सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४५

ख्रिष्टका आज्ञाहरू पालन गर्न तपाईँ अरूलाई कसरी मदत गर्न सक्नुहुन्छ?

ख्रिष्टका आज्ञाहरू पालन गर्न तपाईँ अरूलाई कसरी मदत गर्न सक्नुहुन्छ?

“त्यसैले जाओ र . . . चेला बनाओ; . . . मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ।”—मत्ति २८:१९, २०.

गीत ८९ सुनौँ, मानौँ र आशिष्‌ पाऔँ!

परिचय *

१. मत्ति २८:१८-२० मा येसुले चेलाहरूलाई कस्तो आज्ञा दिनुभयो?

येसु फेरि जीवित हुनुभएपछि उहाँ गालिलमा भेला भएका आफ्ना चेलाहरूसामु देखा पर्नुभयो। उहाँ तिनीहरूलाई एउटा महत्त्वपूर्ण कुरा बताउन चाहनुहुन्थ्यो। त्यो के थियो? उहाँले भन्‍नुभएका शब्दहरू मत्ति २८:१८-२० मा पाइन्छ।—पढ्‌नुहोस्‌।

२. हामी कस्ता प्रश्‍नहरूबारे छलफल गर्नेछौँ?

चेला बनाओ भन्‍ने येसुको आज्ञा आज पनि परमेश्‍वरका प्रत्येक सेवकलाई लागू हुन्छ। त्यसैले येसुले हामीलाई सुम्पनुभएको यस कामसित सम्बन्धित तीन वटा प्रश्‍न छलफल गरौँ। पहिलो, नयाँ चेलाहरूलाई यहोवाले हामीबाट चाहनुहुने कुराहरू सिकाउनुको अलावा हामीले के गर्नुपर्छ? दोस्रो, मण्डलीका सबै प्रकाशकले बाइबल विद्यार्थीहरूको आध्यात्मिक प्रगतिमा कसरी योगदान पुऱ्‍याउन सक्छन्‌? तेस्रो, निष्क्रिय भएका दाजुभाइ दिदीबहिनीलाई चेला बनाउने काममा फेरि भाग लिन हामी कसरी मदत गर्न सक्छौँ?

तिनीहरूलाई पालन गर्न सिकाउनुहोस्‌

३. येसुले आफ्नो आज्ञामा कुन खास निर्देशन पनि समावेश गर्नुभयो?

येसुले दिनुभएको निर्देशन स्पष्ट छ। हामीले मानिसहरूलाई उहाँले आज्ञा गर्नुभएको सबै कुरा सिकाउनुपर्छ। तर हामीले उहाँको निर्देशनको एउटा महत्त्वपूर्ण पक्षलाई बेवास्ता गर्नु हुँदैन। येसुले यसो भन्‍नुभएन: ‘मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई सिकाओ।’ बरु उहाँले यसो भन्‍नुभयो: “मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ।” बाइबल विद्यार्थीलाई सिकाउँदा यो खास निर्देशन लागू गर्न हामी शिक्षक मात्र भएर पुग्दैन, मार्गदर्शक पनि हुनुपर्छ। (प्रेषि. ८:३१) तर किन?

४. बाइबल विद्यार्थीलाई येसुको आज्ञा पालन गर्न कसरी सिकाउन सक्छौँ भनेर बुझाउन एउटा उदाहरण दिनुहोस्‌।

हामी अरूलाई येसुका आज्ञाहरू पालन गर्न कसरी सिकाउन सक्छौँ? यसको लागि हामीले के गर्नुपर्छ भनेर बुझ्न यस उदाहरणले मदत गर्छ। गाडी चलाउन सिकाउने प्रशिक्षकले विद्यार्थीलाई ट्राफिक नियमहरू पालन गर्न कसरी सिकाउँछन्‌? सुरुमा त प्रशिक्षकले ट्राफिक नियमहरू कक्षामै सिकाउँछन्‌। तर ती नियमहरू कसरी पालन गर्ने भनेर सिकाउनचाहिँ प्रशिक्षकले अर्को कदम चाल्नुपर्छ। विद्यार्थीले सडकमा गाडी चलाएर आफूले सिकेका कुराहरू लागू गर्न प्रयास गर्दा प्रशिक्षक तिनीसँगै रहेर तिनलाई गाइड गर्नुपर्छ। यस उदाहरणबाट हामी के सिक्न सक्छौँ?

