सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४७

के तपाईँ छाँटकाँट गरिरहन इच्छुक हुनुहुन्छ?

के तपाईँ छाँटकाँट गरिरहन इच्छुक हुनुहुन्छ?

“अन्तमा भाइहरू हो, आनन्दित भइरहो, छाँटकाँट गरिरहो।”—२ कोरि. १३:११.

गीत ५४ ‘यही हो बाटो’

परिचय *

१. मत्ति ७:१३, १४ अनुसार हामी कुन अर्थमा एउटा यात्रामा छौँ?

हामी सबै जना एउटा यात्रामा छौँ। हाम्रो गन्तव्य अर्थात्‌ लक्ष्य भनेको यहोवाको मायालु शासनअन्तर्गत नयाँ संसारमा जीवन बिताउनु हो। हामी हरेक दिन जीवनतर्फ लैजाने बाटोमा हिँड्‌ने प्रयास गर्छौँ। तर येसुले भन्‍नुभएझैँ त्यो बाटो साँघुरो छ र त्यो बाटोमा हिँड्‌न कहिलेकाहीँ गाह्रो हुन्छ। (मत्ति ७:१३, १४ पढ्‌नुहोस्‌) हामी त्रुटिपूर्ण भएकोले हामी सजिलै त्यस बाटोबाट तर्किन सक्छौँ।—गला. ६:१.

२. यस लेखमा हामी के छलफल गर्नेछौँ? (“ नम्रताले हामीलाई छाँटकाँट गर्न मदत गर्छ” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।)

जीवनतर्फ लैजाने साँघुरो बाटोबाट तर्केर नजाने हो भने हामी आफ्नो सोचाइ, मनोवृत्ति र व्यवहारमा छाँटकाँट गर्न इच्छुक हुनुपर्छ। प्रेषित पावलले कोरिन्थका ख्रिष्टियनहरूलाई ‘छाँटकाँट गरिरहन’ प्रोत्साहन दिए। (२ कोरि. १३:११) यो सल्लाह हामीलाई पनि लागू हुन्छ। बाइबलले हामीलाई छाँटकाँट गर्न कसरी मदत गर्न सक्छ अनि परिपक्व साथीहरूले हामीलाई जीवनको बाटोबाट तर्केर नजान कसरी मदत गर्न सक्छन्‌ भनेर यस लेखमा छलफल गर्नेछौँ। साथै यहोवाको सङ्‌गठनको निर्देशन पालन गर्न हामीलाई कस्तो अवस्थामा गाह्रो लाग्न सक्छ भनेर विचार गर्नेछौँ। नम्रताले हामीलाई यहोवाको सेवा गर्दा पाइने आनन्द कायम राख्दै छाँटकाँट गर्न कसरी मदत गर्छ भनेर पनि बुझ्नेछौँ।

परमेश्‍वरको वचनले तपाईँलाई सुधार्न दिनुहोस्‌

३. परमेश्‍वरको वचनले हामीलाई के गर्न मदत गर्छ?

हाम्रो सोचाइ र भावना कस्तो छ भनेर जाँच्न सजिलो छैन। हाम्रो हृदय छली भएकोले यसले हामीलाई कतातिर डोऱ्‍याइरहेको छ भनेर बुझ्न गाह्रो हुन सक्छ। (यर्मि. १७:९) “झूटा तर्कहरू”-ले गर्दा हामी सजिलै धोका खान सक्छौँ। (याकु. १:२२) त्यसैले परमेश्‍वरको वचन प्रयोग गर्दै हामीले आफैलाई जाँच्नुपर्छ। हामी भित्र कस्तो किसिमको मानिस हौँ, हाम्रो हृदयको “विचार र आशय” कस्तो छ भनेर थाह पाउन परमेश्‍वरको वचनले मदत गर्छ। (हिब्रू ४:१२, १३) एक अर्थमा परमेश्‍वरको वचन एक्स-रे मेसिनजस्तै हो, जसले हामी भित्र कस्तो छौँ भनेर हेर्न मदत गर्छ। तर बाइबल वा परमेश्‍वरका प्रतिनिधिहरूले दिने निर्देशनबाट लाभ उठाउन हामी नम्र हुनै पर्छ।

४. राजा साउल पछि घमन्डी भए भनेर किन भन्‍न सक्छौँ?

