सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४३

यहोवा आफ्नो सङ्‌गठनलाई डोऱ्‍याउँदै हुनुहुन्छ

यहोवा आफ्नो सङ्‌गठनलाई डोऱ्‍याउँदै हुनुहुन्छ

“‘न कुनै सैन्य शक्‍तिले, न त मानिसको बलले तर मेरो शक्‍तिले,’ सेनाहरूका यहोवा भन्‍नुहुन्छ।”—जक. ४:६.

गीत ४० भन तिमी कसको?

परिचय *

१. बप्तिस्मा गरेका ख्रिष्टियनहरूले के गरिरहनुपर्छ?

के तपाईँले बप्तिस्मा गरिसक्नुभयो? यदि त्यसो हो भने तपाईँले यहोवामाथिको विश्‍वास र उहाँको सङ्‌गठनसँगै * मिलेर सेवा गर्ने इच्छुकता सबैसामु जाहेर गरिसक्नुभयो। तर यहोवामाथिको तपाईँको विश्‍वास बढ्‌दै जानुपर्छ। अनि यहोवाले अहिले आफ्नो सङ्‌गठनलाई चलाइरहनुभएको छ भन्‍ने कुरामा आफ्नो विश्‍वस्तता पनि बढाउँदै लैजानुपर्छ।

२-३. यहोवा आज आफ्नो सङ्‌गठनलाई कसरी डोऱ्‍याउँदै हुनुहुन्छ? केही उदाहरण दिनुहोस्‌।

आज यहोवाले आफ्नो सङ्‌गठनलाई डोऱ्‍याइरहनुभएको तरिकामा उहाँको व्यक्‍तित्व, उद्देश्‍य र स्तरहरू झल्किन्छ। उहाँको सङ्‌गठनमा देखिने उहाँका तीन वटा गुणबारे अब छलफल गरौँ।

पहिलो, परमेश्‍वर पक्षपाती हुनुहुन्‍न।”  (प्रेषि. १०:३४) प्रेमले उत्प्रेरित भएर यहोवाले “सबैका लागि फिरौतीस्वरूप” आफ्नो छोरालाई अर्पण गर्नुभयो। (१ तिमो. २:६; युह. ३:१६) यहोवा सकेसम्म धेरै मानिसले फिरौतीबाट लाभ उठाएको चाहनुहुन्छ। त्यसैले सुन्‍न चाहने सबैलाई सुसमाचार सुनाउन उहाँ आफ्ना जनहरूलाई चलाउँदै हुनुहुन्छ। दोस्रो, यहोवा व्यवस्थित र शान्तिका परमेश्‍वर हुनुहुन्छ। (१ कोरि. १४:३३, ४०) त्यसैले उहाँका उपासकहरूले पनि व्यवस्थित तरिकामा र शान्तिमा रहेर उहाँको सेवा गरेको आशा गर्न सकिन्छ। तेस्रो, यहोवा “महान्‌ शिक्षक” हुनुहुन्छ। (यसै. ३०:२०, २१) त्यसैले उहाँको सङ्‌गठनले मण्डली र प्रचारकार्य दुवैमा उहाँको प्रेरित वचनबाट सिकाउने कामलाई जोड दिन्छ। यहोवाको व्यक्‍तित्वका यी तीन वटा पक्ष प्रथम शताब्दीको ख्रिष्टियन मण्डलीमा कसरी प्रस्ट देखियो? आधुनिक समयमा पनि परमेश्‍वरका जनहरूले कसरी यी गुणहरू अनुकरण गरिरहेका छन्‌? अनि आज यहोवाको सङ्‌गठनसँगै मिलेर काम गर्दा पवित्र शक्‍तिले तपाईँलाई कसरी मदत गर्छ?

परमेश्‍वर पक्षपाती हुनुहुन्‍न

४. प्रेषित १:८ मा येसुले आफ्ना चेलाहरूलाई कस्तो आज्ञा दिनुभयो र तिनीहरूले कस्तो मदत पाउने थिए?

