सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ३९

मण्डलीका बहिनीहरूलाई मदत गर्नुहोस्‌

मण्डलीका बहिनीहरूलाई मदत गर्नुहोस्‌

“स्त्रीहरूको विशाल सेनाले उहाँको सुसमाचार घोषणा गर्छ।” —भज. ६८:११.

गीत १३७ वफादार बहिनीहरू

परिचय *

व्यस्त र जोसिला बहिनीहरू सभामा उपस्थित हुन्छन्‌, प्रचारकार्यमा भाग लिन्छन्‌, राज्यभवन मर्मतसम्भार गर्छन्‌ अनि सङ्‌गी उपासकहरूलाई व्यक्‍तिगत चासो देखाउँछन्‌ (अनुच्छेद १ हेर्नुहोस्‌)

१. बहिनीहरूले सङ्‌गठनलाई कसरी सघाउँछन्‌ तर थुप्रैले कस्ता समस्याहरू झेलिरहेका छन्‌? (आवरण तस्बिर हेर्नुहोस्‌)

हामीमाझ मण्डलीमा कडा परिश्रम गर्ने यति धेरै बहिनीहरू भएकोमा हामी साँच्चै खुसी छौँ! उदाहरणको लागि, तिनीहरू सभामा र प्रचारकार्यमा भाग लिन्छन्‌। कोही-कोही राज्यभवनको मर्मतकार्यमा सघाउँछन्‌ र अरू भाइबहिनीप्रति व्यक्‍तिगत चासो देखाउँछन्‌। तिनीहरूले विभिन्‍न समस्याहरू पनि झेलिरहेका हुन्छन्‌। कोही-कोही आफ्ना वृद्ध आमाबुबाको हेरचाह गर्छन्‌। अरूले भने परिवारका सदस्यहरूबाट विरोध खेपिरहेका छन्‌। अनि अरू कतिपय भने एकल आमा भएकोले आफ्ना छोराछोरीको लालनपालन गर्न दिनरात खटिरहेका छन्‌।

२. हामीले किन बहिनीहरूलाई मदत गर्नुपर्छ?

हामीले किन बहिनीहरूलाई मदत गर्नुपर्छ? किनभने स्त्रीहरूले जुन आदर पाउनुपर्ने हो, संसारले तिनीहरूलाई अक्सर त्यस्तो आदर दिँदैन। साथै स्त्रीहरूलाई मदत गर्न बाइबलले हामीलाई प्रोत्साहन दिन्छ। उदाहरणको लागि, बहिनी फिबीलाई स्वागत गर्न र “उनलाई जे-जस्तो मदतको खाँचो पर्छ, मदत” गर्न प्रेषित पावलले रोमको मण्डलीलाई भने। (रोमी १६:१, २) पावल पहिला फरिसी भएको हुँदा तिनी स्त्रीहरूलाई तुच्छ ठान्‍ने समाजको पूरै प्रभावमा परेका हुन सक्छन्‌। तर ख्रिष्टियन भइसकेपछि भने तिनले येसुको अनुकरण गरे अनि स्त्रीहरूलाई मर्यादापूर्ण र दयालु व्यवहार गरे।—१ कोरि. ११:१.

३. येसुले स्त्रीहरूलाई कस्तो व्यवहार गर्नुभयो? अनि उहाँले परमेश्‍वरको इच्छा पूरा गर्ने स्त्रीहरूप्रति कस्तो दृष्टिकोण राख्नुभयो?

येसुले सबै स्त्रीलाई मर्यादापूर्ण व्यवहार गर्नुभयो। (युह. ४:२७) येसुले स्त्रीहरूप्रति त्यतिबेलाका यहुदी धर्मगुरुहरूको जस्तो दृष्टिकोण राख्नुभएन। बाइबलसम्बन्धी एउटा किताब यसो भन्छ: “येसुले भन्‍नुभएको कुनै पनि कुराबाट उहाँले स्त्रीहरूको अपमान गरेको वा तिनीहरूलाई तुच्छ ठानेको देखिँदैन।” तर येसुले आफ्नो बुबाको इच्छा पूरा गर्ने स्त्रीहरूलाई भने अझ धेरै आदर गर्नुभयो। आफ्नो आध्यात्मिक परिवार को हो भनेर बताउनुहुँदा येसुले पुरुष र स्त्री दुवैलाई समावेश गर्नु साँच्चै उल्लेखनीय छ।—मत्ति १२:५०.