राजा साउलको उदाहरणबाट हामी नम्र भएनौँ भने के हुन सक्छ भनेर बुझ्न सक्छौँ। साउल यत्ति घमन्डी भए कि तिनले आफ्नो सोचाइ र व्यवहारमा छाँटकाँट गर्नु आवश्‍यक छ भनेर स्विकार्नसमेत चाहेनन्‌। (भज. ३६:१, २; हब. २:४) उदाहरणको लागि, यहोवाले साउललाई अमालेकीहरूलाई हराएपछि के गर्नुपर्छ भनेर स्पष्ट निर्देशन दिनुभएको थियो। तर तिनले यहोवाको आज्ञा पालन गरेनन्‌। अनि भविष्यवक्‍ता समुएलले त्यसबारे सोध्दा तिनले आफ्नो गल्ती स्विकारेनन्‌। तिनले आफूले गरेको गल्ती त्यत्ति गम्भीर होइन भनेर सफाइ दिन खोजे र अरूमाथि दोष थोपरे। (१ समु. १५:१३-२४) साउलले पहिला पनि त्यस्तै मनोवृत्ति देखाएका थिए। (१ समु. १३:१०-१४) दुःखको कुरा, तिनले आफ्नो हृदयलाई घमन्डले फुल्न दिए। तिनले आफ्नो सोचाइ सुधारेनन्‌। त्यसैले यहोवाले तिनलाई सजाय दिनुभयो र तिनलाई त्याग्नुभयो।

५. साउलको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

हामी साउलजस्तो हुन चाहँदैनौँ भने आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुपर्छ: ‘परमेश्‍वरको वचनमा कुनै सल्लाह पढ्‌दा के म त्यो लागू नगर्न बहाना बनाउँछु? कुनै गल्ती गर्दा के म आफ्नो गल्ती त्यत्ति गम्भीर होइन भन्‍ने सोचाइ राख्छु? के म अरूमाथि दोष थोपर्न खोज्छु?’ यी प्रश्‍नहरूबारे विचार गर्दा आफूले पनि कुनै क्षेत्रमा यस्तै गर्दै छु जस्तो लाग्छ भने हामीले आफ्नो सोचाइ र मनोवृत्तिमा छाँटकाँट गर्नै पर्छ। नत्र त हामी अहङ्‌कारी हुनेछौँ र यहोवाले हामीसितको मित्रता तोड्‌नुहुनेछ।—याकु. ४:६.

६. राजा साउल र राजा दाउद कसरी भिन्‍न थिए, बताउनुहोस्‌।

राजा साउल र तिनीपछि राजा भएका दाउद कत्ति भिन्‍न थिए, याद गर्नुहोस्‌। राजा दाउद “यहोवाको व्यवस्था”-लाई प्रेम गर्ने मानिस थिए। (भज. १:१-३) यहोवा नम्रहरूलाई जोगाउनुहुन्छ तर हठीहरूलाई घृणा गर्नुहुन्छ भनेर दाउदलाई थाह थियो। (२ समु. २२:२८) त्यसैले तिनले परमेश्‍वरको व्यवस्थामा भर पर्दै आफ्नो सोचाइ सुधारे। तिनले यस्तो लेखे: “मलाई सल्लाह दिनुहुने यहोवाको म स्तुति गाउँछु। रातमा पनि मेरा भित्री विचारहरूले मलाई सुधार्छन्‌।”—भज. १६:७.

