सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख ५१

‘यहोवा निराश भएकाहरूलाई बचाउनुहुन्छ’

‘यहोवा निराश भएकाहरूलाई बचाउनुहुन्छ’

“यहोवा टुटेका हृदय भएकाहरूको नजिक हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ।”—भज. ३४:१८.

गीत ३० यहोवा नै मेरा बुबा, ईश्‍वर र साथी

परिचय *

१-२. यस लेखमा हामी के विचार गर्नेछौँ?

कहिलेकाहीँ हामीलाई जीवन छोटो र “दुःखैदुःखले भरिएको” छ जस्तो लाग्न सक्छ। (अय्यु. १४:१) त्यसैले कहिलेकाहीँ हामी निराश हुनु स्वाभाविकै हो। पुरातन समयका थुप्रै यहोवाका सेवकले पनि त्यस्तै महसुस गरे। कोही त मर्नसमेत चाहे। (१ राजा १९:२-४; अय्यु. ३:१-३, ११; ७:१५, १६) तर तिनीहरूले भरोसा राखेको परमेश्‍वर यहोवाले तिनीहरूलाई पटक-पटक आश्‍वासन र बल दिनुभयो। तिनीहरूको विवरण हाम्रै शिक्षाको लागि र हामीलाई सान्त्वना दिनको लागि रेकर्ड गरिएका हुन्‌।—रोमी १५:४.

यस लेखमा निराशाजनक परिस्थितिको सामना गरेका यहोवाका केही सेवकहरू, जस्तै: याकुबका छोरा युसुफ, विधवा नाओमी र तिनकी बुहारी रुथ, भजन अध्याय ७३ लेख्ने एक जना लेवी र प्रेषित पत्रुसबारे हामी विचार गर्नेछौँ। यहोवाले तिनीहरूलाई कसरी बल दिनुभयो? तिनीहरूको उदाहरणबाट हामी प्रत्येकले कस्ता पाठहरू सिक्न सक्छौँ? यी प्रश्‍नहरूको जवाफले “यहोवा टुटेका हृदय भएकाहरूको नजिक हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ” भनेर आश्‍वासन दिन्छ।—भज. ३४:१८.

युसुफले घोर अन्यायहरू सहे

३-४. युसुफ जवान छँदा तिनलाई के भयो?

युसुफ करिब १७ वर्षको हुँदा तिनले दुई वटा सपना देखे। ती दुवै सपना परमेश्‍वरबाट आएको थियो। ती सपनाहरूले युसुफ एकदिन परिवारका सबैले आदर गर्नुपर्ने स्थानमा पुग्नेछन्‌ भनेर सङ्‌केत गऱ्‍यो। (उत्प. ३७:५-१०) तर युसुफले सपना देखेको केही समयपछि नै तिनको जीवनमा ठूलो परिवर्तन आयो। तिनका दाइहरूले तिनलाई आदर देखाउनु त परै जाओस्‌, उल्टै तिनलाई दासत्वमा बेचिदिए। पछि तिनी मिश्री अफिसर पोतिफरको घरमा दास बन्‍न पुगे। (उत्प. ३७:२१-२८) छोटो समयमै युसुफको जीवन उलटपुलट भयो। आफ्नो बुबाको प्यारो छोरा युसुफ एकाएक मूर्तिपूजक मिश्री अफिसरको घरमा तुच्छ दास बन्‍न पुगे।—उत्प. ३९:१.

त्यसपछि युसुफले झनै नराम्रा दिनहरू देख्नुपऱ्‍यो। पोतिफरकी पत्नीले युसुफमाथि बलात्कारको गलत आरोप लगाइन्‌। छानबिनै नगरी पोतिफरले युसुफलाई झ्यालखानामा हाले र तिनलाई फलामका साङ्‌लाले बाँधेर राखियो। (उत्प. ३९:१४-२०; भज. १०५:१७, १८) आफूमाथि बलात्कारको गलत आरोप लगाइँदा जवान युसुफले कस्तो महसुस गरे होलान्‌! अनि यस्तो आरोपले गर्दा यहोवाको नाममा लागेको कलङ्‌कबारे पनि विचार गर्नुहोस्‌। पक्कै पनि युसुफ निराश हुनुको जायज कारण थियो।

५. युसुफले निराश नहुन के गरे?

