सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ४९

फेरि जीवित हुने पक्का आशा!

फेरि जीवित हुने पक्का आशा!

“[मानिसहरू] फेरि जीवित हुनेछन्‌ भनेर . . . मैले पनि परमेश्‍वरमा आशा राखेको छु।”—प्रेषि. २४:१५.

गीत १५१ जिउनेछन्‌ मृतक फेरि

परिचय *

१-२. साँचो उपासकहरूले कस्तो अद्‌भुत आशा पाएका छन्‌?

आशा हाम्रो लागि अत्यन्तै महत्त्वपूर्ण छ। केही मानिस आफ्नो वैवाहिक जीवन सुखी बनाउने, छोराछोरीको राम्ररी पालनपोषण गर्ने वा गम्भीर रोगबाट छुटकारा पाउने आशा राख्छन्‌। हामी ख्रिष्टियनहरू पनि यस्तै कुराहरूको आशा राख्छौँ। तर हामी यीभन्दा अझ राम्रो कुराको आशा राख्छौँ। यसमा सधैँभरि बाँच्ने र मृत्युले गर्दा आफूले गुमाएका व्यक्‍तिहरूलाई फेरि भेट्‌ने आशा पनि समावेश छ।

प्रेषित पावलले यसो भने: “धर्मी र अधर्मी दुवै फेरि जीवित हुनेछन्‌ भनेर . . . मैले पनि परमेश्‍वरमा आशा राखेको छु।” (प्रेषि. २४:१५) तर फेरि जीवित हुने आशाबारे बताउने पहिलो व्यक्‍ति पावल थिएनन्‌। कुलपिता अय्युबले पनि यस आशाबारे बताएका थिए। परमेश्‍वरले तिनलाई सम्झनुहुनेछ र फेरि जीवित पार्नुहुनेछ भन्‍ने कुरामा अय्युब विश्‍वस्त थिए।—अय्यु. १४:७-१०, १२-१५.

३. पहिलो कोरिन्थी अध्याय १५ बाट हामी कस्तो लाभ उठाउन सक्छौँ?

“मरेकाहरू फेरि जीवित हुने” आशा सम्पूर्ण ख्रिष्टियन शिक्षाको “जग” अर्थात्‌ “प्राथमिक शिक्षा”-को भाग हो। (हिब्रू ६:१, २) पहिलो कोरिन्थी अध्याय १५ मा पावलले फेरि जीवित हुने आशाबारे चर्चा गरेका छन्‌। तिनले लेखेको कुराबाट प्रथम शताब्दीका ख्रिष्टियनहरूले पक्कै प्रोत्साहन पाएको हुनुपर्छ। हामीले यस आशामा विश्‍वास गर्न थालेको जत्ति नै लामो समय भए पनि यस अध्यायबाट हामी प्रोत्साहन पाउन सक्छौँ र यो आशा पक्कै साकार हुनेछ भनेर विश्‍वस्त हुन सक्छौँ।

४. हामीले गुमाएका प्रियजनहरू फेरि जीवित हुनेछन्‌ भनेर हामी किन विश्‍वस्त हुन सक्छौँ?

येसु ख्रिष्ट फेरि जीवित हुनुभएको कुराबाट हामीले गुमाएका प्रियजनहरू फेरि जीवित हुनेछन्‌ भनेर विश्‍वस्त हुन सक्छौँ। पावलले कोरिन्थीहरूलाई सुनाएको “सुसमाचार”-मा येसु फेरि जीवित हुनुभएको कुरा पनि समावेश थियो। (१ कोरि. १५:१, २) कुनै ख्रिष्टियनले येसु ब्युँताइनुभएको कुरामा विश्‍वास गर्दैनन्‌ भने तिनको विश्‍वास व्यर्थ हो भनेर पावलले बताए। (१ कोरि. १५:१७) येसु जीवित हुनुभएको कुरामा विश्‍वास गर्नु हाम्रो ख्रिष्टियन आशाको मुख्य आधार हो।

५-६. पहिलो कोरिन्थी १५:३, ४ मा पाइने शब्दहरूले हाम्रो लागि कस्तो अर्थ राख्छ?