प्रथम शताब्दीमा। येसुले सुनाउनुभएको सन्देशले मानिसहरूमा आशा जगायो। (लुका ४:४३) उहाँले आफ्ना चेलाहरूलाई आफूले सुरु गरेको कामलाई निरन्तरता दिन र “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा” साक्षी दिन आज्ञा दिनुभयो। (प्रेषित १:८ पढ्‌नुहोस्‌) तिनीहरूले पक्कै पनि यो काम आफ्नै बलमा गर्न सक्ने थिएनन्‌। तिनीहरूलाई येसुले प्रतिज्ञा गर्नुभएको “मदतगार” अर्थात्‌ पवित्र शक्‍तिको आवश्‍यकता पर्ने थियो।—युह. १४:२६; जक. ४:६.

५-६. पवित्र शक्‍तिले येसुका चेलाहरूलाई कसरी मदत गऱ्‍यो?

येसुका चेलाहरूले इस्वी संवत्‌ ३३ पेन्तिकोसको दिन पवित्र शक्‍ति पाए। पवित्र शक्‍ति पाएपछि तिनीहरूले तुरुन्तै प्रचार गर्न थाले अनि छोटो समयमै हजारौँले सुसमाचार स्विकारे। (प्रेषि. २:४१; ४:४) खेदो आइपर्दा चेलाहरू डराएर पछि हटेनन्‌। बरु मदतको लागि परमेश्‍वरमा भर परे। तिनीहरूले यसरी प्रार्थना गरे: “आफ्ना सेवकहरूलाई अझ निर्भयी भएर तपाईँको वचन बोलिरहन मदत गर्नुहोस्‌।” त्यसपछि तिनीहरू पवित्र शक्‍तिले भरिए अनि “निडर भएर परमेश्‍वरको वचन बोल्न थाले।”—प्रेषि. ४:१८-२०, २९, ३१.

येसुका चेलाहरूले अरू चुनौतीको पनि सामना गर्नुपऱ्‍यो। जस्तै: त्यतिबेला धर्मशास्त्रका प्रतिहरू थोरै थिए। चेलाहरूसित अहिलेजस्तो धर्मशास्त्रलाई अझ राम्ररी बुझ्न मदत दिने सामग्रीहरू पनि थिएन। साथै तिनीहरूले विभिन्‍न भाषा बोल्ने मानिसहरूलाई प्रचार गर्नुपर्थ्यो। यस्ता चुनौतीको बाबजुद ती जोसिला चेलाहरूले असम्भवजस्तो देखिने काम पूरा गर्न सके; केही दशकभित्रै तिनीहरूले सुसमाचार “आकाशमुनि भएका सबै मानिसमाझ प्रचार” गरिसकेका थिए।—कल. १:६, २३.

७. सय वर्षभन्दा अघि नै यहोवाका जनहरूले उहाँले चाहनुहुने कुरा कसरी थाह पाए? तिनीहरूले के गरे?