युसुफ दास छँदा र पछि झ्यालखानामा पर्दा आफ्नो परिस्थिति सुधार्न तिनले गर्न सक्ने खासै केही थिएन। तिनले कसरी सकारात्मक मनोवृत्ति राख्न सके? आफूले गर्न नसक्ने कुरामा ध्यान दिनुको सट्टा तिनले लगनशील भई आफूलाई अह्राइएको काम गरे। सबैभन्दा महत्त्वपूर्ण कुरा, युसुफले जीवनमा यहोवा परमेश्‍वरलाई प्रथम स्थानमा राखे। अनि यहोवाले पनि तिनको हरेक काम सफल तुल्याइदिनुभयो।—उत्प. ३९:२१-२३.

६. आफूले देखेका सपनाहरूबाट युसुफले कसरी सान्त्वना पाएका हुन सक्छन्‌?

आफूले देखेका भविष्यसूचक सपनाहरूमा मनन गर्दा पनि युसुफले प्रोत्साहन पाएको हुनुपर्छ। ती सपनाहरूले तिनले आफ्नो परिवारलाई फेरि भेट्‌न पाउनेछन्‌ र तिनको परिस्थितिमा सुधार आउनेछ भनेर सङ्‌केत गरेको थियो। हुन पनि त्यस्तै भयो। युसुफ करिब ३७ वर्षको हुँदा तिनले देखेका भविष्यसूचक सपनाहरू अचम्मलाग्दो तरिकामा पूरा हुन थाले।—उत्प. ३७:७, ९, १०; ४२:६, ९.

७. पहिलो पत्रुस ५:१० अनुसार परीक्षाहरू सहन हामीलाई केले मदत गर्नेछ?

हाम्रो लागि पाठहरू। युसुफको विवरणले यो संसार क्रूर छ र मानिसहरूले हामीलाई अन्यायी व्यवहार गर्नेछन्‌ भनेर सम्झाउँछ। हाम्रै दाजुभाइ दिदीबहिनीले समेत हाम्रो चित्त दुखाउन सक्छ। तर यहोवालाई हाम्रो चट्टान र शरणस्थान बनायौँ भने हामी निराश हुनेछैनौँ वा उहाँको सेवा गर्न छोड्‌नेछैनौँ। (भज. ६२:६, ७; १ पत्रुस ५:१० पढ्‌नुहोस्‌) यहोवाले युसुफलाई भविष्यसूचक सपनाहरू देखाउनुहुँदा तिनी करिब १७ वर्षको मात्र थिए भन्‍ने कुरा पनि याद गर्नुहोस्‌। हो, यहोवा आफ्ना जवान सेवकहरूमाथि भरोसा राख्नुहुन्छ। आज थुप्रै जवान युसुफजस्तै छन्‌। तिनीहरू पनि यहोवामा भरोसा राख्छन्‌। तिनीहरूले परमेश्‍वरप्रतिको आफ्नो वफादारीमा सम्झौता नगरेकोले कतिपयलाई अन्यायपूर्ण तरिकाले झ्यालखानामा हालिएको छ।—भज. ११०:३.

शोकमा परेका दुई स्त्री

८. नाओमी र रुथलाई के भयो?

यहुदामा ठूलो अनिकाल परेकोले नाओमी र उनको परिवार मोआबमा गएर प्रवासीको रूपमा बसोबास गर्न थाले। त्यहाँ नाओमीको पति एलिमेलेकको मृत्यु भयो र उनी र उनका दुई छोरा मात्र बाँकी भए। पछि नाओमीका छोराहरूले मोआबी स्त्रीहरू रुथ र ओर्पासँग विवाह गरे। झन्डै १० वर्षपछि नाओमीका दुवै छोराको मृत्यु भयो र तिनीहरूको कुनै सन्तान थिएन। (रुथ १:१-५) यी तीन स्त्री कत्ति शोकित भए होलान्‌! रुथ र ओर्पाले त फेरि विवाह गर्न सक्थे। तर बुढेसकालले छोइसकेको नाओमीलाई कसले हेरचाह गर्ने? नाओमी यत्ति निराश भइन्‌ कि तिनले एकचोटि यस्तो समेत भनिन्‌: “मलाई नाओमी होइन, मारा भन। किनकि सर्वशक्‍तिमान्‌ परमेश्‍वरले मेरो जीवन दुःखै दुःखले भरिदिनुभएको छ।” यी सबै दुःखद घटनाहरूपछि नाओमीले बेतलेहेम फर्कने निर्णय गरिन्‌ र रुथ पनि उनीसितै गइन्‌।—रुथ १:७, १८-२०.