परमेश्‍वरको वचन

हामी जीवनतर्फ लैजाने बाटोबाट तर्केर जाँदा परमेश्‍वरको वचनले हामीलाई चेतावनी दिन्छ। हामी नम्र छौँ भने परमेश्‍वरको वचनले आफ्नो गलत सोचाइलाई सुधार्न दिन्छौँ (अनुच्छेद ७ हेर्नुहोस्‌)

७. हामी नम्र छौँ भने के गर्नेछौँ?

हामी नम्र छौँ भने गलत सोचाइले हामीलाई गलत काम गर्न लगाउनुअघि नै परमेश्‍वरको वचनले आफ्नो सोचाइ सुधार्न दिन्छौँ। परमेश्‍वरको वचनले हामीलाई यस्तो आवाज दिनेछ: “बाटो यही हो। यसैमा हिँड।” हामी जीवनको बाटोबाट तर्केर दाहिने वा देब्रे लाग्दा यसले हामीलाई चेतावनी दिन्छ। (यसै. ३०:२१) यहोवाको कुरा सुन्दा हामीले थुप्रै तरिकामा लाभ उठाउन सक्छौँ। (यसै. ४८:१७) उदाहरणको लागि, कसैले हामीलाई सुधार्दा हामीलाई अप्ठ्यारो लाग्न सक्छ। तर यहोवाको कुरा सुन्दा हामी त्यस्तो अवस्थाबाट जोगिनेछौँ। साथै हामी यहोवासित अझ नजिक हुनेछौँ किनकि उहाँले हामीलाई आफ्नै छोराछोरी ठानेर व्यवहार गर्दै हुनुहुन्छ भनेर बुझ्नेछौँ।—हिब्रू १२:७.

८. याकुब १:२२-२५ अनुसार हामी परमेश्‍वरको वचनलाई कसरी ऐनाको रूपमा प्रयोग गर्न सक्छौँ?

परमेश्‍वरको वचनले हाम्रो लागि ऐनाको जस्तै काम गर्न सक्छ। (याकुब १:२२-२५ पढ्‌नुहोस्‌) हामीमध्ये धेरै जनाले हरेक बिहान घरबाट निस्कनुअघि ऐना हेर्छौं। ऐना हेर्दा हामीले आफ्नो पहिरन र कोरीबाटीमा केही नमिलेको देख्न सक्छौँ र हामी त्यो मिलाउँछौँ। त्यसैगरि हरेक दिन बाइबल पढ्‌दा हामीले आफ्नो सोचाइ र मनोवृत्तिमा केही छाँटकाँट गर्नुपर्ने देख्न सक्छौँ। धेरै जनाले हरेक बिहान घरबाट निस्कनुअघि दैनिक पद पढ्‌नु मदतकारी पाएका छन्‌। तिनीहरू आफूले पढेको कुराले आफ्नो सोचाइमा प्रभाव पार्न दिन्छन्‌। अनि दिनभरि परमेश्‍वरको वचनबाट पाएको उक्‍त सल्लाह लागू गर्ने मौका खोजिरहन्छन्‌। साथै हामीले अध्ययन गर्ने राम्रो तालिका बनाउनुपर्छ, जसमा हरेक दिन परमेश्‍वरको वचन पढ्‌नु र मनन गर्नु पनि समावेश छ। यसो गर्नु साधारणजस्तो देखिए पनि यो जीवनतर्फ लैजाने साँघुरो बाटोमा हिँडिरहन हामीले गर्नुपर्ने महत्त्वपूर्ण कामहरूमध्ये एउटा हो।

परिपक्व साथीहरूको कुरा सुन्‍नुहोस्‌

परिपक्व साथीहरू

परिपक्व सङ्‌गी ख्रिष्टियनले हामीलाई मायालु तरिकामा चेतावनी दिन सक्छन्‌। साथीले साहस गरेर हामीलाई सुधार्दा के हामी तिनीप्रति आभारी हुन्छौँ? (अनुच्छेद ९ हेर्नुहोस्‌)

९. तपाईँको साथीले तपाईँलाई किन सुधार्नुपरेको थियो?