आधुनिक समयमा। यहोवाले आज पनि आफ्ना जनहरूलाई डोऱ्‍याइरहनुभएको छ र बल दिइरहनुभएको छ। हामी त्यस्तो डोऱ्‍याइ मुख्यतया परमेश्‍वरको पवित्र शक्‍तिद्वारा लेखिएको वचन बाइबलमार्फत पाउँछौँ। बाइबलमा येसुले गर्नुभएको सेवाबारे अनि आफूले सुरु गरेको कामलाई निरन्तरता दिन उहाँले चेलाहरूलाई दिनुभएको आज्ञाबारे लेखिएको छ। (मत्ति २८:१९, २०) आजभन्दा धेरै वर्षअघि नै, जुलाई १८८१ अङ्‌कको प्रहरीधरहरा-मा (अङ्‌ग्रेजी) यसो भनिएको थियो: “अरूबाट आदर पाउन वा भौतिक सरसम्पत्ति जम्मा गर्न होइन, बरु आफैले खर्च गरेर र आफै खर्चिएर सुसमाचार प्रचार गर्न हामी बोलाइएका वा अभिषेक भएका हौँ।” सन्‌ १९१९ मा प्रकाशित जसलाई काम सुम्पिइएको छ (अङ्‌ग्रेजी) पुस्तिकामा यस्तो लेखिएको थियो: “यो काम अत्यन्तै कठिन देखिन्छ। तर यो काम हाम्रो होइन, प्रभुको हो। त्यसैले उहाँबाटै बल पाएर यो काम पूरा गर्नेछौँ।” हो, प्रथम शताब्दीका ख्रिष्टियनहरूले जस्तै ती भाइबहिनीले पनि प्रचारकार्यको लागि आफूलाई पूरै अर्पण गरे। सबै किसिमका मानिसलाई सुसमाचार प्रचार गर्न पवित्र शक्‍तिले मदत गर्नेछ भनेर तिनीहरू विश्‍वस्त थिए। आज हामी पनि त्यसरी नै विश्‍वस्त हुन चाहन्छौँ।

यहोवाको सङ्‌गठनले सुसमाचार फैलाउन उपलब्ध भएका सबैभन्दा राम्रा साधनहरू प्रयोग गरेको छ (अनुच्छेद ८-९ हेर्नुहोस्‌)

८-९. अझ व्यापक रूपमा प्रचार गर्न यहोवाको सङ्‌गठनले के-कस्ता तरिका प्रयोग गरेको छ?

यहोवाको सङ्‌गठनले सुसमाचार फैलाउन उपलब्ध भएका सबैभन्दा राम्रा साधनहरू प्रयोग गरेको छ। जस्तै: छापिएका प्रकाशनहरू, “सृष्टिसम्बन्धी फोटो-चलचित्र,” फोनोग्राफ, ध्वनि यन्त्र जोडिएको गाडी र रेडियो प्रसारण। अनि हालसालै चाहिँ डिजिटल प्रविधिहरू पनि प्रयोग गरिएका छन्‌। परमेश्‍वरको सङ्‌गठनले धेरैभन्दा धेरै भाषामा अनुवाद पनि गरिरहेको छ। किन? सबै किसिमका मानिसले आफ्नै भाषामा सुसमाचार सुन्‍न पाऊन्‌ भनेर। यहोवा पक्षपाती हुनुहुन्‍न; उहाँले सुसमाचार “हरेक राष्ट्र, कुल, भाषा र जातिलाई” घोषणा गरिनेछ भनेर भविष्यवाणी गर्नुभएको थियो। (प्रका. १४:६, ७) उहाँ राज्यको सन्देश सबै मानिसले सुनेको चाहनुहुन्छ।

तर केही मानिस कडा सुरक्षा भएका अपार्टमेन्टहरूमा बस्छन्‌। तिनीहरूलाई हामी कसरी सन्देश सुनाउन सक्छौँ? त्यस्ता मानिसहरूलाई सुसमाचार सुनाउन सकियोस्‌ भनेर यहोवाको सङ्‌गठनले विभिन्‍न किसिमको सार्वजनिक साक्षीकार्य सुरु गरेको छ। जस्तै: सन्‌ २००१ मा परिचालक निकायले फ्रान्समा र पछि अरू ठाउँहरूमा पनि साहित्य ट्रली राख्ने र अन्य तरिकामा साहित्यहरू प्रदर्शन गर्ने अनुमति दियो। नतिजा असाध्यै राम्रो भयो। सन्‌ २०११ मा साक्षी दिने एउटा नयाँ तरिका अमेरिकाको सबैभन्दा व्यस्त सहर न्यु योर्कमा सुरु गरिएको थियो। पहिलो वर्षमै १ लाख २ हजार १ सय २९ वटा किताब र ६८ हजार ९ सय ११ वटा पत्रिका वितरण गरियो। अनि ४ हजार ७ सय १ जनाले बाइबल अध्ययनको अनुरोध पठाए। पवित्र शक्‍तिले यस कामलाई सघाइरहेको छ भनेर प्रस्ट देखिन्थ्यो। त्यसैले परिचालक निकायले ट्रली राखेर र अन्य तरिकामा साहित्यहरू प्रदर्शन गरेर साक्षी दिन विश्‍वभरि नै अनुमति दियो।

१०. प्रचारकार्यमा अझ उन्‍नति गर्न हामी के गर्न सक्छौँ?

