सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाइ जोसेफ एफ. रदरफोर्ड र अरू भाइहरू युरोपको भ्रमणमा

१९२०—एक सय वर्षअघि

१९२०—एक सय वर्षअघि

सन्‌ १९२० दशकको सुरुतिरदेखि यहोवाका जनहरू प्रचारकार्यमा सक्रिय हुन थाले। सन्‌ १९२० को लागि तिनीहरूले यो वार्षिक पद रोजे: “याह मेरो शरण र मेरो बल हुनुहुन्छ।”—भज. ११८:१४.

हो, यहोवाले यी जोसिला प्रचारकहरूलाई बल दिनुभयो। त्यो वर्ष कल्पोर्टर अर्थात्‌ अग्रगामीहरूको सङ्‌ख्या २२५ बाट बढेर ३५० पुग्यो। अनि पहिलो पटक ८ हजारभन्दा धेरै प्रकाशकले क्षेत्र सेवाको रिपोर्ट बुझाए। यति धेरैले प्रचारकार्यमा भाग लिनु साँच्चै यहोवाको आशिष्‌ थियो।

तिनीहरूले असाधारण जोस देखाए

त्यतिबेला बाइबल विद्यार्थीहरूमाझ (अहिले यहोवाका साक्षीहरू भनिन्छ) नेतृत्व लिइरहनुभएको भाइ जोसेफ एफ. रदरफोर्डले मार्च २१, १९२० मा “अहिले बाँचिरहेका लाखौँ मानिस कहिल्यै मर्नेछैनन्‌” भन्‍ने विषयमा भाषण दिनुभयो। चासो दिने मानिसहरूलाई यस कार्यक्रममा निम्तो दिन बाइबल विद्यार्थीहरूले कुनै कसर बाँकी राखेनन्‌। तिनीहरूले न्यु योर्क सहरको एउटा ठूलो हल भाडामा लिए अनि लगभग ३ लाख २० हजार वटा निम्तोपर्ची बाँडे।

“अहिले बाँचिरहेका लाखौँ मानिस कहिल्यै मर्नेछैनन्‌” भाषणको लागि अखबारमा छापिएको विज्ञापन

त्यस कार्यक्रममा बाइबल विद्यार्थीहरूले आशा गरेको भन्दा कता हो कता धेरै मानिस उपस्थित भए। हल ५ हजारभन्दा धेरै मानिसले खचाखच भरियो अनि ७ हजार जति त सिट नपाएर फर्कनुपऱ्‍यो। प्रहरीधरहरा-ले (अङ्‌ग्रेजी) यस कार्यक्रमलाई “अन्तरराष्ट्रिय बाइबल विद्यार्थीहरूले आयोजना गरेको एउटा अत्यन्तै सफल सभा” भन्‍ने संज्ञा दियो।

“अहिले बाँचिरहेका लाखौँ मानिस कहिल्यै मर्नेछैनन्‌” भनेर घोषणा गर्ने मानिसहरूको रूपमा बाइबल विद्यार्थीहरू चिरपरिचित भए। त्यतिबेला तिनीहरूले परमेश्‍वरको राज्यको सन्देश अझ विस्तृत रूपमा घोषणा गरिनुपर्छ भनेर बुझेका थिएनन्‌। तैपनि तिनीहरूले असाधारण जोस देखाए। सन्‌ १९०२ देखि सभाहरूमा उपस्थित हुन थालेकी इडा ओमस्टेडले यसो भनिन्‌: “सम्पूर्ण मानिसजातिको लागि थुप्रै आशिष्‌ साँचेर राखिएको छ भनेर हामीलाई थाह थियो अनि यो सुसमाचार हामी प्रचारकार्यमा भेटिने सबैलाई सुनाउँथ्यौँ।”

तिनीहरूले साहित्यहरू आफै छाप्न थाले

आध्यात्मिक भोजन दिने काम नरोकियोस्‌ भनेर बेथेलका भाइहरूले केही साहित्य आफै छाप्न थाले। तिनीहरूले एउटा मेसिन किने अनि त्यसलाई न्यु योर्कको ब्रुक्लिनस्थित ३५ मर्टल एभेन्युमा एउटा भवन भाडामा लिएर त्यहाँ राखे।

