सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४४

के तिनीहरूले ठूलो भएपछि परमेश्‍वरको सेवा गर्नेछन्‌?

के तिनीहरूले ठूलो भएपछि परमेश्‍वरको सेवा गर्नेछन्‌?

“येसु झन्‌झन्‌ बुद्धिमान्‌ हुँदै अनि हुर्कँदै जानुभयो र उहाँले परमेश्‍वर अनि मानिसहरूको अनुग्रह पनि झन्‌झन्‌ पाउँदै जानुभयो।”—लुका २:५२.

गीत १३४ छोराछोरी—यहोवाको नासो

परिचय *

१. हामीले गर्न सक्ने सबैभन्दा उत्कृष्ट निर्णय कुन हो?

आमाबुबाले गर्ने छनौटहरूले अक्सर छोराछोरीलाई पछिसम्म असर गर्छ। आमाबुबाले गलत छनौटहरू गरे भने छोराछोरीले समस्या भोग्नुपर्ने हुन सक्छ। तर बुद्धिमानी छनौटहरू गरे भने तिनीहरूले छोराछोरीलाई आनन्दित र सन्तोषजनक जीवन बिताउने मौका दिइरहेका हुन्छन्‌। अर्कोतर्फ, छोराछोरीले पनि राम्रा निर्णयहरू गर्नुपर्छ। हामीले गर्न सक्ने सबैभन्दा उत्कृष्ट निर्णय भनेको स्वर्गमा बस्नुहुने हाम्रा मायालु बुबा यहोवाको सेवा गर्नु हो।—भज. ७३:२८.

२. येसु र उहाँका आमाबुबाले कस्ता राम्रा छनौटहरू गर्नुभयो?

येसुका आमाबुबा आफ्ना छोराछोरीलाई यहोवाको सेवा गर्न मदत दिन चाहन्थे। अनि यो नै उनीहरूको जीवनको मुख्य लक्ष्य थियो भनेर उनीहरूका छनौटहरूबाट देखियो। (लुका २:४०, ४१, ५२) त्यसैगरि येसुले पनि राम्रा छनौटहरू गर्नुभयो, जसले उहाँलाई यहोवाको उद्देश्‍यमा आफ्नो भूमिका पूरा गर्न मदत गऱ्‍यो। (मत्ति ४:१-१०) ठूलो भएपछि येसु दयालु, वफादार र साहसी पुरुष बन्‍नुभयो। परमेश्‍वरको डर मान्‍ने आमाबुबाको लागि आफ्ना छोराछोरी पनि येसुजस्तै असल भएको हेर्न पाउनु साँच्चै गर्व र आनन्दको कुरा हुनेछ।

३. यस लेखमा हामी कस्ता प्रश्‍नहरूबारे छलफल गर्नेछौँ?

यस लेखमा हामी यी प्रश्‍नहरूबारे छलफल गर्नेछौँ: येसुको सन्दर्भमा यहोवाले कस्ता राम्रा छनौटहरू गर्नुभयो? येसुका मानव आमाबुबाले गरेका छनौटहरूबाट ख्रिष्टियन आमाबुबाले के सिक्न सक्छन्‌? येसुले गर्नुभएका छनौटहरूबाट ख्रिष्टियन युवायुवतीले कस्तो पाठ सिक्न सक्छन्‌?

यहोवाबाट सिक्नुहोस्‌

४. आफ्नो छोराको सन्दर्भमा यहोवाले कुन महत्त्वपूर्ण छनौट गर्नुभयो?

यहोवाले येसुको आमाबुबा बन्‍न असल पुरुष र स्त्रीलाई रोज्नुभयो। (मत्ति १:१८-२३; लुका १:२६-३८) बाइबलमा रेकर्ड गरिएको मरियमका मनै छुने अभिव्यक्‍तिहरू विचार गर्दा उनी यहोवा र उहाँको वचनलाई असाध्यै माया गर्थिन्‌ भन्‍न सकिन्छ। (लुका १:४६-५५) अनि युसुफले यहोवाका निर्देशनहरू पालन गरेको कुराबाट तिनी परमेश्‍वरको डर मान्थे र उहाँलाई खुसी तुल्याउन चाहन्थे भन्‍ने देखिन्छ।—मत्ति १:२४.