१० तपाईँ के गर्न सक्नुहुन्छ? यहोवाले ख्रिष्टियन सभाहरूमार्फत दिनुहुने तालिमबाट पूरापूर लाभ उठाउनुहोस्‌। आफ्नो क्षेत्र सेवा समूहसित नियमित रूपमा प्रचारकार्यमा भाग लिनुहोस्‌। समूहका अरू भाइबहिनीले तपाईँलाई अझ राम्रो प्रचारक र शिक्षक हुन मदत गर्नेछन्‌। साथै तपाईँले अरूको असल उदाहरणबाट प्रोत्साहन पाउनुहुनेछ। जस्तोसुकै अवस्थामा पनि प्रचारकार्यमा लागिरहनुहोस्‌। यस लेखको मुख्य शास्त्रपदले सम्झाएझैँ हामी आफ्नै बलमा होइन तर पवित्र शक्‍तिको मदतले परमेश्‍वरको इच्छा पूरा गर्न सक्छौँ। (जक. ४:६) किनकि हामीले परमेश्‍वरकै काम गरिरहेका छौँ।

यहोवा व्यवस्थित र शान्तिका परमेश्‍वर हुनुहुन्छ

११. परमेश्‍वरका जनहरूमाझ भएको सुव्यवस्था कायम राख्न प्रथम शताब्दीको परिचालक निकायले कसरी एकताबद्ध भएर काम गऱ्‍यो?

११ प्रथम शताब्दीमा। परमेश्‍वरका जनहरूमाझ भएको शान्ति र सुव्यवस्था कायम राख्न यरुसलेममा भएको परिचालक निकायले एकताबद्ध भएर काम गऱ्‍यो। (प्रेषि. २:४२) उदाहरणको लागि, इस्वी संवत्‌ ४९ मा खतनासम्बन्धी विवाद उठ्‌दा परिचालक निकायले पवित्र शक्‍तिको डोऱ्‍याइमा यस मामिलाबारे राम्ररी छलफल गऱ्‍यो। यस विवादले गर्दा मण्डली विभाजित अवस्थामै रहिरहेको भए प्रचारकार्यमा बाधा पुग्ने थियो। ती प्रेषितहरू र एल्डरहरू यहुदी थिए। तैपनि तिनीहरूले यहुदी रीतिथितिको प्रभावमा परेर वा त्यसका कट्टर समर्थकहरूको बहकाउमा परेर निर्णय गरेनन्‌। बरु तिनीहरूले परमेश्‍वरको वचन र उहाँको पवित्र शक्‍तिको डोऱ्‍याइ खोजे। (प्रेषि. १५:१, २, ५-२०, २८) यसको नतिजा कस्तो भयो? यहोवाले तिनीहरूलाई सही निर्णय गर्न मदत गर्नुभयो, मण्डलीमा शान्ति र एकता छायो अनि प्रचारकार्य अघि बढ्यो।—प्रेषि. १५:३०, ३१; १६:४, ५.

१२. यहोवाको सङ्‌गठनमा आज पनि शान्ति र सुव्यवस्था छ भनेर केले देखाउँछ?