नाओमी र रुथको उदाहरणबाट परमेश्‍वर आफ्ना उपासकहरूलाई दुःख र निराशाका भावनाहरू हटाउन मदत गर्न सक्नुहुन्छ भनेर स्पष्ट हुन्छ। के यहोवा तपाईँलाई पनि मदत गर्न सक्नुहुन्छ? (अनुच्छेद ८-१३ हेर्नुहोस्‌) *

९. रुथ १:१६, १७, २२ अनुसार रुथले नाओमीलाई कसरी प्रोत्साहन दिइन्‌?

नाओमीलाई निराशा हटाउन मदत गरेको एउटा कुरा अटल प्रेम थियो। उदाहरणको लागि, नाओमीलाई एक्लै नछोडेर रुथले उनीप्रति अटल प्रेम देखाइन्‌। (रुथ १:१६, १७, २२ पढ्‌नुहोस्‌) बेतलेहेममा रुथले नाओमी र आफ्नो लागि जौ बटुल्न धेरै मेहनत गरिन्‌। फलस्वरूप यी जवान स्त्रीले राम्रो नाम कमाइन्‌।—रुथ ३:११; ४:१५.

१०. नाओमी र रुथजस्ता खाँचोमा परेकाहरूलाई यहोवाले कसरी प्रेम देखाउनुभयो?

१० यहोवाले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा नाओमी र रुथजस्ता खाँचोमा परेकाहरूको लागि दयालु प्रबन्ध पनि गरिएको थियो। उहाँले आफ्ना मानिसहरूलाई कटनी गर्दा खेतको कुनाकुनासम्म नकाट्‌नू र त्यो गरिबहरूको लागि छोडिदिनू भन्‍नुभयो। (लेवी १९:९, १०) यस प्रबन्धले गर्दा नाओमी र रुथले अरूसामु हात फैलाउनुपरेन। उनीहरूले खानाको लागि आफै प्रबन्ध गर्न सके।

११-१२. बोअजले नाओमी र रुथलाई आनन्दित हुने कस्तो कारण दिए?

११ रुथ सिलाबाला बटुल्न गएको खेतका मालिक बोअज नाम गरेका धनी मानिस थिए। रुथले आफ्नी सासू नाओमीप्रति देखाएको वफादारी र प्रेम देखेर बोअजको मन छोयो। तिनले नाओमीको परिवारको सम्पत्ति मोल तिरेर किने र रुथलाई आफ्नी पत्नी बनाए। (रुथ ४:९-१३) बोअज र रुथको एउटा छोरा भयो र तिनीहरूले त्यस बालकको नाम ओबेद राखे। पछि ओबेद राजा दाउदका हजुरबुबा बने।—रुथ ४:१७.

१२ बालक ओबेदलाई आफ्नो काखमा लिँदा नाओमी कत्ति खुसी भइन्‌ होला र उनले यहोवालाई कत्ति धन्यवाद चढाइन्‌ होला, कल्पना गर्नुहोस्‌! तर नाओमी र रुथले अझै उत्तम कुरा पाउन बाँकी नै छ। फेरि जीवित भएपछि उनीहरूले ओबेद प्रतिज्ञा गरिएका मसीह येसुको पुर्खा बने भनेर थाह पाउनेछन्‌।

१३. नाओमी र रुथको विवरणबाट हामी कस्ता महत्त्वपूर्ण पाठहरू सिक्न सक्छौँ?