५. (क) युहन्‍ना १४:१५ र १ युहन्‍ना २:३ अनुसार हामीले बाइबल विद्यार्थीलाई के गर्न सिकाउनुपर्छ? (ख) हामी विद्यार्थीलाई के-कस्ता तरिकामा डोऱ्‍याइ दिन सक्छौँ?

बाइबल अध्ययन गराउँदा हामी विद्यार्थीलाई परमेश्‍वरले हामीबाट चाहनुहुने कुरा सिकाउँछौँ। तर हामीले अर्को कुरा पनि गर्नुपर्छ। हामीले आफ्नो बाइबल विद्यार्थीलाई सिकेको कुरा दैनिक जीवनमा लागू गर्न सिकाउनुपर्छ। (युहन्‍ना १४:१५; १ युहन्‍ना २:३ पढ्‌नुहोस्‌) स्कुलमा, काममा वा मनोरञ्जन गर्ने बेला बाइबलका सिद्धान्तहरू कसरी लागू गर्न सक्छौँ भनेर हामी विद्यार्थीलाई आफ्नै उदाहरणद्वारा सिकाउन सक्छौँ। बाइबलको निर्देशनअनुसार चल्दा आफू कस्तो हानिबाट जोगिन सक्यो वा कसरी बुद्धिमानी निर्णय गर्न मदत पुग्यो भनेर आफ्नो कुनै अनुभव बताउन सक्छौँ। हामी विद्यार्थीसँगै बसेर यहोवालाई प्रार्थना गर्न सक्छौँ र तिनलाई पवित्र शक्‍तिको डोऱ्‍याइ दिनुहोस्‌ भनेर बिन्ती गर्न सक्छौँ।—युह. १६:१३.

६. अरूलाई येसुका आज्ञाहरू पालन गर्न सिकाउनुमा के समावेश छ?

अरूलाई येसुका आज्ञाहरू पालन गर्न सिकाउनुमा के समावेश छ? हामीले बाइबल विद्यार्थीलाई चेला बनाउने इच्छुकता बढाउन मदत गर्नुपर्छ। केही विद्यार्थीलाई प्रचारकार्यमा भाग लिने कुरा सोच्दा मात्रै पनि डर लाग्न सक्छ। त्यसैले धैर्य गर्दै तिनीहरूलाई बाइबलका कुराहरू अझ राम्ररी बुझ्न मदत गर्नुपर्छ। यसो गर्दा तिनीहरूको विश्‍वास अझ बलियो हुन्छ, सिकेका कुराहरूले तिनीहरूको मन छुन्छ र तिनीहरू अरूलाई प्रचार गर्न उत्प्रेरित हुन्छन्‌। विद्यार्थीलाई अरूसित सुसमाचार बाँड्‌ने इच्छुकता बढाउन मदत गर्न हामी के गर्न सक्छौँ?

७. अरूसित सुसमाचार बाँड्‌ने इच्छुकता बढाउन हामी विद्यार्थीलाई कसरी मदत गर्न सक्छौँ?