१२ आधुनिक समयमा। यहोवाको सङ्‌गठनले परमेश्‍वरका जनहरूमाझ शान्ति र सुव्यवस्था कायम राख्न प्रयास गरिरहेको छ। धेरै वर्षअघि नै, सन्‌ १८९५ मा सियोनको प्रहरीधरहरा (अङ्‌ग्रेजी) पत्रिकाको नोभेम्बर १५ अङ्‌कमा १ कोरिन्थी १४:४० मा आधारित यस्तो शीर्षकको लेख छापिएको थियो: “शिष्टतासाथ अनि व्यवस्थित ढङ्‌गमा।” उक्‍त लेखमा यस्तो लेखिएको थियो: “प्रेषितहरूले सुव्यवस्था कायम गर्ने विषयमा सुरुसुरुको ख्रिष्टियन मण्डलीलाई थुप्रै कुरा लेखे। . . . ती कुराहरू होसियारीसाथ पालन गर्नु बेस हो किनकि ‘पहिले लेखिएका सबै कुरा हाम्रो शिक्षाका लागि लेखिएका हुन्‌।’” (रोमी १५:४) हो, सुरुसुरुका ख्रिष्टियनहरूले जस्तै आज पनि यहोवाको सङ्‌गठनले शान्ति र सुव्यवस्था कायम गर्न प्रयास गरिरहेको स्पष्टै देखिन्छ। एउटा उदाहरण विचार गरौँ। मानौँ, तपाईँ अर्को मण्डलीमा वा अर्कै देशमा प्रहरीधरहरा अध्ययनमा उपस्थित हुनुभयो। तपाईँलाई छलफल कसरी गरिन्छ अनि कुन लेख छलफल गरिन्छ भनेर थाह हुन्छ। तपाईँलाई आफ्नै मण्डलीमा भएको जस्तो महसुस हुन्छ! परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइ नहुने हो भने यस्तो एकता कसरी सम्भव हुन्थ्यो र!—सप. ३:९, फुटनोट।

१३. याकुब ३:१७ लाई मनमा राख्दै हामीले आफैलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ?

१३ तपाईँ के गर्न सक्नुहुन्छ? यहोवा आफ्ना जनहरू “शान्तिको बन्धनमा बाँधिएर पवित्र शक्‍तिद्वारा पाइने एकतामा” रहेको चाहनुहुन्छ। (एफि. ४:१-३) त्यसैले आफैलाई सोध्नुहोस्‌: ‘के म मण्डलीको शान्ति र एकता कायम राख्न प्रयास गर्छु? के म नेतृत्व लिइरहेका भाइहरूप्रति आज्ञाकारी छु? के अरू भाइबहिनीले मलाई भरोसा गर्न सक्छन्‌? अझ विशेषगरि मैले मण्डलीमा जिम्मेवारीहरू सम्हालिरहेको छु भने नि? के म समयनिष्ठ, मदतकारी र अरूको सेवा गर्न इच्छुक छु?’ (याकुब ३:१७ पढ्‌नुहोस्‌) आफूले उन्‍नति गर्नुपर्ने ठाउँ देख्नुभयो भने प्रार्थनामा पवित्र शक्‍ति माग्नुहोस्‌। आफ्नो व्यक्‍तित्व र व्यवहारलाई जति धेरै पवित्र शक्‍तिको प्रभावमा पर्न दिनुहुन्छ, भाइबहिनीले तपाईँलाई त्यति नै धेरै माया गर्नेछन्‌ र बहुमूल्य ठान्‍नेछन्‌।

यहोवा हामीलाई सिकाउनुहुन्छ र आवश्‍यक कुराहरू दिनुहुन्छ

१४. कलस्सी १:९, १० अनुसार प्रथम शताब्दीमा यहोवाले आफ्ना जनहरूलाई कसरी सिकाउनुभयो?