१३ हाम्रो लागि पाठहरू। परीक्षाहरूको सामना गर्नुपर्दा हामी निराश हुन सक्छौँ र हाम्रो मन भाँचिनसमेत सक्छ। हामीलाई समस्याबाट उम्कने कुनै बाटो छैन जस्तो लाग्न सक्छ। त्यस्तो बेला स्वर्गमा बस्नुहुने हाम्रो बुबामाथि पूर्ण भरोसा राख्नुपर्छ र हाम्रा दाजुभाइ दिदीबहिनीसँग नजिक हुनुपर्छ। हो, यहोवाले सधैँ हाम्रो समस्या हटाउनुहुन्‍न। नाओमीकै कुरा गर्ने हो भने पनि उहाँले उनका मरिसकेका पति र छोराहरू फिर्ता दिनुभएन। तर उहाँले हामीलाई समस्या सहन मदत दिनुहुनेछ र यसमा हाम्रो आध्यात्मिक परिवारले अटल प्रेम देखाउँदै गरेको मदत पनि पर्छ।—हितो. १७:१७.

एक जना लेवीले झन्डै ठेस खाएका थिए

यहोवाको सेवालाई बेवास्ता गर्ने मानिसहरूले सफल जीवन बिताइरहेको जस्तो देखेर भजन अध्याय ७३ का लेखकले झन्डै ठेस खाएका थिए। हामीलाई पनि त्यस्तै हुन सक्छ (अनुच्छेद १४-१६ हेर्नुहोस्‌)

१४. एक जना लेवी किन धेरै निराश भए?

१४ भजन अध्याय ७३ लेख्ने एक जना लेवी थिए। त्यसैले तिनले यहोवाको उपासनास्थलमा सेवा गर्ने विशेष सुअवसर पाएका थिए। तैपनि तिनी एक समय धेरै निराश भए। किन? तिनले दुष्ट र अहङ्‌कारीहरूको डाह गर्न थाले। तिनले उनीहरूले जस्तो खराब काम गर्न चाहेकोले त होइन। तर तिनलाई उनीहरूले सुखविलासको जीवन बिताइरहेको जस्तो लागेको थियो। (भज. ७३:२-९, ११-१४) उनीहरूले प्रशस्त धनसम्पत्ति र कुनै चिन्ता-फिक्रीविनाको जीवनको आनन्द उठाइरहेको जस्तो देखिन्थ्यो। उनीहरू जीवनमा सफल भएको जस्तो देखेर ती भजनरचयिता यत्ति निराश भए कि तिनले यसो भने: “मैले बेकारमा आफ्नो हृदय चोखो राखेछु र निर्दोषतामा आफ्नो हात धोएछु।” यस्तो सोचाइले गर्दा तिनी यहोवादेखि तर्केर जाने खतरा थियो।

१५. भजन ७३:१६-१९, २२-२५ अनुसार एक जना लेवीले कसरी निराशा हटाउन सके?

१५ भजन ७३:१६-१९, २२-२५ पढ्‌नुहोस्‌। ती लेवी “परमेश्‍वरको शानदार पवित्र स्थानमा पसे।” त्यहाँ तिनले सङ्‌गी उपासकहरूमाझ आफ्नो परिस्थितिबारे शान्त भई प्रार्थनापूर्वक सोच्न सकेको हुनुपर्छ। फलस्वरूप तिनले आफू मूर्ख भएको र यहोवाबाट टाढा लैजाने खतरनाक बाटोमा हिँड्‌न थालेको याद गरे। तिनले दुष्टहरू “चिप्लो ठाउँमा” छन्‌ र तिनीहरू “डरलाग्दो तरिकाले” नाश हुनेछन्‌ भनेर बुझे। डाह र निराशा हटाउन ती लेवीले सबै कुरा यहोवाको दृष्टिकोणबाट हेर्नु आवश्‍यक थियो। यसो गरेपछि तिनले फेरि मनोशान्ति पाए र आनन्दित भए। तिनले यसो भने: “[यहोवा] मेरो साथमा होउन्जेल मलाई पृथ्वीमा अरू केही कुरा चाहिँदैन।”

१६. एक जना लेवीबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ?