हामी बाइबल विद्यार्थीलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छौँ: “राज्यको सन्देश स्विकार्दा तपाईँको जीवन कसरी अझ राम्रो भएको छ? तपाईँलाई अरूले पनि यो सन्देश सुन्‍नुपर्छ जस्तो लाग्छ? तिनीहरूलाई मदत गर्न तपाईँ के गर्न सक्नुहुन्छ?” (हितो. ३:२७; मत्ति ९:३७, ३८) विद्यार्थीलाई शिक्षण सामग्रीमा भएका पर्चाहरू देखाउनुहोस्‌ र तिनका आफन्तहरू, साथीहरू वा सहकर्मीहरूलाई कुन पर्चा पढ्‌न मन पर्छ जस्तो लाग्छ, रोज्न लगाउनुहोस्‌। विद्यार्थीलाई तीमध्ये केही पर्चा दिनुहोस्‌। पर्चा कसरी कुशलतापूर्वक प्रस्तुत गर्न सकिन्छ भनेर सिकाउन सँगै अभ्यास गर्नुहोस्‌। अनि विद्यार्थी प्रकाशक भएपछि तिनीसँगै प्रचारकार्यमा भाग लिएर तिनलाई मदत गर्नुहोस्‌।—उप. ४:९, १०; लुका ६:४०.

मण्डलीले बाइबल विद्यार्थीहरूलाई प्रगति गर्न कसरी मदत गर्न सक्छ?

८. हाम्रा विद्यार्थीहरूले यहोवा र छिमेकीप्रतिको प्रेम अझ बलियो बनाउनु किन महत्त्वपूर्ण छ? (“ परमेश्‍वरप्रतिको प्रेम अझ बढाउन बाइबल विद्यार्थीहरूलाई कसरी मदत गर्न सक्छौँ?” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।)

नबिर्सनुहोस्‌, येसुले हामीलाई “मैले . . . आज्ञा गरेको सबै कुरा . . . पालन गर्न सिकाओ” भनी निर्देशन दिनुभएको थियो। यसमा पक्कै पनि दुई वटा सबैभन्दा महत्त्वपूर्ण आज्ञा समावेश छन्‌: परमेश्‍वरलाई प्रेम गर्नु र छिमेकीलाई प्रेम गर्नु। यी दुवै आज्ञा प्रचार गर्ने र चेला बनाउने कामसित सम्बन्धित छ। (मत्ति २२:३७-३९) कसरी? हामीलाई प्रचारकार्यमा भाग लिन उत्प्रेरित गर्ने मुख्य कुरा भनेको प्रेम हो—परमेश्‍वरप्रतिको प्रेम र छिमेकीप्रतिको प्रेम। हुनत केही बाइबल विद्यार्थीलाई प्रचारकार्यमा भाग लिने कुरा सोच्दा मात्रै पनि डर लाग्न सक्छ। तर हामी त्यस्ता विद्यार्थीलाई यहोवाको मदत पाएर बिस्तारै मानिसको डरलाई जित्न सकिन्छ भनेर आश्‍वासन दिन सक्छौँ। (भज. १८:१-३; हितो. २९:२५) यस लेखमा भएको पेटीमा परमेश्‍वरप्रतिको प्रेम अझ बढाउन बाइबल विद्यार्थीहरूलाई कसरी मदत गर्न सक्छौँ भनेर छलफल गरिएको छ। साथै प्रेम देखाउने सन्दर्भमा प्रगति गर्न मण्डलीले नयाँ चेलाहरूलाई कसरी मदत गर्न सक्छ?

९. गाडी चलाउन सिकिरहेको व्यक्‍तिले कुन-कुन तरिकामा उपयोगी पाठहरू सिक्न सक्छन्‌?

गाडी चलाउन सिकिरहेको व्यक्‍तिको उदाहरण फेरि विचार गर्नुहोस्‌। प्रशिक्षकसँगै सडकमा गाडी चलाउँदा तिनले कुन-कुन तरिकामा सिक्न सक्छन्‌? प्रशिक्षकको कुरा सुनेर अनि अरू अनुभवी चालकहरूलाई नियालेर। जस्तै: कुनै चालकले विचारशील हुँदै अर्को गाडीलाई आफूभन्दा अगाडि जान दिँदा प्रशिक्षकले त्यो कुरा औँल्याउन सक्छन्‌। अथवा अरू चालकलाई बाधा नपुगोस्‌ भनेर आफ्नो गाडीको हेडलाइट मधुरो पार्ने चालकतर्फ प्रशिक्षकले विद्यार्थीको ध्यान खिच्न सक्छन्‌। यसरी विद्यार्थीले आफैले गाडी चलाउन थालेपछि लागू गर्न सक्ने उपयोगी पाठहरू सिक्न सक्छन्‌।

१०. आध्यात्मिक प्रगति गर्न बाइबल विद्यार्थीलाई केले मदत गर्छ?