४. यस लेखमा हामी के छलफल गर्नेछौँ?

येसु आफ्ना आध्यात्मिक बहिनीहरूलाई मदत गर्न सधैँ तयार हुनुहुन्थ्यो, तिनीहरूको कदर गर्नुहुन्थ्यो र तिनीहरूको लागि बोलिदिनुहुन्थ्यो। बहिनीहरूको ख्याल गर्ने सन्दर्भमा हामी कसरी येसुको अनुकरण गर्न सक्छौँ, आउनुहोस्‌ छलफल गरौँ।

हाम्रा प्यारा बहिनीहरूको ख्याल राख्नुहोस्‌

५. केही बहिनीलाई उत्थानदायी सरसङ्‌गतिबाट लाभ उठाउन किन गाह्रो हुन सक्छ?

चाहे हामी भाइ होऔँ या बहिनी, हामी सबैलाई रमाइलो सरसङ्‌गति चाहिन्छ। तर कहिलेकाहीँ हाम्रा बहिनीहरूले त्यस्तो मौका नपाइरहेका हुन सक्छन्‌। किन? हाम्रा केही बहिनीले भनेको कुरा विचार गर्नुहोस्‌। जोर्डन * नाम गरेकी बहिनी यसो भन्छिन्‌, “म अविवाहित भएकीले अक्सर मलाई मण्डलीमा आफ्नो भूमिका के हो भनेर बुझ्न गाह्रो लाग्छ र मण्डलीमा आफ्नो कुनै ठाउँ छैन जस्तो लाग्छ।” प्रचारकार्यमा अझ बढी भाग लिन नयाँ ठाउँमा सरेकी अग्रगामी बहिनी क्रिस्टेन यसो भन्छिन्‌, “नयाँ मण्डलीमा सर्दा एक्लो महसुस हुन्छ।” केही भाइहरू पनि त्यस्तै महसुस गर्छन्‌। बेग्लै धर्म मान्‍ने परिवारसित बस्ने भाइबहिनीले आफ्नो परिवारबाट टाढा भएको र आध्यात्मिक परिवारको पनि भाग नभएको महसुस गर्न सक्छन्‌। घरभित्रै बस्न बाध्य भएकाहरू र परिवारका बिरामी सदस्यहरूको हेरचाह गरिरहेकाहरूले पनि एक्लो महसुस गर्न सक्छन्‌। एनेट यसो भन्छिन्‌, “कसैले जमघटमा बोलाउँदा म जान सक्दिनथेँ किनभने आमाको हेरचाह गर्ने मुख्य जिम्मेवारी मेरै थियो।”

येसुले जस्तै हामी पनि हाम्रा वफादार बहिनीहरूलाई माया गरेको देखाउन सक्छौँ (अनुच्छेद ६-९ हेर्नुहोस्‌) *

६. लुका १०:३८-४२ को विवरणअनुसार येसुले मार्था र मरियमलाई कस्तो मदत दिनुभयो?

येसुले आफ्ना आध्यात्मिक बहिनीहरूसित समय बिताउनुभयो र तिनीहरूको साँचो साथी बन्‍नुभयो। मरियम र मार्थासित उहाँको मित्रताबारे विचार गर्नुहोस्‌। उनीहरू दुवै जना अविवाहित थिए जस्तो देखिन्छ। (लुका १०:३८-४२ पढ्‌नुहोस्‌) येसुले आफ्नो बोली र व्यवहारद्वारा उनीहरूलाई सजिलो महसुस गराउनुभयो। मरियमलाई येसुको पाउनेर उहाँको चेलाजस्तै * गरी बस्न अप्ठ्यारो लागेन। अनि मरियमले नसघाएकोले रिस उठ्‌दा मार्था पनि येसुलाई आफ्नो मनको कुरा बताउन हिचकिचाइनन्‌। यस्तो जमघटको बेला येसुले ती दुवै स्त्रीलाई आध्यात्मिक तवरमा मदत गर्नुभयो। अनि उहाँले ती स्त्रीहरू र उनीहरूका भाइ लाजरसलाई अरू बेला पनि भेट्‌न गएर उनीहरूको ख्याल गरेको देखाउनुभयो। (युह. १२:१-३) त्यसैले लाजरस सिकिस्त बिरामी पर्दा मरियम र मार्था येसुले मदत दिनुहुनेछ भन्‍ने कुरामा ढुक्क थिए।—युह. ११:३, ५.