१४ प्रथम शताब्दीमा। आफ्ना जनहरूलाई सिकाउन पाउँदा यहोवालाई खुसी लाग्छ। (भज. ३२:८) तिनीहरूले उहाँलाई चिनेको, प्रेम गरेको र तिनीहरू उहाँका प्रिय छोराछोरीको रूपमा सधैँभरि बाँचेको यहोवा चाहनुहुन्छ। उहाँले हामीलाई शिक्षा नदिनुभएको भए यी सब सम्भव हुने थिएन। (युह. १७:३) प्रथम शताब्दीमा यहोवाले आफ्ना जनहरूलाई सिकाउन ख्रिष्टियन मण्डलीलाई चलाउनुभयो। (कलस्सी १:९, १० पढ्‌नुहोस्‌) येसुले प्रतिज्ञा गर्नुभएको “मदतगार” अर्थात्‌ पवित्र शक्‍तिले महत्त्वपूर्ण भूमिका खेल्यो। (युह. १४:१६) यसले चेलाहरूलाई परमेश्‍वरको वचन अझ राम्ररी बुझ्न अन्तर्दृष्टि दियो। साथै यसले तिनीहरूलाई येसुले भन्‍नुभएका र गर्नुभएका कुराहरू सम्झन मदत गऱ्‍यो, जुन कुराहरू पछि सुसमाचारका किताबहरूमा रेकर्ड गरियो। यस्तो ज्ञानले ती ख्रिष्टियनहरूलाई आफ्नो विश्‍वासका साथै परमेश्‍वर, उहाँको छोरा अनि एकअर्काप्रतिको प्रेम बलियो बनाउन मदत गऱ्‍यो।

१५. तपाईँले यसैया २:२, ३ मा गरिएको प्रतिज्ञा कुन-कुन तरिकामा पूरा भइरहेको देख्नुभएको छ?

१५ आधुनिक समयमा। “आखिरी समयमा” सबै राष्ट्रका मानिसहरू उहाँका स्तरहरूबारे सिक्न प्रतीकात्मक डाँडामा ओइरिनेछन्‌ भनेर यहोवाले भविष्यवाणी गर्नुभएको थियो। (यसैया २:२, ३ पढ्‌नुहोस्‌) आज हामीले त्यो भविष्यवाणी पूरा भइरहेको देखेका छौँ। साँचो उपासना सबै किसिमको झूटो उपासनाभन्दा माथि उठाइएको छ। यहोवाले हाम्रो लागि कत्ति भव्य आध्यात्मिक भोज दिइरहनुभएको छ! (यसै. २५:६) “विश्‍वासी र बुद्धिमान्‌ दास”-मार्फत उहाँले हामीलाई केवल प्रशस्त मात्रामा होइन, थरीथरीका आध्यात्मिक भोजन दिइरहनुभएको छ। (मत्ति २४:४५) हामीले विभिन्‍न विषयका लेखहरू र भाषणहरूका साथै डिजिटल एनिमेसन र भिडियोहरूबाट पनि लाभ उठाइरहेका छौँ। हामी पनि अय्युबका साथी एलिहुले जस्तै महसुस गर्छौँ, जसले यसो भने: “[परमेश्‍वरले] जस्तै सिकाउन सक्ने अरू को छ?”—अय्यु. ३६:२२.

बाइबलको सत्य आफ्नो मनसम्म पुग्न दिनुहोस्‌ र ती आफ्नो जीवनमा लागू गर्नुहोस्‌ (अनुच्छेद १६ हेर्नुहोस्‌) *

१६. आध्यात्मिक रूपमा बढ्‌दै जान तपाईँ के गर्न सक्नुहुन्छ?