के तपाईँ परमेश्‍वरबाट टाढा लैजाने बाटोमा कहिल्यै हिँड्‌न थाल्नुभएको थियो? (भज. ७३:२, ३) कुनै परिपक्व साथीले साहस गरेर तपाईँलाई सुधार्दा के तपाईँले तिनको कुरा सुन्‍नुभयो र तिनको सल्लाह लागू गर्नुभयो? यदि गर्नुभयो भने तपाईँले एकदमै ठीक गर्नुभयो अनि साथीले त्यसरी सल्लाह दिएकोमा तपाईँ तिनीप्रति पक्कै आभारी हुनुहुन्छ।—हितो. १:५.

१०. कुनै साथीले तपाईँलाई सुधार्दा तपाईँले कस्तो प्रतिक्रिया देखाउनुपर्छ?

१० परमेश्‍वरको वचन यसो भन्छ: “साथीबाट पाएका चोटहरू विश्‍वासयोग्य हुन्छन्‌।” (हितो. २७:६) यस भनाइको अर्थ के हो? यो उदाहरण विचार गर्नुहोस्‌: मानौँ, तपाईँ एउटा व्यस्त सडकमा बाटो काट्‌न लाग्नुभएको छ। तर तपाईँ फोनमा अलमलिनुहुन्छ अनि यताउता हेर्दै नहेरी बाटो काट्‌न खोज्नुहुन्छ। त्यत्तिकैमा तपाईँको साथीले तपाईँको हात च्याप्प समातेर पेटीतिर तान्छ। उसले बेस्सरी समातेर तानेकोले तपाईँको हातमा नीलडाम बस्छ। तर उसले तुरुन्तै कदम चालेकोले तपाईँ दुर्घटनाबाट जोगिनुहुन्छ। हातमा नीलडाम बसेकोले तपाईँलाई केही दिन त दुख्छ होला तर के तपाईँ ऊसित रिसाउनुहुन्छ र? पक्कै रिसाउनुहुन्‍न! बरु उसले त्यसरी बचाएकोमा ऊप्रति आभारी हुनुहुन्छ। त्यसरी नै तपाईँको कुनै साथीले तपाईँको बोली वा व्यवहार परमेश्‍वरको धार्मिक स्तरसित मिल्दैन भनेर औँल्याउँदा सुरुमा त तपाईँको चित्त दुख्छ होला। तर तिनले त्यसरी सम्झाउँदा तपाईँ रिसाउनुहुन्छ वा चित्त दुखाएर बस्नुहुन्छ भने त्यो तपाईँको मुर्ख्याइँ हुनेछ। (उप. ७:९) बरु साथीले साहस गरेर तपाईँलाई सुधारेकोमा तिनीप्रति आभारी हुनुहोस्‌।

११. कसै-कसैले साथीले दिएको राम्रो सल्लाह किन स्विकार्दैनन्‌?

११ कसै-कसैले माया गर्ने साथीले दिएको राम्रो सल्लाह किन स्विकार्दैनन्‌? घमन्डले गर्दा। घमन्डी मानिसहरू ‘आफूलाई जे सुन्‍न मन पर्छ, त्यही मात्र सुन्‍न’ रुचाउँछन्‌। तिनीहरू ‘सत्य सुन्‍नदेखि आफ्नो कान फर्काउँछन्‌।’ (२ तिमो. ४:३, ४) तिनीहरू आफूलाई कसैको सल्लाह चाहिँदैन भन्‍ने सोचाइ राख्छन्‌ किनकि तिनीहरूलाई आफू अरूभन्दा बुद्धिमान्‌ र ठूलो छु जस्तो लाग्छ। तर प्रेषित पावलले यस्तो लेखे: “यदि कसैले आफू केही नभए तापनि को-को न हुँ भनी सम्झन्छ भने उसले आफैलाई धोका दिइरहेको हुन्छ।” (गला. ६:३) राजा सुलेमानले यस कुरालाई एकदमै राम्ररी व्याख्या गरे। तिनले यस्तो लेखे: “बुढेसकाल लागेर पनि अरूको सल्लाह नसुन्‍ने मूर्ख राजाभन्दा गरिब तर बुद्धिमान्‌ बालक नै असल हो।”—उप. ४:१३.