७. बहिनीहरूलाई प्रोत्साहन दिन सकिने एउटा तरिका के हो?

केही बहिनीको लागि अरू भाइबहिनीसित भेट्‌ने मौका भनेकै सभाहरू हो। त्यसैले हामी सभामा तिनीहरूलाई स्वागत गर्न र तिनीहरूसित कुरा गर्न चाहन्छौँ अनि तिनीहरूको चासो राख्छौँ भनेर देखाउन चाहन्छौँ। अगाडि उल्लेख गरिएकी जोर्डन यसो भन्छिन्‌, “अरूले मेरो टिप्पणीलाई याद गर्दा, मसँगै प्रचारकार्यमा भाग लिने योजना बनाउँदा वा अरू कुनै तरिकामा मेरो चासो राखेको देखाउँदा असाध्यै खुसी लाग्छ।” हाम्रा बहिनीहरू हाम्रो लागि बहुमूल्य छन्‌ भनेर हामीले देखाउनुपर्छ। किया भन्छिन्‌, “म सभामा उपस्थित नहुँदा कसै न कसैले मेरो हालखबर बुझ्न मेसेज पठाउनुहुन्छ। त्यो देख्दा भाइबहिनीले मेरो चासो राख्नुहुँदो रहेछ भन्‍ने महसुस गर्छु।”

८. हामी कुन-कुन तरिकामा येसुको अनुकरण गर्न सक्छौँ?

येसुजस्तै हामी पनि बहिनीहरूसित सरसङ्‌गत गर्न समय निकाल्न सक्छौँ। हामी तिनीहरूलाई साधारण खाना खान वा केही रमाइलो गर्न बोलाउन सक्छौँ कि? यस्तो मौकामा हामीले आफ्नो कुराकानीलाई उत्थानदायी बनाउनुपर्छ। (रोमी १:११, १२) एल्डरहरूले येसुको जस्तै मनोवृत्ति राख्नुपर्छ। अविवाहित रहनु कसै-कसैको निम्ति गाह्रो हुन सक्छ भनेर उहाँलाई थाह थियो। तर सधैँभरि आनन्दित रहन विवाह गर्नै पर्छ वा छोराछोरी जन्माउनै पर्छ भन्‍ने होइन भनेर उहाँले स्पष्ट पार्नुभयो। (लुका ११:२७, २८) बरु यहोवाको सेवालाई पहिलो स्थान दियौँ भने सधैँभरि आनन्दित रहन सक्छौँ भनेर उहाँले बताउनुभयो।—मत्ति १९:१२.

९. एल्डरहरूले बहिनीहरूलाई कसरी मदत गर्न सक्छन्‌?

विशेषगरि एल्डरहरूले ख्रिष्टियन स्त्रीहरूलाई आफ्ना आध्यात्मिक दिदीबहिनी र आमाजस्तै व्यवहार गर्नुपर्छ। (१ तिमो. ५:१, २) एल्डरहरूले सभाअघि वा पछि बहिनीहरूसित कुरा गर्न समय निकाल्नु बेस हो। क्रिस्टेन भन्छिन्‌, “एक जना एल्डरले म असाध्यै व्यस्त भएको याद गर्नुभयो र मेरो कामकुरा कस्तो चल्दै छ भनेर बुझ्न प्रयास गर्नुभयो। यस्तो चासो देखाउनुभएकोमा मलाई असाध्यै खुसी लाग्यो।” एल्डरहरूले मण्डलीका बहिनीहरूसित नियमित तवरमा कुराकानी गर्न समय निकालेर उनीहरूलाई साँच्चै चासो राखेको देखाउन सक्छन्‌। * अगाडि उल्लेख गरिएकी एनेटले एल्डरहरूसित नियमित तवरमा कुराकानी गर्नुको एउटा फाइदा बताइन्‌। उनी भन्छिन्‌: “मैले उहाँहरूलाई राम्ररी चिन्‍ने मौका पाएकी छु र उहाँहरू पनि मलाई राम्ररी चिन्‍नुहुन्छ। अनि कुनै कठिन परीक्षासित जुझिरहेको बेला मलाई उहाँहरूसित मदत माग्न सजिलो लाग्छ।”