१६ हाम्रो लागि पाठहरू। सुखविलासको जीवन बिताइरहेको जस्तो देखिने दुष्ट मानिसहरूको कहिल्यै डाह नगरौँ। तिनीहरूले आनन्दित जीवन बिताइरहेको जस्तो देखिए पनि त्यो क्षणिक हुन्छ; तिनीहरू सधैँभरि बाँच्नेछैनन्‌। (उप. ८:१२, १३) तिनीहरूको डाह गर्नु भनेको आफैमाथि निराशा र आध्यात्मिक हानि निम्त्याउनु हो। त्यसैले तपाईँले ती दुष्टहरूको सफलजस्तो देखिने जीवनको डाह गर्न थालेको चाल पाउनुभयो भने ती लेवीले जस्तै गर्नुहोस्‌। परमेश्‍वरको मायालु सल्लाह पालन गर्नुहोस्‌ र उहाँको इच्छाबमोजिम चल्नेहरूसित सङ्‌गत गर्नुहोस्‌। तपाईँले यहोवालाई सबैभन्दा धेरै प्रेम गर्नुभयो भने तपाईँले साँचो आनन्द पाउनुहुनेछ। अनि तपाईँ “साँच्चैको जीवन”-तर्फ पुऱ्‍याउने बाटोमा रहिरहन सक्नुहुनेछ।—१ तिमो. ६:१९.

पत्रुस आफ्ना कमजोरीहरूले गर्दा निराश भए

कुनै समय निराश भएका पत्रुसले कसरी यहोवाको सेवामा फेरि ध्यान केन्द्रित गरे भनेर विचार गर्दा हामी आफैले पनि मदत पाउन सक्छौँ र अरूलाई पनि मदत दिन सक्छौँ (अनुच्छेद १७-१९ हेर्नुहोस्‌)

१७. पत्रुस कस्ता कारणहरूले गर्दा निराश भए?

१७ प्रेषित पत्रुस प्रभावशाली व्यक्‍तित्व भएका मानिस थिए तर तिनी हडबडे पनि थिए र कहिलेकाहीँ आफूलाई लागेको कुरा सोचविचार नगरी भनिहाल्थे। तिनको यस्तो बानीले गर्दा तिनले यस्ता कुराहरू भने र गरे, जसले गर्दा तिनी पछि पछुताउनुपऱ्‍यो। उदाहरणको लागि, येसुले आफ्ना प्रेषितहरूलाई उहाँले दुःख भोग्नुहुनेछ र उहाँलाई मारिनेछ भन्‍नुहुँदा पत्रुसले उहाँलाई हप्काउँदै यसो भने: “तपाईँलाई कुनै हालतमा यस्तो हुनेछैन।” (मत्ति १६:२१-२३) त्यसपछि येसुले पत्रुसलाई सच्याउनुभयो। मानिसहरूको भीड येसुलाई पक्रन आउँदा पत्रुसले आवेशमा आएर प्रधानपुजारीको दासको कान च्वाट्टै काटिदिए। (युह. १८:१०, ११) फेरि पनि येसुले यी प्रेषितलाई सच्याउनुभयो। यसबाहेक पत्रुसले अन्य प्रेषितहरूले ठेस खाएर ख्रिष्टलाई छोडेर गए तापनि आफूले भने उहाँलाई कहिल्यै छोडेर जानेछैनँ भनेर धाक लगाएका थिए। (मत्ति २६:३३) तर पत्रुसले अतिविश्‍वस्त हुँदै त्यस्तो भने तापनि तिनी चाँडै मानिसको डरको पासोमा परे। तिनले आफ्ना मालिकलाई तीन-तीन पटक चिन्‍न इन्कार गरे। अत्यन्तै निराश भएका पत्रुस “बाहिर निस्केर धुरुधुरु रोए।” (मत्ति २६:६९-७५) आफूलाई येसुले कहिल्यै क्षमा दिनुहुन्‍न जस्तो पत्रुसलाई लागेको हुन सक्छ।

१८. येसुले पत्रुसलाई निराशा हटाउन कसरी मदत गर्नुभयो?