५-६. यहोवाले आफ्नो छोरालाई कस्ता कुराहरू भोग्न दिनुभयो?

यो कुरा याद गर्नुहोस्‌, यहोवाले येसुको आमाबुबा बन्‍न धनाढ्य व्यक्‍तिहरू रोज्नुभएन। येसुको जन्म भएपछि युसुफ र मरियमले चढाएको बलिदानलाई विचार गर्दा तिनीहरू गरिब थिए भन्‍ने देखिन्छ। (लुका २:२४) युसुफ नासरतमा सिकर्मीको काम गर्थे र सायद घरको छेवैमा तिनको एउटा सानो कारखाना थियो। युसुफ र मरियमका कम्तीमा सात जना छोराछोरी थिए। त्यसैले परिवार ठूलो हुँदै जाँदा सायद तिनीहरूले झनै सरल जीवन बिताउनुपऱ्‍यो।—मत्ति १३:५५, ५६.

यहोवाले येसुलाई केही खतराबाट जोगाउनुभयो। तर उहाँले आफ्नो छोरालाई कतिपय समस्याहरू भोग्न दिनुभयो। (मत्ति २:१३-१५) जस्तै: येसुले उहाँमाथि विश्‍वास नगर्ने आफन्तहरूसित उठबस गर्नुपर्थ्यो। येसुको आफ्नै परिवारका कोही-कोही सदस्यले सुरुमा उहाँ मसीह हुनुहुन्छ भनेर स्विकारेनन्‌। यसले गर्दा उहाँ कत्ति निराश हुनुभयो होला, सोच्नुहोस्‌ त! (मर्कु. ३:२१; युह. ७:५) त्यसैगरि येसुले आफ्नो बुबा युसुफको मृत्युको पीडा पनि सहनुपऱ्‍यो। येसु परिवारको जेठो छोरा हुनुभएकोले बुबाको मृत्युपछि सायद उहाँले नै परिवारको व्यवसाय हेर्नुपऱ्‍यो। (मर्कु. ६:३) हुर्कँदै जाँदा येसुले आफ्नो परिवारको राम्ररी हेरविचार गर्न सिक्नुभयो। परिवारको हातमुख जोर्न उहाँले निक्कै पसिना बगाउनुभयो होला। त्यसैले दिनभरि काममा जोतिएपछि बेलुकी कति थकाइ लाग्छ भन्‍ने कुरा उहाँ आफैले अनुभव गर्नुभयो।

आमाबुबा हो, छोराछोरीलाई जीवनमा कस्ता कुराहरू भोग्नुपर्ने हुन्छ भनेर बुझाउनुहोस्‌ अनि सही डोऱ्‍याइको लागि परमेश्‍वरको वचनमा कसरी भर पर्ने भनेर सिकाउनुहोस्‌ (अनुच्छेद ७ हेर्नुहोस्‌) *

७. (क) छोराछोरी हुर्काउने सन्दर्भमा विवाहित दम्पतीले आफैलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ? (ख) छोराछोरीलाई सिकाउन हितोपदेश २:१-६ मा पाइने सल्लाहले कसरी मदत गर्छ?