लिओ पेले र वाल्टर केस्लरले जनवरी १९२० मा बेथेल सेवा सुरु गरे। भाइ वाल्टरले यसो भने: “हामी त्यहाँ पुगेपछि छापाखानाका निरीक्षकले हामीलाई हेरेर यसो भन्‍नुभयो, ‘खाना खाने समय हुन अझै डेढ घण्टा बाँकी छ।’ त्यसपछि उहाँले हामीलाई भुईँ तल्लाबाट किताबका कार्टुनहरू माथि ओसार्ने काम दिनुभयो।”

भोलिपल्ट गरेको कामबारे भाइ लिओले यसो भने: “हामीले पहिलो तल्लाका भित्ताहरू सफा गर्नुपर्ने थियो। यस्तो फोहोर ठाउँ सफा गर्ने काम मैले जिन्दगीमा पहिला कहिल्यै गरेको थिइनँ। तर त्यो प्रभुको काम भएकोले मैले मन लगाएर गरेँ।”

प्रहरीधरहरा पत्रिका छाप्न प्रयोग गरिएको प्रेस

केही हप्ताभित्रै जोसिला स्वयम्‌सेवकहरूले प्रहरीधरहरा पत्रिका छाप्न सुरु गरे। दोस्रो तल्लामा राखिएको प्रेसमा फेब्रुअरी १, १९२० अङ्‌कको प्रहरीधरहरा-को ६० हजार प्रति छापिए। त्यही बेला भाइहरूले भुईँ तल्लामा अर्को एउटा प्रेस तयार पारे, जसलाई तिनीहरूले ‘ब्याटलसिप’ भन्‍ने नाम दिएका थिए। सन्‌ १९२० अप्रिल १४ देखि सुनौलो युग (अङ्‌ग्रेजी) पत्रिका पनि छाप्न थालियो। यहोवाले ती इच्छुक कामदारहरूको प्रयासमा आशिष्‌ दिनुभएको कुरा छर्लङ्‌गै देखिन्थ्यो।

“त्यो प्रभुको काम भएकोले मैले मन लगाएर गरेँ”

“शान्तिमा बसौँ”

यहोवाका वफादार जनहरू फेरि प्रचारकार्यमा सक्रिय भए र एकअर्कासित सरसङ्‌गत गर्न थाले। तर १९१७ देखि १९१९ सम्मको कठिन अवस्थामा केही बाइबल विद्यार्थी सङ्‌गठन छोडेर गएका थिए। तिनीहरूलाई कसरी मदत गर्न सकिन्थ्यो?

अप्रिल १, १९२० को प्रहरीधरहरा-मा “शान्तिमा बसौँ” विषयको लेख छापियो। उक्‍त लेखमा यस्तो मन छुने कुरा बताइएको थियो: ‘प्रभुको पवित्र शक्‍ति पाएका सबै जना पछाडिका कुराहरूलाई बिर्सेर एकतामा बस्न र एउटै शरीरजस्तो भएर अघि बढ्‌न इच्छुक छन्‌ भन्‍ने कुरामा हामी विश्‍वस्त छौँ।’

यी दयालु शब्दहरू सुनेपछि थुप्रैले कदम चाले। एक विवाहित दम्पतीले यसो भने: “अरूहरू [प्रचारको] काममा लागिरहेको बेला गत वर्ष र त्यसअघि हामी भने केही नगरी चुपचाप बसिरहेका थियौँ। यसो गर्नु हाम्रो ठूलो भूल थियो। . . . अबदेखि हामी कहिल्यै तर्केर जान चाहँदैनौँ।” फेरि सक्रिय भएका ती प्रचारकहरूको लागि प्रशस्तै काम थियो।

तिनीहरूले “ZG” वितरण गरे

जून २१, १९२० मा बाइबल विद्यार्थीहरूले “ZG” किताब वितरण गर्न व्यापक अभियान चलाए। यो टुङ्‌गिएको रहस्य * (अङ्‌ग्रेजी) किताबको पातलो गाता भएको संस्करण थियो। सन्‌ १९१८ मा यो किताब वितरण गर्न निषेध गरिँदा यसका थुप्रै प्रति थन्काएर राखिएको थियो।