बहिनीहरूको कदर गर्नुहोस्‌

१०. हामीले के गर्दा हाम्रा बहिनीहरू खुसी हुन्छन्‌?

१० चाहे पुरुष होऔँ या स्त्री, हामी सबैलाई अरूले हाम्रो क्षमता र कामको कदर गर्दा खुसी लाग्छ। तर हाम्रो क्षमता र कामको कसैले वास्ता गरेन भने हामी निरुत्साहित हुन्छौँ। एबिगेल नाम गरेकी बहिनीलाई कहिलेकाहीँ अरूले वास्ता नगरेको जस्तो महसुस हुन्छ। उनी भन्छिन्‌, “अरूले मलाई फलानो-फलानोकी बहिनी वा फलानो-फलानोकी छोरी भनेर मात्र चिन्छन्‌। कसैलाई मेरो मतलबै छैन जस्तो लाग्छ।” अर्कोतर्फ, पाम नाम गरेकी बहिनी कस्तो महसुस गर्छिन्‌, याद गर्नुहोस्‌। उनले अविवाहितै रहेर धेरै वर्षसम्म मिसनरीको रूपमा सेवा गरिन्‌। पछि उनी आमाबुबाको हेरचाह गर्न घर फर्किन्‌। अहिले उनको उमेर ७० वर्ष कटिसक्यो र अझै अग्रगामी सेवा गर्दै छिन्‌। उनी भन्छिन्‌, “अरूले मेरो कामको कदर गरेको कुरा बताउँदा मलाई असाध्यै खुसी लाग्छ।”

११. येसुले उहाँसँगै सेवामा लागेका स्त्रीहरूको कदर गरेको कसरी देखाउनुभयो?

११ केही ईश्‍वरभक्‍त स्त्रीहरूले “आफ्नो सम्पत्ति खर्चेर” येसुको सेवा गर्दा उहाँले त्यस्तो मदतको कदर गर्नुभयो। (लुका ८:१-३) उहाँले तिनीहरूलाई त्यसरी सेवा गर्ने सुअवसर मात्र दिनुभएन बरु तिनीहरूलाई गहिरा आध्यात्मिक सत्यहरू प्रकट गर्नुभयो। उदाहरणको लागि, उहाँले तिनीहरूलाई आफ्नो मृत्यु हुने र फेरि जीवित पारिने कुरा बताउनुभयो। (लुका २४:५-८) उहाँले आफ्ना प्रेषितहरूलाई जस्तै ती स्त्रीहरूलाई पनि पछि भोग्नुपर्ने परीक्षाहरूको लागि तयार पार्नुभयो। (मर्कु. ९:३०-३२; १०:३२-३४) यो कुरा पनि याद गर्नुहोस्‌, येसु पक्राउ पर्नुहुँदा प्रेषितहरू उहाँलाई छोडेर भागे तर उहाँको सेवा गर्ने केही स्त्रीहरू भने उहाँलाई यातनाको खम्बामा झुन्ड्याइएको बेला त्यहीँ थिए।—मत्ति २६:५६; मर्कु. १५:४०, ४१.

१२. येसुले स्त्रीहरूलाई कस्तो काम सुम्पनुभयो?