तपाईँ विवाहित हुनुहुन्छ र छोराछोरी जन्माउन चाहनुहुन्छ भने आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘के हामी नम्र छौँ र आध्यात्मिक कुराहरूको मोल गर्छौँ? के यहोवाले हामीलाई एउटा नवजात शिशुको हेरचाह गर्न रोज्नुहुनेछ?’ (भज. १२७:३, ४) अथवा तपाईँ आमा वा बुबा हुनुहुन्छ भने आफैलाई सोध्नुहोस्‌: ‘के मैले छोराछोरीलाई कडा परिश्रम गर्न सिकाइरहेको छु?’ (उप. ३:१२, १३) ‘के मैले छोराछोरीलाई सैतानको यस संसारमा सामना गर्नुपर्ने शारीरिक र नैतिक हानिबाट जोगाउन सक्दो गरिरहेको छु?’ (हितो. २२:३) तपाईँ छोराछोरीलाई उनीहरूले सामना गर्नुपर्ने सबै समस्याबाट जोगाउन सक्नुहुन्‍न। यसो गर्न असम्भव छ! तर तपाईँ उनीहरूलाई जीवनमा कस्ता कुराहरू भोग्नुपर्ने हुन्छ भनेर बिस्तारै र मायालु तरिकामा बुझाउन अनि सही डोऱ्‍याइको लागि परमेश्‍वरको वचनमा कसरी भर पर्ने भनेर सिकाउन सक्नुहुन्छ। (हितोपदेश २:१-६ पढ्‌नुहोस्‌) उदाहरणको लागि, परिवारको सदस्य वा आफन्तले यहोवाको सेवा नगर्ने छनौट गरेमा छोराछोरीलाई वफादार भई यहोवाको सेवा गरिरहनु किन महत्त्वपूर्ण छ भनेर बाइबलबाटै बुझाउनुहोस्‌। (भज. ३१:२३) अथवा आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा उनीहरूलाई शोक सहन र मनोशान्ति पाउन मदत गर्ने बाइबलका पदहरू देखाउनुहोस्‌।—२ कोरि. १:३, ४; २ तिमो. ३:१६.

युसुफ र मरियमबाट सिक्नुहोस्‌

८. व्यवस्था ६:६, ७ अनुसार युसुफ र मरियमले के गर्नुपर्ने थियो?

युसुफ र मरियमको राम्रो लालनपालनले गर्दा येसुले यहोवाको अनुमोदन पाउन सक्नुभयो; यहोवाले आमाबुबालाई दिनुभएका निर्देशनहरू तिनीहरूले पालन गरे। (व्यवस्था ६:६, ७ पढ्‌नुहोस्‌) युसुफ र मरियम यहोवालाई धेरै प्रेम गर्थे अनि तिनीहरूको लक्ष्य भनेको छोराछोरीलाई पनि त्यस्तै प्रेम विकास गर्न मदत दिनु थियो।

९. युसुफ र मरियमले कस्ता महत्त्वपूर्ण छनौटहरू गरे?

युसुफ र मरियमले परिवारै मिलेर आध्यात्मिक गतिविधिमा नियमित रूपमा भाग लिने छनौट गरे। तिनीहरू हरेक हप्ता नासरतको सभाघरमा उपस्थित हुन्थे र हरेक वर्ष निस्तार चाड मनाउन यरुसलेम जान्थे भन्‍ने कुरामा कुनै शङ्‌का छैन। (लुका २:४१; ४:१६) परिवारै मिलेर यरुसलेमको यात्रामा निस्कँदा युसुफ र मरियमले बाटोमा येसु र अरू छोराछोरीलाई यहोवाका जनहरूको इतिहासबारे बताउने गरेको हुनुपर्छ। यात्राको क्रममा सायद तिनीहरू धर्मशास्त्रमा उल्लेख गरिएका ठाउँहरू पनि घुम्न जान्थे। परिवार ठूलो हुँदै जाँदा युसुफ र मरियमलाई राम्रो आध्यात्मिक तालिका कायम गर्न पक्कै सजिलो भएन होला। तर यसो गरेकोमा तिनीहरूको परिवारले कत्ति लाभ उठाए नि, होइन र? यहोवाको उपासनालाई पहिलो स्थानमा राखेकोले तिनीहरूको परिवार आध्यात्मिक रूपमा बलियो रहिरह्‍यो।

१०. ख्रिष्टियन आमाबुबाले युसुफ र मरियमबाट के सिक्न सक्छन्‌?