१२. गलाती २:११-१४ को विवरण विचार गर्दा हामी पत्रुसबाट के सिक्न सक्छौँ?

१२ पावलले पत्रुसलाई सबैको अगाडि सुधार्दा पत्रुसले हाम्रो लागि राम्रो उदाहरण बसाले। (गलाती २:११-१४ पढ्‌नुहोस्‌) पावलले सल्लाह दिएको तरिकामा वा तिनले सबैको अगाडि सल्लाह दिएको कुरामा मात्र ध्यान दिएको भए पत्रुस तिनको कुरा सुनेर रिसाउन सक्थे। तर पत्रुस बुद्धिमान्‌ थिए। उनले सल्लाह स्विकारे अनि पावलविरुद्ध मनमा रिस पालेर राखेनन्‌। पछि पत्रुसले पावललाई “प्रिय भाइ”-समेत भने।—२ पत्रु. ३:१५.

१३. अरूलाई सल्लाह दिँदा हामीले कस्ता कुराहरू मनमा राख्नुपर्छ?

१३ कुनै साथीलाई सल्लाह दिनुपर्ने आवश्‍यकता देख्नुभयो भने तपाईँले कस्ता कुराहरू मनमा राख्नुपर्छ? सल्लाह दिनुअघि आफैलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌, ‘के म “बढ्‌तै धर्मी” भइरहेको छु?’ (उप. ७:१६) आफूलाई बढ्‌तै धर्मी ठान्‍ने व्यक्‍तिले यहोवाका स्तरहरूको आधारमा नभई आफ्नै स्तरहरूको आधारमा अरूको न्याय गर्छ र ऊ अरूप्रति कृपालु नहुन पनि सक्छ। यसरी आफूलाई जाँचिसकेपछि तपाईँलाई अझै पनि साथीलाई सल्लाह दिनु आवश्‍यक छ जस्तो लाग्छ भने तिनलाई समस्या के हो भनेर स्पष्ट बताउनुहोस्‌ र तिनले आफ्नो गल्ती महसुस गर्न सकोस्‌ भनेर सोच्न लगाउने प्रश्‍नहरू सोध्नुहोस्‌। सल्लाह दिँदा बाइबलमा आधारित भएर दिनुहोस्‌। साथै तिनी तपाईँप्रति होइन, यहोवाप्रति जबाफदेही छन्‌ भन्‍ने कुरा मनमा राख्नुहोस्‌। (रोमी १४:१०) परमेश्‍वरको वचनमा पाइने बुद्धिमा भर पर्नुहोस्‌ अनि अरूलाई सल्लाह दिँदा येसुको कृपा अनुकरण गर्नुहोस्‌। (हितो. ३:५; मत्ति १२:२०) हामीले किन त्यसो गर्नुपर्छ? किनकि हामी अरूसित जस्तो व्यवहार गर्छौँ, यहोवाले पनि हामीसित त्यस्तै व्यवहार गर्नुहुनेछ।—याकु. २:१३.

परमेश्‍वरको सङ्‌गठनले दिने निर्देशन पालन गर्नुहोस्‌

परमेश्‍वरको सङ्‌गठन

परमेश्‍वरको सङ्‌गठनले उहाँको वचनमा पाइने सल्लाह लागू गर्न मदत गर्ने भिडियोहरू, प्रकाशनहरू र सभाहरूको प्रबन्ध गर्छ। कहिलेकाहीँ परिचालक निकायले सङ्‌गठनमा केही छाँटकाँट गर्छ (अनुच्छेद १४ हेर्नुहोस्‌)

१४. परमेश्‍वरको सङ्‌गठनले हाम्रो लागि कस्तो प्रबन्ध गरिदिएको छ?