१६ तपाईँ के गर्न सक्नुहुन्छ? परमेश्‍वरको पवित्र शक्‍तिले तपाईँलाई परमेश्‍वरको वचनमा पढेका कुराहरू जीवनमा लागू गर्न मदत गर्नेछ। भजनरचयिताले जस्तै यसरी प्रार्थना गर्नुहोस्‌: “हे यहोवा, मलाई तपाईँको मार्गबारे सिकाउनुहोस्‌। म तपाईँको सत्यको मार्गमा हिँड्‌नेछु। तपाईँको नामको डर मान्‍न मेरो हृदयलाई एकाग्र पार्नुहोस्‌।” (भज. ८६:११) त्यसैले यहोवाले आफ्नो वचन र सङ्‌गठनमार्फत प्रबन्ध गर्नुभएको आध्यात्मिक भोजन लिइरहनुहोस्‌। तर तपाईँको लक्ष्य ज्ञान लिने मात्र हुनु हुँदैन। तपाईँ बाइबलको सत्य आफ्नो मनसम्म पुगेको चाहनुहुन्छ र ती आफ्नो जीवनमा लागू गर्न चाहनुहुन्छ। यहोवाको पवित्र शक्‍तिले तपाईँलाई त्यसो गर्न मदत दिन्छ। तपाईँ आफ्ना भाइबहिनीलाई प्रोत्साहन दिन पनि चाहनुहुन्छ। (हिब्रू १०:२४, २५) किन? किनकि तिनीहरू तपाईँको आध्यात्मिक परिवार हुन्‌। सभाहरूमा मनैदेखि टिप्पणी दिन र आफूले पाएको असाइनमेन्ट राम्ररी पूरा गर्न पवित्र शक्‍तिको लागि प्रार्थना गर्नुहोस्‌। यसरी तपाईँले यहोवाको र उहाँको छोरा येसुको बहुमूल्य “भेडा”-लाई माया गरेको देखाइरहनुभएको हुनेछ।—युह. २१:१५-१७.

१७. यहोवाको सङ्‌गठनलाई वफादार भई समर्थन गरेको तपाईँ कसरी देखाउन सक्नुहुन्छ?

१७ अब चाँडै पृथ्वीमा यहोवाको सङ्‌गठन मात्र बाँकी रहनेछ, जसलाई उहाँको पवित्र शक्‍तिले डोऱ्‍याइरहेको छ। त्यसैले यहोवाको सङ्‌गठनसँग मिलेर जोसका साथ काम गरिरहनुहोस्‌। आफूले भेट्‌ने सबैलाई सुसमाचार प्रचार गरेर यहोवाको प्रेम र निष्पक्षताको देखासिकी गर्नुहोस्‌। मण्डलीको एकतामा योगदान दिएर यहोवाजस्तै शान्ति र सुव्यवस्था कायम राख्न अग्रसर हुनुहोस्‌। अनि उहाँले हाम्रो लागि प्रबन्ध गर्नुभएको आध्यात्मिक भोजबाट पूरापूर लाभ उठाएर महान्‌ शिक्षक यहोवाको कुरा सुनिरहनुहोस्‌। यसो गर्नुभयो भने सैतानको संसार नाश हुँदा तपाईँ डराउनुहुनेछैन। बरु यहोवाको सङ्‌गठनसित मिलेर वफादार भई सेवा गरिरहेकाहरूसँग निर्धक्क भई खडा हुनुहुनेछ।

गीत ३ हाम्रो बल, हाम्रो आशा, हाम्रो भरोसा

^ अनु. 5 यहोवा अहिले आफ्नो सङ्‌गठनलाई डोऱ्‍याउँदै हुनुहुन्छ भन्‍ने कुरामा के तपाईँ विश्‍वस्त हुनुहुन्छ? यस लेखमा यहोवाले प्रथम शताब्दीको ख्रिष्टियन मण्डलीलाई कसरी डोऱ्‍याउनुभयो अनि अहिले पनि उहाँले आफ्ना जनहरूलाई कसरी डोऱ्‍याउँदै हुनुहुन्छ भनेर छलफल गर्नेछौँ।

^ अनु. 1 थप व्याख्या: यहोवाको विशाल सङ्‌गठनको दुइटा भाग छ—पृथ्वीमा रहेको भाग र स्वर्गमा रहेको भाग। यस लेखमा “सङ्‌गठन” शब्दले पृथ्वीमा रहेको भागलाई बुझाउँछ।

^ अनु. 52 चित्रको व्याख्या: आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गरिरहेकाहरूको भिडियो हेरेपछि एक अग्रगामी बहिनी त्यस्तै लक्ष्य राख्छिन्‌। तिनी आफ्नो लक्ष्यअनुसारै आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्न जान्छिन्‌।