१० परमेश्‍वरको डर मान्‍ने आमाबुबाले युसुफ र मरियमबाट के सिक्न सक्छन्‌? सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईँ यहोवालाई धेरै प्रेम गर्नुहुन्छ भन्‍ने कुरा छोराछोरीलाई आफ्नो बोली र कामद्वारा देखाउनुहोस्‌। तपाईँले उनीहरूलाई दिन सक्ने सबैभन्दा ठूलो उपहार भनेको यहोवालाई प्रेम गर्न मदत दिनु हो भन्‍ने कुरा नबिर्सनुहोस्‌। तपाईँले उनीहरूलाई सिकाउन सक्ने एउटा बहुमूल्य पाठ भनेको अध्ययन, प्रार्थना, सभा र प्रचारकार्यजस्ता आध्यात्मिक गतिविधिको राम्रो तालिका कसरी कायम गर्ने भनेर देखाउनु हो। (१ तिमो. ६:६) हुनत तपाईँले छोराछोरीको लागि भौतिक कुराहरूको प्रबन्ध पनि गर्नुपर्छ। (१ तिमो. ५:८) तर यो कुरा सधैँ मनमा राख्नुहोस्‌: यस युगको विनाशबाट बच्न र नयाँ संसारसम्म पुग्न उनीहरूलाई मदत गर्ने कुरा भनेको यहोवासितको घनिष्ठ सम्बन्ध हो, भौतिक कुराहरू होइन। *इज. ७:१९; १ तिमो. ४:८.

ख्रिष्टियन आमाबुबाले आफ्ना छोराछोरीलाई यहोवासित नजिक हुन मदत गरिरहेको देख्न पाउँदा हाम्रो मनै छुन्छ! (अनुच्छेद ११ हेर्नुहोस्‌) *

११. (क) पहिलो तिमोथि ६:१७-१९ मा पाइने सल्लाहले छोराछोरी हुर्काइरहेका आमाबुबालाई राम्रा छनौटहरू गर्न कसरी मदत गर्छ? (ख) तपाईँको परिवारले कस्ता लक्ष्यहरू राख्न सक्छ अनि यसो गर्दा कस्ता आशिष्‌हरू पाइन्छ? (“ तपाईँ कस्ता लक्ष्यहरू राख्न सक्नुहुन्छ?” भन्‍ने पेटी हेर्नुहोस्‌।)

११ थुप्रै ख्रिष्टियन आमाबुबाले आफ्ना छोराछोरीलाई यहोवासित नजिक हुन मदत गरिरहेको देख्न पाउँदा हाम्रो मनै छुन्छ! तिनीहरू परिवारै मिलेर नियमित रूपमा यहोवाको उपासना गर्छन्‌। तिनीहरू मण्डलीका सभाहरू र अधिवेशनहरूमा उपस्थित हुन्छन्‌। अनि प्रचारकार्यमा पनि भाग लिन्छन्‌। केही परिवार भने कहिलेकाहीँ मात्र प्रचार गरिएको इलाकामा प्रचार गर्न जान्छन्‌। अरू भने बेथेल घुम्न जान्छन्‌ वा यहोवाको उपासनासित सम्बन्धित निर्माण परियोजनामा सघाउँछन्‌। यस्ता गतिविधिमा भाग लिने छनौट गरेका परिवारहरूले पक्कै पनि पैसा खर्च गर्नुपर्ने हुन्छ र यसो गर्न सजिलो नहोला। तर यस्ता गतिविधिमा भाग लिँदा तिनीहरू आध्यात्मिक रूपमा भने धनी हुन सक्छन्‌। (१ तिमोथि ६:१७-१९ पढ्‌नुहोस्‌) यस्तो परिवारमा हुर्केका छोराछोरीले ठूलो भएपछि पनि अक्सर यस्तो राम्रो बानी त्याग्दैनन्‌ र आमाबुबाले आफूलाई यसरी हुर्काएकोमा खुसी हुन्छन्‌। *हितो. १०:२२.

येसुबाट सिक्नुहोस्‌

१२. हुर्कँदै जाँदा येसुले के गर्नुपर्ने थियो?