१४ यहोवाले पृथ्वीमा रहेको आफ्नो सङ्‌गठनमार्फत हामीलाई जीवनतर्फ लैजाने बाटोमा डोऱ्‍याउँदै हुनुहुन्छ। परमेश्‍वरको सङ्‌गठनले उहाँको वचनमा पाइने सल्लाह लागू गर्न मदत गर्ने भिडियोहरू, प्रकाशनहरू र सभाहरूको प्रबन्ध गर्छ। यी माध्यमहरूबाट पाइने जानकारी बाइबलमा आधारित छन्‌। प्रचारकार्यलाई कसरी अझ प्रभावकारी बनाउने भनेर निर्णय गर्दा परिचालक निकाय पवित्र शक्‍तिमा भर पर्छ। तैपनि परिचालक निकायले ती निर्णयहरूमा कुनै छाँटकाँट गर्नुपर्छ कि भनेर समय-समयमा पुनर्विचार गर्छ। किन? किनकि “यस संसारको दृश्‍य परिवर्तन हुँदै छ” र परमेश्‍वरको सङ्‌गठनले नयाँ परिस्थितिअनुसार छाँटकाँट गर्नु आवश्‍यक पर्न सक्छ।—१ कोरि. ७:३१.

१५. केही प्रकाशकले कस्ता चुनौतीहरूको सामना गरेका छन्‌?

१५ सङ्‌गठनले बाइबलको कुनै बुझाइमा छाँटकाँट गर्दा वा नैतिकताको सन्दर्भमा बाइबलआधारित निर्देशन दिँदा हामी आनाकानी नगरी त्यो स्विकार्छौँ। तर सङ्‌गठनले हाम्रो जीवनको अरू पक्षलाई असर गर्ने कुनै छाँटकाँट गर्दा हामी कस्तो प्रतिक्रिया देखाउँछौँ? उदाहरणको लागि, हालैका वर्षहरूमा उपासनास्थलहरू निर्माण र स्याहारसम्भार गर्ने खर्च ह्वात्तै बढेको छ। त्यसैले परिचालक निकायले सकेसम्म धेरै मण्डलीले एउटै सभाभवन प्रयोग गर्न निर्देशन दिएको छ। यसले गर्दा मण्डलीहरू गाभिएका छन्‌ र केही सभाभवन बिक्री गरिएका छन्‌। अनि त्यो पैसा सभाभवनको तड्‌कारो खाँचो भएको ठाउँहरूमा प्रयोग गरिएको छ। यदि तपाईँको इलाकामा पनि सभाभवन बिक्री गरिएको छ र मण्डलीहरू गाभिएका छन्‌ भने तपाईँलाई नयाँ प्रबन्धअनुसार चल्न गाह्रो लाग्न सक्छ। यस्तो छाँटकाँटले गर्दा केही प्रकाशक सभाको लागि टाढासम्म धाउनुपरेको छ। सभाभवनको निर्माण वा स्याहारसम्भारमा कडा मेहनत गरेको केहीलाई चाहिँ त्यो भवन किन बिक्री गरिएको होला जस्तो लाग्न सक्छ। तिनीहरूलाई आफ्नो समय र शक्‍ति बेकार गयो जस्तो महसुस हुन सक्छ। तैपनि तिनीहरूले यो नयाँ प्रबन्धलाई समर्थन गरिरहेका छन्‌ र यसको लागि तिनीहरू प्रशंसा पाउन योग्य छन्‌।

१६. कलस्सी ३:२३, २४ मा पाइने सल्लाह लागू गर्दा हामीले कसरी आफ्नो आनन्द कायम राख्न सक्नेछौँ?