१२ येसुले स्त्रीहरूलाई महत्त्वपूर्ण काम सुम्पनुभयो। उदाहरणको लागि, उहाँ मृत्युबाट ब्युँतनुभएको कुरा सबैभन्दा पहिला थाह पाउने ती ईश्‍वरभक्‍त स्त्रीहरू नै थिए। येसुले ती स्त्रीहरूलाई प्रेषितहरूकहाँ गएर उहाँ मृत्युबाट जीवित हुनुभएको खबर दिन पनि लगाउनुभयो। (मत्ति २८:५, ९, १०) साथै इस्वी संवत्‌ ३३ पेन्तिकोसको दिनमा चेलाहरूमाथि पवित्र शक्‍ति खन्याइँदा त्यहाँ स्त्रीहरू पनि उपस्थित भएका हुन सक्छन्‌। यदि त्यसो हो भने भर्खरै पवित्र शक्‍तिद्वारा अभिषेक भएका यी बहिनीहरूले विभिन्‍न भाषामा बोल्ने क्षमता पाएर अरूलाई “परमेश्‍वरको विषयमा अद्‌भुत कुराहरू” बताएका हुन सक्छन्‌।—प्रेषि. १:१४; २:२-४, ११.

१३. ख्रिष्टियन स्त्रीहरूले आज के गरिरहेका छन्‌? तिनीहरूले गरिरहेको कामको मोल गरेको हामी कसरी देखाउन सक्छौँ?

१३ हाम्रा बहिनीहरू प्रशंसाको योग्य छन्‌। किनकि तिनीहरूले यहोवाको सेवामा विभिन्‍न काम गरिरहेका छन्‌। तिनीहरूमध्ये कोही-कोही भवनहरू निर्माण गर्ने र मर्मतसम्भार गर्ने काममा भाग लिन्छन्‌, कोही-कोही विदेशी भाषाका समूहहरूलाई मदत गर्छन्‌ अनि कोही-कोही भने बेथेलमा स्वयम्‌सेवा गर्छन्‌। बहिनीहरूले राहतकार्यमा पनि सघाउँछन्‌, हाम्रा प्रकाशनहरू अनुवाद गर्छन्‌ अनि अग्रगामी र मिसनरीको रूपमा सेवा गर्छन्‌। भाइहरूजस्तै बहिनीहरू पनि अग्रगामी स्कुलमा, राज्य प्रचारकहरूका लागि स्कुलमा र गिलियड स्कुलमा जान्छन्‌। साथै विवाहित बहिनीहरूले आफ्ना पतिहरूलाई मण्डलीको र सङ्‌गठनको महत्त्वपूर्ण कार्यभार सँभाल्न मदत गर्छन्‌। यी जिम्मेवार भाइहरू, जो “वरदानको रूपमा पुरुषहरू” हुन्‌, यिनीहरूले आफ्ना पत्नीहरूको साथ नपाउने हो भने अहिलेजस्तै पूरापूर यहोवाको सेवा गर्न सक्ने थिएनन्‌। (एफि. ४:८) विभिन्‍न सेवामा लागिरहेका हाम्रा बहिनीहरूलाई तपाईँ पनि कुनै तरिकामा सघाउन सक्नुहुन्छ कि?

१४. भजन ६८:११ मा लेखिएको कुरा मनमा राख्दै बुद्धिमान्‌ एल्डरहरू के गर्छन्‌?

१४ हाम्रा बहिनीहरू भनेको इच्छुक सेवकहरूको “विशाल सेना” हुन्‌ र तिनीहरू अक्सर प्रचारकार्यमा सबैभन्दा प्रभावकारी साबित भएका छन्‌ भनेर बुद्धिमान्‌ एल्डरहरूलाई थाह छ। (भजन ६८:११ पढ्‌नुहोस्‌) त्यसैले एल्डरहरू तिनीहरूको अनुभवबाट लाभ उठाउने तरिकाहरू खोज्छन्‌। अगाडि उल्लेख गरिएकी एबिगेललाई भाइहरूले इलाकाका मानिसहरूसित कुराकानी गर्न कस्तो तरिका प्रभावकारी पाउनुभएको छ भनेर सोध्ने गर्छन्‌। भाइहरूले यसरी सोध्दा तिनी आफ्नो कदर गरिएको महसुस गर्छिन्‌। तिनी भन्छिन्‌: “यसले गर्दा यहोवाले मलाई पनि सङ्‌गठनमा महत्त्वपूर्ण स्थान दिनुभएको छ भन्‍ने महसुस गर्छु।” साथै वफादार र परिपक्व बहिनीहरूले आफूभन्दा कम उमेरका बहिनीहरूलाई चुनौतीहरूको सामना गर्न प्रभावकारी तरिकामा मदत गर्न सक्छन्‌ भनेर एल्डरहरूले राम्ररी बुझेका छन्‌। (ति. २:३-५) हाम्रा बहिनीहरू हामीबाट आदर पाउन साँच्चै योग्य छन्‌!