१२ येसुको स्वर्गमा बस्नुहुने बुबा यहोवा सधैँ राम्रा छनौटहरू गर्नुहुन्छ अनि येसुका मानव आमाबुबाले पनि बुद्धिमानी निर्णयहरू गरे। तर हुर्कँदै जाँदा येसुले आफ्नो लागि आफै छनौटहरू गर्नुपर्ने थियो। (गला. ६:५) किनकि हामीसित जस्तै उहाँसित पनि छनौट गर्ने स्वतन्त्रता थियो। उहाँले आफूलाई जे मन लाग्छ, त्यही गर्न सक्नुहुन्थ्यो। तर उहाँले यहोवासित राम्रो सम्बन्ध कायम राख्ने छनौट गर्नुभयो। (युह. ८:२९) आज ख्रिष्टियन युवायुवतीले उहाँको उदाहरणबाट के सिक्न सक्छन्‌?

युवायुवती हो, आमाबुबाको निर्देशनलाई कहिल्यै तिरस्कार नगर्नुहोस्‌ (अनुच्छेद १३ हेर्नुहोस्‌) *

१३. ठिटो छँदा येसुले कस्तो महत्त्वपूर्ण छनौट गर्नुभयो?

१३ ठिटो छँदा येसुले आफ्ना आमाबुबाको अधीनमा बस्ने छनौट गर्नुभयो। उहाँले आफ्ना आमाबुबाको निर्देशनलाई कहिल्यै तिरस्कार गर्नुभएन न त उहाँले आमाबुबालाई भन्दा आफूलाई धेरै थाह छ भनेर तर्क नै गर्नुभयो। बरु उहाँ “तिनीहरूप्रति आज्ञाकारी भइरहनुभयो।” (लुका २:५१) परिवारको जेठो छोराको रूपमा येसुले आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्नुभयो भन्‍ने कुरामा कुनै शङ्‌का छैन। उहाँले आफ्नो मानव बुबासित काम सिक्न पक्कै धेरै मेहनत गर्नुभयो, जसले गर्दा उहाँले परिवारलाई आर्थिक तवरमा सघाउन सक्नुभयो।

१४. येसु परमेश्‍वरको वचन गहिरिएर अध्ययन गर्नुहुन्थ्यो भनेर हामी किन भन्‍न सक्छौँ?

१४ येसुका आमाबुबाले उहाँको जन्म एउटा चमत्कार थियो भनेर उहाँलाई बताएको हुनुपर्छ। साथै उहाँको विषयमा परमेश्‍वरका सन्देशवाहकहरूले भनेको कुरा पनि बताएको हुनुपर्छ। (लुका २:८-१९, २५-३८) तर येसु आफूले सुनेको कुरामा मात्रै चित्त बुझाएर बस्नुभएन। बरु उहाँले आफूबारे धर्मशास्त्रमा लेखिएका कुराहरू राम्ररी अध्ययन पनि गर्नुभयो। येसु परमेश्‍वरको वचन गहिरिएर अध्ययन गर्नुहुन्थ्यो भनेर हामी किन भन्‍न सक्छौँ? किनकि उहाँ ठिटै छँदा यरुसलेमका शिक्षकहरू ‘उहाँको जवाफ अनि समझशक्‍ति देखेर छक्क परेका थिए।’ (लुका २:४६, ४७) यहोवा आफ्नो बुबा हुनुहुन्छ भन्‍ने कुरामा येसु बाह्र वर्षको उमेरमै विश्‍वस्त भइसक्नुभएको थियो।—लुका २:४२, ४३, ४९.

१५. यहोवाको इच्छाअनुसार चल्ने छनौट गरेको कुरा येसुले कसरी देखाउनुभयो?