कल्पोर्टरहरूलाई मात्र होइन सबै प्रकाशकलाई यस अभियानमा भाग लिन निम्तो दिइयो। “प्रत्येक मण्डलीका सबै बप्तिस्माप्राप्त व्यक्‍ति, जो यस अभियानमा भाग लिन सक्छन्‌, तिनीहरूले खुसीसाथ यो काम गरून्‌। अबदेखि हामी प्रत्येकको लक्ष्य यस्तो होस्‌: ‘यो काम म पक्कै गर्नेछु’—अरूलाई ZG बाँड्‌नेछु।” भाइ एड्‌मन्ड हुपरले बताएअनुसार कतिपयको लागि त यो अभियान नै घरघरको प्रचार गर्ने पहिलो अनुभव थियो। तिनले अझै यसो भने: “यो काम हामीले आसै नगरेको तरिकामा कसरी फैलिनेछ र यसमा के-के समावेश छ भनेर हामीले बल्ल बुझ्न थाल्यौँ।”

तिनीहरूले युरोपमा प्रचारकार्यलाई फेरि व्यवस्थित गरे

प्रथम विश्‍वयुद्धको दौडान अरू देशका बाइबल विद्यार्थीहरूसित सम्पर्क गर्न गाह्रो थियो। त्यसैले भाइ रदरफोर्ड भाइबहिनीलाई प्रोत्साहन दिन र प्रचारकार्यलाई फेरि व्यवस्थित गर्न चाहनुहुन्थ्यो। उहाँ र अरू चार जना भाइ अगस्त १२, १९२० मा बेलायत, युरोप र मध्यपूर्वको लामो यात्रामा निस्कनुभयो।

भाइ रदरफोर्ड इजिप्टमा

भाइ रदरफोर्ड बेलायतको भ्रमणमा छँदा बाइबल विद्यार्थीहरूले त्यहाँ तीन वटा अधिवेशन र १२ वटा जनसभा आयोजना गरे। यी कार्यक्रमहरूको कुल उपस्थिति ५० हजारजति थियो। त्यस भ्रमणबारे प्रहरीधरहरा-ले यसो भन्यो: “भाइबहिनीले स्फूर्ति र प्रोत्साहन पाए। तिनीहरू प्रेममा र सेवामा पहिलाभन्दा झनै एकताबद्ध भए र फेरि खुसी हुन सके।” भाइ रदरफोर्डले पेरिसमा पनि “अहिले बाँचिरहेका लाखौँ मानिस कहिल्यै मर्नेछैनन्‌” भन्‍ने विषयमा भाषण दिनुभयो। भाषण सुरु हुँदा हल खचाखच भरिसकेको थियो। तीन सय जनाले त थप जानकारीको लागि अनुरोधसमेत गरे।

लन्डनको रोयल अल्बर्ट हलमा दिइएको भाषणको विज्ञापन

त्यसपछिका हप्ताहरूमा केही भाइले एथेन्स, कायरो र जेरुसलेमको भ्रमण गरे। चासो देखाएका व्यक्‍तिहरूलाई मदत गर्न भाइ रदरफोर्डले जेरुसलेमनजिकैको रामल्ला सहरमा साहित्य डिपो बनाउनुभयो। त्यसपछि उहाँ युरोप फर्कनुभयो र मध्य युरोपेली अफिस स्थापना गर्नुभयो। उहाँले त्यहाँ साहित्यहरू छाप्ने प्रबन्ध पनि मिलाउनुभयो।

तिनीहरूले अन्यायको पर्दाफास गरे

सन्‌ १९२० को सेप्टेम्बरमा बाइबल विद्यार्थीहरूले सुनौलो युग पत्रिकाको नम्बर २७ प्रकाशित गरे। त्यो विशेष अङ्‌क थियो र त्यसले १९१८ मा बाइबल विद्यार्थीहरूले भोग्नुपरेको खेदोको पर्दाफास गऱ्‍यो। यस पत्रिकाको ४० लाखभन्दा धेरै प्रति छाप्न ‘ब्याटलसिप’ प्रेस रातदिन चलाइयो।

बहिनी एमा मार्टिनको पुलिस रेकर्डमा राखिएको फोटो

बहिनी एमा मार्टिनविरुद्ध चलाइएको मुद्दाबारे थाह पाउँदा यस पत्रिकाका पाठकहरू छक्क परे। बहिनी मार्टिन क्यालिफोर्नियाको सान बर्नार्डिनोमा कल्पोर्टरको रूपमा सेवा गर्थिन्‌। मार्च १७, १९१८ मा तिनी र अरू तीन जना भाइहरू इ. हाम, इ. जे. सोनेनबर्ग र इ. ए. स्टिभन्स बाइबल विद्यार्थीहरूको एउटा सानो सभामा उपस्थित भएका थिए।