१६ हामी यहोवाको लागि काम गरिरहेका छौँ र उहाँले नै आफ्नो सङ्‌गठनलाई डोऱ्‍याउँदै हुनुहुन्छ भन्‍ने कुरा मनमा राख्यौँ भने हामीले आफ्नो आनन्द कायम राख्न सक्नेछौँ। (कलस्सी ३:२३, २४ पढ्‌नुहोस्‌) राजा दाउदले मन्दिर बनाउन अनुदान दिएर हाम्रो लागि राम्रो उदाहरण बसाले। तिनले यसो भने: “यसरी राजीखुसीले तपाईँलाई भेटी दिन म को हुँ र? अनि मेरो प्रजा को हो र? किनकि सबथोक तपाईँबाटै आएको हो। हामीले तपाईँलाई जे-जे दियौँ, ती सब तपाईँले नै हामीलाई दिनुभएको हो।” (१ इति. २९:१४) हामीले पनि अनुदान दिँदा यहोवाले हामीलाई दिनुभएको कुरा नै उहाँलाई दिइरहेका हुन्छौँ। तैपनि उहाँको कामलाई अघि बढाउन हामीले आफ्नो समय, शक्‍ति र स्रोतसाधन खर्च गर्दा यहोवा त्यसको मोल गर्नुहुन्छ।—२ कोरि. ९:७.

साँघुरो बाटोमा हिँडिरहनुहोस्‌

१७. आफूले कुनै छाँटकाँट गर्नुपर्ने देख्यौँ भने हामी किन निरुत्साहित हुनु पर्दैन?

१७ जीवनतर्फ लैजाने साँघुरो बाटोमा हिँडिरहन हामीले येसुको पाइला राम्ररी पछ्याउनुपर्छ। (१ पत्रु. २:२१) आफूले कुनै छाँटकाँट गर्नुपर्ने देख्नुभयो भने निरुत्साहित नहुनुहोस्‌। यो वास्तवमा तपाईँ यहोवाको निर्देशनअनुसार चल्न इच्छुक हुनुहुन्छ भन्‍ने कुराको राम्रो सङ्‌केत हुन सक्छ। नबिर्सनुहोस्‌, हामी त्रुटिपूर्ण छौँ भनेर यहोवालाई थाह छ। त्यसैले हामीले येसुको उदाहरण हुबहु अनुकरण गरेको उहाँ आशा गर्नुहुन्‍न।

१८. गन्तव्यमा पुग्न हामीले के गर्नुपर्छ?

१८ हामी सबै जना भविष्यमा ध्यान केन्द्रित गरौँ अनि आफ्नो सोचाइ, मनोवृत्ति र व्यवहारमा छाँटकाँट गर्न इच्छुक होऔँ। (हितो. ४:२५; लुका ९:६२) सधैँ नम्र रहिरहौँ, ‘आनन्दित भइरहौँ, छाँटकाँट गरिरहौँ।’ (२ कोरि. १३:११) यसो गऱ्‍यौँ भने “प्रेम र शान्तिका परमेश्‍वर [हामीसित] रहनुहुनेछ।” अनि हामी गन्तव्यमा पुग्ने मात्र छैनौँ, हाम्रो यात्रा रमाइलो पनि हुनेछ।

गीत ३४ निष्ठामा हिँडौँ!

^ अनु. 5 हामीमध्ये कोही-कोहीलाई आफ्नो सोचाइ, मनोवृत्ति र व्यवहारमा छाँटकाँट गर्न गाह्रो लाग्न सक्छ। यस लेखमा हामी सबैले किन छाँटकाँट गर्नुपर्छ अनि छाँटकाँट गर्दा कसरी आनन्द कायम राख्न सक्छौँ भनेर छलफल गरिएको छ।

^ अनु. 76 चित्रको व्याख्या: एक जवान भाइले आफूले गलत निर्णय गरेपछि भोगेको नतिजाबारे बताउँदा वयस्क भाइ (दायाँ) तिनको कुरा शान्तपूर्वक सुन्दै तिनलाई कुनै सल्लाह दिनु आवश्‍यक छ कि छैन भनेर विचार गर्छन्‌।