१५ येसुले यहोवाको उद्देश्‍यमा आफ्नो भूमिका बुझेपछि त्यो असाइनमेन्ट स्विकार्ने छनौट गर्नुभयो। (युह. ६:३८) आफूलाई थुप्रै मानिसले घृणा गर्नेछन्‌ भनेर उहाँलाई थाह थियो। यो कुरा सोच्दा उहाँको मनै भारी भएको हुनुपर्छ। तैपनि उहाँले यहोवाप्रति आज्ञाकारी हुने छनौट गर्नुभयो। येसुले इस्वी संवत्‌ २९ मा बप्तिस्मा गर्नुहुँदा उहाँको जीवनको मुख्य लक्ष्य भनेको यहोवाको इच्छाअनुसार चल्नु थियो। (हिब्रू १०:५-७) यातनाको खम्बामा मृत्युदण्ड भोग्नुपर्दा समेत आफ्नो बुबाको इच्छा पूरा गर्न उहाँ दृढ हुनुहुन्थ्यो।—युह. १९:३०.

१६. छोराछोरीले येसुबाट सिक्न सक्ने एउटा पाठ के हो?

१६ आमाबुबाप्रति आज्ञाकारी हुनुहोस्‌। युसुफ र मरियमजस्तै तपाईँका आमाबुबा पनि त्रुटिपूर्ण छन्‌। तर तपाईँलाई सुरक्षा, तालिम र डोऱ्‍याइ दिने जिम्मेवारी यहोवाले तपाईँका आमाबुबालाई दिनुभएको छ। तपाईँले तिनीहरूको कुरा सुन्‍नुभयो र तिनीहरूको अख्तियारको आदर गर्नुभयो भने तपाईँकै “भलो” हुनेछ।—एफि. ६:१-४.

१७. यहोसु २४:१५ अनुसार युवायुवतीले आफ्नो लागि कस्तो निर्णय गर्नुपर्ने हुन्छ?

१७ कसको सेवा गर्ने भनी निर्णय गर्नुहोस्‌। यहोवा को हुनुहुन्छ, उहाँको उद्देश्‍यमा के-कस्ता कुरा समावेश छन्‌ अनि तपाईँ कसरी उहाँको इच्छा पूरा गर्न सक्नुहुन्छ भनी राम्ररी मनन गर्नुहोस्‌। (रोमी १२:२) तब तपाईँले आफ्नो जीवनमा सबैभन्दा महत्त्वपूर्ण निर्णय गर्न सक्नुहुनेछ र त्यो हो, यहोवाको सेवा गर्ने निर्णय। (यहोसु २४:१५ पढ्‌नुहोस्‌; उप. १२:१) नियमित रूपमा बाइबल पढ्‌ने र अध्ययन गर्ने बानी बसाल्नुभयो भने यहोवाप्रतिको तपाईँको प्रेम बढ्‌दै जानेछ अनि उहाँमाथिको विश्‍वास पनि बलियो हुनेछ।

१८. युवायुवतीले गर्नुपर्ने एउटा छनौट कुन हो र यसो गर्दा नतिजा कस्तो हुनेछ?

१८ यहोवाको इच्छालाई पहिलो स्थानमा राख्ने छनौट गर्नुहोस्‌। सैतानको संसारले तपाईँले आफ्नो खुबी आफ्नै फाइदाको लागि चलाउनुभयो भने तपाईँ खुसी हुनुहुनेछ भनी सिकाउँछ। तर वास्तविकता के हो भने, भौतिक कुराहरू हासिल गर्नमै लग्गू हुनेहरूले “थुप्रै पीडाले आफूलाई चोटैचोट” पुऱ्‍याउँछन्‌। (१ तिमो. ६:९, १०) अर्कोतर्फ तपाईँले यहोवाको कुरा सुन्‍नुभयो र उहाँको इच्छालाई पहिलो स्थानमा राख्ने छनौट गर्नुभयो भने तपाईँको जीवन सफल हुनेछ अनि “बुद्धि पुऱ्‍याएर कदम चाल्न” सक्नुहुनेछ।—यहो. १:८.

तपाईँले कस्तो छनौट गर्नुहुनेछ?

१९. आमाबुबाले कुन कुरा बिर्सनु हुँदैन?