बहिनीहरूको लागि बोलिदिनुहोस्‌

१५. बहिनीहरूलाई कस्तो अवस्थामा तिनीहरूको लागि बोलिदिने कोही चाहिन सक्छ?

१५ कहिलेकाहीँ बहिनीहरूले कुनै खास चुनौतीको सामना गर्नुपर्दा तिनीहरूको लागि बोलिदिने कुनै व्यक्‍तिको आवश्‍यकता पर्न सक्छ। (यसै. १:१७) उदाहरणको लागि, विधवा वा सम्बन्धविच्छेद भएकी कुनै बहिनीलाई उनको पक्षमा बोलिदिने वा पहिला उनको पतिले गर्ने गरेको कुनै-कुनै काममा सघाइदिने कसैको आवश्‍यकता पर्न सक्छ। वृद्ध बहिनीहरूलाई डाक्टरसित कुराकानी गर्न कसैको मदत चाहिन सक्छ। अथवा यहोवाको सङ्‌गठनलाई अन्य तरिकामा सघाइरहेकी अग्रगामी बहिनी अरू अग्रगामीहरूजस्तो प्रचारमा नआएको देख्दा कसै-कसैले उनको आलोचना गर्न सक्छन्‌। यस्तो बेला उनको लागि बोलिदिने कोही चाहिन सक्छ। हाम्रा बहिनीहरूलाई अन्य कस्ता तरिकामा मदत गर्न सक्छौँ? आउनुहोस्‌, फेरि येसुको उदाहरण विचार गरौँ।

१६. मर्कुस १४:३-९ को विवरणअनुसार येसुले कसरी मरियमको पक्षमा बोलिदिनुभयो?

१६ कसैलाई आफ्ना आध्यात्मिक बहिनीहरूको विषयमा गलतफहमी हुँदा येसु तुरुन्तै उनीहरूको लागि बोलिदिनुहुन्थ्यो। जस्तै: मार्थाले मरियमको गुनासो गर्दा उहाँ मरियमको पक्षमा बोलिदिनुभयो। (लुका १०:३८-४२) अनि मरियमले नराम्रो निर्णय गरेको भन्दै अरूले आलोचना गर्दा येसु फेरि पनि मरियमको पक्षमा बोलिदिनुभयो। (मर्कुस १४:३-९ पढ्‌नुहोस्‌) येसुले मरियमको मनसाय बुझ्नुभयो र यसरी उनको प्रशंसा गर्नुभयो: “उसले मेरो लागि असलै काम गरेकी छे। . . . उसले जे गर्न सक्थी, त्यही गरेकी छे।” उहाँले उनको यस्तो दयालु कामबारे “सारा संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ,” त्यहाँ-त्यहाँ सुनाइनेछ भनेर पनि भविष्यवाणी गर्नुभयो; यही लेखमा पनि तिनको कामबारे चर्चा गरिएको छ। येसुले मरियमको यस्तो निःस्वार्थ कामको प्रशंसा गर्ने क्रममै सुसमाचार संसारभरि प्रचार गरिनेछ भनेर बताउनु साँच्चै उल्लेखनीय छ! अरूले आफ्नो कामको कदर नगरे तापनि येसुको मुखबाट यस्ता प्रशंसाका शब्दहरू सुन्‍न पाउँदा मरियमले कत्ति ढुक्क महसुस गरिन्‌ होला!