पावलले फेरि जीवित हुने आशाबारे चर्चा गर्दा सुरुमै यी तीन वटा तथ्य उल्लेख गरे: (१) “ख्रिष्ट हाम्रा पापहरूका लागि मर्नुभयो।” (२) उहाँलाई “गाडियो।” (३) “धर्मशास्त्रमा लेखिएबमोजिमै उहाँ तेस्रो दिनमा ब्युँताइनुभयो।”१ कोरिन्थी १५:३, ४ पढ्‌नुहोस्‌।

येसुको मृत्यु हुनु, उहाँलाई गाडिनु र उहाँ फेरि जीवित हुनुले हाम्रो लागि कस्तो अर्थ राख्छ? भविष्यवक्‍ता यसैयाले बताएअनुसार मसीहलाई ‘जीवितहरूको देशबाट हटाइने थियो’ र उहाँलाई ‘दुष्ट मानिसहरूसँगै गाडिने थियो।’ तर यसैयाले अर्को एउटा कुरा पनि बताए। मसीहले “थुप्रै मानिसको पाप” आफ्नो शिरमा लिनुहुने थियो। येसुले फिरौतीस्वरूप आफ्नो ज्यान दिएर यसो गर्नुभयो। (यसै. ५३:८, ९, १२; मत्ति २०:२८; रोमी ५:८) येसुको मृत्यु भएको, उहाँलाई गाडिएको र उहाँ फेरि जीवित हुनुभएको कुराले हामीलाई पाप र मृत्युबाट छुटकारा पाउने र मरिसकेका प्रियजनहरूलाई फेरि भेट्‌ने आशामा विश्‍वास गर्ने ठोस कारण दिन्छ।

थुप्रै साक्षीहरूले दिएको बयान

७-८. येसु जीवित हुनुभएको कुरामा पक्का हुन ख्रिष्टियनहरूलाई केले मदत गर्छ?

फेरि जीवित हुने हाम्रो आशा र येसु मृत्युबाट जीवित हुनुभएको कुरा आपसमा सम्बन्धित छ। त्यसैले येसु जीवित हुनुभएको कुरामा हामी विश्‍वस्त हुनुपर्छ। यहोवाले येसुलाई मृत्युबाट जीवित पार्नुभयो भन्‍ने कुरामा हामी किन पक्का हुन सक्छौँ?

मृत्युबाट जीवित हुनुभएको येसुलाई थुप्रै मानिसले देखे। (१ कोरि. १५:५-७) येसुलाई देखेका मानिसहरूको सूचीमा पावलले उल्लेख गरेको पहिलो व्यक्‍ति प्रेषित पत्रुस (केफास) थिए। साथै जीवित हुनुभएको येसुलाई पत्रुसले देखेको कुरा साँचो हो भनेर केही चेलाले बताए। (लुका २४:३३, ३४) यसबाहेक येसु जीवित हुनुभएपछि “बाह्रै” प्रेषितले उहाँलाई देखे। त्यसपछि सायद मत्ति २८:१६-२० मा चर्चा गरिएको गालिलको उत्साहजनक सभामा ख्रिष्ट “एकैचोटि ५०० भन्दा धेरै भाइकहाँ देखा पर्नुभयो।” साथै येसु “याकुबकहाँ . . . देखा पर्नुभयो,” जो सायद उहाँका भाइ थिए र उहाँ मसीह हुनुहुन्छ भन्‍ने कुरामा पहिला तिनी विश्‍वास गर्दैनथे। (युह. ७:५) तर जीवित हुनुभएको येसुलाई देखेपछि तिनी यस कुरामा पक्का भए। रोचक कुरा त, इस्वी संवत्‌ ५५ मा पावलले यो पत्र लेख्दा फेरि जीवित हुनुभएको येसुलाई आफ्नै आँखाले देखेका थुप्रै व्यक्‍ति अझै जीवितै थिए। त्यसैले कसैलाई यस कुरामा शङ्‌का लागेमा ती साक्षीहरूलाई सोध्न सक्थे।

९. प्रेषित ९:३-५ अनुसार पावलले किन येसु जीवित हुनुभएको कुराको थप प्रमाण दिन सक्थे?

पछि येसु पावलकहाँ पनि देखा पर्नुभयो। (१ कोरि. १५:८) पावल (सावल) दमिसकतर्फ जाँदै गर्दा तिनले जीवित हुनुभएको येसुको आवाज सुने र उहाँ स्वर्गमा हुनुभएको दर्शन देखे। (प्रेषित ९:३-५ पढ्‌नुहोस्‌) पावलको जीवनको यस घटनाले येसु जीवित हुनुभएको कुरा साँचो हो भन्‍ने कुराको थप प्रमाण दियो।—प्रेषि. २६:१२-१५.