१० त्यसैगरि जीवनतर्फ लैजाने बाटोमा हिँड्‌न सुरु गरेका बाइबल विद्यार्थीले आफ्नो अध्ययन सञ्चालकबाट मात्र होइन, परमेश्‍वरका अरू सेवकको असल उदाहरणबाट पनि सिक्छन्‌। त्यसैले आध्यात्मिक प्रगति गर्न बाइबल विद्यार्थीलाई धेरै हदसम्म केले मदत गर्छ? ख्रिष्टियन सभाहरूले। कसरी? सभामा बाइबलआधारित कुराहरू सुन्दा तिनको ज्ञान अझ बढ्‌नेछ, विश्‍वास अझ बलियो हुनेछ र परमेश्‍वरप्रतिको प्रेम पनि बढ्‌नेछ। (प्रेषि. १५:३०-३२) यसबाहेक सभामा अध्ययन सञ्चालकले विद्यार्थीलाई तिनको जस्तै परिस्थिति भएका दाजुभाइ दिदीबहिनीसित चिनापर्ची गराइदिन सक्छन्‌। मण्डलीका दाजुभाइ दिदीबहिनीले एकअर्कालाई प्रेम गरेको देखिने कस्ता कुराहरू विद्यार्थीले याद गर्न सक्छन्‌? यी दृश्‍यहरू कल्पना गर्नुहोस्‌।

११. बाइबल विद्यार्थीले मण्डलीमा कस्ता कुराहरू याद गर्न सक्छन्‌? ती कुराहरूले विद्यार्थीमा कस्तो प्रभाव पार्न सक्छ?

११ एक्लैले छोराछोरी हुर्काइरहेकी एक बाइबल विद्यार्थीले आफ्नो जस्तै अवस्था भएको एउटी ख्रिष्टियन बहिनीलाई याद गर्छिन्‌। ती बहिनीले आफ्नो साना छोराछोरीलाई आफूसँगै सभामा ल्याउन सक्दो गरिरहेकी देख्दा ती बाइबल विद्यार्थीको मन छुन्छ। चुरोट छोड्‌न गाह्रो भइरहेको एक बाइबल विद्यार्थीले धेरै सङ्‌घर्ष गरेर चुरोट छोडेका एक प्रकाशकलाई भेट्‌छन्‌। ती प्रकाशकले यहोवाप्रतिको प्रेम बढ्‌दै जाँदा तिनी उहाँका आज्ञाहरू पालन गर्न कसरी उत्प्रेरित भए भनेर बताउँछन्‌। (२ कोरि. ७:१; फिलि. ४:१३) तिनको अनुभव सुन्दा अनि तिनले “तपाईँ पनि पक्कै सक्नुहुन्छ” भनेर ढाडस दिँदा ती विद्यार्थीको आत्मबल बढ्‌छ। बाइबल अध्ययन गरिरहेकी एक किशोरीले आफ्नै उमेरकी एक बहिनीले आनन्दित भएर यहोवाको सेवा गरिरहेको याद गर्छिन्‌। साक्षी बहिनीको हँसिलो मुहार देख्दा ती बाइबल विद्यार्थी उनी किन सधैँ खुसी देखिन्छिन्‌ भनेर जान्‍न चाहन्छिन्‌।

१२. बाइबल विद्यार्थीहरूलाई मदत गर्ने सन्दर्भमा मण्डलीका प्रत्येकको भूमिका छ भनेर हामी किन भन्‍न सक्छौँ?