१७. हामीले बहिनीहरूको लागि बोलिदिनुपर्ने एउटा अवस्था बताउनुहोस्‌।

१७ के तपाईँ आवश्‍यक परेको बेला मण्डलीका बहिनीहरूको लागि बोलिदिनुहुन्छ? यो दृश्‍य कल्पना गर्नुहोस्‌: बेग्लै धर्म मान्‍ने परिवारमा बस्ने एक बहिनी सभामा अक्सर ढिलो आउने गरेको अनि सभा सिद्धिएपछि पनि तुरुन्तै निस्कने गरेको केही प्रकाशकले याद गरेका छन्‌। उनी आफ्ना छोराछोरीलाई सभामा कहिलेकाहीँ मात्र ल्याउँछिन्‌। त्यसैले ती प्रकाशकहरू उनले आफ्नो पतिको अगाडि सत्यको पक्षमा दृढ अडान नलिएकोमा उनको आलोचना गर्न थाल्छन्‌। तर वास्तवमा ती बहिनी सकेजति गर्न निकै प्रयास गर्दै छिन्‌। उनी सबै कुरा आफूले चाहेजस्तो तरिकामा गर्न सक्दिनन्‌ अनि उनीसित आफ्ना छोराछोरीको लागि निर्णय गरिदिने पूरै अधिकार पनि छैन। ती बहिनीबारे अरूले आलोचना गरिरहेको सुन्‍नुभयो भने तपाईँ के गर्न सक्नुहुन्छ? ती बहिनीको प्रशंसा गर्नुभयो र उनले सक्दो गरिरहेकी छिन्‌ भनेर अरूलाई बताउनुभयो भने तपाईँ उनको विषयमा गलत हल्ला फैलिनदेखि रोक्न सक्नुहुन्छ।

१८. हामी बहिनीहरूलाई अरू के-कस्ता तरिकामा मदत गर्न सक्छौँ?

१८ हाम्रा बहिनीहरूलाई व्यावहारिक मदत दिएर पनि हामी उनीहरूको ख्याल गरेको देखाउन सक्छौँ। (१ युह. ३:१८) आफ्नी बिरामी आमाको हेरचाह गरेकी एनेट यसो भन्छिन्‌: “मेरा केही साथीहरू मलाई पालो दिन आउँथे अनि कोही-कोहीले त खानेकुरा पनि सँगै ल्याउँथे। यसले गर्दा मैले माया पाएको र आफू पनि मण्डलीको भाग भएको महसुस गर्थेँ।” जोर्डनले पनि अरूबाट मदत पाइन्‌। एक जना भाइले तिनलाई कार मर्मत गर्न सिकाइदिए। तिनी भन्छिन्‌: “भाइबहिनीले मेरो सुरक्षाको ख्याल गर्नुहुन्छ भनेर थाह पाउँदा खुसी लाग्छ।”

१९. एल्डरहरूले बहिनीहरूलाई अरू के-कस्ता तरिकामा मदत गर्न सक्छन्‌?

१९ त्यसैगरि एल्डरहरू पनि बहिनीहरूलाई कुन कुराको आवश्‍यकता छ भनेर याद गर्छन्‌। एल्डरहरूले बहिनीहरूलाई राम्रो व्यवहार गरेको यहोवा चाहनुहुन्छ भनेर तिनीहरूलाई थाह छ। (याकु. १:२७) येसुजस्तै तिनीहरू पनि व्यावहारिक हुन्छन्‌; बहिनीहरू आफैले निर्णय गर्न सक्ने कुरामा एल्डरहरूले नियम बनाउनुको साटो उनीहरूलाई नै निर्णय गर्न दिन्छन्‌। (मत्ति १५:२२-२८) एल्डरहरू मदत गर्न अग्रसर हुँदा बहिनीहरूले माया पाएको महसुस गर्छन्‌। किया बहिनीको समूह निरीक्षकले तिनी अर्को घरमा सर्दै छिन्‌ भनेर थाह पाएपछि तुरुन्तै तिनलाई मदत गर्ने प्रबन्ध मिलाए। तिनी भन्छिन्‌: “मलाई आफ्नो काँधबाट ठूलो बोझ हटेको जस्तो लाग्यो। एल्डरहरूले मलाई प्रोत्साहन र चाहिएको बेला व्यावहारिक मदत दिँदा म पनि मण्डलीको महत्त्वपूर्ण भाग हुँ भन्‍ने महसुस गर्छु। अनि गाह्रोसाह्रो पर्दा म एक्लो छैनँ भनेर ढुक्क हुन्छु।”

मण्डलीका सबै बहिनीलाई हाम्रो साथ चाहिन्छ

२०-२१. मण्डलीका सबै बहिनीलाई महत्त्वपूर्ण ठानेको हामी कसरी देखाउन सक्छौँ?