१०. येसु जीवित हुनुभएको कुरामा विश्‍वस्त भएपछि पावल के गर्न उत्प्रेरित भए?

१० पावलको बयान सुनेर केही मानिसहरू छक्क परेका हुन सक्छन्‌ किनकि कुनै समय तिनी ख्रिष्टियनहरूलाई खेदो गर्ने गर्थे। तर येसु जीवित हुनुभएको कुरामा पावल आफै विश्‍वस्त भएपछि तिनले अरूलाई पनि यस कुरामा विश्‍वस्त बनाउन कडा मेहनत गरे। यो सत्य मानिसहरूलाई प्रचार गर्दा तिनले थुप्रै चोटि कुटाइ खाए, झ्यालखानामा थुनिए अनि प्रचार-यात्राको दौडान कति पटक त तिनी चढेको जहाज क्षतिग्रस्त भयो। (१ कोरि. १५:९-११; २ कोरि. ११:२३-२७) येसु जीवित हुनुभएको कुरामा पावल यत्ति विश्‍वस्त थिए कि तिनी विश्‍वासको खातिर ज्यान दिनसमेत तयार भए। ती ख्रिष्टियनहरूले दिएको बयान विचार गर्दा के तपाईँ पनि येसु जीवित हुनुभएको कुरामा विश्‍वस्त हुनुभएन र? अनि के यसले फेरि जीवित हुने आशामा तपाईँको विश्‍वास बलियो बनाएन र?

पावलले गलत दृष्टिकोणलाई सच्याए

११. कोरिन्थका केही मानिसले फेरि जीवित हुने आशाबारे किन गलत दृष्टिकोण राखेका हुन सक्छन्‌?

११ ग्रीक सहर कोरिन्थका केही मानिस फेरि जीवित हुने आशाबारे गलत दृष्टिकोण राख्थे। कसै-कसैले त “मरेकाहरू फेरि जीवित हुँदैनन्‌” समेत भन्थे। किन? (१ कोरि. १५:१२) अर्को ग्रीक सहर एथेन्सका दार्शनिकहरूले येसु जीवित हुनुभयो भन्‍ने कुरालाई हाँसोमा उडाएका थिए। कोरिन्थका केही मानिसलाई यस्तो सोचाइले प्रभाव पारेको हुन सक्छ। (प्रेषि. १७:१८, ३१, ३२) केहीले भने फेरि जीवित हुने कुरालाई प्रतीकात्मक अर्थमा लिएको हुन सक्छ। तिनीहरू पापमा “मरेको” मानिस ख्रिष्टियन भएपछि “जीवित” हुन्छ भन्थे। तर तिनीहरूले जस्तोसुकै तर्क गरे पनि फेरि जीवित हुने कुरालाई नकार्ने ती मानिसहरूको विश्‍वास व्यर्थ थियो। यदि परमेश्‍वरले येसुलाई जीवित पार्नुभएको होइन भने फिरौतीको मोल पनि तिरिएको होइन र सबै मानिस पापी नै रहन्छन्‌। त्यसैले फेरि जीवित हुने आशालाई नकार्ने ती मानिसहरूसित साँचो आशा थिएन!—१ कोरि. १५:१३-१९; हिब्रू ९:१२, १४.

१२. पहिलो पत्रुस ३:१८, २२ अनुसार येसुलाई जीवित पारिएको कुरा मरेकाहरूलाई जीवित पारिएको विगतका घटनाहरूभन्दा किन उत्कृष्ट थियो?

१२ ‘ख्रिष्ट मरेकाहरूबाट ब्युँताइनुभयो’ भनेर पावलले आफ्नै अनुभवद्वारा थाह पाएका थिए। येसुलाई फेरि जीवित पारिएको कुरा मरेकाहरूलाई जीवित पारिएको विगतका घटनाहरूभन्दा उत्कृष्ट थियो किनकि ती मानिसहरू पछि फेरि मरे। पावलले येसुलाई “मृत्युको चिर निद्रामा परेकाहरूमध्ये पहिलो फल” भने। येसु कुन अर्थमा पहिलो फल हुनुहुन्थ्यो? उहाँ अदृश्‍य शरीरमा ब्युँताइने र स्वर्ग जाने पहिलो व्यक्‍ति हुनुहुन्थ्यो।—१ कोरि. १५:२०; प्रेषि. २६:२३; १ पत्रुस ३:१८, २२ पढ्‌नुहोस्‌।

तिनीहरू जसलाई “जीवित पारिनेछ”

१३. पावलले आदम र येसुबीच कस्तो भिन्‍नता देखाए?