त्यस सभामा उपस्थित एक जना मानिस वास्तवमा बाइबलबारे सिक्न त्यहाँ आएको थिएन। पछि उसले यसो भन्यो: “म सरकारी वकिल कार्यालयको आदेशमा . . . त्यो सभामा गएको थिएँ। म त्यहाँ प्रमाण भेट्टाउने उद्देश्‍यले गएको थिएँ।” उसले त्यहाँ आफूले खोजिरहेको “प्रमाण” अर्थात्‌ टुङ्‌गिएको रहस्य किताब पायो। केही दिनपछि बहिनी मार्टिन र तीन जना भाइलाई पक्राउ गरियो। तिनीहरूलाई निषेधित किताब वितरण गरेर गुप्तचर ऐन तोडेको आरोपमा पक्राउ गरिएको थियो।

बहिनी एमा र ती भाइहरूलाई दोषी ठहर गरेर तीन वर्षको जेल सजाय सुनाइयो। तिनीहरूले धेरै चोटि अपिल गरे तर केही सिप लागेन। त्यसैले मे १७, १९२० मा तिनीहरूलाई जेल चलान गरियो। तर चाँडै परिस्थितिले राम्रो मोड लियो।

जून २०, १९२० मा सान फ्रान्सिस्को सहरमा आयोजना गरिएको अधिवेशनमा भाइ रदरफोर्डले तिनीहरूको अनुभव सुनाउनुभयो। त्यहाँ उपस्थित भएकाहरूलाई ती ख्रिष्टियनहरूमाथि गरिएको यस्तो दुर्व्यवहार साह्रै अन्यायपूर्ण लाग्यो। त्यसैले उनीहरूले अमेरिकाको राष्ट्रपतिलाई एउटा टेलिग्राम पठाए। टेलिग्राममा यस्तो लेखिएको थियो: ‘हाम्रो विचारमा गुप्तचर ऐनअन्तर्गत एमा मार्टिनमाथि लगाइएको आरोप अन्यायपूर्ण छ। एमा मार्टिनलाई फसाउन र उहाँविरुद्ध झूटो मुद्दा चलाएर उहाँलाई जेल चलान गर्न संघीय कार्यालयका अधिकारीहरूले आफ्नो अख्तियारको दुरुपयोग गरेका छन्‌। हामी यस फैसलाको घोर विरोध गर्छौँ।’

त्यसको भोलिपल्टै राष्ट्रपति वुड्रो विल्सनले बहिनी मार्टिन अनि भाइहरू हाम, सोनेनबर्ग र स्टिभन्सको सजाय बदर गरिदिए। तिनीहरू जेलबाट मुक्‍त भए।

सन्‌ १९२० मा थुप्रै उल्लेखनीय घटना भएकोले बाइबल विद्यार्थीहरूसित खुसी हुने प्रशस्त कारण थियो। हाम्रो मुख्यालयको गतिविधि बढ्‌दै गयो अनि साँचो ख्रिष्टियनहरूले मानिसजातिको समस्याको एक मात्र समाधान परमेश्‍वरको राज्य हो भनेर झनै व्यापक रूपमा घोषणा गरे। (मत्ति २४:१४) त्यसपछिको वर्ष अर्थात्‌ १९२१ मा परमेश्‍वरको राज्यबारे अझ जोडतोडका साथ घोषणा गरिने थियो।

^ अनु. 18 टुङ्‌गिएको रहस्य किताब धर्मशास्त्रको अध्ययन (अङ्‌ग्रेजी) किताबको सातौँ खण्ड थियो। “ZG” चाहिँ यस किताबको पातलो गाता भएको संस्करण थियो। मार्च १, १९१८ अङ्‌कको प्रहरीधरहरा-को ठाउँमा यो किताब छापिएको थियो। “Z”-ले जायन्स वाच टावर-लाई र अङ्‌ग्रेजी वर्णमालाको सातौँ अक्षर “G”-ले चाहिँ सातौँ खण्डलाई बुझाउँथ्यो।