२० मण्डलीमा हेर्ने हो भने हाम्रो साथ चाहिने थुप्रै परिश्रमी बहिनीहरू देख्न सक्छौँ। येसुको उदाहरणबाट सिकेजस्तै तिनीहरूसित समय बिताएर र तिनीहरूलाई राम्ररी चिन्‍ने प्रयास गरेर हामी तिनीहरूलाई मदत गर्न सक्छौँ। यहोवाको सेवामा तिनीहरूले जे-जति गरिरहेका छन्‌, त्यसको हामी कदर गर्न सक्छौँ। अनि आवश्‍यक परेको बेला तिनीहरूको लागि बोलिदिन सक्छौँ।

२१ रोमीहरूलाई लेखेको पत्रको अन्ततिर प्रेषित पावलले नौ जना ख्रिष्टियन बहिनीहरूको नामै तोकेर उल्लेख गरे। (रोमी १६:१, ३, ६, १२, १३, १५) पावलले पठाएको अभिवादन सुन्दा र तिनीबाट प्रशंसा पाउँदा ती बहिनीहरूले पक्कै प्रोत्साहन पाए। हामी पनि मण्डलीका बहिनीहरूलाई त्यसरी नै साथ देऔँ। यसो गर्दा हामीले ती बहिनीहरू हाम्रो आध्यात्मिक परिवारको महत्त्वपूर्ण भाग हुन्‌ भनेर देखाइरहेका हुन्छौँ।

गीत १३६ “यहोवाले पूरापूर प्रतिफल देऊन्‌”

^ अनु. 5 मण्डलीका बहिनीहरूले थुप्रै समस्या झेलिरहेका हुन्छन्‌। यस लेखमा हामी येसुको अनुकरण गर्दै हाम्रा आध्यात्मिक बहिनीहरूलाई कसरी मदत गर्न सक्छौँ भनेर छलफल गर्नेछौँ। येसुले स्त्रीहरूसित समय बिताउनुभएको, तिनीहरूको कदर गर्नुभएको र तिनीहरूको लागि बोलिदिनुभएको कुराबाट हामी के सिक्न सक्छौँ भनेर पनि विचार गर्नेछौँ।

^ अनु. 5 केही नाम परिवर्तन गरिएका छन्‌।

^ अनु. 6 एउटा किताब यसो भन्छ: “चेलाहरू आफ्ना गुरुको पाउनेर बस्थे। पछि गुरु बन्‍न तयारी गरिरहेका जेहनदार चेलाहरू यसरी गुरुको पाउनेर बस्थे। तर स्त्रीहरू भने गुरु बन्‍न पाउँदैनथे। त्यतिबेलाको चलनलाई वास्तै नगरी मरियम येसुको पाउनेर बसेको र उहाँबाट सिक्न इच्छुक भएको देख्दा प्रायजसो यहुदी पुरुषलाई त्यो आपत्तिजनक लाग्ने थियो।”

^ अनु. 9 बहिनीहरूलाई मदत गर्दा एल्डरहरू होसियार पनि हुनुपर्छ। उदाहरणको लागि, कुनै बहिनीलाई भेट्‌न जाँदा एल्डर एक्लै जानु हुँदैन।

^ अनु. 65 चित्रको व्याख्या: वफादार बहिनीहरूप्रति चासो देखाउने सन्दर्भमा येसुको अनुकरण गर्दै एक भाइ दुई जना बहिनीलाई गाडीको टायर फेर्न मदत गर्दै छन्‌, अर्को भाइ अशक्‍त बहिनीलाई भेट्‌न गएका छन्‌ अनि तेस्रो भाइ आफ्नी पत्नीसित एक जना बहिनी र उनकी छोरीको पारिवारिक उपासनामा भाग लिँदै छन्‌