१३ एक जना मानिसको मृत्युले लाखौँ मानिसलाई फेरि जीवन दिन कसरी सम्भव भएको छ? पावलले यस प्रश्‍नको तर्कसङ्‌गत जवाफ दिएका छन्‌। आदमले गर्दा मानिसहरूले कस्तो नतिजा भोग्नुपऱ्‍यो र ख्रिष्टले गर्दा के सम्भव भयो भनेर तिनले स्पष्ट भिन्‍नता देखाए। आदमको विषयमा पावलले यस्तो लेखे: “एकै जना पुरुषले गर्दा मृत्यु आयो।” पाप गरेर आदमले आफैमाथि र आफ्ना सन्तानमाथि विपत्ति ल्याए। तिनको अनाज्ञाकारिताले गर्दा हामीले अझै पनि थुप्रै दुःखद नतिजा भोगिरहेका छौँ। परमेश्‍वरले आफ्नो छोरालाई जीवित पार्नुभएकोले नतिजा कत्ति फरक भएको छ! “मरेकाहरू . . . एकै जना पुरुष” येसुद्वारा “फेरि जीवित पारिनेछन्‌।” पावलले यस्तो तर्क गरे: “जसरी आदमले गर्दा सबै मर्दै छन्‌, त्यसरी नै ख्रिष्टले गर्दा सबैलाई जीवित पारिनेछ।”—१ कोरि. १५:२१, २२.

१४. के आदम फेरि जीवित हुनेछन्‌? व्याख्या गर्नुहोस्‌।

१४ “आदमले गर्दा सबै मर्दै छन्‌” भनेर पावलले के भन्‍न खोज्दै थिए? पावलले आदमका सन्तानबारे बताउँदै थिए, जो जन्मजातै पापी र त्रुटिपूर्ण भए अनि नतिजास्वरूप तिनीहरूले मृत्यु भोग्नुपर्ने भयो। (रोमी ५:१२) आदम “जीवित पारिने” मानिसहरूमध्ये पर्दैनन्‌। ख्रिष्टले तिर्नुभएको फिरौतीको मोलले तिनलाई बचाउन सक्दैन किनकि आदम त्रुटिरहित थिए र तिनी जानाजानी यहोवाप्रति अनाज्ञाकारी भए। आदमले भोगेको नतिजा र भविष्यमा “मानिसको छोरा”-ले “बाख्रा”-को रूपमा न्याय गर्नुहुने मानिसहरूले भोग्ने नतिजा उस्तै हुनेछ। तिनीहरू “सधैँका लागि नाश हुनेछन्‌।”—मत्ति २५:३१-३३, ४६; हिब्रू ५:९.

फेरि जीवित पारेर स्वर्ग लगिने थुप्रै व्यक्‍तिमध्ये येसु पहिलो हुनुहुन्थ्यो (अनुच्छेद १५-१६ हेर्नुहोस्‌) *

१५. “जीवित पारिने” “सबै” मानिसमा को समावेश छन्‌?

१५ याद गर्नुहोस्‌, पावलले “ख्रिष्टले गर्दा सबैलाई जीवित पारिनेछ” भने। (१ कोरि. १५:२२) पावलले यो पत्र कोरिन्थका अभिषिक्‍त ख्रिष्टियनहरूलाई लेखेका थिए, जो मृत्युबाट जीवित भएर स्वर्ग जाने थिए। ती ख्रिष्टियनहरू ‘ख्रिष्ट येसुका चेलाहरू भएको नाताले पवित्र पारिएका थिए अनि पवित्र जनहरू बन्‍न बोलाइएका थिए।’ पावलले “मृत्युको चिर निद्रामा परेका ख्रिष्टका चेलाहरू”-बारे पनि उल्लेख गरे। (१ कोरि. १:२; १५:१८; २ कोरि. ५:१७) परमेश्‍वरको प्रेरणा पाएर लेखेको अर्को पत्रमा पावलले “[येसुजस्तै] मरेर उहाँसित एक भएका”-हरू ‘उहाँजस्तै फेरि जीवित भएर उहाँसित एक हुनेछन्‌’ भनेर लेखे। (रोमी ६:३-५) येसुलाई अदृश्‍य शरीरमा ब्युँताएर स्वर्ग लगियो। त्यसैले पवित्र शक्‍तिद्वारा अभिषेक भएका ख्रिष्टका सबै चेलालाई पनि अदृश्‍य शरीरमा ब्युँताएर स्वर्ग लगिने थियो।

१६. पावलले येसुलाई “पहिलो फल” भन्दा तिनले के सङ्‌केत गर्दै थिए?

