पलाई बलियो बनाउने तीन वटा तरिकाबारे हामी अर्को लेखमा छलफल गर्नेछौँ।

गीत ६६ सुसमाचार घोषणा गरौँ!

^ अनु. 5 येसुले नम्र र मेहनती जलारीहरूलाई आफ्नो चेला बन्‍ने निम्तो दिनुभयो। आज पनि येसुले यस्तै गुण भएकाहरूलाई मानिसहरूको जलारी बन्‍न निम्तो दिइरहनुभएको छ। यस लेखमा यो निम्तो स्विकार्न हिचकिचाइरहेका बाइबल विद्यार्थीहरूले के गर्नुपर्छ भनेर छलफल गरिनेछ

^ अनु. 1 थप व्याख्या: “मानिसहरूको जलारी” भन्‍ने अभिव्यक्‍तिले ख्रिष्टको चेला बन्‍न मदत गर्ने उद्देश्‍यले सुसमाचार प्रचार गर्ने र सिकाउने सबै मानिसलाई बुझाउँछ।

^ अनु. 10 प्रहरीधरहरा, अक्टोबर २०१८, पृष्ठ ११-१६ मा भएको “सत्य सिकाउनुहोस्‌” भन्‍ने लेख हेर्नुहोस्‌।