१२ फरक-फरक अवस्थाका वफादार दाजुभाइ दिदीबहिनीलाई चिन्दै जाँदा बाइबल विद्यार्थीहरूले तिनीहरूको उदाहरणबाट परमेश्‍वर र छिमेकीलाई प्रेम गर्नू भन्‍ने ख्रिष्टको आज्ञा पालन गर्नुको अर्थ बुझ्नेछन्‌। (युह. १३:३५; १ तिमो. ४:१२) अगाडि छलफल गरिएझैँ बाइबल विद्यार्थीले आफ्नो जस्तै अवस्थासित जुझिरहेका दाजुभाइ दिदीबहिनीबाट पनि सिक्न सक्छन्‌। ख्रिष्टको चेला बन्‍न आफूले पनि आवश्‍यक छाँटकाँट गर्न सक्छु भन्‍ने कुरा विद्यार्थीले तिनीहरूको उदाहरणबाट सिक्न सक्छन्‌। (व्यव. ३०:११) बाइबल विद्यार्थीहरूको आध्यात्मिक प्रगतिमा मण्डलीका सबैले विभिन्‍न तरिकामा योगदान पुऱ्‍याउन सक्छन्‌। (मत्ति ५:१६) सभामा आउने बाइबल विद्यार्थीहरूलाई प्रोत्साहन दिन तपाईँले कस्ता प्रयासहरू गर्नुभएको छ?

निष्क्रिय भएकाहरूलाई फेरि प्रचारमा भाग लिन मदत गर्नुहोस्‌

१३-१४. येसुले निरुत्साहित भएका प्रेषितहरूसित कस्तो व्यवहार गर्नुभयो?

१३ चेला बनाउनू भन्‍ने ख्रिष्टको आज्ञा पालन गर्दै प्रचारकार्यमा फेरि भाग लिन निष्क्रिय दाजुभाइ दिदीबहिनीलाई हामी मदत गर्न चाहन्छौँ। येसुले निरुत्साहित भएका प्रेषितहरूसित गर्नुभएको व्यवहारबाट हामी केही कुरा सिक्न सक्छौँ।

१४ येसुको मृत्यु हुने समय नजिकै आउँदा प्रेषितहरू “सबै उहाँलाई छोडेर भागे।” (मर्कु. १४:५०; युह. १६:३२) केही समय निरुत्साहित भएका ती प्रेषितहरूसित येसुले कस्तो व्यवहार गर्नुभयो? आफू जीवित भएको केही समयपछि येसुले केही चेलालाई यसो भन्‍नुभयो: “नडराओ! जाओ, मेरा भाइहरूलाई [म फेरि जीवित भइसकेँ] भनिदेओ।” (मत्ति २८:१०क) येसुले प्रेषितहरूलाई त्याग्नुभएन। तिनीहरूले उहाँलाई छोडेर भागे तापनि उहाँले तिनीहरूलाई “मेरा भाइहरू” भन्‍नुभयो। यहोवाजस्तै येसु पनि कृपालु र क्षमाशील हुनुहुन्छ।—२ राजा १३:२३.

१५. प्रचारकार्यमा भाग लिन छोडेका दाजुभाइ दिदीबहिनीप्रति हामी कस्तो महसुस गर्छौँ?

१५ त्यसैगरि हामी पनि प्रचारकार्यमा भाग लिन छोडेकाहरूप्रति गहिरो चासो देखाउँछौँ। तिनीहरू हाम्रै दाजुभाइ दिदीबहिनी हुन्‌ र हामी तिनीहरूलाई माया गर्छौँ! सायद तिनीहरूमध्ये कतिपयले दशकौँसम्म यहोवाको सेवामा मेहनत गरेका थिए। हामी तिनीहरूको मेहनत अझै सम्झन्छौँ। (हिब्रू ६:१०) हामीलाई तिनीहरूको कमी खट्‌किन्छ! (लुका १५:४-७) येसुको अनुकरण गर्दै हामी तिनीहरूप्रति चासो राखेको कसरी देखाउन सक्छौँ?