१६ ख्रिष्ट “मृत्युको चिर निद्रामा परेकाहरूमध्ये पहिलो फल”-को रूपमा जीवित पारिनुभयो भनेर पावलले लेखे। हुनत लाजरसलगायत अरू केही मानिसलाई यसै पृथ्वीमा फेरि जीवित पारिएको थियो। तर अदृश्‍य शरीरमा ब्युँताइने र अनन्त जीवन पाउने पहिलो व्यक्‍ति येसु हुनुहुन्थ्यो। उहाँलाई इस्राएलीहरूले भेटीको रूपमा चढाउने उब्जनीको पहिलो फलसित तुलना गर्न सकिन्छ। यसबाहेक पावलले येसुलाई “पहिलो फल” भन्दा उहाँपछि अरू मानिसहरूलाई पनि मृत्युबाट ब्युँताएर स्वर्ग लगिनेछ भनेर सङ्‌केत गर्दै थिए। प्रेषितहरू र पवित्र शक्‍तिद्वारा अभिषेक भएका ख्रिष्टका अरू चेलाहरूलाई पनि अन्ततः येसुलाई जस्तै ब्युँताएर स्वर्ग लगिने थियो।

१७. पवित्र शक्‍तिद्वारा अभिषेक भएका ख्रिष्टका चेलाहरूले कहिले स्वर्गीय इनाम पाउने थिए?

१७ पावलले कोरिन्थीहरूलाई पत्र लेखेको समयमा पवित्र शक्‍तिद्वारा अभिषेक भएका ख्रिष्टका चेलाहरूलाई स्वर्ग लैजाने काम सुरु भइसकेको थिएन। बरु पावलले यो काम भविष्यमा हुनेछ भनेर यसरी सङ्‌केत गरे: “हरेकको आ-आफ्नै क्रमअनुसार: पहिलो फलको रूपमा ख्रिष्टलाई। त्यसपछि जो ख्रिष्टका हुन्‌, तिनीहरूलाई उहाँको उपस्थितिको दौडान जीवित पारिनेछ।” (१ कोरि. १५:२३; १ थिस्स. ४:१५, १६) अहिले हामी भविष्यवाणी गरिएको ख्रिष्टको “उपस्थिति”-मा बाँचिरहेका छौँ। त्यसैले प्रेषितहरू र अरू अभिषिक्‍त ख्रिष्टियनहरू, जो मरिसकेका थिए, तिनीहरूले ‘येसुजस्तै फेरि जीवित भएर उहाँसित एक हुन’ र स्वर्गीय इनाम पाउन उहाँको उपस्थितिलाई पर्खनुपर्ने थियो।

तपाईँले पक्का आशा पाउनुभएको छ!

१८. (क) मृत्युबाट जीवित पारिने अरू पनि छन्‌ भन्‍ने निष्कर्षमा हामी किन पुग्न सक्छौँ? (ख) पहिलो कोरिन्थी १५:२४-२६ ले सङ्‌केत गरेअनुसार स्वर्गमा के हुनेछ?

१८ ख्रिष्टसँगै स्वर्गमा जीवन बिताउने आशा नपाएका अरू वफादार ख्रिष्टियनबारे चाहिँ के भन्‍न सकिन्छ? तिनीहरूले पनि फेरि जीवित हुने आशा पाएका छन्‌। बाइबलले बताएअनुसार पावललगायत स्वर्गीय आशा पाएका अरूलाई “मृत्युबाट सुरुमा जीवित पारिन्छ।” (फिलि. ३:११) के यसले मृत्युबाट जीवित पारिने अरू पनि छन्‌ भनेर सङ्‌केत गर्दैन र? यो कुरा भविष्यको लागि आफूले राखेको आशाबारे अय्युबले भनेको कुरासित मेल खान्छ। (अय्यु. १४:१५) येसुले सबै सरकार, सबै अख्तियार र शक्‍तिलाई नामेट पार्नुहुँदा ‘जो ख्रिष्टका हुन्‌, तिनीहरू उहाँको उपस्थितिको दौडान’ उहाँसँगै स्वर्गमा हुनेछन्‌। हाम्रो अन्तिम “शत्रु मृत्यु”-लाई समेत नामेट पारिनेछ। जीवित पारेर स्वर्ग लगिनेहरू फेरि कहिल्यै मर्नेछैनन्‌। तर अरूबारे चाहिँ के भन्‍न सकिन्छ?१ कोरिन्थी १५:२४-२६ पढ्‌नुहोस्‌।

१९. स्वर्गीय आशा नभएकाहरूले कस्तो आशा राख्न सक्छन्‌?