१८ तर पत्रुस निराशाले गर्दा यहोवाको सेवा गर्न छोड्‌ने हदसम्म पुगेनन्‌। ठेस खाइसकेपछि पत्रुस फेरि उठे र तिनले अरू प्रेषितहरूसित मिलेर यहोवाको सेवा गरिरहे। (युह. २१:१-३; प्रेषि. १:१५, १६) तिनलाई फेरि उठ्‌न केले मदत गऱ्‍यो? एउटा त, येसुले पत्रुसको विश्‍वास नडगमगाओस्‌ भनेर प्रार्थना गर्नुभएको थियो र उहाँले पत्रुसलाई आफ्ना भाइहरूकहाँ फर्केर उनीहरूलाई बलियो बनाउन आग्रह गर्नुभयो। यहोवाले येसुको यो बिन्ती सुन्‍नुभयो। पछि सायद पत्रुसलाई प्रोत्साहन दिन येसु आफै तिनीकहाँ देखा पर्नुभयो। (लुका २२:३२; २४:३३, ३४; १ कोरि. १५:५) रातभरि जाल हान्दा पनि एउटै माछा पक्रन नसकेका प्रेषितहरूकहाँ येसु देखा पर्नुभयो। यस अवसरमा येसुले पत्रुसलाई तिनी उहाँलाई कत्ति माया गर्छन्‌ भनेर व्यक्‍त गर्ने मौका दिनुभयो। येसुले आफ्नो प्रिय मित्रलाई क्षमा दिइसक्नुभएको थियो र उहाँले पत्रुसलाई थप जिम्मेवारी सुम्पनुभयो।—युह. २१:१५-१७.

१९. भजन १०३:१३, १४ अनुसार हामीले पाप गर्दा यहोवा कुन कुरा सम्झनुहुन्छ?

१९ हाम्रो लागि पाठहरू। येसुले पत्रुससित गर्नुभएको व्यवहारबाट उहाँ आफ्नो बुबाजस्तै कृपालु हुनुहुन्छ भन्‍ने कुरा स्पष्ट हुन्छ। त्यसैले हामीबाट गल्ती हुँदा यहोवाले हामीलाई कहिल्यै क्षमा दिनुहुन्‍न भनेर सोच्नु हुँदैन। सैतान हामीले त्यस्तै सोचेको चाहन्छ भन्‍ने कुरा मनमा राख्नुपर्छ। यहोवा हामीलाई माया गर्नुहुन्छ र हाम्रा सीमितताहरू बुझ्नुहुन्छ अनि उहाँ हामीलाई क्षमा दिन इच्छुक हुनुहुन्छ भनेर सम्झनुपर्छ। अरूले हाम्रो चित्त दुखाउँदा हामीले यहोवाको अनुकरण गर्नुपर्छ।भजन १०३:१३, १४ पढ्‌नुहोस्‌।

२०. हामी अर्को लेखमा के बुझ्नेछौँ?

२० युसुफ, नाओमी र रुथ, एक जना लेवी र पत्रुसको उदाहरणले “यहोवा टुटेका हृदय भएकाहरूको नजिक हुनुहुन्छ” भनेर आश्‍वासन दिन्छ। (भज. ३४:१८) अहिलेको समयमा हामी परीक्षाहरू भोग्छौँ र कहिलेकाहीँ निराश पनि हुन्छौँ। तर यहोवाको मदत पाएर ती परीक्षाहरू सह्‍यौँ भने हाम्रो विश्‍वास बलियो हुन्छ। (१ पत्रु. १:६, ७) सायद आफ्नै कमीकमजोरीले गर्दा वा गाह्रो परिस्थितिले गर्दा निराश भएका वफादार जनहरूलाई यहोवा कसरी मदत गर्नुहुन्छ भनेर हामी अर्को लेखमा अझै बुझ्नेछौँ।

गीत ७ यहोवा हाम्रा बल

^ अनु. 5 युसुफ, नाओमी र रुथ, एक जना लेवी र प्रेषित पत्रुसले निराशाजनक परिस्थितिहरूको सामना गर्नुपऱ्‍यो। यस लेखमा हामी यहोवाले तिनीहरूलाई कसरी सान्त्वना र बल दिनुभयो भनेर बुझ्नेछौँ। तिनीहरूको उदाहरणबाट र परमेश्‍वरले तिनीहरूलाई देखाउनुभएको अनुकम्पाबाट के सिक्न सक्छौँ, त्यो पनि विचार गर्नेछौँ।

^ अनु. 56 चित्रको व्याख्या: नाओमी, रुथ र ओर्पा आफ्नो पति गुमाएकोले दुःखी र निराश भएका थिए। पछि ओबेद जन्मँदा रुथ, नाओमी अनि बोअज खुसी भए।