१६. निष्क्रिय भएकाहरूलाई हामी कसरी चासो देखाउन सक्छौँ?

१६ सभामा आउन न्यानो आग्रह गर्नुहोस्‌। येसुले निरुत्साहित भएका प्रेषितहरूलाई प्रोत्साहन दिनुभएको एउटा तरिका भनेको उनीहरूलाई आफूकहाँ भेट्‌न बोलाएर हो। (मत्ति २८:१०ख; १ कोरि. १५:६) त्यसैगरि हामी पनि निष्क्रिय भएकाहरूलाई सभामा आउन निम्तो दिन सक्छौँ। तर हामीलाई यो कुरा पनि थाह छ कि तिनीहरूलाई सभासम्म डोऱ्‍याउन हामीले धेरैचोटि प्रयास गर्नुपर्ने हुन सक्छ। चेलाहरू येसुको निम्तो स्विकारेर आउँदा उहाँ पक्कै पनि धेरै खुसी हुनुभयो।—मत्ति २८:१६ र लुका १५:६ तुलना गर्नुहोस्‌।

१७. निष्क्रिय भएको भाइ वा बहिनी सभामा आउँदा हामी के गर्न सक्छौँ?

१७ तिनीहरूलाई मनैदेखि स्वागत गर्नुहोस्‌। चेलाहरू भेट्‌न आउँदा येसुले तिनीहरूलाई सजिलो महसुस गराउनुभयो; उहाँ आफै अग्रसर भएर तिनीहरूसित कुरा गर्नुभयो। (मत्ति २८:१८) निष्क्रिय भएको भाइ वा बहिनी सभामा आउँदा हामी के गर्न सक्छौँ? हामी आफै अग्रसर भएर तिनलाई न्यानो स्वागत गर्न सक्छौँ। सुरुमा त तिनीसित के कुरा गर्ने जस्तो हामीलाई लाग्न सक्छ। तर तिनलाई अप्ठ्यारोमा नपारी तिनी सभामा आएकोमा खुसी व्यक्‍त गर्न सक्छौँ।

१८. हामी निष्क्रिय भएकाहरूलाई कसरी ढाडस दिन सक्छौँ?

१८ तिनीहरूलाई निष्कपट भई ढाडस दिनुहोस्‌। येसुले चेलाहरूलाई संसारभर प्रचार गर्ने आज्ञा दिनुहुँदा तिनीहरू आत्तिएका हुन सक्छन्‌। तर उहाँले आफ्ना अनुयायीहरूलाई यस्तो ढाडस दिनुभयो: “म सधैँभरि तिमीहरूसितै छु।” (मत्ति २८:२०) के चेलाहरूले ढाडस पाए? पक्कै पाए। तिनीहरू केही समयपछि नै ‘सिकाउने र सुसमाचार घोषणा गर्ने’ काममा व्यस्त भए। (प्रेषि. ५:४२) निष्क्रिय प्रकाशकहरूलाई पनि ढाडस चाहिन्छ। फेरि प्रचार गर्ने कुरा सोच्दा तिनीहरू आत्तिन सक्छन्‌। तर तिनीहरूलाई प्रचारकार्यमा साथ दिने कुरा बताएर ढाडस दिन सक्छौँ। तिनीहरू प्रचारकार्यमा फेरि भाग लिन तयार भएपछि हामी तिनीहरूसँगै प्रचारमा जान सक्छौँ। तिनीहरूले पक्कै पनि यसको कदर गर्नेछन्‌। हामीले तिनीहरूलाई आफ्नै दाजुभाइ दिदीबहिनी ठानेर व्यवहार गर्दा तिनीहरू फेरि सक्रिय हुन सक्छन्‌ र मण्डलीका सबै रमाउन सक्नेछन्‌।

हामी आफूलाई सुम्पिइएको काम पूरा गर्न चाहन्छौँ

१९. हाम्रो मनैदेखिको इच्छा के हो र किन?