१९ स्वर्गीय आशा नभएकाहरूले कस्तो आशा राख्न सक्छन्‌? तिनीहरूले पावलका यी शब्दहरूबाट आशा पाउन सक्छन्‌: “धर्मी र अधर्मी दुवै फेरि जीवित हुनेछन्‌ भनेर . . . मैले पनि परमेश्‍वरमा आशा राखेको छु।” (प्रेषि. २४:१५) स्पष्ट छ, कुनै पनि अधर्मी मानिस स्वर्ग जान सक्दैन। त्यसैले पावलका यी शब्दहरूले भविष्यमा पृथ्वीमा मानिसहरूलाई जीवित पारिने कुरालाई सङ्‌केत गर्छ।

फेरि जीवित हुने आशामा विश्‍वास गर्दा हामी उज्ज्वल भविष्यको प्रतीक्षा गर्न सक्छौँ (अनुच्छेद २० हेर्नुहोस्‌) *

२०. फेरि जीवित हुने आशामा तपाईँको विश्‍वास कसरी बलियो भएको छ?

२० “[मानिसहरू] फेरि जीवित हुनेछन्‌” भन्‍ने कुरामा कुनै शङ्‌का छैन! पृथ्वीमै फेरि जीवित पारिनेहरूले सधैँभरि बाँच्ने आशा राख्न सक्छन्‌। तपाईँ पनि यस प्रतिज्ञामा विश्‍वास गर्न सक्नुहुन्छ। मृत्युले गर्दा आफ्नो प्रियजन गुमाउनुभएको छ भने यस आशाले तपाईँलाई सान्त्वना दिन सक्छ। ख्रिष्ट र उहाँका सह-शासकहरूले ‘राजाको रूपमा १ हजार वर्षसम्म शासन गर्नुहुँदा’ तपाईँका प्रियजनहरू फेरि जीवित हुन सक्छन्‌। (प्रका. २०:६) तपाईँ हजार वर्षीय शासन सुरु हुनुअघि नै मर्नुभयो भने पनि फेरि जीवित हुने पक्का आशा राख्न सक्नुहुन्छ। हो, तपाईँको भविष्य सुनिश्‍चित छ! हामीलाई यस “आशाले निराश तुल्याउँदैन।” (रोमी ५:५) यस आशाले तपाईँलाई अहिले पनि बलियो रहिरहन र परमेश्‍वरको सेवामा अझ आनन्दित भइरहन मदत गर्नेछ। तर १ कोरिन्थी अध्याय १५ बाट हामी अरू कुरा पनि सिक्न सक्छौँ। त्यसबारे हामी यसपछिको लेखमा छलफल गर्नेछौँ।

गीत १४७ वाचा अनन्त जीवनको

^ अनु. 5 पहिलो कोरिन्थी अध्याय १५ मा फेरि जीवित हुने आशाबारे चर्चा गरिएको छ। यो शिक्षा हाम्रो लागि किन महत्त्वपूर्ण छ र येसु फेरि जीवित पारिनुभएको थियो भनेर हामी किन विश्‍वास गर्न सक्छौँ? यस लेखमा फेरि जीवित हुने आशाबारे यी र अन्य महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ पाउनेछौँ।

^ अनु. 56 चित्रको व्याख्या: फेरि जीवित भएर स्वर्ग जानुभएको पहिलो व्यक्‍ति येसु हुनुहुन्थ्यो। (प्रेषि. १:९) उहाँसँगै स्वर्गमा शासन गर्नेहरूमध्ये थोमा, याकुब, लिडिया, युहन्‍ना, मरियम र पावल पनि हुन्‌।

^ अनु. 58 चित्रको व्याख्या: एक भाइले लामो समयदेखि सँगै सेवा गरेको आफ्नी प्रिय पत्नी गुमाएका छन्‌। उनी फेरि जीवित हुनेछिन्‌ भन्‍ने कुरामा तिनी विश्‍वस्त छन्‌ र वफादार भई यहोवाको सेवामा लागिरहन्छन्‌।