१९ आमाबुबा हो, आफ्ना छोराछोरीलाई यहोवाको सेवा गर्न सक्दो मदत दिनुहोस्‌। उहाँमा भरोसा राख्नुहोस्‌ र उहाँले तपाईँलाई बुद्धिमानी छनौटहरू गर्न मदत गर्नुहुनेछ। (हितो. ३:५, ६) यो कुरा नबिर्सनुहोस्‌, तपाईँका छोराछोरीले तपाईँले भन्‍ने कुराबाट भन्दा तपाईँले गर्ने कामबाट धेरै कुरा सिक्छन्‌। त्यसैले त्यस्ता निर्णयहरू गर्नुहोस्‌, जसले छोराछोरीलाई यहोवाको अनुमोदन पाउन मदत गर्नेछ।

२०. यहोवाको सेवा गर्ने छनौट गर्दा युवायुवतीले कस्ता आशिष्‌हरू पाउनेछन्‌?

२० युवायुवती हो, तपाईँका आमाबुबाले तपाईँलाई जीवनमा बुद्धिमानी छनौटहरू गर्न मदत गर्न सक्छन्‌। तर यहोवाको अनुमोदन पाउन लायक बन्‍ने जिम्मेवारी भने तपाईँकै हो। त्यसैले येसुको अनुकरण गर्नुहोस्‌ अनि स्वर्गमा बस्नुहुने बुबाको सेवा गर्ने छनौट गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँ यहोवाको सेवामा व्यस्त हुनुहुनेछ अनि तपाईँको जीवन अर्थपूर्ण र रमाइलो हुनेछ। (१ तिमो. ४:१६) अनि भविष्यमा तपाईँको जीवन अत्यन्तै सुखमय हुनेछ।

गीत १३३ युवावस्थामै यहोवाको उपासना गरौँ!

^ अनु. 5 ख्रिष्टियन आमाबुबा आफ्ना छोराछोरीले ठूलो भएपछि आनन्दित भई यहोवाको सेवा गरेको चाहन्छन्‌। छोराछोरीलाई त्यो लक्ष्यसम्म पुग्न मदत गर्न आमाबुबाले कस्ता छनौटहरू गर्न सक्छन्‌? जीवनमा साँचो सफलता पाउन ख्रिष्टियन युवायुवतीले कस्ता छनौटहरू गर्नुपर्छ? यस लेखले यी प्रश्‍नहरूको जवाफ दिनेछ।

^ अनु. 10 यहोवाको शुद्ध उपासना आखिरमा पुनर्स्थापित हुन्छ! किताबको पृष्ठ ६९-७०, अनुच्छेद १७-१८ हेर्नुहोस्‌।

^ अनु. 11 ब्यूँझनुहोस्‌! (अङ्‌ग्रेजी) अक्टोबर २०११, पृष्ठ २० मा भएको “उहाँहरूजत्तिको असल आमाबुबा मैले पाउन सक्दिनथेँ” भन्‍ने पेटी अनि ब्यूँझनुहोस्‌! अप्रिल ८, १९९९, पृष्ठ २५ मा भएको “तिनीहरूका मुमाबुबालाई विशेष पत्र” भन्‍ने लेख हेर्नुहोस्‌।

^ अनु. 66 चित्रको व्याख्या: मरियमले येसुलाई सानैदेखि यहोवालाई मनैदेखि प्रेम गर्न सिकाएकी हुनुपर्छ। आज पनि आमाहरूले आफ्ना छोराछोरीलाई यहोवालाई मनैदेखि प्रेम गर्न सिकाउन सक्छन्‌।

^ अनु. 68 चित्रको व्याख्या: युसुफ आफ्नो परिवारसँगै नियमित रूपमा सभाघरमा जानुलाई महत्त्वपूर्ण ठान्थे। आज पनि बुबाहरू आफ्नो परिवारसँगै मण्डलीका सभाहरूमा जानुलाई महत्त्वपूर्ण ठान्छन्‌।

^ अनु. 70 चित्रको व्याख्या: येसुले आफ्नो बुबाबाट सीप सिक्नुभयो। आज पनि युवाहरूले आफ्नो बुबाबाट सीप सिक्न सक्छन्‌।