१९ हामीले चेला बनाउने काम कहिलेसम्म गर्नुपर्छ? यस युगको अन्त नभएसम्म। (मत्ति २८:२०; शब्दावलीमा “युगको आखिरी समय” हेर्नुहोस्‌।) के हामी येसुले दिनुभएको आज्ञाको यो पक्ष पूरा गर्न सफल हुनेछौँ? हामी त्यसो गर्न दृढ छौँ! “अनन्त जीवन पाउन लायकको उचित मनसाय” भएका मानिसहरूलाई खोज्न हामी राजीखुसीले आफ्नो समय, शक्‍ति र स्रोतसाधन दिन तयार छौँ। (प्रेषि. १३:४८) यो हाम्रो मनैदेखिको इच्छा हो। यसो गर्दा हामीले येसुको अनुकरण गरिरहेका हुन्छौँ। उहाँले भन्‍नुभयो: “मलाई पठाउनुहुनेको इच्छाअनुसार गर्नु अनि उहाँले दिनुभएको काम पूरा गर्नु नै मेरो भोजन हो।” (युह. ४:३४; १७:४) हामी पनि आफूलाई सुम्पिइएको काम पूरा गर्न चाहन्छौँ। (युह. २०:२१) निष्क्रिय भएकाहरूलगायत अरूले हामीसँगै मिलेर यस काममा अन्तसम्मै भाग लिएको हामी चाहन्छौँ।—मत्ति २४:१३.

२०. फिलिप्पी ४:१३ अनुसार हामी किन येसुले सुम्पनुभएको काम पूरा गर्न सक्छौँ?

२० येसुले दिनुभएको यो महत्त्वपूर्ण आज्ञा पूरा गर्न पक्कै सजिलो छैन। तर यो काम हामी एक्लैले गरिरहेका छैनौँ। येसुले उहाँ सधैँभरि हामीसित रहने प्रतिज्ञा गर्नुभएको थियो। हामी “परमेश्‍वरका सहकर्मीहरू”-को रूपमा र “ख्रिष्टको साथमा” रहेर चेला बनाउने जिम्मेवारी पूरा गर्छौँ। (१ कोरि. ३:९; २ कोरि. २:१७) त्यसैले हामी यो काम अवश्‍य पूरा गर्न सक्छौँ। यो जिम्मेवारी पूरा गर्नु र अरूलाई पनि त्यसै गर्न मदत दिनु साँच्चै ठूलो सुअवसर हो र यसो गर्दा हामी सन्तुष्टि पाउँछौँ।फिलिप्पी ४:१३ पढ्‌नुहोस्‌।

गीत ७९ दृढ हुन सिकाऔँ!

^ अनु. 5 येसुले आफ्ना अनुयायीहरूलाई चेला बनाउन र उहाँले आज्ञा गर्नुभएको सबै कुरा पालन गर्न सिकाउन निर्देशन दिनुभयो। यस लेखमा हामी येसुको यो निर्देशन कसरी पछ्याउन सक्छौँ भनेर छलफल गर्नेछौँ। यस लेखमा दिइएका केही जानकारी प्रहरीधरहरा, जुलाई १, २००४, पृष्ठ १४-१९ मा भएको लेखमा आधारित छ।

^ अनु. 66 चित्रको व्याख्या: बाइबल अध्ययन गराइरहेकी बहिनीले विद्यार्थीलाई परमेश्‍वरप्रतिको प्रेम अझ बढाउन कस्ता कदमहरू चाल्नुपर्छ भनेर बताउँदै छिन्‌। पछि त्यस विद्यार्थीले अध्ययन सञ्चालकले दिएको तीन वटा सुझाव लागू गर्छिन्‌।